सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) डिसेम्बर २०१४

के तपाईंले आफ्नो सोचाइ बदल्नुपर्छ?

के तपाईंले आफ्नो सोचाइ बदल्नुपर्छ?

ख्रीष्टियन युवाहरूको एउटा समूहले फिल्म हेर्न जाने योजना बनाउँछ। स्कुलका साथीहरूबाट त्यो फिल्मको विषयमा सुन्दा तिनीहरूलाई फिल्म हेर्न जाऊँ-जाऊँ जस्तो लाग्छ। तर हलमा पुग्दा तिनीहरूले पोस्टरमा छाडा लुगा लगाएकी स्त्री अनि डरलाग्दा हतियारहरू देख्छन्‌। तिनीहरूले के गर्नेछन्‌? हलभित्र गएर फिल्म हेर्नेछन्‌?

यो उदाहरणले देखाएझैं हामीले हरेक दिन थुप्रै निर्णय गर्नुपर्ने हुन्छ। हामीले गर्ने निर्णयले यहोवा र हाम्रो मित्रता कि त बलियो बनाउँछ कि कमजोर। तपाईंले कुनै योजना बनाउनुहुन्छ होला तर परिस्थिति राम्ररी विचार गरेपछि आफ्नो निर्णय बदल्नुहुन्छ। यसको अर्थ के तपाईं निर्णय गर्ने सम्बन्धमा आलोकाँचो हुनुहुन्छ? कि आफ्नो निर्णय बदलेर ठीकै गर्नुभयो?

कस्तो अवस्थामा सोचाइ बदल्नु हुँदैन?

यहोवालाई माया गरेकोले हामीले उहाँलाई आफ्नो जीवन समर्पण गऱ्यौं अनि बप्तिस्मा गऱ्यौं। वफादार भई यहोवाको सेवा गर्न हामी मनैदेखि तयार छौं। तर हाम्रो शत्रु दियाबल हाम्रो निष्ठा तोड्न लागिपरेको छ। (प्रका. १२:१७) हामीले यहोवाको सेवा गर्ने र उहाँको आज्ञा मान्ने निर्णय गरेका छौं। तर आफ्नो निर्णय बदल्यौं भने जीवनसमेत गुमाउनुपर्ने हुन सक्छ।

आजभन्दा २,६०० वर्षअघि बेबिलोनका राजा नबुकदनेसरले अजङ्गको सुनको मूर्ति बनाए र त्यसलाई ढोग्न सबैलाई आदेश दिए। तर त्यसो गर्न नचाहनेहरूलाई आगोको भट्टीमा हालिने थियो। शद्रक, मेशक र अबेद्नगोले यहोवालाई माया गर्थे। त्यसैले तिनीहरूले त्यो आदेश मानेनन्‌। मूर्तिलाई नढोगेकोले तिनीहरूलाई आगोको भट्टीमा हालियो। तर यहोवाले तिनीहरूलाई बचाउनुभयो। तिनीहरूले यहोवाको मात्र सेवा गर्ने आफ्नो निर्णय बदलेनन्‌ बरु मर्न तयार भए।—दानि. ३:१-२७.

भविष्यवक्ता दानियलले यहोवालाई दिनमा तीनपटक प्रार्थना गर्थे। यहोवालाई प्रार्थना गरिरहेको कसैले देख्यो भने तिनलाई सिंहको खोरमा हालिने  थियो। तैपनि तिनले प्रार्थना गर्न छोडेनन्‌। साँचो परमेश्वरको भक्ति गर्ने आफ्नो निर्णय दानियलले बदलेनन्‌। त्यसैले यहोवाले ती अगमवक्तालाई “सिंहहरूको शक्तिदेखि” बचाउनुभयो।—दानि. ६:१-२७.

आज पनि यहोवाका सेवकहरूले आफ्नो समर्पणअनुसार जीवन बिताइरहेका छन्‌। अफ्रिकाको एउटा स्कुलमा केही विद्यार्थीहरू राष्ट्रिय प्रतीकको सामु झुक्न मानेनन्‌। ती विद्यार्थीहरू यहोवाका साक्षीहरू थिए। राष्ट्रिय प्रतीकको सामु नझुकेमा तिनीहरूलाई स्कुलबाट निकाल्ने धम्की दिइयो। पछि शिक्षा मन्त्री त्यो सहरमा आउँदा ती विद्यार्थीहरूसित कुराकानी गरे। तिनीहरूले आदर देखाउँदै अनि नडराईकन आफ्नो विश्वासबारे बताए। त्यसपछि त्यो विवाद फेरि उठाइएन। त्यसपछि तिनीहरूलाई यहोवाको आज्ञा तोड्ने दबाब आएको छैन।

जोसेफलाई पनि विचार गरौं। क्यान्सरले गर्दा तिनकी श्रीमतीको अचानक मृत्यु भयो। तिनको परिवारले अन्त्येष्टिको विषयमा तिनले गरेको निर्णय स्वीकारे। तर तिनका ससुराली खलक यहोवाको साक्षी होइनन्‌। उनीहरूले आफ्नो धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्न खोजे। जोसेफ भन्छन्‌, “म आफ्नो निर्णयमा अडिग थिएँ। त्यसैले उनीहरूले मेरा छोराछोरीलाई दबाब दिन थाले। तर तिनीहरूले पनि सम्झौता गरेनन्‌। नातेदारहरूले मेरो घरमा अन्य धार्मिक रीति पनि पूरा गर्न खोजे। तर मैले उनीहरूलाई ‘तपाईंहरू जबरजस्ती गर्न खोज्नुहुन्छ भने त्यो तपाईंहरूको इच्छा हो। तर मेरो घरमा चाहिं गर्न पाउनुहुन्न’ भनेर सीधै भनिदिएँ। उनीहरूलाई यस्तो रीति हाम्रो विश्वाससित मिल्दैन भनेर थाह थियो। तैपनि उनीहरूले ढिपी कसे र अन्तै गएर रीति पूरा गरे।”

तिनी अझ यसो भन्छन्‌, “शोकको त्यो घडीमा मैले यहोवालाई व्यग्र प्रार्थना गरें र हाम्रो परिवारलाई तपाईंको नियमअनुसार चल्न मदत गर्नुहोस् भनेर बिन्ती गरें। उहाँले मेरो प्रार्थना सुन्नुभयो र दबाबको सामना गर्न मदत गर्नुभयो।” जोसेफ र तिनका छोराछोरीले यहोवाको आज्ञा मान्ने सम्बन्धमा आफूले गरेको निर्णय बदल्ने सोचाइसमेत राखेनन्‌।

कस्तो अवस्थामा सोचाइ बदल्नुपर्ने हुन सक्छ?

इस्वी संवत्‌ ३२ को निस्तार चाड पछि येशू सीदोनको इलाकातिर लाग्नुभयो। एउटी फोनिसियाली स्त्री उहाँकहाँ आइन्‌। तिनले येशूलाई आफ्नो छोरीबाट दुष्ट स्वर्गदूत हटाइदिन पटक-पटक बिन्ती गरिन्‌। सुरुमा त येशूले केही जवाफ दिनुभएन। चेलाहरूलाई उहाँले यसो भन्नुभयो, “म इस्राएलको घरानाका ती मानिसहरूका निम्ति मात्र पठाइएको हुँ, जो हराएका भेडाहरूजस्ता छन्‌।” तर ती स्त्रीले बिन्ती गर्न छोडिनन्‌। त्यसपछि उहाँले तिनलाई भन्नुभयो, “केटाकेटीको रोटी खोसेर कुकुरका छाउराहरूलाई दिनु उचित हुँदैन।” ती स्त्रीले ठूलो विश्वास देखाइन्‌ र यसो भनिन्‌, “हो प्रभु, तर छाउराहरूले पनि त आफ्ना मालिकको टेबुलबाट झरेका टुक्राटाक्री खान पाउँछन्‌ नि।” त्यसपछि येशूले ती स्त्रीको बिन्ती सुन्नुभयो र तिनकी छोरीलाई निको पार्नुभयो।—मत्ती १५:२१-२८.

यसरी येशूले यहोवाको देखासिकी गर्नुभयो। यहोवा पनि अवस्था हेरेर आफ्नो सोचाइ बदल्नुहुन्छ। जस्तै, एकपटक इस्राएलीहरूले सुनको बाछालाई पूजा गरे। यहोवाले तिनीहरूलाई नाश गर्ने विचार गर्नुभएको थियो। तर तिनीहरूलाई नाश नगर्नुहोस् भनेर मोशाले बिन्ती गरे। यहोवाले मोशाको बिन्ती सुन्नुभयो र तिनीहरूलाई नाश गर्नुभएन।—प्रस्थ. ३२:७-१४.

प्रेषित पावलले पनि यहोवा र येशूको देखासिकी गरे। एक पटकको कुरा हो, मर्कूसलाई मिसनरी यात्रामा सँगै लैजान पावललाई ठीक लागेन। किनकि पहिलो मिसनरी यात्राको दौडान मर्कूसले पावल र बर्णाबासलाई छोडेर गएका थिए। तर पछि मर्कूस परिपक्व भएको पावलले याद गरे। त्यसैले तिनले तिमोथीलाई यसो भने, “मर्कूसलाई सँगै लिएर आऊ, किनकि सेवाको काममा तिनी मेरो लागि उपयोगी छन्‌।”—२ तिमो. ४:११.

यी विवरणहरूबाट हामी के सिक्न सक्छौं? कृपालु,  धीरजी र मायालु बुबा यहोवाको देखासिकी गर्दै हामी पनि आफ्नो सोचाइ बदल्न तयार हुनुपर्छ। उदाहरणको लागि, कहिलेकाहीं हामीले कुनै व्यक्तिबारे आफ्नो धारणा बदल्नुपर्ने हुन्छ। यहोवा र येशू त्रुटिरहित भए पनि आफ्नो सोचाइ बदल्न तयार हुनुभयो। त्यसो हो भने के हामी पनि त्यो व्यक्तिको परिस्थिति राम्ररी बुझेर आफ्नो सोचाइ बदल्न तयार हुनुपर्दैन र?

कहिलेकाहीं आध्यात्मिक लक्ष्यबारे हाम्रो सोचाइ बदल्नु आवश्यक हुन सक्छ। उदाहरणको लागि, हामी बाइबल अध्ययन गरिरहेका छौं होला र सभामा पनि गइरहेका छौं होला। तर बप्तिस्मा गर्न भने पछि हटिरहेका छौं कि? अथवा हामी अग्रगामी सेवा गर्न सक्ने अवस्थामा छौं होला। तर सुरु गर्न पो हिचकिचाइरहेका छौं कि? अनि केही दाजुभाइहरू मण्डलीको जिम्मेवारी स्वीकार्न पछि हट्छन्‌ होला। (१ तिमो. ३:१) तपाईंको अवस्था पनि यीमध्ये कुनै अवस्थासित मिल्छ कि? तपाईंले यी सुअवसर पाएको यहोवा चाहनुहुन्छ। त्यसैले आफ्नो सोचाइ बदल्नुहोस् अनि यहोवा र अरू मानिसहरूको सेवा गरेर आनन्दित हुनुहोस्।

आफ्नो सोचाइ बदल्नुभयो भने तपाईंले आशिष्‌ पाउनुहुनेछ

अफ्रिकामा बेथेल सेवा गर्ने इला भन्ने बहिनी यसो भन्छिन्‌, “मैले बेथेल सेवा सुरु गर्दा त्यहाँ लामो समय सेवा गर्न सक्दिनँ जस्तो लागेको थियो। मनतनले यहोवाको सेवा गर्ने इच्छा भए पनि परिवारको न्यास्रो लाग्थ्यो। तर कोठामा सँगै बस्ने साथीले मलाई धेरै प्रोत्साहन दिनुभयो। त्यसैले बेथेलमै बस्ने निर्णय गरें। अहिले बेथेल सेवा गरेको दस वर्ष भइसक्यो। सकेसम्म बेथेलमा रहेर हाम्रा दाजुभाइ दिदीबहिनीको सेवा गरिरहन चाहन्छु।”

कस्तो अवस्थामा सोचाइ बदल्नै पर्ने हुन्छ?

कयिनको उदाहरण विचार गरौं। उसले आफ्नो भाइको डाह गऱ्यो र ऊ रिसले आगो भयो। मनमा रिस  पालिराख्यो भने उसले गलत काम गर्न सक्छ भनेर परमेश्वरलाई थाह थियो। त्यसैले उहाँले कयिनलाई रिसाउन छोड्न चेतावनी दिनुभयो अनि “पाप ढोकैमा” ढुकिबसेको छ पनि भन्नुभयो। परमेश्वरको कुरा सुनेको भए कयिनले आफ्नो सोचाइ बदल्न सक्थ्यो। तर उसले त्यसो गरेन। बरु आफ्नो भाइलाई मारेर ऊ पहिलो ज्यानमारा भयो।—उत्प. ४:२-८.

कयिनले आफ्नो सोचाइ बदलेको भए के हुनेथियो?

राजा उज्जियाहको उदाहरण पनि हेरौं। आफ्नो शासनको सुरुतिर उनले यहोवालाई मन पर्ने काम गरे र यहोवाको असल मित्र बने। तर पछि उनी घमन्डी भए। आफू पुजारी नभए पनि उनी धूप बाल्न यहोवाको मन्दिरमा पसे। त्यसो नगर्न पुजारीहरूले उनलाई चेतावनी दिए। तर उनले आफ्नो सोचाइ बदल्नुको साटो “क्रोधित भए।” त्यसैले यहोवाले उनलाई सजाय दिनुभयो र उनी कोरी भए।—२ इति. २६:३-५, १६-२०.

यी उदाहरणहरूले देखाएझैं हामीले पनि कहिलेकाहीं आफ्नो सोचाइ बदल्नै पर्ने हुन्छ। एउटा उदाहरण विचार गरौं। भाइ योआकिमले १९५५ मा बप्तिस्मा गरे तर १९७८ मा उनी बहिष्कार भए। बीस वर्षपछि उनले पश्‍चात्ताप गरे र मण्डलीमा फर्के। एक एल्डरले उनलाई त्यत्ति लामो समयसम्म मण्डलीमा नफर्कनुको कारण सोधे। योआकिमले यस्तो जवाफ दिए, “हुन त त्यतिबेला मलाई यहोवाका साक्षीहरूसित सत्य छ भनेर थाह थियो। तर मलाई रिस उठिरहेको थियो र म घमन्डी भएको थिएँ। त्यसैले मण्डलीमा फर्कन ढिलो गरें। तर त्यसमा मलाई पछुतो छ।” योआकिमले आफ्नो सोचाइ बदल्नुपर्ने थियो र पश्‍चात्ताप गर्नुपर्ने थियो।

हामीले पनि कहिलेकाहीं आफ्नो सोचाइ र व्यवहार बदल्नुपर्ने हुन सक्छ। यसो गर्न तयार भयौं भने यहोवा हामीसित खुसी हुनुहुनेछ।—भज. ३४:८.