अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

परमेश्वरको राज्यले शासन गर्दै छ!

 अध्याय १३

राज्य प्रचारकहरूले हासिल गरेका कानुनी विजय

राज्य प्रचारकहरूले हासिल गरेका कानुनी विजय

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

येशूले भविष्यवाणी गर्नुभएझैं उहाँका अनुयायीहरूले सरकार र धर्मगुरुहरूको विरोध अनि हस्तक्षेपसित लड्‌नुपरेको छ

१, २. (क) धर्मगुरुहरूले कस्तो आदेश दिए तर प्रेषितहरूले के गरे? (ख) प्रचार नगर्नू भनी दिइएको आदेश प्रेषितहरूले किन मानेनन्‌?

इस्वी संवत्‌ ३३ पेन्तिकोसपछि यरूशलेममा भर्खरै मात्र ख्रीष्टियन मण्डली स्थापित भएको थियो। तर सैतानले रतीभर समय नगुमाई ख्रीष्टियन मण्डलीलाई आक्रमण गऱ्यो। मण्डली बलियो हुनुअघि नै सैतान त्यसलाई सखाप पार्न चाहन्थ्यो। त्यसैले परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्ने कामलाई बन्द गर्न सैतानले धर्मगुरुहरूलाई चलायो। धर्मगुरुहरूले प्रेषितहरूलाई सुसमाचार प्रचार नगर्नू भनी कडा आदेश दिए। तर प्रेषितहरूले निडर भई प्रचार गरिरहे। फलस्वरूप थुप्रै पुरुष अनि स्त्रीहरूले ‘प्रभुमा विश्वास गरे।’—प्रेषि. ४:१८, ३३; ५:१४.

“उहाँको नाममा अपमान सहन योग्य ठहरिएकोमा” प्रेषितहरू रमाए

प्रेषितहरूले आफ्नो आदेश पालन नगरेको देखेर विरोधीहरू क्रोधित भए र तिनीहरूमाथि फेरि जाइलागे। तिनीहरूले प्रेषितहरूलाई झ्यालखानामा थुने। तर राती यहोवाको स्वर्गदूतले झ्यालखानाको ढोका उघारेर तिनीहरूलाई बाहिर निकाले। अर्को दिन उज्यालो हुनेबित्तिकै प्रेषितहरूले फेरि प्रचार गर्न थाले! विरोधीहरूले उनीहरूलाई फेरि पक्रे अनि शासकहरूसामु उभ्याए। प्रचार नगर्नू भन्ने आज्ञा उल्लङ्‌घन गरेको आरोप शासकहरूले लगाए। तर प्रेषितहरूले निडर भएर यसो भने: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा मान्नै पर्छ।” प्रेषितहरूको कुरा सुनेर ती शासकहरू रिसले चूर भए अनि उनीहरूलाई “मार्न खोजे।” यसै बेला व्यवस्थाका नाम चलेका शिक्षक गमलिएलले ती शासकहरूलाई यसो भने: “राम्ररी सोचविचार गर्नुहोस् . . . यी मानिसहरूको काममा हस्तक्षेप नगर्नुहोस्, बरु तिनीहरू जे गर्दैछन्‌, गर्न दिनुहोस्।” शासकहरूले गमलिएलको कुरा सुने र ती प्रेषितहरूलाई छोडिदिए। त्यसपछि तिनीहरूले के गरे? ती वफादार प्रेषितहरूले “सिकाउन र येशू ख्रीष्टको विषयमा सुसमाचार घोषणा गर्न बन्द गरेनन्‌।”—प्रेषि. ५:१७-२१, २७-४२; हितो. २१:१, ३०.

३, ४. (क) परमेश्वरका जनहरूलाई आक्रमण गर्न सैतानले पहिलेदेखि नै कस्तो चाल चलेको छ? (ख) यो अध्याय र यसपछिका दुइटा अध्यायमा हामी के छलफल गर्नेछौं?

इस्वी संवत्‌ ३३ को यो घटना ख्रीष्टियन मण्डलीको गतिविधिमाथि भएको पहिलो कानुनी हस्तक्षेप थियो तर यही नै अन्तिम भने थिएन। (प्रेषि. ४:५-८; १६:२०; १७:६, ७) आधुनिक समयमा पनि सैतानले साँचो उपासनाका विरोधीहरूलाई उक्साएर प्रचारकार्यमा हस्तक्षेप गरेको छ। तिनीहरूले यहोवाका उपासकहरूलाई अनेक आरोप लगाएका छन्‌। जस्तै: पहिलो, यहोवाका साक्षीहरूले सीधासादा जनतालाई भड्‌काएर समाजको शान्ति अनि सुव्यवस्था भङ्‌ग गर्छन्‌। दोस्रो, यहोवाका साक्षीहरू राष्ट्रघाती हुन्‌। तेस्रो, यहोवाका साक्षीहरू पैसा लिएर  परमेश्वरको वचनको प्रचार गर्छन्‌। हाम्रा भाइहरू यस्ता आरोपहरूलाई झूटा साबित गर्न अदालत पनि गएका छन्‌। यहोवाका साक्षीहरूले लडेका मुद्दाहरूको परिणाम कस्तो भएको छ? अदालतले धेरै वर्षअघि सुनाएका फैसलाहरूले आज तपाईंलाई कसरी असर गर्छ? आउनुहोस्, यी दुई प्रश्नको जवाफ पाउन हाम्रा भाइहरूले ‘सुसमाचारको पक्षमा खडा भएर त्यसलाई कानुनी तवरमा स्थापित’ गर्न लडेका केही मुद्दाहरू विचार गरौं।—फिलि. १:७.

यहोवाका साक्षीहरूले प्रचार गर्ने आफ्नो अधिकारको लागि कुन मुद्दाहरू लडे, त्यो हामी यस अध्यायमा हेर्नेछौं। यसपछिका दुइटा अध्यायमा चाहिं सांसारिक मामिलामा तटस्थ भएर बस्न र परमेश्वरको राज्यको स्तरअनुरूप जीवन बिताउन हामीले कुन-कुन मुद्दाहरू लड्‌यौं, त्यो केलाउनेछौं।

समाजको शान्ति अनि सुव्यवस्था भङ्‌ग गर्ने हौं कि परमेश्वरको राज्यका वफादार प्रचारक?

५. सन्‌ १९३० दशकको अन्ततिर राज्य प्रचारकहरू किन पक्राउ परे? सङ्‌गठनका जिम्मेवार भाइहरूले के गर्ने निर्णय गरे?

सन्‌ १९३० दशकको अन्ततिर संयुक्त राज्य अमेरिकाका प्रायजसो सबै प्रान्त अनि नगरहरूले यहोवाका साक्षीहरूलाई सरकारी अनुमति पत्र लिएपछि मात्र प्रचार गर्न पाइन्छ भनेर दबाब दिन थाल्यो। तर हाम्रा भाइहरूले अनुमति पत्र लिन दरखास्त दिएनन्‌। किनभने अनुमति पत्रलाई कुनै पनि बेला रद्द गर्न सकिन्छ भनेर हाम्रा भाइहरूले बुझेका थिए। तर परमेश्वरको राज्यको सन्देश प्रचार गर्नू भनेर येशूले दिनुभएको आज्ञामाथि हस्तक्षेप गर्ने अधिकार कुनै पनि सरकारलाई छैन भन्ने हाम्रा भाइहरूको अडान थियो। (मर्कू. १३:१०) अनुमति पत्र नलिएकोले प्रहरीले सयौं प्रचारकहरूलाई पक्र्‌यो। यस्तो ज्यादतीसित लड्‌न हाम्रा सङ्‌गठनका जिम्मेवार भाइहरूले अदालत जाने निर्णय गरे। अमेरिकी सरकारले साक्षीहरूको काममाथि प्रतिबन्ध लगाउनु गैरकानुनी हो र त्यसले साक्षीहरूको धार्मिक स्वतन्त्रता हनन गरेको छ भन्ने कुरा हाम्रा भाइहरू अदालतसामु साबित गर्न चाहन्थे। नभन्दै, सन्‌ १९३८ मा साक्षीहरूको पक्षमा अदालतले एउटा ऐतिहासिक फैसला सुनायो।

६, ७. कान्टवेल परिवारलाई के भयो?

यो घटना सन्‌ १९३८, अप्रिल २६ मङ्‌गलबार बिहानको हो। साठी वर्ष पुगेका भाइ न्युटन कान्टवेल आफ्नो पूरै परिवारसित अमेरिकाको कनेटिकट राज्यको न्यु हाभेन भन्ने सहरमा दिनभरि प्रचार गर्न निस्केका थिए। तिनको परिवारमा तिनकी पत्नी एस्तर र तीन छोराहरू हेन्री, रसल र जेसी थिए। तिनीहरू सबै जना विशेष अग्रगामी थिए। तिनीहरू पहिला पनि पटक-पटक थुनामा परिसकेका थिए र यसपालि पनि पक्राउ पर्न सक्ने खतरा छ भनी तिनीहरूलाई थाह थियो। तैपनि, तिनीहरू न्यु हाभेनमा प्रचार गर्न निस्के। परमेश्वरको राज्यको सन्देश प्रचार गर्ने कान्टवेल परिवारको जोस सेलाएको थिएन। तिनीहरू दुइटा गाडी लिएर न्यु हाभेन गए। भाइ न्युटनले बाइबलसम्बन्धी प्रकाशन अनि फोनोग्राफ राखेको गाडी चलाएका थिए भने तिनका २२ वर्षीय छोरा हेन्रीले लाउडस्पीकर जोडिएको गाडी चलाएका थिए। नभन्दै न्यु हाभेन पुगेको केही घन्टामै प्रहरीले तिनीहरूलाई रोक्यो।

तिनीहरूले सबैभन्दा पहिला १८ वर्षीय रसललाई गिरफ्तार गरे, त्यसपछि  भाइ कान्टवेल अनि तिनकी पत्नी एस्तरलाई। आफ्नो आमाबुबा र दाइलाई प्रहरीले पक्रेर लगेको १६ वर्षीय जेसीले टाढैबाट देखे। तिनको दाइ हेन्री सहरको अर्कै भागमा प्रचार गर्न गएका थिए। त्यसैले कान्छो जेसी एक्लै परे। तैपनि तिनले फोनोग्राफ बोकेर प्रचार गरिनै रहे। दुई जना क्याथोलिक लोग्नेमान्छेले जेसीलाई भाइ रदरफोर्डको “शत्रुहरू” भन्ने शीर्षकको भाषण बजाउन अनुमति दिए। तर भाषण सुन्दै जाँदा तिनीहरू रिसले आगो भए र जेसीमाथि हात हाल्न खोजे। तर जेसी चुपचाप त्यहाँबाट हिंडे। केही बेरमै प्रहरीले तिनलाई पनि गिरफ्तार गऱ्यो। प्रहरीले बहिनी कान्टवेललाई छोडिदियो तर भाइ कान्टवेल र तिनका छोराहरूमाथि अभियोग लगायो। तर त्यही दिन तिनीहरू जमानतमा रिहा भए।

८. अदालतले जेसी कान्टवेललाई समाजको शान्ति अनि सुव्यवस्था भङ्‌ग गरेको आरोपमा किन दोषी ठहरायो?

यो घटना भएको झन्डै पाँच महिनापछि सन्‌ १९३८ को सेप्टेम्बर महिनामा न्यु हाभेनको जिल्ला अदालतले कान्टवेल परिवारलाई डाक्यो। अनुमति पत्रविना चन्दा लिएको अभियोगमा अदालतले न्युटन, रसल र जेसीलाई दोषी घोषित गऱ्यो। जेसीलाई चाहिं समाजको शान्ति अनि सुव्यवस्था भङ्‌ग गरेको आरोपमा पनि दोषी ठहऱ्याइयो। किन? किनभने माथि उल्लिखित दुई क्याथोलिक पुरुषले रदरफोर्डको भाषणले तिनीहरूको धार्मिक आस्थाको अपमान गरेको गवाही अदालतमा दिए। जेसीले यो अभियोगविरुद्ध अपिल गरे, तैपनि तिनको केही लागेन। अन्तमा कान्टवेल परिवारमाथि अदालतले गरेको फैसलाविरुद्ध सङ्‌गठनका जिम्मेवार भाइहरूले अमेरिकाकै सर्वोच्च अदालतमा अपिल गरे।

९, १०. (क) अमेरिकाको सर्वोच्च अदालतले कान्टवेल परिवारको मुद्दामा कस्तो फैसला सुनायो? (ख) यस फैसलाबाट हामीले आज पनि कस्तो फाइदा उठाएका छौं?

 मार्च २९, १९४० मा सुनुवाइ सुरु भयो। भाइ हेडन कभिङ्‌टनले यहोवाका साक्षीहरूको तर्फबाट वकालत गरे। * प्रधान न्यायाधीश चार्ल्स ई. ह्युग्स र अरू आठ जना न्यायाधीशको इजलासमा मुद्दाको सुनुवाइ भयो। कनेटिकट राज्यका न्यायाधिवक्ताले यहोवाका साक्षीहरूले समाजको शान्ति अनि सुव्यवस्था भङ्‌ग गर्छन्‌ भनेर साबित गर्न तर्क पेस गर्दा एक जना न्यायाधीशले यस्तो प्रश्न गरे: “ख्रीष्ट येशूले प्रचार गर्नुभएको सन्देश पनि त्यतिबेला लोकप्रिय थिएन नि, होइन र?” न्यायाधिवक्ताले यस्तो जवाफ दिए: “हो र मलाई थाह भएसम्म येशूले त्यस्तो सन्देश प्रचार गरेकोले कस्तो नतिजा भोग्नुपऱ्यो भनेर पनि बाइबलमा बताइएको छ।” कस्तो अचम्मको कुरा! अनजानमै ती न्यायाधिवक्ताले साक्षीहरूलाई येशूसित र अमेरिकी सरकारलाई चाहिं येशूलाई दोषी ठहऱ्याउने तत्कालीन शासकहरूसित तुलना गरे। मे २०, १९४० मा अदालतले साक्षीहरूको पक्षमा सर्वसम्मत फैसला सुनायो।

भाइ हेडन कभिङ्‌टन (सबैभन्दा अगाडि बीचमा), भाइ ग्लेन हाउ (बायाँपट्टि) र अरू मुद्दा जितेपछि अदालतबाट निस्कँदै

१० अदालतको त्यो फैसला महत्त्वपूर्ण थियो। किनभने त्यो फैसलाले गर्दा आफ्नो धार्मिक आस्थाअनुसार चल्न पाउने अधिकार पहिले भन्दा झन्‌ सुनिश्‍चित भयो। अमेरिकाको कुनै राज्य वा स्थानीय निकायले यस उप्रान्त कसैको धार्मिक स्वतन्त्रतामा दखल दिन नपाउने भयो। अदालतले जेसीको गतिविधिले “समाजको शान्ति अनि सुव्यवस्थामा कुनै हानि नपुऱ्याएको” ठहर गऱ्यो। यहोवाका साक्षीहरूले समाजको शान्ति अनि सुव्यवस्था भङ्‌ग गर्दैनन्‌ भनेर यस फैसलाले साबित गऱ्यो। परमेश्वरका सेवकहरूको निम्ति यो साँच्चै ठूलो जित थियो। यो जितले गर्दा हामीलाई अहिलेसम्म फाइदा भइरहेको छ। एक जना वकिल, जो साक्षी पनि हुन्‌, तिनले यसो भने: “हामीले कुनै डर अनि बाधाविघ्नबिना आफ्नो धार्मिक स्वतन्त्रताको सदुपयोग गर्दै वरपरका मानिसहरूलाई परमेश्वरको राज्यको सन्देश सुनाउन सकेका छौं।”

राष्ट्रघाती हौं कि सत्यका उद्‌घोषक?

परमेश्वर, ख्रीष्ट र स्वतन्त्रताप्रतिको क्युबेकको तीव्र घृणा, समस्त क्यानाडाको लागि लज्जास्पद कुरा

११. क्यानाडाका हाम्रा भाइहरूले कुन अभियान सुरु गरे र किन?

११ सन्‌ १९४० दशकमा यहोवाका साक्षीहरूले क्यानाडामा भीषण विरोधको सामना गर्नुपऱ्यो। क्यानाडा सरकारले गरेको धार्मिक स्वतन्त्रताको हननबारे त्यहाँका सबै जनतालाई जानकारी दिन हाम्रा भाइहरूले सन्‌ १९४६ मा १६ दिने अभियान सुरु गरे। तिनीहरूले अङ्‌ग्रेजी भाषाको परमेश्वर, ख्रीष्ट र स्वतन्त्रताप्रतिको क्युबेकको तीव्र घृणा, समस्त क्यानाडाको लागि लज्जास्पद कुरा भन्ने शीर्षक भएको पर्चा बाँडे। यो चार पृष्ठे पर्चामा क्युबेकमा पादरीहरूले भड्‌काएको दङ्‌गा र प्रहरी अत्याचारले गर्दा हाम्रा भाइहरूले झेल्नुपरेको दुःखबारे बताइएको थियो। उक्त पर्चामा यस्तो लेखिएको थियो: “यहोवाका साक्षीहरूलाई कानुनविपरीत हिरासतमा लिने क्रम जारी छ। ग्रेटर मन्ट्रिअलमा यहोवाका साक्षीहरूविरुद्ध झन्डै ८०० वटा मुद्दा दायर भएको छ।”

१२. (क) पर्चा पढेपछि विरोधीहरूले कस्तो प्रतिक्रिया देखाए? (ख) हाम्रा भाइबहिनीविरुद्ध के अभियोग लगाइयो? (फुटनोट पनि हेर्नुहोस्।)

१२ रोमन क्याथोलिक चर्चका कार्डिनल भिलेनभसित क्युबेकका प्रधानमन्त्री मोरिस डुप्लेसिसको राम्रो सम्बन्ध थियो। पर्चा पढेपछि प्रधानमन्त्री डुप्लेसिसले साक्षीहरूविरुद्ध “युद्धको” घोषणा गरे। फलस्वरूप यहोवाका साक्षीहरूविरुद्ध लगाइएको मुद्दाको सङ्‌ख्या ८०० बाट दोब्बर भएर १,६०० पुग्यो। त्यतिबेला  आफूले भोग्नुपरेको सास्ती सम्झँदै एक अग्रगामी बहिनीले यसो भनिन्‌, “हामी यत्ति धेरै पक्राउ पऱ्यौं कि गनेर साध्य थिएन।” पर्चा बाँडिरहेको बेला पक्राउ परेका साक्षीहरूलाई “राष्ट्रघाती पर्चा” बाँडेको अभियोग लगाइयो। *

१३. क्युबेकमा पहिलो चोटि कोविरुद्ध राष्ट्रघातको अभियोग लगाइयो? अदालतले के फैसला सुनायो?

१३ सन्‌ १९४७ मा भाइ एमा बाउचर र तिनका दुई छोरी, १८ वर्षीया गिजेल र ११ वर्षीया लुसिलविरुद्ध राष्ट्रघातको अभियोग लगाइयो। क्युबेकमा राष्ट्रघातको अभियोगमा मुद्दा चलाइएको यो पहिलो घटना थियो। तिनीहरूले क्युबेकको तीव्र घृणा भन्ने पर्चा क्युबेक सहरको दक्षिणतिर पर्ने आफ्नो इलाकामा बाँडेका थिए। तर तिनीहरूलाई समाजको शान्ति अनि सुव्यवस्था भङ्‌ग गर्नेहरू भन्न पटक्कै सुहाउँदैन थियो। भाइ बाउचर नम्र र सीधासादा मानिस थिए। तिनी आफ्नो घरखेतमा चुपचाप काम गर्थे र कहिलेकाहीं मात्र सहर जान्थे। तैपनि तिनको परिवार अत्याचारको सिकार भयो। यस्ता अत्याचारबारे उक्त पर्चामा पनि बताइएको थियो। यहोवाका साक्षीहरूलाई देखी नसहने जिल्ला अदालतका न्यायाधीशले भाइ बाउचर निर्दोष छन्‌ भनेर साबित गर्ने सबुतहरू स्वीकार्न मानेनन्‌। बरु तिनले द्वेषभाव बढाउने पर्चा बाँडेर समाजलाई भाँड्‌न खोज्ने बाउचर परिवारलाई दण्ड दिनुपर्छ भन्ने विपक्षको तर्क स्वीकारे। सीधै भन्नुपर्दा न्यायाधीशको फैसला यस्तो थियो: सत्य बोल्नु अपराध हो! भाइ एमा र तिनकी छोरी गिजेललाई राष्ट्रघाती पर्चा बाँडेको अभियोगमा दोषी ठहराइयो। भर्खर ११ वर्ष पुगेकी लुसिललाई समेत दुई दिन थुनामा राखियो। अदालतको यस्तो फैसलाविरुद्ध भाइहरूले क्यानाडाकै सर्वोच्च अदालतमा अपिल दायर गरे र अदालत पनि मुद्दाको सुनुवाइ गर्न राजी भयो।

१४. क्युबेकका हाम्रा भाइबहिनीले विरोध आइपर्दा के गरे?

१४ क्युबेकका हाम्रा निडर भाइबहिनी सर्वोच्च अदालतको फैसला नआउन्जेल हात बाँधेर बसेनन्‌। मानिसहरूले हातपात गरे तापनि त्यसको पर्बाह नगरी तिनीहरूले प्रचार गरिरहे। अनि यसले गर्दा नतिजा अक्सर राम्रो पनि भयो। सन्‌ १९४६ मा पर्चा बाँड्‌ने अभियान सुरु हुँदा क्युबेकमा ३०० जना साक्षीहरू थिए। तर चार वर्षपछि प्रकाशकहरूको सङ्‌ख्या बढेर १,००० पुग्यो! *

१५, १६. (क) क्यानाडाको सर्वोच्च अदालतले बाउचर परिवारको मुद्दामा के फैसला सुनायो? (ख) यस फैसलाले गर्दा हाम्रा भाइहरू र अरूलाई कस्तो असर पऱ्यो?

१५ जून १९५० मा नौ जना न्यायाधीशको इजलासमा क्यानाडाको सर्वोच्च अदालतले एमा बाउचरको मुद्दाको सुनुवाइ गऱ्यो। मुद्दा सुरु भएको छ महिनापछि डिसेम्बर १८, १९५० मा अदालतले हाम्रो पक्षमा फैसला सुनायो। अदालत हाम्रो पक्षमा हुनुको कारण के थियो? यहोवाका साक्षीहरूको वकिल भाइ ग्लेन हाउअनुसार कुनै पनि व्यक्तिलाई राष्ट्रघातको आरोप लगाउन उक्त व्यक्तिले राष्ट्रलाई आघात पुऱ्याउने गरी हिंसा भड्‌काएको हुनुपर्छ। तर यहोवाका साक्षीहरूले त्यसो गरे भन्ने कुनै सबुत छैन भन्ने तर्क तिनले बहसको दौडान प्रस्तुत गरेका थिए। अदालत तिनको तर्कसित सहमत भयो। साथै भाइ हाउले क्युबेकको तीव्र घृणा पर्चामा “हिंसा भड्‌काउने कुनै कुरा छैन। त्यसैले यो पर्चा वाक्‌स्वतन्त्रताको दायराभित्र पर्छ” भनेर पनि वकालत गरेका थिए। यो मुद्दा लड्‌दाखेरिको आफ्नो अनुभव सुनाउँदै तिनले यसो भने: “यहोवाले आफ्ना जनहरूलाई कसरी विजयी तुल्याउनुहुन्छ भनेर मैले आफ्नै आँखाले देखें।” *

१६ क्यानाडाको सर्वोच्च अदालतको फैसला निश्चय पनि परमेश्वरको राज्यको लागि उल्लेखनीय जित थियो। अदालतको यस फैसलापछि क्युबेकमा राष्ट्रघाती पर्चा बाँडेको अभियोगमा अझै फैसला हुन बाँकी १२२ वटा मुद्दाको कुनै अर्थ  रहेन। यसबाहेक अदालतको यो निर्णयपछि क्यानाडा र ब्रिटिश कमनवेल्थका नागरिकहरूले सरकारले मनमानी गरेमा प्रश्न उठाउने स्वतन्त्रता पाए। साथै यस जितले गर्दा यहोवाका साक्षीहरूको धार्मिक स्वतन्त्रता खोस्ने क्युबेकको चर्च अनि सरकारको दुष्प्रयास पूर्णतया विफल भयो। *

परमेश्वरको वचनका व्यापारी हौं कि परमेश्वरको राज्यका जोसिला प्रचारक?

१७. कुनै-कुनै सरकारले हाम्रो प्रचार गतिविधिमाथि कसरी रोक लगाउन खोज्छ?

१७ प्रथम शताब्दीका ख्रीष्टियनहरू जस्तै आज पनि परमेश्वरका जनहरू “परमेश्वरको वचनका व्यापारीहरू” होइनन्‌। (२ कोरिन्थी २:१७ पढ्‌नुहोस्) तैपनि कुनै-कुनै सरकारले हाम्रो प्रचार गतिविधिमाथि व्यापार व्यवसायमा लागू हुने नियम-कानुन लाद्‌न खोज्छन्‌। यहोवाका साक्षीहरू पैसा लिएर परमेश्वरको वचनको प्रचार गर्नेहरू हुन्‌ वा सेवकहरू हुन्‌ भन्ने प्रश्नको छिनोफानो गरिदिएको दुई वटा मुद्दा हेरौं।

१८, १९. डेनमार्कका अख्तियारवालाहरूले प्रचारकार्यलाई रोक्न के गरे?

१८ डेनमार्क। अक्टोबर १, १९३२ मा डेनमार्क सरकारले व्यापारसम्बन्धी एउटा कानुन पारित गऱ्यो। त्यस कानुनअनुसार व्यावसायिक अनुमति पत्र प्राप्त नगरीकन कुनै पनि प्रकाशन बेच्न पाइँदैन थियो। तर हाम्रा भाइहरूले अनुमति पत्रको लागि दरखास्त दिएनन्‌। कानुन पारित भएको भोलिपल्ट पाँच जना प्रकाशकले राजधानी कोपनहेगनबाट ३० किलोमिटर पश्‍चिमतिर पर्ने रसकिल भन्ने सहरमा दिनभरि प्रचार गरे। साँझतिर तिनीहरूमध्ये एक जना भाइ अगस्त लेमन बेपत्ता भएको थाह लाग्यो। तिनी अनुमति पत्रविना सामान बेचेको आरोपमा थुनामा परेका रहेछन्‌।

१९ डिसेम्बर १९, १९३२ मा भाइ अगस्त लेमनलाई अदालतमा हाजिर गराइयो। तिनले बाइबल साहित्य मानिसहरूलाई बाँडेको तर व्यापारचाहिं नगरेको कुरा बताए। जिल्ला अदालत तिनको बयानसित सहमत भयो। अदालतको फैसला यस्तो थियो: “प्रतिवादीलाई . . . पत्रपत्रिका वा किताब बेचेर जीविकोपार्जन गर्नुपर्ने कुनै बाध्यता छैन र तिनले यस कामबाट कुनै मुनाफा लिएका छैनन्‌ र लिने चाहना पनि राखेका छैनन्‌। बरु यस कामले गर्दा तिनले उल्टो घाटा बेहोर्नुपरेको छ।” साक्षीहरूको पक्ष लिंदै अदालतले भाइ लेमनको कामलाई “व्यापार व्यवसायसित दाँज्न” मिल्दैन भनेर पनि बतायो। तर परमेश्वरका जनहरूका विरोधीहरू देशभरि प्रचारकार्यलाई ठप्प पार्न लागिपरेका थिए। (भज. ९४:२०) सरकारी वकिलले डेनमार्कको सर्वोच्च अदालतमा फेरि मुद्दा हाले। हाम्रा भाइहरूले के गरे?

२०. डेनमार्कको सर्वोच्च अदालतले के फैसला सुनायो? त्यसपछि हाम्रा भाइबहिनीले के गरे?

२० सर्वोच्च अदालतमा सुनुवाइ हुने दिनसम्म डेनमार्कका साक्षीहरूले जोडतोडका साथ प्रचार गरे। अक्टोबर ३, १९३३ मङ्‌गलबारका दिन सर्वोच्च अदालतले फैसला सुनायो। भाइ अगस्त लेमनको कार्य गैरकानुनी थिएन भनेर जिल्ला अदालतले सुनाएको फैसलालाई सर्वोच्चले सदर गऱ्यो। यस फैसलापछि साक्षीहरूले खुल्लमखुल्ला प्रचार गर्न पाउने भए। यस्तो जितका लागि यहोवालाई धन्यवाद दिंदै भाइबहिनीहरू प्रचारकार्यमा झनै जोडतोडले लागे। अदालतको यस फैसलापछि डेनमार्कका हाम्रा भाइबहिनीहरू कुनै सरकारी हस्तक्षेपविना प्रचारकार्यमा लाग्न सकेका छन्‌।

डेनमार्कका निडर साक्षीहरू, सन्‌ १९३० दशकमा

२१, २२. भाइ मरडकको मुद्दामा अमेरिकाको सर्वोच्च अदालतले के फैसला सुनायो?

 २१ अमेरिका। फेब्रुअरी २५, १९४० आइतबारको दिन अग्रगामी भाइ रोबर्ट मरडक जुनियर र अरू सात जना साक्षीहरू पक्राउ परे। तिनीहरू पेन्सिलभेनिया राज्यको पिट्‌सबर्ग भन्ने सहरनजिकै पर्ने जानेटमा प्रचार गर्दै थिए। तिनीहरूलाई अनुमति पत्र नलिई प्रकाशन बेचेको आरोपमा दोषी घोषित गरियो। त्यसपछि भाइहरूले अमेरिकाको सर्वोच्च अदालतमा अपिल गरे र अदालत यो मुद्दा सुन्न राजी भयो।

२२ मे ३, १९४३ मा सर्वोच्च अदालतले साक्षीहरूको पक्षमा फैसला सुनायो। अदालतले अनुमति पत्र लिनुपर्ने आवश्यकता नभएको ठहर गऱ्यो। अदालतले दिएको फैसलाअनुसार यस्तो नियम बनाउनु “संविधानले प्रदान गरेको अधिकारको हनन” गर्नु थियो। अनुमति पत्र लिनुपर्ने नियमले “प्रेस स्वतन्त्रता र धार्मिक स्वतन्त्रतामा दखल पुऱ्याएको” ठहर गर्दै सर्वोच्चले उक्त नियमलाई खारेज गऱ्यो। उपस्थित प्रायजसो सबै न्यायाधीशको विचार पोख्दै न्यायाधीश विलियम ओ. डगलसले यहोवाका साक्षीहरूको कार्य “प्रचार गर्नु वा धार्मिक प्रकाशन बाँड्‌नु मात्र होइन। यो दुवैको समिश्रण हो” भने। तिनले अझै यसो भने: “यस्तो किसिमको धार्मिक क्रियाकलापले पनि त्यतिनै अधिकार पाउनुपर्छ, जति अधिकार कानुनले चर्चलाई उपासना गर्न अनि सिकाउन दिएको छ।”

२३. सन्‌ १९४३ मा हामीले जितेका मुद्दाहरू आज हाम्रो लागि किन महत्त्वपूर्ण छन्‌?

२३ सर्वोच्च अदालतको यो फैसला परमेश्वरका जनहरूको लागि ठूलो जित  थियो। यस फैसलाबाट हामी ख्रीष्टियन सेवकहरू हौं, पैसा लिएर परमेश्वरको वचन प्रचार गर्नेहरू होइनौं भनेर प्रस्ट भयो। सन्‌ १९४३ को मे ३ तारिख यहोवाका साक्षीहरूको लागि स्मरणीय दिन थियो। किनभने त्यो दिन तिनीहरूले सर्वोच्च अदालतमा लडिरहेको १३ वटा मुद्दामध्ये १२ वटा जिते। तीमध्ये एउटा मरडक मुद्दा पनि थियो। सार्वजनिक रूपमा अनि घरघरमा गएर राज्य सन्देश प्रचार गर्ने हाम्रो अधिकारमाथि अहिले पनि हाम्रा विरोधीहरूले प्रश्न उठाइरहेका छन्‌। तर हाम्रो पक्षमा सुनाइएका ती फैसलाहरू अहिले लडिरहेको मुद्दाहरूको लागि बलियो नजिर साबित भएको छ।

“हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा मान्नै पर्छ”

२४. सरकारले हाम्रो प्रचारकार्यमा प्रतिबन्ध लगाउँदा हामी के गर्छौं?

२४ कुनै रोकटोकविना प्रचार गर्ने हाम्रो अधिकारलाई सरकारले मान्यता दिंदा हामी यहोवाका सेवकहरू त्यसको कदर गर्छौं। तर सरकारले हाम्रो काममा प्रतिबन्ध लगाउँदा हामी प्रचार गर्ने तरिकामा छाँटकाँट गर्छौं। तर कुनै पनि हालतमा हामी प्रचार गर्न भने छोड्‌दैनौं। प्रेषितहरूले जस्तै “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा मान्नै पर्छ।” (प्रेषि. ५:२९; मत्ती २८:१९, २०) अर्कोतर्फ हाम्रो काममा लगाइएको प्रतिबन्ध हटाउन हामी अदालतसम्म पुग्छौं। दुइटा उदाहरण विचार गरौं।

२५, २६. निकारागुआका भाइहरू किन सर्वोच्च अदालत जानुपऱ्यो? सर्वोच्चले के फैसला सुनायो?

२५ निकारागुआ। नोभेम्बर १९, १९५२ मा निकारागुआ शाखाको सुपरिवेक्षण गरिरहेका मिसनरी भाइ डनोभन मन्स्टरम्यानलाई राजधानी मानागुआस्थित अध्यागमन विभागमा बोलाइयो। तिनलाई अध्यागमन विभागका प्रमुख क्याप्टेन आरनोल्डो गार्सियाले बोलाएका थिए। क्याप्टेन गार्सियाले भाइ डनोभनलाई निकारागुआमा यहोवाका साक्षीहरूले “आफ्नो शिक्षा प्रचार गर्न अनि कुनै पनि धार्मिक गतिविधि सञ्चालन गर्न पाउँदैनन्‌” भनेर बताए। यस्तो प्रतिबन्ध लगाउनुको कारण सोध्दा क्याप्टेन गार्सियाले यहोवाका साक्षीहरूले मन्त्रालयबाट प्रचार गर्ने अनुमति  पाएका छैनन्‌ भनेर जानकारी दिए। साथै यहोवाका साक्षीहरू कम्युनिस्ट हुन्‌ भन्ने रिपोर्ट प्राप्त भएको कुरा पनि बताए। यस्तो गलत रिपोर्ट कसले गरेको थियो? रोमन क्याथोलिक चर्चका पादरीहरूले।

प्रतिबन्धको बेला निकारागुआका भाइबहिनीहरू

२६ भाइ मन्स्टरम्यानले तुरुन्तै धर्मसित सम्बन्धित मामिला हेर्ने मन्त्रालयमा निवेदन दिए। साथै तिनले राष्ट्रपति आनास्तासियो सोमोसा गार्सियाकहाँ पनि निवेदन दिए। तर काम बनेन। त्यसैले भाइहरूले परिस्थिति विचार गर्दै छाँटकाँट गरे। तिनीहरू राज्यभवनमा होइन तर सानो-सानो समूहमा भेला हुन थाले। तिनीहरूले सडक साक्षी दिन बन्द गरे। तर प्रचार गर्न भने बन्द गरेनन्‌। तिनीहरूले हाम्रो काममा लगाइएको प्रतिबन्ध हटाइयोस् भनेर निकारागुआको सर्वोच्च अदालतमा दरखास्त पनि दिए। अखबारहरूले हाम्रो काममाथि लगाइएको प्रतिबन्धलाई निकै महत्त्व दिए। तिनीहरूले दरखास्तमा बताइएका कुराहरूसमेत उल्लेख गरे। निकारागुआको सर्वोच्च अदालत हाम्रो मुद्दा सुन्न राजी भयो। कस्तो फैसला सुनाइयो? जून १९, १९५३ मा सर्वोच्च अदालतले साक्षीहरूको पक्षमा सर्वसम्मत फैसला सुनायो। संविधानले प्रदान गर्ने वाक्‌ र धार्मिक स्वतन्त्रतालाई यस्तो प्रतिबन्धले हनन गर्छ भनेर अदालतले मानिलियो। साथै निकारागुआ सरकार र साक्षीहरूबीचको सम्बन्ध पहिलाको जस्तै कायम रहोस् भन्ने आदेश सर्वोच्चले दियो।

२७. सर्वोच्च अदालतको फैसला सुनेर निकारागुआली जनता किन तीनछक परे? भाइहरूका अनुसार यो मुद्दा जित्नुको कारण के थियो?

२७ सर्वोच्च अदालतले साक्षीहरूको पक्ष लिएको देखेर निकारागुआली जनता तीनछक परे। किनकि निकारागुवामा पादरीहरूको पहुँच निकै माथिसम्म हुने भएकोले तिनीहरूलाई चित्त नबुझ्ने कुनै निर्णय अदालतले गर्दैन थियो। अर्कोतिर ठूलो पोस्टमा बसिरहेका सरकारी कर्मचारीहरू धेरै शक्तिशाली हुने भएकोले अदालत तिनीहरूको निर्णयविपरीत पनि हतपती जाँदैन थियो। त्यसैले राजा येशू ख्रीष्टले नै उहाँका चेलाहरूको रक्षा गर्नुभएकोले अनि तिनीहरूले प्रचार गर्न पटक्कै नछोडेकोले यो मुद्दा जित्न सकेको हो भनेर हाम्रा भाइहरू पक्का भए।—प्रेषि. १:८.

२८, २९. सन्‌ १९८५/८६ तिर जाइरमा परिस्थितिले कसरी कोल्टे फेऱ्यो?

२८ जाइर। सन्‌ १९८५/८६ तिर जाइरमा (अहिले प्रजातान्त्रिक गणतन्त्र कंगो) करिब ३५,००० साक्षीहरू थिए। प्रचारको काम तीव्र रूपमा अघि बढिरहेकोले शाखा कार्यालयले नयाँ भवनहरू निर्माण गर्दै थियो। डिसेम्बर १९८५ मा जाइरको राजधानी किन्शासामा अन्तरराष्ट्रिय अधिवेशन पनि भयो। उक्त अधिवेशनमा संसारको विभिन्न ठाउँबाट ३२,००० भाइबहिनीहरू उपस्थित भएका थिए। तर यसपछि परिस्थितिले कोल्टे फेऱ्यो।

२९ त्यतिबेला जाइरमा मिसनरी भाइ मार्सेल फिल्तो सेवा गर्दै थिए। क्युबेकका यी भाइले डुप्लेसिसको शासनको बेलामा पनि निकै दुःख झेलेका थिए। जाइरमा भएको घटना सम्झदैं तिनी यसो भन्छन्‌: “मार्च १२, १९८६ को दिन जिम्मेवार भाइहरूले एउटा पत्र पाए। त्यो पत्रमा जाइरमा यहोवाका साक्षीहरूको सङ्‌गठनलाई गैरकानुनी घोषित गरिएको छ भन्ने जानकारी दिइएको थियो।” पत्रमा जाइरका राष्ट्रपति मोबुटु सेसे सेकोको हस्ताक्षर थियो।

३०. जाइर शाखा समितिले कस्तो गम्भीर निर्णय गर्नुपऱ्यो? अनि समितिका भाइहरू के निष्कर्षमा पुगे?

३० पत्र पाएको भोलिपल्ट सरकारी रेडियोमा यस्तो घोषणा भयो: “जाइरमा अबदेखि यहोवाका साक्षीहरूको नामसमेत सुनिनेछैन।” त्यसपछि सतावटको बाढी आयो। विरोधीहरूले राज्यभवनहरू तहसनहस पारिदिए, हाम्रा भाइबहिनीलाई लुटे, झ्यालखानामा थुने र कुटे। तिनीहरूले केटाकेटीलाई समेत झ्यालखानामा हाले।  अक्टोबर १२, १९८८ मा सरकारले हाम्रो सङ्‌गठनको सरसम्पत्ति जफत गऱ्यो र सेनाको एउटा टुकडीले शाखा कार्यालयमा अड्डा जमायो। जिम्मेवारी सम्हालिरहेका भाइहरूले राष्ट्रपति मोबुटुकहाँ अपिल गरे तर कुनै जवाफ आएन। यस्तो बेला शाखा समितिले एउटा गम्भीर निर्णय गर्नुपऱ्यो: “सर्वोच्च अदालतमा अपिल गर्ने वा पर्खने?” त्यतिबेला शाखा समितिका संयोजकको रूपमा सेवा गरिरहेका मिसनरी भाइ तिमोथी होम्स यसो भन्छन्‌: “हामीले यहोवासित बुद्धि अनि डोऱ्याइ माग्यौं।” प्रार्थनापूर्वक निकै विचार गरिसकेपछि शाखा समितिले तत्काल अदालत नजाने निर्णय गऱ्यो। बरु तिनीहरूले भाइबहिनीहरूको हेरविचार गर्नमै ध्यान दिने विचार गरे। साथै प्रचारको कामलाई निरन्तरता दिने उपायहरू सोच्न थाले।

“यहोवाले परिस्थितिलाई कसरी मोड्‌न सक्नुहुन्छ, हामीले त्यतिखेर देख्यौं”

३१, ३२. जाइरको सर्वोच्च अदालतले कुन उल्लेखनीय फैसला सुनायो? यसले हाम्रा भाइहरूलाई कस्तो असर पाऱ्यो?

३१ समय बित्दै जाँदा साक्षीहरूमाथिको कडिकडाउ कम हुन थाल्यो। साथै जाइरका जनता मानवअधिकारबारे पहिलेभन्दा सचेत हुन थाले। अब चाहिं हाम्रो गतिविधिमा लगाइएको प्रतिबन्ध हटाउन जाइरको सर्वोच्च अदालतमा अपिल गर्नु उचित हुन्छ भन्ने निष्कर्षमा शाखा समिति पुग्यो। सर्वोच्च अदालतले हाम्रो मुद्दा दर्ता गर्न मान्यो। राष्ट्रपतिले प्रतिबन्ध लगाएको झन्डै सात वर्षपछि जनवरी ८, १९९३ मा अदालतले साक्षीहरूमाथि सरकारले लगाएको प्रतिबन्ध गैरकानुनी हो भन्ने फैसला सुनायो। त्यसपछि प्रतिबन्ध हट्‌यो। सर्वोच्च अदालतका न्यायाधीशहरूले आफ्नो ज्यानको जोखिम मोलेर राष्ट्रपतिको निर्णयलाई बदर गरेका थिए! भाइ होम्स यसो भन्छन्‌: “यहोवाले परिस्थितिलाई कसरी मोड्‌न सक्नुहुन्छ, हामीले त्यतिखेर देख्यौं।” (दानि. २:२१) यो जितले गर्दा हाम्रा भाइहरूको विश्वास झन्‌ बलियो भयो। आफ्ना अनुयायीहरूलाई कुन बेला कसरी डोऱ्याउनुपर्छ, त्यो राजा येशू ख्रीष्टलाई थाह छ भनेर ती भाइहरूले महसुस गरे।

रोकटोकविना यहोवाको उपासना गर्न पाएकोमा खुसी भएका प्रजातान्त्रिक गणतन्त्र कंगोका साक्षीहरू

३२ प्रतिबन्ध हटाइएपछि शाखा कार्यालयले मिसनरीहरूलाई बोलाउने, शाखा कार्यालयको लागि नयाँ भवन निर्माण गर्ने अनि अन्य देशबाट बाइबल प्रकाशनहरू  मगाउने अनुमति पायो। * यहोवाले आफ्ना जनहरूको आध्यात्मिक हितको साँच्चै ख्याल राख्नुहुन्छ भनेर देख्न पाउँदा संसारभरिका परमेश्वरका जनहरू रमाउँछन्‌।—यशै. ५२:१०.

“यहोवा मेरो मदतगार हुनुहुन्छ”

३३. यहोवाका जनहरूले लडेका मुद्दाहरूबाट हामी के सिक्न सक्छौं?

३३ यहोवाका साक्षीहरूले पार गरेका थुप्रै कानुनी अड्‌चनहरूमध्ये केही हामीले यस अध्यायमा छलफल गऱ्यौं। अनि येशूले आफ्नो यो प्रतिज्ञा पूरा गर्नुभएको छ भनेर हामीले छर्लङ्‌ग बुझ्यौं: “तिमीहरूले के बोल्नुपर्ने हो, त्यो म तिमीहरूको मुखमा हालिदिनेछु र तिमीहरूलाई यस्तो बुद्धि दिनेछु, जसलाई तिमीहरूका सारा विरोधीहरूले एकजुट भएर पनि विरोध वा खण्डन गर्न सक्नेछैनन्‌।” (लूका २१:१२-१५ पढ्‌नुहोस्) आफ्ना जनहरूको रक्षा गर्न यहोवाले कहिलेकाहीं गमलिएलजस्ता मानिसहरूलाई चलाउनुभएको छ र निडर न्यायाधीश अनि वकिलहरूलाई ठीक फैसला गर्न उत्प्रेरित गर्नुभएको छ। यहोवाले हाम्रा विरोधीहरूको हतियारलाई बेकामको तुल्याइदिनुभएको छ। (यशैया ५४:१७ पढ्‌नुहोस्) चाहे जस्तोसुकै विरोध आओस्, परमेश्वरको काम कहिल्यै रोकिंदैन।

३४. हामीले हासिल गरेका जितहरू किन उल्लेखनीय छन्‌? यसले कुन कुराको प्रमाण दिन्छ? (“ सर्वोच्च अदालतले गरेका उल्लेखनीय फैसलाहरू” शीर्षक भएको पेटी पनि हेर्नुहोस्।)

३४ हामीले हासिल गरेका यस्ता जितहरू साँच्चै अपत्यारिला छन्‌। किनकि यहोवाका साक्षीहरू समाजका ठूलाठालु वा प्रभावशाली व्यक्तिहरू होइनन्‌। हामी भोट खसाल्दैनौं, राजनैतिक अभियानमा भाग लिंदैनौं, अनि राजनीतिज्ञहरूलाई समर्थन पनि गर्दैनौं। यसबाहेक जो भाइहरूले मुद्दा लडे, तिनीहरू संसारको नजरमा “अशिक्षित अनि साधारण” मानिसहरू थिए। (प्रेषि. ४:१३) त्यसैले मानिसको दृष्टिकोणबाट हेर्ने हो भने अदालतले धर्म अनि राजनीतिका शक्तिशाली ठेकेदारहरूको पक्ष नलिई हाम्रो पक्षमा फैसला सुनाउनुपर्ने कुनै बलियो कारण देखिंदैन। तैपनि अदालतले बारम्बार हाम्रै पक्षमा फैसला सुनाएको छ! हाम्रा जितहरूले हामी “परमेश्वरको नजरसामु, ख्रीष्टको साथमा” हिंड्‌छौं भनेर साबित गर्छ। (२ कोरि. २:१७) त्यसैले प्रेषित पावल सँगसँगै हामी पनि छाती फुलाएर यसो भन्छौं: “यहोवा मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैन।”—हिब्रू १३:६.

^ अनु. 9 कान्टवेलविरुद्ध कनेटिकट मुद्दा भाइ हेडन कभिङ्‌टनले सर्वोच्च अदालतमा साक्षीहरूको तर्फबाट वकालत गरेको पहिलो मुद्दा थियो। तिनले साक्षीहरूको पक्षबाट जम्माजम्मी ४३ वटा मुद्दा लडे। सन्‌ १९७८ मा तिनको मृत्यु भयो। तिनकी श्रीमती डोरोथीको मृत्यु सन्‌ २०१५ मा ९२ वर्षको उमेरमा भयो। तिनी अन्तसम्मै यहोवाप्रति वफादार रहिन्‌।

^ अनु. 12 साक्षीहरूमाथि यो अभियोग सन्‌ १६०६ मा पारित कानुनको आधारमा लगाइएको थियो। उक्त कानुनअनुसार न्यायमण्डलका सदस्यहरूलाई अभियोगीको बयानले द्वेषभावलाई बढवा दिन्छ भन्ने लागेमा तिनीहरूले अभियोगीलाई दोषी ठहराउन सक्थे। अभियोगीको कुरा साँचो भए तापनि तिनको कुरालाई बेवास्ता गरिन्थ्यो।

^ अनु. 14 सन्‌ १९५० मा क्युबेकमा १६४ जना पूर्ण-समय सेवकहरू थिए। तिनीहरूमध्ये ६३ जना गिलियड स्कुलका स्नातक थिए। घोर विरोध आइपर्न सक्छ भनेर थाह हुँदाहुँदै पनि तिनीहरू क्युबेक जान तयार भएका थिए।

^ अनु. 15 भाइ डब्ल्यु. ग्लेन हाउ निडर र सक्षम वकिल थिए। तिनले सन्‌ १९४३ देखि २००३ सम्म क्यानाडा र अरू देशमा यहोवाका साक्षीहरूको लागि सयौं मुद्दा लडे।

^ अनु. 16 यस मुद्दासम्बन्धी थप जानकारीको लागि मे ८, २००० अङ्‌कको ब्यूँझनुहोस्!, पृष्ठ १६-२२ मा “लडाइँ परमप्रभुको हातमा छ। तिमीहरूको हातमा होइन” भन्ने शीर्षक भएको लेख हेर्नुहोस्।

^ अनु. 32 सेनाले पछि शाखा कार्यालयको भवन खाली गरिदियो तर शाखा कार्यालयको नयाँ भवन अर्कै ठाउँमा बनाइयो।

अझ बढी सिक्नुहोस्

यहोवाका साक्षीहरू—विश्वास कामद्वारा देखाउँछन्‌, भाग २: ज्योति चम्कोस्

येशूले “सबै जातिका मानिसहरूलाई चेला बनाओ” भन्ने आज्ञा दिनुभयो। बाइबल विद्यार्थीहरूले थुप्रै विरोध र चुनौतीको सामना गर्नुपऱ्यो। यसबाट तिनीहरूले ज्योति चम्काउनुको महत्त्व राम्ररी बुझे।