अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) डिसेम्बर २०१५

 जीवनी

परमेश्वर र आमासित मेरो सम्बन्ध फेरि राम्रो भयो

परमेश्वर र आमासित मेरो सम्बन्ध फेरि राम्रो भयो

आमाले मलाई यसो भन्नुभयो: “तिमी किन आफ्नो पितापुर्खाको पूजा गर्दैनौ? उनीहरूकै देनले गर्दा तिमीले जीवन पाएको होइन? यसरी अनादर गर्नुहुन्छ? यस्तै ताल हो भने, अर्को पुस्तालाई आफ्नो रीतिरिवाज, संस्कृति कसरी सिकाउँछ्यौ? तिमीले पितापुर्खाको अनादर गर्दा हामीले चाहिं मूर्ख काम गरिरहेका छौं भन्ने देखिंदैन र?” त्यसो भनिसकेपछि आमा रुन थाल्नुभयो।

आमाले यसो भन्नुहोला भनेर सोचेकै थिइनँ। किनभने मलाई ‘बाइबल अध्ययन गर’ भन्ने उहाँ नै हुनुहुन्थ्यो। उहाँलाई बाइबल अध्ययनको प्रस्ताव आउँदा ‘नाइँ’ भन्न नसक्नुभएकोले नै मलाई अध्ययन गर्न लगाउनुभएको थियो। तर मैले बाइबल अध्ययन गर्न थालेपछि उहाँ आफै पछुताउनुभयो। हुन त म उहाँले भनेको सबै कुरा मान्थें। तर त्यतिबेला भने उहाँको कुरा मान्न निकै गाह्रो भयो। किनभने म यहोवालाई खुसी पार्न चाहन्थें। यहोवाको मदत नपाएको भए मैले त्यतिबेला सही निर्णय गर्न सक्दिनथें।

ख्रीष्टियन बन्ने निर्णय

जापानका अरू मानिसजस्तै हामी पनि बौद्ध धर्म मान्थ्यौं। तर यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेको दुई महिनाभित्रै बाइबलको शिक्षा सत्य हो भनेर म पक्का भएँ। स्वर्गमा बस्नुहुने बुबाबारे थाह पाएपछि म अझ राम्ररी उहाँलाई चिन्न चाहन्थें। आफूले सिकिरहेको कुरा म आमासित मजाले छलफल गर्थें। म हरेक आइतबार राज्यभवनमा हुने सभाहरूमा जान थालें। यहोवाको विषयमा राम्ररी बुझ्दै गएपछि मैले आमालाई ‘म बौद्ध धर्म मान्दिनँ’ भनेर बताएँ। त्यसपछि त आमाको रूपै फेरियो अनि यसो भन्नुभयो: “पितापुर्खाको आदर नगरेर तिमीले त हाम्रो नाकै काट्ने भयौ।” त्यसपछि उहाँले मलाई बाइबल अध्ययन गर्न र सभा जान छोड्न दबाब दिनुभयो। आमाले त्यस्तो भन्नुहोला भनेर मैले आसै गरेकी थिइनँ। मलाई त आमा अर्कै मान्छे जस्तो लाग्न थाल्यो।

बुबा पनि आमाकै पक्षमा हुनुहुन्थ्यो। आमाबुबाले भनेको कुरा मान्नुपर्छ भनेर मैले एफिसी अध्याय ६ पढ्दा सिकेकी थिएँ। त्यसैले मलाई लाग्यो, यदि अहिले मैले उहाँहरूको कुरा सुनें भने पछि उहाँहरूले पनि मेरो कुरा सुन्नुहुनेछ। म परिवार फेरि एक भएको चाहन्थें अनि मेरो हाई-स्कुलको जाँच पनि नजिकै थियो। मैले त्यसको पनि तयारी गर्नुथियो। त्यसैले तीन महिनाको लागि मैले उहाँहरूले भनेअनुसारै गर्ने निर्णय गरें। तर तीन महिना कट्ने बित्तिकै फेरि सभामा जान्छु भनेर मैले यहोवासँग वाचा गरें।

मैले गरेको निर्णय गलत साबित भयो। त्यसको दुइटा कारण छ। पहिलो कारण, मलाई तीन महिना यहोवाको कुरा नसुन्दा खासै फरक पर्दैन भन्ने लागेको थियो। तर आध्यात्मिक खाना नपाएकोले म बिस्तारै-बिस्तारै सेलाउँदै गएँ। दोस्रो कारण, मेरो कुरा सुन्नुको सट्टा मेरो आमाबुबाले मैले यहोवालाई त्यागोस् भनेर पहिलाभन्दा झनै दबाब दिन थाल्नुभयो।

 विरोध सहन मदत पाएँ

राज्यभवनमा जाँदा परिवारको विरोध सहेका थुप्रै साथीभाइसित भेट भयो। उहाँहरूले ‘तिमीलाई यहोवा परमेश्वरले बल दिनुहुनेछ’ भनेर प्रोत्साहन दिनुहुन्थ्यो। (मत्ती १०:३४-३७) यदि मैले यहोवाको कुरा सिकिरहें भने परिवारले पनि यहोवाको कुरा सिक्नेछन्‌ भनेर उहाँहरूले मलाई सान्त्वना दिनुभयो। म यहोवा परमेश्वरमा भरोसा गर्न चाहन्थें। त्यसैले मैले उहाँलाई व्यग्र प्रार्थना गर्न थालें।

मलाई परिवारबाट विभिन्न तरिकाले विरोध आउन थाल्यो। आमाले मलाई सम्झाइ-बुझाइ गर्न कहिलेकाहीं विभिन्न तर्क चलाउनुहुन्थ्यो। कहिलेकाहीं चाहिं बिन्तीभाउ गर्नुहुन्थ्यो। तर प्रायजसो म चुपचाप बसथें। यदि मैले बोलें भने चर्को भनाभन हुन्थ्यो। ‘मेरो गोरुको बाह्रै टक्का भनेझैं’ हामी आफ्नो कुरा नै सही ठहऱ्याउन खोज्थ्यौं। अहिले मलाई लाग्छ, त्यतिखेर मैले आमाको विश्वास र भावनाको अलिकति मात्र कदर गरेकी भए त्यत्ति ठूलो बखेडा हुँदैन थियो होला। घरबाट बाहिर जान नदिन आमाबुबाले मलाई विभिन्न काममा अल्झाउन खोज्नुहुन्थ्यो। कहिलेकाहीं त मलाई घरमा छिर्नै दिनुहुन्नक्थ्यो। अनि खाना पनि दिनुहुन्नक्थ्यो।

मलाई सम्झाइ-बुझाइ गर्न आमाले मेरो स्कुलको शिक्षकसित मदत माग्नुभयो। तर उहाँले हाम्रो पारिवारिक मामिलामा हात हाल्न चाहनुभएन। जुनसुकै धर्म माने पनि केही काम छैन भनेर बुझाउन आमाले मलाई उहाँको अफिसको हाकिमकहाँ पनि लैजानुभयो। त्यतिमात्र होइन, आमाले रुँदै-रुँदै आफन्तहरूलाई फोन गर्नुभयो र मलाई सम्झाइ-बुझाइ गरिदिन उहाँहरूलाई आग्रह गर्नुभयो। यो देख्दा मलाई निकै दु:ख लाग्यो। तर त्यसो गर्दा आमाले थाहै नपाई आफन्तहरूलाई साक्षी दिइरहनुभएको छ भनेर एल्डरहरूले मलाई सम्झाउनुभयो।

केही समयपछि फेरि अर्को समस्या आयो। मैले राम्रो जागिर पाओस् भनेर उच्च शिक्षा लिएको आमाबुबा  चाहनुहुन्थ्यो। त्यसैले मलाई विश्वविद्यालय पठाउने विचार गर्दै हुनुहुन्थ्यो। हाम्रो कुरा नमिलेकोले सँगै बसेर शान्तपूर्वक छलफल गर्ने वातावरण नै थिएन। त्यसैले धेरै पटक चिठी लेखेर मैले आफ्नो लक्ष्यबारे उहाँहरूलाई बताएँ। बुबा निकै रिसाउनुभयो र मलाई थर्काउँदै यसो भन्नुभयो: “यदि तिमीलाई काम भेट्टाउन सजिलो छ जस्तो लाग्छ भने भोलिसम्म काम खोज, नत्र घर छोडेर जाऊ।” मैले यो विषयमा यहोवालाई प्रार्थना गरें। अर्को दिन म प्रचारमा गएँ। त्यही दिन मैले मण्डलीका दुई जना दिदीको बच्चाहरूलाई ट्युसन पढाउने काम पाएँ। तैपनि बुबा खुसी हुनुभएन; उहाँले मसित कुरा गर्न छोड्नुभयो र जानाजानी मलाई बेवास्ता गर्न थाल्नुभयो। आमाले पनि यसो भन्नुभयो: ‘तिमी यहोवाको साक्षी बन्नुभन्दा अपराधी बनेको भए जाती हुन्थ्यो!’

यहोवाले मलाई आफ्नो सोचाइ बदल्न र मैले अब के गर्नुपर्छ भनेर स्पष्ट बुझ्न मदत गर्नुभयो

मैले आमाबुबाको इच्छा विपरीत काम गरिरहँदा यहोवाले मलाई कुन नजरले हेर्नुभएको छ, म पक्का थिइनँ। त्यसैले मैले व्यग्र प्रार्थना गरें र यहोवाको प्रेमबारे उल्लेख गरिएका बाइबल पदहरू मनन गर्न थालें। त्यसपछि मात्र मैले सकारात्मक दृष्टिकोणले सोच्न सकें। मेरो चिन्ता लागेकोले नै आमाबुबाले विरोध गर्नुभएको हो भनेर मैले बुझें। यहोवाले मलाई आफ्नो सोचाइ बदल्न र मैले अब के गर्नुपर्छ भनेर स्पष्ट बुझ्न मदत गर्नुभयो। अनि प्रचारमा जति धेरै समय बिताएँ, मलाई त्यति नै आनन्द लाग्न थाल्यो। त्यसैले मैले अग्रगामी सेवा गर्ने विचार गरें।

अग्रगामी सेवा

मैले अग्रगामी सेवा गर्न चाहेको कुरा थाह पाएपछि मण्डलीका केही दिदीहरूले मलाई सुझाव दिनुभयो। उहाँहरूले आमाबुबाको रिस शान्त नभएसम्म पर्खनु राम्रो होला भन्नुभयो। मैले यस विषयमा यहोवासित बुद्धि मागें। आफ्नो मनसाय केलाएँ। थप अध्ययन-अनुसन्धान गरें। अनुभवी दाजुदिदीसित कुरा गरें। त्यसपछि म यहोवालाई खुसी पार्न चाहन्छु भन्ने निर्णयमा पुगें। अनि अग्रगामी सेवा गर्न ढिलो गर्दैमा आमाबुबाको मन परिवर्तन हुन्छ भन्ने कुनै ग्यारेन्टी पनि थिएन।

हाई-स्कुलको अन्तिम वर्षतिर मैले अग्रगामी सेवा सुरु गरें। केही समय अग्रगामी सेवा गरिसकेपछि आवश्यकता धेरै भएको ठाउँमा गएर सेवा गर्ने लक्ष्य राखें। तर बुबाआमा मैले घर छोडेको चाहनुहुन्नक्थ्यो। त्यसकारण मैले २० वर्ष नपुगुन्जेल पर्खें। आमाले मेरो विषयमा ज्यादै चिन्ता नगरोस् भनेर मैले थुप्रै आफन्त भएको ठाउँमा सर्ने निर्णय गरें। अनि शाखा कार्यालयलाई उत्तरी जापानमा जान चाहन्छु भनी बताएँ।

उत्तरी जापानमा सेवा गर्दा मैले थुप्रै आशिष्‌ पाएँ। मसित अध्ययन गरेका दिदीबहिनीहरूले बप्तिस्मा गरेको पनि देख्न पाएँ। म अझ राम्ररी यहोवाको सेवा गर्न चाहन्थें। त्यसैले अङ्ग्रेजी भाषा सिकें। मैले सङ्गत गर्ने मण्डलीमा दुई जना विशेष अग्रगामी भाइहरू पनि हुनुहुन्थ्यो। अरूलाई मदत गर्न उहाँहरूले गर्नुभएको प्रयास र उहाँहरूको जोस देखेर मैले पनि विशेष अग्रगामी सेवा गर्ने लक्ष्य राखें। त्यस समयको दौडान मेरी आमा दुई पटक सिकिस्त बिरामी पर्नुभयो। दुवै चोटि म उहाँको देखभाल गर्न घर फर्कें। यो देखेर उहाँ अचम्म मान्नुभयो। त्यसपछि उहाँको स्वभावमा बिस्तारै परिवर्तन आउन थाल्यो।

आशिष्‌माथि आशिष्‌

सात वर्षपछि मैले आत्सुसीबाट चिठी पाएँ। मैले माथि बताएको दुई जना विशेष अग्रगामी सेवकमध्ये एक जना उहाँ नै हुनुहुन्थ्यो। उहाँ विवाह गर्ने विचारमा हुनुहुँदो रहेछ। त्यसैले मेरो विचार के छ भनेर सोध्नुभयो। मैले उहाँको विषयमा त्यसरी सोचेकै थिइनँ अनि उहाँले मलाई मन पराउनुहुन्छ जस्तो पनि लागेको थिएन। केही महिनापछि मैले उहाँलाई अझ राम्ररी चिन्न चाहेको कुरा बताएँ। हामी दुई जनाको धेरै कुरा मिल्दो रहेछ। दुवै जना पूर्ण-समय सेवा गर्न चाहन्थ्यौं र जस्तोसुकै असाइनमेन्ट स्वीकार्न पनि तयार थियौं। पछि हामीले विवाह गऱ्यौं। हाम्रो विवाहमा बुबाआमा लगायत थुप्रै आफन्तहरू आउनुभएको देख्दा मलाई धेरै खुसी लाग्यो।

नेपाल

विवाह गरेको केही समयपछि आत्सुसीले कार्यवाहक क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्ने जिम्मेवारी पाउनुभयो। त्यतिबेला हामी नियमित अग्रगामी सेवा गरिरहेका थियौं। त्यसको केही समयपछि नै हामीले थप आशिष्‌ पायौं। हामीले विशेष अग्रगामी गर्ने सुअवसर पायौं। त्यसपछि  आत्सुसी क्षेत्रीय निरीक्षकको रूपमा पनि नियुक्त हुनुभयो। एउटा क्षेत्रको सबै मण्डली भ्रमण गरेर सिद्धिएपछि हामीलाई शाखा कार्यालयबाट फोन आयो। शाखा कार्यालयले हामीलाई ‘तपाईंहरू नेपालमा परिभ्रमण कार्य गर्न चाहनुहुन्छ’ भनेर सोध्यो।

विभिन्न देशमा सेवा गर्दा मैले यहोवाबारे थुप्रै कुरा सिक्न सकें

हामी त्यत्ति टाढा जाँदा आमाबुबालाई कस्तो लाग्ला भनेर चिन्ता लाग्यो। त्यसैले मैले उहाँहरूलाई फोन गरें। बुबाले फोन उठाउनुभयो। मैले हाम्रो योजनाबारे बताएपछि उहाँले “तिमीहरू त राम्रो ठाउँमा जान लागेका रहेछौ” भन्नुभयो। एक हप्ताअघि मात्रै उहाँले आफ्नो साथीबाट नेपालको बारेमा लेखिएको एउटा किताब पाउनुभएको रहेछ। घुम्न जानै पर्ने ठाउँहरूमध्ये एउटा नेपाल पनि हो भनेर उहाँले सोचिरहनुभएको रहेछ।

नेपालका मिलनसार मानिसहरूसँगै सेवा गरिरहेको बेला हामीले अर्को आशिष्‌ पनि पायौं। त्यही समयमा हामीले बंगलादेशमा पनि परिभ्रमण कार्य गर्नुपर्ने भयो। त्यो ठाउँ नेपालबाट नजिकै छ, तर नेपालभन्दा धेरै फरक। प्रचार गर्ने तरिका पनि फरक-फरक थियो। नेपाल र बंगलादेशमा हामीले पाँच वर्ष सेवा गऱ्यौं। त्यसपछि हामीलाई फेरि जापानमै खटाइयो। अहिले हामी जापानमै परिभ्रमण कार्य गर्दै छौं।

जापान, नेपाल र बंगलादेशमा सेवा गर्दा मैले यहोवाबारे थुप्रै कुरा सिक्न सकें। यी देशहरूको संस्कृति र रहनसहन फरक-फरक छन्‌ अनि देशभित्रै पनि थरीथरीका मानिसहरू छन्‌। यहोवाले प्रत्येकलाई कसरी ख्याल राख्नुहुन्छ, उनीहरूलाई कसरी आफ्नो साक्षीको रूपमा स्वीकार्नुहुन्छ, कसरी मदत गर्नुहुन्छ अनि कसरी आशिष्‌ दिनुहुन्छ भनेर मैले बुझ्न सकें।

मेरो विषयमा भन्नुपर्दा, यहोवाले मलाई उहाँबारे सिक्ने र उहाँको काम गर्ने सुअवसर दिनुभएको छ अनि माया गर्ने श्रीमान्‌ दिनुभएको छ। यहोवाले मलाई सही निर्णय गर्न पनि डोऱ्याइ रहनुभएको छ। यहोवासित र परिवारसित मेरो सम्बन्ध फेरि राम्रो भएको छ। उहाँको मदतले गर्दा नै म फेरि आमाको असल साथी बन्न सकेकी छु। परमेश्वर र आमासित मेरो सम्बन्ध फेरि राम्रो भएको छ। यसको लागि म यहोवाप्रति आभारी छु।

विभिन्न मण्डलीहरूको भ्रमण गर्न हामीलाई धेरै रमाइलो लाग्छ