अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) मार्च २०१५

तोडाको दृष्टान्तबाट सिक्नुहोस्

तोडाको दृष्टान्तबाट सिक्नुहोस्

“उसले . . . पहिलोलाई पाँच तोडा, दोस्रोलाई दुई तोडा अनि तेस्रोलाई एक तोडा चाँदीका सिक्काहरू दियो।”—मत्ती २५:१५.

१, २. येशूले किन तोडाको दृष्टान्त बताउनुभयो?

येशूले तोडाको दृष्टान्तमा आफ्ना अभिषिक्त चेलाहरूको जिम्मेवारीबारे स्पष्टसित बताउनुभयो। स्वर्ग जाने र पृथ्वीमा सधैंभरि बाँच्ने सबैले यस दृष्टान्तको अर्थ बुझ्नुपर्छ। यसो गर्दा सबै साँचो ख्रीष्टियनले लाभ उठाउन सक्छन्‌।

येशूका चेलाहरूले उहाँको “उपस्थिति र यस युगको आखिरी समयको चिन्ह”-बारे सोध्दा उहाँले जवाफमा तोडाको दृष्टान्त पनि बताउनुभएको थियो। (मत्ती २४:३) त्यसैले यस दृष्टान्तमा येशूले बताउनुभएका कुराहरू हाम्रो समयमा पूरा भइरहेको छ। साथै, यो दृष्टान्त येशूको उपस्थितिको र उहाँले राज्य गर्दै हुनुहुन्छ भन्ने कुराको चिन्ह हो।

३. मत्ती अध्याय २४ र २५ मा पाइने दृष्टान्तहरूबाट हामी के सिक्न सक्छौं?

मत्ती २४:४५ देखि मत्ती २५:४६ मा चारवटा दृष्टान्त पाइन्छ। त्यसमध्ये तोडाको दृष्टान्त पनि एउटा हो। अरू तीनवटा चाहिं विश्वासी र बुद्धिमान्‌ दास, दस कन्या अनि भेडा र बाख्राको दृष्टान्त हो। चेलाहरूले उहाँको उपस्थितिको चिन्हबारे सोध्दा येशूले यी दृष्टान्तहरू पनि बताउनुभएको थियो। यी चारैवटा दृष्टान्तमा येशूले अन्तको दिनमा साँचो अनुयायीहरूलाई चिन्न मदत गर्ने केही विशेष गुणहरूमा जोड दिनुभयो। विश्वासी दासको दृष्टान्त, दस कन्याको दृष्टान्त अनि तोडाको दृष्टान्तमा पाइने निर्देशन येशूले अभिषिक्त अनुयायीहरूलाई दिनुभएको थियो। अन्तको दिनमा घरका अरू दासहरूलाई आध्यात्मिक भोजन खुवाउने जिम्मा पाएका अभिषिक्त जनहरूको सानो समूह  विश्वासी बुद्धिमान्‌ हुनुपर्छ भन्ने कुरा येशूले विश्वासी दासको दृष्टान्तमा जोड दिनुभयो। साथै, येशू कहिले आउनुहुन्छ भनेर थाह नभएकोले सबै अभिषिक्त अनुयायीहरू तयार चनाखो हुनुपर्थ्यो र यो कुरा येशूले दस कन्याको दृष्टान्तमा जोड दिनुभयो। अभिषिक्त ख्रीष्टियनहरू आफ्नो जिम्मेवारी पूरा गर्न लगनशील हुनुपर्ने कुरा येशूले तोडाको दृष्टान्तमार्फत बताउनुभयो। येशूले बताउनुभएको अन्तिम दृष्टान्त भेडा र बाख्राबारे थियो। यस दृष्टान्तमा पाइने निर्देशन पृथ्वीमा सधैंभरि बाँच्ने आशा पाएकाहरूका लागि हो। तिनीहरू वफादार हुनुपर्छ र पृथ्वीमा रहेका येशूका अभिषिक्त भाइहरूलाई मदत गर्नुपर्छ भनेर येशूले जोड दिनुभयो। * अब हामी तोडाको दृष्टान्त विचार गरौं।

मालिकले दासहरूलाई आफ्नो सम्पत्ति जिम्मा लगायो

४, ५. दृष्टान्तको मानिस अर्थात्‌ मालिक को हो? एक तोडा बराबर कति हुन्थ्यो?

मत्ती २५:१४-३० पढ्नुहोस्। यस दृष्टान्तमा उल्लेख गरिएको मानिस अर्थात्‌ मालिक येशू हो भनेर हाम्रा प्रकाशनहरूमा पहिलादेखि नै बताइएको पाइन्छ। दृष्टान्तमा मालिक परदेश गएको कुराले येशू इस्वी संवत्‌ ३३ मा स्वर्ग जानुभएको कुरालाई सङ्केत गर्छ। दस टुक्रा चाँदीको दृष्टान्तमा येशूले आफू परदेश जानुको उद्देश्य “राज्याधिकार हासिल” गर्न हो भनेर बताउनुभएको थियो। (लूका १९:१२) स्वर्ग फर्कनेबित्तिकै उहाँले राज्याधिकार पाउनुभएन। * बरु उहाँ “परमेश्वरको दाहिने हाततर्फ बस्नुभयो। त्यसबेलादेखि उहाँ त्यो समयलाई पर्खिरहनुभएको छ, जुन बेला उहाँका शत्रुहरूलाई उहाँको पाउदान तुल्याइनेछ।”—हिब्रू १०:१२, १३.

दृष्टान्तको मानिससित आठ तोडा चाँदीका सिक्काहरू थिए। * त्यो त्यतिबेलाको ठूलो धनराशि हो। परदेश जानुअघि त्यस मानिसले आफ्ना दासहरूलाई तोडा दियो र त्यसबाट व्यापार गर्न भन्यो। स्वर्ग जानुअघि येशूसित पनि बहुमूल्य सम्पत्ति थियो। कस्तो सम्पत्ति? पृथ्वीमा छँदा उहाँले गर्नुभएको काम नै त्यो सम्पत्ति थियो।

६, ७. तोडाले केलाई बुझाउँछ?

येशूले प्रचार गर्ने र सिकाउने कामलाई असाध्यै महत्त्वपूर्ण ठान्नुहुन्थ्यो। (लूका ४:४३ पढ्नुहोस्) यस कामको माध्यमबाट उहाँले खेत तयार पर्नुभयो र त्यो खेतले धेरै फल फलायो। यसअघि उहाँले आफ्ना चेलाहरूलाई यसो भन्नुभएको थियो, “आफ्नो आँखा उठाएर खेततिर हेर, किनकि बाली पाकेर पहेंला भइसकेका छन्‌।” (यूह. ४:३५-३८) थुप्रै निष्कपट मानिसहरू चेला बन्नेछन्‌ भन्ने कुरा उहाँलाई थाह थियो र उहाँ तिनीहरूलाई जम्मा गर्न चाहनुहुन्थ्यो। येशू असल किसानजस्तै हुनुभएकोले खेतमा पाकेको बालीलाई उहाँले त्यसै छोड्नुहुने थिएन। त्यसैले उहाँ पुनर्जीवित भएर स्वर्ग जानुअघि आफ्ना चेलाहरूलाई यस्तो महत्त्वपूर्ण जिम्मेवारी दिनुभयो, “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ।” (मत्ती २८:१८-२०) यसरी येशूले चेलाहरूलाई बहुमूल्य धनराशि जिम्मा लगाउनुभयो र त्यो हो, प्रचारकार्य।—२ कोरि. ४:७.

त्यसोभए हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं त? येशूले चेलाहरूलाई प्रचार गर्ने आज्ञा दिनुहुँदा उहाँले तिनीहरूलाई “आफ्नोसम्पत्ति” अर्थात्‌  तोडा जिम्मा लगाउनुभयो। (मत्ती २५:१४) सरल शब्दमा भन्ने हो भने, दृष्टान्तको तोडाले प्रचार गर्ने र चेला बनाउने जिम्मेवारीलाई बुझाउँछ।

८. मालिक आफ्ना तीनै जना दासबाट के चाहन्थ्यो?

तोडाको दृष्टान्तमा उल्लेख गरिएको मालिकले पहिलो दासलाई पाँच तोडा, दोस्रोलाई दुई तोडा अनि तेस्रोलाई एक तोडा चाँदीका सिक्काहरू दियो। (मत्ती २५:१५) हुन त तिनीहरूमध्ये कसैले धेरै त कसैले थोरै तोडा पाएका थिए। तर मालिक भने तिनीहरूले लगनशील भई आफूले पाएको तोडा प्रयोग गरेर व्यापार बढाएको चाहन्थ्यो। यसको मतलब अभिषिक्त अनुयायीहरूले तनमनले प्रचार गर्नुपर्थ्यो। (मत्ती २२:३७; कल. ३:२३) इस्वी संवत्‌ ३३ पेन्तिकोसदेखि ख्रीष्टका अनुयायीहरूले तोडा प्रयोग गरेर व्यापार गर्न थाले। तिनीहरूले लगनशील भई प्रचार गरेको र चेला बनाएको विषयमा प्रेषितको किताबमा लेखिएको छ। *प्रेषि. ६:७; १२:२४; १९:२०.

अन्तको दिनमा तोडा प्रयोग गरेर व्यापार गरिन्छ

९. (क) दुई जना दासले आफूले पाएको तोडा कसरी प्रयोग गरे? यसले कुन कुरालाई सङ्केत गर्छ? (ख) यस काममा “अरू भेडा”-ले कस्तो योगदान दिइरहेका छन्‌?

अन्तको दिनमा, विशेषगरि १९१९ देखि  ख्रीष्टका वफादार अभिषिक्त दासहरूले मालिकको तोडा प्रयोग गरेर व्यापार गर्दै छन्‌। पहिलो दुई जना दासले जस्तै अभिषिक्त दाजुभाइ दिदीबहिनीले पनि आफूले पाएको जिम्मेवारी तनमनले पूरा गरेका छन्‌। तिनीहरूमध्ये कसले पाँच तोडा पायो र कसले दुई तोडा पायो भन्ने कुरा महत्त्वपूर्ण होइन। यस दृष्टान्तमा दुवै दासले मालिकबाट पाएको तोडा दोब्बर बनाए। यसको अर्थ दुवै जना लगनशील थिए। पृथ्वीमा बाँच्ने आशा पाएकाहरूले पनि यस काममा महत्त्वपूर्ण योगदान दिइरहेका छन्‌। तिनीहरूले प्रचार गर्ने र सिकाउने काममा वफादार भई येशूका अभिषिक्त भाइहरूलाई सघाउने सुअवसर पाएका छन्‌। यो कुरा हामी भेडा र बाख्राको दृष्टान्तबाट बुझ्न सक्छौं। यस असाध्यै कठिन समयमा यी दुइटा समूहले “एउटै बगाल” भएर चेला बनाउने काममा जोसका साथ भाग लिइरहेका छन्‌।—यूह. १०:१६.

१०. येशूको उपस्थितिको एउटा प्रमाण के हो?

१० आफ्ना अनुयायीहरू चेला बनाउने काममा तनमनले लागेको मालिक येशू चाहनुहुन्छ। अगाडि छलफल गरिएझैं प्रथम शताब्दीका वफादार चेलाहरूले उहाँको सम्पत्ति बढाए। तोडाको दृष्टान्त पूरा भइरहेको यस अन्तको दिनबारे चाहिं के भन्न सकिन्छ? येशूका वफादार अनि मेहनती दासहरूले प्रचार गर्ने र चेला बनाउने काममा जोडतोडले भाग लिएर इतिहास कोरेका छन्‌। तिनीहरूले एकजुट भएर गरेको प्रयासले गर्दा हरेक वर्ष लाखौं नयाँ प्रचारकहरू थपिंदै छन्‌। ती प्रचारकहरूले पनि राज्यको सुसमाचार प्रचार गर्ने काममा जोडतोडले भाग लिइरहेका छन्‌। येशूको उपस्थितिको एउटा प्रमाण प्रचारकार्य पनि हो भनेर स्पष्ट छ। तिनीहरूका मालिक खुसी छन्‌ भन्ने कुरामा कुनै शङ्का छैन।

येशूले आफ्ना दासहरूलाई प्रचार गर्ने जिम्मेवारी सुम्पनुभएको छ (अनुच्छेद १० हेर्नुहोस्)

मालिक हिसाबकिताब माग्न कहिले आउनुहुनेछ?

११. महासङ्कष्टको अन्ततिर येशू हिसाबकिताब माग्न आउनुहुनेछ भन्ने कुरा कसरी थाह पाउन सक्छौं?

११ महासङ्कष्टको अन्ततिर येशू दासहरूसित हिसाबकिताब माग्न आउनुहुनेछ। यो कुरा हामी कसरी थाह पाउन सक्छौं? मत्ती अध्याय २४ र २५ मा येशूले गर्नुभएको भविष्यवाणीमा उहाँले बारम्बार आफू आउनेबारे बताउनुभयो। महासङ्कष्टको बेला आफू न्याय गर्न आउनेबारे येशूले यसो भन्नुभयो, “मानिसको छोरालाई शक्ति र ठूलो गौरवसहित आकाशका बादलहरूमा आउँदै गरेको [मानिसहरूले] देख्नेछन्‌।” उहाँले  अन्तको दिनमा बाँचिरहेका आफ्ना अनुयायीहरूलाई चनाखो हुन आग्रह गर्नुभएको छ। उहाँले यसो भन्नुभएको थियो, “तिमीहरूका प्रभु कुन दिन आउँदै हुनुहुन्छ, तिमीहरूलाई थाह छैन।” उहाँले यसो पनि भन्नुभएको थियो, “तिमीहरूले नचिताएको समयमा मानिसको छोरा आउँदैछ।” (मत्ती २४:३०, ४२, ४४) त्यसकारण येशूले “ती दासहरूको मालिक फर्क्यो र तिनीहरूसित हिसाबकिताब माग्यो” भन्नुहुँदा यस युगको अन्तमा आफू न्याय गर्न आउने समयलाई सङ्केत गर्दै हुनुहुन्थ्यो। *मत्ती २५:१९.

१२, १३. (क) मालिकले दुई जना दासलाई के भन्यो? किन? (ख) अभिषिक्त चेलाहरूले कहिले अन्तिम छाप पाउनेछन्‌? (“मृत्युसम्मै वफादार भएकोले योग्य ठहरिएका” भन्ने पेटी हेर्नुहोस्) (ग) भेडाखाले मानिसहरूले कस्तो इनाम पाउनेछन्‌?

१२ दृष्टान्तमा बताइएझैं मालिक फर्केपछि उसले आफ्ना दुई जना दासहरू वफादार भएको पायो। आफूले पाएका पाँच तोडा र दुई तोडालाई तिनीहरूले दोब्बर बनाएका थिए। मालिकले ती दुवै दासलाई एउटै कुरा भन्यो, “स्याबास, असल र विश्वासी दास! तिमी थोरै कुरामा विश्वासी भयौ। म तिमीलाई धेरै कुरामाथि नियुक्त गर्नेछु।” (मत्ती २५:२१, २३) हाम्रा मालिक येशू भविष्यमा न्याय गर्न आउनुहुँदा उहाँले के गर्नुहुनेछ?

१३ दुई जना दासले येशूका मेहनती अभिषिक्त चेलाहरूलाई सङ्केत गर्छ। महासङ्कष्ट सुरु हुनुभन्दा अघि नै तिनीहरूले अन्तिम छाप पाइसकेका हुनेछन्‌। (प्रका. ७:१-३) त्यसपछि आरमागेडोन सुरु हुनुभन्दा केही समयअघि येशूले तिनीहरूलाई इनामस्वरूप स्वर्गमा जीवन दिनुहुनेछ। ख्रीष्टका भाइहरूलाई प्रचारकार्यमा मदत गर्नेहरू चाहिं न्याय गरिंदा भेडाखाले मानिस ठहरिनेछन्‌। परमेश्वरको राज्यले शासन गर्दा तिनीहरूले इनामस्वरूप पृथ्वीमा सधैंभरि बाँच्ने सुअवसर पाउनेछन्‌।—मत्ती २५:३४.

दुष्ट र अल्छे नोकर

१४, १५. के येशूले आफ्ना अभिषिक्त अनुयायीहरूमध्ये थुप्रै दुष्ट र अल्छे हुनेछन्‌ भन्न खोज्दै हुनुहुन्थ्यो? व्याख्या गर्नुहोस्।

१४ दृष्टान्तको तेस्रो दासले आफूले पाएको तोडाबाट व्यापार गर्न सक्थ्यो अथवा साहूकहाँ राख्न सक्थ्यो। तर उसले तोडालाई जमिनमुनि लुकायो। वास्तवमा त्यो दास दुष्ट थियो किनभने उसले जानाजानी मालिकको इच्छा विपरीत काम गऱ्यो। त्यसैले मालिकले उसलाई “दुष्ट र अल्छे” भन्नु उचित थियो। मालिकले ऊसँग भएको तोडा खोसेर दस तोडा हुनेलाई दियो। त्यसपछि दुष्ट दासलाई “बाहिर अन्धकारमा” फालियो। त्यहाँ “त्यसको रोदन अनि वेदनाको चीत्कार” सुनियो।—मत्ती २५:२४-३०; लूका १९:२२, २३.

१५ दृष्टान्तका तीन जना दासमध्ये एक जना दुष्ट र अल्छे भएको थियो। यसको अर्थ येशूका एक तिहाइ अभिषिक्त अनुयायीहरू दुष्ट र  अल्छे हुनेछन्‌ भनिएको हो त? होइन। यो कुरा बुझ्न तोडाको दृष्टान्तलाई येशूले बताउनुभएको अर्को दुइटा दृष्टान्तसित तुलना गरौं। विश्वासी र बुद्धिमान्‌ दासको दृष्टान्तमा येशूले सङ्गी दासहरूलाई पिट्ने एक जना दुष्ट दासबारे बताउनुभएको थियो। उहाँले दुष्ट दास वर्ग देखा पर्नेछ भन्न खोज्नुभएको थिएन। त्यसको विपरीत उहाँले विश्वासी दासलाई दुष्ट नहुन चेतावनी दिंदै हुनुहुन्थ्यो। त्यसैगरि, दस कन्याको दृष्टान्तमा येशूले आफ्ना अभिषिक्त अनुयायीहरूमध्ये आधा पाँच जना मूर्ख कन्याजस्तै हुनेछन्‌ भन्न खोज्नुभएको थिएन। बरु तिनीहरू चनाखो भएनन्‌ र तयार रहेनन्‌ भने नमीठो नतिजा भोग्नुपर्नेछ भनेर येशूले चेतावनी दिंदै हुनुहुन्थ्यो। * यी कुराहरू विचार गर्दा तोडाको दृष्टान्तमा पनि येशूले अन्तको दिनमा आफ्ना अभिषिक्त भाइहरूमध्ये थुप्रै दुष्ट र अल्छे हुनेछन्‌ भन्न खोज्नुभएको थिएन भन्ने निष्कर्षमा पुग्न सक्छौं। बरु येशूले तिनीहरूलाई लगनशील भएर तोडाबाट ‘व्यापार गर्न’ अनि दुष्ट दासजस्तो नहुन चेतावनी दिंदै हुनुहुन्थ्यो।—मत्ती २५:१६.

१६. (क) तोडाको दृष्टान्तबाट हामीले सिक्न सक्ने दुइटा कुरा के-के हुन्‌? (ख) यो लेखमा तोडाको दृष्टान्तबारे हाम्रो बुझाइमा कस्तो छाँटकाँट गरिएको छ? (“तोडाको दृष्टान्तलाई हामीले कसरी बुझ्नुपर्छ?” भन्ने पेटी हेर्नुहोस्)

१६ तोडाको दृष्टान्तबाट हामी दुइटा कुरा सिक्न सक्छौं। पहिलो, मालिक येशूले आफ्ना अभिषिक्त दासहरूलाई प्रचार गर्ने र चेला बनाउने महत्त्वपूर्ण जिम्मेवारी सुम्पनुभएको छ। दोस्रो, हामी सबै लगनशील भएर प्रचारकार्यमा भाग लिएको ख्रीष्ट चाहनुहुन्छ। चनाखो भएर यसो गरिरह्यौं भने हाम्रा मालिक येशूले हाम्रो विश्वास अनि वफादारीको लागि हामीलाई इनाम दिनुहुनेछ।—मत्ती २५:२१, २३, ३४.

^ अनु. 3 विश्वासी र बुद्धिमान्‌ दास को हो भन्नेबारे जुलाई १५, २०१३ को प्रहरीधरहरा, पृष्ठ २१-२२, अनुच्छेद ८-१० मा छलफल गरिएको छ। दस कन्याले कसलाई सङ्केत गर्छ भन्नेबारे अघिल्लो अध्ययन लेखमा छलफल गरिएको छ। भेडा र बाख्राको दृष्टान्तबारे अक्टोबर १५, १९९५ को प्रहरीधरहरा, पृष्ठ २३-२८ मा र यसपछिको लेखमा छलफल गरिएको छ।

^ अनु. 5 येशूको समयमा एक तोडा बराबर ६,००० दिनार हुन्थ्यो। एक जना साधारण कामदारले दिनको एक दिनार कमाउँथ्यो। एक तोडा कमाउन उसले २० वर्ष काम गर्नुपर्थ्यो।

^ अनु. 8 प्रेषितहरूको मृत्युपछि सैतानले धर्मत्याग फैलायो र धर्मत्यागले सयौं वर्षसम्म मलजल पायो। धर्मत्यागले जरा गाडेको त्यो समयमा चेला बनाउने काम खासै अघि बढेन। तर “बाली काट्ने बेला”-मा अर्थात्‌ अन्तको दिनमा प्रचारकार्य फेरि सुरु हुने थियो। (मत्ती १३:२४-३०, ३६-४३) जुलाई १५, २०१३ को प्रहरीधरहरा, पृष्ठ ९-१२ हेर्नुहोस्।

^ अनु. 15 यस अङ्कको “के तपाईं ‘जागा रहनुहुनेछ’?” भन्ने लेखको अनुच्छेद १३ हेर्नुहोस्।