अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) जनवरी २०१५

अटल प्रेम—के यो सम्भव छ?

अटल प्रेम—के यो सम्भव छ?

“प्रेमचाहिं . . . कुनै पनि ज्वालाभन्दा पनि कडा, त्यो दन्केको आगोझैं दन्किन्छ।”—श्रेष्ठ. ८:६.

१, २. श्रेष्ठगीतको किताबबाट क-कसले लाभ उठाउन सक्छन्‌? यो किताब किन लाभदायी छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)

‘आहा! दुई जनाको जोडी कस्तो सुहाएको! उनीहरू एकअर्कालाई माया गर्छन्‌ भन्ने कुरा कसले नकार्न सक्छ र!’ भर्खरै आफूले विवाह भाषण दिएका नवविवाहित दम्पतीबारे एक एल्डर मनमनै विचार गर्छन्‌। हुन पनि परेवाको जोडीजस्तै उनीहरू लजाउँदै एकअर्कालाई हेरिरहेका छन्‌ अनि एकअर्काको हात समाएका छन्‌। ‘तर के यिनीहरूको सम्बन्ध पछि सम्मै यस्तै होला? समय बित्दै जाँदा के यिनीहरूको माया गाढा हुँदै जाला? कतै जीवनमा आइपर्ने उतारचढावले गर्दा एकअर्कादेखि टाढा हुँदै जाने पो हुन्‌ कि?’ पाहुनाहरूले बधाई र उपहार दिंदै गर्दा ती एल्डर सोच्न थाल्छन्‌। हुन त, समय बित्दै जाँदा श्रीमान्‌-श्रीमतीको सम्बन्ध दिगो हुन सक्छ अनि उनीहरूको प्रेम प्रगाढ हुन सक्छ। तर हरेक वर्ष यत्ति धेरै विवाह टुक्रिरहेको तथ्य विचार गर्दा हामीलाई यस्तो लाग्न सक्छ, ‘श्रीमान्‌-श्रीमतीबीचको प्रेम के साँच्चै अटल हुन सक्छ?’

इस्राएलका राजा सुलेमानको समयमा पनि साँचो प्रेम गर्नेहरू विरलै थिए। त्यतिबेलाका मानिसहरूको चरित्रबारे तिनले यस्तो लेखे, “मैले हजार पुरुषमा एउटा मात्र योग्यको भेट्टाएँ, तर स्त्रीहरूमा त एउटै पनि भेट्टाइनँ। यो कुरो मात्र मैले भेट्टाएँ कि जब परमेश्वरले मानिसलाई सृजनुभयो तब उहाँले त्यसलाई सोझो बनाउनुभयो, तर मानिस आफैले चाहिं अनेकौं छलहरू रच्दछ।” (उप. ७:२६-२९) बाल उपासना गर्ने विदेशी स्त्रीहरूले गर्दा त्यतिबेलाको नैतिक स्तर खस्केको थियो। त्यसकारण सुलेमानलाई चरित्रवान्‌ पुरुष वा स्त्री भेट्टाउन  गाह्रो भयो। * तर यी कुराहरू लेखेको लगभग २० वर्षअघि सुलेमानले एउटा कविता रचेका थिए। तिनले रचेको कवितालाई अहिले श्रेष्ठगीत भनिन्छ। श्रेष्ठगीतको किताबले स्त्री र पुरुषबीचको प्रेम अटल हुन सक्छ भनेर देखाउँछ। साँचो प्रेम के हो र यस्तो प्रेम कसरी व्यक्ति गरिन्छ, त्यो पनि जीवन्त ढङ्गमा प्रस्तुत गरिएको छ। श्रेष्ठगीतको किताब ध्यान दिएर पढ्दा विवाहित र अविवाहित ख्रीष्टियनहरूले साँचो प्रेमबारे थुप्रै कुरा सिक्न सक्छन्‌।

साँचो प्रेम सम्भव छ!

३. स्त्री र पुरुषले एकअर्कालाई साँचो प्रेम गर्न सक्छन्‌, किन?

श्रेष्ठगीत ८:६ पढ्नुहोस्। यस पदमा उल्लिखित “दन्केको आगोझैं” भन्ने वाक्यांशलाई कुनै-कुनै बाइबलमा “याहको ज्वाला” भनेर अनुवाद गरिएको छ। “याहको ज्वाला” भन्ने वाक्यांशबाट साँचो प्रेमको स्रोत यहोवा हो भन्ने कुरा स्वतः स्पष्ट हुन्छ। यहोवाले पहिलो मानव आदमलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो र तिनमा प्रेम गर्ने क्षमता पनि राखिदिनुभयो। (उत्प. १:२६, २७) यहोवाले पहिलो स्त्री हव्वालाई पनि सृष्टि गर्नुभयो र आदमलाई दिनुभयो। हव्वालाई देखेर आदम यत्ति खुसी भए, तिनले आफ्नो भावना व्यक्त गर्न कविता रचे। हव्वाले पनि आदमको न्यानो माया पाएर ढुक्क महसुस गरिन्‌। हुन पनि हव्वा आदमकै शरीरबाट “निकालिएकी” थिइन्‌। (उत्प. २:२१-२३) यसरी सुरुदेखि नै यहोवाले मानिसजातिलाई प्रेम गर्ने क्षमता दिनुभएको छ। त्यसकारण स्त्री र पुरुषबीचको प्रेम दिगो र प्रगाढ हुन सक्छ।

४, ५. श्रेष्ठगीतमा उल्लेख गरिएको प्रेम कहानी छोटकरीमा बताउनुहोस्।

स्त्री र पुरुषबीचको प्रेम दिगो र प्रगाढ हुनुका साथै यस्तो प्रेमको अरू विशेषताहरू पनि छन्‌। तीमध्ये केही विशेषता श्रेष्ठगीतको किताबमा सुन्दर ढङ्गमा वर्णन गरिएको छ। राजा सुलेमानले रचेको यो गीत शूनेम अर्थात्‌ शूलेम भन्ने गाउँमा बस्ने युवती र गोठालो केटाबीचको प्रेम कहानी हो। ती युवतीले काम गरिरहेको दाखबारी नजिकै राजा सुलेमान आफ्नो दलबलसँगै छाउनी हालेर बसेका छन्‌। ती सुन्दरी युवतीलाई देखेर मोहित भएका राजा सुलेमानले आफ्ना मानिसहरू पठाएर उनलाई छाउनीमा ल्याउँछन्‌। सुलेमानले उनको मन जित्न निकै तारिफ गर्छन्‌ अनि थुप्रै उपहार पनि दिन्छन्‌। तर लाख कोसिस गरे पनि सफल हुँदैनन्‌। किनकि उनी गोठालोलाई प्रेम गर्छिन्‌। उनी आफ्नो प्रेमीलाई भेट्न आतुर छिन्‌। (श्रेष्ठ. १:४-१४) गोठालो पनि आफ्नो प्रेमिकालाई खोज्दै छाउनीमा आइपुग्छन्‌। त्यसपछि उनीहरूले मन छुने शब्दहरूद्वारा प्रेम व्यक्त गर्न थाल्छन्‌।—श्रेष्ठ. १:१५-१७.

त्यसपछि सुलेमान यरूशलेम फर्कन्छन्‌ र ती युवतीलाई पनि आफूसितै लैजान्छन्‌। गोठालो पनि आफ्नो प्रेमिकालाई पछ्याउँदै यरूशलेम पुग्छन्‌। (श्रेष्ठ. ४:१-५, ८, ९) सुलेमानले फेरि ती युवतीको मन जित्ने प्रयास गर्छन्‌। तर तिनको प्रयास बालुवामा पानी हालेसरह हुन्छ। (श्रेष्ठ. ६:४-७; ७:१-१०) केही सीप नलागेपछि सुलेमानले ती युवतीलाई घर फर्काइदिन्छन्‌। उनले आफ्नो प्रेमीलाई “मृग”-जस्तै छिटो दौडेर आफूकहाँ आउन आग्रह गर्छिन्‌। त्यसपछि गीत टुङ्गिन्छ।—श्रेष्ठ. ८:१४.

६. सुलेमानले रचेको गीतका पात्रहरू ठम्याउन किन गाह्रो छ?

सुलेमानले रचेको गीत अर्थपूर्ण अनि सुन्दर छ। त्यसैले यसलाई “श्रेष्ठगीत” भनिन्छ। (श्रेष्ठ. १:१) तर यस गीतमा क-कसको बीच कुराकानी भइरहेको छ अनि कसले आफ्नो भावना व्यक्त गर्दै छ भनेर ठम्याउनचाहिं गाह्रो छ। गीतको कथावस्तु ओझेलमा नपरोस् भनेर सुलेमानले आफ्नो गीतमा पात्रहरूको नाम अनि तिनीहरूको विवरण उल्लेख गरेका छैनन्‌। हुन पनि बाइबलको एउटा शब्दकोशअनुसार * ती कुराहरूले कुनै पनि रचनामा त्यति माने राख्दैन। तर श्रेष्ठगीतको किताबमा एउटा पात्रले अर्को पात्रलाई भनेको कुरा विचार गर्दा कसले कसबारे कुरा गरेको हो भनेर अनुमान लाउन सकिन्छ।

 “तपाईंको प्रेम दाखमद्यभन्दा पनि मीठो छ”

७, ८. के गोठालो र युवतीले एकअर्काको बाहिरी सुन्दरताको मात्र प्रशंसा गरेका छन्‌? उदाहरणद्वारा बुझाउनुहोस्।

श्रेष्ठगीतको किताबमा युवती र गोठालोले एकअर्कालाई आफ्नो “प्रेम” व्यक्त गर्न मीठा-मीठा शब्दहरू चलाएका छन्‌। यो किताब लगभग ३,००० वर्षअघि लेखिएको हो र यसमा व्यक्त गरिएका कुराहरूमा मध्यपूर्वी * चलन र संस्कृति झल्किन्छ। त्यसैले यो किताब पढ्दा हामीलाई अनौठो लाग्न सक्छ। तर श्रेष्ठगीतमा लेखिएका कुराहरू अर्थपूर्ण छन्‌। पात्रहरूले व्यक्त गरेका भावनाहरू हाम्रो लागि बिलकुलै नौलो पनि छैन। जस्तै, गोठालोले युवतीको सुन्दर आँखालाई “ढुकुरका आँखा”-सित तुलना गर्दै उनको प्रशंसा गरेका छन्‌। (श्रेष्ठ. १:१५) अर्कोतर्फ, युवतीले गोठालोको आँखालाई ढुकुरको आँखासित नभई ढुकुरसितै तुलना गरेकी छिन्‌। (श्रेष्ठगीत ५:१२ पढ्नुहोस् *) ती युवतीलाई आफ्नो प्रेमीको आँखाको सेतो भाग दूधजस्तो र नानीचाहिं दूधमा पौडिरहेको ढुकुरजस्तो लागेको हुन सक्छ।

गोठालो र युवतीले एकअर्काको बाहिरी सुन्दरताको मात्र प्रशंसा गरेका छैनन्‌। गोठालोले युवतीको बोलीबारे के भनेका छन्‌, विचार गर्नुहोस्। (श्रेष्ठगीत ४:७, ११ पढ्नुहोस्) तिनले उनको ओठले “मौरीका चाकाझैं मीठास चुहाउँछ” भनेका छन्‌। मौरीको चाका महभन्दा स्वादिलो र सुगन्धित हुने भएकोले तिनले युवतीको बोलीलाई मौरीको चाकासित तुलना गरे। तिनले “मह र दूध [उनको] जिब्रोमनि छन्‌” पनि भनेका छन्‌। यसको अर्थ मह र दूधजस्तै उनको बोली मीठो र मनमोहक छ। गोठालाले युवतीलाई “तिमी सुन्दरी छौ, . . . केही दाग नभएकी सुन्दरी” भनेर प्रशंसा गरेका छन्‌। यसरी प्रशंसा गर्दा गोठालोले उनको बाहिरी सुन्दरताबारे मात्र होइन, उनको राम्रा गुणहरूबारे पनि वर्णन गरिरहेका थिए।

९. (क) विवाहित दम्पतीबीच हुने प्रेममा कस्ता कुराहरू समावेश छन्‌? (ख) विवाहित दम्पतीले प्रेम व्यक्त गर्नु किन आवश्यक छ?

यहोवाको उपासना गर्ने पुरुष र स्त्रीले आफ्नो विवाहलाई सामाजिक परिपाटि मात्र ठान्दैनन्‌। ख्रीष्टियन श्रीमान्‌-श्रीमतीले एकअर्कालाई प्रेम र स्नेह व्यक्त गर्छन्‌। वास्तवमा ख्रीष्टियन विवाहको चिनारी नै प्रेम हो। तर यो कस्तो किसिमको प्रेम हो? के यो प्रेम हामीले सबै मानिसलाई गर्नुपर्ने निःस्वार्थ प्रेम हो? (१ यूह. ४:८) अथवा परिवारका सदस्यहरूबीच हुने प्रेम हो कि? के यो प्रेममा पनि साँचो साथीहरूबीच हुने आत्मीयता हुन्छ? (यूह. ११:३) के यो रोमान्टिक प्रेम हो? (हितो. ५:१५-२०) श्रीमान्‌-श्रीमतीबीच हुने साँचो र अटल प्रेममा यी सबै कुरा समावेश छन्‌। तर दम्पतीले आफ्नो माया मनमा राखेर मात्र पुग्दैन, एकअर्कालाई व्यक्त गर्नुपर्छ। दैनिक कामकुरामा जत्ति नै व्यस्त भए पनि दम्पतीले आफ्नो बोली र व्यवहारबाट एकअर्कालाई प्रेम गर्नुपर्छ। यसो गर्दा वैवाहिक जीवन सुखी हुन्छ अनि एकअर्काप्रतिको भरोसा पनि बढ्छ। कुनै-कुनै समाजमा आमाबुबाले नै छोराछोरीको लागि दुलहा वा दुलही खोजिदिन्छन्‌। यसरी विवाह गर्नेहरूले सुरु-सुरुमा एकअर्कालाई राम्ररी चिनेका हुँदैनन्‌। तर तिनीहरूले आफ्नो बोली र व्यवहारबाट निरन्तर प्रेम व्यक्त गरेमा सम्बन्ध बलियो हुन्छ।

१०. आफ्नो जीवनसाथीले प्रेम व्यक्त गरेका क्षणहरू सम्झँदा के फाइदा हुन्छ?

१० एकअर्कालाई प्रेम व्यक्त गर्दा अर्को फाइदा पनि हुन्छ। त्यो हो, एकअर्काप्रति वफादार रहन मदत पुग्छ अनि प्रेम अझ गाढा हुन्छ। राजा सुलेमानले शुलम्मेनी युवतीलाई “चाँदीका दानाले जडेका सुनका बाटेका हार” बनाइदिने लोभ देखाएर उनको मन जित्न खोजे। सुलेमानले उनलाई “सूर्यझैं चहकिलो, ताराहरूले भरिएको आकाशझैं प्रतापी” छ्यौ भनेर फुरुङ्ङ पार्ने कोसिस गरे। (श्रेष्ठ. १:९-११; ६:१०) तैपनि ती युवती आफ्नो प्रेमीप्रति वफादार रहिन्‌। बिछोडको पीडा सहन र  वफादार रहन उनलाई केले मदत गऱ्यो? उनको प्रेमीले व्यक्त गरेका मायाका शब्दहरूले। (श्रेष्ठगीत १:२, ३ पढ्नुहोस्) उनको लागि ती शब्दहरू “दाखमद्यभन्दा पनि मीठो” भयो। उनको मन हर्षले भरियो। आफ्नो प्रेमीको नाम सम्झँदा उनलाई शिरमा ‘अत्तर खन्याएको’ जस्तै आनन्द लाग्यो। (भज. २३:५; १०४:१५) आफ्नो जीवनसाथीले प्रेम व्यक्त गरेका क्षणहरू सम्झँदा एकअर्काप्रति वफादार रहन मदत पुग्छ अनि प्रेम अझ गाढा हुन्छ। त्यसकारण दम्पतीले एकअर्कालाई स्नेह देखाउनु महत्त्वपूर्ण छ।

‘आफूले नचाहेसम्म प्रेमलाई नजगाओ’

११. अविवाहित ख्रीष्टियनहरूले शुलम्मेनी युवतीबाट के सिक्न सक्छन्‌?

११ श्रेष्ठगीतको किताबबाट अविवाहित ख्रीष्टियनहरूले, त्यसमध्ये पनि विवाह गर्ने विचार गरिरहेकाहरूले महत्त्वपूर्ण पाठ सिक्न सक्छन्‌। शुलम्मेनी युवती सुलेमानलाई प्रेम गर्दैन थिइन्‌। त्यसकारण “आफूले नचाहेसम्म” अर्थात्‌ आफू तयार नभएसम्म ‘प्रेम नजगाउन’ उनले यरूशलेमका छोरीहरूलाई अनुरोध गरिन्‌। (श्रेष्ठ. २:७; ३:५) उनले किन त्यस्तो अनुरोध गरिन्‌? किनकि जो-कोहीसँग रोमान्टिक सम्बन्ध बढाउनु उचित होइन। विवाह गर्ने विचार गरिरहेका ख्रीष्टियन पुरुष वा स्त्रीले आफूले साँच्चै माया गर्न सक्ने व्यक्ति नभेटेसम्म धैर्य गर्नुपर्छ।

१२. शुलम्मेनी युवतीले गोठालोलाई किन प्रेम गर्थिन्‌?

१२ गोठालो सुन्दर थिए। त्यसैले तिनको प्रेमिकाले तिनलाई “जवान घोरल”-सित तुलना गरिन्‌। तिनका हात “सुनका लहुरो”-जस्तै बलिया अनि तिनका खुट्टा “सङ्गमरमरका खामाहरूजस्तै” सुन्दर र दह्रो छन्‌ भनेर उनले प्रशंसा गरिन्‌। तर ती गोठालो सुन्दर वा बलियो भएकोले मात्र शुलम्मेनी युवतीले तिनलाई मन पराएकी हुन्‌ त? त्यस्तो त होइन। आफ्नो प्रेमीले यहोवालाई माया गर्छन्‌ र तिनमा राम्रा गुणहरू छन्‌ भनेर ती युवतीलाई थाह थियो। त्यसैले उनले तिनको विषयमा यसो भनिन्‌, “जङ्गलका रूखहरूका बीचमा स्याउको रूखजस्तै पुरुषहरूका बीचमा मेरा प्रिय हुनुहुन्छ।”—श्रेष्ठ. २:३, ९; ५:१४, १५.

१३. गोठालोले शुलम्मेनी युवतीलाई किन प्रेम गर्थे?

१३ गोठालोले शुलम्मेनी युवतीलाई किन प्रेम गर्थे? उनी असाध्यै राम्री थिइन्‌। त्यसैले साठीवटी राजकुमारी, अस्सीवटी स्त्री र अनगिन्ती युवतीसित विवाह गरिसकेका राजासमेत उनलाई देखेर मोहित भएका थिए। तर उनले आफूलाई शारोन बेसीमा फुल्ने साधारण फूलसित तुलना गरिन्‌। ती युवती नम्र थिइन्‌। त्यसैले उनले आफ्नो सौन्दर्यमा घमन्ड गरिनन्‌। तैपनि उनको प्रेमीको लागि उनी “काँढाहरूका बीचमा उम्रेको लिली-फूल”-जस्तै विशेष थिइन्‌। किनकि उनी यहोवाप्रति वफादार थिइन्‌।—श्रेष्ठ. २:१, २; ६:८.

१४. विवाह गर्ने विचार गरिरहेका ख्रीष्टियनहरूले श्रेष्ठगीतको किताबबाट के सिक्न सक्छन्‌?

 १४ ख्रीष्टियनहरूले “प्रभुको चेलासित मात्र” विवाह गर्नुपर्छ भनेर बाइबलले तोकेरै आज्ञा दिएको छ। (१ कोरि. ७:३९) विवाह गर्ने विचार गरिरहेका ख्रीष्टियनहरूले बेग्लै धर्म मान्ने व्यक्तिसित रोमान्टिक सम्बन्ध गाँस्नु हुँदैन। बरु परमेश्वरका वफादार जनहरूमाझ नै आफ्नो लागि उपयुक्त जीवनसाथी खोज्नुपर्छ। जीवनमा जतिसुकै उतारचढाव सामना गर्नुपरे तापनि श्रीमान्‌-श्रीमती आपसमा मिलेर बस्न र दुवैले यहोवाको सेवा गर्न सक्छन्‌। तर त्यसको लागि दुवैले यहोवामा विश्वास गर्नु र उहाँको भक्ति गर्नु जरुरी छ। विवाह गर्ने विचार गरिरहेका ख्रीष्टियनहरूले आफ्नो सम्भाव्य जीवनसाथीमा त्यस्ता गुणहरू हेर्नुपर्छ। शुलम्मेनी युवती र गोठालोले पनि एकअर्कामा त्यस्ता गुणहरू देखेका थिए।

ख्रीष्टियनहरूले बेग्लै धर्म मान्ने व्यक्तिसित रोमान्टिक सम्बन्ध गाँस्नु हुँदैन (अनुच्छेद १४ हेर्नुहोस्)

मेरी दुलही “ढोका लाएको बगैंचाजस्तै छिन्‌”

१५. शुलम्मेनी युवतीबाट अविवाहित ख्रीष्टियनहरूले के सिक्न सक्छन्‌?

१५ श्रेष्ठगीत ४:१२ पढ्नुहोस्। गोठालोले किन आफ्नी प्रेमिकालाई “ढोका लाएको बगैंचा”-सित तुलना गरे? पर्खाल वा बार लगाइएको बगैंचामा जो-कोही छिर्न पाउँदैन। बगैंचाभित्र पस्न बन्द गरिराखेको ढोका खोलेर जानुपर्छ। ती शुलम्मेनी युवती ढोका लगाएको बगैंचाजस्तै थिइन्‌ किनकि उनले आफ्नो माया भावी श्रीमान्‌ अर्थात्‌ गोठालोको लागि मात्र साँचेर राखेकी थिइन्‌। राजाको फकाइफुस्ल्याइमा नपरेर उनले आफू “पर्खाल”-जस्तो भएको साबित गरिन्‌, सजिलै खोल्न सकिने “ढोका”-जस्तो होइन। (श्रेष्ठ. ८:८-१०) अविवाहित ख्रीष्टियनहरूले पनि आफ्नो माया र स्नेह भावी जीवनसाथीको लागि साँचेर राख्छन्‌।

१६. विवाहअघि भेटघाट गर्दा होसियार हुनुपर्ने कुराबारे श्रेष्ठगीतको किताबबाट के सिक्न सकिन्छ?

१६ एकपटक वसन्त ऋतुमा गोठालोले आफ्नी प्रेमिकालाई घुम्न जाने प्रस्ताव राख्छन्‌। तर उनका दाइहरूले उनलाई जान दिंदैनन्‌। बरु दाखबारीको हेरचाह गर्न पठाउँछन्‌। किन? आफ्नी बहिनीको भर नलागेर हो कि? अथवा बहिनीले आफ्नो चरित्रमा दाग लाग्न सक्ने काम गर्लिन्‌ भन्ने शङ्का लागेर पो हो कि? वास्तवमा आफ्नी बहिनी गलत काम गर्ने परिस्थितिमा नपरोस् भनेर तिनीहरूले सावधानी अपनाएका थिए। (श्रेष्ठ. १:६; २:१०-१५) यसबाट तपाईं अविवाहित ख्रीष्टियनहरूले महत्त्वपूर्ण पाठ सिक्न सक्नुहुन्छ। विवाहअघि आफ्नो प्रेमी वा प्रेमिकासित भेटघाट गर्दा आफूलाई बिटुलो पार्ने कुनै पनि काम गर्नदेखि होसियार हुनुहोस्। तपाईंहरू दुई जनाबाहेक अरू कोही पनि नहुने ठाउँमा नजानुहोस्। हुन त एकअर्कालाई उचित तरिकामा स्नेह देखाउनु ठीकै होला, तर गलत काम गर्न सक्ने अवस्थामा पुग्नदेखि भने जोगिनुहोस्।

१७, १८. श्रेष्ठगीतको किताबबाट तपाईंले के सिक्नुभयो?

१७ भर्खरै विवाह गरेका ख्रीष्टियन दम्पतीबीच माया र स्नेह हुनु स्वाभाविकै हो। तर विवाहको सुरुवातकर्ता यहोवा उनीहरूको सम्बन्ध दिगो होस् भन्ने चाहनुहुन्छ। त्यसकारण श्रीमान्‌-श्रीमतीले प्रेमलाई प्रगाढ बनाउँदै लैजाने कोसिस गर्नुपर्छ र प्रेमको ज्वालालाई निभ्न दिनु हुँदैन।—मर्कू. १०:६-९.

१८ तपाईं विवाह गर्ने विचार गर्दै हुनुहुन्छ भने आफूले साँच्चै माया गर्न सक्ने व्यक्ति खोज्नुहोस्। आफूले खोजेजस्तै व्यक्ति भेटेपछि प्रेमको ज्वाला अझ बढाउन र त्यसलाई दिगो बनाउन कोसिस गर्नुहोस्। तपाईं विवाहित हुनुहुन्छ होला वा विवाह गर्ने तरखर गर्दै हुनुहुन्छ होला; तपाईंको जीवनमा कहिल्यै साँचो प्रेमको कमी नहोस्, जुन प्रेम “याहको ज्वाला” हो।—श्रेष्ठ. ८:६.

^ अनु. 2 जनवरी १५, २००७ को प्रहरीधरहरा (अङ्ग्रेजी), पृष्ठ ३१ हेर्नुहोस्।

^ अनु. 6 The New Interpreter’s Dictionary of the Bible

^ अनु. 7 एसिया महादेशको इजरायल, प्यालेस्टाइनलगायत अन्य अरबी भूभाग।

^ अनु. 7 श्रेष्ठगीत ५:१२ (ERV): “उहाँका आँखाहरू खोलाको किनारमा बसिरहेका ढुकुरजस्ता छन्‌, उहाँका आँखाहरू दूधमा डुबेका ढुकुरहरूजस्ता छन्‌।”