अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा मे २०१४

 तिनीहरूको विश्वास अनुकरण गर्नुहोस् | मरियम

तिनले तरवारको चोट सहिन्‌

तिनले तरवारको चोट सहिन्‌

मरियम घुँडा टेकेर झोक्य्राइरहेकी छिन्‌। तिनको पीडा शब्दमा व्यक्तै गर्न नसकिने छ। तिनको छोरालाई चरम यातना दिएर मारिएको केही घण्टा मात्र भयो। तिनको कानमा छोराको अन्तिम चीत्कार अझै गुञ्जिरहेको छ। मध्यदिनमै एक्कासि निस्पट्ट अँध्यारो हुन्छ। शक्तिशाली भूकम्पले धर्ती जोरसित हल्लिन्छ। (मत्ती २७:४५, ५१) त्यतिबेला मरियमले के सोचेकी हुनुपर्छ भने येशू ख्रीष्टको मृत्युले गर्दा सबैभन्दा धेरै दुःख यहोवालाई लागेको छ अनि यो कुरा संसारलाई थाह दिन उहाँले यी चिन्ह देखाउनुभएको हो।

गलगथा भन्ने ठाउँमा दिउँसै छाएको कालो बादल बिस्तारै हट्दै जान्छ। मरियम आफ्नो छोराको मृत्युमा शोक गर्दै छिन्‌। (यूहन्ना १९:१७, २५) तिनलाई एकाएक बितेका पलहरूको स्मरण हुन थालेको हुनुपर्छ। तिनले लगभग ३३ वर्षअघिको एउटा घटना सम्झेकी हुनुपर्छ। मरियम र यूसुफले आफ्नो प्यारो छोरालाई यरूशलेमको मन्दिरमा लगेका थिए। शिमियोन नाम गरेका वृद्ध मानिसले येशूबारे अचम्मका भविष्यवाणी गरे। साथै मरियमले मुटुमा लामो तरवारले छेडेको जस्तो पीडा महसुस गर्नुपर्नेछ भनेर पनि शिमियोनले बताए। (लूका २:२५-३५) आफ्नो छोराको मृत्युको घडीमा बल्ल मरियमले त्यस भविष्यवाणीको अर्थ राम्ररी बुझिन्‌।

मरियमको मुटु छियाछिया भयो

भनिन्छ, मानिसको लागि छोराछोरीको मृत्यु सबैभन्दा असह्य हुन्छ। मृत्यु डरलाग्दो शत्रु हो। यसले हामी सबैलाई अवश्य चोट पुऱ्याउँछ। (रोमी ५:१२; १ कोरिन्थी १५:२६) के यस्ता चोटहरू सहन सकिन्छ? येशूको सेवाको कामको सुरुदेखि उहाँको मृत्युसम्म र त्यसपछिको समयमा मरियमको जीवन कस्तो थियो, विचार गरौं। यसबाट हामी मरियमको विश्वासले तिनलाई असह्य पीडा सहन कसरी मदत गऱ्यो भनेर बुझ्न सक्नेछौं।

“उहाँले तिमीहरूलाई जसो भन्नुहुन्छ, त्यसै गर”

येशूको मृत्यु हुनुभन्दा साढे तीन वर्षअघि के भयो, केलाऔं। नासरतजस्तो सानो सहरमा समेत बप्तिस्मा गराउने यूहन्ना र उनले सुनाएको पश्‍चात्तापको समाचारको विषयमा मानिसहरू कुरा गर्दै छन्‌। यस्तो गाइँगुइँलाई येशूले सेवाको काम सुरु गर्ने सङ्केतको रूपमा लिनुभयो भनेर मरियमले बुझिन्‌। (मत्ती ३:१, १३) येशूको अनुपस्थितिले मरियम र तिनको परिवारमा उथलपुथल हुने थियो। कसरी?

त्यतिबेला मरियमका पति यूसुफको मृत्यु भइसकेको जस्तो देखिन्छ। त्यसो हो भने मरियमको लागि कसैलाई गुमाउनु भनेको नौलो कुरा थिएन। * त्यतिबेला येशू “सिकर्मीको छोरा” मात्र होइन तर “सिकर्मी” भनेर पनि चिनिनुहुन्थ्यो। उहाँले आफ्नो बुबाको कामकाज सम्हालिसक्नुभएको थियो। अनि कम्तीमा छ जना भाइबहिनीलगायत पूरै परिवारको आवश्यकता पनि उहाँले नै पूरा गर्दै हुनुहुन्थ्यो। (मत्ती १३:५५, ५६; मर्कूस ६:३) येशूले माहिलो भाइ याकूबलाई सिकर्मीको काम सिकाइसक्नुभए तापनि उहाँले घर छोड्दा परिवारलाई गाह्रो हुने थियो। मरियमको काँधमा थुप्रै जिम्मेवारी भएकोले यस्तो ठूलो परिवर्तन हुन लाग्दा के तिनी विचलित भइन्‌? हामी अनुमान मात्र लगाउन सक्छौं। तर अझै महत्त्वपूर्ण कुरा, नासरतका येशू पछि गएर ख्रीष्ट अर्थात्‌ प्रतिज्ञा गरिएका मसीह हुँदा तिनलाई कस्तो लाग्ने थियो? बाइबलको एउटा विवरणले यसबारे बताएको छ।—यूहन्ना २:१-१२.

 येशू यूहन्नाकहाँ बप्तिस्मा गर्न जानुभयो अनि उहाँ मसीह अर्थात्‌ परमेश्वरको अभिषिक्त जन हुनुभयो। (लूका ३:२१, २२) त्यसपछि उहाँले आफ्ना चेलाहरू छान्न थाल्नुभयो। उहाँ काममा व्यस्त हुनुहुन्थ्यो तैपनि परिवार अनि साथीभाइसित रमाइलो गर्न समय निकाल्नुहुन्थ्यो। एक चोटि येशू आफ्नी आमा, चेलाहरू र भाइहरूसँग काना भनिने सहरको विवाह-भोजमा जानुभयो। त्यो सहर सायद नासरतदेखि लगभग १३ किलोमिटर परको डाँडामा थियो। भोजभतेर भइरहेको बेला मरियमले एउटा समस्या उत्पन्न भएको सुइँको पाउँछिन्‌। दुलहा-दुलहीको परिवारका केही सदस्य ‘के गरौं कसो गरौं’ भन्दै खासखुस गरिरहेको अनि अतालिएर एकअर्कालाई हेराहेर गरिरहेको सायद मरियमले याद गरिन्‌। पाहुनालाई चाहिने सबै दाखरस सिद्धिएको थियो! तिनीहरूको चलनअनुसार पाहुना सत्कार गर्दा सबै रीत पुऱ्याउन सकिएन भने लाजमर्दो हुन्थ्यो, विवाह-भोजको रौनक नै हराउँथ्यो। मरियमले तिनीहरूको मर्का बुझिन्‌ र मदतको लागि येशूलाई गुहारिन्‌।

तिनले येशूलाई भनिन्‌, “तिनीहरूसित दाखमद्य छैन।” उहाँले के गरेको तिनी चाहन्थिन्‌, त्यो त हामी ठ्याक्कै भन्न सक्दैनौं। तर आफ्नो छोरा महान्‌ व्यक्ति हुन्‌ र चमत्कार गर्न सक्छन्‌ भनेर तिनलाई थाह थियो। सायद उहाँले तुरुन्तै केही गर्नुहुन्छ भनेर तिनले आशा गरेकी थिइन्‌। तिनी यसो भन्न खोज्दै थिइन्‌, “लौ न छोरा, केही गर!” येशूको जवाफले तिनलाई स्तब्ध पारेको हुनुपर्छ। उहाँले यसो भन्नुभयो: “ए नारी, तिमीसित मेरो के सरोकार?” येशूले आफ्नी आमाको अनादर गरिरहनुभएको थिएन तैपनि कसै-कसैले ती शब्दको गलत अर्थ लगाएका छन्‌। वास्तवमा उहाँले आमालाई मायालुपूर्वक सच्याइरहनुभएको थियो। सेवाको कामलाई कसरी अघि बढाउनुपर्छ भनेर निर्देशन दिने काम उहाँको आमाको नभई यहोवाको हो भनेर सम्झाउँदै हुनुहुन्थ्यो।

छोराले सच्याउँदा मरियमले स्वीकारिन्‌ किनभने तिनी बुझकी अनि नम्र थिइन्‌। तिनले कामदारहरूलाई यसो भनिन्‌: “उहाँले तिमीहरूलाई जसो भन्नुहुन्छ, त्यसै गर।” अबउसो छोरालाई निर्देशन दिने काम आफ्नो होइन बरु येशूबाट चाहिं आफू अनि अरूले निर्देशन खोज्नुपर्छ भनेर मरियमले बुझिन्‌। येशूले पनि आफ्नी आमाले जस्तै नव-विवाहित जोडीप्रति दया देखाउनुभयो। उहाँले पानीलाई दाखरसमा परिणत गर्नुभयो। यो येशूको पहिलो चमत्कार थियो। यो देखेर “उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे” अनि मरियमले पनि विश्वास गरिन्‌। त्यतिबेला मरियमले येशूलाई छोराको रूपमा मात्र नभई आफ्नो प्रभु र उद्धारकको रूपमा हेरिन्‌।

मरियमको विश्वासबाट आज आमाबाबुहरूले राम्रो पाठ सिक्न सक्छन्‌। हुन त येशूजस्तो त्रुटिरहित बच्चालाई कसैले हुर्काएको छैन। तर जेहोस्, बच्चा हुर्केर ठूलो हुँदा विभिन्न चुनौती खडा हुन्छन्‌। हुर्किसकेको छोराछोरीलाई अझै पनि सानो केटाकेटीलाई जस्तो व्यवहार गर्ने झुकाव आमाबाबुको हुन सक्छ। तर यसो गर्नु उपयुक्त हुँदैन। (१ कोरिन्थी १३:११) त्यसोभए आमाबाबुले हुर्किसकेका छोराछोरीलाई कसरी मदत गर्न सक्छन्‌? एउटा तरिका, आफ्नो वफादार छोरा वा छोरी बाइबलको शिक्षाअनुसार चलिरहनेछन्‌ र यहोवाको आशिष्‌ पाउनेछन्‌ भन्ने कुरामा आफू ढुक्क भएको तिनीहरूलाई देखाउनु हो। यस्तो विश्वास र भरोसा देखाउँदा हुर्किसकेको छोराछोरीमा पक्कै राम्रो छाप पार्छ। येशूले त्यसपछिका दिनहरूमा मरियमको मदतको मोल गर्नुभयो भन्ने कुरामा कुनै शङ्का छैन।

“उहाँका भाइहरू उहाँमाथि विश्वास गर्दैनथे”

येशूको साढे तीन वर्षको सेवाको दौडान मरियमको जीवनमा के-कस्तो घटना घट्यो भन्नेबारे सुसमाचारका किताबहरूमा थोरै मात्र जानकारी पाइन्छ। हुन सक्छ, तिनी त्यतिबेला विधवा भइसकेकी थिइन्‌ र एक्लैले साना केटाकेटी हुर्काउँदै थिइन्‌। त्यसैले येशूले आफू जन्मेको इलाकामा प्रचार गर्दा मरियम उहाँसँगै जान नसक्नुको कारण हामी बुझ्न सक्छौं। (१ तिमोथी ५:८) तर  तिनले मसीहबारे सिकेको कुरामाथि मनन गर्न र सदाजस्तै सभाघरमा जान छोडिनन्‌।—लूका २:१९, ५१; ४:१६.

येशूले नासरतको सभाघरमा भाषण दिंदा तिनी पनि उपस्थित थिइन्‌ भन्न सकिन्छ। सयौं वर्षअघि मसीहबारे गरिएको भविष्यवाणी आफूमा पूरा भएको घोषणा येशूले गर्नुभयो। यो सुनेर सभाघरमा उपस्थित मरियम कति उत्साहित भइन्‌ होला! तर आफ्ना सँगी नासरीहरूले येशूलाई नस्वीकार्दा तिनी पक्कै दुःखी भएकी हुनुपर्छ। ती नासरीहरूले तिनको छोरालाई मार्नसमेत लागेका थिए!—लूका ४:१७-३०.

अझ दुःखलाग्दो कुरा, तिनका आफ्नै छोराहरूले समेत येशूलाई विश्वास गरेनन्‌। यूहन्ना ७:५ ले येशूका चार जना भाइबारे यसो भन्छ: “उहाँका भाइहरू उहाँमाथि विश्वास गर्दैनथे।” येशूका कम्तीमा दुई जना बहिनी हुन सक्छन्‌। तिनीहरूबारे बाइबलमा केही बताइएको छैन। * तर जेहोस्, बेग्लाबेग्लै धार्मिक विचारधारा राख्ने परिवारमा बस्नुपर्दा कति गाह्रो हुन्छ भनेर मरियमले बुझिन्‌। एकातिर सत्यप्रति वफादार रहन अनि अर्कोतिर परिवारका सदस्यहरूलाई कुनै दबाब नदिई उनीहरूको मन जित्न तिनले निकै कोसिस गर्नुपर्थ्यो।

एक चोटिको कुरा हो, येशूका नातेदारहरूले उहाँलाई जबरजस्ती “लिन” गए। किनकि तिनीहरू यसो भन्थे: “उसको दिमाग खुस्केको छ।” (मर्कूस ३:२१, ३१) ती नातेदारहरूसँगै उहाँका दाइहरू र मरियम पनि गएका हुन सक्छन्‌। मरियम आफ्ना नातेदारहरूको जस्तै मनसाय राखेर त होइन तर छोराहरूले येशूलाई विश्वास गर्ने केही आधार भेट्टाऊन्‌ भन्ने आशामा तिनी गएकी थिइन्‌। के तिनीहरूले विश्वास गरे? येशूले ठूलठूला चमत्कारहरू गर्नुभयो र अनमोल सत्य सिकाउनुभयो। तैपनि मरियमका छोराहरूले विश्वास गरेनन्‌। आफ्ना छोराहरूलाई कसरी विश्वास दिलाउने होला भनेर के तिनी हैरान भइन्‌?

के तपाईं बेग्लै धर्म मान्ने परिवारमा बस्नुहुन्छ? मरियमको विश्वासबाट तपाईं व्यावहारिक पाठ सिक्न सक्नुहुन्छ। आफ्ना नातेदारहरूले एक दिन विश्वास गर्नेछन्‌ भनेर तिनले आशा गर्न छोडिनन्‌। बरु आफ्नो विश्वासले तिनको जीवनमा कति खुसी र शान्ति ल्याएको छ भनेर तिनीहरूलाई देखाइरहिन्‌। साथै तिनले आफ्नो वफादार छोराको साथ कहिल्यै छोडिनन्‌। के तिनलाई येशूको न्यास्रो लाग्थ्यो? के तिनलाई कहिलेकाहीं येशू परिवारसँगै भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो? लाग्थ्यो भने तिनले आफ्नो भावनालाई वशमा राखेकी हुनुपर्छ। तिनले येशूलाई साथ दिनु र प्रोत्साहन दिनुलाई ठूलो सुअवसर ठानिन्‌। के तपाईं पनि मरियमजस्तै आफ्ना छोराछोरीले परमेश्वरलाई पहिलो स्थान देऊन्‌ भनेर उनीहरूलाई मदत गर्न सक्नुहुन्छ?

“एउटा लामो तरवारले तिम्रो मुटु वारपार हुनेगरि छेड्नेछ”

के मरियमको विश्वासले इनाम पायो? यहोवा आफ्ना विश्वासी जनहरूलाई इनाम दिन कहिल्यै भुल्नुहुन्न। (हिब्रू ११:६) मरियमले इनाम पाइन्‌ भन्ने कुरामा शङ्का छैन। आफ्नो छोराको भाषण सुन्दा वा अरूले उहाँको भाषणबारे तिनलाई बताउँदा मरियमलाई कस्तो लाग्यो होला, कल्पना गर्नुहोस् त।

येशूको धेरैजसो दृष्टान्तमा यूसुफ र मरियमले दिएको प्रशिक्षण झल्किन्छ

येशूले दिनुभएको दृष्टान्तहरू सुन्दा के मरियमलाई नासरतमा हुर्कंदै गरेको येशूको बाल्यकाल याद आयो होला? हराएको सिक्का खोज्न घर बढार्ने स्त्री, जाँतो घुमाइरहेकी स्त्री अनि दियो बालेर पानसमाथि राख्ने स्त्रीको दृष्टान्त येशूले दिनुहुँदा के मरियमको मनमा आफूले सानो छोरासँगै घरायसी काम गरेको दृश्य आएन होला र? (लूका ११:३३; १५:८, ९; १७:३५) अनि येशूले “मेरो जुवा सजिलो र मेरो भारी हलुको छ” भन्नुहुँदा मरियमलाई विगतका रमाइला पलहरू याद आयो होला। (मत्ती ११:३०) जनावरलाई अप्ठ्यारो नहुने किसिमको जुवा कसरी बनाउने भनेर यूसुफले येशूलाई सिकाउँदै गरेको झझल्को आयो होला। यहोवाले मरियमलाई मसीह हुने व्यक्तिलाई हुर्काउने र राम्रो प्रशिक्षण दिने सुअवसर दिनुभयो। यस्तो सुअवसरबारे  सोचेर तिनी निकै आनन्दित भएकी हुनुपर्छ। येशूले दिनहुँ प्रयोग हुने वस्तुहरूलाई अनि दैनिक गतिविधिलाई दृष्टान्तको रूपमा चलाएर एकदमै गहिरो शिक्षा दिनुहुन्थ्यो। संसारकै महान्‌ शिक्षक येशूको कुरा सुन्न पाउँदा मरियमलाई असाध्यै खुसी लागेको हुनुपर्छ।

त्यस्तो महान्‌ शिक्षकको आमा भए तापनि मरियम नम्र थिइन्‌। तिनको छोराले मरियमलाई कहिल्यै पनि अनावश्यक भक्ति भाव देखाएनन्‌, उपासना गर्ने कुरा त परै जाओस्। येशूलाई जन्म दिएकोमा मरियम साँच्चै धन्यकी हुन्‌ भनेर भीडबाट एक जना स्त्री ठूलो स्वरमा कराइन्‌। येशूले जवाफमा भन्नुभयो: “त्यसो होइन। धन्य त तिनीहरू हुन्‌, जसले परमेश्वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌!” (लूका ११:२७, २८) अनि भीडमा भएका केही मानिसले उहाँकी आमा र भाइहरू नजिकै छन्‌ भनेर देखाउँदा उहाँले आफूमा विश्वास गर्नेहरूचाहिं साँचो आमा, दाजुभाइ र दिदीबहिनी हुन्‌ भनेर बताउनुभयो। के येशूको कुरा सुनेर मरियमले चित्त दुखाइन्‌? अहँ दुखाइनन्‌। किनभने मरियमलाई थाह थियो, येशूले रगतको नाताभन्दा ख्रीष्टियनको नाता महत्त्वपूर्ण हो भनेर भन्न खोज्दै हुनुहुन्थ्यो।—मर्कूस ३:३२-३५.

आफ्नो छोरालाई खम्बामा झुन्ड्याएर तड्पाई-तड्पाई मारेको हेर्नुपर्दा मरियमलाई कस्तो पीडा भयो होला, हामी शब्दमा व्यक्त गर्न सक्दैनौं। मृत्युदण्डका प्रत्यक्षदर्शी प्रेषित यूहन्नाले आफ्नो पुस्तकमा मरियमबारे यसरी लेखे: ‘येशू टाँगिनुभएको यातनाको खम्बाको छेवैमा उहाँकी आमा उभिरहेकी थिइन्‌।’ आफ्नो छोरालाई मृत्युको अन्तिम घडीसम्म साथ दिन ती मायालु अनि वफादार आमालाई कुनै कुराले रोक्न सक्दैनथ्यो। येशूलाई एक-एक सास फेर्न कति गाह्रो थियो, मुखबाट एक शब्द निकाल्न पनि पीडा हुन्थ्यो। तैपनि आफ्नो आमालाई देखेपछि उहाँ बोल्नुभयो। उहाँले आमाको हेरविचार गर्ने जिम्मा आफ्नो प्यारो चेला यूहन्नालाई दिनुभयो। येशूका भाइहरू उहाँलाई विश्वास गर्दैनथे। त्यसैले उहाँले मरियमलाई इमानदार चेलाको हातमा सुम्पनुभयो। यसरी येशूले विश्वासी पुरुषहरूले आफ्नो परिवारको हेरविचार गर्नु कति महत्त्वपूर्ण छ भनेर देखाउनुभयो, विशेषगरि यहोवासित सम्बन्ध बलियो बनाइराख्ने विषयमा।—यूहन्ना १९:२५-२७.

अन्तमा येशूको मृत्यु भयो। भविष्यवाणी गरिएझैं मरियमले मुटुमा लामो तरवारले वारपार छेडेजस्तै पीडा महसुस गर्नुपऱ्यो। तर तीन दिनपछि तिनी कति खुसी भइन्‌ होला, हामी कल्पना गर्न सक्दैनौं! किनभने तीन दिनपछि सबैभन्दा ठूलो चमत्कार भयो—येशू पुनर्जीवित हुनुभयो! अनि येशू आफ्नो सौतेनी भाइ याकूबकहाँ देखा पर्दा मरियमको खुसीको सीमै रहेन। (१ कोरिन्थी १५:७) यसरी येशूलाई भेट्दा याकूब र उहाँका अरू भाइहरूमा गहिरो छाप पऱ्यो। पछि उनीहरूले येशूलाई ख्रीष्टको रूपमा विश्वास गरे। उनीहरू आफ्नी आमासँगै ख्रीष्टियन सभाहरूमा “एक चित्तको भएर प्रार्थना गरिरहेका” थिए भनेर बाइबल बताउँछ। (प्रेषित १:१४) पछि येशूका भाइहरू याकूब र यहूदाले बाइबलका किताबहरू लेखे।

आफ्ना छोराहरू वफादार ख्रीष्टियन भएको देख्दा मरियम निकै खुसी भइन्‌

बाइबलमा मरियमबारे लेखिएको अन्तिम विवरणमा तिनी आफ्ना छोराहरूसित सभामा प्रार्थना गर्दै थिइन्‌ भनेर बताइएको छ। कति उपयुक्त समापन! तिनको विश्वासले गर्दा तिनले तरवारको चोट सहन सकिन्‌ र ठूलो इनाम पाइन्‌। हाम्रो लागि कति राम्रो उदाहरण! यस निर्दयी संसारले जस्तोसुकै चोट किन नदेओस्, मरियमको विश्वास अनुकरण गऱ्यौं भने हामी त्यो सहन सक्नेछौं अनि सोचेभन्दा कता हो कता अनमोल इनाम पाउनेछौं!

^ अनु. 8 येशू १२ वर्षको छँदा घटेको घटनापछि सुसमाचारको किताबमा यूसुफको कुनै विवरण पाइँदैन। तर येशूकी आमा र तिनको छोराछोरीबारे भने उल्लेख गरिएको पाउँछौं। मर्कूस ६:३ मा येशूलाई यूसुफको छोरा नभई “मरियमको छोरा” भनेर उल्लेख गरिएको छ।

^ अनु. 16 यूसुफ येशूको साक्खै बुबा थिएनन्‌। त्यसैले येशूका भाइबहिनीहरू सौतेनी भाइबहिनीहरू थिए।—मत्ती १:२०.