सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा  |  डिसेम्बर २०१४

टिमगाड—जमिनमुनि पुरिएको यस सहरको रहस्य

टिमगाड—जमिनमुनि पुरिएको यस सहरको रहस्य

तीसाहसी खोजकर्ताले आफूले देखेको कुरामा विश्वासै गर्न सकिरहेका थिएनन्‌। तिनले अल्जेरियाको मरुभूमिमा रोमी सहरको मूलढोकाको केही भाग पुरिएको अवस्थामा भेट्टाएका थिए! ती खोजकर्ता स्कटल्याण्डका जेम्स ब्रुस थिए। तिनले सन्‌ १७६५ मा त्यो मूलढोका पत्ता लगाएको ठाउँ वास्तवमा उत्तर अफ्रिकाको सबैभन्दा ठूलो रोमी बस्तीको भग्नावशेष हो भनेर तिनलाई थाह थिएन। पुरातन समयमा यस सहरको नाम थमगेडी थियो र अहिले यसलाई टिमगाड भनिन्छ ।

त्यसको करिब सय वर्षपछि सन्‌ १८८१ मा फ्रान्सका पुरातत्त्वविद्हरूले टिमगाड सहरको बाँकी भाग उत्खनन गर्न थाले। तिनीहरूले पत्ता लगाएअनुसार उजाड अनि भतभती पोल्ने मौसम भए पनि त्यस सहरमा बसोबास गर्ने मानिसहरू निकै आरामदायी जीवन बिताउँथे। तर रोमीहरूले किन यस्तो ठाउँमा अत्यन्तै सुन्दर उपनिवेश बनाए? अनि यो पुरातन सहर र यसका बासिन्दाहरूबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

लुकेको राजनैतिक उद्देश्य

येशू आउनुभन्दा सय वर्ष अगाडि रोमीहरूले उत्तर अफ्रिकामा आफ्नो शासन जमाउन खोज्दा त्यहाँका केही फिरन्ते जातिले तिनीहरूको घोर विरोध गरेका थिए। यस्तो अवस्थामा रोमीहरूले कसरी ती स्थानीय मानिसहरूसित शान्ति कायम गरे? पहिला, रोमी सेनाको अगस्तन तेस्रो भन्ने टोलीले अहिलेको उत्तर अल्जेरियाको ठूलो पहाडी इलाकामा ब्यारेक र सुरक्षा चौकीहरू बनाउन थाल्यो। त्यसपछि रोमीहरूले एउटा बेग्लै उद्देश्य राखेर टिमगाड सहर बनाए।

औपचारिक रूपमा रोमीहरूले टिमगाड सहर भूतपूर्व सैनिकहरूको लागि बनाएका थिए। तर वास्तवमा भन्ने हो भने तिनीहरूले यो सहर बनाउनुको उद्देश्य त्यहाँका स्थानीय बासिन्दाहरूको विरोधलाई कमजोर पार्नु थियो। तिनीहरूको यो योजना सफल भयो। स्थानीय मानिसहरू आफूले उत्पादन गरेका सामग्रीहरू बेच्न सहर आउँथे। चाँडै टिमगाडको सुखसयलको जीवनले तिनीहरूलाई आकर्षित गऱ्यो। टिमगाड सहरमा रोमी नागरिकहरू मात्र बस्न पाउँथे। त्यसैले आफू र आफ्ना सन्तानले रोमी नागरिकता पाउन सकोस् भनेर थुप्रै स्थानीय बासिन्दा राजीखुसीले २५ वर्षको लागि रोमी सेनामा भर्ती भए।

केही अफ्रिकीहरूलाई रोमी नागरिकता पाएर मात्र पुगेन। तिनीहरूले टिमगाड र अरू थुप्रै रोमी उपनिवेशमा विशिष्ट ओहदा समेत प्राप्त गरे। यसरी स्थानीय मानिसहरूलाई आफूहरूसित घुलमिल गराउन रोमीहरूले चालेको धूर्त चाल निकै सफल भयो। यहाँसम्म कि टिमगाड बनेको केवल पचास वर्षपछि त्यो सहरका अधिकांश बासिन्दाहरू उत्तर अफ्रिकीहरू नै थिए।

मानिसहरूको मन लोभ्याउन रोमीहरू कसरी सफल भए?

सुन्दर दलान र पसलहरू भएको हाटबजारको भग्नावशेष

आखिर रोमीहरू त्यहाँका बासिन्दाहरूको मन यत्ति छिटो लोभ्याउन कसरी सफल भए त? एउटा कारण, तिनीहरू गण्यमान्य  रोमी राजनीतिज्ञ सिसेरोले सिकाएको सिद्धान्त अपनाउँदै नागरिकहरूलाई समान व्यवहार गर्थे। त्यहाँको जमिन भूतपूर्व रोमी सेना र अफ्रिकी मूलका रोमी नागरिकहरूबीच बराबर बाँडिएको थियो। टिमगाड सहर निकै विचार पुऱ्याएर बनाइएको थियो। घर-घडेरीहरूको लम्बाइ र चौडाइ २०-२० मिटरको हुन्थ्यो र ती घडेरीहरूलाई छुट्टयाउने साँघुरो बाटो पनि बनाइएको हुन्थ्यो। सहर यसरी व्यवस्थित भएकोले र सबैले जमिनको बराबर हिस्सा पाएकोले नै मानिसहरू त्यहाँ आकर्षित भएका थिए।

अरू थुप्रै रोमी सहरमा जस्तै टिमगाडमा पनि हाटबजार लाग्ने दिनमा बासिन्दाहरू भेटघाट स्थलमा जम्मा भएर ताजा खबरहरू सुन्न वा जूवा खेल्न सक्थे। सहर नजिकैको सुख्खा पहाडी इलाकाका रैथानेहरूले गर्मी मौसममा सहरको शीतल दलान भएर हिंडिरहेको वा थुप्रै निश्शुल्क स्नानघरमा पानीको कलकल आवाज सुन्दै आनन्द लिएको सपना देखे होलान्‌। तिनीहरूले पानीको फोहरा वरपर बसेर आफ्ना साथीहरूसित मीठा-मीठा कुराकानी गरेको पनि कल्पना गरे होलान्‌। यस्ता सुविधाहरू त तिनीहरूको लागि सपनामा पनि चिताउन नसक्ने कुरा थियो।

चिहानमा राखिने स्मारक स्तम्भमा देवीदेवताको मूर्ति कुँदिएको हुन्थ्यो

टिमगाडमा भएको खुला रङ्गमञ्चले पनि ती रैथानेहरूको मन लोभ्यायो। तीन हजार पाँच सयभन्दा धेरै सिट क्षमता भएको त्यो रङ्गमञ्चमा टिमगाड र वरपरका सहरहरूबाट आएका मानिसहरूको ठूलो जमात भेला हुन्थ्यो। कलाकारहरूले मञ्चमा प्रायः अनैतिकता र हिंसालाई बढावा दिने नाटकहरू प्रस्तुत गर्थे। यसरी तिनीहरूले दर्शकहरूलाई रोमीहरूको कामुक मनोरञ्जनको स्वाद चखाए।

साथै रोमीहरूको धर्मले त्यहाँका रैथानेहरूमा ठूलो प्रभाव पाऱ्यो। सहरका स्नानघरहरूको भूइँ र पर्खालमा रङ्गीचङ्गी ढुङ्गाहरू प्रयोग गरेर रोमी दन्त्यकथाका दृश्यहरू बनाइएका हुन्थे। स्नानघरमा नुहाउनु त्यहाँका मानिसहरूको दिनचर्या नै थियो। त्यसैले त्यहाँ बसोबास गर्न आएका मानिसहरू चाँडै रोमी देवीदेवता र धर्मसित परिचित भए। अफ्रिकीहरूलाई रोमी संस्कृतिमा घुलमिल गराउने रोमीहरूको प्रयास यत्ति सफल भयो कि चिहानमा राख्ने स्मारक स्तम्भमा समेत स्थानीय र रोमी देवीदेवताको मूर्ति कुँदिएको हुन्थ्यो।

सुन्दर सहरको नामोनिसान मेटियो

इस्वी संवत्‌ १०० मा सम्राट् ट्राजानले टिमगाड सहर स्थापित गरेपछि रोमीहरूले उत्तर अफ्रिकाभरि नै अन्न, जैतुनको तेल र मद्यको उत्पादनलाई बढावा दिए। त्यो ठाउँ चाँडै रोमी साम्राज्यको अन्न भण्डार बन्यो। अरू थुप्रै उपनिवेश जस्तै टिमगाड पनि रोमी शासनको अधीनमा आर्थिक रूपमा सम्पन्न हुन थाल्यो। समय बित्दै जाँदा सहरको जनसङ्ख्या बढ्दै गयो र टिमगाड सहरको बस्ती टाढा-टाढासम्म फैलियो।

रोमसितको व्यापारले गर्दा टिमगाड सहरका बासिन्दा र जमिनदारहरू निकै सम्पन्न भए। तर स्थानीय किसानहरूले भने खासै फाइदा उठाउन पाएनन्‌। तेस्रो शताब्दीतिर साना किसानहरूले समाजमा भोग्नुपरेको अन्याय र चर्को करको विरोध गर्न थाले। क्याथोलिक धर्म अपनाएका कोही-कोही भने धर्म त्यागेर डोनाटिस्ट भन्ने धर्ममा लागे। डोनाटिस्ट धर्म मान्नेहरू आफू ख्रीष्टियन भएको दाबी गर्थे र क्याथोलिक चर्चमा भएको भ्रष्टाचार विरुद्ध आवाज उठाउँथे।—“ के डोनाटिस्टहरूको समूह वास्तवमै ‘पवित्र चर्च’ थियो?” भन्ने पेटी हेर्नुहोस्।

सयौं वर्षसम्म भएको धार्मिक द्वन्द्व, गृहयुद्ध र बार्बारियनहरूको आक्रमणले गर्दा उत्तर अफ्रिकामा रोमीहरूको प्रभाव कमजोर हुँदै गयो। छैटौं शताब्दीमा स्थानीय अरबीहरूले  टिमगाडलाई जलाइदिए र १,००० भन्दा धेरै वर्षसम्म यस सहरको नामोनिसानै रहेन।

“यही हो जिन्दगीको मज्जा!”

ल्याटिन भाषामा कुँदिएका शब्दहरू: “शिकार, स्नान, हाँसखेल—जिन्दगीको मज्जा यसैमा छ!”

टिमगाडको उत्खनन गर्ने पुरातत्त्वविद्हरू त्यहाँको भेटघाट स्थलमा भेट्टाइएको एउटा शिलालेख देखेर अचम्ममा परे। त्यसमा ल्याटिन भाषामा यस्तो लेखिएको थियो: “शिकार, स्नान, हाँसखेल—जिन्दगीको मज्जा यसैमा छ!” फ्रान्सका एक जना इतिहासकारले यस्तो लेखे: “सायद यी शब्दहरूमा जीवनको कुनै उद्देश्य नभएका मानिसहरूको धारणा झल्किन्छ। तर कसै-कसैलाई भने यो धारणाअनुसार चल्नु नै बुद्धिमानी हो जस्तो लाग्छ।”

वास्तवमा रोमीहरूले केही समयका लागि त्यस्तै जीवनशैली बिताइरहेका थिए। प्रथम शताब्दीका ख्रीष्टियन प्रेषित पावलले यस्तो धारणा राख्ने मानिसहरूको बारेमा उल्लेख गरे: “आओ, हामी खाऔं र पिऔं, किनकि भोलि त हामी मरिहाल्छौं पो।” धर्ममा विश्वास गरे तापनि रोमीहरू भविष्यको मतलबै नगरी क्षणिक सुखविलासको लागि बाँच्थे। तिनीहरू जीवनको उद्देश्य र अर्थमा कुनै चासो राख्दैनथे। त्यसैले प्रेषित पावलले यस्ता मानिसहरूबाट अलग रहन सङ्गी ख्रीष्टियनहरूलाई यस्तो चेतावनी दिए: “नबहकिओ। नराम्रो सङ्गतले राम्रो आनीबानीलाई बिगार्छ।”—१ कोरिन्थी १५:३२, ३३.

अहिले पनि जीवनप्रति मानिसहरूको धारणा करिब १,५०० वर्ष अघि बाँचेका टिमगाडका मानिसहरूको जस्तै छ। थुप्रै मानिसहरू भविष्यको वास्तै नगरी बाँच्छन्‌। परिणाम जस्तोसुकै किन नहोस्, तिनीहरूलाई जीवनप्रति रोमीहरूको धारणा निकै चित्तबुझ्दो लाग्छ। तर बाइबलमा भने हामी यस्तो स्पष्ट सल्लाह पाउँछौं: “संसारको उपभोग गर्नेहरू त्यसको पूरा उपभोग नगर्नेहरूजस्ता होऊन्‌, किनकि यस संसारको दृश्य परिवर्तन हुँदैछ।”—१ कोरिन्थी ७:३१.

उत्तर अफ्रिकाको बालुवामा पुरिएको त्यो शिलालेखका शब्दहरूले आनन्दित र अर्थपूर्ण जीवन बिताउन मदत गर्दैन। यस कुराको प्रमाण टिमगाडको भग्नावशेषले दिन्छ। बरु बाइबलको यो आज्ञा मान्दा हाम्रो जीवन अर्थपूर्ण र आनन्दित हुन्छ: “संसार बितेर जाँदैछ र त्यसको अभिलाषा पनि, तर जसले परमेश्वरको इच्छा पूरा गर्छ, ऊ सधैंभरि रहिरहन्छ।”—१ यूहन्ना २:१७.

अझ बढी सिक्नुहोस्

पुस्तक र पुस्तिकाहरू

हाम्रो भविष्य कस्तो होला?

सुखमय भविष्यबारे बाइबलमा भनिएको कुरामा किन विश्वास गर्न सकिन्छ, दुइटा कारण पढ्नुहोस्।