अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा फेब्रुअरी २०१४

 तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्

तिनले अन्याय सहे

तिनले अन्याय सहे

एलिया यर्दन उपत्यका हुँदै जाँदैछन्‌। होरेब पर्वतबाट उत्तरतिर यात्रा गरेको हप्तौंपछि तिनी बल्ल इस्राएल आइपुगेका छन्‌। तिनी आफ्नो मातृभूमिमा परिवर्तन देख्छन्‌। लामो समयदेखि परेको खडेरीको असर मेटिन थालेको छ। शरद् ऋतुको झरी सुरु भएको छ र खेतालाहरू खेत खन्दै छन्‌। जमिनमा यस्तो सुधार आएको देख्दा भविष्यवक्ता एलियाले शान्तिको सास त फेर्न सके तर तिनको मुख्य चिन्ताको विषय त्यहाँका मानिसहरू हुन्‌। ती मानिसहरूको यहोवासितको सम्बन्ध बिग्रेको छ। तिनीहरू बाल उपासनामै मग्न छन्‌। त्यसैले एलियाले धेरै काम गर्नु छ। *

आबेल-महोला सहर नजिकै एलियाले व्यापक रूपमा खेतीपाती भइरहेको देखे। खेतालाहरू बाह्र हल गोरु सँगसँगै जोतिरहेका थिए। यसरी हलो जोतेर तिनीहरू खेतमा लहरहरू बनाइरहेका थिए। तीमध्ये सबैभन्दा पछिल्लो हल गोरु जोतिरहेका व्यक्तिलाई एलियाले खोजिरहेका थिए। ती व्यक्ति यहोवाले एलियाको उत्तराधिकारीको रूपमा छान्नुभएको एलीशा थिए। एकताका एलियाले परमेश्वरको सेवा गर्नेहरूमध्ये आफू मात्रै बाँकी छु भनी सोचेका थिए। त्यसैले एलीशालाई भेट्न एलिया आतुर थिए भन्ने कुरामा कुनै शङ्का छैन।—१ राजा १८:२२; १९:१४-१९.

आफ्ना जिम्मेवारी, सुअवसर कसैलाई दिनुपर्छ अथवा कुनै दिन आफ्नो ठाउँमा अरू कोही हुनेछ भन्ने कुरामा एलियाले सङ्कोच मानिरहेका थिए कि? त्यसबारे हामी केही भन्न सक्दैनौं अनि एलियाको मनमा त्यस्तो कुरा आउँदै आएन भनेर ठोकुवा पनि गर्न सक्दैनौं। आखिर तिनी “हामीजस्तै मानिस नै थिए।” (याकूब ५:१७) कुरा जे भए पनि बाइबल यसो भन्छ, ‘एलियाले गएर आफ्नो खास्टो एलीशामाथि ओढाइदिए।’ (१ राजा १९:१९, NRV) एलियाको खास्टो भेडाको वा बाख्राको छालाको हुन सक्छ। त्यसले यहोवाबाट पाएको विशेष नियुक्तिलाई बुझाउँथ्यो। त्यसैले एलीशालाई त्यो खास्टो ओढाइदिनु अर्थपूर्ण थियो। एलीशालाई आफ्नो उत्तराधिकारी नियुक्त गर्ने यहोवाको आज्ञा एलियाले राजीखुसी माने। एलियाले परमेश्वरमाथि पूरा भरोसा राखे र उहाँले भन्नुभएअनुसारै गरे।

एलियाले नम्रतापूर्वक एलीशालाई आफ्नो उत्तराधिकारीको रूपमा नियुक्त गरे

अर्कोतर्फ, जवान एलीशा पनि पाको भविष्यवक्तालाई मदत गर्न इच्छुक थिए। तिनले एलियाको ठाउँ तुरुन्तै पाउने थिएनन्‌। तिनी लगभग छ वर्षसम्म अनुभवी भविष्यवक्ता सँगसँगै नम्र भई हिंडे। पछि, तिनी “एलियाका हातमा पानी हाल्ने” भनेर चिनिए। (२ राजा ३:११) यस्तो होनहार र मदतकारी सहयोगी पाएकोमा एलियाले कत्ति ढुक्क महसुस गरेको हुनुपर्छ! तिनीहरू घनिष्ठ मित्र भए होलान्‌। तिनीहरूले एकअर्कालाई दिएको प्रोत्साहनले दुवै जनालाई त्यस देशमा व्याप्त अन्याय सहन पक्कै मदत गऱ्यो। विशेषगरि राजा आहाबको दुष्टताले त्यतिबेला सीमा नाघिसकेको थियो।

के तपाईं पनि अन्यायको सिकार हुनुभएको छ? यस भ्रष्ट संसारमा हामीमध्ये धेरैले अन्याय सहनुपर्छ। परमेश्वरलाई प्रेम गर्ने साथी पाउँदा हामीले सहने मदत पाउन सक्छौं। अन्यायको सामना गर्नुपर्दा एलियाको विश्वासबाट पनि तपाईं धेरै सिक्न सक्नुहुन्छ।

“आहाबलाई भेट गर्न तल जा”

एलिया र एलीशाले परमेश्वरसित मानिसहरूको सम्बन्ध बलियो बनाउन निकै प्रयास गरे। तिनीहरूले अरू भविष्यवक्तालाई प्रशिक्षण दिने काममा नेतृत्व लिए। समयको दौडान एलियाले  यहोवाबाट ‘इस्राएलको राजा आहाबलाई भेट्ने’ एउटा नयाँ जिम्मेवारी पाए। (१ राजा २१:१८, NRV) आहाबले के गरेका थिए?

राजा आहाब धर्मत्यागी भइसकेका थिए। तिनीभन्दा पहिलेका इस्राएली राजाहरू त्यतिबिघ्न खराब थिएनन्‌। तिनले ईजेबेलसित विवाह गरे र इस्राएलमा बाल उपासना फैलिन थाल्यो। राजा आफैले पनि त्यस उपासनामा भाग लिए। (१ राजा १६:३१-३३) बाल उपासनामा प्रजनन र वेश्यावृत्तिसित सम्बन्धित रीतिथिति थियो अनि बच्चाहरूलाई समेत बलि चढाइन्थ्यो। यसबाहेक हालै आहाबले अरामका दुष्ट राजा बेन हददलाई मार्न यहोवाले दिनुभएको आज्ञा पैसाको लोभले गर्दा मानेका थिएनन्‌। (१ राजा, अध्याय २०) तर अब भने आहाब र ईजेबेलको लोभ, भौतिक कुराप्रतिको प्रेम र हिंसाले सीमा नाघ्न थाल्यो।

सामरियामा आहाबको भव्य दरबार थियो। त्यहाँबाट ३७ किलोमिटर पर यिज्रेलमा पनि तिनको दरबार थियो। यस दरबारसँगै नाबोत भन्ने व्यक्तिको एउटा दाखबारी थियो। त्यो दाखबारीमा आहाबले आँखा लगाए। आहाबले तिनलाई बोलाए र दाखबारी बेच्न अथवा त्यसको साटो अर्को दाखबारी लिन भने। तर नाबोतले यसो भने, “मेरो पैतृक-सम्पत्तिमा सधैं रहेको जमीन मैले तपाईंलाई कसरी दिने? परमप्रभुले यस्तो नगरून्‌।” (१ राजा २१:३) के नाबोतले जिद्दी गरिरहेका थिए? के तिनी लापरबाही थिए? धेरैलाई त्यस्तै लाग्छ। तर वास्तवमा तिनले यहोवाको व्यवस्था पालन गरिरहेका थिए। व्यवस्थाअनुसार इस्राएलीहरूले पैतृक सम्पत्तिको रूपमा रहेको जमिन बेच्नु हुँदैनथ्यो। (लेवी २५:२३-२८) नाबोतको लागि परमेश्वरको नियम तोड्नु भनेको सोच्नै नसकिने कुरा थियो। तिनी विश्वासी र साहसी थिए किनभने आहाबको विरुद्धमा खडा हुनु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हान्नुसरह हो भनी तिनलाई थाह थियो।

आहाबले यहोवाको व्यवस्थालाई वास्तै गरेनन्‌। आफूले भनेअनुसार नभएपछि तिनी “उदास र क्रोधित” भई घर फर्के। बाइबलमा यस्तो लेखिएको छ, “तिनी आफ्नो ओछ्यानमा सुतिरहे, र मुख ढाकेर ओछ्यानमा पल्टिरहे, र खान इन्कार गरे।” (१ राजा २१:४) जब ईजेबेलले आफ्नो पति सानो बच्चाजस्तै ठुस्स परेको देखिन्‌ तब तिनले पतिको इच्छा पूरा गर्न र त्यससँगसँगै परमेश्वरको डर राख्ने परिवारको हत्या गर्न तुरुन्तै चाल चलिन्‌।

तिनको दुष्ट षड्यन्त्रबारे पढेर छक्क नपर्ने त सायद कोही छैन होला। परमेश्वरको व्यवस्थाअनुसार कसैको दोष प्रमाणित गर्न दुई साक्षीको गवाही चाहिन्छ भनी रानी ईजेबेललाई थाह थियो। (व्यवस्था १९:१५) त्यसैले तिनले राजा आहाबको नाममा यिज्रेलका शक्तिशाली मानिसहरूलाई पत्र पठाइन्‌। त्यस पत्रमा नाबोतविरुद्ध ईश्वरनिन्दाको झूटो आरोप लगाउन तयार दुई व्यक्ति खोज्न भनिएको थियो। यस्तो ईश्वरनिन्दाको दोषीले मृत्युदण्ड पाउँथ्यो। दुःखको कुरा तिनको योजना सफल भयो। “दुई जना नीच मानिस”-ले नाबोतलाई दोष लगाए। फलस्वरूप नाबोतलाई ढुङ्गाले हानेर मारियो। त्यत्ति मात्र होइन नाबोतका छोराहरू पनि मारिए। * (१ राजा २१:५-१४; लेवी २४:१६; २ राजा ९:२६) यसरी आहाबले आफ्नी पत्नीलाई  मनमानी गर्न दिए र ती निर्दोष व्यक्तिहरूले आफ्नो ज्यान गुमाए।

राजा र रानीले के गरे भन्ने कुरा यहोवाले एलियालाई बताउनुहुँदा तिनलाई कस्तो लाग्यो होला! दुष्टहरूले निर्दोषहरूमाथि विजय हासिल गरेको जस्तो देख्दा हामी निरुत्साहित हुन पुग्छौं। (भजन ७३:३-५, १२, १३) आज पनि हामी घोर अन्याय भएको देख्छौं। कहिलेकाहीं त परमेश्वरको प्रतिनिधि भनेर दाबी गर्ने शक्तिशाली मान्छेहरूले नै अन्याय गरिरहेका हुन्छन्‌। तर एलियाको यस विवरणबाट हामी सान्त्वना पाउन सक्छौं। बाइबलको यस विवरणले यहोवाको नजरबाट केही कुरा लुक्न सक्दैन भनी देखाउँछ। उहाँ सबै कुरा देख्नुहुन्छ। (हिब्रू ४:१३) अनि मानिसहरूको दुष्टता देख्दा उहाँ के गर्नुहुन्छ?

“ए मेरो शत्रु, तैंले मलाई फेला पारिस्?”

यहोवाले एलियालाई आहाबकहाँ पठाउनुभयो। परमेश्वरले तोकेरै यसो भन्नुभयो, “राजा आहाबलाई नाबोतको दाखबारीमा तैंले भेट्टाउनेछस्।” (१ राजा २१:१८) ईजेबेलले आहाबलाई ‘अब दाखबारी तपाईंको भयो’ भनेपछि आहाब जुरुक्क उठे र आफूले भर्खरै पाएको सम्पत्तिमा मोज गर्न गए। यहोवाले हेरिरहनुभएको छ भनेर त तिनलाई कत्ति पनि लागेन। तिनी दाखबारीमा टहल्दै त्यस ठाउँमा एकदमै सुन्दर बगैंचा बनाउने सपना बुन्दै गर्दा तिनको हाउभाउ कस्तो थियो होला, कल्पना गर्नुहोस्। तर अकस्मात्‌ एलिया आइपुग्छन्‌! आहाबको दङ्ग परेको अनुहार एकैछिनमा रिस र घृणाले भरिन्छ। तिनी जङ्गिदैं भन्छन्‌, “ए मेरो शत्रु, तैंले मलाई फेला पारिस्?”—१ राजा २१:२०.

“ए मेरो शत्रु, तैंले मलाई फेला पारिस्?”

आहाबका शब्दहरूबाट तिनी मूर्ख थिए भन्ने कुरा दुई तरिकामा थाह पाउन सक्छौं। पहिलो, “तैंले मलाई फेला पारिस्” भनेर एलियालाई भन्दा आहाबले यहोवाबारे सोच्दै नसोचेको कुरा प्रस्ट हुन्छ। यहोवाले तिनलाई “फेला” पारिसक्नुभएको थियो। आहाबले छनौट गर्ने स्वतन्त्रताको दुरुपयोग गरेको अनि ईजेबेलको दुष्ट षड्यन्त्रबाट आनन्द उठाइरहेको उहाँले देख्नुभएको थियो। आहाबको मनमा दया, न्याय अथवा अनुकम्पा भन्दा भौतिक कुराप्रतिको मोह धेरै भएको परमेश्वरले देख्नुभयो। दोस्रो, एलियालाई “ए मेरो शत्रु” भन्दा आहाबले यस्ता व्यक्तिप्रति घृणा प्रकट गरे जो यहोवा परमेश्वरको मित्र थिए र जसले तिनलाई विनाशकारी मार्गबाट जोगिन मदत गर्न सक्थे।

आहाबको मूर्खताबाट हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौं। यहोवा परमेश्वरले सबै कुरा देख्नुहुन्छ भनेर हामीले कहिल्यै बिर्सनु हुँदैन। एक मायालु बुबा भएकोले हामी सही बाटोबाट तर्कंदा उहाँलाई थाह हुन्छ र हामीले आफ्नो मार्ग परिवर्तन गरेको उहाँ इच्छा गर्नुहुन्छ। हामीलाई मदत गर्न प्रायजसो उहाँ एलियाजस्ता आफ्ना मित्रहरू प्रयोग गर्नुहुन्छ। त्यस्ता विश्वासी व्यक्तिहरूले सङ्गी मानवलाई परमेश्वरको वचनबाट सल्लाह दिन्छन्‌।  परमेश्वरको मित्रलाई शत्रु ठान्नु कत्ति ठूलो भूल हुनेछ!—भजन १४१:५.

एलियाले आहाबलाई यस्तो जवाफ दिइरहेको कल्पना गर्नुहोस्, “मैले तँलाई फेला पारें।” आहाब कस्तो व्यक्ति थिए भनी एलियालाई थाह थियो। तिनी चोर, हत्यारा र यहोवा परमेश्वरको विद्रोह गर्ने व्यक्ति थिए। त्यस्तो दुष्ट व्यक्ति विरुद्ध खडा हुन तिनलाई कत्ति साहस चाहिएको हुनुपर्छ! परमेश्वरले आहाबलाई दिनुहुने सजाय एलियाले सुनाए। के भइरहेको छ भन्नेबारे यहोवालाई सबै थाह थियो। आहाबको परिवारले गरेका दुष्ट कार्यहरूले थुप्रै मानिसलाई असर गरिरहेको थियो। त्यसैले परमेश्वरले आहाबको पूरै वंशको “नाउँ-निशान मेटिदिने” निर्णय गर्नुभएको छ भनी एलियाले आहाबलाई बताए। ईजेबेलले पनि न्यायदण्ड भोग्ने थिइन्‌।—१ राजा २१:२०-२६.

खराब काम गरेपछि सजाय नपाइकनै मानिसहरू उम्किन्छन्‌ भनेर त एलियाले सोचेका थिएनन्‌। आज संसारमा धेरैलाई यस्तै लाग्छ। बाइबलको यो विवरणले हामीलाई यहोवा परमेश्वरले के भइरहेको छ भनेर देख्ने मात्र होइन तर समयमा न्याय पनि गर्नुहुनेछ भनी सम्झाउँछ। उहाँले सदाको लागि अन्याय हटाउनुहुनेछ भनी उहाँको वचनले हामीलाई ढुक्क बनाउँछ। (भजन ३७:१०, ११) तर तपाईंलाई लाग्न सक्छ, ‘परमेश्वरले न्याय गर्दा सजाय दिने मात्र गर्नुहुन्छ कि दया पनि देखाउनुहुन्छ?’

“आहाबले . . . आफूलाई दीन तुल्याएको तैंले देखिस्?”

यहोवाको न्यायबारे सुन्दा आहाबको प्रतिक्रिया देखेर एलियालाई अचम्म लागेको हुन सक्छ। विवरण यसो भन्छ, “जब आहाबले यो कुरा सुने तब तिनले आफ्ना लुगा च्याते, भाङरा ओढे र उपवास बसे। तिनी भाङरा लाएरै सुते, र दीनतार्पूवक हिंड्न लागे।” (१ राजा २१:२७) के आहाबले पश्‍चात्ताप गरेका थिए?

आहाबले आफ्नो आनीबानीमा परिवर्तन ल्याए कि ल्याएनन्‌ ठ्याक्कै भन्न सकिंदैन। जे होस् आहाबले आफूलाई नम्र तुल्याइरहेका थिए। यसो गर्न एक घमन्डी र अहङ्कारी व्यक्तिलाई पक्कै गाह्रो भएको हुनुपर्छ। तर के तिनको पश्‍चात्ताप साँचो थियो? तिनीभन्दा पछिका राजा मनश्शेको उदाहरण विचार गर्नुहोस्। तिनले राजा आहाबले भन्दा खराब काम गरे। यहोवाले मनश्शेलाई सजाय दिनुहुँदा तिनले मदतको लागि यहोवालाई पुकारेर आफैलाई नम्र तुल्याए। तर तिनले त्यत्तिमै चित्त बुझाएनन्‌। तिनले आफूले बनाएका मूर्तिहरू नष्ट गरेर, यहोवाको सेवा गर्ने अथक प्रयास गरेर अनि आफ्ना मानिसहरूलाई पनि त्यसै गर्न प्रोत्साहन दिएर आफ्नो जीवनमा कायापलट गरे। (२ इतिहास ३३:१-१७) के आहाबले पनि यस्ता कदमहरू चाले? दुःखको कुरा, चालेनन्‌।

आहाबले पश्‍चात्तापी भएको कुरा सबैसामु प्रकट गरेको के यहोवाले याद गर्नुभयो? यहोवाले एलियालाई यसो भन्नुभयो, “आहाबले मेरो सामने आफूलाई दीन तुल्याएको तैंले देखिस्? त्यसले आफूलाई यस्तो दीन तुल्याएकोले गर्दा म त्यसको जीवनकालमा त्यसको घरानामाथि सर्वनाश ल्याउनेछैनँ, तर त्यसको छोराको पालामा ल्याउनेछु।” (१ राजा २१:२९) के यहोवाले आहाबलाई क्षमा दिनुभएको थियो? थिएन, साँचो पश्‍चात्ताप गरेमा मात्र यहोवाबाट दया पाउन सकिन्थ्यो। (इजकिएल ३३:१४-१६) तर आहाबले केही हदसम्म पश्‍चात्ताप गरेकोले यहोवाले पनि तिनलाई केही हदसम्म दया देखाउनुभयो। आहाब आफ्नो पूरै परिवार नाश भएको दर्दनाक दृश्य हेर्नदेखि बचे।

तर यहोवाले आहाबविरुद्ध सुनाएको न्याय परिवर्तन गर्नु भएन। आहाबलाई बहकाएर युद्धमा पठाउने सबैभन्दा राम्रो तरिकाबारे यहोवाले आफ्ना स्वर्गदूतहरूसित सल्लाह गर्नुभयो। त्यसलगत्तै यहोवाले आहाबलाई दण्ड दिनुभयो। युद्धमा रक्ताम्मे भएका आहाब रथमै मरे। बाइबलमा यस्तो कहालीलाग्दो विवरण बताइएको छ: राजाको रथ पखाल्दा कुकुरहरूले रगत चाटे। यसरी एलियाले आहाबलाई सुनाएको यहोवाको वचन सबैसामु पूरा भयो, “नाबोतको रगतलाई कुकुरहरूले चाटेकै ठाउँमा तेरो रगत पनि कुकुरहरूले चाट्नेछन्‌।”—१ राजा २१:१९; २२:१९-२२, ३४-३८.

नाबोतले देखाएको साहस र विश्वास यहोवाले बिर्सनुभएको थिएन भनेर आहाबको मृत्युले एलिया, एलीशा र अरू विश्वासी व्यक्तिहरूलाई ढुक्क बनायो। ढिलो होस् वा चाँडो न्यायका परमेश्वर दुष्टलाई सजाय दिन कहिल्यै चुक्नुहुन्न। अनि दया देखाउने आधार छ भने त्यसो गर्न पनि उहाँ कन्जुस्याइँ गर्नुहुन्न। (गन्ती १४:१८) त्यस दुष्ट राजाको शासन दशकौंसम्म सहेर बसेका एलियाको लागि कस्तो सशक्त पाठ! के तपाईंले पनि अन्यायको सामना गर्नुपरेको छ? के परमेश्वरले सबै समस्या हल गरिदिएको हेर्न चाहनुहुन्छ? एलियाको विश्वासको अनुकरण गर्दा तपाईंले लाभ उठाउनुहुनेछ। एलियाले विश्वासी मित्र एलीशासँगै अन्याय सहँदै परमेश्वरको सन्देश घोषणा गरिरहे।

^ अनु. 3 यहोवाले बाल देव शक्तिहीन भएको कुरा देखाउन साढे तीन वर्षसम्म खडेरी पर्न दिनुभयो। बाललाई वर्षा र उब्जनीको देव ठानिन्थ्यो।—१ राजा अध्याय १८.

^ अनु. 13 नाबोतको मृत्युपछि दाखबारीको अधिकार तिनका सन्तानले पाउने हुन्‌ कि भनी ईजेबेललाई डर लागेकोले नाबोतका छोराहरूलाई पनि मार्न लगाएकी हुन सक्छिन्‌। परमेश्वरले किन यस्तो अत्याचार हुन दिनुहुन्छ भन्ने विषयमा यसै अङ्कको “हाम्रा पाठकहरू सोध्छन्‌” भन्ने लेख हेर्नुहोस्।