अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा सेप्टेम्बर २०१४

 जीवनी

परमेश्वरको सेवा गरेर पाएको सर्वोत्तम जीवन

परमेश्वरको सेवा गरेर पाएको सर्वोत्तम जीवन

सानै उमेरमा म जातीय भेदभावको सिकार भएँ। असफल भइएला भन्ने डरले मलाई साह्रै पिरोल्थ्यो र ममा आत्मबल नै थिएन। बाइबलबाट सान्त्वना पाइएला कि भन्ने आशा राखेर म घर नजिकैको क्याथोलिक चर्चमा जान थालें। तर त्यहाँ पनि मैले केही मदत पाइनँ। त्यसैले मैले खेलकूदमा ध्यान दिन थालें।

मैले जिम्नास्टिक खेल्न र कसरत गरेर आफ्नो मांसपेशीलाई बलियो बनाउन थालें। पछि गएर अमेरिकाको क्यालिफोर्नियामा एउटा व्यायामशाला खोलें र थुप्रै पहलमानहरूसित काम गरें। त्यसमध्ये मिस्टर अमेरिका प्रतियोगिता जितेका एक जना पनि थिए। हुन त मैले कसरत गरेर सुगठित शरीर बनाएको थिएँ, तैपनि म भित्रभित्रै खोक्रो महसुस गर्थें।

मेरो खोज खेर गएन

म बाइबलको कुरा बुझ्न चाहन्थें। मेरो यस्तो इच्छाबारे थाह पाएर व्यायामशालाको एक जना साथीले मलाई बाइबलको कुरा बुझाउने एक जनासित भेटाइदिन्छु भन्यो। भोलिपल्टै एक जना यहोवाको साक्षी मेरो घरमा आए। चार-चार घण्टासम्म तिनले मेरो प्रश्नहरूको जवाफ बाइबलबाटै दिए। मैले तिनलाई त्यसै साँझ फेरि आउन आग्रह गरें। तिनी आए र आधारातसम्म हामीले बाइबलबारे छलफल गऱ्यौं। आफूले सिकेको कुरा मलाई साह्रै मन पऱ्यो। त्यसैले तिनले कसरी प्रचार गर्दा रहेछन्‌ भनेर हेर्न मैले तिनीसितै प्रचारमा जान चाहन्छु भनें। प्रचारमा तिनले आफ्नो बाइबल खोलेर मानिसहरूको प्रश्नको जवाफ दिएको देखेर म त छक्क परें। अनि म पनि त्यसै गर्छु भनेर मैले त्यही दिन निर्णय गरें!

त्यसैले मैले आफ्नो व्यापार-व्यवसाय छोडिदिएँ र यी अग्रगामी भाइसितै प्रचारमा जान थालें। प्रचारमा पूर्ण-समय बिताउने यहोवाका साक्षीहरूलाई अग्रगामी भनिन्छ। सन्‌ १९४८ को मे महिनामा मैले क्यालिफोर्नियाको काउ प्यालेस भन्ने रङ्गशालामा आयोजित अधिवेशनमा बप्तिस्मा गरें। त्यही वर्ष मैले अग्रगामी सेवा सुरु गरें।

त्यसै समयतिर मैले यहोवाका साक्षीहरूलाई मेरी आमालाई पनि भेट्न आग्रह गरेको थिएँ। उहाँले तुरुन्तै सत्य स्वीकार्नुभयो र एक जना यहोवाका साक्षी बन्नुभयो। उहाँको परिवारले विरोध गरे तापनि आफ्नो मृत्युसम्मै उहाँ परमेश्वरप्रति वफादार रहनुभयो। हाम्रो परिवारका बाँकी कोही पनि सदस्य यहोवाका साक्षी बनेनन्‌।

मेरी जीवनसाथीसितको भेट

सन्‌ १९५० मा म कोलोराडोमा बसाइँ सरें। त्यहाँ मैले बिलीलाई भेटें। तिनी सन्‌ १९२८ मा जन्मेकी र विश्वभरि आर्थिक महामन्दी छाएको बेला हुर्केकी रहेछिन्‌। तिनकी आमा मिनीले तिनी सानो छँदादेखि नै तिनलाई लालटिनको मधुरो प्रकाशमा प्रत्येक साँझ बाइबल पढेर सुनाउने गर्नुभएको रहेछ। चार वर्ष पुग्दा त बिली पढ्न सक्ने भइसकेकी थिइन्‌ र बाइबलका थुप्रै कथाहरू तिनलाई कण्ठै भइसकेको थियो। सन्‌ १९४० को दशकको अन्ततिर बिलीकी आमाले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्नुभयो। अनि धेरैजसो बाइबलमा नरक भनेर अनुवाद गरिएको शब्दले मानिसहरूलाई सास्ती दिने ठाउँलाई नभई सम्पूर्ण मानिसजातिको चिहानलाई बुझाउँछ भनेर पनि थाह पाउनुभयो। (उपदेशक ९:५, १०) त्यसपछि उहाँ अनि उहाँको श्रीमान्‌ दुवै जना यहोवाको साक्षी बन्नुभयो।

सन्‌ १९४९ मा बिली बोस्टनको कलेजबाट आफ्नो पढाइ सिध्याएर घर फर्किन्‌ र तिनले गहिरिएर बाइबल अध्ययन गर्न थालिन्‌। स्कुलमा शिक्षिकाको रूपमा काम गर्नुको सट्टा तिनले परमेश्वरलाई आफ्नो जीवन समर्पण गर्ने निर्णय गरिन्‌। सन्‌ १९५०  मा न्यु योर्कको याङ्की रङ्गशालामा आयोजित अन्तरराष्ट्रिय अधिवेशनमा तिनले बप्तिस्मा गरिन्‌। त्यसको केही समयपछि हाम्रो भेट भयो, हामीले विवाह गऱ्यौं र सँगै पूर्ण-समय सेवा सुरु गऱ्यौं।

सुरुमा हामी ओरेगन राज्यको युजिन सहरमा गयौं। त्यहाँ हामीले थुप्रै घनिष्ठ साथीहरू बनायौं। सन्‌ १९५३ मा हामी ओरेगन राज्यकै ग्रान्ट्स पास भन्ने ठाउँमा गयौं र त्यहाँको एउटा सानो मण्डलीलाई मदत गर्न थाल्यौं। पछि त्यसै वर्ष हामीले न्यु योर्कभन्दा झन्डै ४०० किलोमिटर उत्तरपश्‍चिममा रहेको साउथ लान्सिङ भन्ने ठाउँमा गिलियड स्कुलको २३ औं कक्षामा भाग लिने निम्तो पायौं। गिलियड स्कुल मिसनरीहरूलाई प्रशिक्षण दिन तयार पारिएको यहोवाका साक्षीहरूको एउटा स्कुल हो।

ब्राजिलमा मिसनरी सेवा गर्दा

गिलियड स्कुलबाट स्नातक भएको पाँच महिनापछि सन्‌ १९५४ को डिसेम्बर महिनामा बिली र म ब्राजिलतिर लाग्यौं। यात्रा सुरु गरेको एक घण्टामै हामी चढेको सानो हवाईजहाजको एउटा इन्जिन बिग्रियो। तर हामी सकुशल बर्मुडामा उत्रियौं। फेरि क्युबामा हाम्रो हवाइजहाजले आकस्मिक अवतरण गर्नुपऱ्यो। जम्माजम्मी ३६ घण्टाको थकाइलाग्दो यात्रापछि हामी ब्राजिलको रियो दि जेनेरियोमा रहेको यहोवाका साक्षीहरूको शाखा कार्यालयमा आइपुग्यौं।

मैले आफ्नै हातले बनाएको साइनबोर्ड टाँगिएको बाउरूको पहिलो राज्यभवन, सन्‌ १९५५। यो भाडामा लिइएको भवन थियो

त्यहाँ केही दिन बिताएपछि हामी अरू दुई जना मिसनरीसँगै साऊ पाउलो राज्यको बाउरू भन्ने ठाउँमा गयौं। त्यहाँ पुगेपछि हामीले एउटा घरलाई मिसनरीहरू बस्ने थलो बनायौं। बाउरू सहरको जनसङ्ख्या ५०,००० भन्दा धेरै थियो र त्यहाँ सबैभन्दा पहिला पाइला टेक्ने यहोवाका साक्षीहरू हामी नै थियौं।

हामीले त्यहाँ मानिसहरूको घर-घरमा गएर प्रचार गर्न थाल्यौं। तर तुरुन्तै त्यहाँको क्याथोलिक चर्चका एक जना पादरीले हाम्रो प्रचारकार्यको विरोध गर्न थाले। हाम्रो पछि-पछि लाग्दै तिनले मानिसहरूलाई हाम्रो कुरा नसुन्न धम्क्याए। तर केही हप्तामै एउटा ठूलो परिवारले हामीसित बाइबल अध्ययन गर्न थाल्यो, सत्य स्वीकाऱ्यो र पछि बप्तिस्मा पनि गऱ्यो। त्यसपछि अरूहरूले पनि हामीसित बाइबल अध्ययन गर्न थाले।

उक्त परिवारको एक जना नातेदार त्यहाँको एउटा प्रख्यात सामाजिक क्लबको अध्यक्ष रहेछन्‌। त्यसैले मैले यहोवाका साक्षीहरूको सम्मेलन आयोजना गर्न क्लबको भवन प्रयोग गर्ने बन्दोबस्त मिलाएँ। त्यहाँको पादरीले हामीले लिएको अनुमति खारेज गर्न दबाब दिए। तर क्लबका अध्यक्षले अरू सदस्यहरूलाई यसो भने: “यदि तपाईंहरूले यो अनुमति रद्द गर्नुभयो भने म राजीनामा दिनेछु!” हामीले सम्मेलन आयोजना गर्ने अनुमति पायौं।

सन्‌ १९५६ मा हामीले साऊ पाउलोको सान्तोस भन्ने सहरमा आयोजित जिल्ला अधिवेशनमा उपस्थित हुने निम्तो पायौं। हाम्रो मण्डलीबाट झन्डै ४० जना यहोवाका साक्षीहरूले रेल चढेर त्यहाँसम्म यात्रा गरे। अधिवेशनबाट बाउरू फर्केपछि मैले एउटा चिठी पाएँ। चिठीमा मलाई परिभ्रमण निरीक्षकको रूपमा सेवा गर्ने जिम्मेवारी दिइएको रहेछ। परिभ्रमण निरीक्षकहरू यहोवाका साक्षीहरूका मण्डलीहरूमा भ्रमण गर्छन्‌। त्यस समयदेखि मैले झन्डै २५ वर्षसम्म ब्राजिलभरि एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दै परिभ्रमण निरीक्षकको रूपमा सेवा गरें।

एक वर्षभित्रै बाउरूमा जोसिला यहोवाका साक्षीहरूको एउटा समूह बन्यो

प्रचारकार्य कस्तो थियो

ती दिनहरूमा यात्रा गर्नु साह्रै कठिन थियो। हामीले बस, रेलगाडी, टाङ्गा र साइकल चढेर अनि पैदल हिंडेर पूरै ब्राजिलको इलाका ढाक्यौं। हामीले सबैभन्दा पहिला भ्रमण गरेको सहर साऊ पाउलोको जऊ भन्ने सहर थियो। त्यहाँ एक जना पादरीले हामीलाई यसरी चुनौती दिए।

तिनले भने: “तिमीहरूले ‘मेरा भेडाहरूलाई’ प्रचार गर्न पाउँदैनौं!”

अनि हामीले भन्यौं: “तिनीहरू तपाईंका होइनन्‌, परमेश्वरका भेडा हुन्‌।”

त्यसपछिको कुरा हो, विश्वव्यापी रूपमा हामीले गरिरहेको प्रचारकार्यबारे बुझाउने नयाँ विश्व समाजको क्रियाकलाप (अङ्ग्रेजी) भन्ने भिडियो देखाउने प्रबन्ध हामीले मिलाएका थियौं। तर ती पादरीले हामीलाई आक्रमण गर्न एक हूल मानिसहरू जम्मा गरे। तुरुन्तै हामीले यस विषयमा प्रहरीलाई सूचना दियौं। हामीले भिडियो देखाइरहेको हलमा आक्रमण गर्नको लागि ती पादरी र तिनका  मानिसहरू आइपुग्दा तिनीहरूतिरै बन्दुक तेर्स्याउँदै ढोकामा तैनाथ थुप्रै प्रहरीहरूसित तिनीहरूको जम्काभेट भयो। त्यसकारण दर्शकहरूले कुनै अवरोधविना भिडियो हेर्न पाए र त्यस भिडियोबाट प्रशस्तै लाभ उठाउन सके।

हामीले सेवा गरेको सबै ठाउँमा यस्तै किसिमको घृणा र विरोध सहनुपऱ्यो। उदाहरणको लागि सान्ता क्यातरिनाको ब्रुसक् भन्ने सहरमा हामीले दुई जना अग्रगामी बहिनीहरूलाई भेट्यौं, जसले घोर विरोधको बाबजुद सेवा गरिरहेका थिए। तिनीहरूले धैर्य गर्दै अनि लगनशील भई गरेको मेहनतले राम्रो फल फलायो। अहिले झन्डै ५० वर्षपछि त्यस ठाउँमा ६० वटा भन्दा धेरै उन्नतिशील मण्डलीहरू छन्‌। त्यहाँ नजिकैको इताजई भन्ने सहरमा एउटा असाध्यै राम्रो सम्मेलन भवन पनि छ!

ठूलठूला अधिवेशनहरूका लागि सङ्गी यहोवाका साक्षीहरूसितै मिलेर तयारी गर्नु हाम्रो परिभ्रमण सेवाको एउटा असाध्यै राम्रो पक्ष थियो। सन्‌ १९७५-१९७७ सम्म मैले विशाल मोरम्बी रङ्गशालामा अधिवेशन निरीक्षकको रूपमा सेवा गर्ने सुअवसर पाएँ। अधिवेशनको अघिल्लो साँझ रङ्गशाला सफा गर्न नजिकैको इलाकाका झन्डै १०० वटा मण्डलीहरूलाई प्रत्येक मण्डलीबाट १० जना स्वयंसेवकहरू पठाउन हामीले आग्रह गऱ्यौं।

त्यो साँझ फुटबल खेलाडीहरू आफ्नो खेल सकाएर फर्केपछि केही मानिसहरूले यसो भन्दै हाम्रो खिसी गर्न थाले: “हातमा झाडु र पुछ्ने टालो बोकेका यी आइमाईहरूले के गर्न सक्लान्‌ र?” तर आधा रातभित्रै हामीले पूरै रङ्गशाला सफा गरिसकेका थियौं! अचम्म मान्दै रङ्गशालाका व्यवस्थापकले यसो भने: “बाफ रे! हामीले एक हप्ता लगाएर गर्ने काम त तपाईं यहोवाका साक्षीहरूले केही घण्टामै गरिसिध्याउनु भयो।”

अमेरिकामा फर्किएपछि

सन्‌ १९८० मा मेरो बुबा बित्नुभयो। तुरुन्तै हामी आमाको हेरविचार गर्न अमेरिकाको क्यालिफोर्नियामा फर्क्यौं। हामीले राती-राती भवनहरू सरसफाइ गर्ने काम पायौं र अग्रगामी सेवा गरी नै रह्यौं। हामीले त्यस इलाकाका पोर्चुगिज भाषा बोल्ने मानिसहरूलाई मदत गऱ्यौं। पछि हामी नजिकैको सान ख्वाकिन उपत्यकामा सऱ्यौं। त्यहाँ साक्रामेन्तो भन्ने ठाउँदेखि बेकर्सफिल्ड भन्ने ठाउँसम्म हामीले पोर्चुगिज भाषा बोल्ने मानिसहरूलाई खोज्यौं। अहिले क्यालिफोर्नियामा पोर्चुगिज भाषाका १० वटा मण्डलीहरू छन्‌।

सन्‌ १९९५ मा मेरी आमा बित्नुभयो। त्यसपछि हामी फ्लोरिडा गयौं र त्यहाँ बिलीको बुबालाई उहाँको मृत्यु नहुँदासम्मै हेरविचार गऱ्यौं। बिलीकी आमा सन्‌ १९७५ मै बितिसक्नुभएको थियो। सन्‌ २००० मा हामी कोलोराडोको दक्षिणपूर्वमा पर्ने एउटा मरुभूमिमा सऱ्यौं। त्यहाँको नाभाजो र उटे इलाकामा हामीले त्यहाँका आदिवासी अमेरिकीहरूलाई प्रचार गर्दै पूर्ण-समय सेवा गऱ्यौं। दुःखको कुरा फेब्रुअरी २०१४ मा बिलीको मृत्यु भयो।

बाइबलबाटै मेरा प्रश्नहरूको जवाफ दिने यहोवाका साक्षीलाई भेटेको आज ६५ वर्ष भइसक्यो। त्यसरी भेटेकोमा म अझै पनि खुसी छु! मैले ती यहोवाका साक्षीले भनेका कुराहरू बाइबलआधारित हो कि होइन भनेर पक्का गरेकोमा पनि म औधी खुसी छु। किनभने त्यसो गरेकोले नै मैले परमेश्वरको सेवा गर्दै सर्वोत्तम जीवन जिउन सकें।