अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) फेब्रुअरी २०१५

 हाम्रो अभिलेखालयबाट

“एउटा विशेष समय”

“एउटा विशेष समय”

सन्‌ १८७० मा अमेरिकाको पिट्सबर्गमा एउटा सानो समूहले धर्मशास्त्रको गहिरो अध्ययन गर्न थाल्यो। चार्ल्स टेज रसलको नेतृत्वमा तिनीहरूले येशूले तिर्नुभएको फिरौतीबारे अध्ययन गरे अनि यहोवाको उद्देश्यमा त्यो फिरौतीले मुख्य भूमिका खेलेको छ भनेर थाह पाए। फिरौतीले उद्धारको बाटो खोल्छ र येशूबारे सुन्ने मौका नपाएका व्यक्तिहरूले समेत उद्धार पाउन सक्छन्‌ भनेर थाह पाउँदा तिनीहरू उत्साहित भए। त्यसपछि तिनीहरूले हरेक वर्ष येशूको मृत्युको सम्झना गर्नुपर्छ भन्ने महसुस गरे।—१ कोरि. ११:२३-२६.

भाइ रसलले सियोनको प्रहरीधरहरा (अङ्ग्रेजी) लगातार प्रकाशित गर्नुभयो। परमेश्वर मानवजातिलाई प्रेम गर्नुहुन्छ भन्ने कुराको सबैभन्दा बलियो प्रमाण फिरौतीको प्रबन्ध नै हो भन्ने कुरालाई त्यस पत्रिकाले जोड दिएको थियो। त्यस पत्रिकाले येशूको मृत्युको सम्झना गर्ने समयलाई “एउटा विशेष समय” भन्यो र पाठकहरूलाई पिट्सबर्गमा वा अरू कुनै ठाउँमा समूह बनाएर येशूको मृत्युको सम्झना गर्न आग्रह गऱ्यो। “प्रभुमा विश्वास गर्ने दुई वा तीन जना मात्र भेला भएर” उहाँको मृत्युको सम्झना गरे पनि वा एकै जनाले मात्र गरे पनि “तिनीहरू प्रभुमा एकै मनका हुने थिए।”

हरेक वर्ष पिट्सबर्गमा स्मरणार्थ मनाउन आउनेहरूको सङ्ख्या बढ्दै गयो। निम्तो पर्चीमा यस्तो लेखिएको थियो, “तपाईंहरूलाई हार्दिक स्वागत छ!” खुसीको कुरा, पिट्सबर्गमै बस्ने बाइबल विद्यार्थीहरूले विभिन्न ठाउँबाट आएका दाजुभाइ दिदीबहिनीको लागि खाने-बस्ने प्रबन्ध गरिदिन्थे। सन्‌ १८८६ मा स्मरणार्थको समयमा “साधारण सभा” आयोजना गरियो र त्यो सभा केही दिनसम्म चल्यो। प्रहरीधरहरा-मा (अङ्ग्रेजी) यस्तो आग्रह गरिएको थियो, “मालिक येशू, उहाँका भाइहरू र उहाँले सिकाउनुभएको सत्यप्रतिको प्रेमले उत्प्रेरित भएर आउनुहोस्।”

लन्डन टेबरनेकलमा (सभा हुने हल) स्मरणार्थको प्रतीक पास गर्न बनाइएको चार्ट

वर्षौंसम्म पिट्सबर्गका बाइबल विद्यार्थीहरूले फिरौतीको प्रबन्धमा विश्वास गर्ने व्यक्तिहरूको लागि स्मरणार्थकै मौका पारेर अधिवेशनहरू पनि आयोजना गरे। बाइबल विद्यार्थीहरूको सङ्ख्या बढ्दै जाँदा स्मरणार्थमा आउनेहरूको सङ्ख्या पनि विश्वभरि नै बढ्दै गयो। सिकागो इक्लेसियाका (मण्डली) रे बप भन्ने भाइले बताएअनुसार सन्‌ १९१० को दशकमा भएका स्मरणार्थ उत्सवमा सयौं मानिसहरू उपस्थित हुन्थे र तिनीहरूमध्ये सबैजसो नै प्रतीक खानेहरू थिए। त्यसैले प्रतीक पास गर्न घण्टौं लाग्थ्यो।

स्मरणार्थको प्रतीकको रूपमा के प्रयोग गरिन्थ्यो? येशूले प्रभुको साँझको भोजमा दाखमद्य प्रयोग गर्नुभएको थियो भन्ने कुरा थाह भए तापनि प्रहरीधरहरा-ले (अङ्ग्रेजी) ताजा अङ्गुरको रस वा सुकाएको अङ्गुरलाई पकाएर बनाइएको रस प्रयोग गर्न सुझाव दियो। किन? दाखमद्य प्रयोग गर्दा “शरीर कमजोर” भएकाहरूलाई अर्थात्‌ पहिला धेरै रक्सी पिउने बानी भएकाहरूलाई गाह्रो हुन सक्थ्यो। “दाखमद्य नै उपयुक्त प्रतीक हो” भन्ने सोचाइ राख्नेहरूको लागि चाहिं दाखमद्यको प्रबन्ध पनि गरिएको हुन्थ्यो। तर बाइबल विद्यार्थीहरूले येशूको रगतको उपयुक्त प्रतीक विशुद्ध रातो दाखमद्य हो भनेर पछि बुझे।

स्मरणार्थ उपस्थितिको रेकर्ड राख्न निकारागुआको जेलमा यो कागज र सिसाकलम कैदीहरू बस्ने कोठा-कोठामा पास गरियो

 स्मरणार्थ उत्सव मनाउँदा ती बाइबल विद्यार्थीहरूले येशूले चढाउनुभएको बलिदानबारे मनन गर्ने मौका पाउँथे। तर कुनै-कुनै मण्डलीमा भने उपस्थित भएकाहरू येशूको मृत्यु भएकोमा शोक गर्थे र कार्यक्रम सिद्धिएपछि एक शब्द पनि नबोली घर फर्कन्थे। तर १९३४ मा प्रकाशित यहोवा (अङ्ग्रेजी) भन्ने किताबले स्मरणार्थको दिन भनेको येशूको मृत्यु भएकोमा “शोक” गर्ने दिन नभई १९१४ मा येशू राजा हुनुभएकोमा “रमाहट” गर्ने दिन हो भनेर बताएको थियो।

सन्‌ १९५७ मा रूसको मोर्डभिनियामा भएको श्रम शिविरमा भाइहरू स्मरणार्थ उत्सव मनाउन भेला भए

सन्‌ १९३५ मा एउटा ठूलो परिवर्तन भयो। त्यसले गर्दा स्मरणार्थ मनाउने तरिकामा पनि छाँटकाँट भयो। त्यो वर्ष प्रकाश ७:९ मा बताइएको “ठूलो भीड”-को चिनारी स्पष्ट भयो। त्योभन्दा अघि यहोवाका सेवकहरूले ठूलो भीड भनेको प्रचारमा जोसका साथ भाग नलिने समर्पित ख्रीष्टियनहरू हुन्‌ भन्ने सोचाइ राख्थे। तर १९३५ मा तिनीहरूले ठूलो भीड भनेको पृथ्वीमा सधैंभरि बाँच्ने आशा भएका वफादार ख्रीष्टियनहरू हुन्‌ भनेर बुझे। यो छाँटकाँट स्वीकारेर आफैलाई राम्ररी जाँचेपछि रसल पोगन्जी भन्ने भाइले यसो भने, “यहोवाले पवित्र शक्तिद्वारा ममा स्वर्ग जाने आशा जगाउनुभएको थिएन।” भाइ पोगन्जी र तिनीजस्तै अरू थुप्रै वफादार सेवकले स्मरणार्थको प्रतीक खान छोडे। तर स्मरणार्थमा उपस्थित हुन भने छोडेनन्‌।

यो “विशेष समय”-को दौडान विशेष प्रचार अभियान राखिएकोले थुप्रैले फिरौतीको लागि आभारी भएको देखाउने मौका पाए। सन्‌ १९३२ को एउटा बुलेटिन-ले ख्रीष्टियनहरूलाई “स्मरणार्थ सन्त” नहुन स्पष्ट सल्लाह दियो। यसको अर्थ तिनीहरूले स्मरणार्थको प्रतीक खाएर मात्र पुग्दैनथ्यो। बरु “साँच्चैको कामदार” भएर बाइबलको सन्देश प्रचार पनि गर्नुपर्थ्यो। सन्‌ १९३४ मा बुलेटिन-ले ख्रीष्टियनहरूलाई “सहायक अग्रगामी” सेवा गर्न आग्रह गर्दै यसो भन्यो, “के स्मरणार्थको समयमा सहायक अग्रगामीहरूको सङ्ख्या १,००० पुग्न सक्ला?” अभिषिक्त ख्रीष्टियनहरूबारे इन्फर्मेन्ट-ले यसो भन्यो, “परमेश्वरको राज्यबारे साक्षी दिएमा मात्र तिनीहरू पूर्ण रूपमा आनन्दित हुन सक्छन्‌।” पृथ्वीमा सधैंभरि बाँच्ने आशा भएकाहरूमा पनि त्यही कुरा लागू हुनेथियो। *

एकान्त कारावासमा राखिएका ह्यारोल्ड किङले स्मरणार्थबारे कविता र गीतहरू लेखे

यहोवाका सेवकहरूको लागि स्मरणार्थ वर्षकै सबैभन्दा पवित्र रात हो। परिस्थिति गाह्रो भए तापनि तिनीहरू येशूको मृत्युको वार्षिकी मनाउँछन्‌। जस्तै, सन्‌ १९३० मा पर्ल इङ्लिस र तिनकी दिदी ओरा स्मरणार्थमा उपस्थित हुन लगभग ८० किलोमिटर हिंडे। साथै, चीनको एकान्त कारावासमा राखिएका मिसनरी ह्यारोल्ड किङले स्मरणार्थबारे कविता र गीतहरू लेखे। तिनले एक किसिमको फल (ब्ल्याक करेन्ट) र भातलाई स्मरणार्थको प्रतीक बनाए। पूर्वी युरोपदेखि मध्य अमेरिका अनि अफ्रिकासम्मै ख्रीष्टियनहरूले युद्ध र प्रतिबन्धको बेलामा समेत येशूको मृत्युको सम्झना गरेर साहस देखाएका छन्‌। हामी जहाँसुकै होऔं वा जस्तोसुकै परिस्थितिमा होऔं, स्मरणार्थको विशेष समयमा यहोवा परमेश्वर र येशू ख्रीष्टको आदर गर्न एक ठाउँमा भेला हुन्छौं।

^ अनु. 10 बुलेटिन-लाई पछि इन्फर्मेन्ट भन्न थालियो। अहिले हाम्रो राज्य सेवा भनिन्छ।

अझ बढी सिक्नुहोस्

धेरै जना आउनेछन्‌। तपाईं पनि आउनुहोस्।

येशूको जीवन अनि मृत्युले तपाईंलाई कसरी लाभ पुऱ्याउन सक्छ भनेर बुझाउने एउटा भाषण सुन्न यहोवाका साक्षीहरू तपाईंलाई हार्दिक निम्तो दिन्छन्‌। येशूको मृत्युको स्मरणार्थ समारोह शुक्रबार, अप्रिल ३, २०१५ मा हुनेछ।