अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा अप्रिल २०१४

थोमस एम्लिन—धर्मत्यागी या सत्यका समर्थक?

थोमस एम्लिन—धर्मत्यागी या सत्यका समर्थक?

थोमस एम्लिन को थिए? सत्यको पक्षमा अडान लिन तिनलाई कुन कुराले मदत गऱ्यो? तिनीबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

यसको जवाफको लागि आउनुहोस्, हामी १७ औं शताब्दीको अन्ततिर अनि १८ औं शताब्दीको सुरुतिर फर्कौं अनि इङ्गल्यान्ड र आयरल्याण्ड भन्ने ठाउँमा पुगौं। ती ठाउँहरूमा इङ्गल्यान्डको मुख्य चर्च अर्थात्‌ चर्च अफ इङ्गल्यान्डको हुकुमत चल्थ्यो। तर त्यही चर्चभित्र पनि थुप्रै गुट-उपगुट थिए। तिनीहरूको शिक्षा अनि रीतिथिति आपसमा मेल खाँदैनथ्यो।

थोमसको परिचय

थोमस एम्लिनको जन्म इङ्गल्यान्डको स्ट्यामफोर्ड भन्ने ठाउँको लिङ्कन्सा भन्ने सहरमा सन्‌ १६६३, मे २७ मा भएको थियो। तिनले १९ वर्षको उमेरमा पहिलोचोटि चर्चमा प्रवचन दिएका थिए। पछि तिनले लन्डनको ठूलो पदमा रहेकी महिलाको निजी पादरीको रूपमा काम गरे। त्यसपछि तिनी आयरल्याण्डको बेलफास्टमा सरे।

बेलफास्टमा तिनले स्थानीय चर्चको पादरीको रूपमा कार्यभार सम्हाले। त्यसपछि पनि तिनले विभिन्न ठाउँमा चर्च सेवकको रूपमा काम गरे। त्यसमध्ये डब्लिन एउटा थियो।

तिनलाई किन धर्मत्यागी भनियो?

थोमसले विभिन्न कार्यभार सम्हाल्ने मात्र होइन, तर त्यस दौडान बाइबलको गहिरो अध्ययन पनि गरिरहेका थिए। अध्ययनको क्रममा तिनको मनमा त्रिएकको शिक्षाप्रति शङ्का उब्जिन थाल्यो। हुन त तिनी सुरुमा यो शिक्षामा विश्वास गर्थे, तर सुसमाचारको पुस्तकको गहिरो अध्ययन गरेपछि तिनको शङ्का यथार्थमा परिणत भयो। तिनले त्रिएकको शिक्षालाई समर्थन नगर्ने प्रमाणहरू भेट्टाए।

तिनले यो कुरा अरूलाई बताइहालेनन्‌। तैपनि प्रवचन दिंदा तिनले त्रिएकको शिक्षाबारे बताउन छोडे। यो कुरा डब्लिन चर्चका केही सदस्यले याद गरिरहेका थिए। आफूले पत्ता लगाएको नयाँ कुरा त्यहाँका मानिसहरूले पचाउनेछैनन्‌ भन्ने कुरा थोमसलाई थाह थियो। त्यसैले तिनले यसो भने: “मैले यो कुरा भने भनें यो पदमा काम गरिरहन सक्दिनँ।” सन्‌ १७०२, जुन महिनाको कुरा हो। दुई जना सदस्यले तिनलाई त्रिएकको शिक्षा किन नसिकाएको भनेर सोधखोज गरे। त्यतिबेला थोमसले आफ्नो विश्वासबारे बताए र पदबाट राजीनामा दिन्छु भने।

येशू सर्वोच्च परमेश्वर हुनुहुन्न भनेर शास्त्रबाटै तर्क गरिएको थोमसको प्रकाशन

केही दिनपछि तिनी आयरल्याण्डको डब्लिन भन्ने ठाउँ छोडेर इङ्गल्यान्ड गए। तिनी सधैंको लागि लन्डन सर्न चाहन्थे। त्यसैले बाँकी रहेको काम सकाउन तिनी दस हप्तापछि डब्लिन फर्के। त्यहाँ बसुन्जेल तिनले विनम्र हुँदै धर्मशास्त्रमा गरिएको खोज—येशू ख्रीष्टको विवरण (अङ्ग्रेजी) भन्ने किताब प्रकाशन गरे। यो किताबमार्फत तिनी सबैलाई आफूले पत्ता लगाएको कुरा सही हो भनेर थाह दिन चाहन्थे। त्यसमा येशू ख्रीष्ट सर्वोच्च परमेश्वर हुनुहुन्न भन्ने धर्मशास्त्रीय प्रमाणहरू दिइएको थियो। यो किताब पढेपछि थोमसले पहिला सङ्गत गरेका डब्लिनका सदस्यहरू आगो भए। तिनीहरूले थोमसविरुद्ध मुद्दासमेत हाले।

सन्‌ १७०३, जून १४ मा थोमस पक्राउ परे। तिनलाई डब्लिनको एउटा अदालतमा (क्वीन्स बेन्च कोर्ट) लगियो। कारबाहीमा परेकाहरूको यथार्थ भनाइ नामको अङ्ग्रेजी किताबमा तिनीबारे यस्तो लेखिएको छ: “येशू ख्रीष्ट परमेश्वर बराबर हुनुहुन्न भनेर लेखेकोले मलाई धर्मत्यागी भनियो अनि चाहिने-नचाहिने आरोप लगाइयो।” थोमसलाई कारबाही गरिंदा धाँधली गरिएको थियो।  तिनलाई कारबाही गर्ने क्रममा अदालतमा न्यायाधीशहरू मात्र होइन तर आयरल्याण्ड चर्चका सात जना पादरी पनि थिए। थोमसलाई सफाइ दिने कुनै मौका दिइएन। वरिष्ठ वकिल रिचार्ड लेभन्जले थोमसलाई यसो भने: ‘तिमी कुनै हालतमा बच्न सक्दैनौ। जे गरेर भए पनि, जसरी भए पनि तिमीलाई सजाय दिइनेछ।’ त्यो मुद्दाको छिनोफानो गर्न बसेका न्यायमण्डलका (जुरी) सदस्यहरूलाई आयरल्याण्डका प्रधान न्यायाधीश रिचार्ड पाइनले अन्तमा यसो भनेका थिए: ‘हेर्नुस्, तपाईंहरूले यी पादरीहरूले चाहेको जस्तो निर्णय गर्नुभएन भने नराम्रो होला। सजाय पाउनुहोला!’

“उहाँको [परमेश्वरको] बारेमा सत्य बोल्दा अनि उहाँको महिमा गर्दा मैले सास्ती भोग्नुपऱ्यो।”—थोमस एम्लिन।

थोमसलाई दोषी ठहऱ्याइयो। एक जना वकिलले तिनलाई प्रतिवादीको रूपमा मुद्दा हाल्न भने। तर तिनले मानेनन्‌। तिनले जरिबाना तिर्नुपर्ने भयो अनि एक वर्षसम्म जेल सजाय काट्नुपर्ने भयो। जरिबाना तिर्न नसकेकोले तिनले थप एक वर्ष जेल सजाय काट्नुपर्ने भयो। तर तिनको साथीले अधिकारीहरूलाई जरिबाना कम गरिदिन आग्रह गरेपछि सन्‌ १७०५, जुलाई २१ मा थोमसलाई जेल मुक्त गरियो। यस्तो अपमान सहनुपरेकोले तिनले माथि उल्लेख गरिएको कुरा भने, “उहाँको [परमेश्वरको] बारेमा सत्य बोल्दा अनि उहाँको महिमा गर्दा मैले सास्ती भोग्नुपऱ्यो।”

थोमस लन्डनमा बसाइँ सरे। त्यहाँ तिनले बाइबलबारे गहिरो अध्ययन गर्ने विलियम वीस्टनलाई भेटे। विलियमले बाइबल सत्यबारे आफूलाई लागेको कुरा प्रकाशित गरेका थिए। त्यसैले तिनलाई समाजबाट बहिष्कार गरिएको थियो। तिनी थोमसको कदर गर्थे। तिनले थोमसलाई “प्राचीन ख्रीष्टियन जगत्‌को पहिलो अनि मुख्य संस्थापक” भन्ने नाम दिए।

त्रिएकको शिक्षा नमान्नुको कारण

एथेनेशियन मतका ख्रीष्टियनहरू त्रिएकमा विश्वास गर्थे। तर विलियम वीस्टन र अर्का विद्वान्‌ आइज्याक न्युटनले जस्तै थोमसले पनि बाइबलले त्रिएकको शिक्षालाई समर्थन गर्दैन भन्ने कुरा पत्ता लगाए। तिनी यसरी बताउँछन्‌, ‘धेरै पछिको गहन सोच र पवित्र शास्त्रको अध्ययनपछि पहिला विश्वास गरेको त्रिएकको शिक्षालाई समर्थन नगर्ने बलियो कारण पाएँ।’ तिनी आफ्नो कुरा यसरी टुङ्ग्याउँछन्‌, “येशू ख्रीष्टको बुबा अर्थात्‌ परमेश्वर नै एक मात्र सर्वोच्च परमेश्वर हुनुहुन्छ।”

थोमस किन यस्तो निष्कर्षमा पुगे? येशू र उहाँको बुबा भिन्नाभिन्नै हुनुहुन्छ भनी बताउने थुप्रै बाइबल पदहरू तिनले भेट्टाए। यहाँ केही पद दिइएका छन्‌ (बाक्लो अक्षरचाहिं थोमसले भनेका कुरा हुन्‌):

  •  यूहन्ना १७:३: “येशूलाई कहिल्यै पनि एक मात्र परमेश्वर अथवा परमेश्वर बराबर भनिएको छैन।” बुबालाई मात्र “एक मात्र साँचो परमेश्वर” भनिएको छ।

  •  यूहन्ना ५:३०: “छोराले आफ्नै इच्छाले केही गर्दैन तर बुबाको इच्छाअनुसार गर्छ।”

  •  यूहन्ना ५:२६: “उहाँलाई बुबाले जीवन दिनुभएको हो।”

  •  एफिसी १:३: “येशू ख्रीष्टलाई विचार गर्ने हो भने जहिल्यै पनि छोराको रूपमा प्रस्तुत गरिएको छ। अनि बुबालाई कहिल्यै पनि ‘परमेश्वरको बुबा’ भनिएको छैन, बरु ‘हाम्रा प्रभु येशूको बुबा’ भनिएको छ।”

थोमसले सबै प्रमाण केलाइसकेपछि ठोकुवा गरेर यसो भने, ‘शास्त्रमा बुबा, छोरा र पवित्र शक्ति एउटै हो भनेर कतै लेखिएको छैन। एक ठाउँमा मात्र भेटे त के!’

हामी के सिक्न सक्छौं?

आज धेरै जना बाइबलले सिकाउने सत्यको पक्षमा अडान लिन पछि हट्छन्‌। तर थोमस सत्यको पक्षमा अडान लिन पछि हटेनन्‌। तिनी यस्तो प्रश्न गर्छन्‌, “पवित्र शास्त्रमा अध्ययन-अनुसन्धान गर्दै जाँदा बहुमूल्य सत्य पत्ता लगायौं अनि त्यसको प्रमाणहरू पनि भेट्यौं तर त्यसको पक्षमा अडान लिन सक्दैनौं भने त्यसको के नै अर्थ रह्यो र?” थोमस सधैं सत्यको पक्षमा अडिग रहे।

हामीलाई पनि सत्यको पक्षमा अडान लिंदा घृणा गरिएला। त्यतिबेला हामी थोमस अनि अरू विद्वान्‌हरूले जस्तै सत्यको पक्षमा अडान लिन इच्छुक हुन्छौं? हामी आफैलाई यसरी सोध्न पनि सक्छौं, ‘कुन कुरा महत्त्वपूर्ण छ? समाजले दिने वाहवाही खोज्नु कि परमेश्वरको वचनको सत्यलाई पक्रनु?’