अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

परमेश्वरको राज्यले शासन गर्दै छ!

 अध्याय ७

प्रचार गर्ने तरिका—मानिसहरूलाई प्रचार गर्न हर माध्यम प्रयोग गर्दै

प्रचार गर्ने तरिका—मानिसहरूलाई प्रचार गर्न हर माध्यम प्रयोग गर्दै

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

सकेसम्म धेरै मानिसलाई प्रचार गर्न परमेश्वरका जनहरू विभिन्न माध्यम प्रयोग गर्छन्‌

१, २. (क) ठूलो भीडअघि बोल्नुपर्दा येशूले के गर्नुभयो? (ख) ख्रीष्टका वफादार अनुयायीहरूले कसरी उहाँको अनुकरण गरेका छन्‌? किन?

एउटा ठूलो भीड येशूको कुरा सुन्न समुद्रको किनारामा भेला भएको छ। तर भीडलाई छोडेर येशू डुङ्‌गा चढ्‌नुहुन्छ र किनाराबाट अलि पर जानुहुन्छ। किन? किनभने किनाराबाट अलि पर गएर बोल्दा बोलेको आवाज पानीको सतहमा ठोक्किएर ठूलो सुनिन्छ र किनारामा हुनेहरूले राम्ररी सुन्न सक्छन्‌।मर्कूस ४:१, २ पढ्‌नुहोस्।

ख्रीष्टका वफादार चेलाहरूले पनि येशूको अनुकरण गर्दै धेरैभन्दा धेरै मानिसलाई राज्यको सुसमाचार सुनाउन नयाँ-नयाँ उपाय निकालेका छन्‌। सन्‌ १९१४ मा परमेश्वरको राज्यको जन्म अघि र पछिका दशकहरूमा यो कुरा स्पष्ट देखिन्छ। परिस्थितिले नयाँ मोड लिनेबित्तिकै परमेश्वरका जनहरूले प्रचार गर्ने आफ्नो तरिकामा छाँटकाँट गर्दै आएका छन्‌। तिनीहरूले उपलब्ध नयाँ-नयाँ प्रविधिको सदुपयोग गरेका छन्‌। किन? किनभने यस रीतिरिवाजको अन्त हुनुअघि तिनीहरू धेरै भन्दा धेरै मानिसलाई प्रचार गर्न चाहन्छन्‌। (मत्ती २४:१४) संसारको चाहे जुनसुकै कुनामा बसेका किन नहोऊन्‌, मानिसहरूलाई राज्यको सुसमाचार सुनाउन हामीले कस्ता उपाय चलाएका छौं, आउनुहोस् विचार गरौं। अनि उहिले-उहिले राज्यको सुसमाचार फैलाउन ठूलो सङ्‌घर्ष गर्ने हाम्रा ख्रीष्टियन भाइबहिनीहरूको अटल विश्वासको कसरी अनुकरण गर्न सकिन्छ, त्यो पनि विचार गरौं।

धेरैभन्दा धेरै मानिसलाई सुसमाचार सुनाउने

३. हामीले अखबारहरू प्रयोग गर्दा विरोधीहरू किन क्रोधित भए?

अखबार। भाइ रसल र तिनका सहयोगीहरूले धेरै मानिसहरूलाई राज्य सन्देश सुनाउन सन्‌ १८७९ देखि प्रहरीधरहरा प्रकाशित गर्दै आएका थिए। तर अझ धेरै मानिसले सुसमाचार सुन्ने मौका पाऊन्‌ भनेर ख्रीष्टले सन्‌ १९१४ सुरु हुनुभन्दा एक दशकअघि परिस्थितिलाई मोड्‌नुभयो जस्तो देखिन्छ। अझ विशेषगरि सन्‌ १९०३ देखि विभिन्न नयाँ घटनाहरूले जन्म लिन थाल्यो। सन्‌ १९०३ कै कुरा हो, डाक्टर. इ. एल. इटनले चार्ल्स टेज रसललाई बाइबलका शिक्षाबारे बहस गर्न चुनौती दिए। डाक्टर इटन पेन्सिल्भेनियाका प्रोटेस्टेन्ट पादरीहरूको एउटा समूहका प्रवक्ता थिए। तिनले रसललाई यस्तो पत्र लेखे: “बाइबलका कुनै-कुनै शिक्षाबारे तपाईं र मेरो धारणा फरक-फरक छ ... त्यसैले यस्ता विषयमा सार्वजनिक रूपमै बहस गर्नु बेस हुन्छ भन्ने मलाई लाग्छ।” रसल र तिनका सहयोगीहरूलाई  पनि सर्वसाधारण मानिसहरूले चासो देखाउनेछन्‌ भन्ने लाग्यो। त्यसैले भाइ रसल र डाक्टर इटनको बीच भएका बहसहरू पिट्‌सबर्ग ग्याजेट भन्ने नाम चलेको अङ्‌ग्रेजी अखबारमा छाप्ने प्रबन्ध मिलाइयो। अखबारका ती लेखहरू चर्चाको विषय बन्यो। भाइ रसलको स्पष्ट अनि सशक्त तर्क मानिसहरूले असाध्यै मन पराए। त्यसैले, पिट्‌सबर्ग ग्याजेट-ले हरेक हप्ता रसलका प्रवचनहरू छाप्ने प्रस्ताव राख्यो। यो देखेर सत्यका विरोधीहरूले कत्ति नमीठो माने होलान्‌!

सन्‌ १९१४ सम्ममा २,००० भन्दा धेरै अखबारले भाइ रसलका प्रवचनहरू छापिरहेका थिए!

४, ५. भाइ रसलले कस्तो गुण देखाए? सङ्‌गठनमा ठूला जिम्मेवारी सम्हालिरहेका भाइहरूले कसरी तिनको देखासिकी गर्न सक्छन्‌?

अरू अखबारहरूले पनि रसलका प्रवचनहरू छाप्न थाले। प्रहरीधरहरा-अनुसार सन्‌ १९०८ सम्ममा भाइ रसलका प्रवचनहरू “११ वटा अखबारमा नियमित रूपमा” छापिन थालिसकेको थियो। तैपनि अखबार छाप्ने कामबारे अनुभवी भाइहरूले भाइ रसललाई सङ्‌गठनको कार्यालय पिट्‌सबर्गबाट नाम चलेको सहरमा सार्न सल्लाह दिए। किनभने यसो गर्दा अझ धेरै अखबारवालाहरू बाइबलआधारित लेखहरू छाप्न राजी हुनेथिए। भाइहरूले दिएको सल्लाह अनि अन्य कुराबारे विचार गरिसकेपछि भाइ रसलले सन्‌ १९०९ मा सङ्‌गठनको कार्यालयलाई न्यु योर्कको ब्रूक्लिनमा सारे। नतिजा कस्तो भयो? ब्रूक्लिन सरेको केही महिना भित्रै झन्डै ४०० वटा अखबारमा भाइ रसलका प्रवचनहरू छापिन थालियो र यो सङ्‌ख्या बढ्‌दै गयो। सन्‌ १९१४ मा परमेश्वरको राज्य स्थापित हुने बेलासम्म त २,००० भन्दा धेरै अखबारले चार वटा विभिन्न भाषामा रसलका प्रवचन र लेखहरू प्रकाशित गरिरहेका थिए!

यसबाट हामी एउटा महत्त्वपूर्ण पाठ सिक्न सक्छौं। त्यो हो, आज परमेश्वरको सङ्‌गठनमा ठूला जिम्मेवारी सम्हालिरहेका भाइहरूले भाइ रसलको नम्रताको देखासिकी गर्नुपर्छ। कसरी? महत्त्वपूर्ण निर्णयहरू गर्नुपर्दा अरूको सल्लाह सुनेर।हितोपदेश १५:२२ पढ्‌नुहोस्।

६. अखबारमा छापिएको बाइबलका सत्य कुराहरूले एक जनालाई कसरी असर गऱ्यो?

अखबारमा छापिएका ती लेखहरूले गर्दा थुप्रै मानिसलाई निकै फाइदा भयो। (हिब्रू ४:१२) उदाहरणका लागि, ओरा हेटसेल नाम गरेकी बहिनीलाई लिनुहोस्। तिनले सन्‌ १९१७ मा बप्तिस्मा गरेकी थिइन्‌। बहिनी ओराले अखबारमा छापिएका लेखहरू पढेरै बाइबलले सिकाउने सत्य कुरा सिकेकी थिइन्‌। तिनी भन्छिन्‌, “मेरो बिहे भएपछि आमालाई भेट्‌न म मिनेसोटाको रोचेस्टरमा गएकी थिएँ। आमा अखबारबाट लेखहरू काटेर जम्मा पार्दै हुनुहुन्थ्यो। ती रसलका प्रवचनहरू थिए। आमाले मलाई आफूले ती लेखहरूबाट सिकेका कुराहरू बताउनुभयो।” समयको दौडान ओराले पनि आफूले सिकेको सत्य कुरा अँगालिन्‌ र झन्डै साठी वर्षसम्म वफादार भई परमेश्वरको सेवा गरिन्‌।

७. सङ्‌गठनमा अगुवाइ लिइरहेका भाइहरूले सुसमाचार प्रचार गर्न अखबारको प्रयोग गर्ने कि नगर्ने भनेर किन पुनर्विचार गर्नुपऱ्यो?

सङ्‌गठनको अगुवाइ लिइरहेका भाइहरूले सुसमाचार प्रचार गर्न अखबारको प्रयोग गर्ने कि नगर्ने भनेर सन्‌ १९१६ मा फेरि विचार गर्नुपऱ्यो। त्यसको दुइटा कारण थियो। पहिलो, प्रथम विश्वयुद्ध चलिरहेको हुनाले बजारमा कागतको अभाव। सन्‌ १९१६ मा बेलायत शाखाको अखबार विभागले यस्तो रिपोर्ट दिएको थियो: “अहिले ३० वटा जति अखबारहरूमा मात्र भाइ रसलका प्रवचनहरू छापिन्छन्‌। कागतको मूल्य दिनप्रतिदिन बढिरहेको छ। त्यसैले भाइ रसलको प्रवचन छाप्न चाहने अखबारको सङ्‌ख्या धेरै घट्‌नेछ भन्ने कुरा लगभग निश्‍चित  छ।” दोस्रो कारण थियो, अक्टोबर ३१, १९१६ का दिन भाइ रसलको मृत्यु। डिसेम्बर १५, १९१६ को अङ्‌ग्रेजी प्रहरीधरहरा-मा यस्तो घोषणा गरिएको थियो: “भाइ रसलको मृत्यु भएकोले अबउसो अखबारहरूमा उहाँको प्रवचन छापिने छैन।” यसरी अखबारमार्फत परमेश्वरको राज्यको प्रचार गर्ने बाटो बन्द भयो। तर “सृष्टिसम्बन्धी फोटो-नाटक” नाम गरेको अङ्‌ग्रेजी चलचित्र जस्ता अरू बाटोहरू भने अझै खुल्लै थिए र धेरै प्रभावकारी साबित पनि भए।

८. “सृष्टिसम्बन्धी फोटो-नाटक” कसरी तयार पारियो?

स्लाइड र चलचित्र: भाइ रसल र तिनका सहयोगीहरूले झन्डै तीन वर्ष लगाएर “सृष्टिसम्बन्धी फोटो-नाटक” तयार पारे। (हितो. २१:५) सन्‌ १९१४ मा विमोचन भएको यो नयाँ प्रस्तुति वास्तवमा नाटक नै त होइन बरु एक किसिमको चलचित्र थियो। यो चलचित्र वास्तवमै एउटा नौलो सृजना थियो। यसमा मानिस तथा पशुपक्षी चलेको, बोलेको देख्न सुन्न सकिन्थ्यो। यसमा रङ्‌गीन सिसाको स्लाइडको पनि प्रयोग गरिएको थियो। बाइबलका घटनाहरू चलचित्रमा उतार्न ती  दृश्यहरू साँच्चै भएजस्तै गरी खिच्नुपर्थ्यो। ती दृश्यहरू रेकर्ड गर्न सयौं भाइबहिनीले अभिनय गरे। कुनै-कुनै दृश्य खिच्न साँच्चैको जनावरहरू समेत ल्याइयो। सन्‌ १९१३ को एउटा रिपोर्टअनुसार “फोटो नाटक”-मा “नूहको दृश्य उतार्न एउटा ठूलो चिडियाखानाबाट धेरै जनावरहरू भाडामा ल्याइएको थियो।” “फोटो नाटक”-मा सयौं रङ्‌गीन स्लाइडहरू प्रयोग गरिएका थिए। प्रत्येक स्लाइड लन्डन, न्यु योर्क, पेरिस र फिलाडेल्फियाका चित्रकारहरूले हातैले कोरेर बनाएका थिए।

९. “फोटो-नाटक” तयार पार्न किन धेरै समय र पैसा खर्च गरियो?

भाइ रसल र तिनका सहयोगीहरूले “फोटो-नाटक” तयार पार्न किन यत्ति धेरै समय र पैसा खर्च गरे? सन्‌ १९१३ मा अधिवेशनहरूमा पारित गरिएको प्रस्तावनाले त्यसको जवाफ दिन्छ: “अमेरिकी अखबारहरूमा छापिने कार्टुन र अन्य चित्रहरूका साथै चलचित्रहरू धेरै लोकप्रिय भएका छन्‌ अनि धेरै जना मानिसहरूको सोचाइ परिवर्तन गर्न पनि यी माध्यमहरू सफल भएका छन्‌। त्यसैले, प्रगतिशील बाइबल प्रचारक अनि शिक्षकको नाताले हामी मानिसहरूलाई प्रभावकारी अनि आकर्षक ढङ्‌गमा सिकाउन चलचित्र र सिसाको स्लाइड प्रयोग गर्न चाहन्छौं र त्यसो गर्नु उचित हो भनी सम्झन्छौं।”

माथि: “फोटो-नाटक” देखाउन चाहिने मेसिन; तल: “फोटो-नाटक”-का सिसाका स्लाइडहरू

१०. “फोटो-नाटक”-को प्रदर्शन कत्तिको व्यापक भयो?

१० सन्‌ १९१४ मा हरेक दिन ८० वटा सहरमा “फोटो-नाटक” देखाइन्थ्यो। अमेरिका र क्यानाडामा झन्डै ८० लाख मानिसले यो चलचित्र हेरे। अस्ट्रेलिया, बेलायत, डेनमार्क, फिनल्याण्ड, जर्मनी, न्यु जील्याण्ड, नर्वे, स्वीडेन र स्वीट्‌जरल्याण्डमा पनि सन्‌ १९१४ मै यो चलचित्र देखाइएको थियो। सानो सहरहरूमा पनि “फोटो-नाटक” देखाउन सकियोस् भनेर केही काँटछाँट गरेर नयाँ प्रस्तुति तयार पारियो। त्यसको नाम “यूरेका नाटक” राखियो। “यूरेका नाटक”-मा स्लाइडहरू मात्र थिए। भनाइको मतलब, यसमा मानिस तथा पशुपक्षी चलेको, बोलेको देख्न पाइँदैन थियो। त्यसैले यो तयार पार्न सस्तो हुनुका साथै यताउता लैजान सजिलो पनि थियो। सन्‌ १९१६ सम्ममा आर्मेनियन, नर्वेली, फ्रान्सेली, जर्मन, ग्रीक, इटालियन, पोलिश, स्पेनिश र स्विडिश भाषामा “फोटो-नाटक” वा “युरेका नाटक” अनुवाद भइसकेका थिए।

सन्‌ १९१४ मा “फोटो-नाटक” हेर्न आएका दर्शकहरूले हल खचाखच भरिन्थ्यो

११, १२. “फोटो-नाटक”-ले एक जना युवकलाई कस्तो प्रभाव पाऱ्यो? तिनले कस्तो उदाहरण बसाले?

११ “फोटो-नाटक”-ले निकै सफलता हासिल गऱ्यो। उदाहरणका लागि १८ वर्षीय चार्ल्स रोनरलाई लिनुहोस्। तिनले फ्रान्सेली भाषामा “फोटो-नाटक” हेरेका थिए। तिनी यसो भन्छन्‌, “मैले मेरो सहर कोलमार, आलसेसमा यो चलचित्र हेरेको थिएँ। चलचित्रमा बाइबलको शिक्षा असाध्यै राम्ररी प्रस्तुत गरिएको थियो। त्यसले मेरो मनै छोयो।”

१२ चार्ल्सले बप्तिस्मा गरे र सन्‌ १९२२ देखि पूर्ण-समय सेवा सुरु गरे। तिनले सुरु-सुरुमा पाएका जिम्मेवारीमध्ये एउटा “फोटो-नाटक” फ्रान्समा देखाउनु थियो। आफ्नो कामबारे चार्ल्स यसो भन्छन्‌: “मैले विभिन्न काम गर्नुपर्थ्यो: भायोलिन बजाउने, हिसाबकिताब राख्ने र साहित्य विभाग सम्हाल्ने। मैले कार्यक्रम सुरु हुनुभन्दा अघि दर्शकलाई शान्त गराउने जिम्मा पनि पाएको थिएँ। हामीले मध्यान्तरमा दर्शकहरूलाई पुस्तक-पुस्तिका बाँड्‌ने काम पनि पाएका थियौं। हलको विभिन्न ठाउँमा हामी भाइबहिनीलाई पुस्तक-पुस्तिका बोकेर उभिन लगाउँज्थ्यौं। यिनीहरूले हातभरि टन्न पुस्तक-पुस्तिका बोकेका हुन्थे र आफ्नो भागमा परेका जति सबै  दर्शकलाई दिन्थे। यसबाहेक हामीले हलको प्रवेशद्वारमा पनि टेबुलहरू ठड्याएर पुस्तक-पुस्तिकाहरू राख्ज्थ्यौं।” सन्‌ १९२५ मा भाइ चार्ल्सले न्यु योर्कको ब्रूक्लिन बेथेलमा सेवा गर्ने निम्तो पाए। तिनले भर्खरै स्थापना भएको डब्ल्यु बि बि आर रेडियो स्टेसनमा बाजा बजाउने जिम्मेवारी पाए। के हामी पनि भाइ चार्ल्सजस्तै परमेश्वरको राज्यको सन्देश फैलाउन जस्तोसुकै जिम्मेवारी स्वीकार्न तयार छौं?यशैया ६:८ पढ्‌नुहोस्।

१३, १४. सुसमाचार फैलाउन रेडियोको प्रयोग कसरी गरियो? (“ डब्ल्यु बि बि आरका कार्यक्रम” र “ अविस्मरणीय अधिवेशन” भन्ने पेटीहरू पनि हेर्नुहोस्।)

१३ रेडियो। सन्‌ १९२० तिर “फोटो-नाटक” देखाउन कम गर्न थालियो। बरु त्यसको साटो राज्यको सुसमाचार प्रचार गर्न रेडियो जोडतोडले प्रयोग गर्न थालियो। पेन्सिलभेनियाको फिलाडेल्फिया भन्ने सहरको ओपेरा हलमा भाइ रदरफोर्डले पहिलो चोटि अप्रिल १६, १९२२ मा रेडियोबाट भाषण दिए। “अहिले बाँचिरहेका लाखौं कहिल्यै मर्नेछैनन्‌” भन्ने विषयमा तिनले दिएको भाषण झन्डै पचास हजार मानिसले सुने। त्यसपछि, सन्‌ १९२३ मा पहिलो चोटि पूरै अधिवेशनको कार्यक्रम प्रसारण गरियो। व्यावसायिक रेडियो स्टेसन प्रयोग गर्नुको साथसाथै आफ्नै रेडियो स्टेसन खोलेर प्रसारण गर्नु राम्रो हुन्छ भनेर जिम्मेवार भाइहरूले निर्णय गरे। त्यसैले न्यु योर्कको स्टेटन आइल्याण्डमा डब्ल्यु बि बि आर नाम गरेको हाम्रो रेडियो स्टेसन खोलियो। फेब्रुअरी २४, १९२४ देखि यस स्टेसनबाट कार्यक्रम प्रसारण हुन थाल्यो।

सन्‌ १९२२ मा “अहिले बाँचिरहेका लाखौं कहिल्यै मर्नेछैनन्‌” भन्ने भाषण रेडियोमा प्रसारण गरिएको थियो। लगभग ५०,००० मानिसले यो भाषण सुने

१४ डब्ल्यु बि बि आर रेडियो स्टेसनको उद्देश्यबारे डिसेम्बर १, १९२४ को अङ्‌ग्रेजी प्रहरीधरहरा-मा यसो भनिएको थियो: “बाइबलको साँचो शिक्षा सिकाउन अहिलेसम्म प्रयोग गरिएका माध्यमहरूमध्ये रेडियो सबैभन्दा सस्तो र प्रभावकारी साबित भएको छ भनेर हामीले बुझेका छौं।” साथै यसो पनि भनिएको थियो: “सुसमाचार फैलाउन अरू रेडियो स्टेसन पनि सुरु गर्नुपर्छ जस्तो प्रभुलाई लागेमा त्यसको लागि आवश्यक पैसा पनि उहाँले नै जुटाइदिनुहुनेछ।” (भज. १२७:१) सन्‌ १९२६ सम्ममा यहोवाका जनहरूले छ वटा रेडियो स्टेसन सञ्चालन गर्दै थिए। तीमध्ये दुइटा अमेरिकामा थिए—न्यु योर्कमा डब्ल्यु बि बि आर र सिकागोनजिकै डब्ल्यु ओ आर डि। बाँकी चाहिं क्यानाडाको चार ठाउँमा—अल्बर्टा, ब्रिटिस कोलम्बिया, ओन्टारियो र सस्काचवानमा थिए।

१५, १६. (क) हाम्रो रेडियो स्टेसन लोकप्रिय हुन थालेपछि क्यानाडाका पादरीहरूले के गरे? (ख) हाम्रा रेडियो कार्यक्रमले घरघरको प्रचारकार्यलाई कसरी टेवा पुऱ्यायो?

१५ बाइबल शिक्षाको यस्तो व्यापक प्रचार-प्रसार चर्चका पादरीहरूको नजरबाट लुक्न सकेन। क्यानाडाको सस्काचवान रेडियो स्टेसनमा काम गर्ने भाइ अलबर्ट होफम्यानले यसो भने: “हाम्रा रेडियो कार्यक्रमहरूले गर्दा धेरै मानिसले बाइबल विद्यार्थीहरू [अथवा यहोवाका साक्षीहरू] को हुन्‌ भनेर थाह पाउन थालेका थिए। सन्‌ १९२८ सुरु हुनुभन्दा अघिसम्म हाम्रा कार्यक्रमहरूले मानिसहरूलाई राम्रो साक्षी दिइरहेका थिए। तर पछि पादरीहरूको दबाबमा परेर क्यानाडा सरकारले सन्‌ १९२८ मा हाम्रा सबै रेडियो स्टेसनको अनुमति पत्र रद्द गरिदियो।”

१६ क्यानाडामा हाम्रा रेडियो स्टेसन बन्द भए तापनि व्यावसायिक स्टेसनहरूमार्फत बाइबलआधारित भाषणहरूको प्रसारण भइरह्यो। (मत्ती १०:२३) प्रकाशकले घरघरको प्रचारमा जाँदा घरधनीलाई स्थानीय रेडियो स्टेसनबारे जानकारी दिन सजिलो होस् भनेर प्रहरीधरहरा सुनौलो युग (हाल ब्यूँझनुहोस्!) पत्रिकामा  स्टेसनहरूको नाम छाप्न थालियो। यसले गर्दा कस्तो नतिजा हासिल भयो? त्यसको जवाफ जनवरी १९३१ को बुलेटिन-ले यसरी दिन्छ: “हाम्रा रेडियो कार्यक्रमहरूले गर्दा हाम्रा साथीहरूलाई घरघरमा गएर प्रचार गर्न धेरै सजिलो भयो। हामीले थुप्रै घरधनीहरूले रेडियोमा भाइ रदरफोर्डको भाषण सुनेको रिपोर्ट पायौं। तिनको भाषण सुनेको हुनाले थुप्रै घरधनीहरू हाम्रा प्रकाशनहरू स्वीकार्न इच्छुक भए भन्ने रिपोर्टहरू पनि हामीले सुन्यौं।” त्यसैले बुलेटिन-मा रेडियो प्रसारण र घरघरको प्रचारकार्यलाई “प्रभुको सङ्‌गठनको प्रचार गर्ने दुइटा प्रभावकारी माध्यम” भनिएको थियो।

१७, १८. सन्‌ १९३० को दशकदेखि रेडियोको प्रयोग घटे तापनि सुसमाचार फैलाउन त्यसले कस्तो भूमिका निर्वाह गरी नै रह्यो?

१७ सन्‌ १९३० को दशकतिर झन्‌-झन्‌ विरोध बढ्‌न थालेकोले व्यावसायिक रेडियोको प्रयोग गर्न गाह्रो हुन थाल्यो। त्यसैले सन्‌ १९३७ को अन्ततिर यहोवाका जनहरूले बदलिंदो परिस्थितिलाई विचार गर्दै केही छाँटकाँट गरे। उनीहरूले व्यावसायिक रेडियो स्टेसनमा भाषणहरू प्रसारण गर्न बन्द गरे र घरघरको प्रचारकार्यमा नै धेरै जोड दिन थाले। * तैपनि दुर्गम इलाकामा र सरकारी प्रतिबन्धको कारण सजिलै जान नसक्ने ठाउँहरूमा सुसमाचार फैलाउन रेडियोको प्रयोग भई नै रह्यो। उदाहरणको लागि, सन्‌ १९५१ देखि १९९१ सम्म जर्मनीको पश्‍चिम बर्लिनको एउटा रेडियो स्टेसन मार्फत बाइबलआधारित भाषण प्रसारण गरियो। यसले गर्दा त्यतिबेलाको पूर्व जर्मनीका केही ठाउँका मानिसहरूले सुसमाचार सुन्न पाए। त्यसैगरि दक्षिण अमेरिकामा पर्ने एउटा देश सुरिनाममा हाम्रा भाइहरूले सन्‌ १९६१ देखि स्थानीय रेडियो स्टेसनमार्फत सुसमाचार प्रचार गरे। हरेक हप्ता १५ मिनेट लामो बाइबलआधारित कार्यक्रम प्रसारण गरिन्थ्यो। त्यो देशमा सुसमाचार फैलाउन यसरी ३०/३० वर्षसम्म रेडियोको प्रयोग गरियो। हाम्रो सङ्‌गठनले सन्‌ १९६९ देखि सन्‌ १९७७ सम्म “सम्पूर्ण धर्मशास्त्र उपयोगी छ” भन्ने शृङ्‌खलाका लागि ३५० वटा भन्दा धेरै रेडियो कार्यक्रम तयार पारेको थियो। अमेरिकाको ४८ वटा राज्यमा २९१ वटा रेडियो स्टेसनमार्फत उक्त कार्यक्रम प्रसारण गरियो। सन्‌ १९९६ मा सामोआको राजधानी आपियामा पनि सुसमाचारको प्रचार गर्न रेडियोको मदत लिइएको थियो। दक्षिण प्रशान्त महासागरमा पर्ने यो टापुमा हरेक हप्ता “तपाईंका बाइबल प्रश्नहरूका जवाफ” भन्ने विषयको कार्यक्रम प्रसारण गरिन्थ्यो।

१८ तर एक्काइसौं शताब्दी सुरु हुने बेला सम्ममा रेडियोले सुसमाचार प्रचारकार्यमा मुख्य भूमिका खेल्न छोडिसकेको थियो। धेरैभन्दा धेरै मानिसलाई प्रचार गर्न अर्कै एउटा नयाँ प्रविधि चल्तीमा आयो।

१९, २०. यहोवाका जनहरूले jw.org वेबसाइट सुरु गर्नुको कारण के हो? यो कत्तिको प्रभावकारी भएको छ? (“ JW.ORG” भन्ने पेटी पनि हेर्नुहोस्।)

१९ इन्टरनेट। सन्‌ २०१३ को रिपोर्टअनुसार २ अरब ७० करोडभन्दा धेरै अर्थात्‌ पृथ्वीको झन्डै ४० प्रतिशत मानिसहरू इन्टरनेट चलाउँछन्‌। केही सर्वेक्षणअनुसार झन्डै दुई अरब मानिसले स्मार्ट फोन, ट्याब्लेटजस्ता उपकरणहरूमा इन्टरनेट चलाउँछन्‌। संसारभरि त्यस्ता उपकरणहरूमा इन्टरनेट चलाउनेको सङ्‌ख्या बढ्‌दैछ। तर त्यो सङ्‌ख्या सबैभन्दा छिटो अफ्रिकामा बढ्‌दैछ। त्यहाँ अहिले नौ करोडभन्दा धेरै मानिसले त्यस्ता उपकरणहरूमा इन्टरनेट चलाउँछन्‌। यस्तो नयाँ सुविधाले गर्दा मानिसहरूले जानकारी प्राप्त गर्ने तरिकामा धेरै परिवर्तन आएको छ।

 २० त्यसैले हाम्रो सङ्‌गठनले सन्‌ १९९७ देखि इन्टरनेटको प्रयोग गर्न थाल्यो। सन्‌ २०१३ मा हाम्रो वेब साइट jw.org झन्डै ३०० भाषामा तयार भयो। यो साइटबाट ५२० भन्दा धेरै भाषामा बाइबलआधारित जानकारी डाउनलोड गर्न सकिने भयो। प्रत्येक दिन करिब ७,५०,००० मानिसहरूले यो साइटमा आएर जानकारी पढ्‌छन्‌ वा भिडियो हेर्छन्‌। प्रत्येक महिना भिडियोको साथसाथै ३० लाखभन्दा धेरै किताब, ४० लाखभन्दा धेरै पत्रिका अनि २ करोड २० लाख अडियो रेकर्डिङ पनि डाउनलोड गरिन्छ।

२१. सिनाको अनुभवबाट तपाईंले के सिक्नुभयो?

२१ प्रतिबन्ध लागेका ठाउँहरूमा समेत परमेश्वरको राज्यको सुसमाचार फैलाउन हाम्रो वेबसाइट प्रभावकारी माध्यम साबित भएको छ। उदाहरणको लागि, सिना नाम गरेका एक जना व्यक्तिलाई लिनुहोस्। सन्‌ २०१३ को सुरुतिर इन्टरनेट चलाउँदै गर्दा तिनले हाम्रो वेबसाइट फेला पारे। बाइबलको विषयमा अझ बढी बुझ्न तिनले अमेरिकामा हाम्रो मुख्यालयमा फोन गरे। तिनले त्यसरी फोन गर्नु वास्तवमै उल्लेखनीय थियो। किनभने सिना मुस्लिम थिए र तिनी बसेको देशमा यहोवाका साक्षीहरूले खुलेआम प्रचार गर्न पाउँदैन थिए। त्यसमाथि तिनी विकट गाउँमा बस्थे। यो फोन कलपछि सिनासँग बाइबल अध्ययन गर्ने प्रबन्ध मिलाइयो। अमेरिकाको एक जना साक्षीले हप्ताको दुईचोटि तिनीसित इन्टरनेट भिडियोमार्फत अध्ययन सञ्चालन गर्न थाले।

व्यक्ति-व्यक्तिलाई भेटेर सिकाउने

२२, २३. (क) धेरैभन्दा धेरै मानिसलाई सुसमाचार सुनाउन हामीले विभिन्न माध्यम चलाए तापनि के त्यसले घरघरको प्रचारकार्यको ठाउँ लिएको छ? (ख) हामीले सुसमाचार सुनाउन प्रयास गरेको हुनाले हाम्रा राजा येशू ख्रीष्टले कस्तो आशिष्‌ दिनुभएको छ?

२२ धेरैभन्दा धेरै मानिसलाई सुसमाचार सुनाउन हामीले थुप्रै माध्यम चलायौं। जस्तै: अखबार, “फोटो-नाटक”, रेडियो कार्यक्रम र वेबसाइट। तर यी सबैले घरघरको प्रचारकार्यको ठाउँ लिन सक्दैन। किन? किनभने यहोवाका उपासकहरू येशूको अनुकरण गर्छन्‌। उहाँले एक ठाउँमा भेला भएका मानिसहरूको भीडलाई  मात्र होइन तर व्यक्ति-व्यक्तिलाई भेटेर पनि सिकाउनुभयो। (लूका १९:१-५) येशूले आफ्ना चेलाहरूलाई पनि व्यक्ति-व्यक्तिलाई भेटेर कुरा गर्न तालिम दिनुभयो। तिनीहरूलाई भेटेर के सन्देश दिने, त्यो समेत येशूले बताउनुभयो। (लूका १०:१, ८-११ पढ्‌नुहोस्) हाम्रो सङ्‌गठनमा जिम्मेवारी सम्हालिरहेका भाइहरूले सुरुदेखि नै व्यक्तिविशेषलाई भेटेर सुसमाचार सुनाउन प्रोत्साहन दिएका छन्‌, जसबारे हामीले अध्याय ६ मा छलफल गरेका थियौं।—प्रेषि. ५:४२; २०:२०.

२३ परमेश्वरको राज्य स्थापित भएको अहिले १०० वर्ष भयो। अहिले झन्डै ८० लाख प्रकाशकहरूले परमेश्वरको उद्देश्यबारे जोसका साथ सिकाउँदैछन्‌। राज्यको विज्ञापन गर्न हामीले चलाएका माध्यमहरूलाई हाम्रो राजा येशू ख्रीष्टले आशिष्‌ दिनुभएको छ भन्ने कुरामा कुनै शङ्‌का छैन। हामीले हरेक जाति, कुल र भाषाका मानिसहरूलाई सुसमाचार सुनाउन सकोस् भनेर राजाले विभिन्न साधन पनि दिनुभएको छ। यस विषयमा अर्को अध्यायमा छलफल गर्नेछौं।—प्रका. १४:६.

^ अनु. 17 सन्‌ १९५७ मा सङ्‌गठनमा अगुवाइ लिइरहेका भाइहरूले हाम्रो अन्तिम रेडियो स्टेसन, न्यु योर्कको डब्ल्यु बि बि आर बन्द गर्ने निर्णय गरे।

अझ बढी सिक्नुहोस्

हामीले ‘हरेकलाई कसरी जवाफ दिनुपर्छ’?

प्रचारकार्यमा प्रभावकारी हुन हामीले के गर्नै पर्छ? हामीलाई मदत गर्ने तीनवटा कुरा विचार गर्नुहोस्।