सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा—अध्ययन संस्करण  |  सेप्टेम्बर २०१५

 जीवनी

यहोवाको आशिष्‌ले मेरो जीवनमा खुसीयाली छायो

यहोवाको आशिष्‌ले मेरो जीवनमा खुसीयाली छायो

म सन्‌ १९२७ मा क्यानाडाको सानो सहर वक्कमा जन्मेकी थिएँ। हामी तीन दिदीबहिनी र चार दाजुभाइ थियौं। परिवार ठूलो भएकोले धेरै मानिसहरूसित एकसाथ कसरी बस्न सकिन्छ भनेर मैले सानो उमेरमै अनुभव गरिसकेकी थिएँ।

सन्‌ १९३० को दशकतिर विश्वभरि छाएको आर्थिक महामन्दीले हाम्रो परिवारलाई पनि केही असर गऱ्यो। हामी सम्पन्न त थिएनौं तर खानेकुराको अभाव भने कहिल्यै भएन। पूरै परिवार मिलेर घर र खेतको कामकाजमा लाग्नुपर्थ्यो। हामीले केही कुखुरा र एउटा गाई पालेका थियौं। त्यसैले अण्डा, दूध, क्रिम, चिज र मखनको कहिल्यै अभाव भएन।

त्यतिबेलाका क्षणहरू मलाई अहिले पनि झलझली याद आउँछ। स्याउहरूको मगमग बास्नाले कोठा भरिएको म कहिल्यै बिर्सन सक्दिनँ। सेप्टेम्बर/अक्टोबरतिर बुबा खेतको उब्जनी बेच्न सहर जानुहुन्थ्यो। त्यहाँबाट फर्कंदा उहाँ ताजा स्याउहरूले भरिएको बाकस लिएर आउनुहुन्थ्यो। हरेक दिन रसिलो स्याउ खान पाउँदा हामी असाध्यै रमाउँथ्यौं।

परिवारले बाइबल सत्य सिक्छन्‌

आमाबुबाले बाइबल सत्य सिक्नुहुँदा म ६ वर्षकी मात्र थिएँ। मेरो दाइ जोनी जन्मेकै दिन बित्नुभयो। त्यसैले आमाबुबा दुःखी हुनुहुन्थ्यो। पादरीलाई भेटेर उहाँहरूले यस्तो प्रश्न गर्नुभयो, “अहिले जोनी कहाँ छ?” जोनीको बप्तिस्मा नभएकोले ऊ स्वर्गमा छैन तर लिम्बोमा * छ भनेर पादरीले जवाफ दिए। पैसा दिएमा तिनले प्रार्थना गरेर जोनीलाई लिम्बोबाट स्वर्ग पुऱ्याउन सक्छन्‌ पनि भने। यो कुरा सुनेपछि आमाबुबाले ती पादरीसित कहिल्यै भेट्नुभएन। तैपनि उहाँहरू जोनीलाई के भयो होला भनेर सोच्ने गर्नुहुन्थ्यो।

एकदिन आमाले यहोवाका साक्षीहरूले प्रकाशन गरेको मृतकहरू कहाँ छन्‌? (अङ्ग्रेजी) भन्ने पुस्तिका पाउनुभयो। उहाँले त्यो पुस्तिका पाउनासाथै पढ्नुभयो। बुबा घर फर्केपछि खुसी हुँदै आमाले यसो भन्नुभयो, “जोनी कहाँ छ मलाई थाह भयो। ऊ अहिले मृत्युको गहिरो निद्रामा छ र एकदिन ब्युँतनेछ।” त्यो साँझ बुबाले पूरै पुस्तिका पढेर सिध्यानुभयो। मर्नु भनेको निदाउनुजस्तै हो र भविष्यमा मरेकाहरू पुनर्जीवित हुनेछन्‌ भनेर बाइबलले सिकाउँछ भनेर उहाँहरूले बुझ्नुभयो। यसले आमाबुबालाई निकै सान्त्वना दियो।—उप. ९:५, १०; प्रेषि. २४:१५.

बाइबलको यो सत्यले हामीलाई सान्त्वना र खुसी दियो। आमाबुबाले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन सुरु गर्नुभयो र वक्कामा भएको सानो मण्डलीको सभामा पनि उपस्थित हुन थाल्नुभयो। त्यस मण्डलीका धेरैजसो सदस्य युक्रेनियन पृष्ठभूमिका थिए। केही समय नबित्दै आमाबुबा प्रचारकार्यमा भाग लिन थाल्नुभयो।

त्यसको केही समयपछि हामी ब्रिटिस कोलम्बियामा बसाइँ सऱ्यौं। त्यहाँको मण्डलीले हामीलाई न्यानो स्वागत गऱ्यो। आइतबार हुने सभाको लागि परिवारै मिलेर प्रहरीधरहरा तयारी गरेको म अझै झलझली सम्झन्छु। हामी सबैले यहोवालाई  माया गर्न र बाइबलबाट सिकेका कुराहरूको कदर गर्न सिकिरहेका थियौं। यहोवाको आशिष्‌ले गर्दा हाम्रो जीवनमा खुसीयाली छाएको प्रस्टै देखिन्थ्यो।

हामी केटाकेटीलाई आफ्नो विश्वासबारे मानिसहरूलाई बताउन सजिलो थिएन। तर म र मेरी बहिनी एभा हरेक महिना क्षेत्र सेवाको प्रस्तुति तयार गर्थ्यौं र सेवा सभामा त्यो प्रस्तुति देखाउँथ्यौं। यसो गर्दा लजालु स्वभावका भए तापनि हामीले मानिसहरूसित बाइबलबारे कुरा गर्न सिक्यौं। प्रचार गर्ने यस्तो तालिम पाएकोमा मनैदेखि आभारी छु।

अर्को एउटा कुरा पनि म बिर्सनै सक्दिनँ। कहिलेकाहीं पूर्ण-समय सेवकहरू हाम्रो घरमा बस्नुहुन्थ्यो। त्यो समय असाध्यै रमाइलो हुन्थ्यो। परिभ्रमण निरीक्षक ज्याक नेथन हाम्रो मण्डलीको भ्रमण गर्नुहुँदा उहाँ हाम्रो घरमा बस्नुहुन्थ्यो। * उहाँ हामीलाई थुप्रै अनुभव सुनाउनुहुन्थ्यो र उहाँले मनैदेखि हाम्रो प्रशंसा गर्दा तनमनले यहोवाको सेवा गर्न प्रोत्साहन पाउँथ्यौं।

मनमनै यसो भनेको मलाई अझै याद छ, “ठूलो भएपछि म भाइ नेथनजस्तै हुन चाहन्छु।” उहाँको उदाहरणले मलाई पूर्ण-समय सेवाको लागि तयार पार्दै थियो भनेर थाह थिएन। पन्ध्र वर्ष पुग्दा पूर्ण रूपले यहोवालाई सेवा गर्ने अठोट गरिसकेकी थिएँ। सन्‌ १९४२ मा एभा र मैले बप्तिस्मा गऱ्यौं।

विश्वासको परीक्षा

दोस्रो विश्वयुद्धको दौडान चारैतिर देशभक्तिको भावना छाएको थियो। त्यतिखेर मेरी दुई बहिनी र भाइले झन्डा सलाम गर्न नमानेकाले मिस स्कटले तिनीहरूलाई स्कुलबाट निकालिदिनुभयो। उहाँले मेरो स्कुलको शिक्षिकालाई पनि मलाई स्कुलबाट निकाल्न उक्साउनुभयो। तर मेरी शिक्षिकाले यसो भन्नुभयो, “हामी स्वतन्त्र देशमा बस्छौं। देशभक्ति भाव देखाउने कि नदेखाउने सबैको व्यक्तिगत निर्णय हो।” तर मिस स्कटले दबाब दिन छोड्नुभएन। मेरी शिक्षिकाले पनि स्पष्टसित यसो भन्नुभयो, “यो मेरो निर्णय हो।”

मिस स्कटले यस्तो जवाफ दिनुभयो, “त्यो तपाईंको निर्णय होइन। मेलिटालाई स्कुलबाट निकाल्नुभएन भने म यो कुरा रिपोर्ट गरिदिन्छु।” आफ्नो जागिर बचाउने हो भने मलाई स्कुलबाट निकाल्नुबाहेक अरू कुनै उपाय छैन भनेर मेरी शिक्षिकाले आमाबुबालाई बताउनुभयो। यो अन्याय हो भनेर उहाँलाई थाह थियो। तैपनि मलाई स्कुलबाट निकालियो। अनि हामी घरमै बसेर पढ्न थाल्यौं। केही समयपछि लगभग ३२ किलोमिटर टाढा पर्ने ठाउँमा सऱ्यौं र नजिकैको स्कुलमा जान थाल्यौं।

युद्धको समयमा हाम्रा प्रकाशनहरूमा प्रतिबन्ध लगाइएको थियो। तैपनि बाइबल लिएर घरघरको प्रचार जान भने छोडेनौं। यसले गर्दा सीधै बाइबल चलाएर राज्यको सुसमाचार प्रचार गर्न हामी सिपालु भयौं। साथै बाइबलबाट धेरै कुरा थाह पाउन सकेकोले ख्रीष्टियनको रूपमा उन्नति गर्न सक्यौं र यहोवाबाट पनि धेरै मदत पायौं।

पूर्ण-समय सेवा

कपाल काट्न सिपालु थिएँ र केही पुरस्कार पनि पाएँ

पढाइ सकिनेबित्तिकै एभा र मैले अग्रगामी सेवा गर्न थाल्यौं। यसको लागि मैले पसलमा काम सुरु गरें। केही समयपछि ६ महिनाको लागि कपाल काट्ने तालिम पनि लिएँ। यो काम गर्न मलाई पहिल्यैदेखि मन पर्थ्यो। हप्ताको दुई पटक कपाल काट्ने काम गर्थें अनि महिनाको दुई पटक कपाल काट्ने तालिम दिन्थें। यसले गर्दा पूर्ण-समय सेवा गर्न सजिलो भयो।

सन्‌ १९५५ मा न्यु योर्क अनि जर्मनीको न्युरेमबर्गमा आयोजना गरिएको “विजयी राज्य” भन्ने सम्मेलनमा उपस्थित हुन चाहन्थें। न्यु योर्क जानुअघि मुख्यालयमा सेवा गर्ने भाइ नेथन नोरसित मेरो भेट भयो। उहाँ र उहाँकी श्रीमती  अधिवेशनको लागि क्यानाडाको भ्यानकुभरमा आउनुभएको थियो। मलाई बहिनी नोरको कपाल काट्न भनियो। मैले उहाँको कपाल काटें र त्यो स्टाइल भाइ नोरलाई साह्रै मन पऱ्यो। त्यसैले उहाँले मसित भेट्न चाहनुभयो। उहाँसित कुराकानी गर्दै जाँदा जर्मनी जानुअघि न्यु योर्क जाँदै छु भनेर बताएँ। उहाँले मलाई ब्रूक्लिन बेथेलमा नौ दिन काम गर्न निम्तो दिनुभयो।

त्यो भ्रमणले मेरो जीवनै परिवर्तन गरिदियो। न्यु योर्कमा थियोडोर (टेड) जारास नामका यहोवाका साक्षीसित मेरो भेट भयो। उहाँले “तपाईं अग्रगामी हो?” भनेर सोध्नुभयो। मैले “होइन” भनें। तर मेरी साथी लभोनले बीचैमा यसो भनिन्‌, “ऊ अग्रगामी नै हो।” छक्क पर्दै टेडले लभोनलाई सोध्नुभयो, “यसबारे कसलाई राम्ररी थाह छ, तपाईंलाई कि उहाँलाई?” पहिला म अग्रगामी सेवा गर्थें अनि घर फर्केपछि फेरि सुरु गर्ने योजना छ भनेर मैले उहाँलाई बताएँ।

यहोवालाई माया गर्ने व्यक्तिसित विवाह

सन्‌ १९२५ मा टेड अमेरिकाको केन्टकीमा जन्मनुभएको थियो। उहाँले १५ वर्षको उमेरमा बप्तिस्मा गर्नुभयो। उहाँको परिवारमा कोही पनि यहोवाको साक्षी थिएन तैपनि बप्तिस्मा गरेको दुई वर्षपछि उहाँले अग्रगामी सेवा थाल्नुभयो। त्यसबेलादेखि उहाँले लगभग ६७ वर्षसम्म पूर्ण-समय सेवा गर्नुभयो।

जुलाई १९४६ मा टेडले गिलियड स्कुलको सातौं कक्षाबाट स्नातक गर्नुभयो। त्यतिबेला उहाँ २० वर्षको हुनुहुन्थ्यो। त्यसपछि परिभ्रमण निरीक्षकको रूपमा ओहायोमा सेवा गर्नुभयो। त्यसको लगभग चार वर्षपछि उहाँलाई शाखा कार्यालयको निरीक्षकको रूपमा अस्ट्रेलिया खटाइयो।

टेड न्युरेमबर्गको अधिवेशनमा आउनुभयो र हामीले केही समय सँगै बिताउने मौका पायौं। हामी दुईबीच मायाप्रीती बढ्दै गयो। तनमनले यहोवाको सेवा गर्ने उहाँको लक्ष्यबारे थाह पाएर म निकै खुसी भएँ। उहाँ यहोवाप्रतिको समर्पणलाई गम्भीरतासाथ लिनुहुन्थ्यो। तर त्यसको साथसाथै दयालु र मायालु पनि हुनुहुन्थ्यो। उहाँ आफ्नो इच्छालाई भन्दा अरूको इच्छालाई महत्त्व दिनुहुन्थ्यो। जर्मनीको अधिवेशनपछि टेड अस्ट्रेलिया फर्कनुभयो र मचाहिं क्यानाडा फर्कें। हामी एकअर्कालाई चिठ्ठी लेख्ने गर्थ्यौं।

त्यसको लगभग पाँच वर्षपछि टेड अस्ट्रेलियाबाट अमेरिका फर्कनुभयो अनि पछि क्यानाडामा अग्रगामी सेवा गर्न आउनुभयो। उहाँले मेरो परिवारको मन जित्नुभयो। मेरो दाइ माइकल मलाई धेरै माया गर्नुहुन्थ्यो। त्यसैले कुनै केटाले मलाई चासो देखाउँदा दाइलाई चिन्ता लाग्थ्यो। तर टेडसित सङ्गत गरेको केही समयपछि दाइलाई पनि टेड मन पर्न थाल्यो। दाइले मलाई यसो भन्नुभयो, “मेलिटा, तिमीले राम्रो व्यक्ति भेट्टायौ। उहाँलाई सधैं साथ दिइराख्नू।”

सन्‌ १९५६ मा विवाहपछि हामीले थुप्रै वर्ष पूर्ण-समय सेवाबाट आनन्द उठायौं

टेडप्रतिको माया झन्‌झनै गाढा हुँदै गयो। हामीले सन्‌ १९५६ को डिसेम्बर १० मा विवाह गऱ्यौं। क्यानाडामा केही समय अग्रगामी सेवा गरेपछि हामीलाई क्यालिफोर्नियाको मिसोरी र अरकेन्सासमा परिभ्रमण कार्यको लागि खटाइयो। अमेरिकामा लगभग १८ वर्ष परिभ्रमण सेवा गर्दा हरेक हप्ता नयाँ-नयाँ ठाउँमा बास बस्नुपर्थ्यो। हामीले प्रचारकार्यमा थुप्रै राम्रा अनुभव बटुल्यौं। साथै ख्रीष्टियन दाजुभाइ दिदीबहिनीसित सङ्गत गरेर पनि लाभ उठायौं। हरेक हप्ता नयाँ-नयाँ ठाउँमा जानु सजिलो त थिएन तैपनि हामी आनन्दित थियौं।

टेडको एउटा गुण मलाई असाध्यै मन पर्छ। यहोवासित घनिष्ठ हुन पाउनुलाई उहाँ ठूलो सुअवसर ठान्नुहुन्थ्यो। ब्रह्माण्डकै उच्च व्यक्तिलाई पवित्र सेवा चढाउन पाउँदा निकै रमाउनुहुन्थ्यो। सुत्नुअघि घुँडा टेकेर हामी दुवैको लागि उहाँ प्रार्थना गर्नुहुन्थ्यो। त्यसपछि हामी छुट्टाछुट्टै पनि प्रार्थना गर्थ्यौं। कुनै गम्भीर विषयमा चिन्ता लाग्दा टेड ओछ्यानबाट निस्कनुहुन्थ्यो अनि घुँडा टेकेर मनमनै लामो प्रार्थना गर्नुहुन्थ्यो। समस्या ठूलो होस् वा सानो, उहाँ जुनसुकै कुरा पनि प्रार्थनामा राख्नुहुन्थ्यो। उहाँको यो बानी मलाई असाध्यै मन पर्छ।

 विवाह भएको केही समयपछि टेडले मलाई अबदेखि स्मरणार्थको प्रतीक खान सुरु गर्ने कुरा बताउनुभयो। उहाँले भन्नुभयो, “यसबारे यहोवाको इच्छा के हो, सो बुझ्न मैले व्यग्र प्रार्थना गरेको छु।” स्वर्गमा सेवा गर्न परमेश्वरको पवित्र शक्तिद्वारा उहाँ अभिषिक्त हुनुभएको कुरा सुनेर मलाई अचम्म लागेन। ख्रीष्टको भाइलाई समर्थन गर्न पाउनुलाई ठूलो सुअवसरको रूपमा लिन्छु।—मत्ती २५:३५-४०.

पवित्र सेवा चढाउने नयाँ सुअवसर

सन्‌ १९७४ मा टेडलाई यहोवाका साक्षीहरूको परिचालक निकायको सदस्यको रूपमा सेवा गर्ने निम्तो दिइयो। त्यसैले हामी ब्रूक्लिन बेथेल गयौं। टेड परिचालक निकायको जिम्मेवारी सम्हाल्नुहुन्थ्यो र मचाहिं कोठा सफा गर्ने अनि कपाल काट्ने काम गर्थें।

टेडले विभिन्न शाखा कार्यालयको भ्रमण पनि गर्नुपर्थ्यो। उहाँ विशेषगरि प्रतिबन्ध लगाइएका मुलुकहरूमा भइरहेको प्रचारकार्यमा चासो राख्नुहुन्थ्यो। हामी स्वीडेनमा छुट्टी मनाउन गएको बेला उहाँले मलाई यसो भन्नुभयो, “मेलिटा, पोल्याण्डमा हाम्रो प्रचारकार्यमा प्रतिबन्ध लगाइएको छ। म त्यहाँका भाइहरूलाई मदत गर्न चाहन्छु।” पोल्याण्डको भिसा लिएर हामी त्यहाँ गयौं। टेडले त्यहाँका केही भाइहरूसित भेट्नुभयो। ती भाइहरू पोल्याण्डको प्रचारकार्यको रेखदेख गर्नुहुन्थ्यो। कसैले शङ्का नगरोस् भनेर टेड र ती भाइहरू हिंड्दै कुराकानी गर्नुहुन्थ्यो। टेडले ती भाइहरूसित यसरी नै चार दिन लगातार मिटिङ गर्नुभयो। आफ्ना दाजुभाइलाई यसरी मदत गर्न सकेकोमा उहाँले सन्तुष्ट महसुस गर्नुभयो। यो देख्दा मलाई धेरै खुसी लाग्यो।

त्यसपछि सन्‌ १९७७ को नोभेम्बरमा हामी फेरि पोल्याण्ड गयौं। परिचालक निकायका सदस्यहरूले त्यहाँ पहिलो पटक औपचारिक भ्रमण गर्नुभयो। ती सदस्यहरू एफ. डब्लु. फ्रान्ज, डेनियल सिडलिक र टेड हुनुहुन्थ्यो। त्यहाँको प्रचारकार्यमा अझै प्रतिबन्ध लगाइएको थियो। तैपनि परिचालक निकायका ती सदस्यहरूले विभिन्न सहरका निरीक्षक, अग्रगामी र लामो समयदेखि सेवा गरिरहेका यहोवाका साक्षीहरूलाई भेट्नुभयो।

मस्कोको न्याय मन्त्रालयमा टेड र अरू, हामीले कानुनी मान्यता पाएको दिन

त्यसको एक वर्षपछि टेड र मिल्टन हेन्सेलले पोल्याण्डका अफिसरहरूसित भेट्नुभयो। ती अफिसरहरू हाम्रो र प्रचारकार्यको त्यति विरोध गर्दैनथे। सन्‌ १९८२ मा पोल्याण्ड सरकारले एक दिनको सम्मेलन आयोजना गर्न अनुमति दियो। त्यसपछिका वर्षहरूमा ठूलाठूला अधिवेशनहरू सम्पन्न भयो। प्रतिबन्ध लगाइएको भए तापनि हामीले सन्‌ १९८५ मा ठूला रङ्गशालाहरूमा चार वटा अधिवेशन आयोजना गर्न अनुमति पायौं। सन्‌ १९८९ मा अझ ठूलो अधिवेशन गर्ने योजना बनाइरहेको बेला पोल्याण्ड सरकारले यहोवाका साक्षीहरूलाई कानुनी मान्यता दियो। यो कुरा सुनेर टेडको खुसीको सीमा नै रहेन।

पोल्याण्डमा भएको अधिवेशन

 स्वास्थ्य समस्या

सन्‌ २००७ मा शाखा कार्यालयको समर्पण कार्यक्रमको लागि हामी दक्षिण अफ्रिका गइरहेका थियौं। तर बेलायत पुग्दा टेडलाई उच्च रक्तचापको समस्या भयो र डाक्टरले हामीलाई आफ्नो भ्रमण सार्ने सल्लाह दिए। टेड निको हुनुभएपछि हामी अमेरिका फर्क्यौं। तर त्यसको केही हप्तापछि नै उहाँलाई मस्तिष्कघात भयो जसले गर्दा उहाँको शरीरको दायाँ भाग नचल्ने भयो।

उहाँको स्वास्थ्यमा सुधार आउन समय लाग्यो र सुरु-सुरुतिर अफिस जान पनि सक्नुभएन। पक्षाघातले गर्दा उहाँको बोलीमा भने असर परेको थिएन। धेरै गाह्रो भए पनि टेड आफ्नो तालिका पछ्याउन सक्दो गर्नुहुन्थ्यो। हरेक हप्ता हुने परिचालक निकायको सभामा टेलिफोनमार्फत उहाँ भाग लिनुहुन्थ्यो।

बेथेलमा भएको क्लिनिकले प्रबन्ध गरेको व्यायामले (फिजिकल थेरापी) टेडलाई निकै लाभ पुऱ्यायो। बिस्तारै उहाँ चलहल गर्न सक्ने हुनुभयो। अनि केही ईश्वरतान्त्रिक जिम्मेवारी पनि सम्हाल्न सक्नुभयो। उहाँ सधैं खुसी रहने प्रयास गर्नुहुन्थ्यो।

तीन वर्षपछि उहाँलाई दोस्रो पटक मस्तिष्कघात भयो। सन्‌ २०१०, जून ९ बुधबारको दिन उहाँ बित्नुभयो। एकदिन टेडले मलाई छोडेर जानुहुन्छ भन्ने कुरा थाह थियो तैपनि उहाँको मृत्युको पीडा सहन धेरै गाह्रो भयो। तर मैले टेडलाई केही मदत गर्न सकेकोमा सधैं यहोवालाई धन्यवाद दिन्छु। हामीले ५३ वर्षभन्दा धेरै समय सँगै पूर्ण-समय सेवामा बितायौं। स्वर्गमा बस्नुहुने बुबा यहोवासित घनिष्ठ हुन टेडले मदत गर्नुभएकोमा पनि यहोवालाई धन्यवाद दिन्छु। टेडले पाउनुभएको नयाँ जिम्मेवारीमा उहाँ निकै खुसी हुनुहुन्छ भन्ने कुरामा कुनै शङ्का छैन।

नयाँ चुनौतीहरू

बेथेलको ब्युटी पार्लरमा काम गर्न र तालिम दिन पाउँदा धेरै खुसी लाग्छ

आफ्नो श्रीमान्‌सित धेरै वर्ष हाँसीखुसी बिताइसकेपछि नयाँ चुनौतीहरूको सामना गर्न गाह्रो भयो। बेथेल र राज्यभवनमा आएका दाजुभाइ दिदीबहिनीसित समय बिताउन हामीलाई मन पर्थ्यो। तर अहिले टेड हुनुहुन्न अनि म पनि त्यति बलियो छैनँ। त्यसैले पहिला जत्तिको गर्न सक्दिनँ। तैपनि बेथेल र मण्डलीका प्यारा दाजुभाइ दिदीबहिनीसित हुन पाउँदा मलाई निकै खुसी लाग्छ। बेथेलको तालिकाअनुसार चल्न सजिलो छैन। तैपनि यसरी परमेश्वरको सेवा गर्न पाउँदा म आनन्दित छु। साथै मलाई प्रचार गर्न अझै मन पर्छ। हुन त लामो समयसम्म हिंड्दा थकाइ लाग्छ। तैपनि सडक साक्षी दिन र बाइबल अध्ययन सञ्चालन गर्न पाउँदा खुसी लाग्छ।

संसारको अवस्था झन्‌झनै खस्किरहेको छ। तर मेरो जीवन भने खुसीले भरिएको छ। असल जीवनसाथीसित यहोवाको सेवा गर्न पाएकोमा यहोवालाई धन्यवाद दिन्छु। यहोवाको आशिष्‌ले मेरो जीवनमा साँच्चै खुसीयाली छाएको छ।—हितो. १०:२२.

^ अनु. 8 बप्तिस्मा नभएका राम्रा व्यक्तिहरू मृत्युपछि जाने ठाउँ लिम्बो हो भनी क्याथोलिकहरू विश्वास गर्छन्‌।

^ अनु. 13 भाइ ज्याक नेथनको जीवनी प्रहरीधरहरा (अङ्ग्रेजी), सेप्टेम्बर १, १९९०, पृ. १०-१४ मा हेर्नुहोस्।