सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा जून २०१४

तपाईंले जीवन दिने रोटी चाख्नुभएको छ?

तपाईंले जीवन दिने रोटी चाख्नुभएको छ?

पर्यटकहरू भोकले चूर छन्‌। पुरानो सहर बेतलेहेमको ऐतिहासिक ठाउँहरू घुमेपछि उनीहरू त्यहाँको विशेष खानेकुरा चाख्न चाहन्छन्‌। एक जनाले फलाफल पाइने रेस्टुराँ भेट्टाउँछन्‌। फलाफल भनेको बाक्लो रोटीभित्र (पिटा ब्रेड) पिसेको चना, गोलभेंडा, प्याज र विभिन्न तरकारी मिलाएर बनाइने परिकार हो। पर्यटकहरूलाई यो स्वादिलो खाजाले भ्रमण अघि बढाउने बल दिन्छ।

यस्तो रोटी खानु सायद उनीहरूको लागि ऐतिहासिक अनुभव थियो भनेर उनीहरूलाई थाह थिएन। बेतलेहेम नामको अर्थ “रोटीको घर” हो। यस सहरमा रोटी पकाइँदै आएको हजारौं वर्ष भइसक्यो। (रूथ १:२२; २:१४) अहिले पनि बेतलेहेममा पिटा ब्रेडलाई एउटा विशेष खानेकुरा मानिन्छ।

बेतलेहेमको दक्षिणतिर पर्ने एउटा ठाउँमा अब्राहामकी पत्नी साराले तीन जना पाहुनालाई ताजा “रोटी” पकाएर खुवाइन्‌। (उत्पत्ति १८:६) यो घटना लगभग चार हजार वर्षअघिको हो। साराले रोटी पकाउन प्रयोग गरेको “मसिनो पीठो” जौ वा एमर भनिने गहुँको हुन सक्छ। साराले त्यो रोटी छिट्टै पकाउनुपर्थ्यो। तिनले तातो ढुङ्गामा पोलेर रोटी पकाएकी हुनुपर्छ।—१ राजा १९:६.

यस विवरणअनुसार अब्राहामको परिवारले आफ्नो लागि आफै रोटी पकाउँथे भनेर थाह पाउँछौं। साराको जन्मस्थल ऊरमा भट्टामा रोटी पकाउनु सामान्य थियो। तर फिरन्ते जीवनशैलीले गर्दा सायद सारा र तिनका नोकरचाकरले भट्टामा रोटी पकाउन सम्भव थिएन। तिनले त्यहीं पाइने अन्नबाट मसिनो पीठो तयार पारिन्‌। पीठो तयार पार्न जाँतो अथवा सायद ओखल प्रयोग गर्नुपर्ने भएकोले यो काम गर्न निकै मेहनत चाहिन्थ्यो।

यसको चार सय वर्षपछि मोशाको व्यवस्थाले कसैको जाँतो धितोमा नलिनू भन्ने नियम दियो किनभने त्यो “मानिसको प्राण बन्धक लिएको बराबर” थियो। (व्यवस्था २४:६) परमेश्वरले जाँतोलाई महत्त्वपूर्ण ठान्नुभयो किनभने त्योविना परिवारले रोटी पकाउन सक्दैनथ्यो।–“ बाइबलकालीन समयमा पीठो तयार पार्ने र रोटी पकाउने काम कसरी गरिन्थ्यो?” भन्ने पेटी हेर्नुहोस्।

जीवन धान्न रोटी

बाइबलमा थुप्रै चोटि रोटीबारे उल्लेख गरिएको छ। यसबाट बाइबलकालीन समयमा रोटी मुख्य खानेकुरा थियो भन्ने बुझिन्छ। त्यसैकारण बाइबल लेखकहरूले भोजनको पर्यायवाची शब्दको रूपमा रोटी शब्द प्रयोग गरेका छन्‌। परमेश्वरका उपासकहरूले विश्वस्त भएर “हामीलाई आज दिनभरिको भोजन दिनुहोस्” भनेर प्रार्थना गर्न सक्छन्‌ भनेर येशूले बताउनुभयो। (मत्ती ६:११) दिनदिनैको भोजनको लागि हामी यहोवामा भर पर्न सक्छौं भनेर येशूले बुझाउँदै हुनुहुन्थ्यो।—भजन ३७:२५.

तर रोटी अर्थात्‌ भोजनभन्दा पनि महत्त्वपूर्ण कुरा छ। त्यसबारे येशूले यसो भन्नुभयो: “मानिस रोटीको भरमा मात्र बाँच्नुहुँदैन तर यहोवाको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्नुपर्छ।” (मत्ती ४:४) यहाँ येशूले त्यस समयबारे बताउँदै हुनुहुन्थ्यो, जतिबेला इस्राएलीहरू परमेश्वरले जे दिनुहुन्थ्यो, त्यसैको भरमा मात्र बाँच्नुपर्थ्यो। यो अवस्था मिश्रबाट निस्केको केही समयपछि नै सुरु भयो। सीनैको मरुभूमिमा पसेको लगभग एक महिनापछि तिनीहरूको खानेकुरा सिद्धिन थाल्यो। त्यस्तो उजाडस्थानमा खानै नपाई मर्ने डरले तिनीहरू यसरी गनगनाउन थाले: ‘हामी मिश्रमा रोटी अघाउन्जेल खान्थ्यौं।’—प्रस्थान १६:१-३.

मिश्रको रोटी असाध्यै मीठो हुन्थ्यो। मोशाको समयमा रोटी व्यवसायीहरूले मिश्रीहरूको लागि थरीथरीका रोटी र केक बनाउँथे। तर यहोवाले आफ्ना जनहरूलाई भोकभोकै छोड्नुहुने थिएन। उहाँले यस्तो प्रतिज्ञा गर्नुभयो: “हेर्, म  तिमीहरूका निम्ति स्वर्गबाट रोटी वर्षाउनेछु।” प्रतिज्ञाअनुसारै बिहान सबेरै “तुसारोझैं ससाना डल्ला” आकाशबाट झऱ्यो। यो देख्नेबित्तिकै इस्राएलीहरूले यसो भने “यो के हो?” मोशाले यस्तो जवाफ दिए: “यो परमप्रभुले तिमीहरूलाई दिनुभएको रोटी हो।” तिनीहरूले त्यसलाई मन्न * भन्ने नाम दिए अनि ४० वर्षसम्म त्यही खाएर जीवन धाने।—प्रस्थान १६:४, १३-१५, ३१.

सुरु-सुरुमा इस्राएलीहरू चमत्कारपूर्ण ढङ्गमा झरेको मन्न देखेर पक्कै प्रभावित भएको हुनुपर्छ। यसको स्वाद “महमा बनाएको बाबरजस्तो” थियो अनि सबैको लागि पर्याप्त थियो। (प्रस्थान १६:१८) तर जसै समय बित्दै गयो, तिनीहरूले मिश्रमा खाएका थरीथरीका परिकारहरू सम्झे अनि यसो भनेर गनगन गरे: “यो मन्न छोडी अरू केही देखिंदैन।” (गन्ती ११:६) पछि तिनीहरूले रिसाउँदै यसो भने: “यस तुच्छ खानेकुरादेखि हामीलाई वाक्कै लागिसक्यो”। (गन्ती २१:५) अन्तमा गएर तिनीहरूलाई त्यो “स्वर्गको रोटी” बेस्वादको अनि घृणित लाग्यो।—भजन १०५:४०, NRV.

जीवन दिने रोटी

अरू थुप्रै कुरालाई जस्तै रोटीलाई पनि हामी सामान्य ठान्छौं होला। तर बाइबलले हामीले साधारण ठान्न नहुने एउटा विशेष किसिमको रोटीबारे बताउँछ। त्यस रोटीले चिरकालीन लाभ पुऱ्याउँछ। येशूले यस रोटीलाई इस्राएलीहरूले तिरस्कार गरेको मन्नसँग तुलना गर्नुभएको थियो।

येशूले मानिसहरूलाई यसो भन्नुभयो: “म जीवन दिने रोटी हुँ। तिमीहरूका पुर्खाहरूले उजाडस्थानमा मन्न खाए; तैपनि तिनीहरू मरे। स्वर्गबाट ओर्लेर आउने रोटी यही हो र जसले यो खान्छ, ऊ मर्दैन। स्वर्गबाट ओर्लेर आएको म, जीवन दिने रोटी हुँ। यदि कसैले यो रोटी खान्छ भने ऊ सधैंभरि बाँच्नेछ र मैले दिन लागेको रोटी वास्तवमा मेरो शरीर हो अनि संसारले  जीवन पाओस् भनेर म त्यो दिनेछु।”—यूहन्ना ६:४८-५१.

तर थुप्रैले “रोटी” र “शरीर”-को वास्तविक अर्थ बुझेनन्‌। येशूले आफ्नो शरीरलाई रोटीसित तुलना गर्नु एकदमै उपयुक्त थियो। इस्राएलीहरूले उजाडस्थानमा ४० वर्षसम्म मन्न खाएर जीवन धानेजस्तै यहूदीहरू पनि रोटी खाएर जीवन धान्थे। मन्न परमेश्वरले दिनुभएको उपहार भए तापनि यसले अनन्त जीवन दिंदैन थियो। तर येशूको बलिदानले भने उहाँमाथि विश्वास गर्ने सबैलाई अनन्त जीवन दिन्छ। हो, येशू साँच्चै “जीवन दिने रोटी” हुनुहुन्छ।

भोक लाग्दा सायद तपाईं रोटी खानुहुन्छ। अनि “दिनभरिको भोजन”-को लागि तपाईं परमेश्वरलाई धन्यवाद पनि दिनुहुन्छ होला। (मत्ती ६:११) यसरी स्वादिलो भोजनको प्रबन्धको कदर गर्दा “जीवन दिने रोटी” येशू ख्रीष्टको पनि कदर गर्न कहिल्यै नबिर्सौं।

मोशाको समयका इस्राएलीहरूजस्तै बैगुणी नहुन अर्थात्‌ यस अनमोल रोटीलाई साधारण नठान्न के गर्न सक्छौं? येशूले यसो भन्नुभयो: “यदि तिमीहरू मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।” (यूहन्ना १४:१५) येशूका आज्ञाहरू पालन गरेर हामी भविष्यमा साँच्चैको रोटीबाट लाभ उठाइरहन सक्नेछौं।—व्यवस्था १२:७.

^ अनु. 10 “मन्न” भन्ने शब्द “मन हु?” भन्ने हिब्रू अभिव्यक्तिबाट लिइएको हुन सक्छ, जसको अर्थ हो, “यो के हो?”