सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 तिनीहरूको विश्वास अनुकरण गर्नुहोस् | सारा

“तिमी हेर्नमा सुन्दरी छौ”

“तिमी हेर्नमा सुन्दरी छौ”

सारा कोठाको बीचतिर उभिंदै यताउति हेर्दै छिन्‌। मध्य-पूर्वकी यी महिलाको सुन्दर आँखामा के दुःखको भाव झल्किएको छ? छ भने त्यसको कारण बुझ्न गाह्रो छैन। तिनी र तिनका पति अब्राहाम लामो समयदेखि यो घरमा बस्दै छन्‌। तिनीहरूले यो घरमा रमाइलो जीवन बिताइरहेका छन्‌। * तिनीहरू दुवै जनाको लागि यो ठाउँ एकदमै प्यारो छ।

तिनीहरू ऊर भन्ने समृद्ध सहरमा बस्थे जहाँ कालिगड तथा व्यापारीहरूको कुनै अभाव थिएन। त्यसैले तिनीहरूसँग पक्कै पनि प्रशस्त धनसम्पत्ति थियो। तर साराको घर तिनको लागि धनसम्पत्ति राख्ने ठाउँ मात्र थिएन। सारा र तिनका पतिले वर्षौंदेखि सुख-दुःख भोगेको घर त्यही थियो। तिनीहरूले त्यसै घरमा आफ्नो मायालु परमेश्वर यहोवालाई अनगिन्ती पटक प्रार्थना गरेका थिए। सारालाई त्यो ठाउँ मन पर्नु एकदमै जायज थियो।

तर सारा यी सब कुरा छोडेर जान इच्छुक थिइन्‌। लगभग ६० वर्ष पुगिसकेकी सारा बिरानो ठाउँमा जाने थिइन्‌, यात्राको क्रममा थुप्रै जोखिम र कठिनाइ भोग्ने थिइन्‌। अनि फेरि फर्केर आउने आशा पनि थिएन। जीवनमा यति ठूलो परिवर्तन गर्न तिनलाई केले उत्प्रेरित गऱ्यो? अनि तिनले देखाएको विश्वासबाट आज हामी कस्तो पाठ सिक्न सक्छौं?

‘तिम्रो देश छोडेर जाऊ’

सारा सायद ऊरमै हुर्केकी थिइन्‌। अहिले त्यो सहर एउटा खण्डहरमा मात्र सीमित छ। तर साराको समयमा व्यापारीहरू टाढा-टाढाबाट बहुमूल्य सामानहरू जहाजमा लिएर यूफ्रेटिस नदी हुँदै यो सम्पन्न सहरमा आउँथे। ऊरको साँघुरो सडकमा मानिसहरूको घुइँचो लाग्थ्यो, नदीको किनारमा जहाजहरू खचाखच हुन्थे र बजार मालसामानले भरिभराउ हुन्थ्यो। सारा पनि त्यही व्यस्त सहरमा हुर्केको र त्यहाँका थुप्रै मानिससित तिनको चिनजान भएको कल्पना गर्नुहोस्। अनि त्यहाँका मानिसहरूले पनि तिनलाई पक्कै चिन्थे किनकि तिनी बिछट्टै राम्री थिइन्‌। तिनको त्यहाँ ठूलो परिवार पनि थियो।

सारा आफ्नो विश्वासको कारण बाइबलमा परिचित छिन्‌। तर त्यो विश्वास त्यतिबेला ऊरमा व्याप्त चन्द्रदेवको उपासनामा आधारित विश्वास थिएन। त्यहाँ चन्द्रदेवको एउटा अग्लो धरहरा ठड्‌याइएको थियो जसलाई सहरको जुनसुकै ठाउँबाट पनि देख्न सकिन्थ्यो। तर सारा भने साँचो परमेश्वर यहोवाको उपासना गर्थिन्‌। तिनले त्यस्तो विश्वास कसरी हासिल गरिन्‌ भनेर शास्त्रमा लेखिएको छैन। तिनका बुबा भने कुनै समय एक मूर्तिपूजक थिए। जे होस्, तिनले आफूभन्दा दस वर्ष जेठा अब्राहामसित विवाह गरिन्‌। * (उत्पत्ति १७:१७) पछि अब्राहाम “विश्वासले गर्दा असल ठहरिएकाहरू सबैको . . . बुबा बने।” (रोमी ४:११) सारा र अब्राहामको वैवाहिक सम्बन्ध बलियो थियो। तिनीहरू एकअर्कालाई आदर गर्थे, खुलस्त कुराकानी गर्थे अनि गाह्रोसाह्रो अवस्थामा पनि मिलेर काम गर्न इच्छुक थिए। सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरू दुवै जना ईश्वरलाई प्रेम गर्थे।

सारा आफ्नो पतिलाई असाध्यै माया गर्थिन्‌। तिनीहरूले आफन्तहरूको घरनजिकै ऊरमा आफ्नो घर बनाएका थिए। तर केही समय नबित्दै तिनीहरूले निराशाको सामना गर्नुपऱ्यो। बाइबलले  बताएअनुसार सारा “बाँझी थिइन्‌ र तिनको कोही छोरा-छोरी थिएनन्‌।” (उत्पत्ति ११:३०) त्यतिबेलाको प्रचलन विचार गर्ने हो भने साराको अवस्था असाध्यै कठिन थियो। तर सारा आफ्नो ईश्वर र आफ्नो पतिप्रति वफादार भइरहिन्‌। तिनीहरूको लूत नाम गरेका एक जना भतिजा थिए जसले आफ्नो बुबा गुमाएका थिए। उनी तिनीहरूको लागि छोराजस्तै भए। लामो समयसम्म तिनीहरूको जीवन यसरी नै चलिरहेको थियो।

एकदिन अब्राहाम एकदमै उत्साहित हुँदै साराकहाँ आए। भर्खरै जे घटना घट्‌यो, त्यसलाई अब्राहामले पत्याउनै सकिरहेका थिएनन्‌। तिनीहरू जुन ईश्वरको उपासना गर्थे, उहाँ भर्खरै स्वर्गदूतमार्फत देखा परेर अब्राहामसित बोल्नुभएको थियो! साराले उत्सुकतासाथ आफ्नो पतिलाई यो प्रश्न सोधेको कल्पना गर्नुहोस्: “उहाँले तपाईंलाई के भन्नुभयो? मलाई पनि भन्नुस् न!” यहोवाले भन्नुभएका कुराहरू सारालाई बताउनुअघि सायद अब्राहाम एकछिन कतै बसे; त्यसपछि यहोवाले भन्नुभएको यो कुरा सारालाई सुनाए: “तिम्रो देश अनि तिम्रा नातेदारहरूलाई छोडेर त्यस देशमा जाऊ, जुन म तिमीलाई देखाउनेछु।” (प्रेषित ७:२, ३) सुरुको उत्साह अलि साम्य भएपछि तिनीहरूले यहोवाले दिनुभएको जिम्मेवारीबारे मनन गरे। तिनीहरूले आफ्नो आरामदायी जीवन त्यागेर फिरन्तेको रूपमा जीवन बिताउनुपर्थ्यो। साराले कस्तो प्रतिक्रिया देखाउने थिइन्‌? अब्राहाम पक्कै पनि साराको जवाफ सुन्न उत्सुक थिए। के जीवनको यो नयाँ मोडमा तिनले आफ्नो पतिलाई राजीखुसीले साथ दिने थिइन्‌?

साराले गर्नुपरेको छनौटबारे बुझ्न हामीलाई गाह्रो लाग्न सक्छ। हामीलाई यस्तो लाग्न सक्छ, ‘ईश्वरले म र मेरो पतिलाई/पत्नीलाई यस्तो काम कहिल्यै अह्राउनुभएको छैन!’ तर के हामीले पनि यस्तै खालको छनौट गर्नुपर्दैन र? हामी भौतिक चिजबिजलाई एकदमै महत्त्व दिने संसारमा बाँचिरहेका छौं। यो संसारले आफ्नै सुविधा र धनसम्पत्तिलाई पहिलो स्थान दिन प्रोत्साहन दिन्छ। तर बाइबलले हामीलाई ईश्वरसित सम्बन्धित कुराहरूलाई पहिलो स्थान दिन र आफूलाई खुसी पार्ने कुरालाई भन्दा ईश्वरलाई खुसी पार्ने कुरालाई महत्त्व दिन आग्रह गर्छ। (मत्ती ६:३३) साराको छनौटलाई विचार गर्दै हामी आफैलाई यस्तो प्रश्न सोध्न सक्छौं, ‘म कस्तो छनौट गर्छु?’

तिनीहरू “देशबाट निस्के”

साराले पोकोपन्तरो कस्दै गर्दा तिनी के लैजाने, के छोड्‌ने दुबिधामा पर्छिन्‌। गधा र ऊँटको टाँगामा नअटाउने अनि फिरन्ते जीवनको लागि नसुहाउने सरसामान तिनी लैजान सक्दिनन्‌। त्यसैले धेरैजसो सरसामान तिनीहरूले कि त बेच्नुपर्थ्यो वा अरूलाई नै दिनुपर्थ्यो। सहरका सुखसुविधाहरू पनि त्याग्नुपर्थ्यो। अन्न, माछामासु, फलफूल, लत्ताकपडा र अन्य अत्यावश्यक कुरा अब सजिलै पाइने थिएन।

साराको विश्वासले तिनलाई आफ्नो घरको सुखसुविधा त्याग्न उत्प्रेरित गऱ्यो

सारालाई आफ्नो घर छोडेर जान एकदमै गाह्रो भएको हुन सक्छ। तिनको घर पुरातत्त्वविद्‌हरूले पत्ता लगाएका ऊरका थुप्रै घरजस्तै थियो होला। त्यसो हो भने तिनले थुप्रै सुखसुविधा त्याग्नुपर्ने थियो। त्यहाँका केही घरमा एक दर्जनभन्दा धेरै कोठा हुन्थे अनि सफा पानीको फोहोरा बगिरहेको हुन्थ्यो। धारापानीको पनि राम्रो प्रबन्ध थियो। गरिब मान्छेको समेत बलियो छाना, भित्ता र ढोका भएको पक्की घर हुन्थ्यो। के पालमा जीवन  बिताउँदा पक्की घरमा जस्तै चोरहरूबाट सुरक्षा पाउन सकिन्थ्यो र? अथवा बाइबलकालीन ठाउँहरूमा छ्यासछ्यासती पाइने सिंह, चितुवा, भालु, ब्वाँसोजस्ता जङ्‌गली जनावरबाट सुरक्षा पाउन सकिन्थ्यो र?

अनि परिवारका सदस्यहरू नि? साराले क-कसलाई छोड्‌नुपर्थ्यो? “तिम्रो देश अनि तिम्रा नातेदारहरूलाई छोडेर त्यस देशमा जाऊ” भनेर ईश्वरले दिनुभएको आज्ञा पूरा गर्न खासगरि सारालाई गाह्रो भएको हुन सक्छ। दयालु र मायालु स्त्री साराको पक्कै पनि दाजुभाइ दिदीबहिनी, भदा-भदै, काका-काकीजस्ता एकदमै नजिकका आफन्तहरू थिए होलान्‌। तिनीहरूलाई अबउसो कहिल्यै भेट्‌न नसक्ने पनि हुन सक्थ्यो। तर जाने दिन नजिकिंदै जाँदा साराले साहसी हुँदै आफूलाई तम्तयार अवस्थामा राखिन्‌।

गाह्रोसाह्रो अवस्था थुप्रै भए तापनि साराले सबै पोकोपन्तरो कसिन्‌ र तोकिएकै समयमा जान तयार भइन्‌। उमेर दुई सय वर्षजति भए पनि कुलपिताको नाताले तेरह पनि अब्राहाम र सारासँगै जानुपर्थ्यो। (उत्पत्ति ११:३१) साराले पक्कै पनि आफ्नो वृद्ध ससुराको हेरविचार गर्न धेरै परिश्रम गर्नुपर्थ्यो। यहोवाको आज्ञा मान्दै ‘कल्दीहरूको देशबाट निस्केर जाँदा’ लूत पनि तिनीहरूसँगै जाने थिए।—प्रेषित ७:४.

सुरुमा तिनीहरू यूफ्रेटिस हुँदै ऊरबाट लगभग ९६० किलोमिटर उत्तर-पश्‍चिममा पर्ने हारान भन्ने ठाउँमा गए। तिनीहरूले केही समय त्यहीं बिताए। तेरह त्यतिबेला कमजोर भइसकेका थिए, त्यसैले यात्रा गर्न सकेनन्‌। तेरहको मृत्यु नहोउन्जेल तिनीहरू त्यहाँबाट कतै गएनन्‌। अन्तमा २०५ वर्षको उमेरमा तेरहको मृत्यु भयो। तिनीहरूले अर्को यात्रा सुरु गर्नुअघि यहोवाले पुनः एकपटक अब्राहामसँग कुरा गर्नुभयो। उहाँले अब्राहामलाई त्यो ठाउँ पनि छोड्‌न र आफूले देखाएको ठाउँमा जान भन्नुभयो। यतिबेला भने यहोवाले उनीसित एउटा रोचक प्रतिज्ञा पनि गर्नुभयो: “म तँबाट एउटा ठूलो जाति खडा गर्नेछु।” (उत्पत्ति १२:२-४) तर तिनीहरू हारानबाट निस्कँदा अब्राहाम ७५ वर्षका र सारा ६५ वर्षकी थिइन्‌ र तिनीहरू अझै निसन्तान थिए। अब्राहामबाट कसरी एउटा जाति निस्कन सक्थ्यो र? के उनले अर्को पत्नी विवाह गर्ने थिए? त्यतिबेलाको समयमा बहुविवाह गर्ने कुरा साधारण थियो, त्यसैले साराले पनि त्यस विषयमा सोचेकी हुनुपर्छ।

जे होस्, तिनीहरूले हारान छोडे र अघि बढे। तिनीहरूसँग त्यतिबेला को-को थिए, याद गर्नुहोस्। विवरणअनुसार अब्राहामको परिवारले आफूले कमाएको सबै धन-सम्पत्तिका साथै “हारानमा प्राप्त गरेका मानिसहरू” लिएर निस्के। (उत्पत्ति १२:५) ती मानिसहरू को थिए? उनीहरू सायद दास हुन सक्छन्‌। तर सुन्न इच्छुक सबैलाई अब्राहाम र साराले आफ्नो विश्वासबारे पक्कै बताएको हुनुपर्छ। केही यहूदी विवरणअनुसार यो पदमा उल्लेख गरिएका मानिसहरू धर्म परिवर्तन गरेर यहूदी बनेकाहरू हुन सक्छन्‌ अनि अब्राहाम र साराले जस्तै यिनीहरूले पनि यहोवाको उपासना गरेका हुन सक्छन्‌। यदि त्यसो हो भने साराको गहिरो विश्वासको कारण तिनले अरूहरूलाई आफ्नो ईश्वर र उहाँले दिनुभएको आशाबारे पक्कै पनि विश्वस्त पार्न सकिन्‌। आज हामी बाँचिरहेको संसारमा यस्तो विश्वास र आशा भएका मानिसहरू भेट्टाउन साह्रै गाह्रो छ। त्यसैले साराको असल उदाहरण मनन गर्दै आफूले बाइबलबाट सिकेको राम्रो कुरा अरूलाई पनि बाँड्‌न सक्नुहुन्छ कि?

‘मिश्र देशमा गए’

ईसापूर्व १९४३ नीसान १४ को दिन यूफ्रेटिस नदी तरेपछि तिनीहरू यहोवाले प्रतिज्ञा गर्नुभएको देशतर्फ जान दक्षिणतिर गए। (प्रस्थान १२:४०, ४१) साराले यताउति हेर्दै त्यस सुन्दर र मनोरम ठाउँका दृश्यहरू नियालेको कल्पना गर्नुहोस्। शेकेमनजिकै मोरेका ठूलठूला रूख भएको ठाउँनेर यहोवा फेरि अब्राहामसामु देखा पर्नुभयो र उनलाई भन्नुभयो: “म तेरा सन्तानलाई यो देश दिनेछु।” यहाँ उल्लेख गरिएको “सन्तान” भन्ने शब्दले अब्राहामको लागि ठूलो अर्थ राख्ने थियो। त्यसबेला अब्राहामले पक्कै पनि अदनको बगैंचामा यहोवा परमेश्वरले गर्नुभएको भविष्यवाणी सम्झेको हुनुपर्छ। त्यस भविष्यवाणीअनुसार एउटा सन्तानले सैतानलाई नाश गर्ने थियो। अब्राहामबाट आउने जातिद्वारा पृथ्वीका सबै मानिसले आशिष्‌ पाउने बाटो खुल्नेछ भनेर यहोवाले उनलाई पहिल्यै बताइसक्नुभएको थियो।—उत्पत्ति ३:१५; १२:२, ३, ६, ७.

तर अब्राहामको परिवारले पनि विभिन्न दुःखकष्ट भोग्नुपऱ्यो। कनान देशमा अनिकाल पऱ्यो। त्यसैले अब्राहामले आफ्नो परिवारलाई दक्षिणतिर मिश्रमा लैजाने निर्णय गरे। तर त्यहाँ उनले एउटा सम्भाव्य खतरा देखे। त्यसैले उनले सारालाई यसो भने: “हेर, तिमी हेर्नमा सुन्दरी छौ भन्ने मलाई थाह छ। औ मिश्रीहरूले तिमीलाई देख्ता ‘यो ता त्यसकी स्वास्नी रहिछ’ भन्नेछन्‌। औ मलाई मारेर तिमीलाई चाहिं जीवित राख्नेछन्‌। ‘म तिनको बहिनी हुँ’ भनी तिमीले भनिदेऊ, र तिम्रो कारण मलाई भलो हुनेछ, र तिम्रै कारण मेरो ज्यान जोगिनेछ।” (उत्पत्ति १२:१०-१३) अब्राहामले किन यस्तो अनौठो आग्रह गरे?

केही आलोचकले दाबी गरेझैं अब्राहामले झूट बोलिरहेका वा उनी डरछेरुवा भइरहेका थिएनन्‌। सारा वास्तवमै उनकी सौतेनी बहिनी थिइन्‌। अनि अब्राहामले यसरी सावधानी अपनाउनु उचित  पनि थियो। अब्राहामद्वारा एउटा विशेष सन्तान र जाति उत्पन्न गराउने परमेश्वरको उद्देश्य थियो। योभन्दा महत्त्वपूर्ण कुरा अरू कुनै छैन भनेर अब्राहाम र सारालाई थाह थियो। त्यसैले अब्राहाम सुरक्षित हुनु असाध्यै महत्त्वपूर्ण थियो। अनि पुरातात्त्विक प्रमाणहरूले देखाएअनुसार मिश्रका शक्तिशाली पुरुषहरूका लागि कसैको पत्नीलाई जबरजस्ती लैजानु अनि तिनको पतिको हत्या गर्नु कुनै नौलो कुरा थिएन। त्यसकारण अब्राहामले विवेकी भई कदम चाले र साराले पनि आफ्नो पतिको निर्णयलाई नम्रतापूर्वक साथ दिइन्‌।

अब्राहामलाई जुन कुराको डर थियो, केही समय नबित्दै त्यस्तै भयो। फिरऊनका केही अधिकारीहरूले सारा त्यो उमेरमा पनि असाध्यै राम्री भएको कुरा याद गरे। तिनीहरूले यो कुरा फिरऊनलाई सुनाए र फिरऊनले त्यस स्त्रीलाई आफूकहाँ ल्याउने हुकुम गरे। अब्राहामलाई कत्ति पीडा भयो होला अनि सारा पनि कत्ति डराइन्‌ होला, कल्पना गर्नुहोस् त! तर सारालाई बन्धकको रूपमा नभई सम्मानित पाहुनालाई जस्तै व्यवहार गरियो। सायद फिरऊनले सारालाई फकाउन र आफूसित भएको धनसम्पत्तिको रवाफ देखाएर तिनलाई आकर्षित गर्न धेरै प्रयास गरे। अनि सारालाई आफ्नो पत्नी बनाउनको लागि तिनको “दाइ”-सित पनि राम्रो व्यवहार गरे।—उत्पत्ति १२:१४-१६.

दरबारको झ्याल वा बार्दलीबाट मिश्रका दृश्यहरू हेर्दै गरेकी साराबारे विचार गर्नुहोस्। पालको सट्टा चारैतिर भित्ताले घेरिएको र माथिपट्टि छाना भएको भवनमा बस्न पाउँदा अनि आफू अगाडिका मीठा-मीठा खानेकुराहरू देख्दा तिनलाई कस्तो लाग्यो होला? सायद तिनले बिताइरहेको जीवन ऊरमा छँदा तिनले बिताएको जीवनभन्दा पनि कता हो कता आरामदायी थियो होला। तर के तिनी यस्तो सुखसयलको जीवनको प्रलोभनमा परिन्‌? यदि तिनले अब्राहामलाई त्यागेर फिरऊनकी पत्नी हुने निर्णय गरेकी भए सैतान कत्ति खुसी हुने थियो होला, कल्पना गर्नुहोस् त! तर साराले त्यस्तो गरिनन्‌। तिनी आफ्नो पति र आफ्नो ईश्वरप्रति वफादार थिइन्‌। आजको अनैतिक संसारमा सबै विवाहित व्यक्तिले यस्तै खालको वफादारी देखाए कस्तो हुन्थ्यो होला! आफूले माया गर्ने व्यक्ति र साथीभाइसित व्यवहार गर्दा के तपाईं पनि साराको वफादारी अनुकरण गर्न सक्नुहुन्छ?

फिरऊनको दरबारमा विभिन्न प्रलोभन सामना गर्नुपरे तापनि सारा आफ्नो विवाहित जोडीप्रति वफादार भइन्‌

यहोवाले फिरऊन र तिनको परिवारमाथि विपत्तिहरू पठाएर सारालाई जोगाउनुभयो। जब फिरऊनले सारा अब्राहामकी पत्नी हुन्‌ भनेर थाह पाए, तिनले सारालाई अब्राहामकहाँ फिर्ता पठाइदिए र सबै परिवारलाई मिश्र छोड्‌न हुकुम गरे। (उत्पत्ति १२:१७-२०) आफ्नी प्रिय पत्नी फिर्ता पाउँदा अब्राहामलाई कत्ति खुसी लाग्यो होला! उनले सारालाई मायालुपूर्वक यसो भनेका थिए: “हेर, तिमी हेर्नमा सुन्दरी छौ भन्ने मलाई थाह छ।” तर उनले साराको बाहिरी रूपको मात्र नभई त्योभन्दा पनि महत्त्वपूर्ण सुन्दरताको कदर गरे। सारामा भित्री सुन्दरता थियो जसको यहोवा मोल गर्नुहुन्छ। (१ पत्रुस ३:१-५) यस्तो सुन्दरता हामी सबैले विकास गर्न सक्छौं। हामीले भौतिक चिजबिजलाई भन्दा परमेश्वरसित सम्बन्धित गतिविधिलाई पहिलो स्थान दियौं, परमेश्वरबारे सिकेको कुरा अरूलाई बतायौं र प्रलोभनहरू आउँदा वफादार भई परमेश्वरको नैतिक स्तरअनुरूप चल्यौं भने हामीले साराको विश्वास अनुकरण गरिरहेका हुन्छौं।

^ अनु. 3 पहिला तिनीहरूको नाम अब्राम र साराई थियो। तर पछि तिनीहरू यहोवाले दिनुभएको नामद्वारा चिनिन्छन्‌।—उत्पत्ति १७:५, १५.

^ अनु. 8 सारा अब्राहामको सौतेनी बहिनी थिइन्‌। तिनीहरू दुवै जनाको बुबा तेरह थिए तर आमा भने फरक-फरक थिए। (उत्पत्ति २०:१२) आजकल यस्तो विवाहलाई उचित ठानिंदैन तर त्यो समयमा भने कुरा फरक थियो। मानिसहरू आदम र हव्वाले गुमाएको त्रुटिरहित अवस्थाको नजिकै थिए। त्यतिबेलाका मानिसहरू बलिया भएकाले नजिकका आफन्तहरूसित विवाह गरे पनि पछि जन्मिने सन्तानहरूमा आनुवंशिक समस्याहरू देखिदैनथ्यो। तर त्यसको ४ सय वर्षपछिका मानिसहरूको आयु भने हाम्रो जस्तै थियो। त्यसबेला मोशाको व्यवस्थाले नजिकका आफन्तहरूसित यौनसम्बन्ध राख्न निषेध गरेको थियो।—लेवी १८:६.