अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा मार्च २०१५

 जीवनी

काइरो आँखाद्वारा—परमेश्वरको सेवा गर्छन्‌

काइरो आँखाद्वारा—परमेश्वरको सेवा गर्छन्‌

आफ्नो आँखाबाहेक अरू कुनै अङ्ग नियन्त्रणमा नभएको अवस्था के तपाईं कल्पना गर्न सक्नुहुन्छ? मेरो दाइ काइरो यस्तै गाह्रो परिस्थितिमा हुनुहुन्छ। तैपनि उहाँले अर्थपूर्ण जीवन बिताइरहनु भएको छ। उहाँको जीवन कसरी अर्थपूर्ण भएको छ, यो कुरा बताउनुअघि उहाँको जीवनी म तपाईंहरूलाई बताउन चाहन्छु।

एक किसिमको मस्तिष्क पक्षाघात सहित दाइको जन्म भयो। यस रोगमा चारवटै हातगोडाको मांसपेशी नियन्त्रणमा हुँदैन जसलाई स्पास्टिक क्वाड्रिप्लेगी भनिन्छ। * उहाँको मस्तिष्कले आफ्ना मांसपेशीहरूलाई स्पष्ट सङ्केत दिन नसकेकोले उहाँका हातखुट्टा अनियन्त्रित रूपमा चल्छन्‌ वा बटारिन्छन्‌। कहिलेकाहीं त्यस्तो झट्काले आफैलाई चोट पुऱ्याउँछ। साथै वरपरका मानिसहरू सावधान भएनन्‌ भने तिनीहरूलाई पनि चोट लाग्न सक्छ। ठूलो दुर्घटना हुन नदिन बाध्य भई उहाँको हातखुट्टा अक्सर ह्वीलचेयरमा बाँधिदिनुपर्छ।

पीडादायी समय

शारीरिक रूपमा बढ्दै जाँदा दाइलाई निकै गाह्रो भयो। तीन महिनाको हुँदादेखि नै उहाँलाई छारे रोग लाग्न थाल्यो जसले गर्दा उहाँ बेहोस हुन्थे। दाइ बित्नुभयो कि भन्ने सोचेर आमाले थुप्रै पटक दाइलाई काखीमा जोडले च्यापेर तुरुन्तै अस्पतालमा पुऱ्याउनुहुन्थ्यो।

यसरी मांसपेशी कडा हुने र खुम्चिने गर्दा दाइको शरीरका हड्डीहरू बाङ्गिन थाल्यो। सोह्र वर्षको हुनुहुँदा उहाँको कम्मरमुनिका हाडजोर्नीहरू फुस्किन थाले। त्यतिखेर उहाँको कम्मर, जोर्नी र तिघ्राको ठूलो शल्यक्रिया गर्नुपऱ्यो। निको हुने क्रममा पीडाले गर्दा हरेक रात दाइ चिच्याएर रुनुभएको मलाई अझै याद छ।

शारीरिक समस्याले गर्दा दाइ दैनिक क्रियाकलाप गर्न पनि अरूमा भर पर्नुपर्छ। जस्तै: खान, लुगा लगाउन र सुत्न जान। प्रायः बुबाआमाले यी कामहरू गरिदिनुहुन्छ। दाइलाई निरन्तर मदत चाहिन्छ। बुबाआमाले उहाँलाई जीवन मानिसमा मात्र होइन परमेश्वरमा पनि निर्भर छ भनेर बारम्बार सम्झाउनुहुन्छ।

कुराकानी गर्ने बाटो खुल्छ

बुबाआमा यहोवाका साक्षीहरू हुनुहुन्छ। त्यसैले दाइलाई उहाँ सानो हुँदादेखि नै बाइबलका कथाहरू पढेर सुनाउनुहुन्थ्यो। परमेश्वरसित घनिष्ठ हुँदा जीवन अझ अर्थपूर्ण हुन्छ भनेर बुबाआमालाई थाह थियो। दाइको शरीर कमजोर छ र यो अनियन्त्रित ढङ्गमा चल्छ। त्यसो भए तापनि उहाँले उज्ज्वल भविष्यको आशा पाउन सक्नुहुन्थ्यो। तर दाइले बाइबलको शिक्षा बुझ्नुभएको छ कि छैन भन्ने कुरामा बुबाआमा त्यत्ति पक्का हुनुहुन्थेन।

दाइ सानो छँदा एक दिन बुबाले उहाँलाई यसरी सोध्नुभयो: “काइरो, तिमी मसित कुरा गर्दैनौ? यदि मलाई माया गर्छौ भने मसित बोल।” एक शब्द मात्र भएपनि बोल्न बुबाले बिन्ती गर्नुभयो। त्यतिखेर दाइको आँखाभरि आँसु आयो। उहाँले आफ्नो  मनभित्रको कुरा बताउन खोज्नुभयो तर बोली फुटेन, खाली अस्पष्ट आवाज मात्र निस्क्यो। दाइ रुनुभएकोमा बुबालाई नमीठो लाग्यो। तर बुबाले भन्नुभएको कुरा दाइले बुझ्नुहुन्छ भनेर उहाँको प्रतिक्रियाबाट देखियो। उहाँ सबै कुरा बुझ्नुहुन्छ केवल बोल्न सक्नुहुन्न।

आफ्नो विचार र मनको कुरा बताउने कोसिस गर्दा दाइको आँखा छिटोछिटो चलेको बुबाआमाले याद गर्नुभयो। दाइले बुबाआमालाई आफ्नो कुरा बुझाउन नसक्दा उहाँ दिक्क मान्नुहुन्थ्यो। तर बुबाआमाले दाइको आँखाको सङ्केत बुझ्नुभएर उहाँलाई चाहिएको कुरा दिनुहुँदा भने दाइको अनुहार उज्यालो हुन्थ्यो र उहाँ मुस्कुराउनु हुन्थ्यो। यसरी उहाँले आभारी भएको कुरा जाहेर गर्नुहुन्थ्यो।

एक जना चिकित्सकले हामीलाई दाइसित कुराकानी गर्ने नयाँ तरिका बताउनुभयो। दाइलाई हो या होइन भन्ने प्रश्न सोध्दा हामीले दुइटै हात उठाउनुपर्छ। प्रश्न सोधेपछि यदि जवाफ ‘हो’ भने दाइले दायाँ हाततिर हेर्नुपर्छ तर जवाफ ‘होइन’ भने चाहिं बायाँ हाततिर हेर्नुपर्छ। यसरी आँखालाई सही हातमा केन्द्रित गरेर दाइले आफ्नो इच्छा व्यक्त गर्न सक्नुहुन्छ।

काइरोको जीवनमा नयाँ मोड

यहोवाका साक्षीहरूले वर्षको तीन पटक सम्मेलन र अधिवेशनको आयोजना गर्छन्‌। त्यस्ता कार्यक्रमहरूमा बाइबल आधारित थुप्रै भाषण प्रस्तुत गरिन्छ। सम्मेलनमा बप्तिस्मा गर्नेहरू पनि हुन्छन्‌ र तिनीहरूका लागि भनेर विशेष भाषण तयार पारिएको हुन्छ। त्यस्तो भाषण प्रस्तुत हुँदा दाइ निकै खुसी हुन थाल्नुहुन्थ्यो। दाइ १६ वर्षको हुनुहुँदा एकदिन बुबाले उहाँलाई यसरी सोध्नुभयो: “काइरो, तिमी बप्तिस्मा गर्न चाहन्छौ?” एकैचोटि दाइले बुबाको दायाँ हातमा हेरिरहनुभयो जसले गर्दा दाइको बप्तिस्मा गर्ने इच्छा प्रस्टै देखियो। त्यसपछि बुबाले उहाँलाई सोध्नुभयो: “के तिमीले सधैंभरि परमेश्वरको सेवा गर्छु भनी उहाँलाई प्रार्थनामा भन्यौ?” फेरि दाइले बुबाको दायाँ हातमा एकटक लगाएर हेर्नुभयो। दाइले आफ्नो जीवन यहोवा परमेश्वरमा समर्पण गरिसक्नुभएको कुरा पनि स्पष्ट देखियो।

धेरै पटक बाइबलबाट छलफल गरिसकेपछि दाइले ख्रीष्टियन बप्तिस्माको महत्त्व बुझिसक्नुभएको कुरा पनि प्रस्ट भयो। सन्‌ २००४ मा दाइलाई सबैभन्दा महत्त्वपूर्ण प्रश्न सोधियो: “तपाईंले यहोवाको इच्छा गर्न आफ्नो जीवन उहाँलाई समर्पण गरिसक्नुभएको छ?” दाइले आफ्नो आँखा माथि उठाएर यो प्रश्नको जवाफ दिनुभयो। यसरी ‘हो’ भनेर जवाफ दिने तरिका पहिल्यै मिलाइएको थियो। सत्र वर्षको उमेरमा एक जना यहोवाको साक्षीको रूपमा उहाँले बप्तिस्मा गर्नुभयो।

परमेश्वरका कुराहरूमा केन्द्रित आँखा

सन्‌ २०११ मा कुराकानी गर्न सजिलो बनाउने नयाँ प्रविधि दाइको लागि उपलब्ध भयो। त्यो थियो, आँखाले नियन्त्रण गर्ने कम्प्युटर। यस कम्प्युटरले दाइको आँखाको चाल पछ्याउँछ अनि  आफ्नो आँखाले उहाँ कम्प्युटर चलाउन सक्नुहुन्छ। आँखा झिमझिम गरेर वा एकटक लगाएर हेरेर कम्प्युटरको कुनै पनि प्रोग्राम वा आइकन खोल्न सकिन्छ। दाइले अझ स्पष्टसित कुराकानी गर्न सकून्‌ भनेर चित्रहरू भएको एउटा प्रोग्राम तयार पारियो। कुनै एउटा चित्रमा दाइले आँखा झिम्काउनुभयो भने त्यसमा लेखिएको सन्देश आवाजमा परिणत हुन्छ।

दाइले बाइबल अझ राम्ररी बुझ्दै जानुभयो र अरूलाई पनि यहोवा परमेश्वरबारे बताउने उहाँको इच्छा बढ्न थाल्यो। हाम्रो साप्ताहिक पारिवारिक बाइबल अध्ययनमा उहाँ मतिर अनि कम्प्युटरतिर यताउति हेर्नुहुन्छ। यसो गरेर ख्रीष्टियन मण्डलीका सभाहरूमा हुने प्रश्न-उत्तरको भागमा दाइले दिन चाहेको टिप्पणी मलाई लेख्न सम्झाउनुहुन्छ।

मण्डलीको सभामा उहाँ धीरजी हुँदै कम्प्युटरको सही आइकन आँखाले खोल्नुहुन्छ र त्यहाँ लेखिएको कुरा आवाजको रूपमा सबैले सुन्न सक्छन्‌। यसरी हरेक पटक मण्डलीका सदस्यहरूलाई प्रोत्साहन दिन पाउँदा उहाँ ङिच्च हाँस्नुहुन्छ। दाइको एक जना जवान साथी एलेक्स यसो भन्नुहुन्छ: “हरेक चोटि काइरोको बाइबलमा आधारित टिप्पणी सुन्दा मेरो हृदय छुन्छ।”

अरूलाई आफ्नो विश्वासबारे बताउन र सभामा टिप्पणी दिन काइरो आफ्नो आँखाले नियन्त्रण गर्न र आवाज निकाल्न मिल्ने कम्प्युटरको प्रयोग गर्छन्‌।

आफ्नो विश्वासबारे अरूलाई बताउन पनि दाइ आफ्नो आँखा चलाउनुहुन्छ। बगैंचामा जनावर र थुप्रै जातिका मानिसहरू शान्तिमा रहेको कम्प्युटरको चित्र आँखाले खोल्नुहुन्छ अनि त्यहाँबाट यस्तो आवाज निस्कन्छ: “पृथ्वी सुन्दर बगैंचामा परिणत हुनेछ। त्यहाँ रोगबिमार अनि मृत्यु हुनेछैन। यो बाइबलको किताब प्रकाश २१:४ मा लेखिएको आशा हो।” यदि उहाँको कुरा सुन्ने व्यक्तिले चासो देखाएमा उहाँ अझ अर्को आइकन खोल्नुहुन्छ अनि कम्प्युटरबाट यस्तो आवाज निस्कन्छ: “के तपाईं मसित बाइबल अध्ययन गर्न चाहनुहुन्छ?” अचम्मको कुरा हजुरबुबाले यो निम्तो स्वीकार्नुभयो। दाइले एक जना अर्को यहोवाको साक्षीको मदत लिएर हजुरबुबालाई बिस्तारै बाइबल अध्ययन गराउनुहुन्थ्यो। खुसीको कुरा, हजुरबुबाले सन्‌ २०१४ को अगस्त महिनामा म्याड्रिडमा आयोजित अधिवेशनमा बप्तिस्मा गर्नुभयो।

स्कुलका शिक्षकहरूले पनि दाइको परमेश्वरप्रतिको भक्ति याद गरे। रोजारीयो नाम गरेकी एक जना चिकित्सकले यसो भन्नुभयो: “एकदिन कुनै धर्म अपनाउने विचार गरें भने म यहोवाको साक्षी बन्नेछु। परिस्थिति गाह्रो भए तापनि काइरोको विश्वासले गर्दा तिनको जीवन उद्देश्यपूर्ण भएको म देख्छु।”

मैले बाइबलको यो प्रतिज्ञा पढेर सुनाउँदा दाइको आँखा चहकिलो हुन्छ: “तब लङ्गडा मृगझैं उफ्रनेछ, र गूङ्गाको जिब्रोले स्तुति गर्नेछ।” (यशैया ३५:६) कहिलेकाहीं उहाँ निराश हुनु भए तापनि प्रायजसो खुसी नै देखिनुहुन्छ। उहाँले आफ्नो जीवन यहोवा परमेश्वरको उपासना गर्न चलाउनुभएकोले अनि सधैं ख्रीष्टियन साथीहरूसित समय बिताएकोले नै यो सम्भव भएको हो। यहोवा परमेश्वरको सेवा गर्दा चुनौतीपूर्ण जीवन पनि अर्थपूर्ण हुन्छ भन्ने कुराको प्रमाण दाइको खुसी र बलियो विश्वासले दिन्छ।

^ अनु. 5 मस्तिष्क पक्षाघात भन्नाले मस्तिष्कमा भएको त्यस्तो क्षति हो जसले चलहल गर्ने क्षमतालाई असर गर्दछ। यसले गर्दा मस्तिष्क पक्षाघात भएको व्यक्तिलाई छारे रोग लाग्न सक्छ अनि खान र बोल्न समस्या हुन सक्छ। मस्तिष्क पक्षाघातको विभिन्न प्रकारमध्ये सबैभन्दा गम्भीर चाहिं स्पास्टिक क्वाड्रिप्लेगी हो। यसले गर्दा चारवटै हातखुट्टाको मांसपेशी कडा अनि गर्दनको मांसपेशी चाहिं लुलो हुन सक्छ।

अझ बढी सिक्नुहोस्

दुःखकष्टबारे बाइबलमा के लेखिएको छ?

हामीले परीक्षा र पीडा भोग्नुपर्दा के परमेश्वरलाई कुनै चासो छ?