अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) डिसेम्बर २०१५

जिब्रोको सदुपयोग गर्नुहोस्

जिब्रोको सदुपयोग गर्नुहोस्

“हे परमप्रभु, . . . मेरो मुखका वचनहरू . . . तपाईंको दृष्टिमा ग्रहणयोग्य होऊन्‌।”—भज. १९:१४.

गीत: ८२, ७७

१, २. जिब्रोलाई आगोसित तुलना गर्नु किन उपयुक्त छ?

सन्‌ १८७१ को अक्टोबर महिनामा अमेरिकाको इतिहासमा एउटा अविस्मरणीय घटना घट्यो। त्यहाँको उत्तर-पूर्वमा पर्ने विसकन्सन भन्ने ठाउँको जङ्गलमा विनाशकारी डढेलो लाग्यो। डढेलोको कारण १,२०० भन्दा धेरै मानिसले ज्यान गुमाए र हेर्दाहेर्दै दुई अरब रूख खरानी भए। जङ्गलको बाटो हुँदै गुडिरहेको रेलबाट निस्केको सानो झिल्कोले यस्तो भयङ्कर रूप लिएको अनुमान गरिन्छ। यो घटनाले याकूब ३:५ मा लेखिएका यी शब्दहरू सत्य छन्‌ भनेर देखाउँछ, “बडेमानको जङ्गलमा डढेलो लगाउन आगोको सानो झिल्का मात्र भए पुग्छ!” याकूबले यस्तो उदाहरण चलाउनुको कारण के थियो?

पद ६ मा तिनले यसो भने, “जिब्रो पनि आगै हो।” जिब्रोले हाम्रो बोलीलाई सङ्केत गर्छ। आगोले जस्तै हाम्रो बोलीले पनि ठूलो विनाश निम्त्याउन सक्छ। बाइबलले “जीवन र मृत्युको शक्ति बोलीमा रहन्छ” पनि भनेको छ। (हितो. १८:२१) एकछिन विचार गर्नुहोस्: आगोले हानि पुऱ्याउन सक्छ भन्दैमा के हामी आगो बाल्नै छोड्छौं त? अहँ, छोड्दैनौं। त्यसैगरि मुखबाट दुर्वचन निस्केला भन्ने चिन्ताले गर्दा बोल्नै छोड्ने कुरा आउँदैन। मुख्य कुरा भनेको, हामी होसियार हुनुपर्छ। आगोलाई सही तरिकाले चलायौं भने थुप्रै फाइदा हुन्छ; खाना पकाउन सक्छौं, शरीरलाई न्यानो बनाउन सक्छौं वा अँध्यारो कोठालाई उज्यालो पार्न सक्छौं। त्यसैगरि जिब्रोलाई सही तरिकाले चलायौं भने परमेश्वरको महिमा गर्न सक्छौं र अरूको हित हुने तरिकामा बोल्न सक्छौं।—भज. १९:१४.

३. हामी यस लेखमा कुन तीनवटा कुरा छलफल गर्नेछौं?

 बोलेर होस् वा हातको इसाराले, हामी आफ्नो विचार र भावना अरूलाई बताउन सक्छौं। यस्तो क्षमता यहोवाले दिनुभएको अमूल्य उपहार हो। अरूलाई चोट पुऱ्याउन नभई, तिनीहरूको उत्थान गर्न हामी यो उपहार कसरी चलाउन सक्छौं? (याकूब ३:९, १० पढ्नुहोस्) बोल्दा ध्यान दिनुपर्ने तीनवटा कुरा अब यस लेखमा छलफल गर्नेछौं। ती हुन्‌: कहिले बोल्ने, के बोल्ने र कसरी बोल्ने?

कहिले बोल्ने?

४. हामी कुन बेला चुप लागेर बस्नुपर्छ?

कुराकानी गर्न हामी सबैलाई मन पर्छ। तर त्यसो भन्दैमा जतिबेला पनि बोलेको बोल्यै गर्नुहुँदैन। बाइबलले “चुप्प लाग्ने एउटा समय छ” भनी बताउँछ। (उप. ३:७) जस्तै: अरूले केही भनिरहेको बेला बीचमा प्याच्चै बोल्नु हुँदैन। त्यसो गर्छौं भने तिनलाई आदर गरिरहेका हुँदैनौं। (अय्यू. ६:२४) अनि गोप्य राख्नुपर्ने कुरा अरूलाई बताउँदै हिंड्नु पनि हुँदैन। गोप्य कुरालाई गोप्य नै राख्दा विवेकी र समझदार भइरहेका हुन्छौं। (हितो. २०:१९) साथै, अरूले रिस उठाउँदा जिब्रोमा लगाम कस्नु पनि बुद्धिमानी हो।—भज. ४:४.

५. बोल्ने क्षमताको लागि यहोवाप्रति आभारी भएको कसरी देखाउन सक्छौं?

बाइबलले यसो पनि भन्छ, ‘बोल्ने एउटा समय छ।’ (उप. ३:७) साथीबाट सुन्दर उपहार पाउनुभयो भने तपाईं के गर्नुहुन्छ? थपक्क थन्काएर राख्नुहुन्छ कि प्रयोग गर्नुहुन्छ? साथीप्रति आभारी भएको देखाउन तपाईं त्यो उपहार सही तरिकाले प्रयोग गर्नुहुन्छ नि, होइन र? त्यसैगरि बोल्ने क्षमतालाई सही तरिकामा प्रयोग गरेर हामी यहोवाप्रति आभारी भएको देखाउन सक्छौं। हामी बोल्ने क्षमतालाई कसरी सही तरिकामा प्रयोग गर्न सक्छौं? अरूलाई आफ्नो भावना पोखाएर, आफूलाई चाहिएको कुरा बताएर, प्रोत्साहन दिएर अनि परमेश्वरको प्रशंसा गरेर। (भज. ५१:१५) त्यसोभए बोल्ने उपयुक्त “समय” कुन हो भनेर हामी कसरी पत्ता लगाउन सक्छौं?

६. ठीक समयमा बोल्ने विषयमा बाइबलले के भन्छ?

हितोपदेश २५:११ ले ठीक समयमा बोल्नु महत्त्वपूर्ण छ भनेर बताउँछ। त्यहाँ यस्तो लेखिएको छ, “ठीक बेलामा भनेको ठीक कुरा चाँदीको टोकरीमा सुनका स्याउहरूजस्तै हो।” सुनको स्याउ आफैमा सुन्दर देखिन्छ। त्यो स्याउलाई चाँदीको टोकरीमा राख्यौं भने त्यसको सुन्दरता झनै बढ्छ। त्यसैगरि कतिखेर बोल्नु राम्रो हो भनेर विचार गऱ्यौं भने हामीले बोलेको कुराले अरूको मन छुन्छ र तिनमा राम्रो प्रभाव पर्छ। हामी किन त्यसो भन्न सक्छौं?

७, ८. जापानका साक्षीहरूले कसरी येशूको अनुकरण गरे?

हामीले अरूलाई फाइदा पुग्ने कुरा नै भन्छौं होला तर त्यो कुरा ठीक समयमा भन्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। नत्र त हामीले भनेको कुरा ‘बालुवामा पानी हालेझैं’ हुन्छ। (हितोपदेश १५:२३ पढ्नुहोस्) जापानको उदाहरण विचार गरौं। सन्‌ २०११ को मार्चमा जापानको पूर्वी भागमा भूकम्प र त्यसपछि गएको सुनामीले पूरै सहर तहसनहस भयो। पन्ध्र हजारभन्दा धेरैले ज्यान गुमाए। त्यस समयमा अरू मानिसहरूलाई जस्तै यहोवाका साक्षीहरूलाई पनि धेरै गाह्रो भएको थियो। तैपनि उनीहरूले दुःखमा परेका मानिसहरूलाई बाइबलबाट सान्त्वना दिए। त्यहाँका धेरैजसो मानिसले बौद्ध धर्म मान्ने भएकोले तिनीहरूलाई बाइबलबारे कमै मात्र थाह छ, कोही-कोहीलाई त केही पनि थाह छैन। त्यसकारण मानिसहरू त्यस्तो कठिन अवस्थाबाट गुज्रिरहेको समयमा पुनर्जीवनको आशाबारे बताउनु उचित होइन भन्ने कुरा हाम्रा दाजुभाइ दिदीबहिनीले महसुस गरे। त्यसैले उनीहरूले पुनर्जीवनको आशाबारे बताउनुको सट्टा निर्दोष मानिसहरूले समेत किन दुःख भोग्नुपर्छ भन्ने विषयमा कुरा गरे र मानिसहरूलाई भावनात्मक मदत दिए।

एकपटक येशूले चेलाहरूलाई यसो भन्नुभएको  थियो, “मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन्‌ तर अहिले तिमीहरू ती बुझ्न सक्दैनौ।” (यूह. १६:१२) हो, कुन बेला बोल्नु हुन्छ, कुन बेला बोल्नु हुँदैन भनेर येशूलाई राम्ररी थाह थियो। (यूह. १८:३३-३७; १९:८-११) पूर्वी जापानका ती साक्षीहरूले येशूको अनुकरण गरे। सुनामी आएको साढे दुई वर्षपछि उनीहरूले के मरिसकेकाहरू फेरि बाँच्नेछन्‌? भन्ने विषयको राज्य समाचार नम्बर ३८ बाँड्ने विश्वव्यापी अभियानमा भाग लिए। यतिबेला चाहिं पुनर्जीवनको आशाबारे बताउँदा निकै फलदायी भयो। थुप्रैले पर्चा स्वीकारे र त्यसबाट धेरै सान्त्वना पाए। मानिसहरूको आस्था र परम्परा ठाउँअनुसार फरक-फरक हुन्छ। त्यसकारण कति बेला बोल्नु ठीक हो भन्ने कुरा सधैं मनमा राख्नुपर्छ।

९. हामीले कस्तो परिस्थितिमा बोल्दा होस पुऱ्याउनुपर्छ?

हामीले कहिलेकाहीं कति बेला बोल्नु ठीक हो भनेर विचार गर्नुपर्ने हुन्छ। जस्तै: कसैले राम्रै मनसाय राखेर हामीलाई केही भन्ला। तर तिनको कुराले हाम्रो चित्त दुख्न सक्छ। त्यतिबेला के गर्नु राम्रो हो? त्यो मामिला कत्तिको गम्भीर हो, त्यस विषयमा तिनीसित कुरा गर्नु आवश्यक छ कि छैन भनेर विचार गर्नुपर्छ। कुरा गर्नै पर्ने हो भने पनि केही समय पर्खनु राम्रो हो। नत्र त रिसको झोकमा हाम्रो मुखबाट अपशब्द निस्कन सक्छ। (हितोपदेश १५:२८ पढ्नुहोस्) बेग्लै धर्म मान्ने परिवारका सदस्य वा आफन्तहरूलाई आफ्नो विश्वासबारे बताउँदा पनि हामी विवेकी हुनुपर्छ। हामी उनीहरूले साँचो परमेश्वरलाई चिनेको चाहन्छौं। तर त्यसको लागि हामीले धैर्य गर्नुपर्छ र आस मार्नु हुँदैन। उनीहरूसित सही समयमा, सही कुरा गऱ्यौं भने उनीहरू बाइबलबारे अझ धेरै बुझ्न इच्छुक हुन सक्छन्‌।

के बोल्ने?

१०. (क) हामीले किन विचार पुऱ्याएर बोल्नुपर्छ? (ख) हामीले कस्तो बोली बोल्नु हुँदैन?

१० हाम्रो बोलीले अरूलाई चोट पुऱ्याउने र निको पार्ने दुइटै काम गर्छ। (हितोपदेश १२:१८ पढ्नुहोस्) सैतानले कब्जा जमाएको यस संसारमा अरूलाई “तीतो वचन”-ले घोच्नु सामान्य भइसकेको छ। मानिसहरू “तरबारझैं” धारिलो र ‘काँडझैं’ तीखो वचन बोल्छन्‌। (भज. ६४:३) टिभी कार्यक्रम र फिल्मले पनि त्यस्तै कुराहरूलाई बढावा दिन्छ। तर हामी ख्रीष्टियनहरूले भने त्यस्तो कुराको सिको गर्नु हुँदैन। जस्तै: अहिले मानिसहरू अरूलाई होच्याउन वा उनीहरूको आलोचना गर्न व्यङ्ग्य हान्ने गर्छन्‌। व्यङ्ग्य हानेर कुरा गर्दा रमाइलो त होला तर त्यसो गर्दा अरूको अनादर हुन्छ र उनीहरूको मान-प्रतिष्ठामा दाग लाग्न सक्छ। यस्तो बोली ख्रीष्टियनहरूले ‘त्याग्नै पर्ने’ दुर्वचनमध्ये एउटा हो। कहिलेकाहीं हामीले अरूलाई हँसाउने उद्देश्यले मात्र केही भनेका हुन सक्छौं। तर त्यस्तो बोलीले अरूको चित्त दुख्छ र अरूलाई लाजमा पार्छ भने त्यसरी बोल्नु ठीक होइन। बाइबल यसो भन्छ, “तिमीहरूको मुखबाट सडेको वचन ननिस्कोस्, बरु आवश्यकताअनुसार अरूको उत्थान गर्ने असल वचन निस्कोस्, ताकि सुन्नेहरूलाई त्यसबाट फाइदा होस्।”—एफि. ४:२९, ३१.

११. हाम्रो बोली र मनबीच कस्तो सम्बन्ध छ?

११ येशूले “मनमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ” भन्नुभएको थियो। (मत्ती १२:३४) त्यसकारण के बोल्ने भन्ने कुरा हाम्रो मनदेखि सुरु हुन्छ। मनमा अरूप्रति कस्तो भावना छ, त्यो हाम्रो बोलीमा देखिन्छ। मनमा अरूप्रति माया छ वा हाम्रो मन दयाले भरिएको छ भने मात्र हाम्रो बोली सकारात्मक र अरूको उत्थान गर्ने किसिमको हुन्छ।

१२. हामी कसरी सही शब्दहरू छान्न सक्छौं?

१२ बोल्दा के-कस्तो शब्द चलाउने भनेर हामीले निकै सोचविचार गर्नुपर्छ। बुद्धिमान्‌ राजा सुलेमानले समेत “मीठा मीठा शब्द” छानेर “सत्य” कुरा लेख्न ‘धेरै विचार गरे।’ (उप. १२:९, १०) तपाईंले आफूसित त्यस्ता मीठासपूर्ण शब्दहरू नभएको महसुस गर्नुभएको छ कि? त्यसोभए आफ्नो शब्द भण्डार बढाउनुहोस्। बाइबलमा र हाम्रा प्रकाशनहरूमा कसरी  शब्द खेलाइएको छ, त्यो याद गर्नुहोस्। आफूले त्यत्ति नसुनेका शब्दहरूको अर्थ बुझ्ने कोसिस गर्नुहोस्। सबैभन्दा महत्त्वपूर्ण कुरा, अरूलाई मदत पुग्ने तरिकामा ती शब्दहरू कसरी चलाउने भनेर सोच्नुहोस्। आफ्नो बुबाबाट शिक्षा पाएको विषयमा येशूले यसो भन्नुभयो, “थाकेकोलाई वचनले कसरी बल दिनु पर्ने हो सो जान्न सकूँ भनेर परमप्रभुले मलाई सिक्नेहरूको बोली दिनुभएको छ।” (यशै. ५०:४) आफूले भन्न लागेको कुराबारे पहिल्यै सोचविचार गऱ्यौं भने पनि सही शब्द छान्न मदत पाउँछौं। (याकू. १:१९) हामी आफैलाई यस्ता प्रश्नहरू सोधौं, ‘के यी शब्दहरूले मैले भन्न लागेको कुरा स्पष्ट पार्छ? मैले चलाउने शब्दहरूले अरूलाई कस्तो असर गर्छ?’

१३. हामीले किन स्पष्ट बोल्नुपर्छ?

१३ पुरातन इस्राएलमा मानिसहरूलाई एक ठाउँमा भेला गर्न, सभा सिद्धिएको जनाउ दिन र सेनालाई लडाइँको लागि तयार पार्न बिगुल फुक्ने गरिन्थ्यो। हाम्रो बोली सबैले बुझ्ने किसिमको हुनुपर्छ भनेर बुझाउन बाइबलमा बोलीलाई बिगुलको आवाजसित तुलना गरिएको छ। बिगुलको आवाज स्पष्ट सुनिएन भने सिपाहीहरू अघि बढ्ने कि नबढ्ने भनेर अलमल्लमा पर्न सक्थे। त्यसैगरि हाम्रो बोली स्पष्ट छैन र घुमाइफिराइ बोल्ने बानी छ भने हाम्रो कुरा सुन्ने मानिस अलमल्लमा पर्न सक्छ; कहिलेकाहीं त गलत अर्थ समेत लाग्न सक्छ। हुन त हामी आफ्नो कुरा खुलस्त बताउन चाहन्छौं। तर त्यसो भन्दैमा ठाडो वा छुच्चो बोली बोल्नु पनि राम्रो होइन।१ कोरिन्थी १४:८, ९ पढ्नुहोस्।

१४. येशू सबैले बुझ्ने तरिकामा बोल्नुहुन्थ्यो भनेर हामी किन भन्न सक्छौं?

१४ बोल्दा सही शब्द छनौट गर्ने सन्दर्भमा येशूले सबैभन्दा राम्रो उदाहरण बसाल्नुभएको छ। मत्ती अध्याय ५ देखि ७ सम्म रेकर्ड गरिएको येशूको उपदेशबारे विचार गर्नुहोस्। त्यतिबेला उहाँले गाह्रो वा अर्थको अनर्थ लाग्ने शब्दहरू चलाउनुभएन। साथै कठोर वा चित्त दुख्ने तरिकामा पनि बोल्नुभएन। बरु उहाँले आफ्ना श्रोताहरूको मन छुन सरल र स्पष्ट तरिकामा बोल्नुभयो। जस्तै: भरे-भोलि के खाने भनेर बढ्तै चिन्ता नलिन मानिसहरूलाई उहाँले सरल तरिकामा बुझाउनुभयो। उहाँले आकाशका चराचुरुङ्गीलाई यहोवाले कसरी खुवाउनुहुन्छ भन्ने कुरातर्फ श्रोताहरूको ध्यान खिच्नुभयो। तिनीहरूलाई चराचुरुङ्गीसित तुलना गर्दै उहाँले यसो भन्नुभयो, “के तिमीहरू तिनीहरूभन्दा धेरै मोलका छैनौ र?” (मत्ती ६:२६) येशूले यसरी मायालु तरिकामा अनि सरल र स्पष्ट तरिकामा सिकाउनुभएकोले धेरैको मन छोयो। अब हामी बोल्दा ध्यान दिनुपर्ने तेस्रो कुराबारे छलफल गर्नेछौं।

कसरी बोल्ने?

१५. हामी किन विनम्र भएर बोल्नुपर्छ?

१५ हामी के बोल्छौं, त्यो मात्र होइन, कसरी बोल्छौं, त्यो पनि महत्त्वपूर्ण छ। येशूले आफू हुर्केको सहर नासरतको सभाघरमा बोल्नुहुँदा “उहाँले बोल्नुभएका मनमोहक वचन सुनेर [मानिसहरू] छक्क परे।” (लूका ४:२२) मनमोहक बोली अर्थात्‌ विनम्र बोलीले अरूको मन छुन्छ र हामीले बोलेको कुरा अझ वजनदार हुन्छ। विनम्र भएर बोल्दा मानिसहरूलाई हाम्रो कुरा सुनुँ-सुनुँ लाग्छ। (हितो. २५:१५) हामी अरूलाई आदर गर्छौं र उनीहरूको भावनाको ख्याल राख्छौं भने उनीहरूसित दयालु तरिकामा अनि विनम्र भएर बोल्छौं। येशूलाई नै विचार गर्नुहोस्। आफ्नो कुरा सुन्न मानिसहरूले गरेको प्रयास देखेर येशू टिठाउनुभयो। त्यसैकारण उहाँले “तिनीहरूलाई धेरै कुरा सिकाउन थाल्नुभयो।” (मर्कू. ६:३४) अनि मानिसहरूले उहाँलाई गाली गर्दा समेत उहाँले गाली फर्काउनुभएन।—१ पत्रु. २:२३.

१६, १७. (क) परिवारका सदस्यहरूसित वा घनिष्ठ साथीहरूसित कुराकानी गर्दा हामी कसरी येशूको अनुकरण गर्न सक्छौं? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्) (ख) विनम्र भएर बोल्दा कस्तो फाइदा हुन्छ? अनुभव बताउनुहोस्।

१६ हामीलाई हरेक दिन सङ्गत गर्ने मानिसहरूसित विनम्र भएर अनि विचार पुऱ्याएर कुरा  गर्न गाह्रो लाग्न सक्छ। विशेषगरि परिवारका सदस्यहरूसित वा घनिष्ठ साथीहरूसित। ‘तिनीहरूसित जसरी कुरा गरे पनि भइहाल्छ नि’ भन्ने हामीलाई लाग्न सक्छ। येशू आफ्ना चेलाहरूसित निकै घनिष्ठ हुनुहुन्थ्यो। तर त्यसो भन्दैमा के उहाँले उनीहरूसित रूखो तरिकामा अनि मनपरी बोल्नुभयो? अहँ, बोल्नुभएन। सबैभन्दा ठूलो को हो भन्ने विषयमा विवाद परेको बेला चेलाहरूलाई सुधार्दा समेत उहाँ दयालु हुनुभयो अनि उनीहरूलाई सानो बालकको उदाहरण दिएर सम्झाउनुभयो। (मर्कू. ९:३३-३७) एल्डरहरूले पनि मण्डलीका सदस्यहरूलाई ‘नम्र’ हुँदै सल्लाह दिएर येशूको अनुकरण गर्न सक्छन्‌।—गला. ६:१.

१७ कसैले हाम्रो चित्त दुखाए पनि तिनीसित विनम्र भएर बोल्दा नतिजा राम्रो हुन सक्छ। (हितो. १५:१) एउटी एक्ली आमाको अनुभव विचार गर्नुहोस्। तिनका किशोरावस्थाका छोराले दोहोरो जीवन बिताइरहेका थिए। राम्रै मनसाय राखेर एक बहिनीले तिनलाई यसो भनिन्‌, “बहिनी, छोरालाई तह लगाउन तपाईंलाई साह्रै गाह्रो भयो हगि।” ती आमाले एकछिन सोचिन्‌ अनि नम्र हुँदै यसरी जवाफ दिइन्‌, “त्यही त, गाह्रै छ। तर उसलाई अझै सिकाउँदै छु। बिस्तारै सुध्रेला नि। म कत्तिको सफल भएँ, त्यो त आरमागेडोनपछि नै थाह होला।” यसरी विनम्र भई जवाफ दिंदा ती दुई जना बहिनीको सम्बन्ध बिग्रन पाएन। छोरा चाहिंले पनि त्यो कुराकानी सुनेको थियो। आफूलाई सुधार्न आमाले हार मान्नुभएको रहेनछ भन्ने कुरा बुझेपछि उसले आफूमा सुधार ल्यायो। उसले खराब सङ्गत छोड्यो। पछि उसले बप्तिस्मा गऱ्यो र बेथेल सेवाको निम्तो पनि पायो। मण्डलीका साथीभाइ, परिवार वा अपरिचित व्यक्तिहरूसित कुराकानी गर्दा हाम्रो बोली पनि “नुनले स्वादिलो पारेको जस्तो दयालु” हुनुपर्छ।—कल. ४:६.

१८. येशूको अनुकरण गर्दा कस्तो फाइदा हुन्छ?

१८ आफ्नो विचार र भावना अरूलाई बताउन सक्ने यस्तो क्षमता यहोवाले हामीलाई दिनुभएको अमूल्य उपहार हो। त्यसकारण येशूको अनुकरण गर्दै ठीक समयमा, सही शब्दहरू चलाउँदै अनि विनम्र भएर बोलौं। यसो गऱ्यौं भने हाम्रो बोली अरूलाई निको पार्ने औषधीसरह हुन्छ र हामीलाई यस्तो क्षमता दिनुहुने यहोवा पनि खुसी हुनुहुनेछ।