सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा—अध्ययन संस्करण  |  जनवरी २०१५

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—न्यु योर्क

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—न्यु योर्क

केही वर्षअघिसम्म सेसार र उनकीश्रीमती रोसियो क्यालिफोर्नियामा आरामदायी जीवन बिताइरहेका थिए। सेसार भवनको तापमान सन्तुलनमा राख्ने प्रणाली जडान गर्ने क्षेत्रमा पूर्ण-समय काम गर्थे अनि रोसियोचाहिं डाक्टरको अफिसमा पार्ट-टाइम काम गर्थिन्‌। तिनीहरूको आफ्नै घर थियो र तिनीहरूको छोराछोरी थिएनन्‌। तिनीहरूको जीवनले नयाँ मोड लियो। कसरी?

सन्‌ २००९, अक्टोबरमा अमेरिकाको शाखा कार्यालयले देशका सम्पूर्ण मण्डलीलाई चिठी पठायो। त्यस चिठीमा अस्थायी बेथेल सेवा गर्न चाहने विशेष सीप भएका दाजुभाइ दिदीबहिनीलाई आवेदन भर्न निम्तो दिइएको थियो। तिनीहरूले वाल्किलमा भएको शाखा कार्यालय विस्तार गर्ने काममा मदत गर्नुपर्थ्यो। बेथेल सेवा गर्ने उमेर नाघिसकेकाहरूलाई पनि आवेदन भर्न आग्रह गरियो। सेसार र रोसियो यसो भन्छन्‌, “बेथेल सेवा गर्ने उमेर नाघिसकेकोले यो नै हाम्रो लागि अन्तिम मौका हुन सक्थ्यो। हामी कुनै हालतमा यो मौका गुमाउन चाहन्नथ्यौं।” तिनीहरूले तुरुन्तै आवेदन भरे।

वारविकमा स्वयंसेवा गरिरहेका केही दाजुभाइ दिदीबहिनी

आवेदन बुझाएको एक वर्ष बितिसक्दा पनि सेसार र रोसियोलाई बेथेलमा बोलाइएन। तैपनि बेथेलबाट निम्तो आइहाल्यो भने स्वीकार्न सजिलो होस् भनेर तिनीहरूले जीवन सरल बनाए। सेसार भन्छन्‌, “हामीले केही वर्षअघि मात्र बनाएको २०० वर्ग मिटरको सानदार घर भाडामा दिने निर्णय गऱ्यौं। त्यसपछि हाम्रो ग्यारेजलाई सानो अपार्टमेन्ट बनाएर त्यहाँ सऱ्यौं। त्यो अपार्टमेन्ट जम्मा २५ वर्ग मिटरको मात्र थियो। बेथेल सेवाको निम्तो आएमा सजिलै स्वीकार्न सकियोस् भनेर हामीले यस्तो छाँटकाँट गरेका थियौं।” त्यसपछि के भयो? रोसियो भन्छिन्‌, “हामी त्यो अपार्टमेन्टमा सरेको एक महिनापछि वाल्किलमा अस्थायी स्वयंसेवा गर्ने निम्तो पायौं। जीवन सरल बनाएकोले नै यहोवाले आशिष्‌ दिनुभएको हो भन्ने कुरा हामीले महसुस गऱ्यौं।”

जेसन, सेसार र विलियम

आत्मत्यागी मनोभाव देखाएकोले तिनीहरूले आशिष्‌ पाएका छन्‌

सेसार र रोसियोजस्ता सयौं स्वयंसेवकले न्यु योर्कमा भइरहेको निर्माणकार्यमा भाग लिन त्यागहरू गरेका छन्‌। तिनीहरूमध्ये केहीले वाल्किलमा भएको शाखा कार्यालय विस्तार  गर्ने काममा भाग लिइरहेका छन्‌। अरू कतिपयले भने वारविकमा मुख्यालयको निर्माणकार्यमा सघाइरहेका छन्‌। * अझ राम्ररी यहोवाको सेवा गर्न थुप्रै दम्पतीले आरामदायी घर, राम्रो जागिर अनि आफूले पालेको जनावरसमेत छोडेर आएका छन्‌। के यहोवाले ती आत्मत्यागी स्वयंसेवकहरूलाई आशिष्‌ दिनुभएको छ? अवश्य दिनुभएको छ।

वे

उदाहरणको लागि, कानसासमा बस्ने वे बिजुलीको काम गर्छन्‌। तिनी र तिनकी श्रीमती डेब्रा साठी वर्ष पुग्नै लागेका छन्‌। तिनीहरूले आफ्नो घर र प्रायजसो सरसमान बेचे। त्यसपछि तिनीहरू घरबाट आवत्‌जावत्‌ गर्ने बेथेल सेवकको रूपमा काम गर्न वाल्किल सरे। * तिनीहरूले पक्कै पनि त्याग त गर्नुपऱ्यो। तैपनि यस्तो त्याग गरेकोले तिनीहरूले इनाम पाए। बेथेलमा पाएको जिम्मेवारीको विषयमा डेब्रा यसो भन्छिन्‌, “हाम्रा प्रकाशनहरूमा नयाँ संसारमा निर्माणकार्य भइरहेको चित्र पाइन्छ। कहिलेकाहीं त म पनि त्यहीं छु र निर्माणकार्यमा सघाइरहेकी छु जस्तो लाग्छ।”

दक्षिण क्यारोलिनामा बस्ने मेलभन सारन पनि आफ्नो घर र सर-सामान बेचेर वारविकमा भइरहेको निर्माणकार्यमा मदत गर्न आए। हुन त यस्तो त्याग गर्न सजिलो थिएन। तर ती दम्पतीले यस्तो ऐतिहासिक परियोजनामा भाग लिन पाउनु सुअवसर ठाने। तिनीहरू भन्छन्‌, “आफूले गरिरहेको कामले विश्वव्यापी सङ्गठनको गतिविधिलाई टेवा पुऱ्याउँछ भनी थाह पाउँदा आनन्द लाग्छ।”

केनथ

केनथ पहिला घर बनाउने काम गर्थे। तिनी र तिनकी श्रीमती मोरेन ५५/५६ वर्ष पुगेका छन्‌। वारविकको परियोजनामा सघाउन तिनीहरू क्यालिफोर्नियाबाट बसाइँ सरे। बसाइँ सर्नुअघि तिनीहरूले मण्डलीको एउटी बहिनीलाई घरको रेखदेख गर्ने जिम्मा दिए। केनथका बुबा वृद्ध भइसकेकोले उनलाई एक्लै छोडेर जान गाह्रो थियो। त्यसैले तिनले परिवारलाई बुबाको हेरचाह गरिदिन भने। त्यस्तो निर्णय गरेकोमा के तिनीहरू पछुताउनुपऱ्यो? परेन। केनथ यसो भन्छन्‌, “यहाँ काम गरेर हामीले धेरै लाभ उठाइरहेका छौ। चुनौती नै नआएको त होइन। तैपनि हामी सन्तुष्ट छौं। अरूलाई पनि यस्तो सेवा गर्न प्रोत्साहन दिन्छौं।”

चुनौतीहरू सामना गर्दै

आफूलाई यस्तो सेवामा अर्पण गरेका धेरैजसोले पक्कै पनि केही न केही चुनौतीको सामना गर्नुपरेको थियो। उदाहरणको लागि, पेन्सिलभेनियामा बस्ने विलियम सान्ड्रालाई विचार गरौं। तिनीहरूले ६० वर्ष पार गरिसकेका छन्‌। तिनीहरूको जीवन सन्तोषजनक थियो। तिनीहरूको आफ्नै कारखाना थियो र त्यहाँ मेसिनको पार्टपुर्जा बनाइन्थ्यो। कारोबार पनि राम्रोसँग चलिरहेको थियो। त्यस कारखानामा १७ जना कर्मचारी थिए। तिनीहरूले सानैदेखि एउटै मण्डलीमा सेवा गरेका थिए र तिनीहरूका धेरैजसो नातेदार पनि त्यही  इलाका बस्थे। तर वाल्किलको परियोजनामा सघाउने निम्तो आएपछि तिनीहरूले आफ्नो नातेदार, मण्डलीका साथीहरू र अरू सबै कुरा छाडेर जानुपर्ने भयो। विलियम यसो भन्छन्‌, “आफूलाई बानी परिसकेको ठाउँ अनि जीवनशैली छोडेर जान हामीलाई सजिलो थिएन।” धेरै पटक प्रार्थना गरेपछि ती दम्पतीले सर्ने निर्णय गरे। यस्तो निर्णय गरेकोमा तिनीहरूलाई कुनै पछुतो छैन। विलियम अझ यसो भन्छन्‌, “बेथेल परिवारसितै मिलेर काम गर्दा जुन सन्तुष्टि पाइन्छ, त्यो अरू कुनै कुराले दिन सक्दैन। हामीले बयानै गर्न नसकिने खुसी पाएका छौं।”

वाल्किलमा सेवा गरिरहेका केही दम्पती

हवाईमा बस्ने रिकि निर्माण परियोजनाकोम्यानेजरको रूपमा काम गर्थे। तिनलाई पनि वारविकको परियोजनाको लागि घरबाट आवत्‌जावत्‌ गर्ने बेथेल सेवकको रूपमा काम गर्न बोलाइयो। तिनकी श्रीमती केन्द्रा तिनले निम्तो स्वीकारेको चाहन्थिन्‌। तर तिनीहरूलाई आफ्नो ११ वर्षे छोरा ज्याकोबको आध्यात्मिकता कस्तो हुने होला, उसलाई नयाँ वातावरणमा घुलमिल हुन गाह्रो हुने पो हो कि भनेर चिन्ता लागिरहेको थियो। त्यसैले न्यु योर्कमा बसाइँ सर्नु बुद्धिमानी होला कि नहोला भनेर सोच्न थाले।

रिकि भन्छन्‌, “यहोवासित राम्रो सम्बन्ध गाँसेका केटाकेटीहरू भएको मण्डली हामीले खोज्न थाल्यौं। हामी ज्याकोबले राम्रो साथीहरू पाएको चाहन्थ्यौं।” तिनीहरूले न्यु योर्कको एउटा मण्डलीमा सङ्गत गर्न थाले। त्यहाँ केटाकेटीहरू थोरै मात्र छन्‌। तर बेथेल सेवकहरू भने धेरै छन्‌। रिकि भन्छन्‌, “पहिलो पटक सभा गएपछि मैले ज्याकोबलाई नयाँ मण्डलीमा आफ्नो उमेरको साथीहरू नभएकोले खल्लो लाग्यो कि भनेर सोधें। उसले यसो भन्यो, ‘चिन्ता नगर्नुस् ड्याडी, बेथेल सेवा गर्ने दाइहरूलाई नै म साथी बनाउँछु नि।’”

ज्याकोब र उसको आमाबुबा मण्डलीका बेथेल सेवकहरूसित सङ्गत गर्दै

बेथेलमा सेवा गर्ने ती युवाहरू ज्याकोबका साथी भए। यसको नतिजा कस्तो भयो? रिकि भन्छन्‌, “एक रातको कुरा हो, मैले ज्याकोबको कोठामा बत्ती बलिरहेको देखें। ऊ भिडियो गेम खेलिरहेको हो कि जस्तो लागेको थियो। तर ऊ त बाइबल पो पढिरहेको रहेछ। मैले उसलाई के गरिरहेको भनेर सोध्दा उसले यसो भन्यो, ‘म पनि बेथेलका दाइहरूजस्तै हुने। अब म एक वर्षमा पूरै बाइबल पढेर सिध्याउँछु।’” बसाइँ सरेकोले रिकिले वारविकमा भइरहेको निर्माणकार्यमा सघाउने मौका पाए। त्यसैले रिकि र केन्द्रा धेरै खुसी छन्‌। त्यसमाथि छोराले पनि उन्नति गरिरहेको देख्दा सुनमा सुगन्ध भनेझैं भयो।—हितो. २२:६.

तिनीहरूलाई भविष्यको चिन्ता छैन

लुइस र डेल

वारविक र वाल्किलमा मदत गर्न आएकाहरूलाई त्यहाँ भइरहेको निर्माणकार्य सिद्धिएपछि आफ्नो बेथेल सेवा पनि सिद्धिन्छ भनेर थाह छ। तर पछि कहाँ जाने अनि के गर्ने भनेर तिनीहरू पटक्कै चिन्ता गर्दैनन्‌। थुप्रैले फ्लोरिडाबाट आएका दुई अधबैंसे दम्पतीले जस्तै महसुस गरेका छन्‌। निर्माणकार्यका म्यानेजरको रूपमा काम गर्दै गरेका जन र तिनकी श्रीमती कारमन वारविकमा अस्थायी स्वयंसेवा गर्न आए।  तिनीहरू यसो भन्छन्‌, “यहोवाले अहिलेसम्म हाम्रो हरेक आवश्यकता पूरा गरिदिनुभएको छ। पछि गएर बिचल्ली पार्न उहाँले हामीलाई यहाँसम्म डोऱ्याउनुभएको होइन भनेर हामीलाई थाह छ।” (भज. ११९:११६) आगो निभाउने प्रणाली डिजाइन गर्ने लुइस र तिनकी श्रीमती केन्य वाल्किलमा सेवा गर्छन्‌। तिनीहरू भन्छन्‌, “यहोवाले हाम्रो भौतिक आवश्यकताको सधैं ख्याल गर्नुभएको छ। उहाँले कसरी, कहाँ र कहिले मदत गर्नुहुन्छ भन्ने कुरा त हामीलाई थाह छैन। तर यो कुरा भने हामीलाई पक्का थाह छ: उहाँले हामीलाई सधैं हेरचाह गर्नुहुनेछ।”भज. ३४:१०; ३७:२५.

 “अटाउने ठाउँ पनि नहुनेसम्मका आशिष्‌”

जन र मेलभन

निर्माणकार्यमा मदत गर्न आएकाहरूमध्ये धेरैलाई रोक्न सक्ने कुराहरू पक्कै थिए होलान्‌। तैपनि तिनीहरूले यहोवालाई जाँचेर हेरे। उहाँले हामी सबैलाई यस्तो आग्रह गर्नुभएको छ, “मलाई जाँचेर हेर कि म स्वर्गका झ्यालहरू उघारेर अटाउने ठाउँ पनि नहुनेसम्मका आशिष्‌ तिमीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिनँ।”—मला. ३:१०.

के तपाईं पनि यहोवालाई जाँचेर उहाँबाट आशिष्‌ पाउन चाहनुहुन्छ? न्यु योर्कमा भइरहेको निर्माणकार्यमा वा अन्य निर्माण परियोजनामा तपाईं पनि केही योगदान दिन सक्नुहुन्छ कि? यो कुरा आफ्नो प्रार्थनामा राख्नुहोस्। यस्तो विशेष काममा भाग लिंदा तपाईंले पनि यहोवाको आशिष्‌ पाउनुहुनेछ।—मर्कू. १०:२९, ३०.

ग्यारी

अलाबामाबाट आएका सिभिल इन्जिनियर डेल र तिनकी श्रीमती क्याथी अरूलाई पनि यस्तो किसिमको सेवा गर्न प्रोत्साहन दिन्छन्‌। वाल्किलमा स्वयंसेवा गरेका ती दम्पती यसो भन्छन्‌, “आफूलाई बानी परिसकेको ठाउँ अनि जीवनशैली त्यागेर आउन पक्कै पनि गाह्रो त हुन्छ। तर साहसी भएर त्यसो गर्नुभयो भने पवित्र शक्तिको मदत अनुभव गर्नुहुनेछ।” यस्तो सेवाको लागि तयार हुन तपाईंले के गर्नुपर्छ? डेल भन्छन्‌, “जीवन सरल बनाउने प्रयास गरिरहनुहोस्। यसो गरेकोमा कहिल्यै थकथकाउनु पर्दैन।” उत्तर क्यारोलिनाको ग्यारीले निर्माणकार्य व्यवस्थित पार्ने क्षेत्रमा काम गरेको ३० वर्ष भइसक्यो। अहिले तिनी र तिनकी श्रीमती मोरिन वारविकको परियोजनामा काम गर्दै छन्‌। त्यहाँ तिनीहरूले “लामो समयदेखि बेथेल सेवा गरिरहेका दाजुभाइ दिदीबहिनीलाई भेट्ने र उनीहरूसितै मिलेर काम गर्ने” मौका पाएका छन्‌। यसलाई तिनीहरू यहोवाबाट पाएको आशिष्‌ सम्झन्छन्‌। ग्यारी अझ यसो भन्छन्‌, “बेथेल सेवा गर्न तपाईंले आफ्नो जीवन सरल बनाउनुपर्छ। यस अन्तको दिनमा यसो गर्नु नै सबैभन्दा बुद्धिमानी निर्णय हो।” इलेनोइका जेसन बिजुलीसम्बन्धी काम गर्थे। तिनी र तिनकी श्रीमती जेनिफरलाई वाल्किलको परियोजनामा काम गर्दा “नयाँ संसारमा काम गरेको जस्तै लाग्छ।” जेनिफर भन्छिन्‌, “यहोवाको लागि तपाईंले गर्नुहुने हरेक काम उहाँले महत्त्वपूर्ण ठान्नुहुन्छ। यसरी उहाँको सेवा गर्दा एक अर्थमा हामीले भविष्यमा पाइने जीवनको लागि लगानी गरिरहेका हुन्छौं। तपाईंले प्रशस्त आशिष्‌ पाउनुभएको यहोवा चाहनुहुन्छ।”

^ अनु. 6 यहोवाका साक्षीहरूको वार्षिक पुस्तक २०१४ (अङ्ग्रेजी), पृष्ठ १२-१३ हेर्नुहोस्।

^ अनु. 7 घरबाट आवत्‌जावत्‌ गर्ने आंशिक समय बेथेल सेवकहरू हप्ताको केही दिन बेथेलमा सेवा गर्छन्‌ र आफ्नो आवास अनि जीविकोपार्जनको लागि आफै बन्दोबस्त मिलाउँछन्‌।