अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) मे २०१५

 हाम्रो अभिलेखालयबाट

तिनले चमेनागृहमा यहोवाका साक्षीहरूमाझ प्रेम देखे

तिनले चमेनागृहमा यहोवाका साक्षीहरूमाझ प्रेम देखे

यहोवाको टेबुलबाट सँगै मिलेर आध्यात्मिक आहारा खान पाउँदा हामीलाई रमाइलो लाग्छ। आध्यात्मिक भोजको लागि भेला हुँदा शारीरिक खानेकुरा पनि सँगै मिलेर खाँदा हाम्रो आनन्द अझ बढ्छ।

सेप्टेम्बर १९१९ मा बाइबल विद्यार्थीहरू अमेरिकाको सिडार प्वाइन्ट, ओहायोमा आठ दिने अधिवेशनको लागि भेला भएका थिए। अधिवेशनको लागि आएकाहरू विभिन्न होटेलमा बसेका थिए र होटेलहरूले नै उनीहरूको लागि खानाको प्रबन्ध पनि मिलाएको थियो। तर अधिवेशनको लागि आशा गरिएभन्दा कता हो कता धेरै मानिस आए। हजारौं मानिसको जमात देखेपछि वेटरहरू अत्तालिएर लाखापाखा लागे। चमेनागृहको म्यानेजरलाई आच्छु-आच्छु पऱ्यो र उनले अधिवेशनमा आएका युवाहरूले मदत गर्न सक्छन्‌ कि भनेर अनुरोध गरे। थुप्रै युवाले मदतको हात बढाए। तीमध्ये सेडी ग्रीन पनि थिइन्‌। तिनी यसो भन्छिन्‌, “मैले वेटरको काम कहिल्यै गरेकी थिइनँ तर सबैसित मिलेर काम गर्दा रमाइलो भयो।”

सियरा लियोन, १९८२

त्यसपछिका वर्षहरूमा अधिवेशनमा आउनेहरूको लागि खाना बनाउने प्रबन्ध मिलाइयो। अधिवेशनको चमेनागृहमा थुप्रै स्वयंसेवकले मदत गरे। विभिन्न ठाउँबाट आएका दाजुभाइ दिदीबहिनीसित मिलेर काम गर्दा थुप्रै युवाले आध्यात्मिक लक्ष्य राख्न प्रोत्साहन पाए। ग्ल्याडिस बोल्टनले १९३७ को अधिवेशनमा चमेनागृहमा स्वयंसेवा गरेकी थिइन्‌। तिनी भन्छिन्‌, “मैले विभिन्न ठाउँबाट अधिवेशनमा आएका दाजुभाइ दिदीबहिनीलाई भेटें अनि उहाँहरूले कस्ता समस्याहरूको सामना गरिरहनुभएको छ, त्यसबारे पनि थाह पाएँ। त्यही समयदेखि नै ममा अग्रगामी सेवा गर्ने इच्छा पलायो।”

अधिवेशनमा उपस्थित भएका ब्युला कोभेले यसो भने, “स्वयंसेवकहरूले दिलोज्यान लगाएर काम गरेकोले सबै काम ठीक-ठीक समयमा सिद्धियो।” तर कहिलेकाहीं यो काम निकै चुनौतीपूर्ण हुन्थ्यो। सन्‌ १९६९ मा अमेरिकाको लस एन्जलसमा भएको डजर रङ्गशालामा एउटा अधिवेशन आयोजना गरिएको थियो। त्यस अधिवेशनमा भाइ एन्जेलो मेनेराले चमेनागृहको निरीक्षण गर्ने जिम्मेवारी पाएका थिए। तर त्यो कुरा तिनले त्यहाँ पुगेपछि मात्र थाह पाएछन्‌। तिनी भन्छन्‌, “त्यो कुरा थाह पाउँदा म त तीनछक परें।” अधिवेशनको लागि विभिन्न तयारी गर्नुपर्थ्यो। भान्छासम्म ग्याँसको लाइन ल्याउन ४०० मिटर लामो सुरुङ खन्नु पनि पर्थ्यो।

फ्रान्कफर्ट, जर्मनी, १९५१

सन्‌ १९८२ मा सियरा लियोनमा अधिवेशनको लागि स्वयंसेवकहरूले सबैभन्दा पहिला चौर सफा गरे। त्यसपछि त्यहाँ उपलब्ध सामग्रीहरू प्रयोग गरेर चमेनागृह बनाए। सन्‌ १९५१ मा जर्मनीको फ्रान्कफर्टमा उदार मन भएका केही ख्रीष्टियन दाजुभाइले रेल-इन्जिन भाडामा लिए। अधिवेशनको दौडान त्यो इन्जिनको बाफ प्रयोग गरेर  ४० वटा ठूलठूला भाँडामा खाना पकाइयो। विभिन्न स्थानबाट खाना बाँड्ने प्रबन्ध मिलाइएको थियो। यस्तो प्रबन्धले गर्दा एक घण्टाभित्र ३०,००० जनाले खाना खान सके। हुन त भाँडा माझ्ने विभागमा ५७६ जना स्वयंसेवक थिए। तर उनीहरूको काम सजिलो बनाउन अधिवेशनमा उपस्थित हुनेहरूले घरैबाट काँटा-चम्चा बोकेर आएका थिए। म्यानमारको यङ्गुनमा भएको अधिवेशनमा खाना पकाउने स्वयंसेवकहरूले अरू देशबाट आएका दाजुभाइ दिदीबहिनीलाई गाह्रो नहोस् भनेर खानामा खुर्सानी थोरै हाले।

“तिनीहरू त उभिएरै खाना खाँदा रहेछन्‌”

सन्‌ १९५० को गर्मी मौसममा अमेरिकामा आयोजना गरिएको एउटा अधिवेशनको कुरा हो। एनी पोगेन्सी खाना लिन लामो लाइनमा बसिरहेकी थिइन्‌। उनले यसो भनिन्‌, “युरोपबाट डुङ्गा चढेर अधिवेशन आएका दुई जना बहिनीको कुराकानी मैले ध्यान दिएर सुनें।” अधिवेशन आउन यहोवाले कसरी मदत गर्नुभयो भनेर उनीहरू कुराकानी गर्दै थिए। एनीले यसो पनि भनिन्‌, “ती दुई बहिनी जत्तिको खुसी अरू कोही पनि देखिंदैनथे। चर्को घाममा लामो लाइनमा बस्नुपरे पनि उनीहरूलाई केही जस्तो लागेन।” ती दुई बहिनीलाई देख्दा एनीले धेरै प्रोत्साहन पाइन्‌।

सियोल, कोरिया, १९६३

ठूलठूला अधिवेशनहरूको चमेनागृहमा पाल टाँगिएको हुन्थ्यो र त्यहाँ उभिएरै खाना खान मिल्ने अग्ला टेबुलहरू राखिएको हुन्थ्यो। खाना खाइरहेकाहरूले खान बाँकी भएकाहरूको लागि ठाउँ खालि गर्न छिटो-छिटो खान्थे। हजारौं मानिसले समयमै खाना खाएर भ्याउँथे। अधिवेशन आएका एक जना मानिसले यसो भने, “त्यो धर्मका मानिसहरू देख्दा त म छक्कै परें। तिनीहरू त उभिएरै खाना खाँदा रहेछन्‌। कस्तो अचम्म!”

अधिवेशन स्थलको सुव्यवस्था देखेर सरकारी अधिकारीहरू र सैन्य अफिसरहरूले अचम्म माने। एक अमेरिकी सैनिकले न्यु योर्कको याङ्की रङ्गशालामा अधिवेशनको लागि बनाइएको चमेनागृहको निरीक्षण गरे। त्यसपछि तिनले बेलायती सेनाको युद्ध विभागका मेजर फोल्क्नरलाई पनि यहोवाका साक्षीहरूको अधिवेशनमा गएर निरीक्षण गर्न आग्रह गरे। त्यसैले ती मेजर आफ्नी श्रीमतीलाई लिएर १९५५ मा इङ्गल्यान्डको ट्वीकेनह्याममा यहोवाका साक्षीहरूले आयोजना गरेको “विजयी राज्य” भन्ने सम्मेलनमा गए। तिनले चमेनागृहमा यहोवाका साक्षीहरूमाझ प्रेम देखेको कुरा बताए।

अधिवेशनमा उपस्थित हुनेहरूको लागि कम मूल्यमा पोसिलो खाना उपलब्ध गराउन स्वयंसेवकहरूले वर्षौंसम्म निकै मेहनत गरे। खाना पकाउने काममा धेरै स्वयंसेवक खटिनुपर्थ्यो अनि खाना पकाउन घण्टौं लाग्थ्यो। त्यसैले ती स्वयंसेवकहरूले अधिवेशनको धेरैजसो कार्यक्रमबाट लाभ उठाउन सक्दैनथे। कसै कसैले त पूरै कार्यक्रम सुन्न पाउँदैनथे। सन्‌ १९७५ पछिका वर्षहरूमा थुप्रै मुलुकमा खानाको प्रबन्धमा छाँटकाँट गरियो। सन्‌ १९९५ देखि अधिवेशनमा आउँदा आफ्नो लागि घरबाटै खाना लिएर आउन आग्रह गरियो। यस छाँटकाँटले गर्दा खाना पकाउने र बाँड्नेहरूले अधिवेशनको कार्यक्रम राम्ररी सुन्न पाए अनि एकअर्कासित सरसङ्गत गर्ने मौका पनि पाए। *

आफ्ना दाजुभाइ दिदीबहिनीको सेवा गर्न कडा मेहनत गरेका ती स्वयंसेवकहरूलाई यहोवा असाध्यै माया गर्नुहुन्छ। थुप्रैले चमेनागृहमा रमाउँदै सेवा गरेको क्षण अहिले पनि सम्झन्छन्‌ र ती दिनहरू फेरि आइदिए हुन्थ्यो भनेर सोच्छन्‌। तर खाना पकाउने प्रबन्धमा यस्तो परिवर्तन गरिए पनि हाम्रा अधिवेशनहरूमा एउटा कुरा भने परिवर्तन भएको छैन। त्यो हो, हाम्रो प्रेम।—यूह. १३:३४, ३५.

^ अनु. 12 अधिवेशनका विभिन्न विभागमा मदत गर्ने सुअवसर भने अहिले पनि छ।