अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) मार्च २०१५

 जीवनी

हामीले अझ सन्तुष्टि दिने काम भेट्टायौं

हामीले अझ सन्तुष्टि दिने काम भेट्टायौं

मैले र गोएनले पाँच वर्षको उमेरदेखि नाच सिक्न थाल्यौं। तर एकअर्कासित हाम्रो भेटघाट भएको थिएन। हुर्कंदै जाँदा हामी दुवैले ब्याले नाचलाई (गीत र वार्तालाप नभएको तर सङ्गीत र नृत्य भएको नाट्य शैली) पेसा बनाउने अठोट गऱ्यौं। तर सफलताको शिखर चुम्नै लाग्दा हामीले त्यो पेसा छोड्यौं। हामीले किन यस्तो निर्णय गऱ्यौं, अब तपाईंहरूलाई बताउँछौं।

डेभिड: म १९४५ मा बेलायतको स्रप्सा भन्ने ठाउँमा जन्मेको हुँ। मेरो बुबाको फार्म सहरबाट अलि टाढा पर्ने शान्त ठाउँमा थियो। स्कुलबाट फर्केपछि म कुखुराहरूलाई दाना खुवाउन र अण्डा बटुल्न जान्थें अनि गाई-गोरु र भेडाहरूको हेरविचार पनि गर्थें। यसो गर्न मलाई असाध्यै मन पर्थ्यो। लामो बिदाको बेला म बाली काट्न मदत गर्थें; कहिलेकाहीं त ट्याक्टर पनि चलाउँथें।

तर समय बित्दै जाँदा मैले अर्को एउटा कुरामा पनि रुचि राख्न थालें। सानो छँदा सङ्गीत सुन्ने बित्तिकै म नाचिहाल्थें रे। बुबाले यो कुरा याद गर्नुभएको रहेछ। उहाँ मलाई ट्याप नाच (जुत्ताको सोलको अगाडि र पछाडिको भागमा धातु जडेर लयात्मक आवाज निकाल्दै नाचिने नाच) सिकाउन चाहनुहुन्थ्यो। त्यसैले उहाँले आमासित कुरा गर्नुभयो अनि आमाले मलाई नजिकैको नाच सिकाउने स्कुलमा लैजानुभयो। त्यतिबेला म पाँच वर्षको मात्र थिएँ। मेरो शिक्षकलाई मैले ब्याले नाच पनि सिक्न सक्छु जस्तो लागेछ। त्यसैले मलाई त्यो नाच पनि सिकाउनुभयो। पन्ध्र वर्षको उमेरमा मैले लन्डनमा भएको प्रसिद्ध रोयल ब्याले स्कुलमा छात्रवृत्ति पाएँ। त्यहाँ मैले गोएनलाई भेटें। त्यसपछि हामीलाई युगल नाचको लागि जोडी बनाइयो।

गोएन: म १९४४ मा लन्डन सहरमा जन्मेकी हुँ। सानैदेखि म ईश्वरमा गहिरो आस्था राख्थें। म बाइबल पढ्थें तर त्यसमा भएको कुरा भने बुझ्दिनथें। पाँच वर्षको हुँदादेखि नै म नाच सिकाउने स्कुल जान्थें। त्यसको छ वर्षपछि मैले एउटा प्रतियोगितामा भाग लिएँ। त्यस प्रतियोगितामा बेलायतभरका विद्यार्थीहरूले भाग लिन सक्थे। मैले त्यो प्रतियोगिता जितेकोले द रोयल ब्याले स्कुलमा भर्ना हुने मौका पाएँ। त्यो स्कुल लन्डनको रिच्मण्ड पार्कमा अवस्थित ह्वाइट लज भन्ने एउटा सुन्दर महलमा थियो। त्यहाँ मैले नाम चलेका शिक्षकहरूबाट शिक्षादीक्षा लिने र ब्याले नाच सिक्ने मौका पाएँ। म १६ वर्षको हुँदा उच्च तहमा पढ्न मध्य लन्डनमा भएको रोयल ब्याले स्कुलमा गएँ। मैले डेभिडलाई त्यहीं भेटेकी थिएँ। केही महिनापछि नै लन्डनको कोभेन्ट गार्डेनमा रहेको रोयल ओपेरा हाउसमा हामी दुवैले ओपेरा गीतमा ब्याले प्रस्तुत गर्न थाल्यौं।

ब्याले नाच प्रस्तुत गर्न हामी संसारका थुप्रै ठाउँमा गयौं

डेभिड: गोएनले भनेजस्तै हामीले प्रसिद्ध रोयल ओपेरा हाउसमा र लन्डन फेस्टिभल ब्यालेको (अहिले इङ्लिस नेसनल ब्याले) समूहसँग नाच्ने मौका पाएका थियौं। रोयल ब्यालेमा नाच सिकाउने एक जना शिक्षकले जर्मनको उप्पठाल भन्ने सहरमा एउटा अन्तरराष्ट्रिय कम्पनी खोल्नुभयो। उहाँले सँगै लैजानुभएको नाच टोलीमा हामी पनि थियौं। हामीले विश्वभर थुप्रै रङ्गमञ्चमा नाच्ने मौका पायौं। त्यस सिलसिलामा हामीले मार्गो फोन्टेन र रुडोल्फ नुरेइभजस्ता नाम  चलेका कलाकारहरूसित पनि काम गर्ने अवसर पाएका थियौं। त्यस्तो प्रतिस्पर्धाले गर्दा हामीले आफूबारे मात्र सोच्न थाल्यौं र हामी आफ्नो पेसामा लग्गू भयौं।

गोएन: मेरो लागि नाच नै सबथोक थियो। डेभिड र म नाचको दुनियाँमा सबैभन्दा माथि हुन चाहन्थ्यौं। अटोग्राफ दिन पाउँदा म फुरुङ्ङ हुन्थें। अरूले फुल दिंदा र दर्शकहरूले ताली बजाउँदा खुबै रमाइलो लाग्थ्यो। अरू कलाकारजस्तै म पनि आफ्नो सफलताको लागि शुभ शकुनका चीजबीजहरूमा भर पर्थें। अनैतिक काम गर्ने, धुम्रपान गर्ने र रक्सी पिएर मात्तिने मान्छेहरूसित मेरो हिमचिम पनि बढ्न थाल्यो।

हाम्रो जीवनमा ठूलो परिवर्तन आयो

हाम्रो विवाहको दिन

डेभिड: कामको सिलसिलामा हामी विभिन्न ठाउँमा जानुपर्थ्यो। वर्षौसम्म यस्तो जीवन बिताएपछि मलाई दिक्क लाग्न थाल्यो। म फार्ममा हुर्केकोले चमकदमकको दुनियाँबाट टाढा शान्त ठाउँमा गएर बस्न मन लाग्यो। त्यसैले १९६७ मा मैले आफ्नो पेसा छोडें अनि मेरो आमाबुबाको घर नजिकैको एउटा ठूलो फार्ममा काम गर्न थालें। त्यस फार्मको किसानले मलाई एउटा सानो घर भाडामा दियो। त्यसपछि मैले गोएनलाई फोन गरें र उनलाई विवाहको प्रस्ताव राखें। उनले एकल नाच प्रस्तुत गर्न थालिसकेकी थिइन्‌ र आफ्नो लक्ष्य पूरा गर्न अघि बढ्दै थिइन्‌। त्यसैले उनलाई निर्णय गर्न गाह्रो भयो। तैपनि उनले मेरो प्रस्ताव स्वीकारिन्‌ र मसँगै बिलकुलै नयाँ परिवेशमा जीवन बिताउन राजी भइन्‌।

गोएन: डेभिडले भन्नुभएको कुरा सही हो। मैले कहिल्यै वस्तुभाउको हेरचाह गरेकी थिइनँ। गाई दुहुनु अनि बङ्गुर र कुखुरालाई दाना खुवाउनु मेरो लागि नौलो काम थियो। घामपानी केही नभनी वस्तुभाउको हेरचाह गर्नुपर्ने हुन्थ्यो। डेभिड पशुपालनसम्बन्धी उन्नत तरिकाहरू सिक्न चाहनुहुन्थ्यो। त्यसैले नौ महिने तालिम लिन कृषि क्याम्पस जानुभयो। उहाँ राती मात्र घर फर्कने भएकोले दिनभरि घरमा एक्लै बस्न मलाई दिक्क लाग्थ्यो। यतिबेलासम्म त हाम्री जेठी छोरी गिली जन्मिसकेकी थिई। एकपटक डेभिडले मलाई गाडी सिक्न भन्नुभयो र मैले गाडी चलाउन सिकें। एक दिन म नजिकैको बजार गएकी थिएँ। त्यहाँ मैले गेललाई देखें। उनी पहिला एउटा पसलमा काम गर्थिन्‌। पहिलो चोटि मैले उनलाई त्यही पसलमा भेटेकी थिएँ।

विवाहको सुरुका वर्षहरूतिर फार्ममा

गेलले मलाई आफ्नो घरमा चिया पिउन बोलाइन्‌। उनले मलाई विवाहका फोटोहरू देखाइन्‌। एउटा भवनको बाहिर समूहमा खिचिएको फोटो पनि त्यसमा थियो। त्यो राज्यभवन रहेछ। मैले उनलाई त्यो कस्तो खाले चर्च हो भनेर सोधें। तिनी र तिनका श्रीमान्‌ यहोवाका साक्षी रहेछन्‌। त्यो सुनेर मलाई धेरै खुसी लाग्यो। त्यतिबेला मलाई मेरी एउटी फुपूको याद आयो। उहाँ पनि यहोवाको साक्षी हुनुहुन्थ्यो। उहाँ साक्षी हुनुभएको बुबालाई फिटिक्कै मन परेको थिएन। रिसको झोकमा उहाँले फुपूका किताबहरू फालिदिनु भएको थियो। खासमा मेरो बुबा मित्रैलो हुनुहुन्थ्यो। तैपनि उहाँ फुपूजस्तो दयालु व्यक्तिसित किन रिसाउनुभएको होला जस्तो लागेको थियो।

 फुपूले सिक्नुभएको कुरा चर्चको शिक्षाभन्दा फरक रहेछ भनेर बल्ल बुझें। गेलले मलाई बाइबलले सिकाउने सत्य कुरा राम्ररी बुझाइन्‌। त्रिएकको शिक्षा, अमर आत्माको शिक्षा र यस्तै अरू शिक्षाहरू शास्त्रसित मेल खाँदैन रहेछ भन्ने कुरा थाह पाउँदा म तीनछक परें। (उप. ९:५, १०; यूह. १४:२८; १७:३) मैले पहिलो पटक बाइबलमा यहोवा नाम देखें।—प्रस्थ. ६:३; प्रका. ४:११.

डेभिड: बाइबलबाट थाह पाएको कुरा गोएनले मलाई पनि बताइन्‌। म सानो छँदा बुबाले मलाई बाइबल पढ्नुपर्छ भन्नुहुन्थ्यो। त्यही भएर हामी गेल र तिनका श्रीमान्‌ डेरिकसित बाइबल अध्ययन गर्न राजी भयौं। त्यसको छ महिनापछि हामी स्रप्साको अस्वेस्ट्री भन्ने सहरमा बसाइँ सऱ्यौं। हामीले त्यहाँ एउटा सानो फार्म भाडामा लिएका थियौं। त्यहाँ डियड्रा भन्ने बहिनीले हामीलाई बाइबल अध्ययन गराइन्‌। वस्तुभाउको देखभाल गर्नमै व्यस्त भएकोले हामीले त्यति छिटो उन्नति गर्न सकेनौं। तैपनि ती बहिनीले हामीलाई अध्ययन गराउन छोडिनन्‌। सत्यले बिस्तारै हाम्रो हृदयमा जरा गाड्दै थियो।

गोएन: मेरो लागि सबैभन्दा ठूलो चुनौती भनेको ममा भएको अन्धविश्वास थियो। “भाग्यदेवको निम्ति टेबल तयार गर्नेहरू”-लाई यहोवा कसरी हेर्नुहुन्छ भन्ने कुरा यशैया ६५:११ बाट थाह पाएँ। मसित भएका शुभ शकुनका चीजबीजहरू फाल्न मलाई धेरै गाह्रो भयो; मदतको लागि मैले यहोवालाई प्रार्थना गरें। “जसले आफूलाई उचाल्छ, ऊ होच्याइनेछ अनि जसले आफूलाई होच्याउँछ, ऊ उचालिनेछ” भनेर बाइबलमा लेखिएको कुरा पढ्दा यहोवा कस्तो मानिसलाई मन पराउनुहुन्छ भनेर पनि थाह पाएँ। (मत्ती २३:१२) हामीलाई धेरै माया गर्नुहुने र बलिदानको रूपमा आफ्नो छोरा दिनुहुने परमेश्वरको म सेवा गर्न चाहन्थें। यतिबेलासम्म अर्की छोरी पनि जन्मिसकेकी थिई। नयाँ संसारमा हाम्रो परिवार पनि सधैंभरि रहन पाउनेछ भन्ने थाह पाउँदा म असाध्यै खुसी थिएँ।

डेभिड: मत्ती अध्याय २४ मा र दानियलको किताबमा गरिएका भविष्यवाणीहरू अचम्मलाग्दो तरिकाले पूरा भएको बुझेपछि यही नै सत्य हो भनेर म विश्वस्त भएँ। यहोवासित नजिक हुनुजस्तो ठूलो कुरा अरू केही पनि रहेनछ भनेर बुझें। समय बित्दै जाँदा नाम-दाम कमाउने मेरो चाहना पनि हराउँदै गयो। श्रीमती र छोरीहरूलाई अझ धेरै माया गर्न थालें। पहिला म आफैबारे मात्र सोच्थें र फार्मलाई अझ ठूलो बनाउने चाहना पनि थियो। तर फिलिप्पी २:४ ले मलाई आफैबारे मात्र नसोच्न र आफ्नो चाहनालाई नै बढी महत्त्व नदिन मदत गऱ्यो। यस पदबाट यहोवाको सेवालाई पहिलो स्थान दिनुपर्छ भनेर पनि बुझें। मैले चुरोट तान्न छोडें। तर अर्को चुनौती पनि थियो। शनिबार साँझ हुने सभामा जान अलिक गाह्रो थियो। किनभने सभा हुने ठाउँ १० किलोमिटर टाढा थियो। त्यसमाथि गाई दुहुने समय पनि ठ्याक्कै त्यही थियो। तैपनि गोएनले गर्दा हाम्रो सभा र प्रचारकार्य कहिल्यै छुटेन। हामी हरेक आइतबार बिहान गाई दुहेपछि छोरीहरूसितै प्रचारकार्यमा जान्थ्यौं।

हाम्रा नातेदारहरू हामीले गरेको परिवर्तन देखेर खुसी थिएनन्‌। गोएनको बुबा उनीसित छ वर्षसम्म बोल्नुभएन। मेरा आमाबुबालाई पनि हामीले साक्षीहरूसित सङ्गत गरेको मन परेन।

 गोएन: यहोवाले हामीलाई यस्ता चुनौतीहरू सामना गर्न मदत गर्नुभयो। समय बित्दै जाँदा अस्वेस्ट्री मण्डलीका दाजुभाइ दिदीबहिनी हाम्रो परिवारजस्तै भए। तिनीहरूले हामीलाई गाह्रो परिस्थितिहरू सामना गर्न मदत गरे। (लूका १८:२९, ३०) हामीले आफ्नो जीवन यहोवालाई समर्पण गऱ्यौं र १९७२ मा बप्तिस्मा गऱ्यौं। म धेरैभन्दा धेरै मानिसहरूसित सत्य बाँड्न चाहन्थें। त्यसैले मैले अग्रगामी सेवा सुरु गरें।

अझ धेरै सन्तुष्टि दिने नयाँ काम

डेभिड: फार्ममा काम गर्दा असाध्यै खट्नुपर्थ्यो। तैपनि यहोवाको उपासना गर्ने विषयमा छोरीहरूको लागि राम्रो उदाहरण बसाल्न हर प्रयास गऱ्यौं। सरकारले किसानहरूलाई दिने अनुदानमा कटौती गरेकोले केही समयपछि हामीले फार्म छोड्नुपऱ्यो। हाम्रो आफ्नै घर थिएन र काम पनि थिएन। त्यतिबेला अर्की छोरी पनि जन्मिसकेकी थिई र ऊ एक वर्षकी मात्र थिई। हामीले यहोवासित मदत र डोऱ्याइ माग्यौं। हामीले आफूसित भएको सीप चलाउने विचार गऱ्यौं। परिवारको खर्च टार्न हामीले नाच सिकाउने स्टुडियो खोल्यौं। यहोवाको सेवालाई पहिलो स्थानमा राख्ने अठोट गरेकोले नतिजा राम्रो भयो। खुसीको कुरा, हाम्रा तीनै जना छोरीले स्कुलको पढाइ सिध्याएपछि अग्रगामी सेवा सुरु गरे। गोएन पनि अग्रगामी सेवा गर्दै थिइन्‌। त्यसैले उनले छोरीहरूलाई मदत गर्न सकिन्‌।

जेठी र माइली छोरी, गिली र डनिजको विवाहपछि हामीले नाच स्टुडियो बन्द गऱ्यौं। कुन ठाउँमा मदतको खाँचो छ भनेर जान्न हामीले शाखा कार्यालयलाई चिठी लेख्यौं। बेलायतको दक्षिण-पूर्वमा पर्ने सहरहरूमा मदतको खाँचो छ भनेर हामीले थाह पायौं। अब हामीसित कान्छी छोरी डेबी मात्र थिई। त्यसैले मैले पनि अग्रगामी सेवा सुरु गरें। पाँच वर्षपछि हामीलाई सुदूर उत्तरतिर पर्ने मण्डलीहरूलाई मदत गर्न आग्रह गरियो। डेबीको विवाहपछि हामीले जिम्बावे, मोल्डोभा, हंगेरी र कोट डे’भ्वामा अन्तरराष्ट्रिय निर्माण परियोजनामा काम गर्ने सुअवसर पायौं। हामीले निर्माण परियोजनामा दस वर्ष काम गऱ्यौं। त्यसपछि हामी लन्डन बेथेलमा भइरहेको निर्माणकार्यमा मदत गर्न बेलायत फर्क्यौं। म पहिला फार्ममा काम गर्ने भएकोले मलाई बेथेलको फार्ममा काम गर्न खटाइयो। अहिले हामी बेलायतको उत्तर-पश्‍चिममा अग्रगामी सेवा गर्दै छौं।

अन्तरराष्ट्रिय निर्माण परियोजनामा काम गर्दा हामीले अपार आनन्द उठायौं

गोएन: पहिला हामी ब्याले नाचमा समर्पित थियौं। यो काम रमाइलो भए पनि यसले दिने आनन्द क्षणिक मात्र थियो। तर अहिले चाहिं हामी यहोवामा समर्पित छौं। यो नै हामीले गरेको सबैभन्दा महत्त्वपूर्ण समर्पण हो। यसले हामीलाई अपार आनन्द दिएको छ र यो आनन्द सधैंभरि रहन्छ। हुन त अहिले पनि हामी जोडी हौं तर नाच्ने जोडी नभई सँगै प्रचार गर्ने जोडी। जीवन बचाउने अमूल्य ज्ञान मानिसहरूसित बाँड्न पाउँदा हामी असाध्यै खुसी छौं। यस्तो “सिफारिस-पत्र” संसारमा कमाएको नामभन्दा कता हो कता राम्रो छ। (२ कोरि. ३:१, २) हामीले सत्य नपाएको भए हामीसित पहिला गरेको कामको सम्झनाको नाममा पुराना फोटोहरू अनि रङ्गमञ्चमा नाच प्रस्तुत गरेका क्षणहरू मात्र हुनेथिए।

डेभिड: यहोवाको सेवालाई आफ्नो पेसा बनाएकोले हाम्रो जीवनमा ठूलो परिवर्तन आएको छ। यहोवाको सेवा गर्दा म असल बुबा र असल श्रीमान्‌ बन्न सकेको छु। मरियम र राजा दाऊदजस्ता पात्रहरूले नाचेर आफ्नो खुसी व्यक्त गरेको विवरण बाइबलमा पाइन्छ। हामी पनि यहोवाले ल्याउनुहुने नयाँ संसारमा अरूसितै खुसीले नाच्न चाहन्छौं।—प्रस्थ. १५:२०; २ शमू. ६:१४.