अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा अप्रिल २०१४

 बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

उहाँहरूले हरेक प्रश्नको जवाफ बाइबलबाटै दिनुभयो

उहाँहरूले हरेक प्रश्नको जवाफ बाइबलबाटै दिनुभयो
  • जन्म मिति: १९५०

  • जन्म स्थान: स्पेन

  • विगतमा: क्याथोलिक नन

मेरो विगत:

मेरो जन्म स्पेनको उत्तर-पश्‍चिममा पर्ने गलेसियाको सानो गाउँमा भयो। म आठ जना छोराछोरीमध्ये काँइली थिएँ। हामी मायालु वातावरणमा हुर्क्यौं। स्पेनमा त्यतिखेर परिवारका छोराछोरीहरूमध्येबाट कम्तीमा पनि एक जना चर्चको मठमा गएर बस्ने चलन थियो। हाम्रो परिवारबाट चाहिं तीन जना गयौं।

मेरी एउटी दिदी माड्रिडको मठमा जानुभएको थियो। तेह्र वर्ष पुगेपछि म पनि त्यहीं गएँ। त्यहाँको वातावरण मित्रैलो थिएन। सादा जीवन बिताउनुपर्थ्यो। नियममा बस्नुपर्थ्यो; प्रार्थना गरेको गऱ्यै हुन्थ्यौं। रमाइलो गर्ने समय नै थिएन। हरेक बिहान हामी प्रार्थना गर्ने कोठामा जम्मा हुन्थ्यौं। तर म ध्यान लगाउनै सक्दिनथें। त्यसपछि हामी ल्याटिन भाषामा भजन गाउँथ्यौं र मास (रोटी र दाखमद्य खाएर येशूको मृत्युको सम्झना गर्ने पर्व) मनाउँथ्यौं। यी सबै कुरा ल्याटिन भाषामा हुने भएकोले कालो अक्षर भैंसी बराबर भनेझैं केही बुझ्दिनथें। त्यसैले भगवान्‌ मभन्दा धेरै टाढा हुनुहुन्छ जस्तो लाग्थ्यो। मेरा दिनहरू मौनतामा नै बित्थे। दिदीसित भेट हुँदा अभिवादन मात्र गर्न पाउँथ्यौं। त्यहाँको ननहरूले हामीलाई खाना खाएपछि आधा घण्टा मात्र कुराकानी गर्न दिनुहुन्थ्यो। मेरो हाँसीखुसी पारिवारभन्दा कति फरक। म एक्लो महसुस गर्थें र रुन्थें।

भगवान्‌को नजिक महसुस गर्न नसके पनि १७ वर्षको उमेरमा मैले आफ्नो भाकल पूरा गरें र नन बनें। मबाट जे आशा गरिएको थियो, मैले त्यही गरें। तर केही समयपछि नै ‘के भगवान्‌ले मलाई साँच्चै रोजेकै हो त’ भनेर शङ्का लाग्न थाल्यो। यस्तो शङ्का गर्ने मान्छेले नरकको आगोमा सास्ती भोग्नुपर्नेछ भनेर ननहरू भन्ने गर्नुहुन्थ्यो। उहाँहरूले त्यसो भने पनि मेरो शङ्का जस्ताको तस्तै रह्यो। मलाई थाह थियो, येशू ख्रीष्टले आफूलाई कहिल्यै अरूबाट टाढा राख्नु भएन, तर सधैं अरूलाई सिकाउनुभयो र मदत गर्नुभयो। (मत्ती ४:२३-२५) बीस वर्ष पुगेपछि त व्यर्थैमा नन बनेछु जस्तो लाग्यो। अचम्मको कुरा त्यहाँको मदरले (प्रमुख नन) ‘तिमी दोधारमा छौ भने चाँडै चर्च छोड’ भन्नुभयो। मैले अरूलाई पनि यस्तै प्रभाव पार्छु होला भनेर उहाँलाई लागेको हुन सक्छ। त्यसैले मैले त्यो मठ छोडें।

 म घर फर्किंदा आमाबुबा रिसाउनु भएन। उहाँहरूले मेरो परिस्थिति बुझ्नुभयो। तर हाम्रो गाउँमा काम पाउन गाह्रो थियो। त्यसैले म जर्मन सरें। त्यहाँ मेरो भाइ थियो। ऊ कम्युनिस्ट पार्टीको सदस्य थियो। स्पेनबाट निकाला भएकाहरूले त्यो पार्टी खोलेका थिए। उनीहरू मजदुरी गर्नेहरूका लागि र महिलाहरूका लागि लड्थे। मलाई उनीहरूको काम मनपऱ्यो। त्यसैले म पनि कम्युनिस्ट बनें र त्यही पार्टीको सदस्यसँग बिहे गरें। मलाई लाग्थ्यो, म राम्रो काम गर्दैछु। म कम्युनिस्टको साहित्य बाँड्ने काममा र विरोध ऱ्यालीमा भाग लिन्थें।

केही समयपछि म फेरि निराश भएँ। मलाई लाग्न थाल्यो, कम्युनिस्टहरूले आफूले प्रचार गरे जस्तो गर्न सकेका छैनन्‌। हाम्रा पार्टीका युवा सदस्यहरूले १९७१ मा फ्रान्कफर्टमा रहेको स्पेनिश कन्सुलेट (कार्यालय) जलाइ दिएपछि मेरो शंका यथार्थमा परिणत भयो। तानाशाही स्पेनले अन्याय गरेकोले विरोध जनाउन उनीहरूले त्यसो गरेका थिए। तर यसरी रिस पोख्ने तरिका मलाई मन परेन।

मेरो पहिलो छोरा भएपछि मैले श्रीमान्‌लाई ‘अबदेखि कम्युनिस्टहरूको सभामा जान्नँ’ भनें। मेरो बच्चा र मलाई कसैले भेट्न नआएकोले मैले एक्लो महसुस गर्न थालें। जीवनको उद्देश्य के होला भनेर सोच्न थालें। के समाजलाई यसरी नै सुधार्न सकिएला त भनेर सोच्थें?

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

सन्‌ १९७६ मा स्पेनिश साक्षी दम्पती मेरो घरमा आउनुभयो र केही बाइबल साहित्य दिनुभयो। उहाँहरू पछि फेरि मेरो घरमा आउनुहुँदा दुःख-कष्ट, भेदभाव र अन्यायका विषयमा एकपछि अर्को प्रश्न सोध्न थालें। उहाँहरूले मेरो हरेक प्रश्नको जवाफ बाइबलबाट दिनुहुँदा म छक्क परें। त्यसैले तुरुन्तै बाइबल अध्ययन स्वीकारें।

सुरुमा त म जानकारी पाउनको लागि मात्र अध्ययन गर्दै थिएँ। तर श्रीमान्‌सित यहोवाका साक्षीहरूको राज्यभवन जान थालेपछि मेरो विचार परिवर्तन भयो। त्यतिखेर हाम्रो दुई छोरा भइसकेका थिए। साक्षीहरू दयालु हुनुहुन्थ्यो। उहाँहरू हामीलाई लिन आउनुहुन्थ्यो र सभामा हामीले ध्यान दिएर सुन्न सकोस् भनेर हाम्रो छोराहरूको हेरविचार गरिदिनुहुन्थ्यो। साक्षीहरूको यस्तो मायालु व्यवहारले मेरो मन छोयो।

तर पनि मेरो मनमा धर्महरूप्रति अझै शङ्का थियो। केही समयपछि आफ्नो परिवारलाई भेट्न म स्पेन गएँ। मेरो काका पादरी हुनुहुन्थ्यो। उहाँले मलाई बाइबल पढ्न प्रोत्साहन त होइन, उल्टै निरुत्साहित पार्नुभयो। तर त्यहाँका साक्षीहरूले मलाई धेरै मदत गर्नुभयो। उहाँहरूले पनि जर्मनका साक्षीहरूले जस्तै मेरो प्रश्नहरूको जवाफ बाइबलबाटै दिनुभयो। त्यसैले जर्मन फर्केपछि फेरि बाइबल अध्ययन सुरु गरें। मेरो श्रीमान्‌ले बाइबल अध्ययन नगर्ने निर्णय गर्नुभयो। तर मैले भने १९७८ मा बप्तिस्मा गरें।

मैले कसरी लाभ उठाएको छु?

बाइबलको सही ज्ञान पाएपछि मैले जीवनको उद्देश्य बुझें र सही डोऱ्याइ पाएँ। उदाहरणको लागि, १ पत्रुस ३:१-४ ले श्रीमतीहरूलाई श्रीमान्‌को ‘अधीनमा बस्न, गहिरो आदर देखाउन र शान्त अनि नम्र मनोभावको अविनाशी पोसाक लगाउन’ प्रोत्साहन दिन्छ। यो कुरा ‘परमेश्वरको नजरमा ठूलो मोलको छ।’ यस्तो सिद्धान्तले मलाई असल श्रीमती र आमा बन्न मदत गरेको छ।

म साक्षी भएको ३५ वर्ष भयो। यहोवाको परिवारको सदस्य भएर उहाँको सेवा गर्न पाएकोमा म खुसी छु र मेरा पाँच छोराछोरीमध्ये चार जनाले पनि त्यसै गरिरहेका छन्‌।