अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा मार्च २०१४

मध्यकालीन स्पेनमा परमेश्वरको वचन

मध्यकालीन स्पेनमा परमेश्वरको वचन

“स्पेन जाँदा बाटोमा तिमीहरूकहाँ पसेर भेटघाट गर्ने ठूलो आशा राखेको छु अनि तिमीहरूसित केही बेर सङ्गत गरेपछि तिमीहरूले मलाई अलि परसम्म पुऱ्याइदेओ भन्ने म चाहन्छु।”—रोमी १५:२४.

यी शब्दहरू बाइबल लेखक पावलले लेखेका थिए। तिनले इस्वी संवत्‌ ५६ मा रोममा भएका सङ्गी ख्रीष्टियनहरूलाई यो सन्देश पठाएका थिए। पावलले स्पेन यात्रा गरे कि गरेनन्‌, त्यो त बाइबलले खुलाएको छैन। तर जेहोस्, माथिको पदबाट परमेश्वरको वचन बाइबलमा भएको कुरा दोस्रो शताब्दीसम्ममा त स्पेन पुगिसकेको थियो भनेर थाह हुन्छ। यसको लागि पावल र तिनका साथीहरूले धेरै प्रयास गरेको देखिन्छ।

चाँडै नै ख्रीष्टियन समुदायका मानिसहरू स्पेनमा फैलिंदै गए। दोस्रो शताब्दीदेखि लामो समयसम्म स्पेनमा रोमीहरूले शासन गरेका थिए। तिनीहरूको ल्याटिन भाषा अरू साम्राज्यमा जस्तै स्पेनमा पनि सामान्य भयो। त्यसैले ख्रीष्टियनहरूको वृद्धिपछि स्पेनमा ल्याटिन भाषाको बाइबल आवश्यक पऱ्यो।

ल्याटिन भाषाका बाइबलहरू

स्पेनमा सुरु-सुरुमा ख्रीष्टियन धर्म अङ्गालेकाहरूले ल्याटिन भाषामा केही बाइबल अनुवाद गरे। त्यसको सङ्कलनलाई भेटस ल्याटिना हिस्पाना भनिन्छ। यी ल्याटिन भाषाका बाइबलहरू स्पेनमा वर्षौंसम्म वितरण गरियो। तर पाँचौं शताब्दीको सुरुतिर जेरोम भन्ने व्यक्तिले आफ्नो प्रख्यात ल्याटिन बाइबल अनुवाद गर्न सिद्धयाइसकेपछि त्यो बाइबल नै प्रचलनमा आउन थाल्यो। तिनले लेखेको बाइबलको नाम भल्गेट थियो।

जेरोमले अनुवाद गर्ने काम प्यालेस्टाइनको बेतलेहेममा सकाएका थिए। तर यो किताब एकदमै चाँडो स्पेनमा पुग्यो। जेरोमले ल्याटिन भाषाको बाइबल अनुवाद गर्दैछन्‌ भनेर लुसिनियस नामका धनी बाइबल विद्यार्थीले चाल पाए। तिनी जति सक्दो चाँडो त्यसको प्रतिलिपि पाउन चाहन्थे। त्यसैले तिनले चाँडै नै आफ्नो छ जना विद्वान्‌लाई बेतलेहेम पठाए। तिनीहरूले त्यो अनुवादको प्रतिलिपि उतारेर स्पेन ल्याउनुपर्थ्यो। त्यसपछिको शताब्दीमा भेटस ल्याटिना हिस्पानाको ठाउँ नयाँ बाइबल भल्गेट-ले लियो। तर जेहोस् ल्याटिन भाषाका ती सबै अनुवादले स्पेनका मानिसहरूलाई बाइबल पढ्न र यसको सन्देश बुझ्न मदत गऱ्यो। तर रोमी साम्राज्यको अन्त भएपछि नयाँ-नयाँ भाषाले जन्म लिन थाल्यो।

सिलेटमा लेखिएको बाइबल

पाँचौं शताब्दीमा भिसिगोथ र अरू जर्मनी कुलले स्पेनमाथि आक्रमण गरे। यसरी यो प्रायद्वीपमा गोथिक भनिने नयाँ भाषाले जन्म लियो। ती आक्रमणकारीहरू एरियनवादी ख्रीष्टियन थिए। यस्ता ख्रीष्टियनहरू त्रिएकमा विश्वास गर्दैनथे। तिनीहरूले उफलसले लेखेको गोथिक भाषाको बाइबल आफूसँगै स्पेनमा लिएर आएका थिए। तर छैटौं शताब्दीको अन्तपछि यो बाइबल चल्तीमा आउन छोड्यो। किनकि भिसिगोथहरूका राजा रेकारेडले त्यतिबेला एरियनवादलाई त्यागे र क्याथोलिक धर्म अपनाए। त्यसपछि तिनले एरियनवादसित सम्बन्धित सबै किताब जम्मा गरे र नष्ट गरिदिए। तिनले उफलसले लेखेको बाइबल पनि नष्ट गरिदिए। यसरी स्पेनबाट गोथिक लिपि हरायो।

ल्याटिन उपभाषामा बाइबल पद कुँदिएको सिलेट, इस्वी संवत्‌ छैटौं शताब्दी

तैपनि यसताका परमेश्वरको वचन स्पेनमा फैलन थाल्यो। गोथिक भाषा त हरायो तर स्पेनमा अरू ल्याटिन उपभाषाहरू व्यापक रूपमा प्रयोग गरिन्थ्यो। ती भाषाहरूले गर्दा नै आइबेरियन प्रायद्वीपमा बोलिने रोमान्स भाषाहरूको उत्पत्ति भयो। * ल्याटिन उपभाषाका पुराना लिपिहरू सिलेटका टुक्राहरूमा लेखिएको पाइन्छ। यसलाई भिसिगोथ सिलेट भनेर चिनिन्छ। ती सिलेटहरू छैटौं र सातौं शताब्दीका थिए। कुनै-कुनै सिलेटमा भजन र सुसमाचारका पुस्तकहरूको हरफ लेखिएको पाइन्छ। एउटा सिलेटमा  चाहिं भजनको पुस्तकको १६ अध्याय पूरै लिपिबद्ध गरिएको छ।

यसरी साधारण खालको सिलेटमा पनि धर्मशास्त्रीय पदहरू पाइनुले मध्ययुगका सामान्य मानिसहरूले पनि परमेश्वरको वचन पढ्थे र त्यसको प्रतिलिपि उतार्थे भनेर बुझ्न सक्छौं। हुन सक्छ, त्यतिबेलाका शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई पढ्न-लेख्न सिकाउन बाइबल प्रयोग गर्थे। तर त्यति नै बेला चर्चका मठहरूमा बस्ने व्यक्तिहरूले भने चित्रसहितको बाइबल निकाल्न निकै नै महँगो चर्मपत्रहरू प्रयोग गरिरहेका थिए। त्यसको तुलनामा त ढुङ्गाका सिलेटहरू एकदमै सस्ता थिए।

चित्रै-चित्र भएको लियोन बाइबलको एक झलक। यस्ता बाइबल जत्ति नै मूल्यवान्‌ भए पनि मानिसहरूमाझ परमेश्वरको सन्देश पुऱ्याउन त्यसले खासै ठूलो भूमिका खेलेन

चर्चको मठमा बस्ने व्यक्तिहरूले लेखेको एउटा बहुमूल्य बाइबलको नमुना स्पेनको लियोन भन्ने ठाउँमा भएको सान इसिडोरो चर्चमा राखिएको छ। त्यो बाइबल इस्वी संवत्‌ ९६० तिर लेखिएको देखिन्छ। त्यसमा ५१६ वटा पानाहरू छन्‌। त्यसको लम्बाइ १८ इन्च, चौडाइ १३ इन्च र तौल १८ के.जी छ। अर्को बहुमूल्य बाइबलचाहिं भ्याटिकन पुस्तकालयमा राखिएको छ। इस्वी संवत्‌ १०२० तिर लेखिएको त्यो बाइबल रिपोलबाट ल्याइएको थियो। त्यसमा धेरै चित्रहरू छन्‌। यत्ति धेरै चित्र भएको बाइबल मध्ययुगमा अरू थिएन। यस्तो कलाको लागि एक जना सन्तले मात्र पनि निकै प्रयास गरेको देखिन्छ। सायद तिनले अनुच्छेदको सुरुको अक्षर सिङ्गार्न पूरै एक दिन वा शीर्षक लेखिएको पृष्ठ झकिझकाउ पार्न पूरै एक हप्ता लगाएको हुनुपर्छ। ती बाइबलहरू जत्ति नै मूल्यवान्‌ भए पनि मानिसहरूमाझ परमेश्वरको वचन पुऱ्याउन त्यसले खासै ठूलो भूमिका खेलेन।

अरबी बाइबल

आठौं शताब्दीमा स्पेनमाथि फेरि अर्को आक्रमण भयो। यतिबेला तिनीहरूलाई आक्रमण गर्नेहरू मुस्लिमहरू थिए। यो आक्रमणपछि मुस्लिमहरूले स्पेनको एउटा भागमा कब्जा जमाउन थाले। ती इलाकामा ल्याटिन भाषा नभई अरबी भाषा चल्तीमा आउन थाल्यो। यसले गर्दा त्यस ठाउँमा नयाँ भाषाको बाइबल चाहिने भयो।

पाँचौ शताब्दीदेखि आठौं शताब्दीसम्म ल्याटिन र अरबी बाइबलले स्पेनका मानिसहरूलाई भगवान्‌को वचन पढ्न मदत गऱ्यो

यसरी मध्यकालीन स्पेनमा अरबी भाषामा थुप्रै बाइबल अनुवाद गरियो र वितरण गरियो। त्यसमध्ये पनि विशेषगरि सुसमाचारका पुस्तकका अनुवादहरू वितरण भए। आठौं शताब्दीमा सेभिल भन्ने ठाउँका पादरी जुआनले पूरै बाइबल अरबी भाषामा अनुवाद गरे।  तर दुःखको कुरा, अरबी भाषामा अनुवाद भएका थुप्रै बाइबल हराए। दसौं शताब्दीको बीचतिर अनुवाद गरिएको अरबी भाषाको सुसमाचारको पुस्तकचाहिं अहिले पनि स्पेनको लियोन चर्चमा सुरक्षितसाथ राखिएको छ।

अरबी भाषामा सुसमाचारका पुस्तक, इस्वी संवत्‌ दसौं शताब्दी

स्पेनी भाषामा बाइबल

आइबेरियन प्रायद्वीपमा मध्ययुगको अन्ततिर कास्टिलियन अथवा स्पेनिश भाषा सुरु हुन थाल्यो। यो नयाँ भाषा परमेश्वरको वचन मानिसहरूकहाँ पुऱ्याउने महत्त्वपूर्ण साधन भयो। * स्पेनिश भाषामा सुरु-सुरुतिर गरिएको बाइबल पदहरूको अनुवाद ला फासिएन्डा दे उल्त्‌रा मार (समुद्रपारिका कामहरू) भन्ने स्पेनिश किताबमा (१३ औं शताब्दीको सुरुमा प्रकाशित) देखा परेको थियो। यसमा इस्राएलमा यात्रा गरेको विवरण अनि पेन्टाटुक र अरू हिब्रू किताबमा भएको कुरा पाइन्छ। साथै सुसमाचारका पुस्तक अनि एपिसल्समा (धर्मपत्र) भएको विवरण पनि पाइन्छ।

राजा अल्फोन्सो दसौंले स्पेनिश भाषामा बाइबल अनुवाद गर्न मदत गरे

तर चर्चका अधिकारीहरूलाई यो अनुवाद चित्त बुझेन। स्पेनको टारागोना धर्मसभाले सन्‌ १२३४ मा बाइबलको अंश भएको स्थानीय भाषाको सबै पुस्तक जलाउन उर्दी दियो। यसको लागि त्यहाँका मानिसहरूले स्थानीय पादरीहरूलाई ती पुस्तकहरू दिनुपर्थ्यो र तिनीहरूले ती सबै जलाउने थिए। तर खुसीको कुरा यस्तो उर्दीले बाइबल अनुवादको कामलाई रोक्न सकेन। राजा अल्फोन्सो दसौंले (१२५२-१२८४) बाइबललाई नयाँ भाषामा अनुवाद गर्न चाहे र त्यसको लागि आवश्यक कदम पनि चाले। तिनलाई बोलीचालीको भाषामा लेखन कार्य सुरु गर्ने व्यक्तिको रूपमा चिनिन्छ। तिनको पालामा अनुवाद भएका स्पेनिश अनुवादहरूमध्ये एउटा प्रि-अल्फोन्सिन बाइबल थियो। त्यो त्यतिबेलाको सबैभन्दा ठूलो अनुवाद थियो। त्यसको केही समयपछि अल्फोन्सिन बाइबलको उदय भयो।

तेह्रौं शताब्दीमा अनुवाद गरिएका प्रि-अल्फोन्सिन (बायाँ) र अल्फोन्सिन (दायाँ) बाइबलका पानाहरू

ती दुवै बाइबलले स्पेनी भाषाको जग बलियो बनायो र यस भाषाको विकास गर्न मदत पुऱ्यायो। प्रि-अल्फोन्सिन बाइबलबारे थोमस मन्टगमरी भन्ने विद्वान्‌ यसो भन्छन्‌, “अनुवादकहरूले यो बाइबल एकदमै सही तरिकाले उल्था गरेका छन्‌; मिठास पनि उत्तिकै छ। . . . यसमा प्रयोग गरिएको भाषा सरल र स्पष्ट छ। हल्का लेखपढ गरेका ल्याटिनीहरूले समेत बुझ्न सक्छन्‌।”

त्यतिबेला अनुवाद भएका ती दुई बाइबल मूल भाषाबाट नभई ल्याटिन भाषाको भल्गेट बाइबल हेरेर अनुवाद गरिएका थिए। तर चौधौं शताब्दीको सुरुतिर भने यहूदी विद्वान्‌हरूले सीधै हिब्रू भाषाबाट अनुवाद गरे। तिनीहरूले मूल भाषा हेरेर हिब्रू धर्मशास्त्रका केही भाग स्पेनिश भाषामा अनुवाद गरे। त्यतिबेला युरोपभरि थुप्रै यहूदी समुदाय भएकोले अनुवादकको लागि चाहिने सही हिब्रू पाण्डुलिपि तिनीहरूले सजिलै पाउन सके।

एउटा उल्लेखनीय अनुवादको रूपमा अल्बा बाइबललाई लिन सकिन्छ। यसको अनुवाद १५ औं शताब्दीमा सकियो। एक प्रख्यात स्पेनिश कुल घरानाका व्यक्ति लुइस डु गुज्मानले यहूदी गुरु मुइसेज आराकेललाई स्पेनको कास्तिसो (शुद्ध) भाषामा बाइबल अनुवाद गर्न आज्ञा दिए। तिनले यो नयाँ अनुवाद चाहिनुको दुइटा कारण पनि बताए। तिनले एउटा कारण यसरी दिए, “अहिले रोमान्स भाषामा भएको बाइबल बुझ्न एकदमै गाह्रो छ।” अर्को कारण तिनले यसरी बताए, “हामीजस्तो साधारण मान्छेलाई नबुझिने अनुच्छेद आउँदा लेख्नको लागि पानाको छेउमा केही खाली ठाउँ छोडिदियो भने सजिलो हुन्छ।” तिनको यस्तो टिप्पणीले त्यतिबेलाका मानिसहरूलाई बाइबल पढ्ने र बुझ्ने एकदमै चासो थियो भनेर देखाउँछ। यसले के पनि देखाउँछ भने स्थानीय भाषामा अनुवाद भएका धर्मशास्त्रहरू त्यतिबेला स्पेनमा व्यापक रूपमा वितरण हुन थालिसकेका थिए।

 मध्ययुगका अनुवादक अनि प्रतिलिपि उतार्ने व्यक्तिहरूले गर्दा स्पेनका साधारण मानिसहरूले समेत बाइबलको अनुवाद आफ्नै भाषामा पढ्न सके। तिनीहरूलाई ती अनुवाद बुझ्न केही गाह्रो भएन। त्यसैले इतिहासकार ख्वान ओर्टस गोन्जालेजले यस्तो टिप्पणी गरे, “लुथरको समय अगाडिको कुरा विचार गर्ने हो भने जर्मन र इङ्गल्यान्डका मानिसहरूले भन्दा स्पेनका मानिसहरूले बाइबलको कुरा धेरै राम्ररी बुझेका थिए।”

“लुथरको समय अगाडिको कुरा विचार गर्ने हो भने जर्मन र इङ्गल्यान्डका मानिसहरूले भन्दा स्पेनका मानिसहरूले बाइबलको कुरा धेरै राम्ररी बुझेका थिए।”—इतिहासकार ख्वान ओर्टस गोन्जालेज

पन्ध्रौं शताब्दीको अन्ततिर स्पेनी इन्क्वीजिसनका अन्वेषकहरूले (रोमन क्याथोलिकहरूको एउटा समिति) स्थानीय भाषामा धर्मशास्त्रको अनुवाद गर्न र त्यससम्बन्धी कुनै पनि कुरा राख्न प्रतिबन्ध लगाए। यसरी स्पेनमा लामो समयसम्म कालो रात छायो। पूरै तीन शताब्दीपछि मात्र त्यो कालो रात हट्यो। त्यस्तो गाह्रो समयमा पनि केही साहसी अनुवादकले विदेशमा बसेर स्पेनी भाषाको नयाँ बाइबल संस्करण निकाले र गोप्य रूपमा स्पेन पठाए। *

मध्यकालीन स्पेनको इतिहासले देखाएअनुसार विरोधीहरूले परमेश्वरको वचनको नामोनिसान मेटाउन धेरै प्रयास गरे। तर सर्वशक्‍तिमान्‌ परमेश्वरको अगाडि तिनीहरूको केही सीप लागेन।—भजन ८३:१; ९४:२०.

थुप्रै विद्वान्‌हरूको अथक प्रयासले गर्दा बाइबललाई मध्यकालीन स्पेनमा गहिरो जरा गाड्न र फैलन मदत गऱ्यो। आधुनिक अनुवादकहरूले पनि ल्याटिन, गोथिक, अरबी अनि स्पेनिश भाषामा धर्मशास्त्र अनुवाद गर्ने अग्रजहरूको पाइला पछ्याएका छन्‌। यसले गर्दा लाखौं स्पेनीहरूले मन छुने भाषामा परमेश्वरको वचन पढ्न पाएका छन्‌।

^ अनु. 10 यसमा कास्टिलियन, क्याटालान, गलिसियन र पोर्चुगिज भाषाहरू पर्छन्‌।

^ अनु. 17 आज स्पेनिश भाषा लगभग ५४ करोड मानिसहरूको मातृ भाषा भएको छ।

^ अनु. 23 प्रहरीधरहरा, १९९६, जुन १ मा प्रकाशित “स्पेनी बाइबलको निम्ति कासियोडोरो दे रेईनाको संघर्ष” शीर्षकको लेख हेर्नुहोस्।