सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा—अध्ययन संस्करण  |  अक्टोबर २०१५

 जीवनी

युवा छँदा गरेको निर्णयमा तिनी कहिल्यै पछुताएनन्‌

युवा छँदा गरेको निर्णयमा तिनी कहिल्यै पछुताएनन्‌

मेरो बुबाको मामा निकोलाइ डुबभिन्स्कीले यहोवाको सेवामा बिताएका अनुभवहरू आफ्नो जीवनको अन्ततिर लेखेर राख्नुभएको थियो। सोभियत सङ्घमा यहोवाका साक्षीहरूमाथि प्रतिबन्ध लागेको बेलादेखि नै उहाँले यहोवाको सेवा गर्न थाल्नुभएको थियो। जीवनमा जस्तोसुकै कठिनाइ र चुनौती भोग्नुपरे तापनि उहाँले यहोवाको सेवा गर्न छोड्नुभएन। उहाँमा एक प्रकारको उत्साह र उमङ्ग थियो। आफ्नो जीवनी युवायुवतीहरूले पढून्‌ भन्ने उहाँ चाहनुहुन्थ्यो। त्यसैले उहाँले बटुल्नुभएका केही अनुभव तपाईंहरूलाई बताउन चाहन्छु। उहाँको जन्म सन्‌ १९२६ मा युक्रेनको पोडभाइरिभ्गा गाउँमा एक साधारण परिवारमा भएको हो।

निकोलाइले बाइबलको कुरा कसरी सिके?

उहाँले आफ्नो बारेमा यसरी लेख्नुभएको छ: “सन्‌ १९४१ को कुरा हो। एक दिन मेरो दाजु आइभनले परमेश्वरको वीणा परमेश्वरको युगौंदेखिको योजना किताब, केही प्रहरीधरहरा पत्रिका अनि स-साना पुस्तिकाहरू ल्याउनुभयो। मैले ती सबै पढें। परमेश्वरले गर्दा नभई दियाबलले गर्दा पो हामीले दुःख-पीडा भोग्नुपरेको रहेछ भनेर छर्लङ्गै बुझें। मैले बाइबलबाट सुसमाचारका चारवटा किताब पनि पढें। मैले साँचो परमेश्वरबारे राम्ररी बुझ्न पाएँ। आफूले पाएको आशाबारे मैले अरूलाई बताउन थालें। प्रकाशनहरू पढ्दा बाइबलका कुराहरू अझ राम्ररी बुझ्न सकें र यहोवाको सेवा गर्ने इच्छा पनि बढ्दै गयो।

“आफ्नो विश्वासको कारण एकदिन दुःख झेल्नै पर्छ भनेर मलाई थाह थियो। त्यतिबेला युद्ध चलिरहेको थियो तर म युद्धमा मुछिन चाहन्नथें। आफूले सामना गर्नुपर्ने परीक्षाको लागि तयार रहन मैले मत्ती १०:२८ र २६:५२ जस्ता शास्त्रपदहरू कण्ठ गर्न थालें। मर्नै पर्ने अवस्था आए पनि यहोवाप्रति वफादार रहनेछु भन्ने अठोट मैले गरिसकेको थिएँ।

“सन्‌ १९४४ मा म १८ वर्षको भए पछि सैन्य सेवामा भर्ती हुन बोलाइयो। मैले पहिलो पटक अरू दाजुभाइहरूलाई भेटेको त्यतिबेलै हो। उहाँहरूलाई पनि सैन्य सेवाको लागि ल्याइएको रहेछ। हामी युद्धमा भाग लिने छैनौं भनेर निर्धक्क भई बतायौं। अफिसरहरू रिसले आगो भए र हामीलाई भोकभोकै राख्ने, सुरुङ खन्न लगाउने र गोली ठोक्ने धम्की समेत दिए। हामीले नडराईकन यसो भन्यौं: ‘हामी तपाईंहरूकै हातमा छौं। हामीलाई जे गर्न मन लाग्छ गर्नुस्। तर “हत्या नगर्नू” भन्ने परमेश्वरको आज्ञा कदापि तोड्ने छैनौं।’—प्रस्थ. २०:१३.

“त्यसपछि म र अरू दुई जना भाइलाई खेतमा काम गर्न र भत्केका घरहरू मर्मत गर्न बेलारूसमा पठाइयो। मिन्स्क सहरका कतिपय ठाउँहरूमा युद्धले विध्वंस पारेका भयानक दृश्य म अझै सम्झन्छु। बाटैभरि डढेका रूखहरू, जङ्गल र नालामा यत्रतत्र छरिएका लासहरू र घोडाका सिनुहरू! हातहतियार र युद्धमा प्रयोग भएका गाडीहरू अलपत्र छोडिएका थिए। छेदविच्छेद भएको युद्ध विमान पनि मैले देखें। परमेश्वरको  आज्ञा नमान्दा के हुँदो रहेछ, मेरो आँखा अगाडि छर्लङ्गै थियो।

“सन्‌ १९४५ मा युद्ध सकियो तर युद्धमा भाग नलिएको कारण हामीलाई अझै १० वर्षको जेल सजाय सुनाइयो। हामीले सुरुको तीन वर्षसम्म सभा गर्न पाएनौं र हामीसित प्रकाशनहरू पनि थिएन। केही दिदीबहिनीहरूसित पत्रमार्फत सम्पर्क गरिरहेका थियौं तर उहाँहरूलाई पनि गिरफ्तार गरिएछ र सजाय स्वरूप २५ वर्षको लागि श्रम शिविरमा पठाइएछ।

“सन्‌ १९५० मा हामीलाई रिहा गरियो र हामी घर फर्क्यौं। म जेलमा छँदा मेरी आमा र मेरी बहिनी मारिया यहोवाको साक्षी भइसकेका थिए। मेरा तीन जना दाइले पनि बाइबल अध्ययन गर्दै हुनुहुन्थ्यो। रिहा भएपछि मैले जोडतोडले प्रचार गर्न थालें। सोभियत सरकारको सुरक्षा निकायले मलाई फेरि जेलमा हाल्ने मौका खोजिरहेको थियो। त्यही समयतिर प्रचारकार्यको नेतृत्व लिइरहेका दाजुभाइहरूले मलाई भूमिगत रूपमा साहित्यहरू प्रकाशन गर्ने काममा सघाउन आग्रह गर्नुभयो। त्यतिबेला म २४ वर्षको थिएँ।”

साहित्यहरू तयार गर्दा

“साक्षीहरू यसो भन्ने गर्थे, ‘हामीलाई खुल्लमखुल्ला प्रचार गर्न दिइएन भने लुकीछिपी पनि गरिन्छ।’ (हितो. २८:२८) त्यतिबेला हाम्रा साहित्यहरू भूमिगत रूपमै छापिन्थे। मेरो पहिलो ‘अफिस’ मेरो दाइ डमिट्रीको घरको जमिनमुनि एउटा सानो कोठामा थियो। कहिलेकाहीं त दुई हप्तासम्म त्यहीं बसथें। अक्सिजनको कमी हुँदा बत्ती निभ्थ्यो। त्यसैले कोठा ताजा हावाले नभरिउन्जेल त्यहीं ढल्केर बसथें।

निकोलाइले साहित्य छाप्ने काम गरेको भूमिगत कोठाको चित्र

“मसँगै काम गर्ने एक जना भाइले एक दिन मलाई ‘बप्तिस्मा गर्नुभयो?’ भनेर सोध्नुभयो। यहोवाको सेवा गरेको ११ वर्ष बितिसकेको थियो, तर अझै बप्तिस्मा गरेको थिइनँ। उहाँले मसित बप्तिस्माको विषयमा कुरा  गर्नुभयो र त्यही रात मैले एउटा तलाउमा बप्तिस्मा गरें। त्यतिखेर म २६ वर्षको थिएँ। त्यसको तीन वर्ष पछि मैले थप जिम्मेवारी पाएँ। मलाई उपशाखा समितिको सदस्यको रूपमा काम गर्न खटाइयो। त्यतिबेला पक्राउ परेका भाइहरूको सट्टामा अरू भाइहरूलाई नियुक्त गरिन्थ्यो। यसले गर्दा यहोवाको काम निरन्तर चलिरह्यो।”

भूमिगत भएर काम गर्दाका चुनौतीहरू

“भूमिगत भएर प्रकाशनहरू छाप्ने काम जेल जीवनभन्दा गाह्रो थियो। सोभियत सरकारको सुरक्षा निकायबाट जोगिन सात वर्षसम्म सभाहरू जान सकिनँ। त्यसकारण यहोवासितको सम्बन्ध जोगाइराख्न निक्कै कोसिस गर्नुपऱ्यो। परिवारलाई पनि कहिलेकाहीं मात्र भेट्न सकिन्थ्यो। तैपनि उहाँहरूले मेरो परिस्थिति बुझिदिंदा निक्कै प्रोत्साहन पाएँ। डरैडरमा जीवन बिताउनु परेकोले म तनावमा थिएँ। कति बेला के हुने हो, केही थाह हुँदैन थियो। एक साँझको कुरा हो। दुई जना पुलिस अफिसर म बसेको घरमा आए। म झ्यालबाट फुत्तै हाम फालें अनि जङ्गलतिर कुलेलाम ठोकें। भाग्दा-भाग्दा म एउटा खेतमा पुगेछु। त्यहाँ मैले सुइँय्यँ-सुइँय्यँ गरेको आवाज सुनें। त्यो त गोली चलेको आवाज पो रहेछ। मलाई खेद्दै आएको पुलिसले घोडामा चढेर गोली बर्साउन थाले। एउटा गोली मेरो पाखुरामै लाग्यो। लगभग ५ किलोमिटरको भागदौडपछि जङ्गलभित्र लुकेर ज्यान जोगाएँ। अदालतसामु उभ्याइँदा पो थाह पाएँ, ३२ पटकसम्म गोली चलाइएको रहेछ।

“धेरैजसो समय जमिनमुनि बनाइएको कोठामै बस्नुपर्दा मेरो पूरै शरीर रगतै नभएको जस्तो देखिन थाल्यो। मैले के काम गर्दै छु भनेर कसैले थाह नपाओस् भन्ने चाहन्थें। त्यसकारण सम्भव भएसम्म घाममा बस्न थालें। भूमिगत भएर बस्नुपर्दा मेरो स्वास्थ्य बिग्रियो। एक पटक भाइहरूसँग जरुरी मिटिङ गर्नुपर्ने थियो। तर नाक र मुखबाट रगत बगिरहेकोले जानै सकिनँ।”

निकोलाइ फेरि गिरफ्तार भए

मोर्डभिनियाको श्रम शिविर, १९६३

“सन्‌ १९५७, जनवरी २६ को दिन मलाई फेरि गिरफ्तार गरियो। छ महिनापछि युक्रेनको सर्वोच्च अदालतले मलाई गोली हानेर मृत्युदण्ड दिने सजाय सुनायो। तर देशको कानुनमा मृत्युदण्ड खारेज भइसकेकोले मैले २५ वर्ष जेल जीवन बिताउनुपर्ने भयो। हामी आठ जनाले पाएको जेल सजाय हिसाब  गर्दा १३० वर्ष हुन्थ्यो। हामीलाई मोर्डभिनियाको श्रम शिविरमा लगियो। त्यहाँ जम्माजम्मी ५०० जना साक्षीहरू थिए। प्रहरीधरहरा अध्ययनको लागि हामी स-साना समूहमा लुकेर भेला हुन्थ्यौं। हामीबाट जफत गरिएका पत्रिकाहरू केलाएपछि एक जना गार्डले यसो भन्यो: ‘यी पत्रिकाहरू पढिरह्यौ भने कसैले पनि तिमीहरूको बिगार गर्न सक्दैन।’ हामी आफूले पाएको काम इमानदार भएर पूरा गर्थ्यौं। कहिलेकाहीं त अह्राइएको भन्दा पनि बढी गर्थ्यौं। तैपनि शिविरको कमान्डरले हामीलाई यसो भन्थे: ‘तिमीहरूले आफूलाई जति नै राम्रो देखाउन खोजे पनि हामीलाई त्यसको मतलब छैन। हामीलाई तिमीहरूको काम चाहिएको होइन; तिमीहरू देशप्रति वफादार भएको चाहन्छौं।’”

“हामी आफूले पाएको काम इमानदार भएर पूरा गर्थ्यौं। कहिलेकाहीं त अह्राइएको भन्दा पनि बढी गर्थ्यौं”

निकोलाइको निष्ठा कहिल्यै ढलपल भएन

भिलिकिए लुकीमा भएको राज्यभवन

सन्‌ १९६७ मा श्रम शिविरबाट छुटेपछि निकोलाइ बाजेले इस्टोनिया र रूसको सेन्ट पिटर्सवर्गका मण्डलीहरूलाई व्यवस्थित पार्न मदत गर्नुभयो। सन्‌ १९५७ मा अदालतले साक्षीहरूको विरुद्धमा जुन फैसला सुनाएको थियो, त्यो फैसला सन्‌ १९९१ को सुरुतिर उल्टियो। कुनै प्रमाणविनै साक्षीहरूको विपक्षमा फैसला सुनाइएको रहेछ भन्ने कुरा प्रमाणित भयो। सन्‌ १९९६ मा निकोलाइ बाजे रूसको भिलिकिए लुकी भन्ने सहरमा बसाइँ सर्नुभयो। यो सहर सेन्ट पिटर्सवर्गबाट ५०० किलोमिटर टाढा पर्छ। उहाँले त्यहाँ एउटा सानो घर किन्नुभयो। राज्यभवन बनाउन उहाँले सन्‌ २००३ मा घर छेउको सानो जग्गा दिनुभयो। अहिले त्यो राज्यभवनमा दुइटा मण्डलीले सभा गर्दै छ।

अहिले म श्रीमान्‌सित रूसको शाखा कार्यालयमा सेवा गर्दै छु। मृत्यु हुनुभन्दा केही महिना अघि मार्च २०११ मा निकोलाइ बाजे हामीलाई भेट्न आउनुभएको थियो। त्यतिबेला उहाँले उत्साहित हुँदै यसो भन्नुभएको थियो: ‘यरीहो सहरलाई फन्को मार्ने सातौं दिन सुरु भइसकेको कुरा म स्पष्ट देख्दै छु।’ (यहो. ६:१५) उहाँले भन्नुभएको यो कुराले हाम्रो मन छोयो। त्यतिबेला उहाँ ८५ वर्षको हुनुहुन्थ्यो। हुन त उहाँको जीवनमा धेरै उतारचढाव आयो, तैपनि उहाँ यसो भन्नुहुन्थ्यो: “युवा छँदा यहोवाको सेवा गर्ने निर्णय गरेकोमा मलाई कुनै पछुतो छैन।”