सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा  |  मार्च २०१४

 जीवनी

कमजोर हुँदा पनि बल पाएँ

कमजोर हुँदा पनि बल पाएँ

म एकदमै च्याँसी र दुब्ली छु। मेरो तौल जम्मा २९ के.जी छ। ह्वीलचेयर नै मेरो जीवनको सहारा बनेको छ। ‘यस्तो मान्छे पनि बलियो होला र’ भनेर मान्छेहरू सोच्छन्‌। तर कमजोर भए पनि मेरो भित्री बलले मलाई जिउन मदत गरेको छ। मैले जीवनमा कस्तो उकाली-ओराली पार गर्नुपऱ्यो, तपाईंहरूलाई बताउन चाहन्छु।

चार वर्षको छँदा

मेरो बाल्यकाल एकदमै रमाइलोसित बित्यो। हामी फ्रान्सको दक्षिणी भागमा बस्थ्यौं। बुबाले मलाई एउटा पिङ बनाइदिनुभएको थियो। बगैंचा वरपर घुम्न मलाई रमाइलो लाग्थ्यो। सन्‌ १९६६ मा यहोवाका साक्षीहरू हाम्रो घरमा आउनुभयो र बुबासित लामो कुराकानी गर्नुभयो। त्यसको सात महिनापछि बुबाले यहोवाको साक्षी बन्ने निर्णय गर्नुभयो। पछि आमा पनि साक्षी हुनुभयो। उहाँहरूले मलाई न्यानो पारिवारिक वातावरणमा हुर्काउनुभयो।

मेरो आमाबुबाको मूल घर स्पेनमा थियो। त्यसैले हामी उतै फर्क्यौं। त्यहाँ गएको केही समयपछि मलाई अलि गाह्रो भयो। मेरो हात र गोलीगाँठो चसचस दुख्न थाल्यो। दुई वर्षसम्म थुप्रै डाक्टरलाई देखायौं। तर केही सीप लागेन। अन्तमा हामीले नाम चलेको चिकित्सकलाई भेट्यौं। उहाँले “एकदमै ढिला भइसक्यो” भन्नुभयो। त्यो सुनेर आमा रुन थाल्नुभयो। मलाई बाथ रोग लागेको रैछ! बाथ रोग विभिन्न किसिमको हुन्छ। मलाई लागेको बाथ रोगको नाम पहिला कहिल्यै नसुनेकीले वाल्ल परें। * हुन त म त्यतिबेला दस वर्षकी मात्र थिएँ तैपनि त्यो राम्रो समाचार थिएन भनेर बुझिहालें।

डाक्टरले मलाई अब स्याहार केन्द्रमै राख्नुपर्छ अनि त्यहीं उपचार गराउनु राम्रो हुन्छ भनेर सल्लाह दिनुभयो। त्यहाँ पुग्दा मलाई एकदमै उराठ लाग्यो। अनुशासन कडा थियो। स्याहार गर्ने दिदीहरूले मेरो कपाल काटिदिनुभयो र भद्दा लुगा लगाइदिनुभयो। ‘यस्तो ठाउँमा कसरी जीवन बिताउने?’ होला भनेर मलाई अत्यास लाग्न थाल्यो।

सृष्टिकर्ता यहोवाले मलाई मदत गर्नुभयो

त्यो स्याहार केन्द्र क्याथोलिकहरूले खोलेकोले त्यहाँ क्याथोलिक रीतिथितिअनुसार चल्नुपर्थ्यो। तर आमाबुबाले मलाई यहोवाको सेवा गर्न सिकाउनुभएकोले मैले त्यस्तो रीतिथितिमा भाग लिन मानिनँ। त्यहाँका दिदीहरूले मैले किन भाग नलेको, बुझ्नै सक्नुभएन। मैले यहोवालाई व्यग्र बिन्ती गरें; ‘मलाई नत्याग्नुहोस्’ भनें। तुरुन्तै मैले उहाँबाट न्यानो साथ पाएको महसुस गरें। त्यो साथ मेरो लागि मायालु बुबाको न्यानो आलिङ्गनजस्तै भयो।

शनिबार-शनिबार आमाबाबु मलाई भेट्न आउनुहुन्थ्यो। धेरै कुराकानी गर्न त पाउँदैनथ्यौं। तर मेरो विश्वास बलियो होस् भनेर  उहाँहरूले बाइबलआधारित पत्र-पत्रिकाहरू ल्याइदिनुहुन्थ्यो। हुन त त्यहाँ बस्ने केटाकेटीले किताब राख्न पाउँदैनथे तर मलाई दिदीहरूले बाइबल अनि त्यसमा आधारित पत्र-पत्रिका राख्न दिनुभएको थियो। म सधैं ती किताबहरू पढ्थें र आफूले सिकेको कुरा साथीहरूलाई बताउँथें। अब चाँडै नै कोही पनि बिरामी नहुने र नमर्ने समय भगवान्‌ले यसै पृथ्वीमा ल्याउनुहुनेछ भनेर तिनीहरूलाई बताउँथें। (प्रकाश २१:३, ४) निराश र एक्लो भए तापनि यहोवाप्रतिको मेरो विश्वास र भरोसा बलियो हुँदै गइरहेकोले खुसी थिएँ।

डाक्टरहरूले मलाई छ महिनापछि घर पठाउनुभयो। पूरै निको भइसकेको त थिएन तर फेरि घर फर्कन पाउँदा म फुरुङ्ङ थिएँ। बिस्तारै-बिस्तारै मेरा जोर्नीहरू बाङ्गो टिङ्गो हुन थाले; मलाई असह्य पीडा हुन थाल्यो। धेरै नै कमजोर भएकोले किशोरावस्थामा समेत केही गर्न नसक्ने भएँ। तैपनि सृष्टिकर्ता यहोवाको सेवा गर्ने अठोट गरेर १४ वर्षको हुँदा बप्तिस्मा गरें। मेरो अवस्था दिन-प्रतिदिन बिग्रिंदै गइरहेको थियो। त्यसैले कहिलेकाहीं भगवान्‌सित रिसाएर यसरी प्रार्थना गर्थें, “मलाई नै किन यस्तो भएको? बिन्ती, निको पारिदिनुहोस्। मलाई कस्तो भइरहेको छ, देख्नुहुन्न?”

किशोरावस्था पार गर्न मलाई धेरै गाह्रो भयो। निको हुन सक्दिनँ भनेर मैले स्वीकार्नुपर्थ्यो। साथीहरूसित तुलना गर्ने त कुरै आउँदैनथ्यो। तिनीहरू रमाइलो गरिरहेका हुन्थे; स्वस्थ थिए। तर मचाहिं केही गर्न सक्दिनथें। म बेकम्मा महसुस गर्थें। त्यसैले अरूसित घुलमिल हुन गाह्रो लाग्थ्यो। तर मेरो परिवार र साथीहरूले धेरै मदत गर्नुभयो। अलिसियालाई म अझै सम्झन्छु। बीस वर्षले जेठी भएपनि तिनी मेरो साँचो साथी साबित भइन्‌। तिनले मलाई आफ्नै समस्यामा नभई अरूमा चासो लिन मदत गरिन्‌।

अर्थपूर्ण जीवन बिताउन सिकें

अठाह्र वर्षको हुँदा मेरो स्वास्थ्य झनै बिग्रियो। सभा जान निकै गाह्रो हुन्थ्यो; धेरै थकाइ लाग्थ्यो। तर आफूले पाएको समयको पूर्ण सदुपयोग गरें। गहिरिएर बाइबल पढें। अय्यूब र भजनको पुस्तकबाट धेरै मदत पाएँ। यहोवाले हामीलाई सधैं शारीरिक कष्टबाट जोगाउनुहुन्न तर चाहिएको प्रोत्साहन अनि बल दिनुहुन्छ भनेर बुझें। मैले उहाँलाई बारम्बार प्रार्थना गरें। यसले गर्दा “असाधारण शक्ति” अनि ‘सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट यहोवाको शान्ति’ पाउन सकें।—२ कोरिन्थी ४:७; फिलिप्पी ४:६, ७.

बाइस वर्षपुगेपछि त ह्वीलचेयर नै मेरो जीवनको सहारा बन्यो। मानिसहरूले अब बेवास्ता गर्नेछन्‌ र ह्वीलचेयरमा बस्ने रोगी आइमाईको रूपमा हेर्नेछन्‌ भन्ने चिन्ताले सताउन थाल्यो। तर सोचेजस्तो भएन; मनको बाघले मात्र खाएको रहेछ। ह्वीलचेयरलाई मैले “सराप” ठानेकी थिएँ तर त्यो त मेरो लागि “आशिष्‌” साबित भयो। मैले नसोचेको काम गर्न सकें। इसाबेल भन्ने साथीले मलाई तिनीसितै एक महिनाजति प्रचारकार्यमा ६० घण्टा बिताउन सल्लाह दिइन्‌।

सुरुमा त मलाई तिनको कुरा बकबास लागेको थियो। तर मैले यहोवालाई प्रार्थना गरें। परिवार र साथीहरूले पनि मदत गर्नुभयो। अनि त्यो लक्ष्य हासिल गर्न सजिलो भयो। त्यो महिना बितेको पत्तै भएन; निकै रमाइलो भयो। डर र लाज पनि हटाउन सकेजस्तो लाग्यो। त्यसैले १९९६ सालमा नियमित अग्रगामी सेवा गर्ने निर्णय गरें। त्यतिबेला नियमित अग्रगामी सेवा गर्नेहरूले ९० घण्टा बुझाउनुपर्थ्यो। त्यो निर्णय मेरो सबैभन्दा राम्रो निर्णय थियो। यसले गर्दा म यहोवासित अझ नजिक हुन सकें र शारीरिक रूपमा पनि बल पाएँ। प्रचारकार्यमा व्यस्त भएर धेरैलाई आफ्नो विश्वासबारे बताउन सकें अनि केहीलाई सृष्टिकर्ताको साथी बन्न मदत गरें।

मैले यहोवाको मदत पाइरहें

सन्‌ २००१ को गर्मीयाममा म कार दुर्घटनामा परें र मेरो दुवै गोडा भाँचियो। अस्पतालमा असह्य पीडामा हुँदा मैले यसरी व्यग्र प्रार्थना गरें, “हे यहोवा, मलाई नत्याग्नुहोस्!” तुरुन्तै सँगैको बेडको आइमाईले मलाई “तपाईं यहोवाको साक्षी हो?” भनेर सोध्नुभयो। “हो” भनेर जवाफ दिने शक्तिसमेत ममा थिएन; टाउको मात्र हल्लाएँ। उहाँले अझै यसो भन्नुभयो, “मलाई तपाईंहरूबारे थाह छ, तपाईंहरूको पत्रिका पढेकी छु।” ती शब्दहरूले मलाई निकै ढाडस दियो। त्यस्तो अवस्थामा समेत यहोवाबारे साक्षी दिन सकें। यो मेरो लागि साँच्चै ठूलो सुअवसर थियो।

अलि निको हुन थालेपछि अस्पतालमा अरूलाई पनि साक्षी दिने विचार गरें। तर मेरो दुवै गोडामा प्लास्टर गरिएको थियो। त्यसैले अस्पताल वरपर जान आमाले मलाई ह्वीलचेयरमा राख्नुहुन्थ्यो। हामी हरेक दिन केही बिरामीलाई भेट्थ्यौं, तिनीहरूलाई कस्तो छ, सोथ्यौं अनि बाइबलआधारित पत्रिका दिन्थ्यौं। त्यसो गर्दा निकै थकाइ लाग्थ्यो तर यहोवाले चाहिएको बल दिनुभयो।

सन्‌ २००३ मा आमाबाबुसित

 विगत केही वर्षदेखि यता मेरो दुखाई झन्‌-झन्‌ बढ्दै गयो अनि बुबाको मृत्युले त झनै पीडा थपिदियो। तैपनि सकारात्मक सोचाइ राख्ने प्रयास गर्छु। सकेसम्म साथी र आफन्तहरूसित समय बिताउँछु। यसो गर्दा आफ्नै समस्यामा मात्र ध्यान नदिन मदत पाउँछु। एक्लै हुँदा बाइबल पढ्छु, गहिरो अध्ययन गर्छु अनि फोनबाट अरूलाई यहोवाबारे बताउँछु।

म मनको भित्री “आँखा” खोलेर नयाँ संसारको दृश्य कल्पना गर्छु

म सानो-सानो कुराबाट आनन्द लिन खोज्छु। हावाको शीतल स्पर्श अनि फूलको मीठो बास्नाले मलाई फुरुङ्ङ बनाउँछ। यस्ता कुरा दिनुभएकोमा म यहोवाप्रति कृतज्ञ हुन्छु। जुनसुकै कुरालाई रमाइलो तरिकामा लिन जान्यो भने पनि मन आनन्दित हुने रहेछ। एक दिनको कुरा हो, प्रचार गएको बेला मेरो ह्वीलचेयर गुडाइरहेकी साथी टिपोट लिन एकछिन रोकिनुभयो। जमिन भिरालो भएकोले म गुड्दै-गुड्दै कार पार्क गरिरहेको ठाउँमा गएर ठोक्किन पुगें। सुरुमा त हाम्रो सातोपुत्लो उड्यो। तर मलाई केही पनि नभएको देखेपछि हामी दुवै मरी-मरी हाँस्न थाल्यौं।

मैले गर्न नसक्ने थुप्रै कुरा छन्‌। तर सृष्टिकर्ता यहोवाले ल्याउनुहुने नयाँ संसारमा ती सबै इच्छा पूरा गर्नेछु। अहिलेचाहिं आफ्नो मनको भित्री “आँखा” खोलेर त्यो नयाँ संसारको दृश्य कल्पना गर्छु। (२ पत्रुस ३:१३) स्वस्थ भएर यताउता हिंडेको अनि जीवनको आनन्द उठाएको दृश्य देख्छु। मैले राजा दाऊदका यी शब्दहरू मनमा राखेकी छु, “परमप्रभुको बाटो हेर्, दह्रो हो, र तेरो हृदयले साहस गरोस्।” (भजन २७:१४) मेरो शरीर झन्‌-झनै कमजोर हुँदै गएको छ। तर यहोवाले मलाई बलियो बनाउनुभएको छ। हो, कमजोर हुँदा पनि मैले बल पाएकी छु।

^ अनु. 6 मलाई जुभेनाइल पोलिआर्थराइटिस भन्ने बाथ रोग लागेको थियो। यो केटाकेटीलाई लाग्ने बाथ रोग हो। यो रोग लागेपछि शरीरको रोग प्रतिरोधात्मक प्रणालीले रोग निम्त्याउने कुरालाई नभई शरीरमा भएका स्वस्थ तन्तुहरूलाई नै आक्रमण गर्न थाल्छ। फलस्वरूप जोर्नीहरू सुन्निन र दुख्न थाल्छ।