सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) डिसेम्बर २०१४

‘सुन्नुहोस् र अर्थ बुझ्नुहोस्’

‘सुन्नुहोस् र अर्थ बुझ्नुहोस्’

“तिमीहरू सबै मेरो कुरा सुन अनि त्यसको अर्थ बुझ।”—मर्कू. ७:१४.

१, २. येशूको कुरा किन धेरैले बुझेनन्‌?

कुनै मानिस हामीसित बोल्दा हामी तिनको आवाज सुन्छौं; स्वर पनि ठम्याउन सक्छौं। तर तिनले भनेको कुरै बुझेनौं भने केही फाइदा हुन्छ र? (१ कोरि. १४:९) त्यसैगरि, हजारौंले येशूले भन्नुभएको कुरा सुने। उहाँले तिनीहरूसित तिनीहरूकै भाषामा कुरा गर्नुभएको थियो। तर उहाँको कुरा कसै-कसैले मात्र बुझे। त्यसैले उहाँले आफ्ना श्रोतालाई यसो भन्नुभयो, “तिमीहरू सबै मेरो कुरा सुन अनि त्यसको अर्थ बुझ।”—मर्कू. ७:१४.

येशूको कुरा किन धेरैले बुझेनन्‌? कतिपयको आफ्नै विचारधारा थियो। कतिपय भने गलत मनसायले येशूको कुरा सुन्न आएका थिए। तिनीहरूलाई येशूले यसो भन्नुभयो, “आफ्नो परम्परा टिकाइराख्न तिमीहरू परमेश्वरको आज्ञालाई चतुऱ्याइँसित पन्छाउँछौ।” (मर्कू. ७:९) वास्तवमा तिनीहरूले येशूले भन्नुभएको कुरा बुझ्नै चाहेनन्‌। तिनीहरू आफ्नो परम्परा र विचारधारा बदल्न चाहँदैनथे। तिनीहरूले सुन्न त सुने तर सुनेको कुरा तिनीहरूको मनसम्म पुगेन। (मत्ती १३:१३-१५ पढ्नुहोस्) येशूले सिकाउनुभएको कुरा बुझ्न हामी कसरी सधैं इच्छुक हुन सक्छौं?

 येशूको शिक्षाबाट कसरी लाभ उठाउन सक्छौं?

३. येशूका चेलाहरूले उहाँले सिकाउनुभएको कुरा बुझ्नुको कारण के-के हुन्‌?

हामीले येशूका चेलाहरूको अनुकरण गर्नुपर्छ। तिनीहरू नम्र थिए। तिनीहरूलाई येशूले यसो भन्नुभयो, “तिमीहरू आनन्दित हौ किनभने तिमीहरूका आँखाले देख्छन्‌ र तिमीहरूका कानले सुन्छन्‌।” (मत्ती १३:१६) येशूका चेलाहरूले उहाँले सिकाउनुभएको कुरा बुझ्नुको कारण के थियो? यसका तीनवटा कारण छन्‌। पहिलो, तिनीहरूले प्रश्न सोध्थे र येशूको कुरा बुझ्ने प्रयास गर्थे। (मत्ती १३:३६; मर्कू. ७:१७) दोस्रो, तिनीहरू आफूले सिकेको नयाँ कुरा पहिला सिकिसकेको कुरासित कसरी सम्बन्धित छ भनेर विचार गर्थे। (मत्ती १३:११, १२ पढ्नुहोस्) तेस्रो, तिनीहरू आफूले सिकेको कुरा जीवनमा लागू गर्थे अनि अरूलाई मदत गर्न पनि ती कुराहरू चलाउँथे।—मत्ती १३:५१, ५२.

४. येशूले बताउनुभएको दृष्टान्त बुझ्न हामी कुन तीनवटा कदम चाल्न सक्छौं?

येशूले बताउनुभएको दृष्टान्त अर्थात्‌ उदाहरण बुझ्न चाहन्छौं भने उहाँका वफादार चेलाहरूको देखासिकी गर्नुपर्छ। यसको लागि तीनवटा कदम चाल्न सक्छौं। पहिलो, येशूले भन्नुभएको कुरा अध्ययन गर्न र मनन गर्न समय निकाल्नुपर्छ; अनुसन्धान गर्नुपर्छ र सुहाउँदो प्रश्नहरू सोध्नुपर्छ। यसो गऱ्यौं भने ज्ञान पाउन सक्छौं। (हितो. २:४, ५) दोस्रो, आफूले पाएको ज्ञान पहिल्यै सिकिसकेको कुरासित कसरी सम्बन्धित छ र त्यसबाट कस्तो लाभ उठाउन सक्छौं भनेर विचार गर्नुपर्छ। यसो गर्नु नै समझशक्ति चलाउनु हो। (हितो. २:२, ३) तेस्रो, हामीले सिकेको कुरा जीवनमा लागू गर्नुपर्छ। यसो गर्दा बुद्धि चलाइरहेका हुन्छौं।—हितो. २:६, ७.

५. ज्ञान, समझशक्ति र बुद्धिबीच के फरक छ? उदाहरण दिनुहोस्।

ज्ञान, समझशक्ति र बुद्धिबीच के फरक छ? यो कुरा बुझ्न हामी एउटा उदाहरण विचार गरौं। मानिलिनुहोस् तपाईं बिच बाटोमा उभिरहनुभएको छ। एउटा गाडी तपाईं भएतिर आउँदै छ। सबैभन्दा पहिला, तपाईं भएतिर आइरहेको कुरा गाडी हो भनी चिन्नुहुन्छ। त्यो ज्ञान हो। त्यसपछि, तपाईं त्यहाँ उभिरहनुभयो भने गाडीले किच्छ भनी विचार गर्नुहुन्छ। त्यो समझशक्ति हो। अन्तमा, तपाईं त्यहाँबाट तुरुन्तै हट्नुहुन्छ। त्यसो गर्नु भनेको बुद्धि चलाउनु हो। त्यसैले बाइबलले हामीलाई ‘बुद्धिलाई जोगाइराख्न’ सल्लाह दिएको छ किनभने यसले हाम्रो ज्यान बचाउँछ।—हितो. ३:२१, २२, NRV; १ तिमो. ४:१६.

६. येशूले बताउनुभएको सातवटा दृष्टान्त छलफल गर्दा हामी आफैलाई कस्ता प्रश्नहरू सोध्न सक्छौं? (पृष्ठ ८ को  पेटी हेर्नुहोस्)

यो र यसपछिको लेखमा हामी येशूले बताउनुभएको सातवटा दृष्टान्त छलफल गर्नेछौं। छलफल गर्दा हामी यी प्रश्नहरूबारे विचार गर्न सक्छौं: यो दृष्टान्तको अर्थ के हो? (यसले ज्ञान पाउन मदत गर्छ।) येशूले किन यो दृष्टान्त चलाउनुभयो? (यसले समझशक्ति पाउन मदत गर्छ।) आफूले सिकेको कुरा कसरी लागू गर्न सक्छौं र अरूलाई मदत गर्न कसरी प्रयोग गर्न सक्छौं? (यो बुद्धि हो।) अनि यसले यहोवा र येशूबारे के सिकाउँछ?

रायोको दानाको दृष्टान्त

७. रायोको दानाको दृष्टान्तको अर्थ के हो?

मत्ती १३:३१, ३२ पढ्नुहोस्। रायोको दानाको दृष्टान्तको अर्थ के हो? रायोको दानाले हामीले प्रचार गर्ने राज्यको सुसमाचार र ख्रीष्टियन मण्डलीलाई बुझाउँछ। रायोको दाना “बीउहरूमध्ये सबैभन्दा सानो” भएजस्तै इस्वी संवत्‌ ३३ पेन्तिकोसमा ख्रीष्टियन मण्डली सुरु हुँदा यो सानो थियो। तर केही समयभित्रै मण्डलीहरू छिटो-छिटो बढ्न थाले र आशा गरेभन्दा  धेरै भए। (कल. १:२३) येशूले भन्नुभएझैं “आकाशका चराचुरुङ्गी आएर यसका हाँगाहरूमा बास बस्छन्‌।” यी चराचुरुङ्गीले असल मन भएका मानिसहरूलाई बुझाउँछ। तिनीहरूले ख्रीष्टियन मण्डलीमा आध्यात्मिक भोजन, छाया र बास पाएका छन्‌।—इजकिएल १७:२३ तुलना गर्नुहोस्।

८. येशूले किन रायोको दानाको दृष्टान्त चलाउनुभयो?

येशूले किन यो दृष्टान्त चलाउनुभयो? परमेश्वरको राज्य बढ्दै जान्छ, यसले सुरक्षा दिन्छ र बाधा-अवरोधलाई जित्छ भनेर बुझाउन येशूले रायोको दानाको दृष्टान्त चलाउनुभयो। सन्‌ १९१४ देखि परमेश्वरको सङ्गठनको दृश्य भाग झन्‌झनै ठूलो हुँदै छ। (यशै. ६०:२२) मण्डलीसित सङ्गत गर्नेहरू आध्यात्मिक रूपमा सुरक्षित छन्‌। (हितो. २:७; यशै. ३२:१, २) अनि खेदोको बाबजुद राज्यसम्बन्धी सम्पूर्ण गतिविधि निरन्तर चलिरहेको छ।—यशै. ५४:१७.

९. (क) रायोको दानाको दृष्टान्तबाट हामी के सिक्न सक्छौं? (ख) यस दृष्टान्तबाट यहोवा र येशूबारे तपाईंले के सिक्नुभयो?

रायोको दानाको दृष्टान्तबाट हामी के सिक्न सक्छौं? हाम्रो इलाकामा यहोवाका साक्षीहरू थोरै मात्र छन्‌ होला वा वृद्धि पनि त्यति भएको छैन होला। तर यहोवाको राज्यले जस्तोसुकै बाधा-अवरोधलाई पनि जित्न सक्छ भन्ने कुरा मनमा राख्दा हामी धीरजी हुन सक्छौं। उदाहरणको लागि, भाइ एड्विन स्किनर १९२६ मा भारत आउनुभयो। त्यतिबेला त्यहाँ यहोवाका साक्षीहरू थोरै मात्र थिए र प्रगति पनि बिस्तारै भइरहेको थियो। त्यसैले प्रचार गर्न सजिलो थिएन। तैपनि उहाँले प्रचार गर्न छोड्नुभएन र विभिन्न बाधा-अवरोध आए पनि सुसमाचार फैलँदै गएको देख्नुभयो। अहिले भारतमा ३७,००० साक्षी छन्‌ अनि २०१३ मा येशूको मृत्युको वार्षिकीमा १ लाख ८ हजारभन्दा धेरै मानिस आए। राज्य गतिविधि कसरी बढ्दै गयो भन्नेबारे अर्को उदाहरण पनि विचार गरौं। भाइ स्किनर भारत आउनुभएकै वर्षमा जाम्बियामा पनि प्रचारकार्य भर्खरै मात्र सुरु भएको थियो। अहिले त्यहाँ १ लाख ७० हजार साक्षी छन्‌। सन्‌ २०१३ मा येशूको मृत्युको वार्षिकीमा ७ लाख ६३ हजार ९ सय १५ जना आए। यसको अर्थ जाम्बियाको प्रत्येक १८ जनामा १ जना आए। यो उल्लेखनीय वृद्धि हो।

 खमिरको दृष्टान्त

१०. खमिरको दृष्टान्तको अर्थ के हो?

१० मत्ती १३:३३ पढ्नुहोस्। खमिरको दृष्टान्तको अर्थ के हो? येशूले दृष्टान्तमा चलाउनुभएको खमिर रोटी फुलाउन प्रयोग गरिने एक किसिमको पदार्थ हो। यो दृष्टान्तले राज्यको सुसमाचारलाई र त्यसले मानिसहरूको जीवनमा पार्ने प्रभावलाई बुझाउँछ। “पूरै पीठो”-ले सारा राष्ट्रका मानिसहरूलाई बुझाउँछ र खमिर फैलिने प्रक्रियाले प्रचारकार्यले गर्दा राज्यको सुसमाचार फैलिने कुरालाई बुझाउँछ। रायोको दाना बढेको प्रस्टै देखिन्छ। तर पीठोमा खमिर फैलिएको भने झट्टै देखिंदैन।

११. येशूले किन खमिरको दृष्टान्त चलाउनुभयो?

११ येशूले किन यो दृष्टान्त चलाउनुभयो? राज्यको सुसमाचार “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाका”-सम्म फैलिन्छ र यसले मानिसहरूमा परिवर्तन ल्याउँछ भनेर येशूले बताउन खोज्दै हुनुहुन्थ्यो। (प्रेषि. १:८) मानिसहरूमा आउने परिवर्तन झट्टै देखिंदैन। तर परिवर्तन भने भइरहेको हुन्छ। अहिले संसारभरका थुप्रै मानिसले सुसमाचार स्वीकारिरहेका छन्‌ र तिनीहरूको व्यक्तित्व पनि परिवर्तन भइरहेको छ।—रोमी १२:२; एफि. ४:२२, २३.

१२, १३. खमिरको दृष्टान्तले देखाएझैं सुसमाचार कसरी फैलिएको छ, उदाहरण दिनुहोस्।

१२ प्रचारकार्यले मानिसहरूमा पार्ने प्रभाव वर्षौंपछि देखिन सक्छ। उदाहरणको लागि, पहिला ब्राजिलको शाखा कार्यालयमा सेवा गरेका एक दम्पती फ्रान्ज र मार्गिटले १९८२ मा एउटा सानो सहरमा प्रचार गरे। अहिले तिनीहरू अर्कै शाखामा सेवा गर्दै छन्‌। ब्राजिलमा छँदा तिनीहरूले एउटी आमा र उनका चार छोराछोरीलाई बाइबल अध्ययन गराउँथे। त्यतिबेला जेठो छोरा १२ वर्षको थियो। ऊ लजालु थियो। अध्ययन गराउन जाँदा ऊ लुक्थ्यो। तर पछि ती दम्पतीको असाइनमेन्ट परिवर्तन भएकोले तिनीहरूले त्यो परिवारलाई अध्ययन गराउन सकेनन्‌। तिनीहरू त्यही ठाउँमा २५ वर्षपछि जाँदा त्यहाँ मण्डली स्थापना भइसकेको पाए। मण्डलीमा ६९ प्रकाशक थिए र त्यसमध्ये १३ जना त नियमित अग्रगामी थिए। त्यहाँ राज्यभवन पनि बनिसकेको थियो। अहिले ती लजालु केटा एल्डरहरूको निकायको संयोजक हुन्‌। यो अनुभवले देखाएजस्तै राज्यको सुसमाचार खमिरसरि फैलिएको छ र यसले मानिसहरूलाई परिवर्तन गरेको छ।

१३ हाम्रो काममा प्रतिबन्ध लगाइएका देशहरूमा समेत राज्यको सुसमाचारले मानिसहरूलाई परिवर्तन गर्न सकेको छ। त्यस्ता ठाउँहरूमा सुसमाचार कसरी व्यापक रूपमा फैलियो भनी बुझ्न गाह्रो छ तर यसको नतिजा देख्दा हामी तीनछक पर्छौं। उदाहरणको लागि, क्युबामा राज्यको सुसमाचार १९१० मा पुगेको थियो। सन्‌ १९१३ मा भाइ रसल त्यहाँ जानुभएको थियो। सुरु-सुरुमा त त्यहाँ प्रगति नै नभएको जस्तो देखिन्थ्यो। तर अहिले नि? त्यहाँ ९६ हजार प्रकाशक छन्‌ अनि २०१३ को येशूको मृत्युको वार्षिकीमा २ लाख २९ हजार ७ सय २६ जना आए। यसको अर्थ क्युबाको प्रत्येक ४८ जनामा १ जना उपस्थित भए। प्रतिबन्ध नलागेका देशहरूमा पनि कुनै-कुनै इलाकामा सुसमाचार नपुगेको जस्तो देखिएला। तर त्यस्तो इलाकामा समेत सुसमाचार पुगेको हुन सक्छ। *उप. ८:७; ११:५.

१४, १५. (क) खमिरको दृष्टान्तमा येशूले सिकाउनुभएको कुराबाट हामी कस्तो लाभ उठाउन सक्छौं? (ख) यस दृष्टान्तबाट यहोवा र येशूबारे तपाईंले के सक्नुभयो?

१४ खमिरको दृष्टान्तमा येशूले सिकाउनुभएको  कुराबाट हामी कस्तो लाभ उठाउन सक्छौं? येशूले चलाउनुभएको दृष्टान्तमा मनन गऱ्यौं भने सुसमाचार सुन्दै नसुनेका लाखौं मानिसकहाँ सुसमाचार कसरी पुग्ला भनेर चिन्ता गरिरहनु पर्दैन भन्ने कुरा थाह पाउँछौं। सबै कुरा यहोवाको हातमा छ। त्यसोभए हाम्रो काम के हो? बाइबल यसो भन्छ, “बिहान समयमानै बीउ छर्, र बेलुकी साँझसम्म आफ्नो काम गर्न न छोड, किनभने अहिले छरेको अथवा भरै छरेको कुनचाहिं सफल हुन्छ, अथवा दुवै नै राम्रो हुन्छन्‌ होला भनी तँ जान्दैनस्।” (उप. ११:६) साथै, प्रतिबन्ध लागेका देशहरू लगायत अरू देशहरूमा प्रचारकार्य फैलँदै जाओस् भनेर प्रार्थना गरिरहनुपर्छ।—एफि. ६:१८-२०.

१५ हामीले प्रचार गरेको इलाकामा तुरुन्तै वृद्धि भएन भने पनि निराश हुनु पर्दैन। हामीले ‘कामको क्षुद्र हिसाबले भएको सुरुवातलाई’ तुच्छ ठान्नुहुँदैन। (जक. ४:१०) यसको नतिजा हामीले सोचेकोभन्दा कता हो कता राम्रो हुन सक्छ।—भज. ४०:५; जक. ४:७.

व्यापारी र लुकाइराखेको धनको दृष्टान्त

१६. व्यापारी र लुकाइराखेको धनको दृष्टान्तको अर्थ के हो?

१६ मत्ती १३:४४-४६ पढ्नुहोस्। व्यापारी र लुकाइराखेको धनको दृष्टान्तको अर्थ के हो? येशूको समयमा व्यापारीहरू उच्चकोटिको मोती खोज्न टाढा-टाढासम्म यात्रा गर्थे। असल मोती खोज्दै हिंड्ने व्यापारीले सत्य खोजिरहेका असल मन भएका मानिसहरूलाई बुझाउँछ। “उच्चकोटिको एउटा मोती”-ले राज्यसित सम्बन्धित बहुमूल्य सत्यलाई बुझाउँछ। बहुमूल्य मोती किन्न त्यो व्यापारीले आफूसित भएको सबै थोक “तुरुन्तै” बेच्यो। येशूले खेतमा काम गरिरहेको मानिसबारे पनि बताउनुभयो, जसले “लुकाइराखेको” धन फेला पाऱ्यो। व्यापारीले मोती खोजेजस्तै उसले धन खोजिरहेको त थिएन। तर उसले पनि लुकाइराखेको धन पाउन “सबै थोक” बेच्यो।

१७. येशूले किन व्यापारी र लुकाइराखेको धनको दृष्टान्त चलाउनुभयो?

१७ येशूले किन यी दुइटा दृष्टान्त चलाउनुभयो? मानिसहरूले सत्य विभिन्न तरिकामा फेला पार्न सक्छन्‌। कोही-कोहीले सत्य खोजिरहेका हुन्छन्‌ र त्यो फेला पार्न निकै प्रयास गर्छन्‌। कोही-कोहीले भने सत्य नखोजे पनि त्यो फेला पार्छन्‌। कसरी? तिनीहरूले कसैबाट सुसमाचार सुन्ने मौका पाउन सक्छन्‌। बहुमूल्य कुरा जुनसुकै तरिकाले फेला पारेको भए पनि दृष्टान्तको दुवै जना मानिसले आफूले फेला पारेको कुरा कति बहुमूल्य छ भनेर बुझे र त्यो किन्न ठूलो त्यागसमेत गरे।

१८. (क) यी दुइटा दृष्टान्तबाट कस्तो लाभ उठाउन सक्छौं? (ख) यी दुइटा दृष्टान्तबाट तपाईंले यहोवा र येशूबारे के सिक्नुभयो?

१८ यी दुइटा दृष्टान्तबाट कस्तो लाभ उठाउन सक्छौं? (मत्ती ६:१९-२१) आफैलाई यी प्रश्नहरू सोध्नुहोस्, ‘के म पनि ती दुई जना मानिसजस्तै छु? के म पनि बाइबलबाट सिकेको सत्यको मोल गर्छु? त्यो पाउनको लागि त्यागहरू गर्न तयार छु कि दैनिक कामकुरामै अलमलिएर बसछु?’ (मत्ती ६:२२-२४, ३३; लूका ५:२७, २८; फिलि. ३:८) हामी सत्यको साँच्चै मोल गर्छौं भने यसलाई जीवनमा पहिलो स्थानमा राख्न हर प्रयास गर्छौं।

१९. अर्को लेखमा हामी के छलफल गर्नेछौं?

१९ आज छलफल गरिएका दृष्टान्तहरू सुनेको र त्यसको अर्थ बुझेको कुरा आफ्नो जीवनशैलीबाट देखाइरहौं। हामीले ती दृष्टान्तहरू बुझेर मात्र पुग्दैन बरु त्यसबाट सिकेको कुरा जीवनमा लागू पनि गर्नुपर्छ। अर्को लेखमा हामी अरू तीनवटा दृष्टान्त छलफल गर्नेछौं र त्यसबाट केही महत्त्वपूर्ण पाठ सिक्नेछौं।

^ अनु. 13 प्रहरीधरहरा अनि अङ्ग्रेजी भाषाको वार्षिक पुस्तक-बाट यी देशहरूको अनुभव पनि पढ्नुहोस्: रबिनसन क्रूसो टापु (प्रहरीधरहरा, जून १५, २०००, पृष्ठ ९); अर्जेन्टिना (वार्षिक पुस्तक २००१, पृष्ठ १८६); पूर्व जर्मनी (वार्षिक पुस्तक १९९९, पृष्ठ ८३) अनि पापुआ न्यु गिनी (वार्षिक पुस्तक २००५, पृष्ठ ६३)