सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा  |  मार्च २०१५

राजालाई दिन योग्य उपहार

राजालाई दिन योग्य उपहार

“पूर्वबाट ज्योतिषीहरू यरूशलेम आए . . . उनीहरूले आफ्नो कन्तुरबाट सुन, सेतो धूप र मर्र झिकेर उहाँलाई उपहार चढाए।”—मत्ती २:१, ११.

कुनै महत्त्वपूर्ण व्यक्तिलाई तपाईं कस्तो उपहार दिन चाहनुहुन्छ? बाइबलकालीन समयमा कुनै-कुनै मसला सुन जतिकै बहुमूल्य हुन्थ्यो। ती मसला राजालाई उपहार समेत दिन योग्यको ठानिन्थ्यो। * त्यसैले ज्योतिषीहरूले “यहूदीहरूका राजा”-को लागि भनेर ल्याएका उपहारमध्ये दुईवटा चाहिं सुगन्धित मसलाहरू थिए।—मत्ती २:१, २, ११.

सुगन्धित तेल

शबाकी रानीले सुलेमानसित भेट्न आएको विवरणबारे बाइबलमा यसो लेखिएको छ: “तिनले राजालाई एक सय बीस तोडा सुन, प्रशस्त मात्रामा मसला र बहुमूल्य रत्नहरू चढाइन्‌। सुलेमान राजालाई शबाकी रानीले दिएको बराबर कुनै मसलाहरू कहिल्यै आएको थिएन।” (२ इतिहास ९:९) अरू राजाहरूले पनि सुलेमानसित सुमधुर सम्बन्ध कायम गर्न मसलाहरू पठाएका थिए।—२ इतिहास ९:२३, २४.

बाइबलकालीन समयमा मसलाहरू किन त्यति बहुमूल्य र महँगो हुन्थ्यो? किनकि थुप्रै महत्त्वपूर्ण कामकाजको लागि यसको प्रयोग हुन्थ्यो, जस्तै सौन्दर्य, धार्मिक क्रियाकलाप अनि लास गाड्ने बेलामा पनि प्रयोग गरिन्थ्यो। (“ बाइबलकालीन समयमा सुगन्धित मसलाको प्रयोग” भन्ने पेटी हेर्नुहोस्) मसला महँगो हुनुको अर्को कारण यसको माग अनि ढुवानी खर्च धेरै भएकोले हो।

अरबी मरुभूमि पार गर्नुपर्ने

जङ्गली दालचिनी

बाइबलकालीन समयमा केही मसला यर्दनको बेसीमा पाइन्थ्यो तर अरू चाहिं अन्य ठाउँहरूबाट ल्याउनुपर्थ्यो। बाइबलमा विभिन्न प्रकारका मसलाबारे चर्चा गरिएका छन्‌, जस्तै केशर, घिउकुमारी, तिउरी, दालचिनी, सेतो धूप, मर्र, आदि। साथै जीरा, पुदिना र सुप जस्ता खानामा हाल्ने मसला पनि त्यतिखेर सामान्य थियो।

यी विशेष मसलाहरू कहाँबाट ल्याइन्थ्यो? घिउकुमारी, क्यासिया (जङ्गली दालचिनी) र दालचिनी जस्ता मसला चीन, भारत र श्रीलङ्कामा पाइन्थ्यो। मर्र र सेतो धूप चाहिं अफ्रिकाको दक्षिण अरबदेखि सोमालियासम्मको मरुभूमिमा पाइन्थ्यो। अनि जटामसी भारतको हिमाली क्षेत्रमा पाइन्थ्यो।

केशर

यी मसलाहरूलाई अरबको भूभाग हुँदै इस्राएलसम्म ल्याइन्थ्यो। मसलासम्बन्धी एउटा किताब द बुक अफ स्पाइसेज का अनुसार ईसापूर्व दोस्रो र प्रथम शताब्दीमा अरब देश “पूर्व र पश्‍चिमबीच मसला ढुवानी गर्ने मुख्य देश बन्यो।” दक्षिण इस्राएलको नेगेवमा भेट्टाइएका पुरातन सहरहरू, किल्लाहरू र यात्रु बिसौनीहरूले त्यतिबेलाका मसला व्यापारीहरूले कुन बाटो प्रयोग गर्थे भन्ने कुरा देखिन्छ। युनेस्को विश्व सम्पदाका अनुसार “यी बस्तीहरूले दक्षिण अरबदेखि भूमध्यसागरसम्मै मसला व्यापार निकै फस्टाएको थियो भनेर प्रस्टै देखाउँछ।”

“मसलाको माग धेरै, मात्रा थोरै र महँगो थियो। तैपनि व्यापारजगतमा निकै लोकप्रिय थियो।”—द बुक अफ स्पाइसेज

यी सुगन्धित मसलाहरू लिएर यात्रीदलहरू अरबबाट  लगभग १८०० किलोमिटर नियमित रूपमा यात्रा गर्थे। (अय्यूब ६:१९) बाइबलमा पनि इश्माएली व्यापारीहरूले गिलियाददेखि मिश्रदेशसम्म “सुगन्धित धूप, सुगिन्धत लेप, मर्र” जस्ता मसलाहरू लगेको कुराबारे बताइएको छ। (उत्पत्ति ३७:२५) याकूबका छोराहरूले आफ्नो भाइलाई यस्तै व्यापारीहरूको हातमा बेचिदिएका थिए।

“मसला व्यापारीहरूले राखेको गोप्य कुरा”

सुप

थुप्रै शताब्दीसम्म मसलाको व्यापार अरबी व्यापारीहरूले मात्रै गरे। तिनीहरूले त्यतिखेर एसियाबाट दालचीनी र क्यासिया जस्ता मसलाहरूको आपूर्ति गर्थे। भूमध्यसागरका देशहरूले पूर्वका देशहरूसित सीधै व्यापार नगरोस् भनेर अरबीहरूले काल्पनिक कथाहरू फैलाएर मसला पाउन निकै जोखिमपूर्ण छ भन्ने भान पारेका थिए। द बुक अफ स्पाइसेज किताबअनुसार मसलाको वास्तविक स्रोत नखुलाउनु नै “मसला व्यापारीहरूले राखेको गोप्य कुरा” थियो।

जीरा

अरबीहरूले कस्ता कथाहरू फैलाएका थिए? डरलाग्दा चराहरूले पहरोमा दालचिनीको रूखको बोक्राबाट गुँड बनाएका कथाबारे ईसापूर्व पाँचौ शताब्दीका ग्रीक इतिहासकार हेरोडोटसले उल्लेख गरे। यो बहुमूल्य मसला जम्मा गर्नेहरूले पहरोको तलपट्टि ठूलठूला मासुका टुक्राहरू राख्थे भनेर तिनले लेखे। अनि चराहरूले ती ठूलठूला मासुका चोक्टा आफ्नो गुँडमा लैजान्थे। मासुको भार थाम्न नसकेर गुँड भुइँमा खस्थ्यो। अनि मानिसहरू तुरुन्तै आएर दालचिनी जम्मा गरेर व्यापारीहरूलाई बेच्थे। यस्ता काल्पनिक कथा चारैतिर फैलिएको थियो। द बुक अफ स्पाइसेज किताबमा यस्तो लेखिएको पाइन्छ: “दालचिनी जम्मा गर्न जोखिमपूर्ण छ भन्ने तथाकथित  कुराहरूले गर्दा यो मसला चर्को मूल्यमा बेचिन्थ्यो।”

पुदिना

तर पछि अरबीहरूको रहस्य खुल्यो र तिनीहरूले गरिरहेको एकलौटी व्यापार अरूले पनि गर्न थाले। ईसापूर्व प्रथम शताब्दीमा मिश्रको अलेक्जेन्ड्रिया मसला ल्याइने ठूलो बन्दरगाह बन्यो। साथै यो ठाउँ मसलाको व्यापार गरिने मुख्य केन्द्र भयो। झरीको समयमा हिन्द महासागरमा चल्ने हावाकोफाइदा उठाउँदै रोमीहरूले आफ्ना जहाज मिश्रको बन्दरगाहदेखि भारत पुऱ्याउँथे। यसरी बहुमूल्य मसलाहरू छ्यास्छयास्ती पाउन थालेकोले यसको मूल्य पनि घट्यो।

अहिले मसलाको मूल्य सुनसित त तुलना गर्न सकिंदैन। साथै राजालाई दिइने उपहारको रूपमा पनि योग्य ठानिदैन। तर संसारभरिका लाखौं मानिसहरूले मसलाहरूलाई अत्तर अनि औषधीको रूपमा प्रयोग गर्दै आइरहेका छन्‌। साथै खानालाई स्वादिलो बनाउन पनि प्रयोग गर्छन्‌। हजारौं वर्षअघि जस्तै आज पनि मसला यसको सुगन्धले गर्दा विश्वभरि प्रख्यात छ।

दालचिनी

^ अनु. 3 बाइबलमा “मसला” वा “मसलाहरू” भनेर अनुवाद गरिएको मौलिक शब्दले खानालाई स्वादिलो पार्ने मसला नभई मुख्यतः रूखबिरुवाबाट बनाइने सुगन्धित अत्तरलाई बुझाउँछ।