सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा—अध्ययन संस्करण  |  डिसेम्बर २०१४

के तपाईं आफूले पाएको कुराको कदर गर्नुहुन्छ?

के तपाईं आफूले पाएको कुराको कदर गर्नुहुन्छ?

हामीले . . . परमेश्वरको पवित्र शक्ति पाएका छौं, ताकि परमेश्वरले दया गरेर हामीलाई दिनुभएका कुराहरू थाह पाउन सकौं।”—१ कोरि. २:१२.

१. थुप्रैले आफूले पाएका कुराहरूलाई कस्तो ठान्छन्‌?

तपाईंले यो भनाइ त सुन्नुभएकै होला, ‘माल पाएर चाल नपाउनु।’ के तपाईंले पनि त्यस्तै अनुभव गर्नुभएको छ? कुनै व्यक्ति सुविधासम्पन्न परिवारमा हुर्केको छ भने उसले आफूले पाएका कुराहरूको खासै कदर नगर्न सक्छ। त्यसैगरि युवाहरू त्यत्ति अनुभवी नभएकोले तिनीहरूलाई आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर खुट्याउन गाह्रो हुन सक्छ।

२, ३. (क) ख्रीष्टियन युवाहरूले कस्ता कुराहरूलाई महत्त्व दिनु हुँदैन? (ख) आफूले पाएको आध्यात्मिक सम्पदाको कदर गर्न तपाईंलाई केले मदत गर्नेछ?

युवाहरू हो, तपाईं कुन कुरालाई सबैभन्दा महत्त्वपूर्ण ठान्नुहुन्छ? संसारका थुप्रै युवाले टन्न पैसा कमाउने जागिर, भव्य घर वा इलेक्ट्रोनिक सर-साधनलाई नै बढी महत्त्व दिन्छन्‌। के हामी पनि यी कुराहरूलाई नै महत्त्व दिन्छौं? त्यसोभए हामीमा एउटा कुराको कमी छ। त्यो हो, आध्यात्मिक धन। दुःखको कुरा लाखौं युवाले यस्तो धनको वास्तै गर्दैनन्‌। ख्रीष्टियन परिवारमा हुर्केका युवाहरूले आफूले पाएको आध्यात्मिक सम्पदाको कदर गर्नै पर्छ। (मत्ती ५:३) तिनीहरूले आध्यात्मिक सम्पदाको कदर नगर्दा परिणाम नमीठो हुन सक्छ।

तपाईं त्यस्तो परिणाम भोग्नदेखि जोगिन सक्नुहुन्छ। आफूले पाएको आध्यात्मिक सम्पदाको कदर गर्न तपाईंलाई केले मदत गर्नेछ? यसो  गर्नु किन बुद्धिमानी हो, त्यो बुझ्न बाइबलका केही उदाहरणहरू छलफल गरौं। यी उदाहरणहरूले युवाहरूलाई मात्र होइन, सबै ख्रीष्टियनलाई आफूले पाएको आध्यात्मिक सम्पदाको कदर गर्न मदत गर्नेछ।

तिनीहरूले कदर गरेनन्‌

४. पहिलो शमूएल ८:१-५ ले शमूएलका छोराहरूबारे के बताएको छ?

आध्यात्मिक सम्पदाको कदर नगरेका केही व्यक्तिहरूबारे बाइबलमा बताइएको छ। भविष्यवक्ता शमूएलले सानैदेखि यहोवाको सेवा गर्न थाले र तिनी यहोवाप्रति सधैं वफादार रहे। (१ शमू. १२:१-५) तिनले आफ्ना छोराहरू योएल र अबियाहको लागि राम्रो उदाहरण बसालेका थिए। तर उनीहरूले आफ्नो बुबाको देखासिकी गरेनन्‌। उनीहरू खराब थिए। उनीहरूले उचित “न्याय” गर्दैनथे।१ शमूएल ८:१-५ पढ्नुहोस्।

५, ६. योशियाहका छोराहरू र नाति कस्ता थिए र तिनीहरूलाई के भयो?

राजा योशियाहका छोराहरू र नातिबारे विचार गरौं। उनीहरूले पनि आफूले पाएको आध्यात्मिक सम्पदाको कदर गरेनन्‌। यहोवाको उपासना गर्ने विषयमा योशियाहले राम्रो उदाहरण बसालेका थिए। व्यवस्थाको पुस्तक भेटिएपछि योशियाहलाई त्यो पढेर सुनाइयो। त्यसपछि तिनले यहोवाको निर्देशनअनुसार गर्न हरप्रयास गरे। तिनले इस्राएलबाट मूर्तिपूजा र तन्त्रमन्त्र हटाए अनि मानिसहरूलाई यहोवाको आज्ञा मान्न आदेश दिए। (२ राजा २२:८; २३:२, ३, १२-१५, २४, २५) योशियाहका छोराहरूले कत्ति ठूलो आध्यात्मिक सम्पदा पाएका थिए! तिनका तीन जना छोरा र नाति पछि राजा भए। तर उनीहरूमध्ये कसैले पनि आफूले पाएको सम्पदाको कदर गरेनन्‌।

योशियाहपछि तिनका छोरा यहोआहाज राजा भए। तर उनले “परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे।” उनले जम्मा तीन महिना राज्य गरे। त्यसपछि उनलाई मिश्रका फिरऊनले कैद गरे र उनी मिश्रमै मरे। (२ राजा २३:३१-३४) उनीपछि योशियाहका अर्का छोरा एल्याकीमले ११ वर्ष राज्य गरे। तिनले पनि आफ्नो बुबाबाट पाएको सम्पदाको कदर गरेनन्‌। एल्याकीम खराब बाटोमा हिंडेकोले यर्मियाले तिनीबारे यस्तो भविष्यवाणी गरे, “एउटा गधा गाडिएको जस्तै त्यो गाडिनेछ।” (यर्मि. २२:१७-१९) योशियाहका अर्का छोरा सिदकियाह र नाति यहोयाकीम पनि खराब भए। तिनीहरूले पनि योशियाहको देखासिकी गरेनन्‌।—२ राजा २४:८, ९, १८, १९.

७, ८. (क) सुलेमानले कसरी आफूले पाएको आध्यात्मिक सम्पदालाई लत्याए? (ख) आफूले पाएको आध्यात्मिक सम्पदालाई लत्याएका व्यक्तिहरूबाट तपाईंले के सिक्नुभयो?

सुलेमानको उदाहरण पनि हेरौं। तिनलाई आफ्नो बुबा दाऊदले यहोवाको सेवा गर्न सिकाएका थिए। तर तिनले आफूले पाएको आध्यात्मिक सम्पदालाई लत्याए। सुलेमान “वृद्ध हुँदा तिनका पत्नीहरूले तिनको मन अरू देवताहरूतर्फ लगाइदिए, र तिनी आफ्ना पिता दाऊदझैं परमप्रभु आफ्ना परमेश्वरका सम्पूर्ण रीतिले भक्त भएनन्‌।” (१ राजा ११:४) त्यसकारण तिनी यहोवाको नजरमा असल भइरहन सकेनन्‌।

यी बाइबल पात्रहरूले यहोवालाई चिन्ने र उहाँको इच्छाअनुसार चल्ने मौका पाएका थिए। तर तिनीहरूले त्यो मौका गुमाए। पुरातन समयमा आध्यात्मिक सम्पदाको मोल गर्ने युवाहरू पनि थिए र अहिले पनि छन्‌। अब हामी आजका युवाहरूले देखासिकी गर्न सक्ने केही असल उदाहरण छलफल गरौं।

तिनीहरूले आफूले पाएको कुराको कदर गरे

९. नूहका छोराहरूले कसरी राम्रो उदाहरण बसाले? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

नूहका छोराहरूलाई विचार गरौं। तिनीहरूका  बुबाले जहाज बनाउने र जलप्रलय आउनुअघि नै परिवारलाई जहाजमा राख्ने आदेश पाएका थिए। नूहका छोराहरूलाई यहोवाको इच्छाअनुसार चल्नुपर्छ भनेर थाह थियो। त्यसैकारण तिनीहरूले आफ्नो बुबासित मिलेर काम गरे। तिनीहरूले नूहलाई जहाज बनाउन मदत गरे अनि जलप्रलय आउनुअघि नै जहाजभित्र पसे। (उत्प. ७:१, ७) उत्पत्ति ७:३ अनुसार तिनीहरूले “समस्त पृथ्वीमा” पशुपन्छीका “जातिहरूलाई जीवित राख्न” जनावर तथा चराचुरुङ्गीहरू जहाजमा ल्याए। जलप्रलयबाट मानवजाति पनि बचे। आफ्नो बुबाबाट पाएको सम्पदाको कदर गरेकोले नूहका छोराहरूले मानवजातिको अस्तित्वलाई जोगाउने सुअवसर पाए। साथै, सफा पारिएको पृथ्वीमा साँचो उपासना स्थापित गर्ने सुअवसर पनि पाए।—उत्प. ८:२०; ९:१८, १९.

१०. चार जना युवाले आफूले सिकेका कुराहरूको कदर गरेको कसरी देखाए?

१० नूहको समयभन्दा सयौं वर्षपछिका चार जना हिब्रू युवाबारे विचार गरौं। तिनीहरू हनन्याह, मीशाएल, अजर्याह र दानिएल थिए। ती युवकहरूले बेबिलोनीहरूको चालमा नचल्ने छनौट गरे। तिनीहरूलाई ईसापूर्व ६१७ मा बेबिलोन लगिएको थियो। तिनीहरू सुन्दर र बुद्धिमान्‌ थिए। तिनीहरूले बेबिलोनमा सफलता हात पार्न सक्थे। तर तिनीहरूले आफू को हुँ भनेर कहिल्यै बिर्सेनन्‌ र आफूले सिकेका कुराहरूको सधैं कदर गरे। त्यसकारण यहोवाले तिनीहरूलाई प्रशस्त आशिष्‌ दिनुभयो।दानियल १:८, ११-१५, २० पढ्नुहोस्।

११. येशूले पाउनुभएको आध्यात्मिक सम्पदाबाट अरूले कसरी लाभ उठाउन सके?

११ आध्यात्मिक सम्पदाको कदर गर्ने सम्बन्धमा येशू ख्रीष्टले सबैभन्दा राम्रो उदाहरण बसाल्नुभयो। उहाँले आफ्नो बुबाबाट थुप्रै कुरा सिक्नुभएको थियो र उहाँले त्यसको मनैदेखि कदर गर्नुभयो। यो कुरा येशूको यस भनाइबाट स्पष्ट हुन्छ, “बुबाले मलाई जे-जे सिकाउनुभयो, तिनै कुराहरू बोल्छु।” (यूह. ८:२८) येशू आफूले पाएको आध्यात्मिक सम्पदाबाट अरूले पनि लाभ उठाएको चाहनुहुन्थ्यो। त्यसकारण आफूले सिकेका कुराहरू अरूलाई पनि सिकाउनुभयो। उहाँले एकपटक भीडलाई यसो भन्नुभयो, “मैले अरू सहरहरूमा पनि परमेश्वरको राज्यको सुसमाचार सुनाउनुपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।” (लूका ४:१८, ४३) येशूले आफ्ना चेलाहरूलाई आध्यात्मिक कुराहरूको कदर नगर्ने ‘यस संसारको भाग नहुन’ सल्लाह दिनुभयो।—यूह. १५:१९.

आफूले पाएको कुराको कदर गर्नुहोस्

१२. (क) दोस्रो तिमोथी ३:१४-१७ मा लेखिएको कुरा आजका थुप्रै युवामा कसरी लागू हुन्छ? (ख) ख्रीष्टियन युवाहरूले आफैलाई कस्ता प्रश्नहरू सोध्नुपर्छ?

१२ हामीले भर्खरै छलफल गरेका युवाहरू जस्तै तपाईं पनि यहोवाको उपासना गर्ने परिवारमा हुर्कनुभएको होला। त्यसोभए बाइबलमा चर्चा गरिएका तिमोथी र तपाईंको परिस्थिति मिल्छ होला। (२ तिमोथी ३:१४-१७ पढ्नुहोस्) तपाईंले आफ्नो आमाबुबाबाट साँचो परमेश्वरबारे र उहाँलाई खुसी बनाउने तरिकाबारे ‘सिक्नुभयो।’ तपाईंको आमाबुबाले तपाईंलाई शैशवकालदेखि नै परमेश्वरबारे सिकाउनुभयो होला। आफूले सिकेका कुराहरूबाट ‘हासिल हुने बुद्धिले ख्रीष्ट येशूमाथिको विश्वासद्वारा तपाईंको उद्धार गर्नेछ’ र तपाईंलाई यहोवाको सेवा गर्न ‘पूर्णतया तयार’ बनाउनेछ। तर एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ: के तपाईं आफूले पाएको कुराको कदर गर्नुहुन्छ? यसको जवाफ पाउन आफैलाई जाँच्नुहोस्। आफैलाई यी प्रश्नहरू सोध्नुहोस्: ‘यहोवाका वफादार साक्षीहरूमध्ये हुन पाएकोमा कस्तो महसुस गर्छु? यहोवाको मित्र कहलिएका थोरै मानिसहरूमध्ये हुन पाएकोमा के म खुसी छु? के  म आफूले पाएको सुअवसरलाई विशेष र अनमोल ठान्छु?’

यहोवाका वफादार साक्षीहरूमध्ये एक हुन पाएकोमा तपाईंलाई कस्तो लाग्छ? (अनुच्छेद ९, १०, १२ हेर्नुहोस्)

१३, १४. केही ख्रीष्टियन युवाहरूले कस्तो दबाबको सामना गर्छन्‌? संसारको चमकदमकको पछि लाग्नु किन बुद्धिमानी होइन? एउटा अनुभव बताउनुहोस्।

१३ ख्रीष्टियन परिवारमा हुर्केका केही युवाहरूले आध्यात्मिक प्रमोदवन र सैतानको संसारबीच आकाश-पातालको भिन्नता छ भनेर बुझेका छैनन्‌। केहीले त संसारको जीवनशैली चाख्नसमेत खोज्छन्‌। चोट लाग्ला कि नलाग्ला वा मरिएला कि नमरिएला भनेर थाह पाउन के तपाईं गुडिरहेको गाडी अघि-अघि दौडिनुहुन्छ? त्यसो गर्नु मूर्खता हो। त्यसैगरि खराब कुराहरूको पछि लाग्दा नतिजा कत्तिको पीडादायी होला भनेर थाह पाउन मात्र त्यस्ता कुराहरूको पछि लाग्नु बुद्धिमानी होइन।—१ पत्रु. ४:४.

१४ एसियामा बस्ने जेनेर ख्रीष्टियन परिवारमा हुर्केका थिए। तिनले १२ वर्षको उमेरमा बप्तिस्मा गरे। तर किशोर छँदा तिनी संसारको चमकदमकको पछि लागे। तिनी भन्छन्‌, “म संसारले दिने ‘स्वतन्त्रता’ चाख्न चाहन्थें।” जेनेरले दोहोरो जीवन बिताउन थाले। पन्ध्र वर्षको उमेरमा त साथीहरूको पछि लागेर तिनले खराब काम गर्न थालिसकेका थिए। तिनले रक्सी पिउन थाले र छाडा बोली बोल्न थाले। जेनेर साथीहरूसित राती अबेरसम्म कम्प्युटरमा हिंसात्मक खेलहरू खेल्थे अनि घरमा ढिलो फर्कन्थे। तर समय बित्दै जाँदा तिनले संसारका कुराहरूले साँचो सन्तुष्टि दिंदैन भनेर बुझे। संसारको चमकदमक त खोक्रो रहेछ भनेर तिनले थाह पाए। तिनी यसो भन्छन्‌, “अहिले पनि संसारबाट थुप्रै दबाब आउँछ। तर त्यस्ता दबाबको तुलनामा यहोवाबाट पाएको आशिष्‌ कता हो कता धेरै छ।”

१५. सानैदेखि यहोवाबारे सिक्ने मौका नपाएका युवाहरूले समेत कुन कुरा विचार गर्नुपर्छ?

१५ हाम्रो मण्डलीमा त्यस्ता युवाहरू पनि छन्‌, जसका आमाबुबा यहोवाको साक्षी होइनन्‌। तपाईं पनि ती युवाहरूमध्ये हुनुहुन्छ भने तपाईंले यहोवालाई चिन्ने र उहाँको सेवा गर्ने कत्ति ठूलो सुअवसर पाउनुभएको छ, विचार गर्नुहोस् त! अहिले संसारमा अरबौं मानिस छन्‌। तर यहोवाले थोरैलाई मात्र आफूतर्फ खिच्नुभएको छ र सत्य सिक्ने मौका दिनुभएको छ। हामीले पनि त्यो मौका पाएका छौं र त्यो हाम्रो लागि ठूलो आशिष्‌ हो। (यूह. ६:४४, ४५) अहिले संसारको प्रत्येक १,००० जनामा १ जनाले मात्र सही ज्ञान पाएका छन्‌ र तपाईं पनि तिनीहरूमध्ये हुनुहुन्छ। तपाईंले  जोसुकैबाट सत्य सिकेको भए पनि यहोवाले तपाईंलाई खिच्नुभएको कुरा विचार गर्दा खुसी लाग्दैन र? (१ कोरिन्थी २:१२ पढ्नुहोस्) जेनेर यसो भन्छन्‌, “यस ब्रह्माण्डका मालिक यहोवाद्वारा चिनिन पाएकोमा म असाध्यै गर्व गर्छु।” (भज. ८:४) एक ख्रीष्टियन बहिनी पनि यसो भन्छिन्‌, “शिक्षकले कुनै विद्यार्थीलाई राम्रोसित चिनेको छ भने त्यो विद्यार्थीले गर्व गर्छ। त्यसैगरि महान्‌ शिक्षक यहोवाबाट चिनिनु चानचुने कुरा होइन।”

तपाईं के गर्नुहुनेछ?

१६. ख्रीष्टियन युवाहरूले के गर्नु बुद्धिमानी हो?

१६ आफूले पाएको आध्यात्मिक सम्पदाबारे सोच्नुहोस् र यहोवाको सेवा गर्ने लक्ष्य राख्नुहोस्। संसारका युवाहरूजस्तो हुनुको साटो पहिले-पहिलेका वफादार जनहरूको देखासिकी गर्नु बुद्धिमानी हो। किनकि संसारका युवाहरू चालै नपाई विनाशतर्फ लम्किरहेका छन्‌।—२ कोरि. ४:३, ४.

१७-१९. हामी संसारका मानिसहरूभन्दा फरक हुनु किन बुद्धिमानी हो?

१७ हुन त संसारका मानिसहरूभन्दा फरक हुनु सधैं सजिलो हुँदैन। तर यसो गर्नु नै बुद्धिमानी हो। ओलम्पिक खेलाडीलाई विचार गर्नुहोस्। खेलमा दक्ष हुन उसले राम्रो तालिम लिनुपर्छ। ऊ अरूभन्दा फरक हुनुपर्छ। अनि समय खाने र अलमल्याउने कुराहरूबाट ऊ अलग बस्नुपर्छ। यसो गऱ्यो भने ऊ लक्ष्यमा पुग्न सक्छ।

१८ हामी संसारका मानिसहरूभन्दा फरक छौं। हामी पछिसम्मको कुरामा ध्यान दिन्छौं। संसारबाट अनि यहोवाबाट टाढा पुऱ्याउन सक्ने अनैतिक कुराहरूबाट हामी अलग बस्नुपर्छ। यसो गऱ्यौं भने “साँच्चैको जीवनलाई दह्रोसित पक्रिराख्न” सक्नेछौं। (१ तिमो. ६:१९) माथि चर्चा गरिएको बहिनी यसो भन्छिन्‌, “हरेक दिन आफ्नो विश्वासको पक्षमा खडा हुनुभयो भने दिनको अन्तमा ठूलो सन्तुष्टि पाउनुहुनेछ। सैतानको संसारले तपाईंलाई बहकाउन सक्दैन भनेर यसले देखाउँछ। यसो गर्दा यहोवाले तपाईंलाई ‘स्याबास’ भनेर थपथपाइरहनुभएको महसुस गर्नुहुनेछ। आफू संसारभन्दा फरक भएकोमा गर्व गर्न सक्नुहुनेछ।”

१९ संसारबाट हासिल गर्न सकिने कुराहरूबारे मात्र सोचेर आफ्नो जिन्दगी बर्बाद नगर्नुहोस्। (उप. ९:२, १०) तपाईंलाई आफ्नो जीवनको उद्देश्य राम्रोसित थाह छ अनि भविष्यमा अनन्त जीवन पाइन्छ भनेर पनि तपाईंलाई थाह छ। त्यसैले “अन्यजातिका मानिसहरूजस्तो” नहुनुहोस्, बरु सन्तोषजनक जीवन बिताउनुहोस्।—एफि. ४:१७; मला. ३:१८.

२०, २१. सही निर्णय गऱ्यौं भने भविष्यमा के पाउनेछौं? परमेश्वर हामीबाट के चाहनुहुन्छ?

२० सही निर्णय गऱ्यौं भने हाम्रो जीवन अहिले पनि सन्तोषजनक हुनेछ अनि भविष्यमा हामी “पृथ्वीको उत्तराधिकारी” हुनेछौं अर्थात्‌ हामीले अनन्त जीवन पाउनेछौं। त्यतिबेला यहोवाले हामीलाई प्रशस्त आशिष्‌ दिनुहुनेछ। (मत्ती ५:५; १९:२९; २५:३४) तर यहोवा हामीलाई स्वतः आशिष्‌ दिनुहुन्न। ती आशिष्‌ पाउन हामीले उहाँको आज्ञा पालन गर्नुपर्छ। (१ यूहन्ना ५:३, ४ पढ्नुहोस्) उहाँको सेवा गर्न हामीले गरिरहेको प्रयास बेकार जाँदैन।

२१ यहोवाले हामीलाई अहिल्यै पनि थुप्रै कुरा दिनुभएको छ र यो हाम्रो लागि ठूलो सुअवसर हो। हामीले बाइबलबाट सही ज्ञान पाएका छौं। त्यति मात्र होइन, यहोवा र उहाँका उद्देश्यबारे अझ राम्ररी सिक्न पाएका छौं। उहाँको नामद्वारा चिनिने र उहाँको पक्षमा साक्षी दिने सुअवसर पनि हामीले पाएका छौं। यहोवाले सधैं हामीसँग रहने प्रतिज्ञा गर्नुभएको छ। (भज. ११८:७) हामी युवा हौं वा वृद्ध, आफूले पाएको आध्यात्मिक सम्पदाको मोल गरौं र “सदासर्वदा” यहोवाको “गौरव” बढाऔं।—रोमी ११:३३-३६; भज. ३३:१२.