सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा  |  अप्रिल २०१५

फोहोरको थुप्रोमा भेट्टाइएको बहुमूल्य रत्न

फोहोरको थुप्रोमा भेट्टाइएको बहुमूल्य रत्न

फोहोरको थुप्रो भन्ने बित्तिकै तपाईंको मनमा के आउँछ? रद्दी र दुर्गन्धित कुराहरू भएको ठाउँ मनमा आउँछ, हैन र? त्यस्तो ठाउँमा कुनै बहुमूल्य रत्न भेट्टाइएला भनेर तपाईं पक्कै सोच्नुहुन्न होला।

करिब सय वर्षअघि यस्तै ठाउँमा एउटा बहुमूल्य कुरा भेटियो। यो साँच्चैको रत्न त थिएन तर रत्नभन्दा नि बहुमूल्य थियो। त्यस्तो बहुमूल्य कुरा के थियो? अनि यो हाम्रो समयमा किन महत्त्वपूर्ण छ?

आशा नगरिएको कुरा भेट्टियो

बीसौं शताब्दीको सुरुतिर अक्सफोर्ड विश्वविद्यालयका विज्ञहरू बर्नार्ड पि. ग्रेनफेल र आर्थुर एस. हन्ट इजिप्ट गएका थिए। नाइल नदीको नजिकै रहेको फोहोरको थुप्रोमा तिनीहरूले थुप्रै पपाइरसका टुक्राहरू भेट्टाए। * सन्‌ १९२० मा यी दुई विज्ञहरूले भेट्टाएका पपाइरसहरूलाई किताबजस्तै बनाउने क्रममा इजिप्टबाट उत्खनन गरिएका थप पपाइरसका टुक्राहरू ग्रेनफेलले जम्मा गरे। यी टुक्राहरू तिनले बेलायतको म्यानचेस्टरको द जोन राइलान्ड्ज पुस्तकालयको लागि जम्मा गरेका थिए। तर यी पपाइरसका टुक्राहरूलाई किताब बनाउन नपाउँदै दुवै जनाको मृत्यु भयो।

अक्सफोर्ड विश्वविद्यालयका अर्को एक जना विज्ञ कोलीन एच. रोबर्टस्ले यो कामलाई पूरा गरे। ती टुक्रा मिलाउने क्रममा तिनले लम्बाइ ३.५ र चौडाइ २.४ इन्च भएको पपाइरसको टुक्रा देखे। तर अचम्मको कुरा, ग्रीक भाषामा त्यहाँ लेखिएका शब्दहरू चिरपरिचित थिए। पपाइरसको एक तर्फ यूहन्ना १८:३१-३३ बाट लिइएका शब्दहरू थिए भने अर्कोतर्फ यही अध्यायको पद ३७ र ३८ उल्लेख गरिएको थियो। यो टुक्रा वास्तवमा बहुमूल्य रत्न जस्तै हो भनेर रोबर्टस्ले बुझे।

राइलान्ड्ज पपाइरस कहिले लेखिएको थियो?

रोबर्टस्ले यो पपाइरस धेरै पुरानो हुनसक्ने अनुमान गरे। तर कति पुरानो? यो कुरा पत्ता लगाउन तिनले यसको हस्तलिपिलाई अरू पुराना पाण्डुलिपीका हस्तलिपिसित तुलना गरे। यसरी हस्तलिपिहरू तुलना गर्ने विषयलाई पालियोग्राफी भनिन्छ। * यो तरिका अपनाएर रोबर्टस्ले पपाइरस कहिले लेखिएको हुन सक्छ भन्ने अनुमान गरे। तर तिनी यो कुरा पक्का गर्न चाहन्थे। त्यसैले ती टुक्राहरूको फोटो खिचेर त्यसको प्रतिलिपिहरू तीन जना पपाइरसका विज्ञहरूलाई (पपाइरोलोजिस्ट) पठाइदिए। पपाइरस ठ्याक्कै कहिले लेखिएको हो पत्ता लगाउन रोबर्टस्ले तिनीहरूलाई आग्रह गरे। ती विज्ञहरूले के पत्ता लगाए?

अक्षरहरू लेखिएको शैलीको राम्रो अध्ययन गरिसकेपछि ती तीन विज्ञहरू एउटा निष्कर्षमा पुगे। यो पपाइरस प्रेषित यूहन्नाको मृत्यु भएको केही दशकपछि इस्वी संवत्‌ १२५ तिर लेखिएको हो भन्ने कुरा तिनीहरूले पत्ता लगाए। पाण्डुलिपिहरू कहिले लेखियो भनेर पत्ता लागाउन पालियोग्राफीले पूर्ण प्रमाण नदिने भएकोले अरू विज्ञहरूले त्यो पपाइरस दोस्रो शताब्दीमा लेखिएको पनि हुन सक्छ भनेर दाबी गरे। तर कुरा जेसुकै होस्, यो सानो पपाइरस आज पाइने ख्रीष्टियन ग्रीक धर्मशास्त्रका पाण्डुलिपिहरूमध्ये सबैभन्दा पुरानो हो।

पपाइरस राइलान्ड्जले के कुरा स्पष्ट पार्छ?

बाइबल पढ्न मनपराउनेहरूका लागि यूहन्नाको पुस्तकको टुक्रा किन महत्त्वपूर्ण छ? यसका दुईवटा कारण छन्‌: पहिलो, पपाइरस बनाइएको तरिकाले प्रथम शताब्दीका ख्रीष्टियनहरूले धर्मशास्त्रलाई धेरै मूल्यवान्‌ ठान्थे भनेर बुझिन्छ।

बाइबल पढ्न मनपराउनेहरूका लागि यूहन्नाको पुस्तकको टुक्रा किन महत्त्वपूर्ण छ?

 दोस्रो शताब्दीतिर दुई तरिकाले किताब बनाइन्थ्यो: एउटा मुठोमा र अर्को कोडेक्समा। मुठो बनाउन पपाइरसका टुक्राहरू वा जनावरका छालाका टुक्राहरू सँगै टाँसिथ्यो वा सिलाइन्थ्यो अनि त्यसलाई लामो पाना बनाइन्थ्यो। पानालाई बन्द गर्न र खोल्न बटारिन्थ्यो। प्रायः मुठोको एकापट्टि मात्र लेखिन्थ्यो।

रोबर्टस्ले भेट्टाएका पपाइरसका पानामा भने दुवै पट्टि लेखिएको थियो। त्यसैले यो पपाइरस मुठो नभई कोडेक्स हुनुपर्छ। कोडेक्स जनावरको छाला वा पपाइरसका टुक्रालाई सिलाएर बनाइन्थ्यो। तर मुठो जस्तो नभई यसलाई पट्याएर किताबजस्तै बनाइन्थ्यो।

मुठोको तुलनामा कोडेक्स किन राम्रो थियो? प्रथम शताब्दीका ख्रीष्टियनहरू प्रचारक थिए। (मत्ती २४:१४; २८:१९, २०) तिनीहरूले घरमा, बजारमा र बाटोमा मानिसहरू जहाँ-जहाँ भेट्टिन्थे त्यहीं बाइबलको सन्देश सुनाउँथे। (प्रेषित ५:४२; १७:१७; २०:२०) त्यसैले बोक्न सजिलो बाइबल भएमा तिनीहरूलाई प्रचारको काम गर्न निकै सहज हुने थियो।

मण्डलीका सदस्यहरूलाई आफ्नै निम्ति बाइबलको प्रतिलिपि बनाउन कोडेक्सले सम्भव तुल्यायो। त्यसैले बाइबलको मत्तीदेखि यूहन्नाका किताबहरूका थुप्रै प्रतिलिपि बनाइए। त्यसले गर्दा पनि ख्रीष्टियन धर्म द्रुत गतिमा फैलिन मदत पुगेको हुनुपर्छ।

राइलान्ड्ज पपाइरस, अगाडि र पछाडिको पाना

अहिले हाम्रो लागि पपाइरस राइलान्ड्ज महत्त्वपूर्ण हुनुको दोस्रो कारण के हो भने यसले मौलिक बाइबलको भरपर्दो तरिकामा प्रतिलिपि बनाइएको कुरा पनि स्पष्ट देखाउँछ। हुन त राइलान्ड्ज पपाइरसमा यूहन्नाको पुस्तकको केही पद मात्र उल्लेख गरिएको छ। तैपनि यसमा लेखिएका कुराहरू हामीसित भएका बाइबलका शब्दहरूसित ठ्याक्कै मिल्छ। बाइबलको थुप्रै प्रतिलिपि बनाइएको भए तापनि त्यस भित्रका कुराहरू परिवर्तन भएका छैनन्‌ भनेर राइलान्ड्ज पपाइरसले प्रस्ट्याउँछ।

भरपर्दो तरिकामा बाइबलको प्रतिलिपि बनाइएको हो भन्ने प्रमाण राइलान्ड्ज पपाइरसले मात्र नभई हजारौं पाण्डुलिपि र पपाइरसका अरू टुक्राहरूले देखाउँछ। द बाइबल एज हिस्ट्री भन्ने किताबका लेखकले यस्तो लेखे: “मानिसहरूले बाइबल भरपर्दो छैन र यसलाई परिवर्तन गरिएको छ भनेर शङ्का गर्छन्‌। तर यी पुराना पाण्डुलिपिहरूले ती कुरा सरासर गलत हुन्‌ भनेर प्रमाणित गर्छ।”

साँचो ख्रीष्टियनहरूको विश्वास पुरातत्त्वविद्हरूले पत्ता लगाएका कुरामा निर्भर हुँदैन। हुन त तिनीहरू “धर्मशास्त्रमा भएका सबै कुरा परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो” भन्ने कुरामा विश्वस्त छन्‌। (२ तिमोथी ३:१६) तैपनि यस्ता बहुमूल्य रत्नले बाइबलमा लेखिएको यी शब्दहरू प्रमाणित गर्दा हामी ढुक्क महसुस गर्छौं: “यहोवाको वचन भने सधैंभरि रहिरहन्छ।”—१ पत्रुस १:२५.

^ अनु. 5 पपाइरस पुरातन समयमा पपाइरसको बिरुवाबाट बनाइने एक किसिमको कागज हो।

^ अनु. 8 म्यानुस्क्रिप्ट अफ ग्रीक बाइबल किताबका अनुसार “पालियोग्राफी भनेको पुरातन हस्तलिपिहरूको अध्ययन गर्ने विषय हो।” समयको दौडान हस्तलिपिको शैली परिवर्तन हुन्छ। भरपर्दो मिति भएका पुराना कागजातहरू छन्‌ भने मात्र पाण्डुलिपिहरू कहिले लेखिएको हो भनेर पत्ता लगाउन सकिन्छ।