सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा—अध्ययन संस्करण  |  जुलाई २०१५

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—रूस

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—रूस

सन्‌ १९९१ मा रूसका यहोवाका साक्षीहरू विरुद्ध लामो समयदेखि लगाइएको सरकारी प्रतिबन्ध हटाइयो। त्यहाँका दाजुभाइ दिदीबहिनीका लागि यो अत्यन्तै खुसीको कुरा थियो। त्यसबेलादेखि यता रूसमा यहोवाका साक्षीहरूको सङ्ख्या दस गुणाले बढेर १ लाख ७० हजार पुगेको छ। यस्तो वृद्धि हुनेछ भनेर सायद कमैले मात्र सोचेका थिए। अन्य देशबाट त्यहाँ मदत गर्न गएका राज्य प्रचारकहरूले यस्तो वृद्धिमा सहयोग पुऱ्याएका छन्‌। (मत्ती ९:३७, ३८) आउनुहोस्, तिनीहरूमध्ये केहीलाई चिनौं।

मण्डली बलियो बनाउन भाइहरूले मदत गर्छन्‌

रूसमा प्रतिबन्ध हटाइएको वर्ष बेलायतका म्याथ्यु २८ वर्षका थिए। त्यही वर्ष अधिवेशनको एउटा भाषणमा पूर्वी युरोपका मण्डलीहरूमा मदतको खाँचो छ भनेर जोड दिइएको थियो। उदाहरणका लागि, त्यस भाषणमा रूसको सेन्ट पिटर्सवर्गको एउटा मण्डलीबारे बताइएको थियो। त्यस मण्डलीमा एल्डर थिएन; सहायक सेवक पनि एक जना मात्र थियो। तर त्यहाँका प्रकाशकहरूले सयौं बाइबल अध्ययन सञ्चालन गरिरहेका थिए। म्याथ्यु यसो भन्छन्‌, “त्यो भाषण सुनेपछि रूसमा सेवा गर्ने इच्छा जाग्यो। त्यसबारे निकै सोचें अनि यहोवालाई प्रार्थना गरें।” तिनले पैसा जम्मा गर्न थाले, आफ्नो धेरैजसो सर-सम्पत्ति बेचे अनि सन्‌ १९९२ मा रूसमा सरे। त्यहाँ गएपछि तिनले कस्तो अवस्था सामना गर्नुपऱ्यो?

म्याथ्यु

म्याथ्यु यसो भन्छन्‌: “भाषा सिक्नु निकै चुनौती थियो, त्यसैले मानिसहरूसित बाइबलबाट राम्रो छलफल गर्न सक्दिनथें। अनि त्यहाँ डेरा पाउन पनि गाह्रै थियो। एउटा घरबाट अर्को घर कति पटक सर्नुपऱ्यो गन्ती नै छैन।” यस्ता विभिन्न चुनौतीहरूको सामना गर्नु परे तापनि म्याथ्यु यसो भन्छन्‌: “रूसमा सरेकोमा मलाई कुनै पछुतो छैन। यहाँ आएर सेवा गरेपछि विभिन्न तरिकामा यहोवाको डोऱ्याइ महसुस गरें; उहाँमा भर पर्न सिकें।” म्याथ्यु पछि विशेष अग्रगामी र एल्डरको रूपमा नियुक्त भए। अहिले तिनी सेन्ट पिटर्सवर्ग नजिकैको शाखा कार्यालयमा सेवा गर्दै छन्‌।

सन्‌ १९९९ मा जापानका हिरूले मिनिस्टेरियल ट्रेनिङ स्कुलबाट स्नातक गर्दा तिनी २५ वर्षका थिए। एक जना प्रशिक्षकले तिनलाई विदेशी भूमिमा सेवा गर्न प्रोत्साहन  दिएका थिए। रूसमा प्रचारकको निकै खाँचो छ भन्ने सुनेपछि तिनले रूसी भाषा सिक्न थाले। रूसमा जाडो पनि निकै हुन्छ। त्यसैले त्यहाँको जाडो खप्न सकिन्छ कि सकिंदैन भनेर हेर्न तिनी नोभेम्बर महिनामा रूस गए अनि ६ महिना त्यहीं बसे। रूसको जाडो पचाउन सकिने रहेछ भनेर बुझेपछि तिनले रूसमा सेवा गर्ने निर्णय गरे। तिनी जापान फर्के र सरल जीवन बिताउँदै पैसा जम्मा गर्न थाले।

हिरू र सभेट्लाना

हिरूले रूसमा सेवा गर्न थालेको १२ वर्ष भइसक्यो। यस अवधिमा तिनले थुप्रै मण्डलीमा सेवा गरिसकेका छन्‌। तिनले एल्डरको रूपमा सयभन्दा धेरै प्रकाशकलाई एक्लैले हेरचाह गर्नु पर्ने समय पनि थियो। एउटा मण्डलीमा तिनले हरेक हप्ता ईश्वरतान्त्रिक सेवा स्कुल, सेवा सभाको धेरैजसो भाग, प्रहरीधरहरा अध्ययन सञ्चालन र विभिन्न ५ वटा समूहमा मण्डली पुस्तक अध्ययन सञ्चालन गर्नु परेको थियो। तिनले धेरैलाई गोठालो भेट गरे। ती दिनहरू सम्झँदै हिरू यसो भन्छन्‌: “प्यारा दाजुभाइ दिदीबहिनीहरूलाई यहोवासितको सम्बन्ध बलियो बनाउन मदत गर्न सकें। यसो गर्न पाएकोमा धेरै खुसी छु।” आवश्यक भएको ठाउँमा गएर सेवा गर्दा तिनले कस्तो लाभ उठाए? तिनी यसो भन्छन्‌: “रूसमा जानअघि पनि अग्रगामी र एल्डरको रूपमा सेवा गरिरहेको थिएँ। तर यहाँ आएपछि यहोवासित अझ घनिष्ठ हुन सकें र जीवनको हरेक पक्षमा यहोवामाथि पूर्ण भरोसा राख्न सिकें।” सन्‌ २००५ मा हिरूले सभेट्लानासित विवाह गरे। तिनीहरू दुवैले अग्रगामी सेवा गरिरहेका छन्‌।

मरिना र म्याथ्युसित माइकल र ओल्गा

चौंतीस वर्षका म्याथ्यु र तिनका २८ वर्षका भाइ माइकल क्यानाडाका हुन्‌। तिनीहरू एकपटक रूसमा गए। त्यहाँ चासो देखाउने धेरै मानिसहरू सभामा आएको देख्दा तिनीहरू चकित भए। तर जिम्मेवारी सम्हाल्ने भाइहरू थोरै थिए। म्याथ्युले यसो भने: “त्यस मण्डलीको उपस्थित सङ्ख्या २०० थियो। तर सभा सञ्चालन गर्न एक जना वृद्ध एल्डर र एक जना सहायक सेवक मात्र थियो। यस्तो अवस्था देखेपछि त्यहाँ सेवा गर्न म जुरमुरिएँ।” सन्‌ २००२ मा तिनी रूसमा गए।

चार वर्षपछि माइकल पनि रूसमा सरे। त्यहाँ मदतको अझै खाँचो थियो। सहायक सेवकको रूपमा तिनलाई लेखा विभाग, साहित्य विभाग र इलाकासम्बन्धी कामको रेखदेख गर्ने जिम्मेवारी दिइयो। तिनले सचिवले गर्ने काम पनि गर्नुपऱ्यो। साथै जनभाषण दिने, सम्मेलन व्यवस्थापन गर्ने र राज्यभवन निर्माण गर्ने जस्ता काममा पनि मदत गर्नुपरेको थियो। अझै पनि रूसका मण्डलीहरूमा मदतको आवश्यकता छ। अहिले माइकल एल्डरको रूपमा सेवा गर्दै छन्‌। थुप्रै जिम्मेवारी वहन गर्न कडा मेहनत गर्नुपरे तापनि तिनी यसो भन्छन्‌: “दाजुभाइलाई मदत गर्न पाउँदा म खुसी छु; मेरो लागि जीवन बिताउने सबैभन्दा उत्तम तरिका यही नै हो।”

समयको दौडान म्याथ्युले मरिना र माइकलले ओल्गासित विवाह गरे। ती दम्पतीका साथै अरू थुप्रै दाजुभाइ दिदीबहिनीले खुसीसाथ त्यहाँका मण्डलीहरूमा मदत गरिरहेका छन्‌।

बहिनीहरू कटनी कार्यमा मदत गर्छन्‌

टाटान्या

सन्‌ १९९४ मा टाटान्या १६ वर्षकी थिइन्‌। त्यतिबेला चेक गणतन्त्र, पोल्याण्ड र स्लोभाकियाबाट ६ जना विशेष अग्रगामी तिनको मण्डली युक्रेनमा सेवा गर्न आएका थिए। तिनीहरूको मायालु व्यवहार सम्झँदै टाटान्या भन्छिन्‌: “उहाँहरू दयालु, कुरा गर्न सजिलो र जोसिला अग्रगामीहरू हुनुहुन्थ्यो। साथै बाइबलको कुरा राम्ररी बुझ्नुभएको थियो।” तिनीहरूको काममा यहोवाले आशिष्‌ दिनुभएको कुरा टाटान्याले देखेकी थिइन्‌। तिनी भन्ने गर्थिन्‌: “म पनि उहाँहरू जस्तै हुन चाहन्छु।”

अग्रगामीहरूको राम्रो उदाहरणबाट टाटान्यालाई निकै प्रोत्साहन मिल्यो। तिनी स्कुलको बिदा भएको बेला युक्रेन र बेलारूसको दुर्गम इलाकामा प्रचार गर्न जान्थिन्‌। यसरी प्रचारमा जाँदा तिनी निकै आनन्दित भइन्‌ र रूसमा गएर सेवाको काम विस्तार गर्ने योजना बनाइन्‌। त्यसैले रूसमा  सेवा गर्न गएकी एक जना बहिनीलाई भेट्न तिनी रूसमा गइन्‌ र केही समय त्यहीं बसिन्‌। साथै पछि रूसमा सेवा गर्न जाँदा अग्रगामी गर्न सजिलो होस् भनेर काम पनि खोजिन्‌। तिनी आफ्नो योजनाअनुसारै सन्‌ २००० मा रूसमा सरिन्‌। यसरी आफ्नो देश छोडेर अर्कै देशमा सेवा गर्नु सजिलो थियो?

टाटान्या भन्छिन्‌: “म एक्लैले अपार्टमेन्टको खर्च धान्न नसकेकोले अरूसँग बस्नु पऱ्यो। यसरी बस्नु सजिलो थिएन। कति पटक त घरै फर्कु कि जस्तो लाग्यो। तर यहोवा परमेश्वरले मलाई निरन्तर सेवा गरिरहन मदत गर्नुभयो।” अहिले टाटान्या रूसमा मिसनरी सेवा गर्दै छिन्‌। तिनी यसरी कुरा टुङ्ग्याउँछिन्‌: “वर्षौको दौडान घरबाट टाढा रहेर सेवा गर्दा मैले थुप्रै कुराहरू सिकें र धेरै साथीहरू बनाएँ। सबैभन्दा महत्त्वपूर्ण कुरा मेरो विश्वास बलियो भएको छ।”

मासाको

जापानकी मासाको अहिले ५० वर्ष नाघिसकेकी छिन्‌। मिसनरीको रूपमा सेवा गर्ने इच्छा भए तापनि स्वास्थ्य समस्याले गर्दा तिनले त्यसो गर्न सकिनन्‌। तर स्वास्थ्यमा केही सुधार भएपछि रूसमा गएर सेवा गर्ने निर्णय गरिन्‌। चाहे जस्तो बस्ने ठाउँ र काम पाउन गाह्रो थियो। तर अग्रगामी सेवा गरिरहन तिनले जापानी भाषा सिकाउने र सरसफाइ गर्ने काम गरिन्‌। तिनलाई सेवाको काम गरिरहन कुन कुराले उत्प्रेरित गऱ्यो?

रूसमा सेवा गरेको १४ वर्षलाई सम्झँदै मासाको भन्छिन्‌: “केही अप्ठ्यारा अवस्थाहरू भोग्नु त पऱ्यो, तर सेवामा पाएको आनन्दको तुलनामा त्यो केही पनि थिएन। आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्दा जीवन रमाइलो हुँदो रहेछ।” तिनी हौसिदै यसो भन्छिन्‌: “ती वर्षको दौडान यहोवाले गाँस, बास र कपासको प्रबन्ध गरिदिनुभएर मायालु हेरविचार गर्नुभयो।” तिनले रूसमा मात्र नभई किर्गिजस्तानमा पनि सेवा गरिन्‌। साथै अङ्ग्रेजी, चिनियाँ, उइगुर भाषाका समूहहरूमासमेत मदत गरिन्‌। अहिले तिनी अग्रगामीको रूपमा सेन्ट पिटर्सवर्गमा सेवा गरिरहेकी छिन्‌।

परिवार मिलेर सेवा गर्दा आशिष्‌ पाउँछन्‌

इँङ्ग र मिकाइल

मानिसहरू प्रायः आर्थिक अवस्था सुधार्न विदेश जाने गर्छन्‌। तर अब्राहाम र सारा जस्तै केही परिवारले भने यहोवाको  सेवा विस्तार गर्न आफ्नो देश छोडेका छन्‌। (उत्प. १२:१-९) उदाहरणका लागि, मिकाइल इँङ्गलाई विचार गरौं। ती दम्पती सन्‌ २००३ मा युक्रेनबाट रूसमा सरे। तिनीहरूले त्यहाँ बाइबलको सन्देशमा चासो देखाउने मानिसहरू पाए।

मिकाइल यसो भन्छन्‌: “एक दिन हामी कहिल्यै प्रचार नगरिएको एउटा इलाकामा गयौं। एक वृद्ध व्यक्तिले ढोका खोलेपछि हामीलाई सोधे: ‘तपाईंहरू प्रचार गर्न आएको हो?’ हामीले ‘हो’ भन्यौं। त्यसपछि तिनले यसो भने: ‘मलाई थाह थियो, परमेश्वरको राज्यको प्रचार गर्नेहरू अवश्य आउनेछन्‌। येशूका शब्दहरू पूरा हुनैपर्छ।’ त्यसपछि ती व्यक्तिले मत्ती २४:१४ का कुरा उल्लेख गरे।” मिकाइल अझ यसो भन्छन्‌: “त्यही इलाकामा ब्याप्टिष्ट चर्चका दस जनाजति महिलाहरूसित पनि भेट भयो। तिनीहरू बाइबलबाट सत्य कुरा सिक्न निकै इच्छुक थिए। तिनीहरूसित पार्थिव प्रमोदवन किताब थियो। हरेक हप्ता तिनीहरू यो किताब पढ्दा रहेछन्‌। तिनीहरूको प्रश्नको जवाफ दिन हामीले धेरै समय बितायौं, सँगै राज्य गीत गायौं र साँझको खाना पनि खायौं। यो मेरो जीवनको अविस्मरणीय क्षण थियो।” आवश्यक भएको ठाउँमा सेवा गर्दा यहोवासित अझ घनिष्ठ भएको, मानिसहरूप्रति प्रेम अझ गहिरिएको र प्रशस्तै आशिष्‌ पाएको कुरा मिकाइल र इँङ्ग मानिलिन्छन्‌। अहिले तिनीहरू परिभ्रमण कार्यमा सेवारत छन्‌।

ओक्साना, अलिक्सिया र युरी

अहिले ३० वर्ष नाघिसकेका युक्रेनका युरी र ओक्सानालाई विचार गरौं। सन्‌ २००७ मा तिनीहरू आफ्नो छोरा अलिक्सियासित रूसको शाखा कार्यालय घुम्न गएका थिए। तिनीहरूले रूसको नक्सा हेर्दा प्रचार गर्न बाँकी धेरै इलाका देखे। नक्सा हेरेपछि ओक्सानाले यसो भनिन्‌: “राज्य प्रचारकहरू धेरै आवश्यक रहेछ भनी महसुस भयो। यो कुराले गर्दा हामी रूसमा सर्न उत्प्रेरित भयौ।” तिनीहरूलाई सर्न उत्प्रेरित गराउने अरू कस्ता कुराहरू थिए? युरी भन्छन्‌: “हाम्रा प्रकाशनहरूमा छापिएका लेखहरू पढ्यौं। यी लेखहरूमध्ये ‘के तपाईं विदेशी भूमिमा सेवा गर्न सक्नुहुन्छ?’ भन्ने लेखले निकै मदत गऱ्यो। * रूसको शाखा कार्यालयले सुझाव दिएको ठाउँमा हामी गयौं अनि घर र काम खोज्न थाल्यौं।” सन्‌ २००८ मा तिनीहरू रूसमा सरे।

सुरुमा तिनीहरूलाई काम पाउन निकै गाह्रो भयो र धेरै पटक डेरा सर्नुपऱ्यो। युरी भन्छन्‌: “निराश नहुन हामीले प्रार्थना गऱ्यौं, प्रचारमा निरन्तर लाग्यौं र यहोवामा पूर्ण भरोसा राख्यौं। राज्य गतिविधिलाई जीवनमा पहिलो स्थान दिंदा यहोवाले कसरी हाम्रो ख्याल गर्नुहुन्छ भनेर अनुभव गऱ्यौं। यो सेवाले हाम्रो परिवारलाई अझ बलियो बनायो।” (मत्ती ६:२२, ३३) आवश्यक धेरै भएको ठाउँमा सेवा गर्दा अलिक्सियालाई कस्तो छाप पऱ्यो? ओक्साना भन्छिन्‌: “उसलाई निकै राम्रो छाप पऱ्यो। उसले यहोवालाई जीवन समर्पण गरेर ९ वर्षको उमेरमै बप्तिस्मा गऱ्यो। प्रचारमा धेरै दाजुभाइ दिदीबहिनीको आवश्यकता छ भन्ने बुझेर उसले पनि स्कुल बिदा भएको बेला सहायक अग्रगामी गर्छ। क्षेत्र सेवामा उसको उत्साह र जोस देख्दा हामीलाई निकै खुसी लाग्छ।” अहिले युरी र ओक्साना विशेष अग्रगामीको रूपमा सेवा गरिरहेका छन्‌।

“पछुतो लागेको एउटै कुरा”

यी दाजुभाइ दिदीबहिनीको अनुभवले आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्दा यहोवामा पूर्ण भरोसा गर्नै पर्छ भनी देखाउँछ। आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्दा केही चुनौतीको सामना गर्नुपर्ने हुन्छ, तर राज्य सन्देश सुन्न चाहने मानिसहरूलाई प्रचार गर्दा असीम आनन्द पनि पाइन्छ। के तपाईं पनि आवश्यकता धेरै भएको ठाउँमा मदत गर्न सक्नुहुन्छ? मदत गर्नुभयो भने तपाईंले पनि युरीले जस्तै महसुस गर्नुहुनेछ। तिनी यसो भन्छन्‌: “पछुतो लागेको एउटै कुरा छ। मैले यो सेवा किन अलि छिटो सुरु गरिनँ?”

^ अनु. 20 अक्टोबर १५, १९९९ को प्रहरीधरहरा, पृष्ठ २३-२७ हेर्नुहोस्।