अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा मार्च २०१४

धार्मिक सहिष्णुता—के भगवान्‌ यस्तै चाहनुहुन्छ?

धार्मिक सहिष्णुता—के भगवान्‌ यस्तै चाहनुहुन्छ?

“धर्मले हामीमा एकता ल्याउँछ कि विभाजन?” यो प्रश्न द सिड्नी मर्निङ हेरल्ड (अङ्ग्रेजी) पत्रिकाका पाठकहरूलाई सोधिएको थियो। जवाफ दिनेहरूमध्ये लगभग ८९ प्रतिशतले विभाजन ल्याउँछ भने।

धार्मिक सहिष्णुतालाई समर्थन गर्नेहरूको दृष्टिकोण भने फरक छ। एकअर्काको धर्मलाई आदर देखाउनुपर्छ; अर्को धर्मसँग सम्बन्धित गतिविधिमा भाग लिनुपर्छ भन्ने कुरालाई समर्थन गर्दै इन्टरफेट युथ कोरका (अन्तर विश्वास युवा समूह) संस्थापक इबु पटेल भन्छन्‌, ‘मलाई यस्तो धर्म देखाउनुस् जसले अरूलाई सहानुभूति देखाउन, वातावरणको रक्षा गर्न र अतिथिसत्कार गर्न सिकाउँदैन।’

बुद्धिस्ट, क्याथोलिक, प्रोटेस्टेन्ट, हिन्दू, मुस्लिम र अन्य धर्म मिलेर थुप्रै काम गरेका छन्‌: गरिबीविरुद्ध लडेका छन्‌, मानव अधिकारबारे प्रचारप्रसार गरेका छन्‌, जमिनमुनि विष्फोटक पदार्थ बिछ्याउने नीतिविरुद्ध आवाज उठाएका छन्‌ र वातावरण संरक्षणमा ध्यान दिन मानिसहरूलाई जागरूक बनाएका छन्‌। तिनीहरूले आपसी समझदारी कायम गर्न र एकअर्काको उत्थान गर्न थुप्रैचोटि सभा-सम्मेलन गरेका छन्‌। तिनीहरू विभिन्न पृष्ठभूमिको भए पनि आफ्नो एकता देखाउन एक ठाउँमा भेला भएर मैनबत्ती बाल्ने, प्रार्थना गर्ने र गीत गाउने गर्छन्‌।

यसरी धर्महरूलाई आपसमा गाँसदैमा धर्म-धर्मबीचको युद्ध रोकिएला त? के भगवान्‌ले धार्मिक सहिष्णुता चलाएर नै शान्तिमय संसार ल्याउनुहुन्छ?

एकताको लागि कस्तो मोल चुकाउनुपऱ्यो?

विभिन्न धर्मलाई एकतामा गाँस्ने उद्देश्यसहित खोलिएको एउटा ठूलो संस्थाले यसरी धाक लगायो, “हामीसँग २०० भन्दा धेरै धर्मका प्रतिनिधि छन्‌। अहिले तिनीहरू ७६ देशमा सक्रिय छन्‌।” यो संस्थाको उद्देश्य “धर्म-धर्मबीच सद्भाव कायम राखेर शान्तिको बाटोमा हिंड्नु हो।” तर भन्नु जति सजिलो छ, गर्नु त्यति नै गाह्रो। उदाहरणको लागि, उक्त संस्थाको बडापत्रमा हस्ताक्षर गर्ने बेला त्यसमा आबद्ध विभिन्न धर्म र जनजातिका मानिसहरूलाई कुनै ठेस नलागोस् भनेर संस्थापकहरूले निकै होस पुऱ्याउनुपरेको थियो। किन? किनभने भगवान्‌लाई बडापत्रमा समावेश गर्नु पर्छ कि पर्दैन भन्ने विषयमा त्यतिबेला विवाद भएको थियो। यो विवादपछि भगवान्‌लाई बडापत्रमा समावेश नगर्ने निर्णय गरियो।

यदि भगवान्‌लाई नै हटाउने हो भने विश्वासको के अर्थ? अनि यस्ता संस्था र परोपकारी संस्थाबीच के नै भिन्नता रह्यो र? धार्मिक सहिष्णुता कायम गर्ने उद्देश्यले खोलिएका संस्थाहरू धार्मिक अस्तित्व जोगाउने माध्यम नभई आपसी सद्भाव कायम गर्ने पुल मात्र साबित भएका छन्‌। यो कुरा ती संस्थाहरू आफैले स्वीकारेको हामीले माथिको विवरणबाट पनि थाह पाइसक्यौं।

व्यवहार मात्र राम्रो भएर पुग्छ र?

“सबै धर्मले एउटै कुरा सिकाउँछ: माया गर्नु, दया गर्नु र क्षमा दिनु।” यो भनाइ दलाइ लामाको हो। तिनी पनि एकअर्काको धर्मलाई आदर देखाउनुपर्छ भन्ने कुरालाई समर्थन गर्छन्‌। तिनी अझै भन्छन्‌, “हामीले दिनहुँ नै यस्तो कुरा व्यवहारबाट देखाउनुपर्छ।”

 हो, हामीले दया-माया गर्नु अनि क्षमा दिनु धेरै महत्त्वपूर्ण छ। महान्‌ गुरु येशूले पनि आफूले दिएको सुनौलो नियममा यसो भन्नुभयो, “मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर्नू।” (मत्ती ७:१२) तर साँचो विश्वास गर्नु भनेको राम्रो व्यवहार देखाउनु मात्र हो त?

बाइबलका पात्र पावलको समयमा पनि भगवान्‌को उपासना गरेको दाबी गर्ने मानिसहरू थिए। उनले तिनीहरूबारे यसो भने: ‘सृष्टिकर्ताको लागि तिनीहरूसित जोस त छ तर सही ज्ञानअनुरूप छैन भन्ने कुराको म साक्षी छु।’ पावलले किन त्यसो भने? यसको जवाफ तिनी आफै दिन्छन्‌: ‘साँचो भगवान्‌को नजरमा कसरी असल ठहरिने भनी थाह नभएकोले तिनीहरूले आफूले आफैलाई असल ठहराउन खोजे।’ (रोमी १०:२, ३) हो, तिनीहरूसित जोस त थियो, तर भगवान्‌ तिनीहरूबाट के चाहनुहुन्छ भन्ने कुराचाहिं तिनीहरूलाई थाह थिएन। त्यसैले तिनीहरूको जोस अर्थात्‌ विश्वास व्यर्थ गइरहेको थियो।—मत्ती ७:२१-२३

धार्मिक सहिष्णुताबारे बाइबल के भन्छ

येशूले भन्नुभयो, “आनन्दित हुन्‌ ती मानिसहरू, जसले शान्ति कायम गर्छन्‌।” (मत्ती ५:९) येशूले प्रचार गरेको कुरा व्यवहारमा पनि झल्काउनुभयो। कसरी? अहिंसाको बाटो रोजेर अनि विभिन्न धार्मिक पृष्ठभूमिका मानिसलाई शान्तिको सन्देश सुनाएर। (मत्ती २६:५२) उहाँको शिक्षा अङ्गाल्नेहरू प्रेमको बन्धनमा बाँधिन सके। (कलस्सी ३:१४) विभिन्न पृष्ठभूमिका मानिस एक हुन सकून्‌ भनेर येशूले पुलको काम मात्र गरिरहनुभएको थियो कि? के उहाँले अरूको धार्मिक क्रियाकलापमा भाग लिनुभयो?

फरिसी र सदुकी अगुवाहरूले येशूको घोर विरोध गरे र उहाँलाई मार्नसमेत खोजे। त्यसैले येशूले चेलाहरूलाई भन्नुभयो: “तिनीहरूलाई त्यस्तै रहनदेओ। किनकि तिनीहरू अन्धा अगुवाहरू हुन्‌।” (मत्ती १५:१४) हो, येशूले त्यस्ता मानिसहरूसित मित्रता गाँस्नु भएन।

केही समयपछिको कुरा हो, ग्रीसको सहर कोरिन्थमा एउटा मण्डली स्थापना भयो। त्यस सहरमा थुप्रै धार्मिक समूह थिए। त्यहाँका ख्रीष्टियनहरूले के गर्नुपर्थ्यो? बाइबल लेखक पावलले उनीहरूलाई लेखे: “विश्वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ।” किन? तिनी भन्छन्‌: “ख्रीष्ट र सैतानबीच के तालमेल? वा विश्वास गर्ने र विश्वास नगर्नेबीच के समानता?” त्यसपछि तिनी यस्तो सल्लाह दिन्छन्‌: “त्यसकारण तिनीहरूमाझबाट निस्केर आओ र आफूलाई अलग पार।”—२ कोरिन्थी ६:१४, १५, १७.

स्पष्ट छ, बाइबलले धार्मिक सहिष्णुतालाई समर्थन गर्दैन। तर तपाईं सोच्नुहोला, ‘त्यसोभए साँचो एकता कसरी सम्भव छ त?’

साँचो एकता कसरी हासिल गर्ने

पृथ्वीको वरिपरि फन्को मारिरहने एउटा भू-उपग्रह अर्थात्‌ अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनलाई प्राविधिक क्षेत्रमा भएको चमत्कारपूर्ण आविष्कार मान्न सकिन्छ। यस्तो उदेकलाग्दो आविष्कार कसरी सम्पन्न भयो? हो, १५ वटा राष्ट्रको एकजुट प्रयासले। तर यसको नक्सा पारित गर्ने बेला ती राष्ट्रहरू आपसमा सहमत नभएका भए यस्तो ठूलो उपलब्धि हासिल हुन्थ्यो र?

यो उदाहरणलाई अहिलेको धार्मिक सहिष्णुताको सिद्धान्तसित तुलना गरौं। हुन त सबैले धर्म-धर्मबीच आपसी सद्भाव हुनुपर्छ भन्ने गर्छन्‌ तर कसैको विश्वास पनि एउटै कुरामा आधारित छैन। मानौं तिनीहरूको नक्सा नै फरक-फरक छ। त्यसैले अझै पनि नैतिक अनि सैद्धान्तिक विवाद ज्युँ का त्युँ छन्‌।

बाइबलमा भगवान्‌ले दिनुभएको स्तरलाई एउटा नक्सासित तुलना गर्न सकिन्छ। यो नक्सालाई आधार बनाएर अर्थात्‌ बाइबलको शिक्षा लागू गरेर हामी आफ्नो जीवन निर्माण गर्न सक्छौं। बाइबलको शिक्षा लागू गर्नेहरूले जातभातलाई पल्लो कुनामा थन्काएका छन्‌ अनि शान्ति र एकतामा रहन सिकेका छन्‌। यो विषयमा सृष्टिकर्ता यहोवाले यस्तो भविष्यवाणी गर्नुभएको थियो: “त्यस बेला देश-देशका मानिसहरूलाई एउटा शुद्ध भाषा बोल्न लाउनेछु, र तिनीहरू सबैले परमप्रभुको नाउँको पुकारा गरेर एकै हृदयको भएर उहाँको सेवा गर्नेछन्‌।” सबैले “शुद्ध भाषा” बोल्ने भएकोले नै एकता छाएको हो। अनि यो शुद्ध भाषा भनेको भगवान्‌को स्तरलाई आधार बनाएर उहाँको उपासना गर्नु हो।—सपन्याह ३:९; यशैया २:२-४.

यहोवाका साक्षीहरूबीच छाएको एकता र शान्तिबारे तपाईंहरूले पनि थाह पाएको तिनीहरू चाहन्छन्‌। त्यसैले तपाईंहरूलाई नजिकैको राज्यभवनमा निमन्त्रणा दिन पाउँदा तिनीहरू औधी खुसी हुन्छन्‌।—भजन १३३:१.