सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा—अध्ययन संस्करण  |  नोभेम्बर २०१५

किशोरावस्थाका छोराछोरीलाई यहोवाको सेवा गर्न तालिम दिनुहोस्

किशोरावस्थाका छोराछोरीलाई यहोवाको सेवा गर्न तालिम दिनुहोस्

“येशू झन्‌-झन्‌ बुद्धिमान्‌ हुँदै अनि हुर्कंदै जानुभयो र उहाँमाथि परमेश्वर अनि मानिसहरूको अनुग्रह पनि बढ्दै गयो।”—लूका २:५२.

गीत: ४१, ८९

१, २. (क) छोराछोरी किशोरावस्थामा पुग्दा आमाबुबालाई कस्तो चिन्ता लाग्न सक्छ? (ख) किशोरकिशोरीको अगाडि उन्नति गर्ने के-कस्ता मौकाहरू छन्‌?

छोराछोरीले बप्तिस्मा गरेको देख्दा ख्रीष्टियन आमाबुबा खुसीले गद्गद हुन्छन्‌। बर्निस नाम गरेकी एउटी आमाले त्यस्तै अनुभव गरिन्‌। उनका चारै जना छोराछोरीले १४ वर्ष नपुग्दै बप्तिस्मा गरेका थिए। उनी यसो भन्छिन्‌: “छोराछोरीले बप्तिस्मा गरेको देख्दा हामी यत्ति रमायौं, शब्दमा वर्णन गर्नै सकिंदैन। उनीहरूले यहोवाको सेवा गर्ने निर्णय गरेकोमा हामीलाई धेरै खुसी लाग्यो। तर उनीहरूले किशोरावस्थामा आइपर्ने चुनौतीहरूको कसरी सामना गर्लान्‌ भन्ने चिन्ता पनि थियो।” तपाईंका छोराछोरी पनि किशोरावस्थामा छन्‌ वा किशोरावस्थामा प्रवेश गर्दै छन्‌ भने बहिनी बर्निसले त्यस्तो चिन्ता गर्नुको कारण सजिलै बुझ्न सक्नुहुन्छ।

आमाबुबा र छोराछोरी दुवैको लागि किशोरावस्था चुनौतीपूर्ण समय हो। बाल मनोविज्ञानका एक विशेषज्ञ यसो भन्छन्‌: “किशोरावस्थामा पुगेका केटाकेटीलाई मानिसहरू ‘ढङ्ग नपुगेको’ अथवा ‘आलोकाँचो’ भन्ने गर्छन्‌। तर यो जीवनकै महत्त्वपूर्ण अवस्था हो। यो उमेरका केटाकेटीमा तीव्र रूपमा भावनात्मक, सामाजिक र बौद्धिक विकास भइरहेको हुन्छ।” त्यसकारण किशोरकिशोरीले यहोवासित घनिष्ठ सम्बन्ध विकास गर्न सक्छन्‌, विभिन्न आध्यात्मिक लक्ष्य राखेर त्यो लक्ष्यमा पुग्न सक्छन्‌ अनि यहोवालाई जीवन समर्पण गरेर त्यसैअनुसार  जीवन बिताउन अगाडि बढ्न सक्छन्‌। किशोरावस्था आध्यात्मिक रूपमा प्रगति गर्दै जाने राम्रो मौका हो भनेर उनीहरूले अनुभव गर्न सक्छन्‌। येशू पनि सानैदेखि आध्यात्मिक रूपमा बढ्दै जानुभयो। (लूका २:५२ पढ्नुहोस्) जीवनको यस्तो महत्त्वपूर्ण अनि चुनौतीपूर्ण मोडमा तपाईं छोराछोरीलाई कसरी मदत गर्न सक्नुहुन्छ? वयस्क भएपछि येशूले माया, नम्रता र अन्तरदृष्टि जस्ता गुणहरू कसरी व्यवहारमा उतार्नुभयो अनि किशोरकिशोरीलाई यहोवाको सेवा गर्न तालिम दिंदा यी गुणहरूले तपाईंलाई कसरी मदत गर्छ, विचार गरौं।

किशोरावस्थाका छोराछोरीलाई माया गर्नुहोस्

३. येशू चेलाहरूको मित्र बन्नुभयो भनेर किन भन्न सकिन्छ?

येशू आफ्ना चेलाहरूलाई माया गर्नुहुन्थ्यो। उहाँ तिनीहरूको मित्र बन्नुभयो। (यूहन्ना १५:१५ पढ्नुहोस्) पुरातन इस्राएलमा मालिकले दासलाई आफ्नो व्यक्तिगत कुरा र आफ्नो भावना बताउने चलन थिएन। तर येशू आफ्ना चेलाहरूको मालिक मात्र होइन मित्र पनि बन्नुभयो। उहाँ तिनीहरूसित समय बिताउनुहुन्थ्यो, आफ्नो मनको कुरा खोल्नुहुन्थ्यो र चेलाहरूको कुरा पनि ध्यान दिएर सुन्नुहुन्थ्यो। (मर्कू. ६:३०-३२) त्यस्तो खुलस्त कुराकानीले गर्दा येशू र चेलाहरूबीचको सम्बन्ध बलियो भयो र उहाँले चेलाहरूलाई अझ महत्त्वपूर्ण जिम्मेवारीहरू बोक्न तयार पार्नुभयो।

४. तपाईं कसरी छोराछोरीको साथी बन्न सक्नुहुन्छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)

दुई छोराछोरीका बुबा मिखाएल यसो भन्छन्‌: “हामी छोराछोरीको दौंतरी हुन नसके पनि साथी चाहिं अवश्य हुन सक्छौं।” साथीहरू एकअर्कासित धेरै समय बिताउँछन्‌। त्यसैले छोराछोरीसित समय बिताउन आफ्नो जागिर वा अन्य काममा केही छाँटकाँट गर्न सक्नुहुन्छ कि, विचार गर्नुहोस्। साथीहरू सँगै मिलेर रमाइलो पनि गर्छन्‌। तपाईं पनि छोराछोरीसित रमाइलो गर्नुहोस्। उनीहरूलाई मन पर्ने सङ्गीत सुन्ने, फिल्म हेर्ने वा खेल खेल्ने गर्नुहोस्। इटालीमा बस्ने इलारिया यसो भन्छिन्‌: “मेरो बुबाआमाले मसँगै बसेर मलाई मन पर्ने सङ्गीत सुन्नुहुन्थ्यो। बुबा मेरो सबैभन्दा मिल्ने साथी बन्नुभयो। त्यसकारण उहाँसित गम्भीर विषयमा कुरा गर्न मलाई कहिल्यै अप्ठेरो लागेन।” छोराछोरीको साथी बन्दा कतै उनीहरूले तपाईंलाई हल्कासित लिने हो कि भनेर चिन्ता नगर्नुहोस्। (भज. २५:१४) छोराछोरीसित साथीजस्तै घनिष्ठ हुँदा उनीहरूले तपाईंको माया महसुस गर्नेछन्‌; तपाईं उनीहरूको कदर गर्नुहुन्छ भन्ने कुरा पनि बुझ्नेछन्‌। साथै, उनीहरू यहोवासित “घनिष्ठ” हुनेछन्‌। अर्कोतिर छोराछोरीलाई पनि तपाईंसित कुरा गर्न अप्ठेरो लाग्नेछैन। अनि उनीहरूले तपाईंलाई आफ्नो मनको कुरा खुलेर बताउनेछन्‌।

५. तनमनले यहोवाको सेवा गर्दा पाइने आनन्द अनुभव गर्न येशूले चेलाहरूलाई कसरी मदत गर्नुभयो?

तनमनले यहोवाको सेवा गर्दा जुन आनन्द पाइन्छ, त्यो आनन्द आफ्ना प्यारा मित्रहरूले पनि अनुभव गरेको येशू चाहनुहुन्थ्यो। त्यसकारण तिनीहरूलाई यहोवाको सेवामा जोसिलो हुन सल्लाह दिनुभयो। तिनीहरू चेला बनाउने काममा उत्साहित भएर लागेको येशू चाहनुहुन्थ्यो। यो काम राम्रोसँग पूरा गर्न चेलाहरूलाई साथ दिने प्रतिज्ञा पनि उहाँले गर्नुभयो।—मत्ती २८:१९, २०.

६, ७. आमाबुबाले आध्यात्मिक गतिविधिमा नियमित भाग लिंदा छोराछोरीमा कस्तो प्रभाव पर्छ?

के तपाईं आफ्ना छोराछोरी यहोवासित घनिष्ठ भएको चाहनुहुन्छ? त्यसोभए उनीहरूलाई यहोवा परमेश्वरको “डोऱ्याइबमोजिम अनुशासन अनि चेतावनी दिएर” हुर्काउनुहोस्। यहोवाले नै तपाईंलाई यो अख्तियार दिनुभएको हो। (एफि. ६:४) यो अख्तियार चलाउँदै छोराछोरीलाई यहोवाको सेवामा नियमित भाग लिने बानी बसाल्न मदत गर्नुहोस्। यो उदाहरण विचार गर्नुहोस्: तपाईं आफ्ना छोराछोरीलाई हरेक दिन स्कुल पठाउनुहुन्छ। किनकि तपाईं उनीहरू शिक्षित होऊन्‌ र उनीहरूले नयाँ-नयाँ कुराहरू सिकून्‌ भन्ने चाहनुहुन्छ। त्यसोभए तपाईंका छोराछोरीले मण्डलीका सभाहरू र अन्य आध्यात्मिक कार्यक्रमहरूबाट “यहोवाको डोऱ्याइ” पाएको पनि चाहनुहुन्न र? यहोवाको ज्ञान लिनु अत्यन्तै जरुरी छ। त्यसकारण आध्यात्मिक कुराको कदर गर्न र यहोवाले मात्र हामीलाई बुद्धिमान्‌ हुन सिकाउन सक्नुहुन्छ भनेर बुझ्न  छोराछोरीलाई मदत गर्नुहोस्। (हितो. २४:१४) मानिसहरूलाई यहोवाबारे सिकाउने जिम्मेवारीको कदर गर्न र प्रचारमा नियमित भाग लिन सिकाउनुहोस्। यसो गर्दा तपाईंले येशूको अनुकरण गर्दै छोराछोरीलाई जोसिलो भएर यहोवाको सेवा गर्न तालिम दिइरहनुभएको हुन्छ।

आमाबुबाले बाइबल पढाइ, सभा र प्रचारकार्यमा नियमित भाग लिंदा छोराछोरीमा कस्तो प्रभाव पर्छ? दक्षिण अफ्रिकामा बस्ने इरिन नाम गरेकी बहिनी भन्छिन्‌: “बाइबल अध्ययन गर्न अनि सभा र प्रचारमा जान हामीलाई साह्रै झिजो लाग्क्थ्यो; हामी रोइकराइ गरेर भए पनि टार्न खोज्ज्थ्यौं। पारिवारिक अध्ययन गर्न नपरोस् भनेर अनेक बहानाबाजी गर्थ्यौं। तर हाम्रो बुबाआमाले हार मान्नुभएन। उहाँहरूबाट मैले धैर्य गर्न सिकें। अहिले कुनै कारणवश मेरो आध्यात्मिक तालिका गडबड भयो भने सकेसम्म छिटो सुधार्न हतारिन्छु। बुबाआमा आध्यात्मिक तालिकामा अडिग नहुनुभएको भए मैले यस्तो राम्रो बानी विकास गर्न सक्ने थिइनँ। उहाँहरूले हार मान्नुभएको भए अहिले सजिलै सभाहरू वा अन्य आध्यात्मिक गतिविधि छुटाइरहेको हुन्थें होला।”

तपाईंको नम्रता देखेर छोराछोरीले सिकून्‌

८. (क) येशूले कसरी नम्रता देखाउनुभयो? (ख) येशू नम्र हुनुभएकोले चेलाहरूमा कस्तो प्रभाव पऱ्यो?

येशू त्रुटिरहित हुनुहुन्थ्यो। तैपनि आफूलाई यहोवाको मदत चाहिन्छ भन्ने कुरा स्वीकार्दै उहाँमा भर पर्नुभयो। (यूहन्ना ५:१९ पढ्नुहोस्) येशूको यस्तो नम्रता देखेर के चेलाहरूले उहाँलाई आदर गर्न छोडे त? अहँ, छोडेनन्‌। वास्तवमा उहाँले यहोवामाथि जत्ति धेरै भरोसा राख्नुभयो, चेलाहरूले पनि उहाँलाई त्यत्ति नै भरोसा गरे। पछि तिनीहरू पनि येशूजस्तै नम्र भए।—प्रेषि. ३:१२, १३, १६.

९. तपाईंले आफ्नो गल्ती वा सीमितता स्वीकार्दा किशोरकिशोरीमा कस्तो प्रभाव पर्छ?

हामी येशूजस्तो त्रुटिरहित होइनौं। हामीमा थुप्रै सीमितता छन्‌। हामीबाट घरीघरी गल्ती हुन पुग्छ। त्यसकारण नम्र भएर आफ्नो गल्ती स्वीकार्नुपर्छ। (१ यूह. १:८) तपाईं कुनै अफिसमा काम गर्नुहुन्छ भने कस्तो हाकिमलाई बढी आदर गर्नुहुन्छ? आफ्नो गल्ती स्वीकार्ने हाकिमलाई कि कहिल्यै माफी नमाग्ने हाकिमलाई? आमाबुबाले माफी मागेको देख्दा छोराछोरीले तिनीहरूलाई अझ धेरै आदर गर्नेछन्‌। साथै, उनीहरूले पनि आफ्नो गल्ती स्वीकार्न सिक्छन्‌। तीन छोराछोरीकी आमा रोजमेरी यसो भन्छिन्‌: “हामी आफ्नो गल्ती स्वीकार्थ्यौं। त्यसैले छोराछोरीहरू धक नमानी हामीसित कुरा गर्न आउँथे। हामीलाई आफ्नो सीमितता थाह थियो। त्यसैले छोराछोरीले केही सोध्दा आफ्नै तरिकाले नबताई बाइबलले सबैभन्दा राम्रो सल्लाह दिन्छ भनेर सिकाउँज्थ्यौं। उनीहरूलाई हाम्रा साहित्यबाट लेखहरू देखाउँज्थ्यौं अनि उनीहरूसँगै बसेर प्रार्थना गर्थ्यौं।”

१०. चेलाहरूलाई आदेश वा निर्देशन दिंदा येशूले कसरी नम्रता देखाउनुभयो?

१० येशूसित चेलाहरूलाई आदेश दिने अख्तियार थियो। तैपनि उहाँ नम्र हुनुभएकोले कुनै आदेश वा निर्देशन दिंदा त्यसको कारण पनि बताउनुहुन्थ्यो। जस्तै: उहाँले चेलाहरूलाई परमेश्वरको राज्य र उहाँको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिन निर्देशन मात्र दिनुभएन। तर यसो पनि भन्नुभयो: “अनि यी सबै कुरा तिमीहरूलाई दिइनेछ।” साथै, चेलाहरूलाई “अरूको न्याय गर्न छोडिहाल” भनेर निर्देशन दिएपछि त्यसको कारण यसरी बताउनुभयो: “ताकि तिमीहरूको पनि न्याय नगरियोस्। किनकि तिमीहरूले जसरी अरूको न्याय गर्छौ त्यसरी नै तिमीहरूको न्याय गरिनेछ।”—मत्ती ६:३१–७:२.

११. आमाबुबाले कुनै नियम बनाउँदा वा निर्णय गर्दा कारण पनि बताउनु किन राम्रो हो?

११ परिवारको लागि कुनै नियम बनाउँदा वा कुनै निर्णय गर्दा उपयुक्त भएसम्म त्यसको कारण पनि बताउनुहोस्। तपाईंका छोराछोरीले कारण राम्ररी बुझेका छन्‌ भने तपाईंको आज्ञा मान्न पनि इच्छुक हुनेछन्‌। चार जना छोराछोरी हुर्काइसकेको ब्यारी यसो भन्छन्‌: “कुनै निर्णय गर्दा त्यसको कारण पनि बताउनुभयो भने छोराछोरीले तपाईंलाई भरोसा गर्नेछन्‌। तपाईंले हचुवाको भरमा निर्णय गर्नुभएको होइन, तपाईं घरीघरी कुरा बदल्नुहुन्न र तपाईंको निर्णय व्यावहारिक छ  भनेर उनीहरूले बुझ्ने छन्‌।” वयस्क हुँदै जाँदा किशोरकिशोरीले “आफ्नो सोचविचार गर्ने क्षमता” पनि चलाउँछन्‌। (रोमी १२:१) ब्यारी भन्छन्‌: “भावनामा बहेर निर्णय गर्नु हुँदैन, बरु कुनै निर्णय गर्नुअघि त्यसको आधार पनि पत्ता लगाउनुपर्छ भनेर किशोरकिशोरीलाई बुझाउनुपर्छ।” (भज. ११९:३४) कुनै निर्णय गर्दा नम्र भएर त्यसको कारण पनि बताउने गर्नुभयो भने तपाईं आफ्ना छोराछोरीलाई परिपक्व पुरुष वा स्त्रीलाई जस्तै व्यवहार गर्दै हुनुहुन्छ भनेर देखिन्छ र त्यो कुरा छोराछोरीले पनि महसुस गर्नेछन्‌। अन्तमा, उनीहरूले पनि “आफ्नो सोचविचार गर्ने क्षमता” चलाएर निर्णय गर्न सिक्ने छन्‌।

किशोरकिशोरीको भावना बुझ्न अन्तरदृष्टि चलाउनुहोस्

१२. पत्रुसलाई मदत गर्न येशूले कसरी अन्तरदृष्टि चलाउनुभयो?

१२ चेलाहरूलाई कुन क्षेत्रमा मदत चाहिएको छ भन्ने कुरा बुझ्न येशूले अन्तरदृष्टि चलाउनुभयो। एकपटक उहाँले आफू शत्रुको हातबाट मर्नुपर्छ भनेर बताउनुभयो। त्यतिबेला असलै मनसाय राखेर पत्रुसले येशूलाई त्यस्तो अनिष्ट कुरा नगर्न आग्रह गरे। तर तिनको त्यो सोचाइ गलत थियो। येशूले पत्रुस र अरू चेलाहरूलाई त्यस्तो सोचाइ नराख्न स्पष्ट सल्लाह दिनुभयो। साथै, आफ्नै बारेमा मात्र सोच्दा नतिजा कस्तो हुन्छ र आफूलाई इन्कार गर्दा कस्तो इनाम पाइन्छ, त्यो पनि बताउनुभयो। (मत्ती १६:२१-२७) येशूले भन्नुभएको कुराले पत्रुसको मन छोयो र तिनले त्यो कुरा लागू पनि गरे।—१ पत्रु. २:२०, २१.

१३, १४. (क) छोराछोरीको विश्वास ढलपल हुँदै छ भन्ने कुराको सङ्केत के हुन सक्छ? (ख) छोराछोरीको मनको कुरा बुझ्न तपाईं कसरी अन्तरदृष्टि चलाउन सक्नुहुन्छ?

१३ किशोरावस्थाका छोराछोरीलाई कस्तो मदत चाहिएको छ भनेर बुझ्न अन्तरदृष्टि चाहिन्छ। त्यसकारण अन्तरदृष्टि दिनुहोस् भनेर यहोवालाई प्रार्थना गर्नुहोस्। (भज. ३२:८) जस्तै: छोराछोरीको विश्वास ढलपल हुँदै छ भन्ने कुराको सङ्केत के हुन सक्छ? उसलाई सभा र प्रचारमा जान झिजो लाग्न थालेको छ कि? उसले मण्डलीका सदस्यहरूको आलोचना गर्न थालेको छ कि? अथवा एक्लै बस्न मन पराउँछ कि? यस्ता सङ्केतहरू देख्ने बित्तिकै छोराछोरीले गम्भीर गल्ती गरेर दोहोरो जीवन बिताउँदै छ भन्ने निष्कर्षमा पुगिहाल्नु हुँदैन। * अर्कोतर्फ, त्यस्ता सङ्केतहरूलाई हल्कासित लिनु अथवा ‘यो उमेरमा यस्तो भइहाल्छ नि’ भन्ने सोचाइ राख्नु पनि ठीक होइन।

छोराछोरीलाई मण्डलीमा साथीहरू बनाउन मदत गर्नुहोस् (अनुच्छेद १४ हेर्नुहोस्)

 १४ छोराछोरीको मनको कुरा बुझ्न अन्तरदृष्टि चलाउनुहोस्। उनीहरूलाई केही सोध्दै हुनुहुन्छ भने चोट पुग्ने गरी अथवा होच्याएर नसोध्नुहोस्। जस्तै: गहिरो इनारबाट पानी निकाल्दा डोरी हतारपतार तान्यौं भने पानी छचल्किएर पोखिन्छ। त्यसैगरि छोराछोरीसँग कुरा गर्दा उनीहरूलाई हप्कीदप्की गर्नुभयो भने तपाईंले उनीहरूको सोचाइ र मनको सबै कुरा बुझ्न सक्नुहुन्न। (हितोपदेश २०:५ पढ्नुहोस्) अनुच्छेद चारमा उल्लेख गरिएको इलारिया भन्छिन्‌: “किशोरी छँदा मेरो अगाडि दुइटा बाटो थियो। कि त यहोवालाई मन पर्ने काम गर्ने कि स्कुलका साथीहरूसित धेरै समय बिताउने। त्यसैले म दोधारमा परें। मनभित्र चलेको द्वन्द्वले गर्दा मेरो मुड बिग्रिरहन्थ्यो। यो कुरा आमाबुबाले याद गर्नुभएछ। एक साँझ उहाँहरू मसँग कुरा गर्न आउनुभयो र ‘के भयो? तिम्रो मुड ठीक छैन नि’ भनेर सोध्नुभयो। यत्तिकैमा म डाँको छोडेर रोएँ। मैले सबै कुरा बताएँ। उहाँहरूसित मदत पनि मागें। उहाँहरूले मलाई गम्लङ्ङ अङ्गालो हाल्दै ‘तिम्रो भावना बुझ्छौं’ भनेर थपथपाउनुभयो र मदत गर्ने वाचा पनि गर्नुभयो।” इलारियाको आमाबुबाले तिनलाई मण्डलीमा साथीहरू बनाउन मदत गरे।

१५. येशूले अर्को कुन क्षेत्रमा पनि अन्तरदृष्टि चलाउनुभयो? व्याख्या गर्नुहोस्।

१५ अरूको सकारात्मक पक्ष हेर्न पनि येशूले अन्तरदृष्टि चलाउनुभयो। जस्तै: नथनेल नाम गरेका मानिसले नासरतबाट येशू आउनुभएको रहेछ भनेर थाह पाएपछि यसो भनेका थिए: “नासरतबाट केही असल कुरा आउन सक्छ र?” (यूह. १:४६) तपाईंलाई नथनेल कस्ता मानिस हुन्‌ जस्तो लाग्यो? आलोचक? पूर्वाग्रही? वा विश्वास नभएको मानिस? येशूले अन्तरदृष्टि चलाएर नथनेलको सकारात्मक पक्ष हेर्नुभयो। उहाँले तिनको विषयमा यसो भन्नुभयो: “हेर, एक जना सच्चा इस्राएली, जसमा कुनै छल छैन।” (यूह. १:४७) येशू अरूको मन पढ्न सक्नुहुन्थ्यो। त्यसैले अरूमा भएको राम्रो कुरा हेर्नुभयो।

१६. असल गुणहरू विकास गर्न किशोरकिशोरीलाई कसरी मदत गर्न सक्नुहुन्छ?

१६ हुन त तपाईं छोराछोरीको मन पढ्न सक्नुहुन्न। तर अन्तरदृष्टि चलाएर उनीहरूमा भएको सकारात्मक पक्ष भने हेर्न सक्नुहुन्छ। छोराछोरीलाई “अटेरी” वा “बदमास” भन्ने नाम दिन हतार नगर्नुहोस्। त्यस्तो विचार मनमा समेत नराख्नुहोस्। तपाईंको छोराछोरीलाई सुध्रिन गाह्रो भइरहेको हुन सक्छ। त्यस्तो बेलामा पनि छोराछोरीमाथि भरोसा गरेको देखाउनुहोस् र उसले गरेको हरेक प्रयासको कदर गर्नुहोस्। उसले थोरै भए पनि सुधार गरेको छ भने, प्रशंसा गर्न कन्जुस्याइँ नगर्नुहोस्। कुनै जिम्मेवारी दिएर अथवा केही स्वतन्त्रता दिएर उसको असल पक्षलाई बलियो बनाउन मदत गर्नुहोस्। येशूले पनि त्यस्तै गर्नुभयो। नथनेललाई (जसलाई बारथोलोमाइ पनि भनिन्छ) भेटेको लगभग डेढ वर्षपछि येशूले तिनलाई आफ्नो प्रेषित नियुक्त गर्नुभयो र पछि तिनी जोसिलो प्रचारक भए। (लूका ६:१३, १४; प्रेषि. १:१३, १४) छोराछोरीको प्रशंसा गर्नुभयो र हौसला दिनुभयो भने उनीहरूले आफूलाई बेकामको ठान्ने छैनन्‌। साथै, यहोवाको नजरमा आफू बहुमूल्य छु भन्ने महसुस गर्नेछन्‌।

तालिम दिंदा अपार आनन्द पाइन्छ

१७, १८. छोराछोरीलाई यहोवाको सेवा गर्न तालिम दिइरहनुभयो भने नतिजा कस्तो हुन्छ?

१७ छोराछोरी हुर्काइरहेका आमाबुबाहरूले कहिलेकाहीं प्रेषित पावलले जस्तै महसुस गर्न सक्छन्‌, जसले धेरैलाई यहोवाबारे बुझ्न मदत गरेका थिए। कोरिन्थमा भएका आफ्ना आध्यात्मिक छोराछोरीलाई “प्रेम” गर्ने भएकोले तिनले ‘सङ्कष्ट र मनको वेदनासहित आँसुको धारा बगाएका’ थिए। (२ कोरि. २:४; १ कोरि. ४:१५) दुई छोरा र एक छोरी हुर्काइसकेका भिक्टर यसो भन्छन्‌: “छोराछोरी किशोरावस्थामा छँदा उनीहरूलाई हुर्काउन सजिलो भएन। तर हामीले उनीहरूसित बिताएका रमाइला क्षणहरूको तुलनामा ती चुनौतीहरू त केही पनि थिएन। यहोवाको मदतले गर्दा हामी छोराछोरीसित घनिष्ठ भइरह्यौं।”

१८ हुन त छोराछोरीलाई यहोवाको सेवा गर्ने तालिम दिन सजिलो छैन; तैपनि त्यसो गर्न नछोड्नुहोस्। उनीहरूलाई माया गर्नुहोस्। यसो गर्नुभयो भने उनीहरूले यहोवालाई जीवन समर्पण गर्नेछन्‌ अनि ‘सत्यमा चल्नेछन्‌।’ (३ यूह. ४) छोराछोरीको उन्नति देखेर तपाईंले अपार आनन्द पाउनुहुनेछ।

^ अनु. 13 आमाबुबाहरूले युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ (अङ्ग्रेजी) किताबको खण्ड १, पृष्ठ ३१७ र खण्ड २, पृष्ठ १३६-१४१ हेर्न सक्छन्‌।