अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा जनवरी २०१४

के तपाईंलाई थाह थियो?

के तपाईंलाई थाह थियो?

येशूको समयमा मन्दिरमा अनुदान खसाल्नको लागि कस्तो प्रबन्ध थियो?

मन्दिरको ढुकुटी स्त्रीहरूको चोकमा राखिएको हुन्थ्यो। मन्दिर र त्यहाँ गरिने सेवा (अङ्ग्रेजी) किताब यसो भन्छ: “स्त्रीहरूको चोकको दलानको एउटा भित्तामा अनुदान खसाल्न तेह्रवटा दानपात्र अथवा ‘बिगुल’ राखिएको हुन्थ्यो।”

दानपात्रको मुख साँघुरो र पिंधचाहिं फराकिलो हुने भएकोले यसलाई बिगुल भनिन्थ्यो। फरक-फरक भेटीको लागि छुट्टाछुट्टै दानपात्र राखिएको हुन्थ्यो र तिनीहरूमा जम्मा भएका रकम त्यही भेटीकै लागि मात्र प्रयोग गरिन्थ्यो। गरिब विधवालगायत अरू थुप्रैले अनुदान खसाल्दा येशू पनि स्त्रीहरूको चोकमा हुनुहुन्थ्यो।—लूका २१:१, २.

दुइटा दानपात्र अघिल्लो वर्ष र चालू वर्षको मन्दिरको कर तिर्न छुट्याइएको हुन्थ्यो। तेस्रो देखि सातौं दानपात्र क्रमशः ढुकुर, परेवा, काठ, धूप र सुनका भाँडाकुँडाका लागि तोकिएको मोल खसाल्नका लागि थिए। यसपछिका दानपात्रहरूचाहिं भेटी चढाउन आएका व्यक्तिले कुनै भेटीको लागि आवश्यक कुरा किनेपछि रकम उब्रिएमा त्यो रकम खसाल्नका लागि थिए। आठौं दानपात्रचाहिं पापबलिको लागि भेटी किनेपछि उब्रिएको रकम खसाल्नको लागि थियो। नवौं देखि बाह्रौं दानपात्रहरू भने दोषबलि, चराहरूको बलि, नाजिरीहरूको भेटी अनि कुष्ठरोग निको भएकाहरूको भेटीबाट उब्रिएको रकम खसाल्नका लागि थिए। तेह्रौं दानपात्रचाहिं स्वेच्छिक अनुदानको लागि थियो।

इतिहासकार लूकाले के सबै घटना ठीक-ठीक लेखे?

लूकाले बाइबलमा आफ्नै नामको सुसमाचारको पुस्तक र प्रेषितहरूका कार्य नामको पुस्तक लेखे। “सुरुदेखिका सबै घटना ठीक-ठीक पत्ता” लगाएको कुरा लूकाले बताएका छन्‌। तर कोही-कोही शास्त्रविद्ले भने उनले लेखेका घटना विवरणमाथि प्रश्न उठाएका छन्‌। (लूका १:३) त्यसोभए उनले लेखेका घटना कत्तिको सही थिए?

लूकाको विवरणमा भएका ऐतिहासिक विवरण सत्य हुन्‌ कि होइनन्‌ भनेर पक्का गर्न सकिन्छ। उदाहरणका लागि, तिनले चलनचल्तीमा नभएको रोमी अधिकृतका विभिन्न पदवीहरू मूल भाषामा उल्लेख गरेका छन्‌। आज ती पदवीहरूलाई फिलिप्पीका र थिस्सलोनिकाका नगर प्रशासकहरू वा एफिससका खेलकूद तथा उत्सवका आयोजकहरू भनी अनुवाद गरिएको छ। (प्रेषित १६:२०; १७:६; १९:३१) लूकाले हेरोद एन्टिपासलाई प्रान्तीय शासक र सर्गियस पौलसलाई साइप्रसका प्रान्तीय राज्यपाल भनेर सम्बोधन गरेका छन्‌।—प्रेषित १३:१, ७.

लूकाले ठीक पदवीहरू चलाउनु उल्लेखनीय छ किनभने रोमको कुनै इलाकामा छाँटकाँट हुनेबित्तिकै त्यहाँका प्रशासकको पदवी पनि परिवर्तन हुन्थ्यो। तैपनि, “प्रेषितको पुस्तकमा उल्लेख गरिएको समयावधि र ठाउँसम्बन्धी प्रश्नहरू उठ्दा ती विवरणहरू पटक-पटक सही साबित भएका छन्‌” भनेर बाइबलविद् ब्रुस मेत्स्गर बताउँछन्‌। शास्त्रविद् विलियम रामजेका अनुसार लूका “एक उत्कृष्ट इतिहासकार थिए।”