अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

परमेश्वरको राज्यले शासन गर्दै छ!

 अध्याय १४

तिनीहरू परमेश्वरको राज्यलाई मात्रै वफादार भई समर्थन गर्छन्‌

तिनीहरू परमेश्वरको राज्यलाई मात्रै वफादार भई समर्थन गर्छन्‌

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

परमेश्वरको राज्यप्रति वफादार भएको कारण साँचो ख्रीष्टियनहरू यस संसारको होइनन्‌

१, २. (क) येशूले भन्नुभएको कुन कुरा आज हामीलाई पनि लागू हुन्छ? (ख) शत्रुहरूले कसरी हामीमाथि जित हासिल गर्न खोजेका छन्‌ तर नतिजा कस्तो भएको छ?

यहूदी राष्ट्रका शक्तिशाली न्यायाधीश पिलातससामु येशूले यसो भन्नुभएको थियो: “मेरो राज्य यस संसारको होइन। यदि मेरो राज्य यस संसारको हुँदो हो त, म यहूदीहरूको हातमा नपरोस् भनेर मेरा सेवकहरूले लडाइँ गर्नेथिए। तर कुरा के हो भने, मेरो राज्य यस संसारको होइन।” (यूह. १८:३६) येशूले त्यतिखेर भन्नुभएको कुराले हामीलाई अहिलेसम्म असर गर्छ। पिलातसले येशूलाई मृत्युदण्ड दिए। तर विरोधीहरूको यो जित क्षणिक थियो। किनभने येशूलाई फेरि मृत्युबाट ब्यूँताइयो। शक्तिशाली रोमी सम्राट्‌हरूले येशूका अनुयायीहरूलाई नामेट पार्न खोजे। तर तिनीहरू सफल भएनन्‌। बरु, ख्रीष्टियनहरूले त्यतिबेला संसारभरि परमेश्वरको राज्यको सन्देश फैलाए।—कल. १:२३.

सन्‌ १९१४ मा परमेश्वरको राज्य स्थापित भएपछि संसारका ठूलठूला सैन्य शक्तिहरूले परमेश्वरका जनहरूलाई नामेट पार्न खोजे। तर कसैले पनि परमेश्वरका जनहरूलाई नामेट पार्न सकेको छैन। थुप्रै सरकार तथा राजनैतिक गुटहरूले हामीलाई तिनीहरूको पक्षमा ल्याउन जबरजस्ती गरे। तर तिनीहरू हामीमाझ फूट ल्याउन सफल भएका छैनन्‌। आज संसारमा परमेश्वरको राज्यका प्रजा नभेटिने ठाउँ सायद कमै होला। संसारको जुनसुकै ठाउँमा बसे तापनि हामी विश्वव्यापी भाइचारामा बाँधिएका छौं र राजनैतिक मामिलाहरूमा पूर्णतया तटस्थ रहन्छौं। हाम्रो यस्तो एकताले तीन वटा कुराको बलियो प्रमाण दिन्छ। ती हुन्‌: पहिलो, परमेश्वरको राज्यले शासन गर्दै छ। दोस्रो, राजा येशू ख्रीष्टले आफ्ना प्रजाहरूलाई डोऱ्याउँदै हुनुहुन्छ। तेस्रो, उहाँले तिनीहरूको रक्षा गर्नुका साथै तिनीहरूलाई शुद्ध पनि पार्दै हुनुहुन्छ। आउनुहोस्, उहाँले यी सबै कसरी गर्दै हुनुहुन्छ, हामी हेरौं। साथै हामीले हासिल गरेका केही अन्य कानुनी विजयहरू पनि केलाएर हेरौं। यसले हाम्रो विश्वासलाई अझ बलियो बनाउँछ र यस संसारको नहुन बल दिन्छ।—यूह. १७:१४.

एउटा महत्त्वपूर्ण विषय

३, ४. (क) परमेश्वरको राज्यको जन्म हुँदा के-के भए? (ख) के ख्रीष्टियनहरूले तटस्थताको कुरा राम्ररी बुझिसकेका थिए, बताउनुहोस्।

सन्‌ १९१४ मा परमेश्वरको राज्य स्थापित भएपछि स्वर्गमा लडाइँ भयो र सैतानलाई पृथ्वीमा फालियो। (प्रकाश १२:७-१०, १२ पढ्‌नुहोस्) त्यसपछि पृथ्वीमा पनि लडाइँ सुरु भयो र यस लडाइँले गर्दा परमेश्वरका जनहरूको वफादारीको  जाँच भयो। तिनीहरूले परिस्थिति जतिसुकै कठिन भए तापनि येशूको पाइलामा हिंडिरहने अनि राजनैतिक मामिलामा तटस्थ भएर बस्ने निश्चय गरेका थिए। तर तिनीहरूले ख्रीष्टियनहरू कुन हदसम्म राजनैतिक मामिलाबाट अलग रहनुपर्छ भन्ने कुरा सुरु-सुरुमा राम्ररी बुझेका थिएनन्‌।

उदाहरणको लागि, सन्‌ १९०४ मा अङ्‌ग्रेजीमा प्रकाशित भएको सहस्र वर्षीय प्रभात * किताबको छैटौं खण्डमा ख्रीष्टियनहरूलाई सकेसम्म युद्धमा भाग नलिन प्रोत्साहन दिइएको थियो। यदि कुनै ख्रीष्टियनलाई सेनामा भर्ती हुन बोलाइहाल्यो भने तिनले हतियार चलाउन नपर्ने खालको काम रोज्नुपर्छ भनिएको थियो। तर त्यस्तो खालको काम दिइएन र तिनी हतियार बोकेर रणभूमि जानु नै पर्ने भयो भने तिनले हतियार चलाउनुहुँदैन भनेर बताइएको थियो। सन्‌ १९०५ मा बप्तिस्मा गरेका बेलायतका भाइ हर्बट सिनियर त्यतिबेलाको अवस्थाबारे यसो भन्छन्‌: “भाइहरू असाध्यै अलमल्लमा परेका थिए। हतियार चलाउन नपर्ने खालको काम हो भने सेनामा भर्ती हुनु गलत होइन भन्नेबारे हामीसित स्पष्ट निर्देशन थिएन।”

५. हाम्रो बुझाइमा भएको छाँटकाँटबारे सेप्टेम्बर १, १९१५ अङ्‌कको प्रहरीधरहरा-मा के बताइएको थियो?

तर सेप्टेम्बर १, १९१५ अङ्‌कको प्रहरीधरहरा-मा तटस्थताको विषयमा नयाँ जानकारी दिइयो। अङ्‌ग्रेजी किताब धर्मशास्त्रको अध्ययन-मा दिइएको सल्लाहलाई छाँटकाँट गर्दै उक्त प्रहरीधरहरा-मा यसो भनिएको थियो: “हाम्रो विचारमा हतियार चलाउन नपर्ने खालको काम गरे तापनि सेनामा भर्ती हुनु ख्रीष्टियन तटस्थतामा सम्झौता गर्नु सरह हो।” तर कुनै ख्रीष्टियनलाई तिनले सैन्य पोसाक लगाउन र सेनामा भर्ती हुन इन्कार गरेकोले मृत्युदण्ड दिने धम्की दिइयो भने नि? उक्त लेखमा यस्तो तर्क गरिएको थियो: “हाम्रो अगाडि दुई वटा विकल्प छ: राजा येशूका शिक्षालाई लत्याउँदै नेता अनि राजाहरूका लागि छातीमा गोली थाप्ने कि शान्तिको राजकुमारप्रति वफादार र आज्ञाकारी भएर उहाँको निम्ति गोली थाप्ने? हामी हाम्रै राजा येशूको निम्ति गोली थाप्न तयार छौं नि, होइन र?” उक्त प्रहरीधरहरा-मा यति बलियो तर्क दिइए तापनि लेखको अन्तमा यसो भनिएको थियो: “तर यस्तै गर्नुपर्छ भनेर हामी भन्दैनौं। हामीले केवल सुझाव मात्र दिएका हौं।”

६. भाइ हर्बट सिनियरको उदाहरणबाट तपाईंले के सिक्नुभयो?

केही भाइहरूले सेनामा भर्ती हुनु बिलकुलै गलत हो भनेर राम्ररी बुझे र तिनीहरू जस्तोसुकै परिणाम भोग्न समेत तयार भए। माथि अनुच्छेद ४ मा उल्लेख गरिएका भाइ हर्बट सिनियरले यसो भने: “मेरो लागि जहाजबाट गोला-बारुद झार्नु [हतियार चलाउनु नपर्ने काम] र बन्दुकमा गोली भर्नुबीच केही भिन्नता थिएन।” (लूका १६:१०) आफ्नो धार्मिक आस्थाको कारण सेनामा भर्ती हुन इन्कार गरेकोले भाइ हर्बटलाई जेल चलान गरियो। तिनी र अन्य चार जना भाइलाई धार्मिक आस्थाको कारण सेनामा भर्ती हुन नमान्ने १६ जना मानिसको समूहमा राखियो। यो समूहमा अन्य धर्मका मानिसहरू पनि थिए। तिनीहरूले बेलायतको रिचमन्ड जेलमा केही समय बिताए। एकचोटि भाइ हर्बट र धार्मिक आस्थाको कारण सेनामा भर्ती हुन इन्कार गर्ने जति सबैलाई  जहाजमा हालेर गुपचुप फ्रान्सको रणभूमिमा लगिएको थियो। तिनीहरूलाई त्यहाँ गोली हानेर मार्ने आदेश थियो। तिनी र अरूलाई गोली हान्न लहरै उभ्याइयो तर गोली भने हानिएन। बरु तिनीहरूको सजाय घटाएर दस वर्ष जेल सजाय सुनाइयो।

“युद्धको बेला समेत परमेश्वरका जनहरूले सबैसित शान्ति कायम गर्नुपर्छ भनेर मैले त्यतिखेर बुझें”—सिमोन क्राकर (अनुच्छेद ७ हेर्नुहोस्)

७. दोस्रो विश्वयुद्ध सुरु हुँदासम्म परमेश्वरका जनहरूले के कुरा बुझिसकेका थिए?

तैपनि, दोस्रो विश्वयुद्ध सुरु हुनुअघि परमेश्वरका जनहरूले तटस्थ हुनुको खास अर्थ के हो र येशूको पदचिन्हमा हिंड्‌नु भनेको के हो भनेर पहिलेभन्दा राम्ररी बुझिसकेका थिए। (मत्ती २६:५१-५३; यूह. १७:१४-१६; १ पत्रु. २:२१) उदाहरणको लागि, नोभेम्बर १, १९३९ अङ्‌कको प्रहरीधरहरा-मा “तटस्थता” शीर्षक भएको महत्त्वपूर्ण लेख छापिएको थियो। त्यस लेखमा यसो भनिएको थियो: “यहोवाका उपासकहरू युद्धको बेला पूर्णतया तटस्थ रहनै पर्छ। यो यहोवाका जनहरूले अनिवार्य पालन गर्नुपर्ने नियम हो।” ब्रूक्लिनमा हाम्रो मुख्यालयमा सेवा गरेका भाइ सिमोन क्राकरले त्यस लेखबारे यसो भने: “युद्धको बेला समेत परमेश्वरका जनहरूले सबैसित शान्ति कायम गर्नुपर्छ भनेर मैले त्यतिखेर बुझें।” परमेश्वरको राज्यप्रति वफादार भएर बस्ने अडान लिएकोले तिनीहरूले त्यतिखेर चरम यातना भोग्नुपर्ने अवस्था सृजना भयो। तर तटस्थताबारे ठीक समयमा दिइएको यस्तो आध्यात्मिक भोजनले गर्दा परमेश्वरका जनहरू त्यस्तो यातनाको सामना गर्न तयार भइसकेका थिए।

 विरोधको “नदी”

८, ९. प्रेषित यूहन्नाको भविष्यवाणी कसरी पूरा भयो?

सन्‌ १९१४ मा परमेश्वरको राज्यको जन्म भएपछि सैतानले आफ्नो मुखबाट नदी जस्तो पानीको फोहोरा ओकलेर परमेश्वरको राज्यका समर्थकहरूलाई नामेट पार्ने कुचेष्टा गर्नेछ भनेर प्रेषित यूहन्नाले भविष्यवाणी गरे। * (प्रकाश १२:९, १५ पढ्‌नुहोस्) यूहन्नाको भविष्यवाणी कसरी पूरा भयो? सन्‌ १९२० दशकदेखि परमेश्वरका जनहरूले अनेक विरोध सहनुपऱ्यो। अमेरिकामा भाइ क्राकर र अन्य थुप्रै भाइलाई परमेश्वरको राज्यलाई समर्थन गरेकोले दोस्रो विश्वयुद्धको बेला जेलमा हालियो। भन्ने हो भने, अमेरिकामा धार्मिक आस्थाको कारण युद्धमा भाग लिन नमानेकोले जेलमा परेका कैदीमध्ये दुई तिहाइ त यहोवाका साक्षीहरू नै थिए।

सैतान र त्यसका समर्थकहरू परमेश्वरका जनहरूको निष्ठा तोड्‌न लागिपरेका थिए। अफ्रिका, युरोप र अमेरिकामा तिनीहरूलाई अदालतमा उभ्याइयो। परिस्थिति जतिसुकै गाह्रो भए पनि तटस्थ रहने अडानले गर्दा तिनीहरूलाई झ्यालखानामा हालियो, कुटियो र अङ्‌गभङ्‌ग समेत गरियो। जर्मनीमा परमेश्वरका जनहरूले हिटलरको जयजयकार गाउन वा युद्धमा भाग लिन नमानेकोले भीषण यातनाको सामना गर्नुपऱ्यो। नाजी शासनको बेला झन्डै ६,००० जना साक्षीहरू थुनामा परे अनि जर्मनी र अन्य देशका १,६०० जनाभन्दा धेरै साक्षीहरूको हत्या गरियो। तैपनि परमेश्वरका जनहरूलाई पूरै नामेट पार्न सैतान सफल हुन सकेन।—मर्कू. ८:३४, ३५.

‘नदीलाई पृथ्वीले निल्यो’

१०. “पृथ्वी”-ले कसलाई बुझाउँछ र यसले परमेश्वरका जनहरूको पक्षमा कसरी कदम चाल्यो?

१० प्रेषित यूहन्नाको भविष्यवाणीअनुसार विरोधको “नदी”-लाई “पृथ्वी”-ले निल्छ। “पृथ्वी”-ले यस युगका समझदार मानिसहरूलाई चित्रण गर्छ। अर्को शब्दमा भन्नुपर्दा तिनीहरूले परमेश्वरका जनहरूलाई मदत गर्छन्‌। भविष्यवाणीको यो भाग कसरी पूरा भएको छ? दोस्रो विश्वयुद्धपछिका दशकहरूमा “पृथ्वी”-ले धेरैचोटि मसीही राज्यका वफादार समर्थकहरूको पक्षमा कदम चालेको छ। (प्रकाश १२:१६ पढ्‌नुहोस्) उदाहरणको लागि, यहोवाका साक्षीहरूले सेनामा भर्ती हुन र राष्ट्रिय समारोहहरूमा भाग लिन इन्कार गर्न सक्छन्‌ र यो उनीहरूको अधिकारको कुरा हो भनेर संसारभरिका विभिन्न ठूला अदालतहरूले फैसला गरिदिएको छ। सबैभन्दा पहिला, अनिवार्य सैनिक सेवासम्बन्धी विवादमा यहोवाका साक्षीहरूले हासिल गरेका केही उल्लेखनीय जितबारे विचार गरौं।—भज. ६८:२०.

११, १२. भाइ सिकरेला र भाइ थिल्मेनोसले कस्तो अवस्था सामना गर्नुपऱ्यो र नतिजा के भयो?

११ अमेरिका। एन्थोनी सिकरेलाको परिवार यहोवाका साक्षी थियो। तिनको परिवारमा तिनीसमेत छ जना छोराछोरी थिए। तिनले १५ वर्षको उमेरमा बप्तिस्मा गरे। तिनले २१ वर्षको उमेरमा सेना भर्ती केन्द्रमा धर्म प्रचारकको रूपमा आफ्नो नाम दर्ता गरे। त्यसको दुई वर्षपछि सन्‌ १९५० मा तिनले पुनः दरखास्त दिए। यसपटक चाहिं तिनले धार्मिक आस्थाको कारण युद्धमा भाग नलिने आफ्नो निर्णय स्पष्ट पारे। सङ्‌घीय अनुसन्धान आयोगले (एफबिआइ)  तिनको यस निर्णयमा कुनै आपत्ति जनाएन। तैपनि कानुन तथा न्याय मन्त्रालयले तिनलाई स्वीकृति दिएन। तल्लो अदालतहरूबाट चित्तबुझ्दो फैसला नआएपछि अमेरिकाको सर्वोच्च अदालतमा तिनको मुद्दा दायर गरियो। सर्वोच्च अदालतले तल्लो अदालतहरूको फैसला उल्टाएर भाइ सिकरेलाको पक्षमा फैसला सुनायो। यो फैसलाले अमेरिकामा धार्मिक आस्थाको कारण सेनामा भर्ती हुन इन्कार गर्ने अरू नागरिकहरूको लागि पनि बाटो खोल्यो।

१२ ग्रीस। सन्‌ १९८३ मा याकोभोस थिल्मेनोसलाई सैनिक बर्दी लगाउन इन्कार गरेको अभियोगमा जेल सजाय सुनाइयो। जेलबाट छुटेपछि तिनले लेखापालको जागिरको लागि आवेदन दिए। तर पुलिसमा तिनको आपराधिक रेकर्ड छ भन्ने कारण देखाएर तिनको आवेदन अस्वीकार गरियो। तिनी अदालत गए। तर ग्रीसको कुनै पनि अदालतले तिनको न्याय गरिदिएन। त्यसैले तिनले मानवअधिकारसम्बन्धी युरोपेली अदालतमा मुद्दा दायर गरे। सन्‌ २००० मा मानवअधिकारसम्बन्धी युरोपेली अदालतको १७ जना न्यायधीशहरू मिलेर बनेको माथिल्लो निकायले तिनको पक्षमा फैसला सुनायो। भेदभावको सिकार हुनेहरूको लागि यो फैसला एउटा नजीर बन्यो। मानवअधिकारसम्बन्धी युरोपेली अदालतले यो फैसला गर्नुअघि ग्रीसका ३,५०० भाइहरूको पुलिस रेकर्ड थियो। आफूहरूले लिएको तटस्थ अडानले गर्दा तिनीहरू जेलमा परेका थिए। साक्षीहरूको पक्षमा युरोपेली अदालतले गरेको निर्णयपछि भाइहरूमाथि लगाइएको आपराधिक अभियोग रद्द गर्न एउटा कानुन पास गरियो। केही वर्षअघि ग्रीसका सबै नागरिकले अनिवार्य सैनिक सेवाको सट्टा अरू कुनै निजामती सेवा गर्न पाउने कानुन पास भएको थियो, जुन ग्रीसको संविधान संशोधन हुँदा अझ पक्का भयो।

“अदालतभित्र पस्नुअघि मैले यहोवालाई व्यग्र प्रार्थना गरें। अनि मैले ढुक्क महसुस गरें।”—इभीलो स्तेफानो। (अनुच्छेद १३ हेर्नुहोस्)

१३, १४. भाइ स्तेफानो र भाइ बायाटानको मुद्दाबाट हामी के सिक्न सक्छौं?

१३ बुल्गेरिया। सन्‌ १९९४ मा १९ वर्षीय इभीलो स्तेफानोलाई सेनामा भर्ती हुन बोलाइयो। तर तिनले सेनामा भर्ती हुन वा हतियार चलाउनु नपर्ने खालको अन्य काम गर्न समेत इन्कार गरे। तिनलाई १८ महिनाको जेल सजाय सुनाइयो। आफ्नो धार्मिक आस्थाको कारण सेनामा भर्ती नहुने छनौट गर्न सक्ने आफ्नो अधिकारको आधारमा तिनले यस निर्णयविरुद्ध मुद्दा दायर गरे। पछि तिनको मुद्दा मानवअधिकारसम्बन्धी युरोपेली अदालतसम्म पुग्यो। तर यो मुद्दाको सुनवाइ हुनुअघि नै सन्‌ २००१ मा बुल्गेरिया सरकार र भाइ स्तेफानोबीच सहमति भयो। बुल्गेरिया सरकारले तिनको मात्र होइन तर अनिवार्य सैनिक सेवाको सट्टा अरू कुनै निजामती सेवा गर्न चाहने सबैको सजाय माफी गरिदियो। *

१४ आर्मेनिया। सन्‌ २००१ मा १८ वर्ष पुगेका भाहन बायाटान अनिवार्य सैनिक सेवाको लागि जानुपर्ने भयो। * तिनले आफ्नो धार्मिक आस्थाको कारण सेनामा भर्ती हुन इन्कार गर्दै अदालतमा मुद्दा दायर गरे। तर आर्मेनियाको अदालतहरूमा तिनले कुनै पनि मुद्दा जितेनन्‌। सन्‌ २००२ सेप्टेम्बरमा तिनको साढे दुई वर्षको जेल सजाय सुरु भयो। साढे दस महिना जेलमा बिताएपछि तिनलाई रिहा गरियो। यसबीच तिनले मानवअधिकारसम्बन्धी युरोपेली अदालतमा मुद्दा दायर गरे र तिनको मुद्दाको सुनवाइ भयो। तर सन्‌ २००९, अक्टोबर २७ मा युरोपेली अदालतले पनि तिनको पक्षमा फैसला सुनाएन। आर्मेनियाका भाइहरूको  लागि यो ठूलो हार थियो। तर मानवअधिकारसम्बन्धी युरोपेली अदालतको माथिल्लो निकायले तिनको मुद्दा पुनर्विचार गऱ्यो। सन्‌ २०११, जुलाई ७ मा युरोपेली अदालतले भाहन बायाटानको पक्षमा फैसला सुनायो। विचार अनि अन्तस्करणको र धार्मिक स्वतन्त्रताको अधिकारलाई ध्यानमा राख्दै युरोपेली अदालतले प्रत्येक व्यक्तिले आफ्नो धार्मिक आस्थाको आधारमा सेनामा भर्ती नहुने निर्णय गर्न सक्छ भनेर पहिलो चोटि मानिलियो। यस फैसलाले यहोवाका साक्षीहरूको मात्र होइन, युरोपेली सङ्‌घको सदस्य राष्ट्रहरूका लाखौं जनताको पनि अधिकार सुनिश्‍चित गऱ्यो। *

मानवअधिकारसम्बन्धी युरोपेली अदालतले हाम्रो पक्षमा फैसला गरेपछि आर्मेनियाका भाइहरू जेलबाट मुक्त भए

राष्ट्रिय समारोहको विषय

१५. परमेश्वरका जनहरू राष्ट्रिय समारोहहरूमा किन भाग लिंदैनन्‌?

१५ परमेश्वरका जनहरू सेनामा भर्ती हुन इन्कार गरेर मात्र होइन तर राष्ट्रिय समारोहहरूमा भाग लिन आदरपूर्वक इन्कार गरेर पनि परमेश्वरको राज्यप्रति वफादार हुन्छन्‌। विशेषगरि दोस्रो विश्वयुद्धपछि देशभक्ति संसारभरि समुद्रको ठूलो छाल जस्तै उर्लंदै गएको छ। थुप्रै देशमा नागरिकहरूले राष्ट्रिय गान गाएर  वा झन्डा सलामी गरेर देशभक्ति देखाउनुपर्ने कानुन पारित गरिएको छ। तर हामी यहोवा परमेश्वरको मात्र उपासना गर्छौं। (प्रस्थ. २०:४, ५) फलस्वरूप साक्षीहरूले धेरै विरोध सहनुपरेको छ। यस्तो विरोधलाई निल्न यहोवाले फेरि “पृथ्वी”-लाई चलाउनुभएको छ। यो क्षेत्रमा हामीले कुन-कुन मुद्दा लड्‌यौं र ती मुद्दा जित्न यहोवाले येशू ख्रीष्ट मार्फत हामीलाई कसरी मदत गर्नुभएको छ, केही उदाहरण विचार गरौं।—भज. ३:८.

१६, १७. लिलियन र विलियम गोविटासले कस्तो परिस्थितिको सामना गर्नुपऱ्यो? तिनीहरूको मुद्दाबाट तपाईंले के सिक्नुभयो?

१६ अमेरिका। सन्‌ १९४० मा अमेरिकाको सर्वोच्च अदालतमा चलिरहेको एउटा मुद्दा यहोवाका साक्षीहरूले हारे। यो मुद्दा मिनर्जभिल स्कुल विरुद्ध गोविटास भन्ने नामले चिनियो। बाह्र वर्षीया लिलियन गोविटास र तिनको १० वर्षीय भाइ विलियम यहोवालाई दुःखी बनाउने काम गर्न चाहँदैन थिए। त्यसैले यी दिदीभाइले झन्डा सलामी गर्न र राष्ट्रिय गान गाउन इन्कार गरे। यो कुरा तिनीहरूको स्कुललाई मन परेन। त्यसैले तिनीहरू स्कुलबाट निकालिए। तिनीहरूको मुद्दा अमेरिकाको सर्वोच्च अदालतसम्मै पुग्यो। तर अदालतले स्कुलको निर्णय संवैधानिक छ भनेर आफ्नो फैसला सुनायो। स्कुलले “राष्ट्रिय अखण्डतालाई” ध्यानमा राखेर त्यस्तो निर्णय गर्न सक्छ भनेर अदालतले बतायो। यो निर्णयले गर्दा यहोवाका साक्षीहरूले असाध्यै चर्को विरोधको सामना गर्नुपऱ्यो। थुप्रै साक्षीका छोराछोरीलाई स्कुलबाट निकालियो, वयस्क साक्षीहरूले जागिर गुमाए र मानिसहरूले जुलुस निकालेर थुप्रै साक्षीमाथि हातपात गरे। देशभक्तिसम्बन्धी एउटा अङ्‌ग्रेजी किताबअनुसार * सन्‌ १९४१ देखि सन्‌ १९४३ बीच यहोवाका साक्षीहरूले अमेरिकामा जुन विरोधको सामना गर्नुपऱ्यो, त्यस्तो अरू कुनै धर्मावलम्बीले कहिल्यै सामना गर्नुपरेको थिएन।

१७ तर परमेश्वरका शत्रुहरूले हात पारेको जित क्षणिक थियो। सन्‌ १९४३ मा सर्वोच्च अदालतमा गोविटासको जस्तै अर्को एउटा मुद्दा चल्यो। त्यो मुद्दा वेस्ट भर्जिनिया स्कुल बोर्ड विरुद्ध बार्नेट भन्ने नामले चिनियो। यसपटक भने सर्वोच्च अदालतले यहोवाका साक्षीहरूको पक्षमा फैसला सुनायो। अमेरिकाको इतिहासमा यति छोटो समयमा सर्वोच्च अदालतले आफूले पहिला गरेको निर्णय उल्टाएको यो पहिलो घटना थियो। यो फैसलापछि अमेरिकामा यहोवाका साक्षीहरूमाथि विरोधको बाढी ओइरिने क्रम रोक्यो। यहोवाका साक्षीहरूले हासिल गरेको यो जितले गर्दा अमेरिकी नागरिकको अधिकार अझै मजबुत भयो र त्यसको फाइदा सबैलाई भयो।

१८, १९. आफू वफादार रहन सक्नुको कारणबारे पाब्लो बारोसले के बताए? यहोवाका सेवकहरूले कसरी तिनको उदाहरणको अनुकरण गर्न सक्छन्‌?

१८ अर्जेन्टिना। सन्‌ १९७६ मा आठ वर्षीय पाब्लो र सात वर्षका उगो बारोसलाई झन्डोत्तोलन समारोहमा भाग लिन इन्कार गरेकोले स्कुलबाट निकालियो। एक चोटि त स्कुलको प्रिन्सिपलले पाब्लोलाई बेस्सरी घचेटिन्‌ र तिनको टाउकोमा पनि हिर्काइन्‌। तिनले छुट्टिपछि दुवै जनालाई एक घण्टासम्म घर जान दिइनन्‌। देशभक्ति प्रदर्शन गर्ने समारोहमा भाग लिन जबरजस्ती गरिन्‌। त्यतिबेला भोग्नुपरेको सास्ती सम्झँदै पाब्लो यसो भन्छन्‌: “यहोवाको मदत नपाएको भए म वफादार रहिरहन सक्दिनँ थिएँ होला।”

१९ यो मामिला अदालतसम्म पुग्यो र अदालतले पनि स्कुलको निर्णय सही  ठहर गऱ्यो। त्यसैले अर्जेन्टिनाको सर्वोच्च अदालतमा मुद्दा दायर गरियो। सन्‌ १९७९ मा तल्लो अदालतको निर्णयलाई उल्टाउँदै सर्वोच्च अदालतले यस्तो फैसला सुनायो: “सजायस्वरूप स्कुलबाट निकाल्ने निर्णय संविधानले दिएको शिक्षाको अधिकार (धारा १४) अनि सबैले प्राथमिक शिक्षा पाऊन्‌ भनेर कानुनले निश्‍चित गर्नुपर्ने नियम (धारा ५) विपरीत छ।” यस फैसलाले गर्दा लगभग १,००० साक्षी केटाकेटीले उन्मुक्ति पाए। कति जना स्कुलबाट निकालिनदेखि बचे भने पाब्लो र उगोलगायत अन्य थुप्रैलाई स्कुलमा फेरि भर्ना लिइयो।

विश्वासको परीक्षा हुँदा कलिलो उमेरका हाम्रा भाइबहिनीहरू यहोवाप्रति वफादार रहेका छन्‌

२०, २१. रोयल र एमिली इम्ब्रालिनागको मुद्दाले तपाईंको विश्वासलाई बलियो बनाउन कसरी मदत गर्छ?

२० फिलिपिन्स। सन्‌ १९९० मा ९ वर्षका रोयल इम्ब्रालिनाग र तिनकी १० वर्षीया दिदी एमिलीलगायत झन्डै ६६ जना अरू साक्षीलाई झन्डा सलामी नगरेकोले स्कुलबाट निकालियो। रोयल र एमिलीको बुबा लियोनार्डोले स्कुलको सञ्चालक निकायलाई साक्षीहरूको अडानबारे बुझाउने कोसिस गरे। तर स्कुलको सञ्चालक निकायले तिनको कुरा सुन्नै चाहेन। मामिला चर्किंदै गएपछि लियोनार्डोले फिलिपिन्सको सर्वोच्च अदालतमा मुद्दा दायर गरे। लियोनार्डोसित  मुद्दा लड्‌न चाहिने पैसा अनि वकिल पनि थिएन। लियोनार्डोको परिवारले यहोवालाई डोऱ्याइ माग्दै व्यग्र प्रार्थना गऱ्यो। तिनका छोराछोरी भने स्कुलमा गिल्ला अनि हाँसोको पात्र बनिरहेका थिए। अनि मुद्दा लड्‌ने कुनै अनुभव नभएकोले लियोनार्डोलाई मुद्दा जित्छु जस्तो त पटक्कै लागेको थिएन।

२१ तर एउटा अचम्मको कुरा भयो। लियोनार्डोको परिवारको तर्फबाट फेलिनो गानालले मुद्दा लड्‌ने पक्का भयो। तिनी फिलिपिन्समा नाम चलेका ल फर्मका वकिल थिए। मुद्दा चलिरहेको समयतिर फेलिनो गानाल यहोवाको साक्षी भएका थिए र तिनले ल फर्मको जागिर पनि छोडेका थिए। सर्वोच्चले साक्षीहरूको पक्षमा सर्वसम्मत फैसला सुनायो र झन्डा सलामी नगर्ने केटाकेटीलाई स्कुलबाट निकाल्ने आदेशलाई रद्द गरिदियो। परमेश्वरका जनहरूको निष्ठा भङ्‌ग गर्न खोज्ने मानिसहरूको प्रयास फेरि एकपटक विफल भयो।

तटस्थताले एकतामा बाँध्छ

२२, २३. (क) हामीले थुप्रै महत्त्वपूर्ण मुद्दाहरू जित्नुको कारण के हो? (ख) हाम्रो विश्वव्यापी भाइचाराले केको प्रमाण दिन्छ?

२२ यहोवाका जनहरूले किन यति धेरै जित हासिल गर्न सके? हामी राजनैतिक पहुँच भएका मानिसहरू होइनौं। तैपनि विभिन्न देश अनि विभिन्न अदालतमा निष्पक्ष न्यायाधीशहरूले हामीलाई क्रूर विरोधीहरूको हातबाट बचाएका छन्‌ र यसै क्रममा संवैधानिक अधिकार पनि सुनिश्‍चित गरिदिएका छन्‌। येशू ख्रीष्टको समर्थन पाएकोले नै हामीले यी जित हासिल गरेका हौं भन्ने कुरामा कुनै शङ्‌का छैन। (प्रकाश ६:२ पढ्‌नुहोस्) हामीले कानुनी व्यवस्थामा सुधार ल्याउन त्यस्ता मुद्दाहरू लडेका होइनौं। हामी कुनै अवरोधविना राजा येशू ख्रीष्टको सेवा गरिरहन चाहन्छौं। त्यसैले हामीले ती मुद्दाहरू लड्‌यौं।—प्रेषि. ४:२९.

२३ राजनैतिक विवाद अनि एक-अर्काप्रतिको घृणाले गर्दा आज संसार विभाजित भएको छ। तर हाम्रो राजा येशू ख्रीष्टले उहाँका चेलाहरूले तटस्थ रहन गरेको प्रयासमाथि आशिष्‌ दिनुभएको छ। फूटको बीउ रोपेर हामीमाथि विजय हासिल गर्ने सैतानको दाउ थियो। तर त्यो असफल भएको छ। बरु परमेश्वरको राज्यले ‘युद्ध गर्न सिक्न’ इन्कार गर्ने लाखौं मानिसलाई जम्मा गरेको छ। हाम्रो यो विश्वव्यापी भाइचाराले परमेश्वरको राज्यले शासन गर्दै छ भन्ने कुराको अकाट्य प्रमाण दिन्छ।—यशै. २:४.

^ अनु. 4 अङ्‌ग्रेजी भाषाको यो किताबलाई नयाँ सृष्टि पनि भनिन्छ। पछि सहस्र वर्षीय प्रभात किताबका खण्डहरूलाई धर्मशास्त्रको अध्ययन नाम दिइयो।

^ अनु. 8 यस भविष्यवाणीबारे थप जानकारीको लागि प्रकाश—त्यसको चरमोत्कर्ष निकट! किताबको अध्याय २७, पृष्ठ १८४-१८६ हेर्नुहोस्।

^ अनु. 13 इभीलो स्तेफानोसित भएको सहमतिअनुसार बुल्गेरियाको सरकारले धार्मिक आस्थाको कारण युद्धमा भाग लिन इन्कार गरेका सबैलाई निजामती सेवाको व्यवस्था मिलाइदिनुपर्थ्यो।

^ अनु. 14 भाहन बायाटानको मुद्दाको पूरा विवरण अङ्‌ग्रेजी प्रहरीधरहरा-को नोभेम्बर १, २०१२ अङ्‌कमा पृष्ठ २९-३१ मा पढ्‌न सक्नुहुन्छ।

^ अनु. 14 आर्मेनिया सरकारले २० वर्षको अवधिमा ४५० जना भन्दा धेरै जवान साक्षीहरूलाई थुनामा राख्यो। सन्‌ २०१३ नोभेम्बरमा थुनामा बाँकी रहेका सबै जना रिहा भए।

^ अनु. 16 The Lustre of Our Country