अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) अगस्त २०१५

 जीवनी

“टापुहरू, जो अनेकौं छन्‌, आनन्दित होऊन्‌!”

“टापुहरू, जो अनेकौं छन्‌, आनन्दित होऊन्‌!”

सन्‌ २०००, मे २२ को कुरा हो। त्यो दिन म कहिल्यै बिर्सन सक्दिनँ। संसारका विभिन्न ठाउँबाट आएका भाइहरू अनि म परिचालक निकायको सभा हुने कोठामा लेखन समितिका भाइहरूलाई कुरिरहेका थियौं। हामीले एउटा प्रस्तुति देखाउनुपर्ने थियो। हामीलाई अलि डर लागिरहेको थियो। हामीले केही हप्ताअघि अनुवादको काममा के-कस्ता समस्याहरू आइपर्छन्‌ भनेर छलफल गरेका थियौं। अब हामीले त्यसको समाधान प्रस्तुत गर्नुपर्ने थियो। तर यो सभा किन महत्त्वपूर्ण थियो? यसबारे बताउनुअघि तपाईंहरूलाई मेरो विगतबारे केही बताउन चाहन्छु।

क्वीन्सल्यान्डमा बप्तिस्मा गरें, तास्मानियामा अग्रगामी सेवाको अनि टुभालु, सामोआ र फिजीमा मिसनरी सेवाको आनन्द उठाएँ

मेरो जन्म सन्‌ १९५५ मा अस्ट्रेलियाको क्वीन्सल्यान्डमा भएको हो। त्यसको केही समयपछि नै मेरी आमा एस्टेलले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाल्नुभयो। त्यसै वर्ष उहाँले बप्तिस्मा गर्नुभयो। तर मेरो बुबा रोन १३ वर्षपछि मात्र यहोवाको साक्षी बन्नुभयो। मैले सन्‌ १९६८ मा सेन्ट जर्जमा आयोजित सम्मेलनमा बप्तिस्मा गरें।

मलाई सानैदेखि किताब पढ्न मन पर्थ्यो अनि भाषाहरूमा पनि रुचि थियो। परिवारसँगै घुम्न जाँदा म गाडीको पछाडि सिटमा बसेर बाहिरको रमाइलो दृश्य हेर्नुको साटो किताब पढिरहन्थें। यो देखेर आमाबुबालाई पक्कै दिक्क लागेको हुनुपर्छ। मलाई पढ्न धेरै मन पर्छ। त्यसैले म स्कुलको राम्रो विद्यार्थी थिएँ; तास्मानिया टापुमा रहेको माध्यामिक स्कुलमा थुप्रै पुरस्कार पनि पाएँ।

मैले विश्वविद्यालयमा पढ्ने छात्रवृत्ति पाएँ। त्यो स्वीकार्ने कि नस्वीकार्ने भनेर निर्णय गर्नुपर्ने भयो। हुन त मलाई किताब पढ्न र नयाँ-नयाँ कुरा सिक्न मन पर्थ्यो। तर यहोवालाई अटल प्रेम गर्न आमाले सिकाउनुभएकोले मैले सही निर्णय गर्न सकें। (१ कोरि. ३:१८, १९) त्यसैले स्कुलको आधारभूत शिक्षा लिएपछि आमाबुबासित सरसल्लाह गरेर सन्‌ १९७१ को जनवरीदेखि अग्रगामी सेवा गर्न थालें। त्यतिबेला म १५ वर्षको थिएँ।

 त्यसपछिको आठ वर्षसम्म मैले तास्मानियामा अग्रगामी सेवा गर्ने सुअवसर पाएँ। त्यहाँ छँदा मैले तास्मानियाको एक जना राम्री केटीसित विवाह गरें। उनको नाम जेनी एलकोक थियो। हामीले चार वर्ष स्मिथटन र क्विन्स्टाउनजस्ता नयाँ इलाकामा विशेष अग्रगामीको रूपमा सेवा गऱ्यौं।

प्रशान्त महासागरका टापुहरूमा

सन्‌ १९७८ मा हामी पहिलो पटक अन्तरराष्ट्रिय अधिवेशनमा उपस्थित हुन पापुआ न्यु गिनीको पोर्ट मोरेस्बी भन्ने ठाउँमा गयौं। एक मिसनरीले हिरी मोटु भाषामा भाषण दिएको मलाई अझै याद छ। हुन त उहाँको भाषणको एउटै शब्द बुझिनँ तर त्यसबाट मिसनरी बन्न, नयाँ भाषा सिक्न र उहाँले जस्तै भाषण दिन प्रोत्साहन पाएँ। भाषाप्रति रुचि भएकोले यसलाई यहोवाको सेवामा कसरी प्रयोग गर्ने भनेर बल्ल बुझ्न सकें।

अस्ट्रेलिया फर्केपछि हामीले टुभालुको फुनाफुटी भन्ने टापुमा मिसनरी सेवा गर्ने निम्तो पायौं। यो निम्तो पाउँदा हामी छक्कै पऱ्यौं। फुनाफुटी टापुलाई एलिस टापुहरू भनिन्थ्यो। हामी सन्‌ १९७९ मा नयाँ असाइनमेन्टको लागि त्यहाँ पुग्यौं। त्यतिबेला टुभालुमा जम्मा तीन जना बप्तिस्मा प्राप्त प्रकाशक थिए।

टुभालुमा जेनीसित

टुभालुअन भाषा सिक्नु सजिलो थिएन। त्यस भाषामा एउटै मात्र किताब पाइन्थ्यो। त्यो हो, बाइबलको “नयाँ करार।” त्यस भाषामा न कुनै शब्दकोश थियो न त भाषा सिक्ने कुनै किताब नै। त्यसैले हामीले हरेक दिन १० देखि २० वटा नयाँ शब्द सिक्ने विचार गऱ्यौं। तर हामीले सिकेका शब्दहरू सही तरिकामा प्रयोग गरिरहेका थिएनौं। यो कुरा हामीले पछि मात्र थाह पायौं। हामीले मानिसहरूलाई ज्योतिषविद्या गलत हो भन्नुको साटो नाप तौल गर्नु र लौरो प्रयोग गर्नु गलत हो भनिरहेका थियौं। हामीले जसरी भए पनि भाषा सिक्नै पर्थ्यो किनभने हामीले थुप्रै मानिसलाई बाइबल अध्ययन गराउँदै थियौं। हामीले भाषा सिक्न निरन्तर प्रयास गरिरह्यौं। त्यतिबेलाको एक जना बाइबल विद्यार्थीले केही वर्षपछि हामीलाई यसो भनिन्‌, “तपाईंहरूले हाम्रो भाषा बोल्न सकेको देख्दा असाध्यै खुसी लाग्छ। सुरु-सुरुमा तपाईंहरूले भन्न खोज्नुभएको कुरा हामी केही बुझ्दैन थियौं।”

अर्कोतर्फ नयाँ भाषा सिक्ने राम्रो माहौल तयार भयो। त्यहाँ भाडामा कुनै घर पाइएन। त्यसैले हामी गाउँमा एउटा साक्षी परिवारसितै बस्न थाल्यौं। यसरी हामी त्यस भाषामा र गाउँले जीवनमा पूरै भिज्न सक्यौं। हामीले अङ्ग्रेजी भाषा धेरै वर्षसम्म बोलेका थिएनौं। त्यसैले टुभालुअन भाषा नै हाम्रो मुख्य भाषा बन्यो।

धेरै मानिसले बाइबलको सत्यमा चासो देखाउन थाले। तर तिनीहरूलाई बाइबल अध्ययन गराउन कुन प्रकाशन चलाउने त? तिनीहरूको भाषामा हाम्रो कुनै प्रकाशन थिएन। तिनीहरूले कसरी व्यक्तिगत अध्ययन गर्न सक्थे? तिनीहरू  सभामा आउन थाल्दा कुन गीत गाउने अथवा कुन प्रकाशन ल्याउने अनि तिनीहरूले सभाको तयारी कसरी गर्ने? तिनीहरू बप्तिस्मा गर्न कसरी योग्य हुन सक्थे? यी नम्र मानिसहरूलाई तिनीहरूकै भाषामा आध्यात्मिक भोजन चाहिएको थियो। (१ कोरि. १४:९) पन्ध्र हजार वा सोभन्दा कम मानिसले बोल्ने टुभालुअन भाषामा कुनै प्रकाशन आउला त? यहोवाले हाम्रो प्रश्नको जवाफ दुइटा कुरामार्फत दिनुभयो: (१) उहाँ आफ्नो वचन “टाढा-टाढा समुद्र-किनारका देशहरूमा” प्रचार भएको चाहनुहुन्छ अनि (२) संसारको नजरमा “दीन र नम्र” देखिने मानिसहरूले उहाँको नाममा शरण लिएको उहाँ चाहनुहुन्छ।—यर्मि. ३१:१०; सप. ३:१२.

हाम्रा प्रकाशनहरूको अनुवाद

सन्‌ १९८० मा हामीले शाखा कार्यालयबाट अनुवादकको रूपमा काम गर्ने जिम्मेवारी पायौं। त्यो काम गर्न सक्छौं जस्तो लागेकै थिएन। (१ कोरि. १:२८, २९) सुरुमा सरकारबाट प्रतिलिपि बनाउने उपकरण किन्यौं अनि सभामा चाहिने सामग्री छाप्न थाल्यौं। अनन्त जीवनतर्फ लैजाने सत्य (अङ्ग्रेजी) पनि अनुवाद गरेर छाप्यौं। त्यहाँ बिजुली थिएन। मसीको कडा गन्ध र गर्मी ठाउँमा हातैले ती सबै प्रकाशन छाप्न गरेको मेहनत अझै झलझली सम्झन्छु।

टुभालुअन भाषामा अनुवाद गर्ने काम सजिलो थिएन किनभने हामीलाई चाहिने स्रोत-सामग्री थोरै थियो। तर कहिलेकाहीं हामीले सोच्दै नसोचेको तरिकामा मदत पायौं। एक पटकको कुरा हो, हाम्रो विरोध गर्ने एक जना व्यक्तिको घरमा म झुक्किएर पुगेछु। ती घरधनी वृद्ध थिए अनि तिनी पहिला शिक्षक रहेछन्‌। तिनले तुरुन्तै ‘अबदेखि मेरो घरमा नआउनू’ भने। त्यसपछि तिनले यसो भने, “म एउटा कुराचाहिं भन्छु है। तपाईंहरूको अनुवाद मानिसहरूले बोल्ने टुभालुअन भाषाजस्तो छैन। तपाईंहरू कर्मवाच्य धेरै प्रयोग गर्नुहुन्छ।” मैले हाम्रो प्रकाशन अरू प्रकाशनहरूसित दाँजेर हेरें। तिनले भनेको कुरा सही रहेछ। त्यसपछि हामीले आवश्यक छाँटकाँट गऱ्यौं। हाम्रो प्रकाशनचाहिं पढ्ने तर हामीलाई विरोध गर्ने व्यक्ति चलाएर यहोवाले मदत गर्नुभयो। कस्तो अचम्मको कुरा!

टुभालुअनमा राज्य समाचार न. ३०

हामीले जनसाधारणलाई दिएको टुभालुअन भाषाको पहिलो प्रकाशन स्मरणार्थको निम्तो पर्ची थियो। त्यसपछि अङ्ग्रेजीसँगै टुभालुअनमा राज्य समाचार न. ३० प्रकाशित भयो। मानिसहरूलाई तिनीहरूकै भाषामा केही दिन पाउनु  साँच्चै खुसीको कुरा हो। बिस्तारै टुभालुअनमा केही पुस्तिका र किताब पनि प्रकाशित हुन थाल्यो। सन्‌ १९८३ मा अस्ट्रेलिया शाखा कार्यालयले २४ पृष्ठे प्रहरीधरहरा पत्रिका त्रैमासिक रूपमा छाप्न थाल्यो। यसले गर्दा हामीले हरेक हप्ता सातवटा अनुच्छेद छलफल गर्न पाउँथ्यौं। मानिसहरूले कस्तो प्रतिक्रिया देखाए? टुभालुका मानिसहरू पढ्न रुचाउने भएकोले हाम्रा प्रकाशनहरू मानिसहरूमाझ लोकप्रिय भयो। नयाँ प्रकाशन आउनेबित्तिकै रेडियोको समाचारमा घोषणा गरिन्थ्यो अनि कहिलेकाहीं त त्यही नै मुख्य समाचार हुन्थ्यो। *

अनुवादको काम कलम र कागजबाट सुरु भयो। पछि हातले लेखेका ती लेखहरू टाइप गरिन्थ्यो अनि तयार नभएसम्म पटक-पटक टाइप गर्नुपर्थ्यो। त्यसपछि छपाइको लागि अस्ट्रेलिया शाखालाई पठाइन्थ्यो। शाखा कार्यालयमा दुई जना बहिनीलाई टुभालुअन भाषा नआए पनि उनीहरूले ती लेखहरू एक-एक गरी कम्प्युटरमा फेरि टाइप गर्थे। यसरी लेखहरू दुई पटक कम्प्युटरमा टाइप गर्दा र त्यसलाई तुलना गर्दा गल्ती हुने सम्भावना असाध्यै कम हुन्थ्यो। कम्पोज गरिएका पानाहरू जाँच गर्न हामीकहाँ हवाईजहाजबाट पठाइन्थ्यो अनि हामीले जाँचिसकेपछि छपाइका लागि फेरि शाखा कार्यालयमा पठाउँथ्यौं।

समय र परिस्थिति परिवर्तन भइसक्यो। अहिले संसारभरका अनुवादकहरू सीधै कम्प्युटरमै अनुवादको काम गर्छन्‌। धेरैजसो ठाउँमा अनुवाद गरेर सच्याइएपछि त्यही ठाउँमा नै कम्पोजिसन गरिन्छ। कम्पोज गरिएका फाइलहरू छपाइको लागि इन्टरनेटमार्फत शाखा कार्यालयमा पठाइन्छ। त्यसैले अहिले टाइप गरिएका लेखहरू पठाउन दौडधूप गरेर पोस्ट अफिस जानुपर्दैन।

थप असाइनमेन्टहरू

वर्षहरू बित्दै जाँदा जेनी र मैले प्रशान्त महासागरका टापुहरूमा विभिन्न असाइनमेन्ट पायौं। सन्‌ १९८५ मा हामीलाई टुभालुबाट सामोआ शाखा कार्यालयमा खटाइयो। त्यहाँ हामीले टोकेलाउअन, टोंगन र सामोअन भाषाको अनुवादमा मदत गर्ने जिम्मेवारी पायौं। त्यसका साथै हामीले पहिला गर्दै गरेको काम अर्थात्‌ टुभालुअन भाषाको काम पनि गर्दै थियौं। * त्यसपछि सन्‌ १९९६ मा यस्तै जिम्मेवारी फिजी शाखा कार्यालयमा पायौं। त्यहाँ हामीले किरिवाती, टुभालुअन, नाउरुआन, फिजियन र रोतुमन भाषाको अनुवादमा मदत गर्ने सुअवसर पायौं।

टुभालुअन भाषाको प्रकाशन प्रयोग गर्दै

हाम्रा प्रकाशनहरू अनुवाद गर्ने दाजुभाइ दिदीबहिनीको जोस देखेर म छक्कै पर्छु। यस्तो काम पट्टाइलाग्दो र थकाइलाग्दो हुन सक्छ। तैपनि यहोवाका ती वफादार सेवकहरू उहाँले जस्तै “हरेक राष्ट्र, कुल, भाषा र जाति”-ले सुसमाचार सुनोस् भन्ने चाहन्छन्‌। (प्रका. १४:६) उदाहरणको लागि, टोंगन भाषामा पहिलो पटक प्रहरीधरहरा-को अनुवाद गरिने योजना बनाइँदा अनुवाद गर्न कसलाई प्रशिक्षण दिन सकिएला भनेर टोंगाका सबै एल्डरहरूलाई सोधें। ती एल्डरहरूमध्ये एक जना मिस्त्रीको काम गर्नुहुन्थ्यो। त्यसबाट राम्रो कमाइ हुन्थ्यो। तर उहाँले भोलिपल्टै आफ्नो जागिर छोड्ने र तुरुन्तै अनुवादको काम सुरु गर्न सक्ने कुरा बताउनुभयो। यो देखेर मेरो मन छोयो किनभने उहाँको परिवार थियो र परिवारको गुजारा कसरी टार्ने भनेर उहाँले चिन्ता गर्नुभएन। तर यहोवाले  उहाँ र उहाँको परिवारको ख्याल राख्नुभयो। उहाँले धेरै वर्षसम्म अनुवादकको रूपमा काम गर्नुभयो।

यस्ता अनुवादकहरूले परिचालक निकायको जस्तै सोचाइ राख्छन्‌। थोरै मानिसले मात्र बोल्ने भाषामा समेत परिचालक निकाय चासो राख्छ किनभने ती मानिसहरूले पनि यहोवासित नजिकको सम्बन्ध गाँसोस् भन्ने उहाँहरू चाहनुहुन्छ। उदाहरणको लागि, थोरै मानिसले बोल्ने टुभालुअन भाषामा प्रकाशनहरू अनुवाद गर्नु साँच्चै आवश्यक छ त भन्ने प्रश्न उठेको थियो। परिचालक निकायबाट पाएको चिठी पढ्दा धेरै प्रोत्साहन पाएँ। त्यसमा यस्तो लेखिएको थियो, “तपाईंहरूले टुभालुअन भाषाको अनुवादलाई रोक्नुपर्ने कुनै कारण छैन। हुन त टुभालुअन भाषा बोल्नेहरू अरू भाषा बोल्ने मानिसहरूको तुलनामा थोरै छन्‌। तैपनि त्यहाँका मानिसहरूलाई तिनीहरूकै भाषामा सुसमाचार सुनाउनु आवश्यक छ।”

समुद्रमा बप्तिस्मा

सन्‌ २००३ मा जेनी र मलाई फिजी शाखा कार्यालयको अनुवाद विभागबाट न्यु योर्कको प्याटर्सनमा भएको अनुवाद सेवा विभागमा खटाइयो। बल्ल मेरो सपना साकार भयो। अरू भाषामा अनुवाद कामलाई टेवा पुऱ्याइरहेको एउटा टिमसित काम गर्ने मौका पायौं। त्यसपछिको लगभग दुई वर्षसम्म हामीले विभिन्न देशमा गएर अनुवादकहरूलाई तालिम दिने सुअवसर पायौं।

महत्त्वपूर्ण निर्णयहरू

मैले सुरुमा उल्लेख गरेको प्रस्तुतिबारे अब बताउँछु। सन्‌ २००० सम्ममा परिचालक निकायले संसारभर रहेका अनुवाद टोलीहरू अझ प्रभावकारी हुनुपर्ने खाँचो देखे। अनुवादकहरूले त्यति तालिम पाएका थिएनन्‌। हामीले तयार गरेको त्यो प्रस्तुति लेखन समितिले हेरेपछि परिचालक निकायले संसारभर रहेका अनुवादकहरूलाई तालिम दिने कार्यक्रम सञ्चालन गर्न स्वीकृति दियो। त्यस कार्यक्रममा अङ्ग्रेजी भाषा बुझ्ने, विभिन्न तरिका चलाएर अनुवाद गर्ने र टिमसित मिलेर काम गर्नेजस्ता विषयहरू समावेश थियो।

अनुवादको कामलाई यसरी जोड दिंदा नतिजा कस्तो भएको छ? यसले अनुवादको गुणस्तर बढाएको छ। हाम्रा प्रकाशनहरू धेरैभन्दा धेरै भाषामा अनुवाद हुन सकेको छ। सन्‌ १९७९ मा मिसनरीको रूपमा सेवा सुरु गर्दा प्रहरीधरहरा पत्रिका जम्मा ८२ भाषामा उपलब्ध थियो। प्रायजसो भाषाहरूको पत्रिका अङ्ग्रेजी संस्करण आएको केही महिनापछि मात्र प्रकाशित हुन्थ्यो। तर अहिले प्रहरीधरहरा २४० भन्दा धेरै भाषामा प्रकाशित गरिन्छ अनि त्यसमध्ये थुप्रै भाषाको अङ्क अङ्ग्रेजीसँगसँगै प्रकाशित हुन्छ। अहिले हाम्रा प्रकाशनहरू ७०० भन्दा धेरै भाषामा पाइन्छ। यसमा बेवसाइटमा पाइने प्रकाशनहरू पनि पर्छन्‌। केही वर्षअघि यस्तो होला भनेर हामीले सपनामा पनि चिताएका थिएनौं।

सन्‌ २००४ मा परिचालक निकायले बाइबल अनुवाद गर्ने कामलाई द्रुत गतिमा अघि बढाउने महत्त्वपूर्ण निर्णय गऱ्यो। यो निर्णय गरेको केही महिनापछि बाइबलको पनि अनुवाद गर्न थालियो। यसले गर्दा नयाँ संसार अनुवाद थुप्रै भाषामा उपलब्ध गराउने बाटो खुल्यो। सन्‌ २०१४ सम्ममा यो बाइबल पूरा वा आंशिक गरेर १२८ भाषामा छापियो। अहिले दक्षिण प्रशान्त टापुहरूमा बोलिने थुप्रै भाषामा पनि नयाँ संसार अनुवाद पाइन्छ।

टुभालुअन भाषाको नयाँ संसार अनुवाद-को ख्रीष्टियन ग्रीक धर्मशास्त्र विमोचन गर्दै

 सन्‌ २०११ मा टुभालुको अधिवेशनमा उपस्थित हुने मौका पाएँ। त्यो मेरो जीवनको अविस्मरणीय क्षण थियो। महिनौंसम्म टुभालुभरि डरलाग्दो खडेरी लागेकोले अधिवेशन नै रद्द होला कि जस्तो भयो। तर त्यहाँ पुगेको बेलुकी ठूलो पानी पऱ्यो अनि अधिवेशन पनि सम्पन्न हुन सक्यो। थोरै मानिसले मात्र बोल्ने टुभालुअन भाषाको नयाँ संसार अनुवाद-को ख्रीष्टियन ग्रीक धर्मशास्त्र विमोचन गर्ने ठूलो सुअवसर पाएँ। यो तिनीहरूको लागि विशेष उपहार थियो। अधिवेशन सिद्धिएपछि फेरि घनघोर वर्षा भयो। सबै जनाले पर्याप्त मात्रामा आध्यात्मिक खानेकुरा पाए अनि प्रशस्तै पानी पनि।

सन्‌ २०१४ मा अस्ट्रेलियाको टाउन्सभिल्लामा आयोजित अधिवेशनमा मेरो बुबा र आमाको अन्तरवार्ता लिंदै

दुःखको कुरा, ३५ वर्षसम्म साथ दिने मेरी जीवनसाथीले यो अविस्मरणीय क्षण अनुभव गर्न पाइनन्‌। दस वर्षसम्म स्तन क्यान्सरसित उनले सङ्घर्ष गर्नुपऱ्यो अनि सन्‌ २००९ मा उनको मृत्यु भयो। उनी पुनर्जीवित भएर आउँदा टुभालुअन भाषाको बाइबल विमोचन भएको कुरा थाह पाएपछि पक्कै खुसी हुनेछिन्‌।

यहोवाले फेरि अर्की जीवनसाथी दिएर मलाई आशिष्‌ दिनुभएको छ। तिनको नाम लोरेनी सिकिभो हो। लोरेनी र जेनी फिजीको बेथेलमा सँगै काम गर्थे। लोरेनी फिजियन भाषाको अनुवादकको रूपमा काम गर्थिन्‌। तिनी वफादार भएर मसँगै यहोवाको सेवा गर्छिन्‌ अनि तिनलाई पनि भाषामा रुचि छ।

फिजीमा लोरेनीसित प्रचार गर्दै

विगतलाई फर्केर हेर्दा हाम्रो मायालु बुबा यहोवाले विभिन्न भाषाभाषीका मानिसहरूको ख्याल राख्दै हुनुहुन्छ भन्ने कुरा प्रस्टै देखिन्छ, चाहे त्यो भाषा बोल्ने मानिसहरू धेरै होऊन्‌ या थोरै। (भज. ४९:१-३) यो देख्दा म धेरै प्रोत्साहन पाउँछु। मानिसहरूले आफ्नो मन छुने भाषामा पहिलो पटक प्रकाशन पाउँदा वा यहोवाको स्तुतिगान गाउँदा तिनीहरूको अनुहारमा खुसी छाउँछ। यो नै यहोवाले हामीलाई असाध्यै माया गर्नुहुन्छ भन्ने कुराको प्रमाण हो। (प्रेषि. २:८, ११) टुभालुका साउलो टिअसी नाम गरेका वृद्ध भाइले भनेको कुरा मलाई अझै याद आउँछ। तिनले आफ्नै भाषामा पहिलो पटक राज्य गीत गाएपछि यसो भने, “यो गीत अङ्ग्रेजीमा भन्दा टुभालुअनमै राम्रो सुनिन्छ। यो कुरा तपाईंले परिचालक निकायलाई भन्नुपर्छ है।”

सन्‌ २००५ को सेप्टेम्बरदेखि आसै नगरेको सुअवसर मैले पाएको छु। त्यो हो, यहोवाका साक्षीहरूको परिचालक निकायको सदस्यको रूपमा सेवा गर्ने। हुन त म अहिले अनुवादकको रूपमा सेवा गर्न सक्दिनँ। तैपनि संसारभरि भइरहेको अनुवादको काममा सहयोग गर्न पाएकोमा यहोवालाई म धेरै धन्यवाद दिन्छु। यहोवाले प्रशान्त महासागरका स-साना टापुहरूमा बस्ने मानिसहरूलगायत आफ्ना सम्पूर्ण सेवकको आध्यात्मिक आवश्यकताको ख्याल राख्नुहुन्छ भन्ने कुरा थाह पाउँदा साँच्चै खुसी लाग्छ। भजनरचयिताले यसो भनेका छन्‌, “परमप्रभुले राज्य गर्नुहुन्छ; पृथ्वी रमाओस्; टापुहरू, जो अनेकौं छन्‌, आनन्दित होऊन्‌।”—भज. ९७:१, पवित्र बाइबल [TBS]

^ अनु. 18 हाम्रो प्रकाशनहरूप्रति मानिसहरूले देखाएको प्रतिक्रियाबारे बुझ्न डिसेम्बर १५, २००० को प्रहरीधरहरा, पृ. ३२; अगस्त १, १९८८ को प्रहरीधरहरा (अङ्ग्रेजी), पृ. २२ र जनवरी ८, २००१ को ब्यूँझनुहोस्!, पृ. ९ हेर्नुहोस्।

^ अनु. 22 सामोआमा भएको अनुवादको कामबारे थप जानकारी यहोवाका साक्षीहरूको वार्षिक पुस्तक २००९ (अङ्ग्रेजी) को पृ. १२०-१२१, १२३-१२४ मा हेर्नुहोस्।