अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) अक्टोबर २०१५

“निर्बुद्धि मानिसले आफूले सुनेको एक-एक कुरा पत्याउँछ”

“निर्बुद्धि मानिसले आफूले सुनेको एक-एक कुरा पत्याउँछ”

“कहिल्यै समाचार-पत्र नपढ्ने मान्छे मूर्ख हो, समाचार-पत्रमा पढेको एक-एक कुरा पत्याउने मान्छे झन्‌ महामूर्ख हो।” —अगस्त भोन स्लजर, जर्मन इतिहासकार तथा पत्रकार (१७३५-१८०९)

आजभन्दा २०० वर्षअघि समेत समाचार-पत्रमा लेखिएका सबै कुरा पत्याउन सकिंदैनथ्यो। त्यसोभए यो एक्काइसौं शताब्दीमा, इन्टरनेटमा राखिएका सबै जानकारीमा विश्वास गर्नु बुद्धिमानी हो त? कतिपय जानकारी सही हुन्छन्‌ र त्यसले हामीलाई फाइदा पुऱ्याउँछ। तर कतिपय जानकारी भने गलत हुन्छन्‌ र त्यसले हाम्रो हानि गर्छ। त्यसैले कुन जानकारी पढ्ने, कुन नपढ्ने भन्ने विषयमा होस पुऱ्याउनुपर्छ। कसै-कसैले भर्खर-भर्खर इन्टरनेट चलाउन थालेका हुन सक्छन्‌। त्यस्ता व्यक्तिहरू इन्टरनेटमा देखेका अनौठा जानकारी पनि सही हो भन्ने सोचाइ राख्छन्‌। किन? त्यो जानकारी इन्टरनेटमा भएकोले वा कुनै साथीमार्फत पाएकोले। तर बाइबल यसो भन्छ: “निर्बुद्धि मानिसले आफूले सुनेको एक-एक कुरा पत्याउँछ, चतुर मानिसले चाहिं प्रमाणको आवश्यकतालाई बुझ्छ।”—हितो. १४:१५.

त्यसोभए हामी कसरी “चतुर” हुन सक्छौं? मानिसहरूलाई ठग्ने उद्देश्यले राखिएको जानकारी, झूटा कथा वा अफवाह इन्टरनेटमा देखा पर्दा के गर्नुपर्छ? सबैभन्दा पहिला आफैलाई यस्ता प्रश्नहरू सोध्नुपर्छ: ‘के यो जानकारी आधिकारिक र भरपर्दो साइटबाट आएको हो? अथवा जसले पनि आफ्नो विचार लेख्न मिल्ने साइट वा अपरिचित स्रोतबाट पो आएको हो कि? कुनै भरपर्दो साइटले यो जानकारी झूटो हो भनेर बताइसकेको छ कि?’ * आफैलाई यस्ता प्रश्नहरू सोधिसकेपछि “सोच्ने-बुझ्ने क्षमता” चलाउनुहोस्। (हिब्रू ५:१४) कुनै जानकारी भरपर्दो देखिंदैन भने त्यस्तो जानकारी पत्याउनु बुद्धिमानी होइन। साथै, अरूको विषयमा हल्ला फैलाउँदा त्यसले कसलाई फाइदा पुग्छ र त्यो जानकारी कुन उद्देश्यले राखिएको हो, त्यो पनि विचार गर्नुपर्छ।

आफूले पाएको जानकारी के तपाईं सबैलाई पठाउनुहुन्छ?

कसै-कसैले आफूले पाएको जानकारी चिनेजानेको सबैलाई पठाउने गर्छन्‌। त्यो जानकारी कत्तिको सही छ र अरूलाई  पठाउँदा परिणाम कस्तो हुन सक्छ भन्ने कुरा सोच्दै नसोची पठाउँछन्‌। (२ शमू. १३:२८-३३) तर हामी साँच्चै “चतुर” छौं भने अरूलाई त्यस्तो जानकारी पठाउनुअघि त्यसले कुनै व्यक्तिको वा कुनै सङ्गठनको बदनाम होला कि भनेर विचार गर्छौं।

कुनै जानकारी सही हो कि होइन भनेर पत्ता लगाउन सजिलो हुँदैन। त्यसकारण पाउने व्यक्तिले नै त्यो कुरा पत्ता लगाओस् भन्ने सोचाइ कसै-कसैले राख्न सक्छन्‌। तर पाउने व्यक्तिले त्यो कुरा पत्ता लगाउन खोज्दा तिनको अमूल्य समय खेर जान सक्छ। (एफि. ५:१५, १६) त्यसकारण कुनै जानकारी सही हो कि होइन भनेर आफैलाई शङ्का छ भने अरूलाई नपठाउनुहोस्, बरु त्यो जानकारीलाई हटाइहाल्नुहोस्।

आफैलाई यस्ता प्रश्नहरू सोध्नुहोस्: ‘के म अरूबाट पाएको इमेल आफूले चिनेजानेको सबैलाई पठाउने गर्छु? अरूलाई गलत वा झूटो जानकारी पठाएकोले पछि माफी माग्नु परेको छ कि? इमेल नपठाउनुहोस् भनेर कसैले मलाई आग्रह गरेको छ कि?’ यो कुरा मनमा राख्नुहोस्: जसलाई तपाईं इमेल पठाउनुहुन्छ, त्यो व्यक्तिले पनि इन्टरनेट चलाउँछन्‌ र आफूलाई चासो लाग्ने कुराहरू आफैले खोज्न सक्छन्‌। तीनथुप्रो भिडियो, तस्बिर वा चुट्किला पठाएर अरूलाई दिक्क पार्नु राम्रो होइन। साथै, तपाईंले बाइबलमा आधारित भाषणहरू रेकर्ड गर्नुभएको छ वा नोट लिनुभएको छ भने त्यस्ता कुराहरू पनि अरूलाई पठाउनु हुँदैन। कुनै स्रोत-सामग्री, सभामा छलफल गरिने बाइबल पदहरूको सूची वा उत्तरहरू अरूलाई पठाउनु हुँदैन। * पठाउने गर्नुहुन्छ भने अरूको व्यक्तिगत अध्ययन गर्ने बानीलाई बिगार्दै हुनुहुन्छ।

यो इमेल . . .अरूलाई पठाउनु ठीक होला कि नहोला?

इन्टरनेटमा हाम्रो सङ्गठनको विषयमा कुनै झूटो जानकारी देख्नुभयो भने के गर्नुपर्छ? त्यसलाई तुरुन्तै बन्द गर्नुपर्छ। कसै-कसैले त्यसबारे अरूको राय बुझ्न त्यो जानकारी अरूलाई पठाउन सक्छन्‌। तर त्यसो गर्दा के हुन्छ? त्यो जानकारी चारैतिर फैलिन्छ र सङ्गठनको बदनाम हुन्छ। इन्टरनेटमा हेरेको कुनै कुराले तपाईंलाई पिरोलिरहेको छ भने यहोवासित बुद्धि माग्नुहोस् र मण्डलीका परिपक्व दाइदिदीहरूसित त्यसबारे कुरा गर्नुहोस्। (याकू. १:५, ६; यहू. २२, २३) येशूलाई पनि मानिसहरूले झूटो आरोप लगाएका थिए। विरोधीहरूले चेलाहरूलाई सताउनेछन्‌ र ‘तिनीहरूविरुद्ध झूट बोलेर नानाथरी खराब कुरा भन्नेछन्‌’ भनेर पनि उहाँले चेतावनी  दिनुभएको थियो। (मत्ती ५:११; ११:१९; यूह. १०:१९-२१) हामी विरुद्ध “छली कुरा गर्ने” र हामीलाई झुक्याउन खोज्ने मानिसहरूलाई चिन्न हामीले “विवेक” र “समझशक्ति” चलाउनुपर्छ।—हितो. २:१०-१६.

अरूको अधिकारको कदर गर्नुहोस्

हाम्रा दाजुभाइ दिदीबहिनीबारे थाह पाएको कुनै कुरा वा कसैबाट सुनेको अनुभव अरूलाई बताउने सन्दर्भमा पनि होसियार हुनुपर्छ। सही नै हो भने पनि अरूलाई बताइराख्नु आवश्यक नहुन सक्छ। आफूले थाह पाएको कुरा त्यसरी फिजाउँछौं भने जसको विषयमा हामीले त्यसरी हल्ला फैलाएको हो, तिनको कदर गरिरहेका हुँदैनौं। (मत्ती ७:१२) त्यसरी कुरा ओसार्दा कसैको पनि उत्थान हुँदैन। (२ थिस्स. ३:११; १ तिमो. ५:१३) कुनै-कुनै कुरालाई गोप्य राख्नुपर्ने हुन सक्छ। साथै, ती भाइ वा बहिनीले आफ्नो कुरा उपयुक्त समयमा कुनै माध्यममार्फत बताउने विचार गरिरहेका हुन सक्छन्‌। हामीले पहिल्यै त्यो कुरा अरूलाई बताउँदा त्यसले नोक्सानी पुऱ्याउन सक्छ।

कुनै पनि कुरा क्षणभरमै फैलिन सक्छ, चाहे त्यो सही होस् वा गलत अथवा फाइदा पुऱ्याउने होस् वा हानि पुऱ्याउने। तपाईंले कसैलाई मेसेज पठाउनुभयो भने उसले त्यो मेसेज अरूलाई पनि पठाउन सक्छ र मेसेज केही सेकेन्डमै अर्को व्यक्तिकहाँ पुग्न सक्छ। त्यसकारण सोचविचारै नगरी आफूले पाएको जानकारी अरूलाई पठाउने नगर्नुहोस्। हुन त प्रेमले “सबै कुरा पत्यार गर्छ” र कुनै शङ्का गर्दैन। तर कुनै नौलो वा रोचक जानकारी पाउने बित्तिकै सोचविचारै नगरी पत्याइहाल्नु पनि राम्रो होइन। “झूटको पिता” सैतानको दास बनेका मानिसहरूले हाम्रो सङ्गठन वा कसैको विषयमा हल्ला फैलाउन सक्छ। हामीले त्यस्ता कुराहरू पत्याउनु पनि ठीक होइन। (यूह. ८:४४; १ कोरि. १३:७) सोच्ने-बुझ्ने क्षमताले हामीलाई “चतुर” हुन मदत गर्छ। आफूले पाएको जानकारीलाई कसरी प्रयोग गर्ने भनेर विचार गर्नुपर्छ। बाइबल यसो भन्छ: “अबुझ मानिसहरूले आफ्नो मूर्खताको योग्य प्रतिफल पाउँछन्‌, चतुरले ज्ञानको मुकुट लगाउँछ।”—हितो. १४:१८.

^ अनु. 4 कुनै जानकारी झूटो हो भनेर पहिला नै पर्दाफास भइसकेको छ भने पनि इन्टरनेटमा फेरि देखा पर्न सक्छ। त्यो जानकारी सही हो भन्ने जस्तो देखाउन त्यसमा केही छाँटकाँट गरिएको हुन सक्छ।

^ अनु. 8 अप्रिल २०१० को हाम्रो राज्य सेवकाई-को “प्रश्न पेटी” हेर्नुहोस्।