अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा जुलाई २०१४

 आवरण लेख | असल मानिसहरूले दुःख पाउँछन्‌, किन?

परमेश्वरले दुष्टता र दुःखकष्टलाई के गर्नुहुनेछ

परमेश्वरले दुष्टता र दुःखकष्टलाई के गर्नुहुनेछ

सैतानले ल्याएको दुःखकष्टलाई यहोवा परमेश्वर र उहाँको छोरा येशू ख्रीष्टले के गर्नुहुनेछ भनेर बाइबलले स्पष्टै बताएको छ। बाइबल भन्छ: “दियाबलका कामहरू नष्ट गर्ने उद्देश्यले नै परमेश्वरको छोरा प्रकट हुनुभएको थियो।” (१ यूहन्ना ३:८) लोभ, घृणा र दुष्टताले भरिएको यस दुष्ट युगको विनाश हुनेछ। “यस संसारको शासक” सैतानलाई चाहिं “बाहिर फ्याँकिनेछ” भनेर येशूले बताउनुभयो। (यूहन्ना १२:३१) सैतानको कुनै प्रभाव नरहेपछि न्यायले बास गर्ने नयाँ संसार स्थापित हुनेछ। अनि पृथ्वीभरि शान्ति छाउनेछ।—२ पत्रुस ३:१३.

आफ्नो आनीबानी परिवर्तन गर्न नचाहने अनि दुष्ट काम नत्याग्ने मानिसहरूलाई के हुनेछ? बाइबलको यो प्रतिज्ञा विचार गर्नुहोस्: “सोझाहरू पृथ्वीमा बास गर्नेछन्‌। र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्‌। तर दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्‌, र विश्वासघातीहरू झारझैं फ्याँकिनेछन्‌।” (हितोपदेश २:२१, २२) त्यसबेला दुष्ट मानिसहरूले कुनै प्रभाव पार्न सक्नेछैनन्‌। साथै पूरै पृथ्वीमा शान्ति छाउँदा आज्ञाकारी मानिसहरू जन्मजात पाएको पापबाट बिस्तारै स्वतन्त्र हुनेछन्‌।—रोमी ६:१७, १८; ८:२१.

त्यस नयाँ संसारमा परमेश्वरले कसरी दुष्टतालाई नामेट पार्नुहुनेछ? मानिसहरूको छनौट गर्ने स्वतन्त्रताको हनन गरेर अनि तिनीहरूलाई रोबटजस्तै बनाएर त होइन। बरु, उहाँले आज्ञाकारी मानिसहरूलाई आफ्नो स्तरबारे सिकाउनुहुनेछ अनि तिनीहरूलाई खराब विचार र काम त्याग्न मदत गर्नुहुनेछ।

परमेश्वरले दुःखकष्टका सम्पूर्ण कारणहरूको नामोनिसान मेटाउनुहुनेछ

अचानक आइपर्ने आपत्‌विपत्‌बारे चाहिं के भन्न सकिन्छ? परमेश्वरले पृथ्वीमा चाँडै नै उहाँको सरकारले शासन गर्नेछ भनेर प्रतिज्ञा गर्नुभएको छ। परमेश्वरले नियुक्त गर्नुभएको त्यस सरकारको राजा येशू ख्रीष्टसित रोगबिमार निको पार्ने शक्ति छ। (मत्ती १४:१४) येशू प्रकृतिलाई पनि नियन्त्रणमा राख्न सक्नुहुन्छ। (मर्कूस ४:३५-४१) त्यसकारण, “समय र अवसर”-को कारण झेल्नुपर्ने दुःखकष्टको पनि अन्त हुनेछ। (उपदेशक ९:११) ख्रीष्टको शासनमा मानिसहरूले कुनै आपत्‌विपत्‌को सामना गर्नुपर्ने छैन।—हितोपदेश १:३३.

दुष्टताको सिकार भएर मरेका लाखौं निर्दोष मानिसहरूको लागि के आशा छ? आफ्नो मित्र लाजरसलाई मरेको अवस्थाबाट ब्यूँताउनुअघि येशू ख्रीष्टले यसो भन्नुभयो: “पुनर्जीवन र जीवन मै हुँ।” (यूहन्ना ११:२५) साँच्चै! येशूसित मरेकाहरूलाई पुनर्जीवित पार्ने अर्थात्‌ फेरि जीवन दिने शक्ति छ।

असल मानिसहरूले दुःख नपाउने संसारमा बाँच्ने आशा के तपाईंलाई मन पऱ्यो? त्यसो हो भने साँचो परमेश्वर र उहाँको उद्देश्यबारे अझै सिक्न बाइबल अध्ययन गर्नुभए कसो होला? तपाईंको छरछिमेकका यहोवाका साक्षीहरू तपाईंलाई यसबारे अझ धेरै कुरा बताउन तयार छन्‌। आफ्नो घर नजिकै बस्ने यहोवाका साक्षीहरूसित सम्पर्क गर्न अथवा यस पत्रिकामा दिइएको ठेगानामा पत्राचार गर्न हामी तपाईंलाई अनुरोध गर्दछौं।