सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा  |  जुलाई २०१४

छोराछोरीलाई कसरी अनुशासनमा राख्ने?

छोराछोरीलाई कसरी अनुशासनमा राख्ने?

“मनमा बेचैनी भइरहेको थियो। गाडीको आवाज सुन्नेबित्तिकै मेरो कान ठाडो हुन्थ्यो। निरज घर ढिलो आएको यो तेस्रो पटक थियो। हामीले तोकेरै निरजलाई यति बजे घर फर्कनू भनेका थियौं। ‘यतिबेरसम्म कहाँ गएको होला? उसलाई केही त भएन? हामीलाई चिन्ता लाग्ला भनेर के उसलाई मतलबै छैन?’ मनमा यस्तै कुरा खेलिरहेको थियो। निरज घर आइपुग्दा म रिसले आगो भइसकेको थिएँ।”राजेश।

“मेरी छोरी चिच्याइन्‌। म आत्तिएँ। पछाडि फर्केर हेरें, ऊ टाउको समातेर रोइरहेकी थिई। हाम्रो चार वर्षको छोराले उसलाई हिर्काइदिएछ।”—शर्मिला।

“‘मैले त्यो औंठी चोरेकै होइन, भेट्टाएको हो!’ हाम्री छ वर्षकी छोरी एलिना जिद्दी गर्दै थिई। उसका ठूल-ठूला आँखा निर्दोष देखिन्थे। तर ऊ झूट बोल्दै थिई भनेर हामीलाई थाह थियो। उसले आफ्नो गल्ती स्वीकार्नै मानिन। साह्रै चित्त दुख्यो र हामीले आँसु थाम्नै सकेनौं।”—सरोज।

तपाईंको छोराछोरी छ भने यी आमाबुबाको भावना बुझ्न सक्नुहुन्छ होला। उनीहरूको जस्तो परिस्थितिको सामना गर्नुपर्दा तपाईंले छोराछोरीलाई कसरी अनुशासनमा राख्ने होला भनेर सोच्नुभएको हुनसक्छ। अथवा छोराछोरीलाई मैले अनुशासनमा राख्नुपर्छ कि पर्दैन भनेर पनि सोच्नुभएको छ कि? के छोराछोरीलाई अनुशासनमा राख्नु गलत कुरा हो?

अनुशासन भनेको के हो?

बाइबलमा चलाइएको अनुशासन भन्ने शब्दले सजाय दिनु भन्ने कुरालाई मात्र बुझाउँदैन। अनुशासनमा राख्नु भनेको अर्ती दिनु, सिकाउनु र सुधार्नु हो। अनुशासन शब्दले कठोर व्यवहार वा दुर्व्यवहार गर्नु भन्ने अर्थ कहिल्यै दिंदैन।—हितोपदेश ४:१, २

छोराछोरीलाई अनुशासनमा राख्ने आमाबुबाको कामलाई मालीको कामसित तुलना गर्न सकिन्छ। मालीले गोडगाड गरेर माटोलाई मलिलो बनाउँछ, बिरुवालाई मलजल गर्छ, किराबाट जोगाउँछ र वरिपरि उम्रिएको झारपात उखेल्छ। बढ्दै गएको बिरुवालाई सही आकार दिन मालीले बिरुवा छाँट्ने गर्छ। होसियारीपूर्वक यस्ता विभिन्न काम गरेमा बिरुवा स्वस्थ हुन्छ भनी मालीलाई थाह छ। आमाबुबाले पनि विभिन्न तरिकामा छोराछोरीको ख्याल राख्छन्‌। तर मालीले बेलाबेलामा बिरुवा छाँटेजस्तै आमाबुबाले पनि छोराछोरीलाई अनुशासनमा राख्नुपर्ने हुन्छ। अनुशासनले छोराछोरीको गलत झुकावलाई समयमै सच्याउन र तिनीहरूलाई सही बाटोमा डोऱ्याउन मदत गर्छ। तर मालीले बिरुवा छाँट्दा होसियारी अपनाएन भने बिरुवा ओइलाउन सक्छ। त्यसैगरि आमाबुबाले पनि छोराछोरीलाई मायालुपूर्वक अनुशासनमा राख्नुपर्छ।

छोराछोरीलाई कसरी अनुशासनमा राख्ने भन्ने विषयमा यहोवा परमेश्वर धेरै राम्रो उदाहरण हुनुहुन्छ। उहाँ पृथ्वीमा भएका आफ्ना आज्ञाकारी सेवकहरूलाई अनुशासनमा राख्नुहुन्छ र यो निकै प्रभावकारी र फाइदाजनक साबित भएको छ। त्यसैले त उहाँका सेवकहरू उहाँको अनुशासन अर्थात्‌ ‘अर्तीलाई प्रेम गर्छन्‌।’ (हितोपदेश १२:१) तिनीहरू अनुशासनलाई ‘समातिराख्छन्‌’ र ‘त्यसलाई कहिल्यै छोड्दैनन्‌।’ (हितोपदेश ४:१३) आफ्नो छोराछोरी पनि अनुशासित भएको चाहनुहुन्छ भने परमेश्वरले आफ्ना सेवकहरूलाई अनुशासनमा राख्दा अपनाउनुहुने तीन वटा तरिका सिक्नुहोस्: (१) मायालु हुने, (२) व्यावहारिक हुने र (३) नियमहरूमा घरिघरि हेरफेर नगर्ने।

मायालु अनुशासन

परमेश्वर आफ्ना सेवकहरूलाई अनुशासनमा राख्नुहुन्छ किनभने उहाँ तिनीहरूलाई प्रेम गर्नुहुन्छ। बाइबल यसो भन्छ: “जसलाई  परमप्रभु प्रेम गर्नुहुन्छ तिनीहरूलाईनै उहाँले हप्काउनुहुन्छ, र आफ्ना प्यारो छोरालाई उहाँले दण्ड दिनुहुन्छ।” (हितोपदेश ३:१२) बाइबल अझै यसो भन्छ, यहोवा परमेश्वर ‘टिठाउनमा भरिपूर्ण र दयालु, रीस गर्नमा ढीलो’ हुनुहुन्छ। (प्रस्थान ३४:६) त्यसैले यहोवा परमेश्वर कहिल्यै दुर्व्यवहार अथवा कठोर व्यवहार गर्नुहुन्न। उहाँ रूखो बोल्नुहुन्न र अरूको आलोचना वा खिसी पनि गर्नुहुन्न। किनभने त्यस्तो किसिमको बोली “तरवारझैं तीखो” हुन्छ र यसले अरूको मनमा चोट पुऱ्याउँछ।—हितोपदेश १२:१८.

कुरा सुन्नुहोस्

हुन त हो, आमाबुबाले सधैं परमेश्वरले जस्तो गर्न सक्दैनन्‌। आमाबुबाले आफूलाई पूर्ण रूपमा वशमा राख्न सक्दैनन्‌। त्यसैले कहिलेकाहीं तपाईंको धैर्यको बाँध टुट्न सक्छ। तर त्यस्तो गाह्रो परिस्थितिमा यो कुरा मनमा राख्नुहोस्: रिसले चूर भई दिएको सजाय अचाक्ली र कठोर हुन्छ। साथै त्यसले सोचेको भन्दा उल्टो नतिजा ल्याउँछ। दिक्क लागेर वा रिसाएर दिएको सजायलाई अनुशासन भन्न मिल्दैन। त्यो त तपाईंले आफूलाई वशमा राख्न नसकेको प्रमाण हो।

तर तपाईंले आफूलाई वशमा राखेर मायालु भई छोराछोरीलाई अनुशासनमा राख्नुभयो भने त्यसले राम्रो परिणाम ल्याउँछ। सुरुमा उल्लेख गरिएका दुई जना आमाबुबा राजेश र शर्मिलाले कसरी परिस्थिति सम्हाले, विचार गर्नुहोस्।

प्रार्थना गर्नुहोस्

“निरज घर आइपुग्दा म र मेरी श्रीमती भित्रभित्रै रिसले आगो भइसकेका थियौं। तर हामीले आफैलाई वशमा राख्यौं र निरजले ढिलो आउनुको कारण बताउँदा उसको कुरा सुन्यौं। रात छिप्पिसकेको हुनाले हामीले भोलि बिहान छलफल गर्ने निर्णय गऱ्यौं। सँगै बसेर प्रार्थना गऱ्यौं अनि सुत्न गयौं। भोलिपल्ट हामीले शान्त भई निरजसित कुरा गर्न र उसको मन छुने गरी सिकाउन सक्यौं। ऊ हामीले भनेअनुसार गर्न तयार भयो र उसले आफ्नो गल्ती स्वीकाऱ्यो। रिस उठेको समयमा तुरुन्तै सजाय दिन खोज्दा नतिजा उल्टो हुन्छ भनेर हामीले बुझ्यौं। सुरुमा राम्रोसँग कुरा सुनिदिंदा परिणाम राम्रो हुँदो रहेछ।”—राजेश।

कुरा गर्नुहोस्

“सोचविचारै नगरी मेरो छोराले आफ्नी दिदीलाई हिर्काएको देख्दा मलाई साह्रै रिस उठ्यो। मैले छोरालाई तुरुन्त आफ्नो कोठामा जाऊ भनें। किनभने साह्रै रिस उठेकोले म त्यतिबेला सही निर्णय गर्न सक्ने अवस्थामा थिइनँ। रिस कम भएपछि मैले ऊसँग कुरा गरें। उसले गर्दा दिदीलाई चोट पुगेको छ अनि त्यसरी अरूलाई चोट पुऱ्याउनु साह्रै खराब कुरा हो भनेर कडाइका साथ भनें। यसो गर्दा परिणाम राम्रो भयो। उसले आफ्नी दिदीसँग माफी माग्यो र दिदीलाई अँगालो हाल्यो।”शर्मिला।

हो, आमाबुबाले कहिलेकाहीं छोराछोरीलाई सजाय दिनुपर्ने हुन्छ। तर सजाय दिनुपरे तापनि छोराछोरीलाई माया गरेकोले नै आमाबुबा तिनीहरूलाई अनुशासनमा राख्छन्‌।

व्यावहारिक अनुशासन

यहोवा परमेश्वर सधैं “ठीक नापले” आफ्ना सेवकहरूलाई अनुशासनमा राख्नुहुन्छ। (यर्मिया ३०:११; ४६:२८) उहाँ परिस्थितिलाई राम्रोसँग केलाउनुहुन्छ। कसैले गल्ती गर्नुको पछाडि  कुनै कारण लुकेको छ कि, त्यो पनि विचार गर्नुहुन्छ। आमाबुबाले पनि कसरी त्यसो गर्न सक्छन्‌? सुरुमा उल्लेख गरिएका सरोज यसो भन्छन्‌: “एलिनाले औंठी चोरेको होइन भन्दै जिद्दी गर्दा हाम्रो साह्रै चित्त दुख्यो र उसले त्यसो गर्नुको कारण पनि हामीले बुझ्न सकेनौं। तर हामीले उसको उमेर अनि बालापन पनि विचार गऱ्यौं।”

शर्मिलाको श्रीमान्‌ रोबर्ट पनि परिस्थितिलाई राम्रोसित केलाउने प्रयास गर्छन्‌। छोराछोरीले कुनै गल्ती गर्दा तिनी आफैलाई यस्तो प्रश्न सोध्ने गर्छन्‌: ‘यो उसको पहिलो गल्ती हो कि यसो गर्ने उसको बानी नै परिसक्यो? थकाइ लागेकोले, सन्चो नभएकोले कतै ऊ चिढिएको हो कि? कतै उसको यो बानी अर्कै समस्याको सङ्केत त होइन?’

राम्ररी सोचविचार गर्ने आमाबुबाले बच्चाहरू वयस्कभन्दा फरक हुन्छन्‌ भन्ने कुरा पनि बुझेका हुन्छन्‌। प्रेषित पावलले पनि बच्चाहरू वयस्कभन्दा फरक हुन्छन्‌ भनी मानिलिए। तिनले यसो लेखे: “जब म बालक थिएँ, तब बालकले जस्तै बोल्थें, बालकले जस्तै सोच्थें।” (१ कोरिन्थी १३:११) रोबर्ट भन्छन्‌: “म आफू सानो छँदा के गर्थें, सम्झने कोसिस गर्छु। त्यसले गर्दा छोराछोरीले किन त्यस्तो व्यहोरा देखाए, बुझ्न सक्छु र मेरो रिस पनि मर्छ।”

छोराछोरी सधैं अनुशासनमा बस्छन्‌ भन्ने आशा नगर्नुहोस्। तर छोराछोरीको गल्ती वा अवगुणलाई ढाकछोप गर्नु पनि ठीक होइन। छोराछोरीले के गर्न सक्छन्‌ र के गर्न सक्दैनन्‌, त्यसमा ध्यान दिनुहोस्। अनि अरू कुराहरू पनि विचार गरेर परिस्थितिलाई राम्रोसित केलाउनुहोस्। यसो गर्दा तपाईंले सन्तुलित र व्यावहारिक भई छोराछोरीलाई अनुशासनमा राख्न सक्नुहुनेछ।

नियमहरूमा हेरफेर नगर्ने

बाइबलको मलाकी ३:६ मा यस्तो लेखिएको छ: “म परमप्रभु कहिल्यै परिवर्तन हुँदिनँ।” परमेश्वरका सेवकहरू यस सत्य कुरामा भरोसा गर्छन्‌ र ढुक्क महसुस गर्छन्‌। तपाईंले पनि नियमहरूमा घरीघरी हेरफेर गर्नुभएन भने छोराछोरीलाई तपाईंमा भरोसा गर्न सजिलो हुन्छ। आफ्नो मुडअनुसार नियमहरूमा घरीघरी हेरफेर गर्नुभयो भने तपाईंको छोराछोरी अलमलमा पर्न सक्छन्‌ र तिनीहरूलाई दिक्क लाग्न सक्छ।

येशूले भन्नुभएको यो कुरा याद गर्नुहोस्: “तिमीहरूको वचन ‘हुन्छ’ भने ‘हुन्छ’ र ‘हुँदैन’ भने ‘हुँदैन’ होस्।” आमाबुबाले पनि यो कुरा लागू गर्नुपर्छ। (मत्ती ५:३७) नियम तोडेमा कस्तो सजाय दिइनेछ भनेर छोराछोरीलाई बताउनुअघि तपाईं साँच्चै त्यो सजाय दिन तयार हुनुहुन्छ कि हुनुहुन्न, पक्का गर्नुहोस्। अनि सजाय दिनैपर्ने अवस्था आएमा आफूले भनेअनुसारै गर्नुहोस्।

घरीघरी नियमहरूमा हेरफेर नगर्न आमाबुबाले पनि एकअर्कासित राम्रोसित कुराकानी गर्नुपर्छ। रोबर्ट यसो भन्छन्‌: “मेरी श्रीमतीले छोराछोरीलाई नगर्नू भनेको कुरा कहिलेकाहीं मलाई थाह हुँदैन। अनि छोराछोरीले मलाई झुक्याएर त्यो कुरा गर्न अनुमति माग्छन्‌। तर श्रीमतीले भनेको कुरा थाह पाउने बित्तिकै म आफूले भनेको कुरा परिवर्तन गर्छु।” कुनै परिस्थिति कसरी सम्हाल्ने भन्ने विषयमा आमाबुबाबीच सहमति भएन भने पहिला दुईजना बसेर त्यस विषयमा छलफल गर्नु र सहमतिमा पुग्नु बेस हुन्छ।

छोराछोरीलाई अनुशासनमा राख्नु अनिवार्य छ

यहोवा परमेश्वर मायालु र व्यावहारिक भई आफ्ना सेवकहरूलाई अनुशासनमा राख्नुहुन्छ अनि उहाँ नियमहरूमा हेरफेर गर्नुहुन्न। उहाँको अनुकरण गर्ने प्रयास गर्नुहोस् र यसले छोराछोरीलाई फाइदा पुग्नेछ भन्ने कुरामा ढुक्क हुनुहोस्। तपाईंको मायालु निर्देशनले छोराछोरीलाई परिपक्व, जिम्मेवार अनि बुद्धिमान्‌ व्यक्ति बन्न मदत गर्नेछ। बाइबलले पनि यसो भन्छ: “बालकलाई ठीक बाटोमा लगाऊ, र वृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन।”—हितोपदेश २२:६.