सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा—अध्ययन संस्करण  |  जनवरी २०१५

हामी किन प्रभुको साँझको भोज मनाउँछौं?

हामी किन प्रभुको साँझको भोज मनाउँछौं?

“मेरो सम्झनामा यो गर्नेगर।”—१ कोरि. ११:२४.

१, २. इस्वी संवत्‌ ३३ नीसान १४ को साँझ येशूले के गर्नुभयो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

यो इस्वी संवत्‌ ३३, नीसान १४ को साँझ हो। यरूशलेमको खुला आकाशमा पूर्णिमाको जुन टहटह लागिरहेको छ। लगभग १,५०० वर्षअघि इस्राएलीहरू मिश्रको दासत्वबाट छुटेको घटना सम्झन येशूले भर्खरै मात्र आफ्ना प्रेषितहरूसित निस्तार चाड मनाउनुभएको छ। त्यसपछि येशूले आफ्ना ११ प्रेषितसित एउटा विशेष चाड स्थापना गर्नुहुन्छ। त्यो दिन बित्नुअघि येशूले बलिदानस्वरूप आफ्नो जीवन दिनुहुने थियो र उहाँको मृत्युको सम्झना गर्न पछिसम्म पनि यो चाड मनाइने थियो। *मत्ती २६:१, २.

येशू प्रार्थना गर्नुहुन्छ अनि प्रेषितहरूलाई अखमिरे रोटी दिंदै यसो भन्नुहुन्छ, “लेओ, खाओ।” त्यसपछि उहाँले दाखमद्यको कचौरा लिनुहुन्छ र प्रार्थना गर्नुहुन्छ अनि प्रेषितहरूलाई यसो भन्नुहुन्छ, “तिमीहरू सबैले यसबाट पिओ।” (मत्ती २६:२६, २७) येशूले प्रेषितहरूलाई अरू खानेकुरा बाँड्नुहुन्न। बरु त्यो विशेष रातमा उहाँले आफ्ना वफादार प्रेषितहरूलाई थुप्रै कुरा बताउनुहुन्छ।

३. यस लेखमा कस्ता प्रश्नहरूको जवाफ पाउनेछौं?

 येशूले आफ्नो मृत्युको सम्झना गर्ने दिनको रूपमा “प्रभुको साँझको भोज” स्थापना गर्नुभयो। (१ कोरि. ११:२०) यस चाडबारे कसै-कसैको मनमा यस्ता प्रश्नहरू उठ्न सक्छन्‌: हामीले किन येशूको मृत्युको सम्झना गर्नुपर्छ? रोटी र दाखमद्यले केलाई सङ्केत गर्छ? हामी स्मरणार्थको लागि कसरी तयार हुन सक्छौं? स्मरणार्थका प्रतीकहरू कसले मात्र खान्छन्‌? ख्रीष्टियनहरूले आफूले पाएको आशालाई कसरी हेर्छन्‌?

हामीले किन येशूको मृत्युको सम्झना गर्नुपर्छ?

४. येशूको मृत्युले गर्दा कुन कुरा सम्भव भयो?

आदमको सन्तान भएकोले हामीले जन्मजातै पाप र मृत्यु पाएका छौं। (रोमी ५:१२) हामी आफै त्रुटिपूर्ण छौं। त्यसैले हामी आफूलाई वा अरूलाई पापबाट छुटाउन सक्दैनौं। (भज. ४९:६-९) तर येशूले फिरौतीस्वरूप चढाउनुभएको जीवन आदमले गुमाएको जीवन बराबर थियो। उहाँले हाम्रो लागि आफ्नो त्रुटिरहित शरीर बलिदान दिनुभयो र रगत बगाउनुभयो। येशूले परमेश्वरसामु फिरौतीको मोल चढाउनुभयो। यसले गर्दा पाप र मृत्युबाट छुटकारा पाउन सम्भव भयो अनि अनन्त जीवनको आशा पनि पायौं।—रोमी ६:२३; १ कोरि. १५:२१, २२.

५. (क) यहोवा र येशू हामीलाई माया गर्नुहुन्छ भनेर किन भन्न सक्छौं? (ख) हामी किन येशूको मृत्युको वार्षिकीमा उपस्थित हुनुपर्छ?

यहोवा मानिसजातिलाई माया गर्नुहुन्छ भन्ने प्रमाण फिरौतीको प्रबन्धले दिन्छ। (यूह. ३:१६) येशू हाम्रो लागि जीवन दिन तयार हुनुभयो। यसबाट उहाँ पनि हामीलाई माया गर्नुहुन्छ भन्ने कुरा स्पष्ट हुन्छ। पृथ्वीमा आउनुअघि यहोवाको “कारिगर”-को रूपमा सेवा गर्दा उहाँ “मानव-जातिमा प्रसन्न” रहनुहुन्थ्यो। (हितो. ८:३०, ३१, NRV) हामी यहोवा र येशूप्रति आभारी छौं। त्यसकारण येशूको मृत्युको वार्षिकीमा उपस्थित भएर उहाँले दिनुभएको यो आज्ञा मान्छौं, “मेरो सम्झनामा यो गर्नेगर।”—१ कोरि. ११:२३-२५.

प्रतीकहरूले केलाई सङ्केत गर्छन्‌?

६. स्मरणार्थमा चलाइने रोटी र दाखमद्यलाई केको रूपमा हेर्नुपर्छ?

स्मरणार्थ उत्सव स्थापना गर्नुहुँदा येशूले चमत्कार गरेर रोटी र दाखमद्यलाई आफ्नो शरीर र रगतमा परिणत गर्नुभएन। बरु रोटीबारे उहाँले यसो भन्नुभयो, “यो मेरो शरीरको प्रतीक हो।” अनि दाखमद्यबारे पनि यसो भन्नुभयो, “यो ‘करारको मेरो रगतको’ प्रतीक हो, जो थुप्रैका लागि बगाइनेछ।” (मर्कू. १४:२२-२४) स्पष्ट छ, रोटी र दाखमद्यलाई येशूको वास्तविक शरीर र रगतको रूपमा नभई प्रतीकको रूपमा हेर्नुपर्छ।

७. रोटीले केलाई सङ्केत गर्छ?

इस्वी संवत्‌ ३३ मा आयोजना गरिएको त्यो विशेष उत्सवमा येशूले निस्तार चाड मनाएपछि बाँकी भएको अखमिरे रोटी प्रयोग गर्नुभयो। (प्रस्थ. १२:८) बाइबलमा कहिलेकाहीं खमिरले भ्रष्टता वा पापलाई सङ्केत गर्छ। (मत्ती १६:६, ११, १२; लूका १२:१) येशूले अखमिरे रोटी चलाउनु उचित थियो किनकि त्यो रोटीले येशूको त्रुटिरहित शरीरलाई सङ्केत गर्थ्यो। (हिब्रू ७:२६) त्यसकारण आज पनि स्मरणार्थ उत्सवमा त्यस्तै किसिमको रोटी चलाइन्छ। 

८. दाखमद्यले केलाई सङ्केत गर्छ?

इस्वी संवत्‌ ३३, नीसान १४ मा येशूले चलाउनुभएको दाखमद्यले उहाँको रगतलाई सङ्केत गर्थ्यो। आज स्मरणार्थ उत्सवमा चलाइने दाखमद्यले पनि येशूको रगतलाई नै सङ्केत गर्छ। येशूलाई यरूशलेम बाहिर रहेको गलगथा भनिने ठाउँमा मारियो। उहाँले बगाउनुभएको रगतले गर्दा हामीले “पापहरूको क्षमा” पायौं। (मत्ती २६:२८; २७:३३) स्मरणार्थको रोटी र दाखमद्यले आज्ञाकारी मानिसजातिको लागि येशूले दिनुभएको अनमोल बलिदानलाई सङ्केत गर्छ। हामीलाई माया गरेर यहोवाले मिलाउनुभएको त्यस प्रबन्धको हामी कदर गर्छौं। त्यसकारण हामी प्रत्येकले येशूको मृत्युको वार्षिकीको लागि तयारी गर्नु महत्त्वपूर्ण छ।

 तयारी गर्ने केही तरिकाहरू

९. (क) स्मरणार्थ बाइबल पढाइको तालिकाअनुसार बाइबल पढ्यौं भने कस्तो फाइदा हुन्छ? (ख) फिरौतीबारे मनन गर्दा तपाईं कस्तो महसुस गर्नुहुन्छ?

दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिकामा स्मरणार्थ बाइबल पढाइको तालिका राखिएको हुन्छ। त्यस तालिकाअनुसार बाइबल पढ्यौं भने येशूले आफ्नो मृत्यु हुनुभन्दा केही दिनअघि गर्नुभएका कामहरूबारे मनन गर्न सक्छौं। यसो गर्दा प्रभुको साँझको भोजको लागि मन तयार पार्न सक्छौं। * एक बहिनीले यसो भनिन्‌, “हामी उत्सुक भएर स्मरणार्थको प्रतीक्षा गर्छौं। यसको महत्त्व प्रत्येक वर्ष बढ्दै जान्छ। . . . मेरो प्यारो बुबाको शव हेर्दा फिरौतीको बलिदानप्रति मनैदेखि कृतज्ञ हुन सकेको मलाई अझै याद छ। . . . मलाई शास्त्रपदहरू कण्ठसथै थियो र ती शास्त्रपदहरूलाई राम्रोसित व्याख्या गर्न पनि जानेकी थिएँ। तर आफूले माया गरेको व्यक्ति गुमाएपछि मात्र फिरौतीको बलिदानले गर्दा हामीलाई कस्तो लाभ हुन्छ भनेर राम्ररी बुझें। यसले गर्दा मैले केही हदसम्म सान्त्वना पाएँ।” येशूको बलिदानले हामीलाई कसरी पाप र मृत्युबाट छुटकारा दियो भन्ने कुरा मनन गर्दै स्मरणार्थ उत्सवको लागि तयार रहौं।

उपलब्ध सामग्रीहरू प्रयोग गरेर स्मरणार्थ उत्सवको लागि मन तयार पार्नुहोस् (अनुच्छेद ९ हेर्नुहोस्)

१०. स्मरणार्थको तयारी गर्ने अर्को तरिका के हो?

१० स्मरणार्थको तयारी गर्ने अर्को तरिका पनि छ। हामी स्मरणार्थ उत्सवको बेला प्रचारकार्यमा अझ धेरै भाग लिने योजना बनाउन सक्छौं। परिस्थितिले दिन्छ भने हामी सहायक अग्रगामी सेवा पनि गर्न सक्छौं। हामी बाइबल विद्यार्थीहरूलाई अनि अरूलाई प्रभुको साँझको भोजमा निम्तो दिन्छौं। उनीहरूलाई यहोवा र येशूबारे बताउँछौं। यहोवालाई खुसी बनाउने र उहाँको प्रशंसा गर्ने व्यक्तिहरूको लागि उहाँले साँचेर राख्नुभएको आशिष्‌बारे पनि उनीहरूलाई बताउँछौं। यसो गर्दा हामी अझ आनन्दित हुन सक्छौं।—भज. १४८:१२, १३.

११. केही ख्रीष्टियनले स्मरणार्थका प्रतीक अनुचित तरिकामा खाए, कसरी?

११ प्रेषित पावलले कोरिन्थका ख्रीष्टियनहरूलाई लेखेको कुरा पनि मनमा राख्नुहोस्। (१ कोरिन्थी ११:२७-३४ पढ्नुहोस्) आफू अयोग्य हुँदा हुँदै पनि रोटी खाने वा दाखमद्य पिउने व्यक्ति येशूको “शरीर र रगतको सन्दर्भमा दोषी हुनेछ” भनी पावलले बताए। त्यसकारण अभिषिक्त जनहरूले ‘पहिला आफूलाई जाँचेर योग्य ठहराउनुपर्छ।’ त्यसपछि मात्र प्रतीक खानुपर्छ। नत्रता त्यसरी “खाने र पिउनेले आफूलाई दोषी ठहराउँछ।” सम्भवतः केही ख्रीष्टियनले स्मरणार्थअघि वा स्मरणार्थको दौडान आवश्यकभन्दा बढी खाएका वा पिएका थिए। त्यसले गर्दा  उनीहरू मानसिक अनि आध्यात्मिक रूपमा सजग हुन सकेनन्‌। ती ख्रीष्टियनहरूबारे पावलले यसो भने, “तिमीहरूमध्ये धेरै जना कमजोर र रोगी छौ, अनि कति त [आध्यात्मिक रूपमा] मृत्युको चिर निद्रामा परिसकेका छन्‌।” यस्तो अनुचित तरिकामा स्मरणार्थको प्रतीक खाएकोले तिनीहरू यहोवाको नजरमा दोषी ठहरिए।

१२. (क) पावलले स्मरणार्थ उत्सवलाई केसित तुलना गरे? प्रतीक खानेहरूलाई उनले कस्तो चेतावनी दिए? (ख) स्मरणार्थको प्रतीक खाने व्यक्तिले गम्भीर गल्ती गरेका छन्‌ भने तिनले के गर्नुपर्छ?

१२ पावलले स्मरणार्थ उत्सवलाई सँगै मिलेर खाना खानुसित तुलना गरे। त्यसपछि उनले प्रतीक खानेहरूलाई यस्तो चेतावनी दिए, “तिमीहरूले यहोवाको कचौराबाट पिउने अनि दुष्ट स्वर्गदूतहरूको कचौराबाट पनि पिउने गर्न सक्दैनौ; तिमीहरूले ‘यहोवाको टेबुलबाट’ खाने अनि दुष्ट स्वर्गदूतहरूको टेबुलबाट पनि खाने गर्न सक्दैनौ।” (१ कोरि. १०:१६-२१) स्मरणार्थको प्रतीक खाने कुनै अभिषिक्त ख्रीष्टियनले गम्भीर गल्ती गरेका छन्‌ भने तिनले आध्यात्मिक मदत खोज्नुपर्छ। (याकूब ५:१४-१६ पढ्नुहोस्) ती अभिषिक्त ख्रीष्टियनले “पश्‍चात्ताप लायकको फल” फलाएका छैनन्‌ तर स्मरणार्थको प्रतीक खान्छन्‌ भने तिनले येशूको बलिदानप्रति आदर देखाइरहेका हुँदैनन्‌।—लूका ३:८.

१३. यहोवाले हामीलाई दिनुभएको आशाबारे प्रार्थना गर्नु किन राम्रो हो?

१३ स्मरणार्थ उत्सवको लागि तयारी गर्दा यहोवाले हामीलाई दिनुभएको आशाबारे प्रार्थनापूर्वक विचार गर्नु पनि राम्रो हो। यहोवाका समर्पित सेवक र येशूका अनुयायीहरू येशूको बलिदानलाई अनादर गर्न चाहँदैनन्‌। त्यसैले आफू अभिषिक्त जन भएको स्पष्ट सङ्केत नपाई स्मरणार्थको प्रतीक खाँदैनन्‌। त्यसोभए, स्मरणार्थको प्रतीक खान आफू योग्य छु कि छैन भनेर कुनै ख्रीष्टियन कसरी पक्का हुन सक्छन्‌?

स्मरणार्थको प्रतीक कसले मात्र खानुपर्छ?

१४. नयाँ करार र स्मरणार्थको प्रतीक खाने कुरा कसरी सम्बन्धित छ?

१४ स्मरणार्थको प्रतीक खान योग्य ठहरिएका ख्रीष्टियनहरू आफू नयाँ करारको भाग हुँ भन्ने कुरामा पक्का छन्‌। दाखमद्यबारे येशूले यसो भन्नुभएको थियो, “यो कचौरा त्यो नयाँ करारको प्रतीक हो, जो मेरो रगतको आधारमा बाँधिनेछ।” (१ कोरि. ११:२५) यहोवाले नयाँ करार बाँध्ने कुरा भविष्यवक्ता यर्मियामार्फत बताउनुभएको थियो र यो करार इस्राएलीहरूसित बाँधिएको व्यवस्थाको करारभन्दा फरक थियो। (यर्मिया ३१:३१-३४ पढ्नुहोस्) यहोवाले आध्यात्मिक इस्राएलसित नयाँ करार बाँध्नुभएको छ। (गला. ६:१५, १६) आफ्नो जीवन बलिदान दिंदा येशूले बगाउनुभएको रगतले यो करारलाई मान्यता दियो। (लूका २२:२०) येशू नयाँ करारको मध्यस्थकर्ता हुनुहुन्छ र यस करारमा बाँधिएका वफादार अभिषिक्त जनहरूले अनन्त उत्तराधिकार पाउँछन्‌।—हिब्रू ८:६; ९:१५.

१५. राज्य करार कोसित बाँधिएको छ? वफादार रहिरहे भने उनीहरूले कस्तो सुअवसर पाउनेछन्‌?

१५ स्मरणार्थको प्रतीक खान योग्य ठहरिएका प्रत्येक ख्रीष्टियनलाई आफू राज्य करारमा बाँधिएको छु भनेर थाह छ। (लूका १२:३२ पढ्नुहोस्) येशूका अभिषिक्त अनुयायी बनेका र वफादार भई उहाँलाई साथ दिएका व्यक्तिहरूले स्वर्गमा उहाँसितै शासन गर्नेछन्‌। ती व्यक्तिहरू येशूसितै दुःख झेल्न तयार भएका छन्‌। (फिलि. ३:१०) ती वफादार ख्रीष्टियनहरू नयाँ करारमा बाँधिएकोले उनीहरूले येशूसित मिलेर सदासर्वदा राजाको रूपमा शासन गर्नेछन्‌। (प्रका. २२:५) ती ख्रीष्टियनहरू प्रभुको साँझको भोजमा प्रतीक खान योग्य छन्‌।

१६. रोमी ८:१५-१७ लाई व्याख्या गर्नुहोस्।

१६ कुनै ख्रीष्टियनको मनलाई पवित्र शक्तिले तिनी परमेश्वरका सन्तान हुन्‌ भनेर बोध गराएको छ भने मात्र तिनले प्रतीक खान सक्छन्‌। (रोमी ८:१५-१७ पढ्नुहोस्) पावलले रोमीहरूलाई लेखेको पत्रमा अरामी शब्द “अब्बा” चलाएका छन्‌, जसको अर्थ हो “हे बुबा!” यो एक जना बच्चाले आफ्नो बुबालाई बोलाउँदा प्रयोग गर्ने सम्बोधन हो। यो एउटा स्नेहपूर्ण सम्बोधन हो। यस अरामी शब्दले घनिष्ठ सम्बन्ध बुझाउने र आदर झल्काउने शब्द “बुबा”-को अर्थ  दिन्छ। ‘पवित्र शक्तिद्वारा परमेश्वरको धर्मपुत्र बनेकाहरू’ परमेश्वरका अभिषिक्त सन्तानहरू हुन्‌। पवित्र शक्ति आफैले तिनीहरूको मनलाई बोध गराउँछ। यसरी तिनीहरूलाई आफू परमेश्वरको अभिषिक्त सन्तान हुँ भनेर थाह हुन्छ। तिनीहरू आफ्नो इनाम पृथ्वीमा नभई स्वर्गमा छ भन्ने कुरामा पक्का छन्‌। मृत्युसम्मै वफादार रहँदा स्वर्गको राज्यमा ख्रीष्टको सङ्गी उत्तराधिकारी हुने मौका पाइन्छ भन्ने कुरामा तिनीहरू विश्वस्त छन्‌। येशूको पदचिन्ह पछ्याउने १ लाख ४४ हजार अभिषिक्त ख्रीष्टियनमध्ये थोरै मात्र पृथ्वीमा बाँकी छन्‌। तिनीहरूलाई “पवित्र परमेश्वर” यहोवाले “अभिषेक” गर्नुभएको छ। (१ यूह. २:२०; प्रका. १४:१) यहोवाको शक्तिद्वारा तिनीहरू उहाँलाई “अब्बा, हे बुबा!” भनी पुकार्छन्‌। तिनीहरूले यहोवासित विशेष सम्बन्ध गाँस्ने मौका पाएका छन्‌।

आफूले पाएको आशालाई कसरी हेर्नुहुन्छ?

१७. अभिषिक्त जनहरूले कस्तो आशा पाएका छन्‌? यो आशालाई तिनीहरू कसरी हेर्छन्‌?

१७ तपाईं अभिषिक्त ख्रीष्टियन हुनुहुन्छ भने व्यक्तिगत प्रार्थनामा आफ्नो स्वर्गीय आशाबारे पनि उल्लेख गर्नुहुन्छ होला। बाइबलले स्वर्गका दुलहा येशू ख्रीष्टसित “मगनी” गर्ने विषयमा बताउँदा तपाईं त्यो कुरा आफूमा लागू हुन्छ भनेर स्वीकार्नुहुन्छ अनि ख्रीष्टकी “दुलही”-को भाग हुने दिनको प्रतीक्षा गर्नुहुन्छ। (२ कोरि. ११:२; यूह. ३:२७-२९; प्रका. २१:२, ९-१४) यहोवाले आफ्ना अभिषिक्त सन्तानलाई माया व्यक्त गर्नुभएको विषयमा बाइबलबाट पढ्दा यहोवाले “यो कुरा मेरै विषयमा भन्दै हुनुहुन्छ” जस्तो तपाईंलाई लाग्छ। यहोवाले बाइबलमार्फत अभिषिक्त सन्तानलाई निर्देशन दिनुहुँदा पवित्र शक्तिले तपाईंलाई त्यो निर्देशनअनुसार चल्न र मनमनै यसो भन्न उत्प्रेरित गर्छ, “यो निर्देशन मलाई लागू हुन्छ।” यसरी पवित्र शक्तिले तपाईंको मनलाई तपाईंले स्वर्गीय आशा पाउनुभएको छ भनेर बोध गराउँछ।

१८. “अरू भेडा”-ले कस्तो आशा पाएका छन्‌? यस्तो आशा पाएकोमा तपाईंलाई कस्तो लाग्छ?

१८ अर्कोतर्फ, तपाईं “अरू भेडा” अर्थात्‌ “ठूलो भीड”-को भाग हुनुहुन्छ भने तपाईंले पृथ्वीमा सधैंभरि बाँच्ने आशा पाउनुभएको छ। (प्रका. ७:९; यूह. १०:१६) तपाईं नयाँ संसारमा सधैंभरि बाँच्न चाहनुहुन्छ र नयाँ संसारबारे बाइबलले दिएको आशामा मनन गर्दा तपाईंलाई आनन्द लाग्छ। तपाईं आफ्नो परिवार अनि असल मानिसहरूसित मिलेर त्यो शान्तिमय वातावरणको आनन्द उठाउन चाहनुहुन्छ। तपाईं गरिबी, अनिकाल, दुःखकष्ट, रोगबिमार र मृत्यु नहुने समयलाई उत्सुक भई पर्खंदै हुनुहुन्छ। (भज. ३७:१०, ११, २९; ६७:६; ७२:७, १६; यशै. ३३:२४) तपाईं पुनर्जीवित भएका व्यक्तिहरूलाई स्वागत गर्न पनि आतुर हुनुहुन्छ। (यूह. ५:२८, २९) यस्तो आशा दिनुहुने परमेश्वरप्रति तपाईं पक्कै आभारी हुनुहुन्छ। हुन त तपाईं स्मरणार्थको प्रतीक खानुहुन्न, तैपनि येशूको बलिदानप्रति कृतज्ञ भएकोले स्मरणार्थ उत्सवमा उपस्थित हुनुहुन्छ।

के तपाईं पनि उपस्थित हुनुहुनेछ?

१९, २०. (क) इनाम पाउन तपाईंले के गर्नुपर्छ? (ख) तपाईं किन प्रभुको साँझको भोजमा उपस्थित हुन चाहनुहुन्छ?

१९ हामीमध्ये कतिपयले स्वर्ग जाने आशा पाएका छौं भने कतिपयले पृथ्वीमै बस्ने। तर त्यो इनाम पाउन हामीले यहोवा परमेश्वर, येशू ख्रीष्ट र फिरौतीको प्रबन्धमा विश्वास गर्नुपर्छ। स्मरणार्थमा उपस्थित भएर तपाईंले आफ्नो आशाबारे अनि येशूको बलिदानको महत्त्वबारे मनन गर्ने मौका पाउनुहुनेछ। यो वर्ष प्रभुको साँझको भोज अप्रिल ३ तारिख शुक्रबारको दिन सूर्यास्तपछि मनाइनेछ। यो उत्सव मनाउन संसारभरका लाखौं मानिस राज्यभवन र अन्य ठाउँमा भेला हुनेछन्‌। तपाईं पनि त्यो उत्सवमा उपस्थित हुने लक्ष्य राख्नुहोस्।

२० स्मरणार्थमा उपस्थित हुनुभयो भने येशूले चढाउनुभएको फिरौतीको बलिदानप्रति अझै कृतज्ञ हुन सक्नुहुन्छ। स्मरणार्थमा दिइने भाषण राम्रोसँग सुन्नुहोस्। यसो गर्नुभयो भने यहोवाको प्रेमबारे र उहाँको उद्देश्यबारे आफूले सिकेका कुराहरू छिमेकीलाई बताएर उनीहरूलाई प्रेम गरेको देखाउन उत्प्रेरित हुनुहुनेछ। (मत्ती २२:३४-४०) प्रभुको साँझको भोजमा उपस्थित हुन हरप्रयास गर्नुहोस्।

^ अनु. 1 यहूदीहरूको दिन सूर्यास्तपछि सुरु भएर अर्को दिनको सूर्यास्तसम्म रहन्थ्यो।

^ अनु. 9 जनवरी-मार्च २०१२ को प्रहरीधरहरा, पृष्ठ २१-२२ हेर्नुहोस्।