अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) जून २०१५

“भाइ किङ्स्लेले गर्न सक्नुहुन्छ भने म पनि सक्छु!”

“भाइ किङ्स्लेले गर्न सक्नुहुन्छ भने म पनि सक्छु!”

एक जनाले किङ्स्लेको काँधमा थपथपाएपछि तिनले आफ्नो बाइबल पढाइ सुरु गरे। ईश्वरतान्त्रिक सेवा स्कुलमा यो तिनको पहिलो असाइनमेन्ट थियो। तिनले हरेक शब्द राम्ररी उच्चारण गर्दै पढे। तर अचम्मको कुरा तिनले बाइबलै नहेरी पढिरहेका थिए। किन?

श्रीलंकाका किङ्स्ले दृष्टिविहीन थिए। तिनी कान पनि कम सुन्थे र यताउता जान तिनलाई व्हीलचेयर चाहिन्थ्यो। तिनले कसरी यहोवाबारे सिके? अनि कसरी ईश्वरतान्त्रिक सेवा स्कुलमा भाग लिन सके? त्यसबारे म तपाईंहरूलाई बताउँछु।

किङ्स्लेलाई पहिलो पटक भेट्दा बाइबलप्रति तिनको चासो देखेर मेरो मन छोयो। तिनले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरिसकेका थिए। तिनीसित भएको ब्रेल लिपीको ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ * भन्ने किताब थोत्रो भइसकेको थियो किनभने तिनले त्यो किताब धेरै पटक पढिसकेका थिए। तिनी मसित फेरि बाइबल अध्ययन गर्न चाहन्छन्‌ कि भनेर सोध्दा तिनी राजी भए। तर हाम्रो सामु दुइटा चुनौती थियो।

पहिलो, किङ्स्ले वृद्ध र अशक्तहरू बस्ने आश्रममा बस्थे। त्यहाँ निकै हल्लाखल्ला हुन्थ्यो अनि किङ्स्ले कान पनि कम सुन्थे। त्यसैले तिनलाई अध्ययन गराउँदा चर्को सोरमा बोल्नुपर्थ्यो। हरेक हप्ता अध्ययन गर्दा हाम्रो कुरा सबैले सुन्न सक्थे।

दोस्रो, किङ्स्ले त्यति राम्ररी पढ्न सक्दैनथे र एक पटकमा  थोरै कुरा मात्र टिप्न सक्थे। अध्ययनबाट पूरापूर लाभ उठाउन तिनी राम्रो तयारी गर्थे। अध्ययन गर्नुअघि नै विषयवस्तु धेरै पटक पढ्थे, शास्त्रपदहरू ब्रेल लिपिको बाइबलबाट पढ्थे अनि त्यसपछि प्रश्नको जवाफ मनमनै तयारी गर्थे। यो तरिका असाध्यै प्रभावकारी साबित भयो। अध्ययनको दौडान तिनी पलेटी मारेर बस्थे अनि उत्साहित भएर भुइँ ठटाउँदै ठूलो सोरमा आफूले सिकेको कुरा बताउँथे। केही समय नबित्दै हामीले हप्ताको दुई पटक अध्ययन गर्न थाल्यौं। हामी हरेक पटक दुई घण्टा छलफल गर्थ्यौं।

सभामा उपस्थिति र सहभागिता

किङ्स्ले र पल

किङ्स्ले राज्यभवन आउन चाहन्थे। तर यो सजिलो कुरा थिएन। तिनलाई व्हीलचेयर र गाडीमा राख्न अनि निकाल्न गाह्रो हुन्थ्यो। गाडीबाट निकालेर राज्यभवनसम्म लान अनि फेरि राज्यभवनबाट ल्याउन पनि निकै गाह्रो थियो। तर मण्डलीका थुप्रै दाजुभाइ दिदीबहिनी खुसीसाथ तिनलाई पालैपालो मदत गर्थे। सभाको दौडान तिनी स्पिकरनजिकै बस्थे अनि ध्यान दिएर सुन्थे। साथै टिप्पणी पनि गर्थे।

अध्ययन गरेको केही समयपछि तिनले ईश्वरतान्त्रिक सेवा स्कुलमा भाग लिने निर्णय गरे। तिनले पहिलो पटक बाइबल पढ्ने असाइनमेन्ट पाएका थिए। त्यसको दुई हप्ताअघि मैले तिनको तयारी कस्तो भइरहेको छ भनेर सोधें। निर्धक्क हुँदै तिनले यस्तो जवाफ दिए, “राम्रो भइरहेको छ। मैले ३० पटक पढिसकें।” मैले तिनको प्रयासको प्रशंसा गरें अनि ठूलो सोरमा पढेर सुनाउन आग्रह गरें। तिनले ब्रेल लिपिको बाइबल खोले अनि औंला सार्दै पढ्न थाले। तर मैले एउटा अचम्मको कुरा याद गरें। अरू बेला पढ्दा तिनी जुन गतिमा आफ्नो औंला सार्दै पढ्थे, त्यसबेला तिनको औंला त्यस गतिमा सरिरहेको थिएन। वास्तवमा तिनले बाइबलबाट आफूले पढ्नुपर्ने भाग पूरै कण्ठ पारेका रहेछन्‌।

यो देख्दा मेरो आँखाबाट आँसु झऱ्यो। मैले पत्याउनै सकिनँ। तीस पटक मात्र पढेर कसरी सबै पद कण्ठ पार्न सकेको भनेर किङ्स्लेलाई सोधें। तिनले यस्तो जवाफ दिए, “मैले ३० पटक मात्र भनेको होइन। हरेक दिन ३० पटक पो भनेको त।” तिनले आफूले पाएको भाग एक महिनाभन्दा धेरै अघिदेखि पढेका रहेछन्‌ अनि सबै पद कण्ठ पारेका रहेछन्‌।

तिनले राज्यभवनमा आफ्नो असाइनमेन्ट पूरा गर्ने दिन आयो। तिनको असाइनमेन्ट सिद्धिएपछि राज्यभवनमा तालीको गडगडाहट सुनियो। नयाँ विद्यार्थीको मेहनत देखेर धेरै जनाले खुसीको आँसु झारे। एक जना प्रकाशकले आफ्नो हडबडाउने स्वभावले गर्दा स्कुलमा भाग लिन छोडिसकेकी थिइन्‌। उनले फेरि स्कुलमा भाग लिने निर्णय गरिन्‌। किन? उनले भनिन्‌, “भाइ किङ्स्लेले गर्न सक्नुहुन्छ भने म पनि सक्छु!”

बाइबल अध्ययन गरेको तीन वर्षपछि सन्‌ २००८, सेप्टेम्बर ६ मा किङ्स्लेले बप्तिस्मा गरेर यहोवालाई आफ्नो जीवन समपर्ण गरेको देखाए। सन्‌ २०१४, मे १३ मा तिनको मृत्यु भयो। आफ्नो मृत्युसम्मै तिनी यहोवाप्रति वफादार रहे। नयाँ संसारमा बलियो र स्वस्थ भएर फेरि यहोवाको सेवा गर्न पाउने कुरामा तिनी विश्वस्त थिए। (यशै. ३५:५, ६)—पल म्याकमानसको वृत्तान्तमा आधारित।

^ अनु. 4 यो किताब सन्‌ १९९५ मा प्रकाशित भएको थियो तर अहिले छापिंदैन।