अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) अप्रिल २०१५

 जीवनी

‘अनुकूल र प्रतिकूल अवस्थामा’ यहोवाको आशिष्‌

‘अनुकूल र प्रतिकूल अवस्थामा’ यहोवाको आशिष्‌

मेरो जन्म १९३० को मार्चमा नामकुम्बा भन्ने गाउँमा भएको थियो। यो गाउँ अहिले मलावी भनेर चिनिने देशको लिलोङ्वे सहर नजिकै छ। मेरो जन्म हुनुभन्दा अघिदेखि नै मेरा परिवार र आफन्तहरूले यहोवाको सेवा गर्न थालिसकेका थिए। म पनि जीवनभर यहोवाको सेवा गर्न चाहन्थें। त्यसैले १९४२ मा हाम्रो गाउँको एउटा सुन्दर नदीमा बप्तिस्मा गरें। मैले बप्तिस्मा गरेको ७० वर्ष पुगिसक्यो। तर अहिलेसम्म पनि म पावलले तिमोथीलाई दिएको यो सल्लाह पालन गर्न कडा मेहनत गर्दै छु, “चाहे अवस्था अनुकूल होस् वा प्रतिकूल, जोडतोडले वचन प्रचार गर।”—२ तिमो. ४:२.

सन्‌ १९४८ को सुरुतिरको कुरा हो। न्यु योर्कको ब्रूक्लिनमा रहेको यहोवाका साक्षीहरूको मुख्यालयबाट दुई जना प्रतिनिधि मलावीमा भ्रमण गर्न पहिलो पटक आउनुभएको थियो। उहाँहरू नेथन एच. नोर र मिल्टन जि. हेन्सेल हुनुहुन्थ्यो। मैले उहाँहरूको भ्रमणबाट पूर्ण-समय यहोवाको सेवा गर्ने प्रेरणा पाएँ। ती प्रतिनिधिहरूबाट हामीले पाएको हौसला अहिले पनि मेरो मनमा ताजै छ। त्यतिबेला भाइ नोरले “सबै राष्ट्रहरूको लागि स्थायी शासक” भन्ने प्रोत्साहनदायी भाषण दिनुभएको थियो। हिलाम्मे चौरमा उभिएर लगभग ६,००० जनाले त्यो भाषण सुनेका थिए।

पछि लिडासे भन्ने एउटी मित्रैलो बहिनीसित मेरो भेट भयो। मजस्तै उनी पनि ख्रीष्टियन परिवारमा हुर्केकी थिइन्‌।उनको पनि पूर्ण-समय सेवा गर्ने लक्ष्य रहेछ। सन्‌ १९५० मा हामीले विवाह गऱ्यौं। सन्‌ १९५३ सम्ममा हाम्रो एउटा छोरा र एउटी छोरी जन्मिसकेका थिए। हुन त मेरो काँधमा तिनीहरूको लालनपालन गर्ने जिम्मेवारी पनि थियो। तर हामी दुई जनाले सल्लाह गऱ्यौं अनि मैले नियमित अग्रगामी सेवा सुरु गरें। त्यसको दुई वर्षपछि मैले विशेष अग्रगामी सेवा गर्ने सुअवसर पाएँ।

त्यसलगत्तै मैले क्षेत्रीय निरीक्षकको रूपमा मण्डलीहरूको भ्रमण गर्ने सुअवसर पनि पाएँ। लिडासेको साथ पाएकोले मैले परिवारको भौतिक आवश्यकता पूरा गर्न सकें अनि परिवारलाई यहोवाको बाटोमा डोऱ्याउन पनि सकें। * हामी दुवै जना सँगै पूर्ण-समय सेवा गर्न चाहन्थ्यौं। हामीले सबै कुरा राम्ररी विचार गरेर योजना बनायौं अनि छोराछोरीले पनि हामीलाई सहयोग गरे। त्यसैले १९६० देखि लिडासेले पनि पूर्ण-समय सेवा सुरु गर्न सकिन्‌।

सम्मेलनहरूले हामीलाई आउनै लागेको सतावटको लागि तयार पारिरहेको थियो

त्यो अनुकूल समयमा विभिन्न मण्डलीका दाजुभाइ दिदीबहिनीको सेवा गर्न हामी टाढा-टाढा जान्थ्यौं। हामी देशको दक्षिणी भागमा पर्ने सुन्दर मुलान्जे पहाडदेखि पूर्वीय सीमा ढाक्ने शान्त मलावी तालसम्म भ्रमणको लागि जान्थ्यौं। हामीले सेवा गरेको क्षेत्रमा प्रकाशकहरू र मण्डलीहरू बिस्तारै बढ्दै गएको देख्यौं।

 सन्‌ १९६२ मा “निडर प्रचारकहरू” विषयको सम्मेलनमा उपस्थित भयौं। त्यस्ता जमघटहरूले हामीलाई आउनै लागेको प्रतिकूल समयको लागि तयार पारिरहेको थियो। तर त्यतिबेला हामीलाई परिस्थितिले कस्तो मोड लिनेछ भन्ने कुरा पत्तै थिएन। सन्‌ १९६३ मा भाइ हेन्सेल विशेष अधिवेशनको लागि फेरि मलावी आउनुभयो। त्यो अधिवेशन ब्लान्टायर सहर नजिकै पर्ने एउटा ठाउँमा आयोजना गरिएको थियो र त्यस कार्यक्रममा लगभग १०,००० जना उपस्थित भएका थिए। त्यस अधिवेशनले आउँदै गरेको परीक्षाहरूको सामना गर्न हामीलाई बलियो बनायो।

प्रतिकूल समय सुरु भयो

हाम्रो काममाथि प्रतिबन्ध लगाइयो अनि हाम्रो शाखा कार्यालयमा तालाबन्दी गरियो

राजनैतिक गतिविधिमा भाग लिन नमानेकोले १९६४ मा यहोवाका साक्षीहरूले कठोर परीक्षाको सामना गर्नुपऱ्यो। भीषण सतावटको त्यो समयमा १०० भन्दा धेरै राज्यभवन र साक्षीहरूको १,००० भन्दा धेरै घर तहसनहस पारियो। तैपनि हामीले परिभ्रमण कार्य गर्न भने छोडेका थिएनौं। तर १९६७ मा मलावी सरकारले साक्षीहरूको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि परिभ्रमण कार्य छोड्न बाध्य भयौं। ब्लान्टायरमा रहेको हाम्रो शाखा कार्यालयमा तालाबन्दी गरियो, मिसनरीहरूलाई देश छोड्न बाध्य पारियो अनि हामी श्रीमान्‌-श्रीमती र अरू थुप्रै स्थानीय साक्षीहरूलाई जेलमा हालियो। जेलबाट छुट्नेबित्तिकै हामी परिभ्रमण कार्यमा लागिहाल्यौं। तर समस्या अझै पनि नटरेकोले हामी चनाखो भने हुनुपर्थ्यो।

अक्टोबर, १९७२ को कुरा हो। एकदिन हामी घरमै भएको बेला एक जना मान्छे दौडेर आयो र मलाई लुक्न भन्यो। त्यो मान्छे मलावी युथ लिग भन्ने राजनैतिक समूहको सदस्य रहेछ। त्यो समूहका लगभग १०० जना सदस्यहरू हाम्रो घरतिर आउँदै रहेछन्‌ र तिनीहरूले मलाई मार्ने योजना बनाएका रहेछन्‌। त्यसैले मैले श्रीमती र बच्चाहरूलाई नजिकैको केराघारीमा लुक्न भनें। त्यसपछि मचाहिं दौडेर गएँ र ठूलो आँपको रूखमा चढें। त्यो समूहले हाम्रो घर र सबै सरसामान नष्ट पारिदियो। टुलुटुलु हेर्नु सिवाय मसित अरू कुनै उपाय नै थिएन।

हाम्रा दाजुभाइ दिदीबहिनीले राजनीतिमा भाग लिन नमानेकोले तिनीहरूको घर जलाइयो

मलावीमा सतावट झन्‌झनै चर्कंदै गयो। त्यसैले हजारौं साक्षीहरू त्यहाँबाट भाग्नुपऱ्यो। म आफ्नो परिवारसितै जून, १९७४ सम्म पश्‍चिम मोजाम्बिकको शरणार्थी शिविरमा बसें। त्यतिबेला हामीले मोजाम्बिकको डोम्वमा विशेष अग्रगामी सेवा गर्ने सुअवसर पायौं। हामीले १९७५ सम्म विशेष अग्रगामी सेवा गऱ्यौं। त्यही वर्ष मोजाम्बिकले पोर्चुगलबाट स्वतन्त्रता पाएको थियो। त्यसपछि अरू साक्षीहरूसितै हामीलाई पनि मलावीमा फर्कन बाध्य पारियो। मलावीमा साक्षीहरूलाई विरोध गर्नेहरू अझै पनि थिए।

मलावी फर्केपछि मलाई राजधानी लिलोङ्वेमा भएका मण्डलीहरूमा भ्रमण गर्न खटाइयो। सतावट र गाह्रो परिस्थिति आए पनि हामीले सेवा गरेको क्षेत्रमा मण्डलीहरूको सङ्ख्या बढ्दै गयो।

यहोवाको मदत पाएको महसुस गऱ्यौं

एक पटकको कुरा हो, हामी एउटा गाउँको बाटो भएर यात्रा गर्दै थियौं। त्यहाँ राजनैतिक पार्टीको सभा भइरहेको रहेछ। हामी यहोवाका साक्षी हौं भन्ने कुरा त्यस पार्टीका समर्थकहरूमध्ये कसै-कसैले थाह पाए अनि तिनीहरूले हामीलाई मलावी  योङ पायोनियर्स भन्ने राजनैतिक समूहका सदस्यहरूमाझ लगेर राखे। अब के हुने होला भनेर हामीलाई असाध्यै डर लागिरहेको थियो। त्यसैले हामीले यहोवाको मदत र डोऱ्याइको लागि मनमनै प्रार्थना गऱ्यौं। सभा सिद्धिएपछि तिनीहरूले हामीलाई पिट्न थाले। त्यति नै बेला एक जना वृद्धा दौडँदै आइन्‌ र यसो भनेर कराइन्‌, “छोडिदेओ उनीहरूलाई! यो मेरो भदा हो। उसलाई जान देओ!” त्यस सभाका प्रमुख व्यक्तिको आदेशमा हामीलाई छोडियो। ती वृद्धाले किन त्यसो भनेकी थिइन्‌ हामीलाई थाह छैन। तिनी हाम्रो आफन्त पनि होइनन्‌। यहोवाले हाम्रो प्रार्थना सुन्नुभएको जस्तो लाग्यो।

राजनैतिक पार्टी कार्ड

सन्‌ १९८१ मा मलावी योङ पायोनियर्सका केही सदस्यहरूसित हाम्रो जम्काभेट भयो। तिनीहरूले हाम्रो साइकल, सुटकेस, किताबहरूको बाकस र क्षेत्रीय भ्रमणको फाइल सबै खोसे। हामी त्यहाँबाट जसोतसो उम्कियौं र एक जना एल्डरको घरमा गयौं। हामीले फेरि पनि यहोवालाई प्रार्थना गऱ्यौं। तिनीहरूले लगेको फाइलमा महत्त्वपूर्ण जानकारीहरू भएकोले हामीलाई चिन्ता लागिरहेको थियो। तिनीहरूले फाइल हेरेछन्‌ अनि मलावीको विभिन्न ठाउँबाट मलाई पठाइएका चिठीहरू देखेछन्‌। मलाई सरकारी कर्मचारी भन्ठानेर तिनीहरूको होस उडेछ। त्यसपछि त तिनीहरूले सबै सामान स्थानीय एल्डरहरूलाई जस्ताको त्यस्तै फिर्ता गरेछन्‌।

अर्को एक पटक चाहिं हामी नदी पार गर्न डुङ्गा चढेका थियौं। डुङ्गाको मालिक त्यस इलाकाको राजनैतिक नेता रहेछन्‌। त्यसैले तिनले डुङ्गामा चढेका सबैसित राजनैतिक पार्टीको कार्ड छ कि छैन भनेर सोधखोज गर्न थाले। तिनी हाम्रो नजिकै आइपुग्न लाग्दा प्रहरीले खोजिरहेको एउटा चोरलाई तिनले देखे। त्यसपछि खैलाबैला मच्चिन थाल्यो र तिनी त्यतै व्यस्त भए। तिनले पार्टी कार्ड खोज्ने त कुरै भएन। हामीले फेरि पनि यहोवाको मदत पाएको महसुस गऱ्यौं।

गिरफ्तार गरियो र जेलमा हालियो

फेब्रुअरी, १९८४ को कुरा हो। जाम्बिया शाखा कार्यालयलाई रिपोर्टहरू पठाउन म लिलोङ्वेतिर जाँदै थिएँ। एउटा प्रहरीले मलाई रोके अनि मेरो झोला खानतलास गर्न थाले। झोलामा केही प्रकाशनहरू भेट्टाएपछि तिनले मलाई प्रहरी चौकी लगे अनि पिट्न थाले। त्यसपछि मलाई डोरीले बाँधे अनि चोरहरूसँगै थुनामा राखे।

त्यसको भोलिपल्ट प्रहरी अधिकृतले मलाई अर्को कोठामा लगे। तिनले एउटा कागज तयार पारेका रहेछन्‌। त्यसमा यस्तो लेखिएको थियो, “म, त्रोफिम आर. सोम्बा, अबदेखि यहोवाको साक्षी होइन। त्यसैले म मुक्त भएको हुँ।” तर मैले त्यसमा हस्ताक्षर गर्न मानिनँ। मैले भनें, “म डोरीले बाँधिन मात्र होइन मर्न पनि तयार छु। तर म अहिले पनि यहोवाको साक्षी नै हुँ।” मेरो कुरा सुनेर ती अधिकृत जङ्गिए। तिनले बेस्सरी टेबुल ठटाए। छेउको कोठाको प्रहरी पनि के भएछ भनेर हेर्न दौडेर आए। ती अधिकृतले तिनलाई भने, “यो मान्छेले प्रचार गर्न छोडिदिएँ भनेर हस्ताक्षर गर्नै मान्दैन। त्यसैले एउटा कागजमा ‘म यहोवाको साक्षी हुँ’ लेखेर यसलाई हस्ताक्षर गर्न लगा। त्यसपछि यसलाई लिलोङ्वेमा लगेर जेलमा जाकिदिनुपर्छ।” उता मेरी श्रीमतीलाई मेरो चिन्ता लागिरहेको थियो। चार दिनपछि मात्र भाइहरूले म कहाँ छु भनेर थाह पाए अनि मेरी श्रीमतीलाई पनि खबर गरे।

लिलोङ्वेको प्रहरी चौकीमा प्रहरीहरूले मलाई राम्रो व्यवहार  गरे। त्यहाँका प्रहरी अधिकृतले मलाई यसो भने, “तिमी यहाँ भएका चोरहरूजस्ता होइनौ। कुनै अपराध गरेकोले नभई परमेश्वरको वचन प्रचार गरेकोले तिमी यहाँ आउनुपरेको हो। ल, खाना खाऊ।” त्यसपछि तिनले मलाई लिलोङ्वेको केचेरे जेलमा पठाए। त्यहाँ मलाई पाँच महिना राखियो।

मलाई देखेर त्यहाँको जेलर खुसी भए। तिनी मलाई जेलको “पास्टर” बनाउन चाहन्थे। तिनले पहिलाको पास्टरलाई यसो भने, “तिमीले आफ्नो चर्चमा चोरी गरेकोले यहाँ आउनु परेको हो। त्यसैले तिमीले अबदेखि यहाँ परमेश्वरको कुरा सिकाउनु पर्दैन।” हरेक हप्ता हुने सभामा मैले कैदीहरूलाई बाइबलको कुरा सिकाउने जिम्मेवारी पाएँ।

तर परिस्थिति सधैं उस्तै रहेन। एक दिन जेलका अफिसरहरूले मलावीमा साक्षीहरू कति जना छन्‌ भनेर पत्ता लगाउन मलाई केरकार गरे। मैले चित्तबुझ्दो जवाफ नदिएकोले तिनीहरूले मलाई बेहोस हुनेगरि पिटे। अर्को एक दिन तिनीहरूले हाम्रो मुख्यालय कहाँ छ भनेर सोधे। मैले भनें, “तपाईंहरूले सजिलो प्रश्न सोध्नुभयो। म तपाईंहरूलाई यसको जवाफ दिन्छु।” ती अफिसरहरू खुसी भएर मेरो कुरा रेकर्ड गर्न सुरसार गरे। त्यसपछि मैले हाम्रो मुख्यालयको बारेमा बाइबलमा लेखिएको छ भनें। तिनीहरू तीनछक परेर सोधे, “बाइबलमा कहाँ छ?”

मैले यशैया ४३:१२ मा छ भनेर जवाफ दिएँ। तिनीहरूले त्यो पद ध्यान दिएर पढे। त्यहाँ यस्तो लेखिएको छ, ‘“तिमीहरू मेरा साक्षी हौ” यहोवा भन्नुहुन्छ, “म परमेश्वर हुँ।”’ तिनीहरूले त्यो पद तीन-तीन पटक पढे तर जवाफ भेट्टाएनन्‌। त्यसपछि तिनीहरूले मलाई सोधे, “यहोवाका साक्षीहरूको मुख्यालय अमेरिकामा नभई बाइबलमा कसरी हुन सक्छ?” मैले यस्तो जवाफ दिएँ, “अमेरिकामा भएका यहोवाका साक्षीहरूले पनि मुख्यालयबारे बताउनुपऱ्यो भने यही शास्त्रपद देखाउँछन्‌।” तिनीहरूले पत्ता लगाउन खोजेको कुरा मैले नबताएकोले तिनीहरूले मलाई लिलोङ्वेको उत्तरमा भएको जालेका जेलमा पठाउने निर्णय गरे।

प्रतिकूल अवस्थामा पनि यहोवाको आशिष्‌ पायौं

जुलाई, १९८४ मा मलाई जालेका जेलमा पुऱ्याइयो। त्यहाँ भएका ३०० कैदीमध्ये ८१ जना साक्षी रहेछन्‌। ती कैदीहरू कोचाकोच गरेर भुइँमै सुत्नुपर्दो रहेछ। हामी साक्षीहरू बिस्तारै स-साना समूह बनाएर भेला हुन थाल्यौं। हामी हरेक दिन एउटा शास्त्रपद छलफल गर्थ्यौं। कुन शास्त्रपद छलफल गर्ने भनेर सबैले पालैपालो भन्थ्यौं। यस्तो छलफलले गर्दा हामीले धेरै प्रोत्साहन पायौं।

जेलरले हामी साक्षीहरूलाई छुट्टै राखे। एउटा गार्डले हामीलाई खुसुक्क यसो भने, “सरकारले तिमीहरूलाई घृणा गर्दैन। हामीले तिमीहरूलाई जेलमा राख्नुको दुइटा कारण छन्‌। तिमीहरूलाई योङ पायोनियर्सहरूले मार्ला भनेर सरकार डराउँछ। अनि अर्को कुरा, तिमीहरू आउँदै गरेको युद्धको बारेमा प्रचार गर्छौं। त्यसैले सरकारलाई आफ्ना सेनाहरू डराएर भाग्लान्‌ भन्ने चिन्ता छ।”

अदालतले निर्णय सुनाएपछि हाम्रा दाजुभाइहरूलाई जेल लगिंदै

अक्टोबर, १९८४ मा हामी सबैलाई कठघरामा उभ्याइयो। हामीलाई दुई वर्षको जेल सजाय सुनाइयो। जेलमा हामीलाई फेरि अरू कैदीहरूसितै राखियो। तर जेलरले सबै कैदीहरूलाई यसो भने, “यहोवाका साक्षीहरू चुरोट खाँदैनन्‌। त्यसैले गार्डहरू हो, चुरोट मागेर तिनीहरूलाई हैरान नगर अनि चुरोट सल्काउन  कोइला लिन पनि नपठाऊ। तिनीहरू परमेश्वरका सेवकहरू हुन्‌। अपराध गरेकोले होइन, बाइबलअनुसार चलेकोले तिनीहरूलाई यहाँ ल्याइएको हो। त्यसैले तिनीहरूलाई दिनको दुवै छाक खाना दिनू।”

हाम्रो असल चालचलनले गर्दा हामीलाई अरू तरिकामा पनि सजिलो भयो। अँध्यारो भएपछि वा पानी परिरहेको बेला कैदीहरू यताउता जान पाउँदैनथे। तर हामीलाई भने कुनै रोकटोक थिएन। हामी भाग्दैनौं भन्ने कुरा तिनीहरूलाई थाह थियो। एक पटकको कुरा हो, हामी खेतमा काम गरिरहेको बेला हामीलाई पहरा दिइरहेको गार्ड अचानक बिरामी परे। हामीले तिनलाई उपचारको लागि जेलमै फर्काएर ल्यायौं। जेलका अफिसरहरू हामीलाई भरोसा गर्थे। हामीलाई कैद गर्नेहरूले समेत हाम्रो असल चालचलन देखेर यहोवाको महिमा गरे। यो देख्दा हामीलाई असाध्यै खुसी लाग्थ्यो।—१ पत्रु. २:१२. *

अवस्था फेरि अनुकूल भयो

मे ११, १९८५ मा म जालेका जेलबाट छुटें। परिवारसित फेरि एक हुन पाउँदा मैले खुसीको आँसु थाम्नै सकिनँ। त्यस्तो प्रतिकूल अवस्थामा पनि वफादार रहिरहन यहोवाले हामीलाई मदत गर्नुभयो। यसको लागि हामी उहाँलाई मुरीमुरी धन्यवाद दिन्छौं। त्यो गाह्रो समयबारे विचार गर्दा हामी पनि पावलले जस्तै महसुस गर्छौं। तिनले यसो भने, “हामीमाथि आइपरेको सङ्कष्टबारे तिमीहरू अनजान रहो भन्ने हामी चाहँदैनौं। . . . हाम्रो ज्यानको समेत ठेगान थिएन। वास्तवमा, हामीलाई आफूले मृत्युदण्ड पाएजस्तै महसुस भएको थियो। हामीले आफैमाथि होइन तर मरेकाहरूलाई ब्यूँताउनुहुने परमेश्वरमाथि भरोसा राखोस् भनेर यस्तो भएको थियो। उहाँले हामीलाई मृत्युजस्तो भयानक कुराबाट छुटाउनुभयो।”—२ कोरि. १:८-१०.

सन्‌ २००४ मा भाइ सोम्बा र उहाँकी श्रीमती राज्यभवन अगाडि

हुन त कहिलेकाहीं विरोधीहरूसामु घुँडा टेक्न पुग्ने हो कि भनेर चिन्ता पनि लाग्थ्यो। तर हामी यहोवाको महान्‌ नामको महिमा गरिरहन चाहन्थ्यौं। त्यसैले नम्र, साहसी र बुद्धिमान्‌ हुन मदत गर्नुहोस् भनेर सधैं यहोवालाई बिन्ती गर्थ्यौं।

चाहे अवस्था अनुकूल होस् वा प्रतिकूल, यहोवाले हामीलाई उहाँको सेवा गर्दा सधैं आशिष्‌ दिइरहनुभएको छ। अहिले लिलोङ्वेमा शाखा कार्यालय छ। यसको निर्माणकार्य सन्‌ २००० मा पूरा भएको थियो। त्यति मात्र होइन, मलावीमा १,००० भन्दा धेरै राज्यभवन पनि बनिसके। यी सबै देख्न पाउँदा हामीलाई धेरै खुसी लाग्छ। यहोवाले दिनुभएका यस्ता आशिष्‌हरूबारे सोच्दा हामी उहाँसित घनिष्ठ हुन सकेका छौं। म र लिडासेलाई यी सबै कुरा सपनाजस्तै लाग्छ। *

^ अनु. 7 साना छोराछोरी भएका दाजुभाइहरूलाई अहिले क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्ने जिम्मेवारी दिइँदैन।

^ अनु. 30 मलावीका दाजुभाइ दिदीबहिनीहरूले अरू के-कस्ता सतावट भोग्नुपऱ्यो, त्यसबारे थाह पाउन यहोवाका साक्षीहरूको वार्षिक पुस्तक १९९९ (अङ्ग्रेजी), पृष्ठ १७१-२२३ हेर्नुहोस्।

^ अनु. 34 यो लेख प्रकाशनको लागि तयारी भइरहेको बेला भाइ त्रोफिम आर. सोम्बा ८३ वर्षको उमेरमा बित्नुभयो।