अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) फेब्रुअरी २०१५

येशूजस्तै साहसी र समझदार हुनुहोस्

येशूजस्तै साहसी र समझदार हुनुहोस्

“तिमीहरूले उहाँलाई कहिल्यै देखेनौ, तैपनि उहाँलाई प्रेम गर्छौ। अहिले तिमीहरू उहाँलाई देख्दैनौ, तैपनि उहाँमाथि विश्वास गर्छौ।”—१ पत्रु. १:८.

१, २. (क) हामी कसरी उद्धार पाउनेहरूमध्ये हुन सक्छौं? (ख) हामी कसरी जीवनको बाटोमा हिंडिरहन सक्छौं?

येशूको चेला भएपछि हाम्रो यात्रा सुरु हुन्छ। यात्रा गरिरहेकाहरूले कि स्वर्गमा जीवन पाउँछन्‌ कि त पृथ्वीमा। येशूले यस्तो भन्नुभयो, “जसले अन्तसम्म [जीवनको अन्तसम्म वा यस दुष्ट युगको अन्तसम्म] सहन्छ, त्यसले उद्धार पाउनेछ।” (मत्ती २४:१३) जीवनतर्फ पुऱ्याउने बाटोमा विश्वासी भई हिंडिरह्यौं भने हामी उद्धार पाउनेहरूमध्ये हुन सक्छौं। तर उद्धार पाउने हो भने हामी अलमलिनु हुँदैन र बाटो बिराउनु हुँदैन। (१ यूह. २:१५-१७) हामी कसरी जीवनको बाटोमा हिंडिरहन सक्छौं?

हाम्रो लागि उदाहरण बसाल्नुभएको येशूले हामीलाई जीवनको बाटोमा डोऱ्याउनुहुन्छ। उहाँको जीवनको यात्राबारे बाइबलमा लेखिएको छ। ती विवरणहरू पढ्दा येशू कस्तो हुनुहुन्थ्यो भनेर हामी थाह पाउन सक्छौं। हामी उहाँलाई अझ माया गर्न थाल्नेछौं र उहाँमाथिको विश्वास अझ बढ्नेछ। (१ पत्रुस १:८, ९ पढ्नुहोस्) हामीले येशूको पदचिन्ह राम्ररी पछ्याओस् भनेर उहाँले हाम्रो लागि उदाहरण छोड्नुभएको हो भनी प्रेषित पत्रुसले बताए। (१ पत्रु. २:२१) येशूको पदचिन्ह राम्ररी पछ्यायौं भने हामीले आफ्नो विश्वासको “इनामस्वरूप”  उद्धार पाउनेछौं। * अघिल्लो लेखमा हामी कसरी येशूजस्तै नम्र र कोमल हुन सक्छौं भनेर सिक्यौं। यस लेखमा साहसी र समझदार हुने सन्दर्भमा हामी कसरी येशूको पदचिन्ह पछ्याउन सक्छौं भनी केलाउँनेछौं।

येशू साहसी हुनुहुन्छ

३. साहसी हुनु भनेको के हो? हामी कसरी साहसी हुन सक्छौं?

साहसी हुनु भनेको निर्धक्क हुनु हो। यस गुणले हामीलाई बलियो र सहनशील हुन मदत गर्छ। यो गुणलाई “गाह्रो परिस्थितिको सामना गर्न सक्नु,” “सही कुराको पक्षमा खडा हुन सक्नु” अनि “दुःखकष्टको बाबजुद शान्त रहनु र परिस्थिति सुध्रिन्छ भनेर ढुक्क हुनु” भनेर पनि व्याख्या गर्न सकिन्छ। साहसमा डर, आशा र प्रेम समावेश छ। कसरी? परमेश्वरप्रतिको डरले मानिसको डरलाई जित्ने साहस दिन्छ। (१ शमू. ११:७; हितो. २९:२५) सङ्कष्टमा मात्र ध्यान केन्द्रित गर्नुको साटो निर्धक्क भई त्यससित जुध्न साँचो आशाले हामीलाई मदत गर्छ। (भज. २७:१४) हाम्रो ज्यान नै जोखिममा भए पनि साहसी हुन निःस्वार्थ प्रेमले मदत गर्छ। (यूह. १५:१३) परमेश्वरमा भरोसा राख्यौं र उहाँको छोराको देखासिकी गऱ्यौं भने हामी साहसी हुन सक्छौं।—भज. २८:७.

४. “मन्दिरमा शिक्षकहरूका बीचमा” येशूले कसरी साहस देखाउनुभयो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

बाह्र वर्षको मात्र हुँदा येशूले सही कुराको पक्षमा खडा हुन साहस देखाउनुभयो। उहाँ “मन्दिरमा शिक्षकहरूका बीचमा बसेर” के गर्दै हुनुहुन्थ्यो, विचार गरौं। (लूका २:४१-४७ पढ्नुहोस्) ती शिक्षकहरूलाई मोशाको व्यवस्था मात्र होइन, मानिसले बनाएका नीति-नियमहरू पनि राम्ररी थाह थियो। ती नीति-नियमहरूले गर्दा व्यवस्था पालन गर्न गाह्रो हुन्थ्यो। तर येशू तिनीहरूसित कुरा गर्न डराउनुभएन; उहाँले तिनीहरूलाई प्रश्नहरू ‘सोध्नुभयो।’ उहाँले केटाकेटीहरूले सोध्नेजस्तो सामान्य प्रश्नहरू नभई सोच्न बाध्य पार्ने प्रश्नहरू सोध्नुभयो। उहाँका प्रश्नहरूले ती जान्ने-सुन्ने शिक्षकहरूलाई उहाँको कुरा सुन्न बाध्य पाऱ्यो। उहाँलाई फसाउने मनसायले तिनीहरूले विवाद उठ्न सक्ने प्रश्नहरू सोधे तर उहाँको जवाफले तिनीहरूको मुखमा बुजो लाग्यो। ती शिक्षकहरूलगायत उहाँको कुरा सुन्नेजति सबै “उहाँको जवाफ अनि समझशक्ति देखेर छक्क परिरहेका थिए।” उहाँको जवाफले परमेश्वरको वचनमा पाइने सत्य कुराको समर्थन गऱ्यो।

५. येशूले कुन-कुन तरिकामा साहस देखाउनुभयो?

आफ्नो सेवाको दौडान येशूले विभिन्न तरिकामा साहस देखाउनुभयो। निडर भएर उहाँले धर्मगुरुहरूको पर्दाफास गर्नुभयो। तिनीहरूले मानिसहरूलाई झूटो कुरा सिकाएर गलत बाटोमा लगाएका थिए। (मत्ती २३:१३-३६) साथै, उहाँ संसारको नराम्रो प्रभावविरुद्ध खडा रहनुभयो। (यूह. १६:३३) विरोधीहरूको दबाबको बाबजुद उहाँले प्रचार गरिरहनुभयो। (यूह. ५:१५-१८; ७:१४) निडर भएर उहाँले दुई पटकसम्म मन्दिर सफा गर्नुभयो; उपासनालाई बिटुलो पार्नेहरूलाई उहाँले त्यहाँबाट धपाउनुभयो।—मत्ती २१:१२, १३; यूह. २:१४-१७.

६. आफ्नो जीवनको अन्तिम घडीतिर येशूले कसरी साहस देखाउनुभयो?

साहसी हुने विषयमा येशूले छोड्नुभएको नमुना पछ्यायौं भने दुःखकष्ट आइपरे पनि विश्वासमा बलियो भइरहन सक्छौं। आफ्नो जीवनको अन्तिम घडीतिर उहाँले देखाउनुभएको साहसबारे विचार गरौं। उहाँलाई धोका दिने व्यक्तिले उहाँलाई फसाउन के-के गर्नेछन्‌ भनेर येशूलाई थाह थियो। तैपनि निस्तार चाडको भोजमा उहाँले यहूदालाई यसो भन्नुभयो, “तिमी जे गर्दै छौ, झट्टै सिध्याइहाल।” (यूह. १३:२१-२७) गेत्समनीको बगैंचामा सिपाहीहरूले पक्रन आउँदा उहाँले आफूलाई चिनाएर साहस देखाउनुभयो। आफ्नो ज्यान जोखिममा हुँदा पनि उहाँ चेलाहरूको सुरक्षाको लागि बोल्नुभयो। (यूह. १८: १-८) प्रधान पुजारीले उहाँलाई मृत्युदण्ड दिने बहाना खोज्दै छन्‌ भनेर येशूलाई थाह थियो। तैपनि यहूदी न्याय परिषद्ले केरकार गर्दा साहसी भएर आफू ख्रीष्ट र परमेश्वरको छोरा हुँ भनेर बताउनुभयो। (मर्कू. १४:६०-६५) यातनाको खम्बामा मृत्यु भोग्नुपर्दासमेत उहाँले आफ्नो निष्ठा तोड्नुभएन। आफ्नो जीवनको अन्तिम घडीमा येशूले निर्धक्क भएर “सबै पूरा भयो!” भन्न सक्नुभयो अनि अन्तिम सास लिनुभयो।—यूह. १९:२८-३०.

येशूजस्तै साहसी हुनुहोस्

७. युवाहरू हो, यहोवाको नामले चिनिन पाएकोमा तपाईंलाई कस्तो लाग्छ? तपाईं साहसी हुनुहुन्छ भनेर कसरी देखाउन सक्नुहुन्छ?

हामी कसरी येशूजस्तै साहसी हुन सक्छौं? स्कुलमा। युवाहरू हो, कक्षाका साथीहरू र अरूसामु गिल्लाको पात्र हुनु परे तापनि आफूलाई यहोवाको साक्षीको रूपमा चिनाएर तपाईं साहसी भएको देखाउन सक्नुहुन्छ। यसो गर्दा यहोवाको नामले चिनिन पाएकोमा आफूलाई गर्व लाग्छ भनेर देखाइरहनुभएको हुनेछ। (भजन ८६:१२ पढ्नुहोस्) हुन त तपाईंलाई क्रमविकासको शिक्षा स्वीकार्न दबाब आउन सक्छ। तर सृष्टिबारे बाइबलबाट सिकेका तथ्यहरू सही हो भनेर विश्वास गर्ने बलिया आधारहरू तपाईंसित छन्‌। तपाईंको “आशाको कारणबारे” कसैले सोध्यो भने तर्कपूर्ण जवाफ दिन के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्न (अङ्ग्रेजी) भन्ने पुस्तिकाहरू चलाउन सक्नुहुन्छ। (१ पत्रु. ३:१५) परमेश्वरको वचनमा पाइने सत्य कुराको समर्थन गरेको छु भनेर थाह पाउँदा तपाईं सन्तुष्ट हुनुहुनेछ।

८. हामी किन साहसी भई प्रचार गर्छौं?

हाम्रो सेवामा। हामी साँचो ख्रीष्टियनहरूले “यहोवाबाट अख्तियार” पाएका छौं। त्यसैले ‘साहसी भई बोल्नुपर्छ।’ (प्रेषि. १४:३) हामी किन साहसी भई प्रचार गर्छौं? पहिलो, हामीले सिकाउने कुरा बाइबलमा आधारित भएकोले यो सत्य हो भनेर हामीलाई थाह छ। (यूह. १७:१७) दोस्रो, “हामी परमेश्वरका सहकर्मीहरू हौं” र पवित्र शक्तिले हामीलाई मदत गर्छ भन्ने कुरा पनि थाह छ। (१ कोरि. ३:९; प्रेषि. ४:३१) तेस्रो, हामी यहोवाको भक्ति गर्न चाहन्छौं र छिमेकीलाई प्रेम गर्छौं। (मत्ती २२:३७-३९) हामी साहसी भएकोले चुप लागेर बसदैनौं। बरु दृढ भएर धार्मिक झूटहरू पर्दाफास गर्छौं, जसले मानिसहरूको दिमागलाई अन्धो बनाइदिएको छ। (२ कोरि. ४:४) मानिसहरूले हाम्रो सन्देशलाई वास्ता नगर्लान्‌, हाम्रो खिसी गर्लान्‌ वा हामीलाई विरोध गर्लान्‌। तैपनि हामी प्रचार गर्न छोड्दैनौं।—१ थिस्स. २:१, २

९. दुःखको समयमा हामी कसरी साहसी हुन सक्छौं?

दुःखको समयमा। यहोवामाथि भरोसा गऱ्यौं भने दुःख आइपर्दा पनि हाम्रो विश्वास डगमगाउनेछैन र हामी साहसी भइरहन सक्नेछौं। आफूले माया गरेको व्यक्तिको मृत्यु हुँदा हामीलाई असह्य पीडा त होला तर आशा भने मार्नेछैनौं। “सबै सान्त्वनाका परमेश्वर”-ले बल दिनुहुन्छ भन्ने कुरामा हामी ढुक्क छौं। (२ कोरि. १:३, ४; १ थिस्स. ४:१३) ज्यानै जान सक्ने रोग लाग्दा वा गम्भीर घाइते हुँदा हामीलाई पीडा त होला। तर हामी बाइबलका सिद्धान्तहरूसित बाझिने कुनै प्रकारको उपचार स्वीकार्नेछैनौं। (प्रेषि. १५:२८, २९) हामी निराश हुँदा “हाम्रो मनले हामीलाई . . . दोषी” ठहराउन सक्छ। तर “टुटेका हृदय भएकाहरू सबैको नजिक” हुनुहुने परमेश्वरमा हामी भरोसा गर्छौं। त्यसैले हार मान्नेछैनौं। *१ यूह. ३:१९, २०; भज. ३४:१८.

येशू समझदार हुनुहुन्छ

१०. समझदार हुनु भनेको के हो? समझदार ख्रीष्टियनको बोली र काम कस्तो हुन्छ?

१० समझदार हुनु भनेको सही र गलत छुट्टयाएर बुद्धिमानी बाटो रोज्नु हो। (हिब्रू ५:१४) समझदार ख्रीष्टियनले यहोवासित बलियो सम्बन्ध गाँस्न मदत  गर्ने किसिमको निर्णय गर्छन्‌। उनको बोली र काम परमेश्वरलाई प्रसन्न तुल्याउने खालको हुन्छ। उनले अरूको चित्त दुख्ने बोली होइन, अरूको उत्थान गर्ने बोली बोल्छन्‌। (हितो. ११:१२, १३) उनी ‘झट्टै रिसाउँदैनन्‌।’ (हितो. १४:२९) उनी जीवनको बाटोबाट नतर्किकन ‘सीधै आफ्नो लक्ष्यतिर बढ्छन्‌।’ (हितो. १५:२१) हामी कसरी समझदार हुन सक्छौं? हामीले परमेश्वरको वचन पढ्नै पर्छ र पढेको कुरा लागू गर्नै पर्छ। (हितो. २:१-५, १०, ११) सबैभन्दा समझदार मानिस येशूले बसाल्नुभएको उदाहरण विचार गर्नु पनि मदतकारी हुन्छ।

११. येशूले आफ्नो बोलीद्वारा आफू समझदार भएको कसरी देखाउनुभयो?

११ येशूले आफ्नो बोली र कामद्वारा आफू समझदार भएको देखाउनुभयो। उहाँको बोलीमा। मानिसहरूलाई प्रचार गर्दा “मनमोहक वचन” बोलेर येशूले आफू समझदार भएको देखाउनुभयो। उहाँको कुरा सुनेर मानिसहरू छक्क परे। (लूका ४:२२; मत्ती ७:२८) आफ्नो कुरालाई समर्थन गर्न उहाँले परमेश्वरको वचनबाटै पढ्नुभयो, त्यसलाई उद्धरण गर्नुभयो अनि कहिलेकाहीं चाहिं त्यसमा भएको कुरा उल्लेख पनि गर्नुभयो। यसरी उहाँले परमेश्वरको वचनलाई नै बोल्न दिनुभयो। (मत्ती ४:४, ७, १०; १२:१-५; लूका ४:१६-२१) उहाँले धर्मशास्त्रमा भएको कुरालाई राम्ररी व्याख्या पनि गर्नुभयो। यसले गर्दा उहाँको कुरा सुन्ने मानिसहरूको मन छोयो। पुनर्जीवित भएपछि उहाँले इम्माउसतिर गइरहेका दुई जना चेलालाई भेट्नुभयो अनि “सम्पूर्ण धर्मशास्त्रमा भएका आफूसित सम्बन्धित कुराहरूको अर्थ उहाँले तिनीहरूलाई खोलिदिनुभयो।” ती चेलाहरूले पछि यसो भने, “उहाँले . . . धर्मशास्त्रको पूरै अर्थ खोलिदिनुहुँदा के हाम्रो मनमा छटपटी भइरहेको थिएन र?”—लूका २४:२७, ३२.

१२, १३. येशू रिसमा धीमा हुनुहुन्थ्यो भनेर किन भन्न सक्छौं? उहाँ व्यावहारिक हुनुहुन्थ्यो भन्ने कुरा कुन विवरणले देखाउँछ?

१२ उहाँको मनोभावमा। येशू समझदार हुनुभएकोले “रिसमा धीमा” हुन सक्नुभयो। (हितो. १६:३२) उहाँ “कोमल स्वभाव”-को हुनुहुन्थ्यो। (मत्ती ११:२९) आफ्ना चेलाहरूमा कमीकमजोरी भए तापनि उहाँले धैर्य गर्नुभयो। (मर्कू. १४:३४-३८; लूका २२:२४-२७) आफूमाथि अन्याय हुँदासमेत उहाँ शान्त रहनुभयो।—१ पत्रु. २:२३.

१३ उहाँ समझदार हुनुभएकोले व्यावहारिक पनि हुन सक्नुभयो। उहाँले मोशाको व्यवस्थामा भएका नियमहरूलाई मात्र जोड दिनुभएन। बरु त्यो व्यवस्था दिइनुको कारण बुझेर त्यसैअनुसार चल्नुभयो। मर्कूस ५:२५-३४ मा भएको विवरण विचार गरौं। (पढ्नुहोस्) रगत बग्ने व्यथाले च्यापेकी एक जना स्त्री भीडलाई छिचोल्दै येशूको पछिल्तिर आएर उहाँको लुगा छोई अनि उसको त्यो पीडादायी रोग निको भयो। मोशाको व्यवस्थाअनुसार ऊ अशुद्ध भएकीले उसले कसैलाई छुनु हुँदैनथ्यो। (लेवी १५:२५-२७) तर येशू समझदार हुनुभएकोले “व्यवस्थाका गहकिला कुराहरू”-मा “कृपा र विश्वासीपनजस्ता” गुणहरू पनि पर्छ भनेर बुझ्नुभएको थियो। त्यसैले उहाँको लुगा छोएकोमा उहाँले त्यस स्त्रीलाई हकार्नुभएन। (मत्ती २३:२३) बरु उहाँले दयालु भएर यसो भन्नुभयो, “नानी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। ढुक्क भएर जाऊ, तिम्रो रोग निको भयो।” येशू समझदार हुनुभएकोले दया देखाउन उत्प्रेरित हुनुभयो। कस्तो मन छुने विवरण!

१४. येशूले कस्तो छनौट गर्नुभयो? उहाँ कसरी सही बाटोमा हिंडिरहनुभयो?

१४ आफ्नो जीवनशैलीमा। सही बाटो रोज्ने र त्यसमा हिंडिरहने छनौट गरेर येशूले आफू समझदार भएको देखाउनुभयो। उहाँले तनमन लगाएर सुसमाचार सुनाउने अनि त्यसलाई नै आफ्नो जीवनको प्रमुख काम बनाउने छनौट गर्नुभयो। (लूका ४:४३) उहाँ कसरी सही बाटोमा हिंडिरहनुभयो? उहाँले आफ्नो काममा ध्यान केन्द्रित गर्न अनि त्यसलाई सफलतासाथ पूरा गर्न मदत गर्ने निर्णयहरू गर्नुभयो। साथै, आफ्नो समय र शक्ति प्रचारकार्यमा लगाउन उहाँले जीवन सरल बनाउनुभयो। (लूका ९:५८) आफ्नो मृत्युपछि पनि यो काम चलिरहोस् भनेर उहाँले अरूलाई तालिम दिनुभयो। (लूका १०:१-१२;  यूह. १४:१२) उहाँले “यस युगको आखिरी समयसम्म” आफ्ना अनुयायीहरूलाई यस काममा साथ दिने प्रतिज्ञा गर्नुभयो।—मत्ती २८:१९, २०.

येशूजस्तै समझदार हुनुहोस्

मानिसहरूलाई चासो लाग्ने विषय पत्ता लगाउनुहोस् र त्यसैअनुसार सन्देश सुनाउनुहोस् (अनुच्छेद १५ हेर्नुहोस्)

१५. आफ्नो बोलीमा हामी कसरी समझ देखाउन सक्छौं?

१५ हामी अर्को तरिकामा पनि येशूको देखासिकी गर्न सक्छौं। हाम्रो बोलीमा। ख्रीष्टियन दाजुभाइ दिदीबहिनीसित कुराकानी गर्दा हामी उनीहरूको उत्थान गर्ने बोली बोल्छौं, उनीहरूलाई निराश बनाउने खाले होइन। (एफि. ४:२९) मानिसहरूसित परमेश्वरको राज्यबारे कुरा गर्दा हामी “नुनले स्वादिलो पारेको जस्तो” बोली बोल्छौं। (कल. ४:६) हामी समझ चलाएर घरधनीको आवश्यकता र तिनलाई चासो लाग्ने विषय पत्ता लगाउँछौं अनि त्यसैअनुसार हाम्रो सन्देश सुनाउँछौं। दयालु बोलीले मानिसहरूसित कुरा गर्ने बाटो खोल्न सक्छ। साथै, हाम्रो विश्वासको बारेमा बताउँदा हामी बाइबललाई नै बोल्न दिन्छौ। आफूले भनेको कुरालाई समर्थन गर्न बाइबललाई आधिकारिक स्रोतको रूपमा चलाउँछौं अनि सम्भव भएसम्म हामी त्यसबाट नै पढेर सुनाउँछौं। घरधनीलाई मनाउन हामी आफ्नै तरिकाले विभिन्न कुरा भनौंला तर त्यसो गर्नु प्रभावकारी हुँदैन। बाइबलको सन्देशमा जति शक्ति छ, त्यो अरू कुनै पनि कुरामा छैन।—हिब्रू ४:१२.

१६, १७. (क) हामी झट्टै रिसाइहाल्दैनौं र व्यावहारिक छौं भनेर कसरी देखाउन सक्छौं? (ख) हामी कसरी प्रचारकार्यमा लागिरहन सक्छौं?

१६ हाम्रो मनोभावमा। हामी समझदार छौं भने गाह्रै भए पनि आफूलाई काबूमा राख्छौं अनि ‘झट्टै रिसाइहाल्दैनौं।’ (याकू. १:१९) कसैको बोली र कामले हाम्रो चित्त दुखेको छ भने उनले त्यसो गर्नुको कारण पत्ता लगाउने प्रयास गर्छौं। त्यसो गर्दा हाम्रो रिस मर्छ अनि ‘दोषको वास्ता नगर्न’ मदत पुग्छ। (हितो. १९:११) समझदार छौं भने हामी व्यावहारिक हुन सक्छौं। हाम्रा ख्रीष्टियन दाजुभाइ दिदीबहिनीले कुनै चुनौती सामना गरिरहेका हुन सक्छन्‌, जसको विषयमा हामीलाई थाह नहुन सक्छ। त्यसैले उनीहरूबाट चाहिनेभन्दा बढी आस गर्नुहुँदैन। हामी उनीहरूको कुरा सुन्न तयार हुन्छौं अनि उचित छ भने उनीहरूको कुरामा सहमत पनि हुन्छौं।—फिलि. ४:५.

१७ हाम्रो जीवनशैलीमा। सुसमाचार सुनाउनुजस्तो ठूलो सुअवसर अरू कुनै छैन भनेर हामी मानिलिन्छौं। हामीलाई प्रचारकार्यमा लागिरहन मदत गर्ने निर्णयहरू गरेर जीवनको बाटोमा हिंडिरहन्छौं। अन्त आउनुअघि नै हामी सबैभन्दा महत्त्वपूर्ण काममा अर्थात्‌ प्रचारकार्यमा लागिरहन चाहन्छौं। त्यसैले यहोवाको सेवासित सम्बन्धित कुराहरूलाई पहिलो स्थानमा राख्ने अनि आफ्नो जीवन सरल बनाउने छनौट गर्छौं।—मत्ती ६:३३; २४:१४.

१८. हामी कसरी उद्धारको बाटोमा हिंडिरहन सक्छौं? तपाईं के गर्न दृढ हुनुहुन्छ?

१८ येशूका केही मनमोहक गुणहरूबारे छलफल गरेर हामीले धेरै लाभ उठायौं, होइन र? उहाँका अन्य गुणहरूबारे अध्ययन गऱ्यौं अनि उहाँजस्तै हुने प्रयास गऱ्यौं भने कत्ति धेरै लाभ उठाउन सक्छौं, सोच्नुहोस् त। उहाँको पदचिन्ह राम्ररी पछ्याउने दृढ सङ्कल्प गरौं। यसो गऱ्यौं भने हामी उद्धारको बाटोमा हिंडिरहन सक्छौं अनि येशूले हुबहु देखासिकी गर्नुभएको यहोवाको अझ नजिक हुन सक्छौं।

^ अनु. 2 पहिलो पत्रुस १:८, ९ स्वर्गीय आशा भएका ख्रीष्टियनहरूको लागि लेखिएको थियो। तर त्यसमा पाइने सिद्धान्त पृथ्वीमा सधैंभरि बाँच्ने आशा पाएका ख्रीष्टियनहरूलाई पनि लागू हुन्छ।

^ अनु. 9 यी प्रकाशनहरूबाट दुःखको समयमा साहसी भएका केही साक्षीहरूको अनुभव पढ्नुहोस्: डिसेम्बर १, २००० को प्रहरीधरहरा, पृष्ठ २४-२८मे ८, २००३ को ब्यूँझनुहोस्!, पृष्ठ १८-२१ र जनवरी २२, १९९५, पृष्ठ ११-१५.