अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) डिसेम्बर २०१४

पाठकहरूको प्रश्न

पाठकहरूको प्रश्न

यर्मियाले राहेल आफ्ना बालकहरूका निम्ति रोएको कुरा बताउँदा तिनले के भन्न खोजिरहेका थिए?

यर्मिया ३१:१५ मा यस्तो लेखिएको छ, “परमप्रभु भन्नुहुन्छ, ‘रामामा एउटा शब्द सुनियो, विलाप र चर्को रोदन, राहेल आफ्ना बालकहरूका निम्ति रुन्छे, त्यो शान्त हुनै मान्दिन, किनकि तिनीहरू रहेनन्‌।’”

राहेल तिनका दुई छोराभन्दा अघि मरेकी थिइन्‌। त्यसैले तिनको मृत्यु भएको १,००० वर्षपछि यर्मियाले लेखेको यो कुरा गलतजस्तो देखिन सक्छ।

राहेलका जेठा छोरा यूसुफ थिए। (उत्प. ३०:२२-२४) पछि तिनका अर्का छोरा बिन्यामीन पनि जन्मे। तर बिन्यामीन जन्मेपछि राहेलको मृत्यु भयो। त्यसैले प्रश्न उठ्छ, यर्मिया ३१:१५ मा राहेल आफ्ना बालकहरू ‘नरहेकोले’ रुन्छिन्‌ भन्नुको अर्थ के हो?

राहेलका जेठा छोरा यूसुफका दुई जना छोरा जन्मे। तिनीहरूका नाम मनश्शे र एप्रैम थियो। (उत्प. ४१:५०-५२; ४८:१३-२०) पछि एप्रैमको कुल इस्राएलको उत्तरी राज्यको सबैभन्दा शक्तिशाली कुल बन्यो र यस कुलले दस गोत्रे राज्यमाथि ठूलो प्रभाव जमायो। राहेलका कान्छा छोरा बिन्यामीनको कुल यहूदासँगै दक्षिणी राज्यको भाग बन्यो। त्यसकारण राहेलले इस्राएलको उत्तरी राज्य र दक्षिणी राज्यका सबै आमाहरूलाई सङ्केत गर्छ।

यर्मियाको किताब लेखिंदा इस्राएलको दस गोत्रे राज्य अश्शूरीहरूको कब्जामा परिसकेको थियो र धेरैजसो मानिसलाई कैद गरेर लगिएको थियो। तर केही एप्रैमीहरू यहूदा राज्यमा भागेर गएका हुन सक्छन्‌। यहूदाको दुई गोत्रे राज्य ईसापूर्व ६०७ मा बेबिलोनीहरूको हातमा पऱ्यो र थुप्रैलाई कैद गरेर लगियो। तिनीहरूमध्ये थुप्रैलाई यरूशलेमदेखि आठ किलोमिटर उत्तरमा पर्ने रामामा लगिएको हुन सक्छ। (यर्मि. ४०:१) केहीलाई बिन्यामीनको इलाकामा मारिएको हुन सक्छ, जहाँ राहेलको चिहान थियो। (१ शमू. १०:२) त्यसैले राहेल आफ्ना बालकहरूका निम्ति रुनुले सबै बिन्यामिनीहरूको लागि वा रामामा मारिएका बिन्यामीनीहरूको लागि राहेलले प्रतीकात्मक रूपमा शोक मनाएको घटनालाई सङ्केत गर्छ। यसले अर्को घटनालाई पनि सङ्केत गरेको हुन सक्छ। त्यो हो, इस्राएलीहरूलाई मारिंदा वा कैदमा लगिंदा इस्राएलका सबै आमाहरू रोएको घटना।

राहेल आफ्ना बालकहरूका निम्ति रुनुले सयौं वर्षपछि भएको घटनालाई पनि बुझाउँछ। त्यतिबेला येशू सानो हुनुहुन्थ्यो र उहाँको जीवन खतरामा परेको थियो। राजा हेरोदले यरूशलेमको दक्षिणतिर पर्ने बेतलेहेमका दुई वर्षमुनिका बालकहरूलाई मार्ने आदेश दिए। ती बालकहरू रहेनन्‌ किनकि तिनीहरू मारिए। छोराहरू मारिएकोमा आमाहरूले कति शोक गरे होलान्‌, कल्पना गर्नुहोस् त! उनीहरू ठूलो स्वरले रोएको हुनाले त्यो आवाज यरूशलेमको उत्तरमा पर्ने रामासम्मै सुनिएसरह भयो।—मत्ती २:१६-१८.

त्यसकारण राहेल आफ्ना बालकहरूका निम्ति रुन्छे भन्ने अभिव्यक्तिले दुइटा घटनालाई राम्ररी बुझाएको छ। त्यो हो: यर्मियाको समयमा र येशूको समयमा यहूदी आमाहरूले आफ्ना बालकहरूको हत्याको कारण गरेको शोक। ती मरेकाहरू अर्थात्‌ “शत्रुको देश”-मा गएकाहरू फर्केर आउनेछन्‌। यसको अर्थ, तिनीहरू पुनर्जीवित हुनेछन्‌।—यर्मि. ३१:१६; १ कोरि. १५:२६.