अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) फेब्रुअरी २०१५

‘यहोवाको विषयमा सुनाउन’ जाति जातिहरूलाई तयार पारियो

‘यहोवाको विषयमा सुनाउन’ जाति जातिहरूलाई तयार पारियो

“प्रान्तीय राज्यपालले प्रभुमा विश्वास गरे, किनकि यहोवाको विषयमा सुनेर तिनी दङ्ग परेका थिए।”—प्रेषि. १३:१२.

१-३. “सबै जातिका मानिसहरूलाई” सुसमाचार प्रचार गर्दा येशूका चेलाहरूले कस्ता चुनौतीहरूको सामना गर्नुपर्ने थियो?

येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई असाध्यै महत्त्वपूर्ण जिम्मेवारी सुम्पनुभयो। उहाँले तिनीहरूलाई यस्तो आज्ञा दिनुभयो, “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ।” तिनीहरूले यो काम गर्दै जाँदा “राज्यको . . . सुसमाचार सारा पृथ्वीभरि” फैलिने थियो। यसरी तिनीहरूले “सबै जातिलाई” साक्षी दिने थिए।—मत्ती २४:१४; २८:१९.

चेलाहरू येशूलाई प्रेम गर्थे। तिनीहरू सुसमाचार प्रचार गर्न पनि मन पराउँथे। तर सुसमाचार प्रचार गर्दा तिनीहरूले थुप्रै चुनौती सामना गर्नुपर्ने थियो। आफूलाई सुम्पिएको जिम्मेवारी कसरी पूरा गर्न सकिएला भनेर तिनीहरूलाई चिन्ता लागिरहेको थियो होला किनकि तिनीहरू थोरै मात्र थिए। येशू परमेश्वरका छोरा हुनुहुन्छ भनेर तिनीहरू प्रचार गर्थे तर अब उहाँ नै तिनीहरूमाझ हुनुहुन्थ्यो। साथै, ती चेलाहरूलाई “अशिक्षित अनि साधारण मानिस” भनिन्थ्यो। (प्रेषि. ४:१३) तर तिनीहरूले गण्यमान्य धर्मगुरुहरूको शिक्षासित मेल नखाने कुरा सिकाउनुपर्ने थियो। ती धर्मगुरुहरूले पहिलेदेखि नै चलिआएको परम्पराबारे शिक्षा हासिल गरेका थिए। अर्को चुनौती भनेको,  ती चेलाहरूलाई तिनीहरू हुर्केबढेको ठाउँ इस्राएलमा समेत आदर गरिंदैनथ्यो। त्यसैले तिनीहरूलाई यस्तो लागेको हुन सक्छ: आफ्नै ठाउँका मानिसहरूले त बाइबलको सन्देश सुन्दैनन्‌ भने विशाल रोमी साम्राज्यका अरू मानिसहरूले झन्‌ के सुन्लान्‌ र?

मानिसहरूले चेलाहरूलाई सताउनेछन्‌, घृणा गर्नेछन्‌ र तिनीहरूमध्ये कसै-कसैलाई मार्नेछन्‌ भनेर पनि येशूले पहिल्यै भन्नुभएको थियो। (लूका २१:१६, १७) येशूले भविष्यवाणी गर्नुभएझैं मानिसहरूले एकअर्कालाई धोका दिने थिए, झूटा भविष्यवक्ताहरू देखापर्ने थिए र दुष्टता बढ्ने थियो। चेलाहरूले पनि यस्ता कुराहरूको सामना गर्नुपर्ने थियो। (मत्ती २४:१०-१२) तिनीहरूको सन्देश सबैले सुने नै भने पनि ‘पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकासम्म’ साक्षी दिन असम्भव जस्तो देखिन्थ्यो। (प्रेषि. १:८) यस्ता चुनौतीहरूबारे विचार गर्दा तिनीहरू आकुल-व्याकुल भए होलान्‌।

४. प्रथम शताब्दीका चेलाहरू प्रचारकार्यमा कत्तिको सफल भए?

प्रचार गर्न सजिलो छैन भनेर ती चेलाहरूलाई थाह थियो। तैपनि येशूको आज्ञा मान्दै तिनीहरू प्रचारकार्यमा व्यस्त रहे। तिनीहरूले यरूशलेम र सामरियामा मात्र होइन, संसारभरि सुसमाचार फैलाए। तिनीहरूले बाधा अडचनको सामना गर्नुपरे तापनि ३० वर्षभित्रै सुसमाचार “आकाशमुनि भएका सबै मानिसहरूमाझ प्रचार भयो।” त्यो सुसमाचार “सारा संसारभरि फैलनुका साथै त्यसले फल पनि” फलाइरह्यो। (कल. १:६, २३) उदाहरणको लागि, साइप्रस टापुमा छँदा पावलले प्रान्तीय राज्यपाल सर्गियस पौलसलाई परमेश्वरको वचन सुनाए अनि पावलले गरेका चमत्कार पनि तिनले देखे। त्यसले गर्दा ती राज्यपालले “प्रभुमा विश्वास गरे, किनकि यहोवाको विषयमा सुनेर तिनी दङ्ग परेका थिए।”प्रेषित १३:६-१२ पढ्नुहोस्।

५. (क) येशूले चेलाहरूसित कस्तो प्रतिज्ञा गर्नुभएको थियो? (ख) प्रथम शताब्दीको परिस्थिति विचार गर्दा कोही-कोही कस्तो निष्कर्षमा पुगेका छन्‌?

प्रचारकार्य आफ्नै क्षमताको भरमा गर्न सकिंदैन भनेर चेलाहरूलाई थाह थियो। येशूले प्रतिज्ञा गर्नुभएझैं उहाँ तिनीहरूसितै रहनुहुने थियो र पवित्र शक्तिले तिनीहरूलाई मदत गर्ने थियो। (मत्ती २८:२०) त्यतिखेरको परिस्थितिले गर्दा पनि प्रचार गर्न केही हदसम्म सजिलो भएको हुनुपर्छ। एउटा किताब * यसो भन्छ, “इस्वी संवत्‌ प्रथम शताब्दीमा ख्रीष्टियन चर्च सुरु भयो। भर्खरै सुरु भएको चर्च फैलिन प्रथम शताब्दी नै सबैभन्दा उपयुक्त समय थियो जस्तो देखिन्छ। . . . दोस्रो शताब्दीसम्ममा त . . . ख्रीष्टियन धर्म फैलाउन परमेश्वरले नै संसारको अवस्था अनुकूल बनाउनुभएको हो भनेर ख्रीष्टियनहरूले दाबी गर्न थालिसकेका थिए।”

६. (क) यो लेखमा (ख) यसपछिको लेखमा हामी कुन कुराबारे चर्चा गर्नेछौं?

सुसमाचार व्यापक रूपमा फैलाउन परमेश्वरले प्रथम शताब्दीको परिस्थिति तथा विकास-निर्माणका कामहरूलाई कुन हदसम्म मोड्नुभयो भनेर त बाइबलले बताउँदैन। तर एउटा कुरामा भने हामी निश्‍चित छौं। त्यो हो, यहोवा सुसमाचार प्रचार भएको चाहनुहुन्थ्यो तर सैतान त्यो चाहँदैनथ्यो। के-कस्ता कुराहरूले गर्दा प्रथम शताब्दीमा प्रचार गर्न सजिलो भएको हुन सक्छ, यस लेखमा चर्चा गर्नेछौं। आधुनिक समयको परिस्थिति तथा विकास-निर्माणका कामहरूले गर्दा आज सुसमाचार प्रचार गर्न कसरी सजिलो भएको छ, अर्को लेखमा चर्चा गर्नेछौं।

रोममा छाएको शान्ति

७. प्रथम शताब्दीमा रोमी साम्राज्यको अवस्था कस्तो थियो? अरू समयको तुलनामा त्यो समय किन फरक थियो?

प्रथम शताब्दीमा रोमी साम्राज्यमा शान्ति छाएको थियो। त्यसैले चेलाहरूलाई प्रचार गर्न सजिलो भयो। रोमी साम्राज्यमा शान्ति भए तापनि युद्ध नै नभएको त होइन। येशूले भविष्यवाणी गर्नुभएझैं समय समयमा “युद्धको कोलाहल अनि  युद्धको खबर” सुनिन्थ्यो। (मत्ती २४:६) जस्तै, रोमी सेनाले इस्वी संवत्‌ ७० मा यरूशलेम नाश गऱ्यो। त्यसबाहेक रोमी साम्राज्यका सिमानाहरूमा सानातिना भिडन्तहरू पनि भइरहन्थे। तर येशूको समयभन्दा २०० वर्ष पछिसम्म रोमी प्रान्तहरूमा अरू ठाउँहरूको तुलनामा शान्ति छाएको थियो। यसबारे एउटा किताब यसो भन्छ, “इतिहासको कुनै पनि समयमा त्यति लामो समयसम्म शान्ति छाएको थिएन। त्यति धेरै मानिसहरूबीच शान्ति कायम गर्न पछि पनि कहिल्यै सम्भव हुने थिएन।”

८. शान्ति छाएकोले ख्रीष्टियनहरूलाई कस्तो फाइदा भयो?

तेस्रो शताब्दीका शास्त्रविद् ओरिजनले आफ्नो विचार यसरी लेखे, “त्यतिखेर थुप्रै राष्ट्रहरू भएको भए येशूको शिक्षा संसारभरि फैलिन सजिलो हुने थिएन। . . . किनकि सरकारले पुरुषहरूलाई सेनामा भर्ती हुन र राष्ट्रको सुरक्षाको लागि लड्न कर लगाउने थियो। . . . येशूले सिकाउनुभएको शिक्षाले शान्तिको प्रचार-प्रसार गर्छ र आफ्नो शत्रुहरूसित समेत बदला लिनदेखि रोक लगाउँछ। तर येशू पृथ्वीमा आउनुभएपछि मानिसहरूमा शान्त मनोभाव नछाएको भए र अन्तरराष्ट्रिय परिस्थिति अनुकूल नभएको भए यो शिक्षा संसारभरि फैलिन सम्भव हुने थिएन।” रोमी साम्राज्यमा येशूका चेलाहरूलाई सताइयो। तैपनि तिनीहरूले शान्त मनोभाव देखाइरहे। त्यतिखेर केही हदसम्म शान्ति छाएकोले तिनीहरूले प्रचार गरिरहन सके।रोमी १२:१८-२१ पढ्नुहोस्।

यात्राको सुविधा

९, १०. रोमी साम्राज्यमा यात्रा गर्न चेलाहरूलाई किन सजिलो थियो?

रोमी साम्राज्यमा बाटोघाटोको राम्रो सुविधा भएकोले ख्रीष्टियनहरूले टाढा-टाढासम्म गएर प्रचार गर्न सके। रोमी सरकारको शक्तिशाली सेनाले जनताको सुरक्षा गर्थ्यो र तिनीहरूलाई नियन्त्रणमा राख्थ्यो। सेना आवतजावत गर्न बाटोघाटोको राम्रो सुविधा हुनु आवश्यक थियो अनि रोमीहरू बाटोघाटो बनाउन सिपालु थिए। रोमी इन्जिनियरहरूले साम्राज्यको सबैजसो प्रान्त जोड्ने ८०,००० किलोमिटर लामो पक्की सडक बनाएका थिए। त्यो सडकले जङ्गल, मरुभूमि र पहाडहरू छिचोलेको थियो।

१० यात्रा गर्न रोमीहरूले सडक मात्र होइन, नदी तथा ठूलठूला नहरहरू पनि प्रयोग गर्थे। ती नदी तथा नहरहरूको कुल लम्बाइ लगभग २७,००० किलोमिटर थियो। रोमी जहाजहरू सयौं बन्दरगाह जोड्ने ९०० वटा रूटमा चल्थे। त्यसैले ख्रीष्टियनहरू रोमी साम्राज्यको जुनसुकै ठाउँमा जान सक्थे। यात्रा गर्न कहिलेकाहीं गाह्रो त हुन्थ्यो। तैपनि पावल र अरू मानिसहरू पासपोर्ट र भिसाविनै रोमी साम्राज्यभरि यात्रा गर्न सक्थे। साम्राज्यको एउटा प्रान्तदेखि अर्को प्रान्तमा जान मानिसहरूलाई कुनै रोकटोक थिएन र भन्सार पनि तिर्नु पर्दैनथ्यो। रोमी कानुनले अपराधीहरूलाई कडा सजाय दिन्थ्यो। त्यसैले बाटोघाटोमा डाँका लाग्ने त्यति डर थिएन। समुद्रमा यात्रा गर्न पनि सुरक्षित थियो। किनकि समुद्री सेनाले डाँकाहरूबाट सुरक्षा दिन्थ्यो। हुन त पावल चढेको जहाज थुप्रै पटक क्षतिग्रस्त भयो अनि समुद्रमा यात्रा गर्दा कहिलेकाहीं खतरा पनि थियो। तर त्यसको पछाडि डाँकाहरूकै हात थियो भनेर बाइबलले तोकेरै बताउँदैन।—२ कोरि. ११:२५, २६.

सबैतिर बोलिने भाषा

कोडेक्समा धर्मशास्त्रका भागहरू भेट्टाउन सजिलो थियो (अनुच्छेद १२ हेर्नुहोस्)

११. चेलाहरूले ग्रीक भाषा किन प्रयोग गरे?

११ बोलीचालीको ग्रीक भाषा अर्थात्‌ कोइनले गर्दा मण्डलीहरूबीच सञ्चार कायम गर्न सजिलो भयो र ख्रीष्टियनहरूबीच एकता छायो। महान्‌ सिकन्दरको विजयको कारण ग्रीक भाषा फैलियो र विभिन्न ठाउँका मानिसहरूले यो भाषा सजिलै बुझ्ने भए। त्यसैले सबै जातिका मानिससित कुरा गर्न सजिलो भयो र राज्यको सुसमाचार फैलियो। मिश्रमा बस्ने यहूदीहरूले हिब्रू धर्मशास्त्रलाई ग्रीकमा अनुवाद गरेका थिए। त्यस अनुवादलाई सेप्टुआजिन्ट भनियो। त्यतिबेलाका मानिसहरूले सेप्टुआजिन्ट पढेका थिए। त्यसैले येशूका चेलाहरूले त्यसबाटै  उद्धरण गर्थे। ग्रीक भाषा शब्दको धनी भएकोले यस भाषामा धर्मशास्त्रका गहिरा कुराहरू व्याख्या गर्न सजिलो थियो। ख्रीष्टियनहरूले लेखाइमा पनि ग्रीक भाषा नै प्रयोग गरे।

१२. (क) कोडेक्स भनेको के हो? मुठाभन्दा कोडेक्स प्रयोग गर्नु किन सजिलो थियो? (ख) ख्रीष्टियनहरूले कहिलेदेखि व्यापक रूपमा कोडेक्स प्रयोग गर्न थाले?

१२ प्रचार गर्न ख्रीष्टियनहरूले धर्मशास्त्रका मुठाहरू प्रयोग गर्थे। तर त्यो प्रयोग गर्न सजिलो थिएन। त्यसलाई घरीघरी फुकाउने र बेर्ने गर्नुपर्थ्यो अनि अक्षरहरू पनि प्रायजसो मुठाको एकापट्टि मात्र हुन्थे। मत्तीले लेखेको सुसमाचारले मात्र पनि एउटा मुठा भरिन्थ्यो। तर पछि कोडेक्सको सुरुवात भयो। कोडेक्स लगभग अहिलेको किताब जस्तै देखिन्थ्यो। पानाहरूलाई सिलाएर कोडेक्स बनाइन्थ्यो। कोडेक्स सजिलै खोलेर पढ्न सकिन्थ्यो र यसमा धर्मशास्त्रका भागहरू भेट्टाउन पनि सजिलो हुन्थ्यो। ख्रीष्टियनहरूले कोडेक्सको प्रयोग कहिलेदेखि गर्न थाले भनेर तोकेरै त भन्न सकिन्न तर यसबारे एउटा स्रोत-सामग्री यसो भन्छ, “इस्वी संवत्‌ २०० सम्ममा त ख्रीष्टियनहरूले व्यापक रूपमा कोडेक्स प्रयोग गर्न थालिसकेका थिए। त्यसैले यसको सुरुवात इस्वी संवत्‌ १०० भन्दा अघि नै भइसकेको हुनुपर्छ।”

रोमी कानुन

१३, १४. (क) पावलले आफ्नो रोमी नागरिकताको कसरी सदुपयोग गरे? (ख) रोमी कानुनले ख्रीष्टियनहरूलाई कस्तो फाइदा पुऱ्यायो?

१३ साम्राज्यभरि रोमी कानुन लागू गरिएको थियो। रोमी नागरिकहरूले विभिन्न अधिकार तथा छुट पाएका थिए। पावलले थुप्रै पटक रोमी नागरिकताको सदुपयोग गरे। यरूशलेममा सतावट भोग्नुपर्दा पावलले रोमी अफिसरलाई यसो भने, “दोषी नठहराईकनै एक जना रोमी नागरिकलाई तपाईंहरूले कोर्रा लगाउनु के न्यायसङ्गत हो?” त्यसो गर्नु न्यायसङ्गत थिएन। पावलले जन्मैदेखि आफू रोमी नागरिक भएको कुरा बताएपछि “तिनलाई यातना दिएर केरकार गर्न लागेका ती मानिसहरू पछि हटे अनि तिनी रोमी नागरिक रहेछन्‌ भन्ने पक्का भएपछि सेनापति डराए, किनकि उनले तिनलाई बाँध्न लगाएका थिए।”—प्रेषि. २२:२५-२९.

१४ पावल रोमको नागरिक भएकोले फिलिप्पीमा छँदा तिनी झ्यालखानाबाट छुटे। (प्रेषि. १६:३५-४०) एफिससका नगरपिताले रिसले चूर भएको भीडलाई शान्त पारेपछि रोमी कानुनको उल्लेख गरे। (प्रेषि. १९:३५-४१) सिजरियामा छँदा पावलले फेस्तससामु रोमी कानुनअनुसार सम्राट्लाई अपिल गर्न चाहेको कुरा बताए। यसले गर्दा तिनले सम्राट्कहाँ गएर आफ्नो विश्वासको पक्षमा बोल्ने मौका पाए। (प्रेषि. २५:८-१२) यसरी रोमी कानुनले  गर्दा “सुसमाचारको पक्षमा खडा भएर त्यसलाई कानुनी तवरमा स्थापना” गर्न सम्भव भयो।—फिलि. १:७.

यहूदीहरू जताततै छरिएर बसेकोले सुसमाचार फैलियो

१५. प्रथम शताब्दीमा यहूदीहरूको समाज कहाँ-कहाँ थियो?

१५ यहूदीहरू रोमी साम्राज्यभरि छरिएर बसेका थिए। त्यसैले ख्रीष्टियनहरूलाई केही हदसम्म प्रचार गर्न सजिलो भएको हुनुपर्छ। रोमी शासन सुरु हुनुभन्दा सयौं वर्षअघि अश्शूरीहरूले यहूदीहरूलाई कैद गरेर लगेका थिए। त्यसको केही वर्षपछि बेबिलोनीहरूले बाँकी रहेका यहूदीहरूलाई पनि कैद गरेर लगे। पछि फारसीहरूले बेबिलोनलाई कब्जा गरे। येशू पृथ्वीमा आउनुभन्दा पाँच सय वर्षअघि देखि नै यहूदीहरू फारसी साम्राज्यको १२७ प्रान्तमा बसोबास गर्न थालिसकेका थिए। (एस्त. ९:३१) येशू पृथ्वीमा छँदा मिश्रलगायत उत्तर अफ्रिकाको अन्य भागहरूमा अनि ग्रीस, एसिया माइनर र मेसोपोटामियामा यहूदीहरूको समाज थियो। रोमी साम्राज्यको ६ करोड जनसङ्ख्यामा लगभग ४३ लाख त यहूदीहरू नै थिए भनी अनुमान गरिएको छ। यहूदीहरूले आफू जहाँ-जहाँ गए, आफ्नो धर्म पनि सँगै लगे।—मत्ती २३:१५.

१६, १७. (क) यहूदीहरू विभिन्न ठाउँमा छरिएर बसेकोले थुप्रै गैर-यहूदीलाई के-कस्तो फाइदा भयो? (ख) यहूदीहरूको कुन चलन ख्रीष्टियनहरूले अपनाए?

१६ यहूदीहरू विभिन्न ठाउँमा छरिएर बसेकोले थुप्रै गैर-यहूदीले हिब्रू धर्मशास्त्रबारे बुझ्ने मौका पाए। तिनीहरूले साँचो परमेश्वर एक जना मात्र हुनुहुन्छ अनि उहाँको सेवा गर्नेहरूले उच्च नैतिक स्तरअनुसार जीवन बिताउनुपर्छ भनेर थाह पाए। हिब्रू धर्मशास्त्र परमेश्वरबाट प्रेरणा पाएर लेखिएको हो र यसमा मसीहबारे भविष्यवाणी गरिएको छ भनेर तिनीहरूले थाह पाए। (लूका २४:४४) त्यसैले ख्रीष्टियनहरूले प्रचार गर्न थाल्दा यहूदी र गैर-यहूदीहरूलाई ती ख्रीष्टियनहरूले सिकाउने केही कुराहरू पहिलेदेखि नै थाह थियो। पावल सुसमाचार सुन्न चाहने व्यक्तिहरू भेट्टाउन चाहन्थे। तिनी अक्सर यहूदीहरूको सभाघरभित्र पस्थे र तिनीहरूसित धर्मशास्त्रबाटै तर्क गर्थे।प्रेषित १७:१, २ पढ्नुहोस्।

१७ यहूदीहरू उपासना गर्न नियमित रूपमा सभाघरहरूमा वा खुल्ला ठाउँमा भेला हुन्थे। तिनीहरू भजन गाउँथे, प्रार्थना गर्थे अनि धर्मशास्त्रबाट छलफल गर्थे। आज पनि ख्रीष्टियन मण्डलीहरूमा यसरी नै उपासना गरिन्छ।

यहोवाको मदतले सम्भव भयो

१८, १९. (क) प्रथम शताब्दीका विभिन्न परिस्थिति र विकास-निर्माणले गर्दा कुन काम सम्भव भयो? (ख) यस लेखमा छलफल गरेका कुराहरू विचार गर्दा तपाईंले परमेश्वरबारे कुन कुरा थाह पाउनुभयो?

१८ माथि उल्लेख गरिएझैं विभिन्न परिस्थिति तथा विकास-निर्माणका कामहरूले गर्दा प्रथम शताब्दीमा सुसमाचार फैलाउन सजिलो भयो। रोममा छाएको शान्ति, यात्राको सुविधा, सबैतिर बोलिने भाषा र रोमी कानुनजस्ता कुराहरूले गर्दा येशूका चेलाहरूलाई सुसमाचार प्रचार गर्न सजिलो भयो। यहूदीहरू जताततै छरिएर बसेकोले पनि सुसमाचार फैलियो।

१९ येशू पृथ्वीमा आउनुभन्दा चार सय वर्षअघि ग्रीक दार्शनिक प्लेटोले आफ्नो साहित्यिक रचनाको एक जना पात्रमार्फत यसो भनेका थिए, “यो ब्रह्माण्डका रचनाकार र बुबालाई भेट्टाउन धेरै मुस्किल छ। उहाँलाई भेट्टाइहाल्यौं भने पनि उहाँबारे सबैलाई बताउन सम्भव हुँदैन।” तर येशूले भने यसो भन्नुभयो, “मानिसहरूका लागि असम्भव कुरा परमेश्वरको लागि सम्भव छ।” (लूका १८:२७) मानिसहरूले उहाँलाई भेट्टाएको र राम्ररी चिनेको ब्रह्माण्डका रचनाकार यहोवा चाहनुहुन्छ। येशूले चेलाहरूलाई यसो पनि भन्नुभयो, “सबै जातिका मानिसहरूलाई चेला बनाओ।” (मत्ती २८:१९) यहोवाको मदत पाएर त्यो जिम्मेवारी पूरा गर्न सकिन्छ। आज परमेश्वरका जनहरूले त्यो काम कसरी पूरा गरिरहेका छन्‌, अर्को लेखमा छलफल गर्नेछौं।

^ अनु. 5 Evangelism in the Early Church