अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा अगस्त २०१४

 आवरण लेख | के ईश्वर तपाईंको ख्याल राख्नुहुन्छ?

ईश्वर तपाईंमाथि नजर राख्नुहुन्छ

ईश्वर तपाईंमाथि नजर राख्नुहुन्छ

‘ईश्वरको दृष्टि मानिसहरूको चालमाथि रहेको हुन्छ, र तिनीहरू हिंडेको हरेक कदमलाई उहाँले देख्नुहुन्छ।’—अय्यूब ३४:२१.

हुर्किसकेका छोराछोरीको भन्दा स-साना छोराछोरीको झन्‌ धेरै ख्याल राख्नुपर्ने हुन्छ

कोही-कोही किन शङ्का गर्छन्‌? हालै गरिएको अध्ययनअनुसार आकाशगङ्गा भनिने हाम्रो तारापुञ्जमा कम्तीमा एक खरब ग्रहहरू छन्‌। ब्रह्माण्डको विशालतालाई विचार गर्दा थुप्रै मानिसहरू यस्तो प्रश्न सोध्छन्‌: ‘यस्तो विशाल ब्रह्माण्ड सृष्टि गर्ने सर्वशक्तिमान्‌ ईश्वरले बालुवाको कणजत्रो पृथ्वीमा रहेका तुच्छ मानिसहरूमाथि नजर राख्नुहोला र?’

ईश्वरको वचन के भन्छ? ईश्वरले हामीलाई आफ्नो वचन बाइबल दिनुभएको छ। तर उहाँले यति मात्र गर्नुभएको छैन। ईश्वर यहोवा * यस कुरामा हामीलाई ढुक्क बनाउनुहुन्छ: “तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु।”—भजन ३२:८.

उदाहरणको लागि हागार नाम गरेकी स्त्रीलाई लिनुहोस्। तिनी येशू जन्मनुभन्दा झन्डै १९०० वर्षअघि मिश्र देशमा बस्थिन्‌। हागारले आफ्नी मालिक्नी साराईको अनादर गरेकी हुनाले साराईले तिनीसित कठोर व्यवहार गर्न थालिन्‌। त्यसैले हागार जङ्गलतिर भागेर गइन्‌। हागारले गल्ती गरिन्‌ भन्दैमा के ईश्वरले तिनको वास्ता गर्न छोडिदिनुभयो? बाइबल यसो भन्छ: ‘ईश्वरका दूतले हागारलाई भेट्टाए।’ ती दूतले तिनलाई यसो भन्दै ढुक्क बनाए: ‘यहोवाले तेरो दुःख हेर्नुभएको छ।’ त्यसपछि हागारले यहोवालाई यसो भनिन्‌: ‘मलाई देख्नुहुने ईश्वर तपाईं हुनुहुन्छ।’—उत्पत्ति १६:४-१३, NRV

‘हागारलाई देख्नुहुने ईश्वरले’ तपाईंमाथि पनि नजर राख्नुहुन्छ। एक मायालु आमाको उदाहरण विचार गर्नुहोस्। तिनी विशेषगरि आफ्ना स-साना छोराछोरीमाथि नजर राख्छिन्‌ किनभने हुर्किसकेका छोराछोरीको भन्दा स-साना छोराछोरीको धेरै ख्याल राख्नुपर्ने हुन्छ। त्यसैगरि हामी पनि कमजोर अवस्थामा हुँदा ईश्वरले हाम्रो झन्‌ धेरै ख्याल राख्नुहुन्छ। ईश्वर यहोवा यसो भन्नुहुन्छ: “म उच्च र पवित्र ठाउँमा बस्तछु, औ नम्रहरूको मन र चूर्ण हृदय भएकाहरूको हृदयलाई जागृत गराउन, म नम्र र चूर्ण मन भएकोसँग पनि बस्तछु।”—यशैया ५७:१५.

तर तपाईंको मनमा यस्तो प्रश्न आउन सक्छ: ‘ईश्वरले ममाथि कसरी नजर राख्नुहुन्छ? उहाँ मेरो बाहिरी रूप मात्र हेर्नुहुन्छ कि? अथवा मेरो भित्री मन पनि हेर्नुहुन्छ र म वास्तवमा कस्तो व्यक्ति हुँ भनेर बुझ्नुहुन्छ?’

^ अनु. 5 बाइबलमा बताइएअनुसार ईश्वरको नाम यहोवा हो।