अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) अक्टोबर २०१५

परमेश्वरको नजिक जान मेरो निम्ति असल छ

परमेश्वरको नजिक जान मेरो निम्ति असल छ

नौ वर्षको छँदादेखि मेरो उचाइ बढ्ने क्रम रोकियो। यो ३४ वर्ष अघिको कुरा हो। त्यतिबेला म कोट डे’भ्वा भन्ने ठाउँमा बसथें। अहिले पनि मेरो उचाइ ३ फिट मात्र छ। मेरो उचाइ बढ्दैन भन्ने कुरा आमाबुबाले थाह पाउनुभएछ। त्यसैले आफ्नो जीउडालको विषयमा अचाक्ली चिन्ता नगरोस् भनेर उहाँहरूले मलाई काममा ध्यान दिन प्रोत्साहन दिनुभयो। मैले आफ्नो घर अगाडि फलफूल पसल राखें। पसललाई सधैं चिटिक्क पारेर राख्थें, त्यसैले धेरै ग्राहक आउँथे।

कडा मेहनत गर्दैमा सबै कुरा समाधान भएन। म होची नै थिएँ र साधारण काम गर्न पनि निकै मुस्किल पर्थ्यो। सामान किन्न जाँदा काउन्टरमा पैसा तिर्न समेत समस्या हुन्थ्यो। सबै कुरा मभन्दा अग्ला मानिसहरूका लागि बनाइएका हुन्थे। कहिलेकाहीं त आफैलाई देखेर दया लाग्थ्यो। तर म १४ वर्षको हुँदा जीवनले नयाँ मोड लियो।

एक दिन दुई जना महिला मेरो पसलमा फलफूल किन्न आउनुभयो। उहाँहरू यहोवाको साक्षी हुनुहुँदो रहेछ। मैले उहाँहरूसित बाइबल अध्ययन गर्न थालें। आफ्नो शारीरिक अवस्थाबारे चिन्ता लिएर बस्नुको सट्टा यहोवा र उहाँको उद्देश्य बुझ्नु महत्त्वपूर्ण रहेछ भनेर मैले बुझें। मेरो मन छोएको शास्त्रपद भजन ७३:२८ हो। यसको पहिलो भागले यसो भन्छ: “परमेश्वरको नजिक जान मेरो निम्ति असल छ।”

अचानक हाम्रो परिवार बुर्किना फासो भन्ने ठाउँमा सर्नुपऱ्यो। नयाँ ठाउँमा मलाई निकै गाह्रो भयो। पहिलेको ठाउँमा मलाई सबैले चिन्थे। त्यसैले त्यहाँ सजिलो लाग्थ्यो। तर नयाँ ठाउँमा मलाई कसैले चिन्दैनथे र मानिसहरूले मलाई ट्वालट्वाल्ती हेर्थे। कहिलेकाहीं म हप्तौंसम्म पनि घरबाट निस्किन्नथें। त्यतिबेला मैले यहोवा परमेश्वरको नजिक जान असल छ भन्ने कुरा सम्झें। त्यसैले यहोवाका साक्षीहरूको शाखा कार्यालयलाई पत्र लेखें। त्यसपछि शाखा कार्यालयले नानी नाम गरेकी मिसनरी बहिनीलाई मकहाँ पठायो।

मलाई बाइबल अध्ययन गराउन उहाँ स्कुटरमा आउने गर्नुहुन्थ्यो। बाटो चिप्लो थियो। वर्षा याममा त झन्‌ हिलैहिलो हुन्थ्यो। बाटोमा चिप्लेर उहाँ धेरै पटक स्कुटरबाट लड्नुभयो। तैपनि मकहाँ आउन छोड्नुभएन। एक दिन उहाँले मलाई सभामा जाऊ भन्नुभयो। बाटो उसै त चिप्लो थियो, त्यसमाथि म पछाडि बसें भने नानीलाई स्कुटर चलाउन झनै गाह्रो हुने थियो। सभामा जाँदा मानिसहरूले मलाई फेरि जिस्काउने हो कि भनेर पनि चिन्ता लाग्यो। तर मेरो मन छोएको पदमा लेखिएको यस कुराले  सभा जाने बल दियो: “मैले परमप्रभु परमेश्वरलाई मेरो शरणस्थान बनाएको छु।”

कहिलेकाहीं त स्कुटर चिप्लेर हामी हिलोमा पछारिन्थ्यौं। तर जसोतसो हामी सभा चाहिं पुग्थ्यौं। मानिसहरू मलाई देखेर अचम्म मान्थे, मेरो खिल्ली उडाउँथे। तर राज्यभवनमा आएका मानिसहरू भने मसित हाँसीखुसी कुरा गर्थे। सभामा जान थालेको नौ महिनापछि नै मैले बप्तिस्मा गरें।

मेरो मन छोएको पदमा यस्तो पनि लेखिएको छ: “मैले तपाईंका सबै कार्यहरूको बयान गरूँ।” तर मानिसहरूलाई भेटेर बाइबलको सन्देश सुनाउनु मेरो लागि चुनौती थियो। पहिलो पटक घरघरको प्रचारकार्यमा जाँदाको कुरा मलाई अझै सम्झना छ। केटाकेटीहरूले मात्र होइन, ठूलै मान्छेहरूले पनि मलाई घुरीघुरी हेरे, मेरो पछि-पछि आए र म हिंडेको नक्कल पनि गरे। मलाई नमीठो लाग्यो; रुन मात्रै सकिनँ। तर मैले पाएको अनन्त जीवनको आशा अरूलाई पनि चाहिएको छ भनेर आफैलाई बारम्बार सम्झाउँदै प्रचारकार्यमा लागिरहे।

मैले हातले चलाउन मिल्ने तीन पाङ्ग्रे साइकल किनें। यो साइकलले गर्दा प्रचारमा जान धेरै सजिलो भयो। उकालो बाटोमा सँगै प्रचार गएको साथीले साइकल घचेट्थ्यो र ओरालो झर्दा चाहिं दुवै जना साइकलमा हुँइकिन्थ्यौं। सुरु-सुरुमा त प्रचारमा जान निक्कै अप्ठेरो लाग्थ्यो। तर प्रचारमा भाग लिंदै जाँदा यो जस्तो रमाइलो काम अरू कुनै लागेन। त्यसैले सन्‌ १९९८ देखि नियमित अग्रगामी सेवा थालें।

मैले थुप्रै बाइबल अध्ययन सञ्चालन गरें। तीमध्ये चार जनाले त बप्तिस्मा गरिसके। मेरी आफ्नै बहिनी पनि साक्षी भइन्‌। अरूले उन्नति गरेको देख्दा धेरै प्रोत्साहन पाउँछु। एक दिनको कुरा हो, मलेरियाले गर्दा म सिकिस्त बिरामी थिएँ। त्यही समयमा कोट डे’भ्वाबाट एउटा पत्र पाएँ। बुर्किना फासोमा मैले विश्वविद्यालयका एक जना विद्यार्थीसँग बाइबल अध्ययन सुरु गरेकी थिएँ र एक जना भाइलाई त्यो अध्ययन दिएकी थिए। पछि ती विद्यार्थी कोट डे’भ्वामा सरेछन्‌। तिनी प्रकाशक भएको खबर सुन्न पाउँदा मैले खुसीको आँसु थाम्नै सकिनँ।

म जीविका धान्न लुगा सिलाउने र साबुन बनाउने काम गर्छु। अपाङ्गहरूलाई मदत गर्ने एउटा सङ्गठनले मलाई सिलाइको काम सिकायो। म लगनशील भएको देखेर उहाँहरूले मलाई साबुन बनाउने काम पनि सिकाउनुभयो। म घरैमा बसेर लुगा सिलाउने र साबुन बनाउने काम गर्छु। मानिसहरू मैले बनाएको साबुन खुबै मन पराउँछन्‌ र अरूलाई पनि बताउने गर्छन्‌। म तीन पाङ्ग्रे स्कुटर चढेर सामान घरघरमै पुऱ्याइदिन्छु।

सन्‌ २००४ मा मेरो ढाडको समस्या झनै बढ्यो। त्यसैले चाहेर पनि अग्रगामी सेवा गरिरहन सकिनँ। तैपनि म आफ्नो शरीरले दिएसम्म प्रचारकार्यमा भाग लिन्छु।

मेरो मीठो मुस्कानले गर्दा मानिसहरू मक्ख पर्छन्‌। परमेश्वरको नजिक जान मेरो निम्ति असल छ। परमेश्वरसित घनिष्ठ सम्बन्ध गाँस्दा आनन्दित भएर जीवन बिताउन सकेकी छु।—सारा माइगाको वृत्तान्तमा आधारित।