अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) नोभेम्बर २०१५

परमेश्वरको शासनको सय वर्ष!

परमेश्वरको शासनको सय वर्ष!

“शान्तिका परमेश्वरले उहाँको इच्छा पूरा गर्न तिमीहरूलाई हर असल कुराले सुसज्जित पारून्‌।”—हिब्रू १३:२०, २१.

गीत: १३६, १४

१. राज्यको सुसमाचार सुनाउने काम येशूको लागि कत्तिको महत्त्वपूर्ण थियो? व्याख्या गर्नुहोस्।

मानिसहरूसित परमेश्वरको राज्यबारे कुरा गर्न येशूलाई असाध्यै रमाइलो लाग्क्थ्यो। पृथ्वीमा छँदा उहाँले अन्य विषयमा भन्दा परमेश्वरको राज्यबारे धेरै पटक चर्चा गर्नुभयो। प्रचारकार्यको दौडान उहाँले यस राज्यबारे १०० भन्दा धेरै पटक उल्लेख गर्नुभयो। उहाँले राज्यको सुसमाचार सुनाउने कामलाई निक्कै महत्त्वपूर्ण ठान्नुहुन्थ्यो।मत्ती १२:३४ पढ्नुहोस्।

२. येशूले मत्ती २८:१९, २० मा उल्लेख गरिएको आज्ञा दिनुहुँदा त्यहाँ कति जना उपस्थित थिए? त्यहाँ उपस्थित धेरैजसो मानिस ख्रीष्टियन बने भन्ने निष्कर्षमा किन पुग्न सक्छौं?

येशू पुनर्जीवित हुनुभएपछि ५०० भन्दा धेरै मानिसकहाँ देखा पर्नुभयो। तिनीहरू पछि गएर परमेश्वरको राज्यका प्रचारक हुन सक्थे। (१ कोरि. १५:६) त्यसैले “सबै जातिका मानिसहरू”-लाई राज्यको सुसमाचार सुनाउने आज्ञा येशूले त्यतिबेलै दिनुभएको हुनुपर्छ। तर प्रचार गर्न भने पक्कै सजिलो हुने थिएन। * येशूले भविष्यवाणी गर्नुभएझैं यो महान्‌ काम “यस युगको आखिरी समयसम्म”  चलिरहने थियो र त्यो भविष्यवाणी अहिले पूरा भइरहेको छ। तपाईंले पनि येशूको त्यो भविष्यवाणी पूरा गर्ने काममा भाग लिइरहनुभएको होला।—मत्ती २८:१९, २०.

३. सुसमाचार प्रचार गर्न यहोवाले हामीलाई के-कस्ता कुराले सुसज्जित पार्नुभएको छ?

प्रचार गर्ने आज्ञा दिनुभएपछि येशूले चेलाहरूसित यस्तो प्रतिज्ञा गर्नुभयो: “म सधैंभरि तिमीहरूसितै छु।” (मत्ती २८:२०) त्यसकारण सुसमाचार प्रचार गर्ने यो महान्‌ काम येशूको निगरानीमा हुनेथियो। यो काम पूरा गर्न यहोवा परमेश्वरले हामीलाई “हर असल कुराले” सुसज्जित पार्नुभएको छ। (हिब्रू १३:२०, २१) यस लेखमा त्यस्ता तीन वटा असल कुराबारे चर्चा गर्नेछौं। ती हुन्‌: (१) साधन, (२) तरिका र (३) तालिम। आउनुहोस्, बितेका सय वर्षमा प्रचारकार्यमा प्रयोग गरिएका केही साधनबारे छलफल गरौं।

राजा आफ्नो प्रजालाई प्रचार गर्न सुसज्जित पार्नुहुन्छ

४. प्रचारकार्यमा हामीले किन विभिन्न साधन प्रयोग गर्दै आएका छौं?

येशूले “राज्यको वचन”-लाई विभिन्न किसिमको जमिनमा छरिएको बीउसित तुलना गर्नुभयो। (मत्ती १३:१८, १९) बीउ राम्ररी अङ्कुराओस् भनेर किसानले सबैभन्दा पहिला विभिन्न औजार चलाएर माटोलाई नरम बनाउँछ। त्यसैगरि हाम्रा राजा येशू ख्रीष्टले पनि धेरैभन्दा धेरै मानिसले राज्यको सन्देश सुन्न पाऊन्‌ भनेर तिनीहरूको मन तयार पार्न विभिन्न किसिमको साधन दिनुभएको छ। कुनै-कुनै साधन केही वर्ष मात्र चलाइए भने कुनै-कुनै चाहिं अहिलेसम्म पनि प्रयोगमा छ। जेहोस्, यी सम्पूर्ण साधनले कुनै न कुनै तरिकामा हामीलाई प्रचारकको रूपमा अझ सिपालु हुन मदत गरेको छ।

५. सन्देश कार्ड के हो र यो कार्ड प्रचारकार्यमा कसरी चलाइन्थ्यो?

हाम्रा धेरै दाजुभाइ दिदीबहिनीलाई प्रचार गर्न सजिलो होस् भनेर सन्‌ १९३३ देखि सन्देश कार्ड प्रयोग गर्न थालियो। तीन इन्च चौडाइ र पाँच इन्च लम्बाइ भएको यो कार्डमा बाइबलको छोटो सन्देश हुन्थ्यो। समय-समयमा नयाँ सन्देश भएको कार्ड प्रकाशित गरिन्थ्यो। यो कार्ड प्रस्तुत गर्न सजिलो थियो। भाइ सि. डब्ल्यु. एर्लनमेयरले पहिलो पटक सन्देश कार्ड प्रयोग गरेर प्रचार गर्दा उहाँ दस वर्षको मात्र हुनुहुन्थ्यो। उहाँले यसो भन्नुभयो: “हामी सधैं यसरी कुराकानी थाल्थ्यौं, ‘कृपया, यो कार्ड पढ्नुहोस्।’ घरधनीले कार्ड पढिसकेपछि साहित्य दिएर आफ्नो बाटो लाग्ज्थ्यौं।”

६. सन्देश कार्डले कस्तो फाइदा पुऱ्यायो?

सन्देश कार्डले गर्दा अरू फाइदा पनि भयो। केही दाजुभाइ दिदीबहिनीलाई प्रचारकार्यमा भाग लिन त मन पर्थ्यो तर लाजले गर्दा वा के भन्ने भनेर थाह नभएकोले तिनीहरू प्रचारमा जान अप्ठ्यारो मान्थे। कोही-कोहीले चाहिं आफूले जाने-बुझे जति सबै कुरा बताउँथे, त्यही पनि केही मिनेटमै। तर तिनीहरूलाई कुराकानी गर्ने मेलोमेसो भने थाह थिएन। सन्देश कार्डमा शब्द थोरै भए पनि सरल र स्पष्ट भएकोले यो कार्डले नै प्रचारकहरूको “तर्फबाट बोल्थ्यो।”

७. सन्देश कार्ड चलाएर प्रचार गर्दा के-कस्ता चुनौतीहरू आए?

यो कार्ड प्रयोग गर्दा केही चुनौतीहरू पनि आए। लामो समयसम्म यहोवाको सेवा गर्नुभएको ग्रेस ए. इस्टेप भन्ने बहिनीले यसो भन्नुभयो: “कहिलेकाहीं त घरधनीले यसो भन्थे: ‘के छ यो कार्डमा? तपाईं नै भन्नुस् न!’” प्रचारमा भेटिने कसै-कसैले कार्डमा लेखिएको कुरा पढ्न सक्दैनथे। अरू कसै-कसैले चाहिं त्यो कार्ड आफूलाई दिएको होला भन्ठानेर कार्ड लिन्थे अनि ढोका ढ्याम्म बन्द गर्थे। बाइबलको सन्देश मन नपराउनेहरूले चाहिं कार्ड च्यातचुत पारिदिन्थे। तर मानिसहरूको प्रतिक्रिया जस्तोसुकै भए पनि प्रचारकहरूले अरूसित कुराकानी गर्न र आफूलाई राज्यको सुसमाचार प्रचार गर्ने मानिसको रूपमा चिनाउन सिकिरहेका थिए।

८. प्रचारकार्यमा फोनोग्राफ कसरी प्रयोग गरिन्थ्यो, व्याख्या गर्नुहोस्। (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)

सन्‌ १९३० को दशकमा र १९४० को दशक सुरु भएको केही वर्षसम्म प्रचार गर्न फोनोग्राफ  चलाइयो। यो साधन सानो भएकोले बोकेर जता पनि लैजान मिल्थ्यो। हाम्रा दाजुभाइहरूले यसलाई हारून भन्ने नाम दिएका थिए। किनकि यसले उनीहरूको तर्फबाट बोल्ने काम गर्थ्यो। (प्रस्थान ४:१४-१६ पढ्नुहोस्) घरधनीको अनुमति लिएर प्रचारकहरूले फोनोग्राफमा साढे चार मिनेट लामो बाइबल आधारित भाषण बजाउँथे। भाषण सुनिसकेपछि घरधनीलाई केही साहित्यहरू पनि दिन्थे। कुनै-कुनै ठाउँमा त भाषण सुन्न परिवारै भेला हुन्थे। सन्‌ १९३४ देखि वाच टावर सोसाइटीले प्रचारमा प्रयोग गर्न सजिलो हुने किसिमको फोनोग्राफ उत्पादन गर्न थाल्यो। फोनोग्राफमा बजाउन ९२ वटा विभिन्न विषयका भाषणहरू पनि तयार पारिएको थियो।

९. फोनोग्राफ चलाएर प्रचार गर्नु कत्तिको प्रभावकारी भयो?

एकचोटिको कुरा हो, हिलारी गस्लिन नाम गरेको घरधनीले बाइबलमा आधारित भाषण सुनेपछि प्रचारकसित एक हप्ताको लागि फोनोग्राफ मागेछन्‌। तिनी आफ्ना छिमेकीहरूलाई पनि राज्यको सन्देश सुनाउन चाहन्थे। खुसीको कुरा, पछि ती मानिसलाई भेट्न जाँदा बाइबलको सन्देशमा चासो भएका अरू मानिसहरू पनि प्रचारकलाई पर्खेर बसिरहेका थिए। पछि उनीहरूमध्ये केहीले बप्तिस्मा पनि गरे। हिलारीका दुई छोरी पनि यहोवाका साक्षी भए। पछि तिनीहरूले गिलियड स्कुलको निम्तो पाए र विदेशमा गएर सेवा गरे। सन्देश कार्ड जस्तै फोनोग्राफ पनि भर्खर-भर्खर प्रचारमा जान थालेका हाम्रा दाजुभाइ दिदीबहिनीको लागि वरदानै साबित भयो। समयको दौडान, हाम्रा राजा येशू ख्रीष्टले ईश्वरतान्त्रिक सेवा स्कुलमार्फत राज्यका प्रचारकहरूलाई मुखैले प्रचार गर्ने तालिम दिनुभयो।

सबै मानिसलाई प्रचार गर्न हर तरिका चलाइयो

१०, ११. सुसमाचार फैलाउन अखबार र रेडियो कसरी प्रयोग गरियो? यी तरिकाहरू किन प्रभावकारी थिए?

१० राजा येशू ख्रीष्टको निर्देशनमा परमेश्वरका सेवकहरूले धेरैभन्दा धेरै मानिसलाई प्रचार गर्न नयाँ-नयाँ तरिका चलाएका छन्‌। ‘खेतालाहरू थोरै’ भएको त्यो समयमा यसो गर्नु निक्कै आवश्यक थियो। (मत्ती ९:३७ पढ्नुहोस्) बीसौं शताब्दीको सुरुतिर सुसमाचार फैलाउन अखबार प्रयोग गरियो। यसले गर्दा प्रचारकहरू थोरै भएको ठाउँमा पनि थुप्रै मानिसले सुसमाचार सुन्न पाए। भाइ चार्ल्स टेज रसलले समाचार एजेन्सीलाई हरेक हप्ता बाइबलमा आधारित भाषण पठाउनुहुन्थ्यो। समाचार एजेन्सीले त्यो भाषण अमेरिका, क्यानाडा र युरोपका अखबारहरूमा छाप्न पठाउँक्थ्यो। सन्‌ १९१३ सम्ममा त २ हजार वटा विभिन्न अखबारमार्फत लगभग १ करोड ५० लाख मानिसले भाइ रसलको भाषण पढ्न थालिसकेका थिए।

११ भाइ रसलको मृत्युपछि सुसमाचार फैलाउन अर्को तरिका चलाइयो र त्यो तरिका पनि निक्कै प्रभावकारी भयो। सन्‌ १९२२, अप्रिल १६ मा भाइ जोसेफ एफ. रदरफोर्डले पहिलो पटक रेडियोमार्फत भाषण दिनुभयो र त्यो भाषण लगभग ५० हजार मानिसले सुने। सन्‌ १९२४, फेब्रुअरी २४ देखि हाम्रो सङ्गठनको आफ्नै रेडियो स्टेसन डब्ल्यु बि बि आरबाट बाइबलमा आधारित कार्यक्रमहरू प्रसारण गर्न थालियो। सुसमाचार फैलाउन प्रचारकहरूले चलाएको यो नयाँ तरिकाबारे डिसेम्बर १, १९२४ को प्रहरीधरहरा-मा (अङ्ग्रेजी) यस्तो लेखिएको थियो: “बाइबलको साँचो शिक्षा सिकाउन अहिलेसम्म प्रयोग गरिएका माध्यमहरूमध्ये सबैभन्दा प्रभावकारी र कम खर्चिलो माध्यम रेडियो नै हो भनेर हामीलाई पूरा विश्वास छ।” प्रचारकहरू थोरै भएको ठाउँका धेरै मानिसले रेडियोमार्फत पनि परमेश्वरको राज्यको सन्देश सुन्न पाए।

थुप्रै प्रचारकहरू सार्वजनिक साक्षीकार्यमा भाग लिन्छन्‌ र jw.org चलाएर प्रचार गर्छन्‌ (अनुच्छेद १२, १३ हेर्नुहोस्)

१२. (क) तपाईंलाई कस्तो किसिमको सार्वजनिक साक्षीकार्यमा भाग लिन रमाइलो लाग्छ? (ख) सार्वजनिक ठाउँमा प्रचार गर्न डर लाग्छ भने हामी कसरी त्यो डरलाई जित्न सक्छौ?

१२ अहिले सार्वजनिक साक्षीकार्यलाई विशेष जोड दिइएको छ। बसपार्क, रेल स्टेसन, सवारी साधन पार्किङ् गर्ने ठाउँ, सार्वजनिक स्थल र बजारमा मानिसहरूलाई प्रचार गर्न निक्कै प्रयास गरिंदै छ। के तपाईंलाई यीमध्ये कुनै ठाउँमा सार्वजनिक साक्षीकार्य गर्न डर लाग्छ? त्यसो हो भने लामो समयदेखि परिभ्रमण निरीक्षकको रूपमा सेवा गर्नुभएका भाइ  एन्जेलो मेनेरा, जुनियरले भन्नुभएको यो कुरा गहिरिएर विचार गर्नुहोस्: “प्रचार गर्ने हरेक नयाँ तरिकालाई हामीले यहोवाको सेवा गर्ने अर्को सुअवसर ठान्यौं, आफ्नो वफादारी प्रमाणित गर्ने मौकाको रूपमा हेऱ्यौं र निष्ठाको जाँच सम्झ्यौं। हामी यहोवाले अह्राउनुभएको जुनसुकै तरिकामा प्रचार गर्न तयार छौं भनेर देखाउन चाहन्थ्यौं।” बिलकुलै नयाँ तरिकामा प्रचार गर्ने निर्देशन आउँदा तपाईंलाई अप्ठ्यारो त लाग्छ होला। तैपनि त्यो निर्देशनअनुसार गर्न तयार हुनुभयो भने यहोवामाथि तपाईंको भरोसा र विश्वास बढ्छ अनि उहाँसित अझ नजिक हुनुहुनेछ।२ कोरिन्थी १२:९, १० पढ्नुहोस्।

१३. हाम्रो वेबसाइटले गर्दा सुसमाचार फैलाउन कसरी सजिलो भएको छ? यो साइट चलाएर प्रचार गर्दा तपाईंले कस्तो अनुभव बटुल्नुभएको छ?

१३ थुप्रै प्रचारकहरू मानिसहरूलाई हाम्रो वेबसाइट jw.org. बारे बताउन पनि मन पराउँछन्‌। यो वेबसाइटमा ७०० भन्दा धेरै भाषामा बाइबल आधारित साहित्यहरू पढ्न र डाउनलोड गर्न सकिन्छ। हरेक दिन १६ लाखभन्दा धेरै मानिसले हाम्रो वेबसाइट खोलेर हेर्छन्‌। रेडियो जस्तै हाम्रो वेबसाइट पनि असाध्यै विकट ठाउँहरूमा समेत सुसमाचार पुऱ्याउन सफल भएको छ।

सुसमाचारका प्रचारकहरूले तालिम पाएका छन्‌

१४. प्रचारकहरूलाई किन तालिमको आवश्यकता थियो? तिनीहरूलाई अझ सिपालु हुन कुन स्कुलले मदत गऱ्यो?

१४ सुसमाचार फैलाउन के-कस्ता साधन र तरिकाहरू चलाइयो भनेर हामीले बुझ्यौं। तर हाम्रो सङ्गठनले प्रचारकहरूलाई तालिम पनि दिंदै आएको छ। यदि प्रचारकहरूले तालिम नपाएको भए के हुन्थ्यो? फोनोग्राफमा भाषण सुनेपछि घरधनीले आफ्नो धारणा व्यक्त गर्दा प्रचारकले चित्तबुझ्दो जवाफ दिन सक्ने थिएनन्‌। अथवा कसैले सन्देश कार्ड पढेपछि बाइबलबारे थप कुरा बुझ्न इच्छुक हुँदा तिनलाई कसरी मदत गर्ने भनेर प्रचारकहरू अलमलमा पर्न सक्थे। त्यसैले भाइ नेथन एच. नोरले प्रचारकहरूलाई तालिम दिनुपर्ने आवश्यकता देख्नुभयो। उहाँलाई पवित्र शक्तिले नै त्यस्तो आवश्यकता बुझ्न मदत गरेको हुनुपर्छ। तर कसरी तालिम दिने? ईश्वरतान्त्रिक सेवा स्कुलमार्फत। यो स्कुल सन्‌ १९४३ देखि सञ्चालनमा आयो। यस स्कुलले हामीलाई अझ सिपालु प्रचारक हुन मदत गरेको छ।

१५. (क) ईश्वरतान्त्रिक सेवा स्कुलमा भाग लिंदा कसै-कसैले कस्तो अनुभव गरे? (ख) भजन ३२:८ मा यहोवाले गर्नुभएको प्रतिज्ञा तपाईंको सन्दर्भमा कसरी सत्य साबित भएको छ?

१५ धेरै जनालाई मञ्चमा गएर भाषण दिनु भने पछि ज्वरै आउँक्थ्यो। सन्‌ १९४४ मा खुलियो एस्से. रामु भन्ने भाइलाई ईश्वरतान्त्रिक सेवा स्कुलमा पहिलो पटक भाषण दिनुपर्दा त्यस्तै लागेको थियो। तिनले दोएग भन्ने बाइबल पात्रको विषयमा भाषण दिनुपर्ने थियो, जुन पात्रबारे बाइबलमा जम्मा पाँच पटक  मात्र उल्लेख गरिएको छ। तिनले यसो भने: “मेरो पूरै हातखुट्टा लगलग कामिरहेको थियो। दाँत पनि थरथराइरहेको थियो।” तिनले जम्मा पाँचवटा पदको भरमा भाषण तयार पार्नुपर्थ्यो। तिनले यसो भने: “मैले भाषण तीन मिनेटमै सिध्याएँ। मञ्चबाट बोलेको त्यो नै मेरो पहिलो अनुभव थियो। तर त्यसलाई अन्तिम भने हुन दिइनँ।” ईश्वरतान्त्रिक सेवा स्कुलमा बालबालिकाहरूले पनि भाग लिए। सबैको अगाडि उभिएर बोल्न तिनीहरूलाई पनि सजिलो थिएन। एक जना सानो बाबुले स्कुलको कार्यक्रममा भाषण दिएको दिन सम्झँदै भाइ एन्जेलो मेनेरा यसो भन्नुहुन्छ: “मञ्चमा उक्लेपछि ऊ यत्ति साह्रो डरायो कि, सुँक्क-सुँक्क गर्दै रुन पो थाल्यो। उसले रोएरै भए पनि भाषण चाहिं सिध्यायो।” लजालु स्वभाव भएकोले वा अरू कारणले गर्दा तपाईंलाई पनि सभामा टिप्पणी गर्न वा आफूले पाएको भाग प्रस्तुत गर्न अप्ठ्यारो लाग्छ कि? यदि त्यसो हो भने यहोवासित मदत माग्नुहोस्। ईश्वरतान्त्रिक सेवा स्कुल सुरु हुँदा त्यतिखेरका विद्यार्थीहरूलाई मदत गर्नुभएजस्तै यहोवाले तपाईंलाई पनि मदत गर्न सक्नुहुन्छ।भजन ३२:८ पढ्नुहोस्।

१६. गिलियड स्कुलको प्रबन्धले कुन उद्देश्य पूरा गरेको छ: (क) विगतमा र (ख) सन्‌ २०११ देखि।

१६ यहोवाका सेवकहरूले अन्य स्कुलबाट पनि तालिम पाइरहेका छन्‌। जस्तै: मिसनरीहरू र अरूले गिलियड स्कुलबाट तालिम पाएका छन्‌। “विद्यार्थीहरूको मनमा तनमनले प्रचारकार्यमा भाग लिने इच्छालाई अझ बलियो बनाउनु” नै गिलियड स्कुलको मुख्य उद्देश्य हो भनेर स्कुलका एक प्रशिक्षकले बताए। यो स्कुल सन्‌ १९४३ मा सुरु भएको थियो र अहिलेसम्म यस स्कुलबाट ८ हजार ५ सय जनाले तालिम पाइसकेका छन्‌। गिलियड स्कुलबाट तालिम पाएका मिसनरीहरूले १७० वटा देशमा सेवा गरेका छन्‌। सन्‌ २०११ देखि एउटा छाँटकाँट गरिएको छ। त्यस छाँटकाँटअनुसार विशेष पूर्ण-समय सेवा गरिरहेकाहरू, जस्तै: विशेष अग्रगामी, गिलियड स्कुल नगएका मिसनरी, परिभ्रमण निरीक्षक वा बेथेल सेवकले मात्र गिलियड स्कुलमा जाने सुअवसर पाउनेछन्‌।

१७. गिलियड स्कुलको तालिम कत्तिको प्रभावकारी भएको छ?

१७ गिलियड स्कुलको तालिम कत्तिको प्रभावकारी भएको छ? एउटा उदाहरण विचार गरौं। सन्‌ १९४९ को अगस्तसम्म जापानमा स्थानीय प्रकाशकहरू १० जना पनि थिएनन्‌। त्यस वर्षको अन्तसम्ममा गिलियड स्कुलबाट तालिम पाएका १३ जना मिसनरीहरूलाई जापानमा खटाइयो। अहिले जापानमा २ लाख १६ हजार प्रकाशक छन्‌ र ९० हजार ७ सयभन्दा धेरै प्रकाशकले अग्रगामी सेवा गर्दै छन्‌।

१८. आध्यात्मिक तवरमा अझ बलियो हुन परमेश्वरका सेवकहरूलाई अन्य के-कस्ता स्कुलले मदत गरेको छ?

१८ अन्य स्कुलले पनि परमेश्वरका सेवकहरूलाई आध्यात्मिक तवरमा अझ बलियो हुन अनि प्रचारकको रूपमा अझ प्रगति गर्न मदत गरेको छ। ती स्कुलहरू यसप्रकार छन्‌: राज्य सेवा स्कुल, अग्रगामी सेवा स्कुल, राज्य प्रचारकहरूका लागि स्कुल, क्षेत्रीय निरीक्षक र तिनीहरूका पत्नीका लागि स्कुल अनि शाखा समितिका सदस्य र तिनीहरूका पत्नीका लागि स्कुल। यी स्कुलहरू मार्फत राजा येशू ख्रीष्टले आफ्नो प्रजालाई तालिम दिंदै हुनुहुन्छ।

१९. प्रचारकार्यबारे भाइ चार्ल्स टेज रसलले के भन्नुभएको थियो? उहाँले भन्नुभएको कुरा कसरी सही साबित भएको छ?

१९ परमेश्वरको राज्यको जन्म भएको १०० वर्ष बितिसक्यो। हाम्रा राजाले हामीलाई अझै तालिम दिंदै हुनुहुन्छ। सन्‌ १९१६ मा आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि भाइ चार्ल्स टेज रसलले राज्यको सुसमाचार सारा संसारभरि फैलिनेछ भन्नुभएको थियो। आफूसँगै काम गर्ने एक जना भाइलाई उहाँले यसो भन्नुभएको थियो: “यो काम द्रुत गतिमा अघि बढिरहेको छ र यसले अझै पनि रफ्तार लिनेछ। किनकि ‘राज्यको सुसमाचार’ संसारभर फैलिनुपर्छ।” (ए. एच. म्याकमिलनद्वारा लिखित फेथ अन द मार्च पृष्ठ ६९) उहाँले भन्नुभएको कुरा सोह्रै आना सही थियो; आज सुसमाचार संसारभर फैलिएको छ। हामी यहोवाप्रति आभारी छौं। किनकि शान्तिका परमेश्वर यहोवाले हामीलाई यस्तो रमाइलो अनि महत्त्वपूर्ण कामको लागि तालिम दिनुभएको छ। यहोवाले उहाँको इच्छा पूरा गर्न हामीलाई “हर असल कुरा” दिनुहुन्छ।

^ अनु. 2 त्यहाँ भेला भएका धेरैजसो मानिस पछि ख्रीष्टियन बने भन्न सकिने आधार बाइबलमा पाइन्छ। कोरिन्थीहरूलाई पत्र लेख्दा पावलले त्यहाँ उपस्थित भएकाहरूलाई “पाँच सयभन्दा धेरै भाइ” भनेर सम्बोधन गरे। तिनले यसो पनि भने: “[तिनीहरूमध्ये] धेरैजसो अहिलेसम्मै छन्‌ तर कोही भने मृत्युको चिर निद्रामा परिसकेका छन्‌।” त्यसकारण प्रचार गर्ने आज्ञा आफ्नै कानले सुनेका धेरैजसो मानिसलाई पावल र प्रथम शताब्दीका अन्य ख्रीष्टियनहरूले सायद राम्ररी चिन्थे।