अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) मे २०१५

 जीवनी

यहोवाप्रतिको पहिलो प्रेमलाई सम्झिरहँदा स्थिर रहन सकेको छु

यहोवाप्रतिको पहिलो प्रेमलाई सम्झिरहँदा स्थिर रहन सकेको छु

सन्‌ १९७० को गर्मी यामको सुरुतिरको कुरा हो। म अमेरिकाको फेनिक्सभिलमा रहेको भ्याली फोर्ज जेनरल हस्पिटलको ओछ्यानमा सुतिरहेको थिएँ। एक जना नर्सले आधा-आधा घण्टामा मेरो रक्तचाप जाँचिरहेका थिए। त्यतिबेला म बीस वर्षको थिएँ अनि सेनामा काम गर्थें। मलाई गम्भीर किसिमको रोग लागेको थियो। मभन्दा केही वर्ष जेठा ती नर्स अत्तालिएको जस्तो देखिन्थे। मेरो रक्तचाप बिस्तारै घट्दै गइरहेको थियो। मैले उनलाई सोधें, “आफ्नै आँखाको अगाडि मान्छे मरेको कहिल्यै देख्नुभएको थिएन?” अनुहार कालो-निलो पार्दै उनले यस्तो जवाफ दिए, “अहँ, देखेको थिइनँ।”

त्यतिबेला मलाई मेरो अवस्था सुध्रिंदैन जस्तो लागेको थियो। तर म कसरी अस्पतालमा भर्ना हुन पुगें? तपाईंहरूलाई मेरो जीवनमा घटेका केही घटनाहरू बताउँछु।

भियतनामको युद्धमा

भियतनाममा युद्ध चर्किरहेको बेला म त्यहाँ शल्यक्रिया कक्षमा प्राविधिज्ञको रूपमा काम गर्थें। त्यही बेला म बिरामी भएको थिएँ। मलाई बिरामीहरू र घाइतेहरूलाई मदत गर्न मन पर्थ्यो। शल्यचिकित्सक बन्ने इच्छा भएकोले म १९६९ को जुलाईमा भियतनाम पुगें। अमेरिकाको समय र भियतनामको समय फरक छ अनि अमेरिकामा भन्दा त्यहाँ अचाक्ली गर्मी हुन्छ। त्यसैले नयाँ वातावरणमा घुलमिल हुन सजिलो होस् भनेर अरूले जस्तै मैले पनि सुरुको एक हप्ता तालिम पाएँ।

तालिम सिद्धिएपछि मैले मेकङ डेल्टामा रहेको अस्पतालमा काम सुरु गरें। मैले काम थालेको केही समयपछि थुप्रै हेलिकप्टरमार्फत घाइतेहरूलाई त्यहाँ ल्याइयो। म देशभक्त थिएँ र मलाई मेरो काम धेरै मन पर्थ्यो। त्यसैले ती घाइतेहरूलाई बचाउन म तुरुन्तै तयार भएँ। घाइतेहरूलाई शल्यक्रियाको लागि सामान बोक्ने कन्टेनरहरूतिर लगिन्थ्यो। हरेक कन्टेनरमा एयर कन्डिसनर जडान गरिएको हुन्थ्यो अनि त्यहाँ दुई जना डाक्टर र दुई जना नर्स हुन्थे। तिनीहरू घाइतेलाई बचाउन हर प्रयास गर्थे। ठाउँ सानो भएकोले कोचाकोच गरेर काम गर्नुपर्थ्यो। घाइतेहरू ल्याइएका हेलिकप्टरहरूबाट ठूलठूला कालो झोलाहरूचाहिं ननिकालिएको मैले याद गरें। ती झोलाहरूमा बमले छिन्नभिन्न पारिएका सेनाहरूको शरीरका टुक्राटाक्री रहेछन्‌। यसरी मैले भियतनामको युद्ध आफ्नै आँखाले देखें।

परमेश्वरको खोजी

किशोर छँदा मैले यहोवाका साक्षीहरूले सिकाउने कुरा सुन्ने मौका पाएको थिएँ

किशोर छँदा मैले यहोवाका साक्षीहरूले सिकाउने कुरा सुन्ने मौका पाएको थिएँ। मेरी आमाले साक्षीहरूसित बाइबल अध्ययन  गर्नुभयो तर बप्तिस्माचाहिं गर्नुभएन। आमाको अध्ययन भइरहेको बेला म पनि छेवैमा बसेर सुनिरहन्थें। एक दिनको कुरा हो, मेरो सौतेलो बुबासित राज्यभवनको बाटो भएर जाँदै थिएँ। मैले बुबालाई राज्यभवन देखाउँदै “त्यो के हो” भनेर सोधें। उहाँले भन्नुभयो, “ती मान्छेहरूसित कहिल्यै पनि सङ्गत नगर्नू है!” म बुबालाई माया गर्थें र उहाँलाई भरोसा पनि गर्थें। त्यसैले मैले यहोवाका साक्षीहरूसित कुनै सम्पर्क राखिनँ।

भियतनामबाट फर्केपछि मैले परमेश्वरको खोजी गर्न थालें। युद्धका कहाली लाग्दा दृश्यहरू झलझली याद आइरहन्थ्यो र यसले मेरो भावनामा गहिरो चोट पुऱ्याएको थियो। भियतनाममा के भइरहेको छ भन्ने कुरा कसैले बुझेकै छैन जस्तो देखिन्थ्यो। युद्धमा थुप्रै निर्दोष बालबालिका मारिएका थिए। त्यसैले प्रदर्शनकारीहरूले अमेरिकी सेनालाई बालबालिकाका हत्याराहरू भनेर नारा लगाउँदै हिंड्थे।

परमेश्वरको खोजी गर्ने क्रममा म विभिन्न चर्चहरू धाउन थालें। म परमेश्वरमा आस्था राख्थें तर चर्चमा गरिने व्यवहार भने मलाई पटक्कै मन परेको थिएन। त्यसैले चर्च जान छोडिदिएँ। तर सन्‌ १९७१, फेब्रुअरी महिनाको आइतबारको दिन म यहोवाका साक्षीहरूको राज्यभवन गएँ। त्यो राज्यभवन फ्लोरिडाको डेलरे बिच भन्ने ठाउँमा थियो। त्यस दिनदेखि म नियमित रूपमा राज्यभवन जान थालें।

पहिलो पटक यहोवाका साक्षीहरूको सभामा जाँदा जनभाषण सिद्धिनै लागेको थियो। त्यसैले म दोस्रो सभा प्रहरीधरहरा अध्ययनमा बसें। त्यस कार्यक्रममा कुन विषयमा छलफल गरिएको थियो, त्यो त मलाई याद छैन। तर कार्यक्रमको दौडान साना नानीबाबुहरूले बाइबल खोलेर पदहरू पत्ता लगाएको चाहिं म अझै झलझली सम्झन्छु। यो देख्दा मेरो मनै छोयो। मैले ध्यान दिएर सुनें र सभामा भइरहेको सबै कुरा नियालेर हेरें। राज्यभवनबाट निस्कनै लाग्दा एक जना वृद्ध व्यक्ति मकहाँ आउनुभयो। उहाँको नाम जिम गार्डनर रहेछ र उहाँ लगभग ८० वर्षको हुनुहुन्थ्यो। उहाँले मलाई अनन्त जीवनतर्फ लैजाने सत्य (अङ्ग्रेजी) भन्ने किताब देखाउँदै यसो भन्नुभयो, “तपाईं यो किताब लिन चाहनुहुन्छ?” मैले त्यो किताब लिएँ। हामीले बाइबल अध्ययन गर्न बिहीबार बिहान भेट्ने कुरा मिलायौं।

त्यो आइतबारको रात ११ बजेदेखि बिहान ७ बजेसम्म मैले काम गर्नुपरेको थियो। म फ्लोरिडाको बउका रटाउनमा भएको एउटा निजी अस्पतालको आकस्मिक कक्षमा काम गर्थें। रातको समय भएकोले वरिपरि त्यत्ति हल्लाखल्ला थिएन। त्यसैले मैले सत्य भन्ने किताब मजाले पढ्न सकें। त्यो किताब पढिरहेको बेला एक जना सिनियर नर्स मकहाँ आइन्‌ अनि मेरो हातबाट किताब खोसिन्‌। उनले त्यो किताब हेरिन्‌ अनि यसो भनेर कराइन्‌, “तिमी पनि ती मानिसहरूजस्तै हुन लाग्यौ कि क्या हो?” उनको हातबाट त्यो किताब खोसें र यस्तो जवाफ दिएँ, “हुन त मैले यो किताब आधा मात्र पढेर भ्याएँ। तर म पनि तिनीहरूजस्तै बन्छु कि जस्तो छ।” त्यसपछि उनी त्यहाँबाट गइन्‌ अनि मैले रातभरिमा त्यो किताब पढेर सिध्याएँ।

मेरो अध्ययन सञ्चालक जिम गार्डनरले चार्ल्स टेज रसललाई राम्ररी चिन्नुहुन्थ्यो

बाइबल अध्ययनको लागि भेट्दा मैले भाइ गार्डनरलाई सोधें, “अब हामी के अध्ययन गर्ने?” उहाँले यस्तो जवाफ दिनुभयो, “मैले तपाईंलाई दिएको किताब।” मैले भनें, “त्यो किताब त मैले पढिसकें।” त्यसपछि उहाँले यसो भन्नुभयो, “ठीक छ। तैपनि  पहिलो अध्याय छलफल गरेर हेरौं न त।” उहाँसित अध्ययन गर्दा मैले धेरै कुरा बुझेकै रहेनछु भनेर थाह पाएँ। मसित किङ जेम्स भर्सन बाइबल थियो र त्यसमा येशूका भनाइहरू रातो अक्षरमा लेखिएको थियो। भाइ गार्डनरले छलफलको दौडान मेरै बाइबलबाट थुप्रै पद देखाउनुभयो। बल्ल मैले साँचो परमेश्वर यहोवाबारे सिक्ने मौका पाएँ जस्तो लाग्यो। त्यस बिहान उहाँले मसित त्यो किताबबाट तीनवटा अध्याय छलफल गर्नुभयो। हामीले हरेक बिहीबार बिहान तीनवटा अध्याय छलफल गर्न थाल्यौं। मलाई अध्ययन गर्न धेरै मन पर्थ्यो। म भाइ गार्डनरलाई माया गरेर जिम भन्थें। उहाँ अभिषिक्त जन हुनुहुन्थ्यो। उहाँले भाइ चार्ल्स टेज रसललाई राम्ररी चिन्नुभएको रहेछ। उहाँसित अध्ययन गर्न पाउनु मेरो लागि ठूलो सुअवसर थियो।

अध्ययन गर्न थालेको केही हप्तामै म प्रकाशक भएँ अनि प्रचारकार्यमा जान थालें। जिमले मलाई धेरै मदत गर्नुभयो। उहाँले घरघरको प्रचारकार्यमा आइपर्ने चुनौतीहरू सामना गर्ने तरिका पनि सिकाउनुभयो। (प्रेषि. २०:२०) म जिमसित थुप्रै चोटि प्रचारकार्यमा गएँ। मलाई प्रचारकार्य रमाइलो लाग्न थाल्यो। अहिले पनि म प्रचारकार्यलाई ठूलो सुअवसर ठान्छु। परमेश्वरको सहकर्मी हुन पाएकोमा म गर्व गर्छु।—१ कोरि. ३:९.

यहोवाप्रति मेरो पहिलो प्रेम

अब म तपाईंहरूलाई यहोवाप्रति मेरो पहिलो प्रेम कसरी विकास भयो, त्यसबारे बताउँछु। (प्रका. २:४) युद्धको नमीठो सम्झना आउँदा त्यही प्रेमले मलाई सँभालेको छ र थुप्रै कठिन परिस्थिति सामना गर्न पनि मदत गरेको छ।—यशै. ६५:१७.

युद्धको नमीठो सम्झना आउँदा यहोवाप्रतिको प्रेमले मलाई सँभालेको छ र थुप्रै कठिन परिस्थिति सामना गर्न मदत गरेको छ

मैले जुलाई, १९७१ मा याङ्की रङ्गशालामा आयोजना गरिएको “ईश्वरीय नाम” सम्मेलनमा बप्तिस्मा गरें

सन्‌ १९७१ को वसन्त ऋतुको कुरा हो। सौतेलो बुबालाई म यहोवाको साक्षी भएको फिटिक्कै मन परेको थिएन। त्यसैले उहाँले मलाई घरबाट निकालिदिनुभयो। त्यतिबेला मसित त्यति पैसा थिएन। मैले अस्पतालबाट दुई-दुई हप्तामा तलब पाउँथे। भर्खरै मात्र मैले प्रचारकार्यको लागि सुहाउँदो लुगाफाटा किन्न धेरै पैसा खर्च गरेको थिएँ। प्रचारमा जाँदा यहोवाको प्रतिनिधित्व  गर्ने भएकोले चिटिक्क परेको लुगा लगाउन चाहन्थें। हुन त मैले अलिकति पैसा बचत गरेको थिएँ तर त्यो पनि म हुर्केको ठाउँ मिशिगनको एउटा बैंकमा थियो। त्यसैले केही दिन आफ्नो कारमै सुत्नुपऱ्यो अनि दाह्री काट्न र नुहाइधुवाइ गर्न पेट्रोल पम्पको बाथरुममा जानुपऱ्यो।

त्यतिखेरकै कुरा हो, एक दिन अस्पतालको काम सिद्धिएपछि म प्रचारकार्यको लागि भेला हुन राज्यभवन गएँ। तर लगभग दुई घण्टाअघि नै पुगेकोले भवनको पछाडि कसैले नदेख्ने ठाउँमा बसें। त्यतिकैमा भियतनाममा देखेको कहाली लाग्दा घटनाहरू याद आउन थाल्यो। लासहरू जलाएको गन्ध अनि जताततै रगत लतपतिएको दृश्य सम्झँदा मेरो आङै जिरिङ्ग भयो। “मलाई बचाउनुस्! मलाई बचाउनुस्!” भन्दै घाइते युवाहरू कराइरहेको आवाज मेरो कानमा गुन्जिन थाल्यो र ती दृश्यहरू मेरो आँखा अगाडि नाच्न थाले। तिनीहरू बाँच्दैनन्‌ भन्ने कुरा मलाई थाह थियो। तर म तिनीहरूलाई “चिन्ता नगर्नुस्, तपाईंलाई केही हुँदैन” भन्दै आश्वासन दिन्थें। यी सबै कुरा सम्झेर म भावविह्वल भएँ।

जीवनमा जस्तोसुकै गाह्रो परिस्थिति आइपरे पनि मैले यहोवालाई गरेको पहिलो प्रेम सेलाउन नदिन सक्दो गर्दै छु

आँखाबाट आँसुको धारा बगाउँदै मैले प्रार्थना गर्न थालें। (भज. ५६:८) मैले पुनर्जीवनको आशाबारे गहिरिएर सोचें। यहोवाले युद्धमा मारिएका मानिसहरूलाई फेरि जीवित पार्नुहुनेछ अनि म र अरू थुप्रै मानिसले भोग्नुपरेको भावनात्मक चोट निको पार्नुहुनेछ। उहाँले युद्धमा मरेका ती युवाहरूलाई पनि ब्युँताउनुहुनेछ अनि तिनीहरूले पनि यहोवाबारे सत्य कुरा सिक्न पाउनेछन्‌। (प्रेषि. २४:१५) यी सबै कुरा विचार गर्दा यहोवाले मलाई कत्ति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरा महसुस गरें। त्यस दिनदेखि मैले यहोवालाई अझ धेरै प्रेम गर्न थालें। त्यो दिन म कहिल्यै बिर्सन सक्दिनँ। त्यस समयदेखि जीवनमा जस्तोसुकै गाह्रो परिस्थिति आइपरे पनि मैले यहोवालाई गरेको पहिलो प्रेम सेलाउन नदिन सक्दो गर्दै छु।

यहोवाले सधैं मेरो ख्याल राख्नुभएको छ

युद्धमा मानिसहरू अमानवीय कामहरू गर्छन्‌ अनि मैले पनि गरें। त्यो कुरा सम्झँदा मलाई धेरै दुःख लाग्छ। तर मलाई मन पर्ने दुईवटा शास्त्रपदले निकै सान्त्वना दिएको छ। पहिलो शास्त्रपद प्रकाश १२:१०, ११ हो। त्यसमा बताइएअनुसार हामीले साक्षी दिएको वचनले गर्दा मात्र होइन, थुमाको रगतले गर्दा पनि सैतान पराजित भएको छ। दोस्रो शास्त्रपद गलाती २:२० हो। त्यस पदबाट ख्रीष्ट येशूले “मेरो निम्ति” आफूलाई अर्पण गर्नुभयो भन्ने कुरा बुझें। यहोवाले येशूको रगतको आधारमा मेरो पाप क्षमा गर्नुभएको छ। यो कुरा थाह पाएपछि मेरो अन्तस्करण सफा भएको छ अनि मानिसहरूलाई कृपालु परमेश्वर यहोवाबारे सिकाउने काममा सक्दो गर्न जुरमुरिएको छु।—हिब्रू ९:१४.

बितेका दिनहरूलाई फर्केर हेर्दा यहोवाले सधैं मेरो ख्याल राख्नुभएको छ भन्ने कुरामा म ढुक्क हुन सकेको छु। त्यसको लागि म उहाँप्रति निकै आभारी छु। उदाहरणको लागि, मलाई घरबाट निकालिएको कुरा थाह पाउनेबित्तिकै जिमले मलाई मण्डलीको एक जना बहिनीसित भेटाइदिनुभयो। म उहाँको घरमा भाडामा बस्न थालें। मेरो लागि बासको प्रबन्ध मिलाउन यहोवाले नै जिम र ती बहिनीलाई चलाउनुभएको हो भन्ने कुरामा पक्का छु। यहोवा असाध्यै दयालु हुनुहुन्छ। उहाँ आफ्ना वफादार सेवकहरूको राम्ररी ख्याल राख्नुहुन्छ।

जोसलाई सन्तुलनमा राख्न सिकें

सन्‌ १९७१ को मे महिनामा कामको सिलसिलामा म मिशिगन जानुपर्ने भयो। फ्लोरिडाबाट हिंड्नुअघि मैले मण्डलीबाट थुप्रै प्रकाशनहरू लिएँ अनि कारको डिकिमा राखें। त्यसपछि म उत्तरतिर लागें। तर आधा बाटो नकाट्दै मसित भएको सबै प्रकाशन सिद्धियो। यात्राको क्रममा मैले विभिन्न ठाउँहरूमा जोसका साथ राज्यको सुसमाचार प्रचार गरें। मैले झ्यालखानाहरूमा र सार्वजनिक शौचालयहरूमा समेत प्रकाशनहरू बाँडें। मैले त्यसरी छरेको बीउ कतै न कतै त उम्रियो होला जस्तो लाग्छ।—१ कोरि. ३:६, ७.

कुरा नलुकाई भन्नुपर्दा मैले एउटा क्षेत्रमा सुधार गर्नुपर्ने थियो। सुरु-सुरुमा म परिवारलाई जबरजस्ती बाइबलको कुरा सुन्न लगाउँथें। म यहोवालाई धेरै प्रेम गर्थें। त्यसैले उहाँको विषयमा जोसिलो भएर कुरा गर्थें। तर मैले आफ्नो बोल्ने शैलीमा सुधार ल्याउन बाँकी नै थियो। म मेरा दाइहरू जोन र रनलाई धेरै माया गर्छु। त्यसैले उहाँहरू पनि साक्षी बनोस् भन्ने इच्छा भएकोले सुसमाचार  सुन्न उहाँहरूलाई जबरजस्ती गर्थें। तर त्यस्तो व्यवहारको लागि पछि उहाँहरूसित माफी मागें। कुनै न कुनै दिन उहाँहरू पनि साक्षी बन्नुहुनेछ भनेर म अझै पनि आशा गर्छु। यहोवाले मलाई धेरै कुरा सिकाउनुभएको छ। त्यसैले अहिले म प्रचार गर्न र सिकाउन अझै सिपालु भएको छु।—कल. ४:६.

मैले प्रेम गर्ने अरू व्यक्तिहरू

यहोवाप्रतिको मेरो पहिलो प्रेम म सधैं सम्झन्छु अनि मैले प्रेम गर्ने अरू व्यक्तिहरूलाई पनि बिर्सन सक्दिनँ। म मेरी श्रीमती सुजनलाई धेरै माया गर्छु। मलाई यहोवाको सेवामा मदत गर्ने एक जना साथीको खाँचो थियो र त्यो खाँचो सुजनले पूरा गरिदिइन्‌। यहोवासित उनको सम्बन्ध बलियो छ। विवाह गर्नुअघि उनी अमेरिकाको क्रान्स्टन भन्ने सहरमा आफ्ना आमाबुबासितै बस्थिन्‌। विवाहअघि भेटघाट गर्दाको एउटा क्षण म आज पनि सम्झन्छु। म उनको घर गएको थिएँ। उनी आफ्नो घरको बरन्डामा बसेर प्रहरीधरहरा-को अतिरिक्त लेख पढिरहेकी थिइन्‌। उनी त्यस लेखमा भएका पदहरू बाइबलै खोलेर हेर्दै थिइन्‌। यो देखेर म धेरै प्रभावित भएँ। उनी यहोवालाई असाध्यै प्रेम गर्छिन्‌ भन्ने कुरामा म पक्का भएँ। सन्‌ १९७१ को डिसेम्बरमा हामीले विवाह गऱ्यौं। उनले मलाई सधैं साथ दिएकी छिन्‌। त्यसको लागि म मनैदेखि उनको प्रशंसा गर्छु। उनी मलाई माया गर्छिन्‌ तर यहोवालाई झन्‌ धेरै माया गर्छिन्‌ र उनको यही कुरा मलाई धेरै मन पर्छ।

मेरी श्रीमती सुजन अनि हाम्रा छोराहरू पल र जेस्सि

यहोवाको आशिष्‌ले हाम्रो दुई जना छोरा भएको छ: जेस्सि र पल। यहोवाले सानैदेखि तिनीहरूको ख्याल राख्नुभएको छ। (१ शमू. ३:१९) तिनीहरू यहोवाको बाटोमा हिंडिरहेको देख्दा  हामीलाई गर्व लाग्छ। तिनीहरूले पनि यहोवाप्रतिको पहिलो प्रेम सम्झेकाले उहाँको सेवा गरिरहेका छन्‌। तिनीहरू दुवै जनाले पूर्ण समय सेवा गरेको बीस वर्षभन्दा धेरै भइसक्यो। मेरा दुई जना बुहारी छन्‌: स्टिफानी र राकेल। तिनीहरू आफ्नै छोरीजस्तो लाग्छ र तिनीहरूमा म गर्व गर्छु। मेरा दुवै छोराले यहोवालाई तनमनले प्रेम गर्ने जीवनसाथी पाएका छन्‌।—एफि. ६:६.

कहिलेकाहीं मात्र प्रचार गरिएको इलाकामा परिवारै मिलेर सेवा गर्न हामीलाई रमाइलो लाग्थ्यो

बप्तिस्मा गरेपछि मैले अमेरिकाको रोड आइल्यान्डमा १६ वर्ष सेवा गरें। त्यहाँ मैले थुप्रै घनिष्ठ साथी पाएँ। मैले थुप्रै असल एल्डरहरूसित सेवा गर्ने मौका पाएँ। साथै थुप्रै परिभ्रमण निरीक्षकहरूसित सङ्गत गर्दा पनि मैले धेरै लाभ उठाए। त्यसैले म उहाँहरूप्रति आभारी छु। यहोवाप्रति पहिलो प्रेमलाई कहिल्यै नबिर्सने ती भाइहरूसित काम गर्न पाउनु मेरो लागि ठूलो सुअवसर हो। सन्‌ १९८७ मा हामी आवश्यकता धेरै भएको ठाउँ नर्थ क्यारोलिनामा सऱ्यौं। त्यहाँ हामीले थुप्रै दाजुभाइ दिदीबहिनीसित घनिष्ठ सम्बन्ध गाँस्ने मौका पायौं। *

भ्रमणको दौडान क्षेत्र सेवाको सभा सञ्चालन गर्दै

सन्‌ २००२, अगस्तमा म र सुजनले अमेरिकाको प्याटर्सन बेथेलमा सेवा गर्ने निम्तो पायौं। मैले सेवा विभागमा काम गरें अनि सुजनले चाहिं लन्ड्रीमा। उनलाई त्यहाँ काम गर्न असाध्यै मन पर्थ्यो। सन्‌ २००५, अगस्तदेखि मैले परिचालक निकायको सदस्यको रूपमा सेवा गर्ने सुअवसर पाएँ। यो असाइनमेन्टले मलाई अझै नम्र हुन मदत गरेको छ। नयाँ जिम्मेवारी, काम अनि विभिन्न ठाउँहरूमा यात्रा गर्नुपर्ने कुराबारे सोच्दा सुरुमा मेरी प्यारी श्रीमती अत्तालिइन्‌। सुजनलाई हवाईयात्रा गर्न गाह्रो छ। तर हामीले थुप्रै पटक हवाईयात्रा गर्नुपर्ने हुन्छ। परिचालक निकायका सदस्यहरूका श्रीमतीहरूले मायालुपूर्वक दिएको सुझावले धेरै मदत गरेको कुरा उनी बताउँछिन्‌। मलाई साथ दिन उनी सक्दो प्रयास गर्छिन्‌। उनले साँच्चै कडा परिश्रम गरिरहेकी छिन्‌। यसको लागि म उनीप्रति आभारी छु।

मैले अफिसमा थुप्रै तस्बिर राखेको छु अनि मेरो लागि ती तस्बिरहरू अनमोल छन्‌। ती तस्बिरहरूले मैले यहोवाको सेवामा बिताएको सर्वोत्तम जीवनको सम्झना गराउँछ। मेरो पहिलो प्रेमलाई सम्झिरहन हर प्रयास गरेकोले थुप्रै आशिष्‌ पाएको छु।

परिवारसित समय बिताउन मलाई रमाइलो लाग्छ

^ अनु. 31 भाइ मोरिस्को पूर्ण-समय सेवाबारे अप्रिल १, २००६ को प्रहरीधरहरा, पृष्ठ १२ मा बताइएको छ।