सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा  |  फेब्रुअरी २०१४

 आवरण लेख

त्यो युद्ध जसले संसारको रूप परिवर्तन गरिदियो

त्यो युद्ध जसले संसारको रूप परिवर्तन गरिदियो

सय वर्षअघि लाखौं युवा आफ्नो घरबार छोडेर युद्धको लागि हिंडे। देशभक्तिको लहड चलेको थियो। यसै जोसका कारण मानिसहरू युद्धमा होमिए। सन्‌ १९१४ मा युद्धमा हिंडेका एक अमेरिकी सिपाहीले यस्तो लेखे, “म खुसी छु। आउने सुनौला दिनहरू सम्झँदै म दङ्ग पर्छु।”

तर चाँडै तिनीहरू निराश भए। बेल्जियम र फ्रान्सको भूमिमा सिपाहीहरूको ठूलो दल वर्षौंसम्म युद्धको दलदलमा फस्नेछन्‌ भनेर कसैले सोचेका थिएनन्‌। त्यतिबेला यस युद्धलाई “महायुद्ध” भनिन्थ्यो। आज यो प्रथम विश्वयुद्ध भनेर चिनिन्छ।

प्रथम विश्वयुद्धबाट प्रभावित मानिसहरूको सङ्ख्यालाई विचार गर्ने हो भने यसलाई महायुद्ध भन्न सुहाउँछ। कुनै-कुनै रिपोर्टअनुसार यस युद्धमा एक करोड मानिसले ज्यान गुमाए र दुई करोड अङ्गभङ्ग भए। यो युद्ध सुरु हुनुमा मानिसको ठूलो हात छ। युरोपका शासकहरूले राष्ट्रहरूबीचको तनावलाई विश्वव्यापी रूप लिनदेखि रोक्न सकेनन्‌। अझ त्योभन्दा पनि महत्त्वपूर्ण, “महायुद्धले” संसारलाई पुऱ्याएको हानिलाई नकार्न सकिंदैन। यस युद्धले संसारको रूप नै परिवर्तन गरिदियो र यसको प्रभावबाट आज हामी पनि मुक्त छैनौं।

 गल्तीले गर्दा भरोसा गुम्यो

केही गल्तीका कारण प्रथम विश्वयुद्ध सुरु भयो। सन्‌ १९१४ को सुरु-सुरुतिर आफूले गरेका निर्णयहरूले संसारलाई विपत्तितर्फ धकेल्नेछ भनेर युरोपका नेताहरूले सोचेकै थिएनन्‌ भनी साम्राज्यहरूको पतन—पुरातन सामाजिक सुव्यवस्थाको अन्त १९०५-१९२२ (अङ्ग्रेजी) किताब बताउँछ।

अस्ट्रियाका राजकुमारको हत्या भएको केही हप्तामै युरोपका शक्तिशाली राष्ट्रहरू नचाहँदा नचाहँदै युद्धमा होमिए। युद्ध सुरु भएको केही दिनपछि जर्मनीका शासकलाई “यो सब कसरी भयो?” भनेर प्रश्न गर्दा तिनले दुःखित हुँदै यसो भने, “थाह भइदिए त भइहाल्थ्यो नि!”

गलत निर्णयको कारण सुरु भएको युद्धले कस्तो भयानक रूप लिनेछ भनेर उच्च पदमा रहेकाहरूले सोचेकै थिएनन्‌। तर युद्धभूमिमा भएका सिपाहीहरूले यस युद्धले कस्तो रूप लिनेछ भन्ने आभास पाए। शासकहरूले झुक्याएको, पादरीहरूले ठगेको अनि सेनापतिहरूले धोका दिएको तिनीहरूले बुझे। कसरी?

शासकहरूले झुक्याएको, पादरीहरूले ठगेको अनि सेनापतिहरूले धोका दिएको तिनीहरूले बुझे

शासकहरूले यस युद्धले नयाँ अनि सुन्दर संसारको लागि बाटो खोल्नेछ भनेर प्रतिज्ञा गरे। जर्मनीका शासकले यस्तो घोषणा गरे: “हामी महान्‌ अतीतको जगेर्ना गर्न र सुन्दर भविष्य अनि शान्तिको लागि लड्दैछौं।” यस युद्धले “संसारमा प्रजातन्त्र स्थापना गर्नेछ” भनी अमेरिकी राष्ट्रपति वुड्रो विल्सनले बताए। पछि उनको यो भनाइ एउटा आश्वासनदायी नाराको रूपमा प्रख्यात भयो। बेलायतका मानिसहरूले यो युद्धले “सबै युद्धलाई अन्त गर्नेछ” भन्ठाने। तर कसैको सोचाइ साकार भएन।

पादरीहरूले युद्धलाई जोडतोडले समर्थन गरे। “परमेश्वरको वचनका रखवालाहरूले नै मानिसहरूलाई युद्धमा जान उक्साए। सबै राष्ट्र युद्धमा मुछिंदा घृणा व्याप्त भयो” भनेर विश्वको कोलम्बिया इतिहास (अङ्ग्रेजी) किताब बताउँछ। पादरीहरूले घृणाको आगोमा पानी हाल्नुको सट्टा घिउ थपे। ख्रीष्टियन धर्मको इतिहास (अङ्ग्रेजी) किताब यसो भन्छ, “थुप्रै पादरीले ख्रीष्टियन विश्वासभन्दा देशभक्तिलाई महत्त्व दिए। अनि तिनीहरूले आफूलाई सजिलो बनाउन ख्रीष्टियन धर्म र देशभक्ति एउटै हो भने। सबै गुटका ख्रीष्टियन सिपाहीहरूलाई आफ्नो उद्धारक येशूको नाममा एक-अर्कालाई मार्ने आज्ञा दिइयो।”

सेनापतिहरूले युद्ध सजिलै अनि छिट्टै जित्न सकिन्छ भनेर आश्वासन दिए। तर त्यसो भएन। दुवै पक्षका सिपाहीहरूले युद्धको अन्त हुने छाँटकाँट देखेनन्‌। एक इतिहासकारका अनुसार लाखौं सिपाहीले “मानिसजातिले अहिलेसम्म नभोगेको शारीरिक अनि भावनात्मक पीडा भोगे।” युद्धमा थुप्रै सिपाहीले ज्यान गुमाए तापनि सेनापतिहरूले आफ्नो सेनालाई काँडेतारको बारले घेरिएको र गोलीहरूको वर्षा भइरहेको युद्धभूमिमा पठाउन छाडेनन्‌। त्यसैले सिपाहीहरूमाझ विद्रोह सुरु हुनु कुनै छक्कलाग्दो कुरा थिएन।

प्रथम विश्वयुद्धले संसारलाई कस्तो असर गऱ्यो? एउटा इतिहाससम्बन्धी किताबमा एक सैनिकले यसो भने, “युद्धले . . . मानिसहरूको सोचाइ अनि व्यवहारमा एकदमै नराम्रो असर गऱ्यो।” युद्धको कारण थुप्रै साम्राज्य पतन भए। यस युद्धले आउँदा दिनहरू कुन हदसम्म हिंसात्मक हुनेछ भन्ने कुराको पूर्वझलक दियो। क्रान्ति र हडताल त सामान्य हुन थाल्यो।

संसार किन यस्तो अस्तव्यस्त भयो? के यो एउटा भयानक दुर्घटना मात्र थियो? यी प्रश्नका जवाफले भविष्यबारे के बताउँछ?