अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा मार्च २०१५

के तपाईंलाई थाह थियो?

के तपाईंलाई थाह थियो?

प्रेषित पावलसित रोमी नागरिकता भएकोले तिनलाई के-कस्ता फाइदा भयो?

पावलले भने: “म सम्राट्लाई अपिल गर्छु!”

रोमी नागरिकता हुने व्यक्तिले रोम साम्राज्यभरि विशेष हक, अधिकार र सुविधा पाउँथे। रोमी नागरिक प्रान्तीय सहरका कानुनहरूको अधीनमा नभई रोमको कानुनको अधीनमा हुन्थ्यो। तिनीमाथि आरोप लगाइँदा तिनले स्थानीय कानुनअनुसार आफ्नो मामिला सुल्झाउन सक्थे। तर तिनले चाहेमा रोमी विशेष अदालतमा आफ्नो मामिला पेस गर्न पनि सक्थे। मृत्युदण्डको सजाय सुनाइँदा तिनले सम्राट्लाई अपिल गर्न सक्थे।

यस्ता अधिकारहरूको विषयमा ईसापूर्व प्रथम शताब्दीका रोमी राजनेता सिसेरोले यसो भनेका थिए: “रोमी नागरिकलाई बाँध्नु अपराध हो, कोर्रा हान्नु दुष्टता हो, मार्नु भनेको आमाबुबा वा नातेदारको हत्या गर्नु सरह हो।”

प्रेषित पावलले रोमी साम्राज्यभरि व्यापक तवरमा प्रचार गरे। तिनले रोमी नागरिक अधिकारको फाइदा उठाएकोबारे बाइबलमा तीन पटक रेकर्ड गरिएको छ: (१) आफूलाई पिट्न लगाएर फिलिप्पीका नगर प्रशासकहरूले तिनको अधिकारको अवहेलना गरे भनेर पावलले बताए। (२) यरूशलेममा कोर्रा खानबाट जोगिन तिनले आफू रोमी नागरिक भएको कुरा खुलाए। (३) तिनले रोमी सम्राट्लाई अपिल गरे।—प्रेषित १६:३७-३९; २२:२५-२८; २५:१०-१२. ▪

बाइबलकालीन समयमा गोठालाहरूलाई ज्याला कसरी दिइन्थ्यो?

ढुङ्गामा कुँदिएको सम्झौता। ईसापूर्व २०५०।

कुलपिता याकूबले आफ्नो मामा लाबानकहाँ २० वर्ष गोठालोको काम गरे। सुरुको १४ वर्ष काम गरेबापत लाबानले आफ्ना दुई छोरीहरू दिए भने बाँकी ६ वर्ष काम गर्दा ज्यालास्वरूप वस्तुभाउ दिए। (उत्पत्ति ३०:२५-३३) पुरातत्त्वसम्बन्धी एउटा पत्रिकामा * यसो लेखिएको छ: “याकूब र लाबानबीच भएको गोठालो कामको सम्झौता बाइबल लेख्ने र पढ्ने मानिसहरूका लागि नौलो कुरा थिएन।”

आधुनिक इराकका नुजी, लार्सा र अन्य ठाउँहरूमा भेट्टाइएका सम्झौतापत्रहरूले गोठालोलाई ज्याला दिने उक्त प्रचलन सामान्य थियो भनेर बुझाउँछ। त्यस्ता सम्झौतापत्र भेडाको ऊन काट्ने समयदेखि अर्को वर्षको ऊन काट्ने समयसम्म हुन्थ्यो। गोठालालाई बगालको जिम्मेवारी दिइँदा बगालमा कति वटा जनावर छ, तिनीहरूको उमेर र भालेपोथी के हो सबै कुरा सम्झौतापत्रमा लेखिएको हुन्थ्यो। एक वर्षपछि तोकिएको मात्रामा ऊन, दूधबाट उत्पादित खाद्यान्न, पाठाहरू अनि अन्य कुराहरू मालिकले पाउँथे। यस बाहेकका सबै गोठालोको हुन्थ्यो।

बगालको वृद्धि गोठालोलाई सुम्पेको भेडीको सङ्ख्यामा निर्भर हुन्थ्यो। साधारणतया १०० भेडीले लगभग ८० पाठाहरू जन्माउँथे। घाटा भएमा गोठालो आफैले बेहोर्नुपर्थ्यो। यसले गर्दा बगालको राम्रो रेखदेख गर्न गोठालोहरू हौसिन्थे।

[फुटनोट]

^ अनु. 4 Biblical Archaeology Review