सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) नोभेम्बर २०१४

‘ती मानिसहरू, जसका परमेश्वर यहोवा हुनुहुन्छ’

‘ती मानिसहरू, जसका परमेश्वर यहोवा हुनुहुन्छ’

“ती मानिसहरू सुखी हुन्छन्‌, जसका परमेश्वर परमप्रभु नै हुनुहुन्छ।”—भज. १४४:१५.

१. थुप्रैको विचारमा परमेश्वरले कस्ता मानिसहरूलाई स्वीकार्नुहुन्छ?

थुप्रैको विचारमा संसारका प्रमुख धर्महरूले मानिसहरूलाई मदत गर्न त्यत्ति प्रयास गर्दैनन्‌। कसै-कसैले भने परमेश्वरले त्यस्ता धर्महरूलाई समर्थन गर्नुहुन्न भन्छन्‌। किनकि ती धर्महरूले परमेश्वरबारे साँचो कुरा सिकाउँदैनन्‌ र ती धर्म मान्ने मानिसहरूको चालचलन राम्रो हुँदैन। अरू कतिपयले भने यस्तो विश्वास गर्छन्‌: हरेक धर्ममा असल मन भएका व्यक्तिहरू छन्‌; परमेश्वरले तिनीहरूलाई याद गर्नुहुन्छ अनि आफ्नो उपासकको रूपमा स्वीकार्नुहुन्छ। उनीहरू त्यस्ता मानिसहरूले आफूले मानिआएको धर्म त्याग्नु आवश्यक छैन भन्छन्‌। तर के परमेश्वरको सोचाइ पनि त्यस्तै छ? आउनुहोस्, परमेश्वरका साँचो उपासकहरूको इतिहास अध्ययन गरेर यस प्रश्नको जवाफ पत्ता लगाऔं।

परमेश्वरले आफ्नो जनसित करार बाँध्नुभयो

२. परमेश्वरले आफ्नो जनको रूपमा कसको परिवारलाई रोज्नुभयो? तिनीहरू परमेश्वरले रोज्नुभएको विशेष जन हो भन्ने कुराको चिन्ह के थियो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

आजभन्दा लगभग ४,००० वर्षअघि यहोवाले अब्राहामको परिवारलाई  आफ्नो जनको रूपमा रोज्नुभयो। बाइबलमा अब्राहामलाई “विश्वासले गर्दा असल ठहरिएकाहरू सबैको . . . बुबा” भनिएको छ। तिनी परिवारका शिर थिए। तिनको परिवार विशाल थियो र तिनका सयौं नोकर-चाकर पनि थिए। (रोमी ४:११; उत्प. १४:१४) कनानका शासकहरूले अब्राहामलाई “शक्तिशाली शासक” मान्थे र तिनको आदर गर्थे। (उत्प. २१:२२; २३:६) यहोवाले अब्राहाम र तिनका सन्तानसित करार बाँध्नुभयो। (उत्प. १७:१, २, १९) परमेश्वरले तिनलाई यसो भन्नुभयो, “मेरो र तेरो, औ तँ पछिका तेरा सन्तानहरूका बीचमा भएको तिमीहरूले पालन गर्नुपर्ने मेरो करार यही हो—तिमीहरूमध्येका हरेक पुरुष जातिको खतना हुनुपर्छ। . . . मेरो र तिमीहरूको बीचमा करारको चिन्ह यही हुनेछ।” (उत्प. १७:१०, ११) यहोवाको आदेशअनुसारै अब्राहाम र तिनको परिवारका सबै पुरुषले खतना गरे। (उत्प. १७:२४-२७) यो नै अब्राहामका सन्तान परमेश्वरले रोज्नुभएको विशेष जन हो भन्ने कुराको चिन्ह थियो।

३. अब्राहामका सन्तान कसरी बढ्दै गयो?

अब्राहामका नाति याकूब अर्थात्‌ इस्राएलका बाह्र जना छोरा थिए। (उत्प. ३५:१०, २३-२६) पछि तिनीहरू इस्राएल राष्ट्रको बाह्र कुलका कुलपुरुष हुने थिए। (प्रेषि. ७:८) अनिकाल पर्दा याकूब आफ्नो परिवार लिएर मिश्र गए। याकूबका छोरा यूसुफले मिश्रका जनताहरूलाई अनाज बिक्री-वितरण गर्ने कामको रेखदेख गर्थे र यो अधिकार तिनले राजाबाटै पाएका थिए। (उत्प. ४१:३९-४१; ४२:६) याकूबका सन्तान बढ्दै गयो।—उत्प. ४८:४; प्रेषित ७:१७ पढ्नुहोस्।

परमेश्वरले छुटकारा दिनुभएका जनहरू

४. मिश्रीहरू र याकूबका सन्तानबीच सुरुमा कस्तो सम्बन्ध थियो?

याकूबका सन्तान २०० वर्षभन्दा धेरै समय मिश्रमै बसे। उनीहरू मिश्रको गोशेन प्रदेशमा बस्थे। (उत्प. ४५:९, १०) लगभग १०० वर्षसम्म उनीहरू मिश्रीहरूसित मिलेर बसे। याकूबका सन्तान साना सहरहरूमा बस्थे र उनीहरू गोठालो थिए। उनीहरूलाई फिरऊनले त्यहाँ बस्न बोलाएका थिए किनकि तिनी यूसुफको धेरै कदर गर्थे। (उत्प. ४७:१-६) अर्कोतर्फ मिश्रीहरू भेडा गोठालाहरूलाई घृणा गर्थे। (उत्प. ४६:३१-३४) तर राजाले नै उनीहरूलाई त्यहाँ बस्न दिएकोले मिश्रीहरूले केही पनि गर्न सकेनन्‌।

५, ६. (क) मिश्रमा परमेश्वरका जनहरूको अवस्था कसरी परिवर्तन भयो? (ख) मोशाको जीवन कसरी जोगियो? यहोवाले आफ्ना जनहरूलाई के गर्नुभयो?

तर परमेश्वरका जनहरूको अवस्था अचानक परिवर्तन भयो। बाइबल विवरण यसो भन्छ, “मिश्रमा यूसुफलाई नचिन्ने एउटा नयाँ राजा खडा भए। तिनले आफ्नो प्रजालाई भने, ‘हेर, इस्राएलीहरू हामीभन्दा साह्रै बेसी र अति शक्तिशाली भएका छन्‌।’ यसकारण मिश्रीहरूले इस्राएली जातिलाई कठोरतासाथ काम लगाए। औ हिलो र इटाका र खेतका सबै किसिमका काम गर्न लगाएर उनीहरूको जीवनै खल्लो बनाइदिए।”—प्रस्थ. १:८, ९, १३, १४.

मिश्रका नयाँ राजाले इस्राएलीहरूको छोरो जन्मियो भने बालकलाई मार्ने आदेश दिएका थिए। (प्रस्थ. १:१५, १६) मोशा पनि त्यही समयमा जन्मेका थिए। तिनी तीन महिनाको हुँदा तिनकी आमाले तिनलाई नील नदीको किनारमा कुशहरूको बीचमा राखिदिइन्‌। फिरऊनकी छोरीले त्यस बालकलाई भेट्टाइन्‌ र तिनलाई छोरा बनाइन्‌। मोशा सानो छँदा तिनकी आमा योकेबेदले नै तिनलाई हुर्काइन्‌ र तिनी यहोवाका वफादार सेवक भए। (प्रस्थ. २:१-१०; हिब्रू ११:२३-२५) यहोवाले आफ्ना जनहरूको दुःख ‘थाह पाउनुभएको’ थियो। त्यसकारण मोशालाई चलाएर तिनीहरूलाई दासत्वबाट छुटाउने निर्णय गर्नुभयो। (प्रस्थ. २:२४, २५; ३:९, १०) इस्राएलीहरू परमेश्वरले ‘छुटकारा दिनुभएको’ जन हुने थिए।—प्रस्थ. १५:१३; व्यवस्था १५:१५ पढ्नुहोस्।

 परमेश्वरका जनहरू मिलेर राष्ट्र बन्यो

७, ८. यहोवाका जनहरू कसरी पवित्र जाति बने?

हुन त यहोवाले इस्राएलीहरूलाई राष्ट्रको रूपमा सङ्गठित गरिसक्नुभएको थिएन। तैपनि तिनीहरू परमेश्वरका जन थिए। त्यसैले परमेश्वरले मोशा र हारूनलाई फिरऊनकहाँ गएर यसो भन्ने आदेश दिनुभयो, “इस्राएलीहरूका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, ‘उजाड-स्थानमा मेरो निम्ति चाड मनाउनलाई मेरो प्रजालाई जानदे।’”—प्रस्थ. ५:१.

तर फिरऊनले इस्राएलीहरूलाई जान दिएनन्‌। त्यसैले यहोवाले मिश्रमाथि दस विपत्ति ल्याउनुभयो। लाल समुद्रमा फिरऊन र उनका सेनाहरूलाई नाश गर्नुभयो। त्यसपछि मात्र इस्राएलीहरू मिश्रको दासत्वबाट छुटे। (प्रस्थ. १५:१-४) दासत्वबाट छुटेको तीन महिना पनि नबित्दै यहोवाले इस्राएलीहरूसित सीनै पर्वतमा करार बाँध्नुभयो र यस्तो प्रतिज्ञा गर्नुभयो, “यदि तिमीहरूले मेरा कुरा साँच्चै नै सुन्यौ र मेरो करार पालन गऱ्यौ भने समस्त मानिसहरूमध्ये तिमीहरू चाहिं मेरो एक निज धन हुनेछौ। . . . एक पवित्र जाति हुनेछौ।”—प्रस्थ. १९:५, ६.

९, १०. (क) व्यवस्था ४:५-८ अनुसार व्यवस्थाले गर्दा इस्राएलीहरू कसरी अरूभन्दा फरक देखिए? (ख) आफू “पवित्र जाति” हुँ भनेर देखाउन इस्राएलीहरूले के गर्नुपर्थ्यो?

मिश्रमा दास बन्नुअघि यहोवाका जनहरूको परिवारमा शिरले नेतृत्व लिन्थे। तिनीहरूले परिवारमा न्यायकर्ता र पुजारीको काम पनि गर्थे। (उत्प. ८:२०; १८:१९; अय्यू. १:४, ५) तैपनि यहोवाले मोशामार्फत इस्राएलीहरूलाई व्यवस्था दिनुभयो। त्यसले गर्दा तिनीहरू अरू जातिभन्दा फरक देखिए। (व्यवस्था ४:५-८ पढ्नुहोस्; भज. १४७:१९, २०) त्यस व्यवस्थाले पुजारीहरूको एउटा समूह गठन गऱ्यो। साथै, न्यायकर्ताको काम गर्न ज्ञान र बुद्धि भएका “बूढा-प्रधानहरू” छानिए। (व्यव. २५:७, ८) व्यवस्थाले मानिसहरूलाई उपासना र दैनिक जीवनको लागि आवश्यक निर्देशन पनि दियो।

१० इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नुअघि परमेश्वरले तिनीहरूलाई फेरि व्यवस्थाका कुराहरू बताउनुभयो। मोशाले तिनीहरूलाई यसो भने, “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज आफ्नै प्रजा बनाउनुभएको छ, र तिमीहरूले उहाँका आज्ञा पालन गर्नै पर्छ। त्यसो गऱ्यौ भने अरू जातिहरूभन्दा तिमीहरू प्रशंसा, सम्मान र कीर्तिमा महान्‌ हुनेछौ, तर त्यसको निम्ति तिमीहरू एक पवित्र जाति बन्नुपर्छ।”—व्यव. २६:१८, १९.

परदेशीहरूले परमेश्वरका जनहरूसितै उपासना गरे

११-१३. (क) यहोवाले रोज्नुभएका मानिसहरूसित मिलेर कसले पनि उपासना गर्न थाले? (ख) परमेश्वरको उपासना गर्न चाहने गैर-इस्राएलीहरूले कोसित मिलेर उपासना गर्नुपर्थ्यो?

११ यहोवाले इस्राएलीहरूलाई आफ्नो जन हुन रोज्नुभएको थियो। तैपनि उहाँले अरू जातिका मानिसहरूलाई इस्राएलीहरूमाझ बसोबास गर्ने अनुमति दिनुभयो। जस्तै, इस्राएलीहरू मिश्रको दासत्वबाट छुट्दा अरू जातिका मानिसहरू र मिश्रीहरूको “एक मिश्रित-दल” तिनीहरूसितै आए। (प्रस्थ. १२:३८) सातौं विपत्तिको सूचना पाएपछि “फिरऊनका भारादारहरूमध्ये” केहीले परमेश्वरको डर माने र पछि इस्राएलीहरूसितै मिश्र छाडे।—प्रस्थ. ९:२०.

१२ इस्राएलीहरूले कनान जान यर्दन नदी तर्नै लाग्दा मोशाले तिनीहरूलाई यसो भने, ‘तिमीहरूले प्रवासीहरूलाई प्रेम गर।’ (व्यव. १०:१७-१९) कुनै परदेशी मोशाको व्यवस्था पालन गर्न इच्छुक छन्‌ भने परमेश्वरका जनहरूले तिनलाई आफूमाझ बस्न दिनुपर्थ्यो। (लेवी २४:२२) केही परदेशी परमेश्वरका उपासक भए। जस्तै, मोआबी रूथ परमेश्वरको सेवा गर्न इच्छुक थिइन्‌। उनले यसो भनिन्‌, “तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्‌, औ तपाईंका  परमेश्वर मेरा परमेश्वर हुनेछन्‌।” (रूथ १:१६) ती परदेशीहरू परमेश्वरले रोज्नुभएको जनमा सामेल भए। पुरुषहरूले खतना पनि गरे। (प्रस्थ. १२:४८, ४९) यहोवाले पनि उनीहरूलाई आफ्ना जनको रूपमा स्वीकार्नुभयो।—गन्ती १५:१४, १५.

इस्राएलीहरूले आफूमाझ बसिरहेका परदेशीहरूलाई माया गर्थे (अनुच्छेद ११-१३ हेर्नुहोस्)

१३ यहोवाले अरू जातिका मानिसहरूलाई स्वीकार्नुभयो भन्ने कुरा सुलेमानको प्रार्थनाबाट स्पष्ट हुन्छ। मन्दिर समर्पण गर्दा सुलेमानले यसरी प्रार्थना गरे, “तपाईंको प्रजा इस्राएलको कुलको नभएको कुनै पनि विदेशीले तपाईंको ठूलो ख्याति र तपाईंको बाहुबलको शक्तिको विषयमा सुनेर टाढाबाट आई यस भवनतिर फर्केर प्रार्थना गऱ्यो भने, आफ्नो बासस्थान स्वर्गमा त्यो प्रार्थना सुनेर त्यस विदेशीको पुकाराको प्रत्युत्तर दिनुहोस्। यसरी तपाईंको प्रजा इस्राएलझैं पृथ्वीका सबै मानिसहरूले तपाईंको ख्यातिलाई जानून्‌। औ तपाईंको भय मानून्‌, र मैले बनाएको यो भवनचाहिं तपाईंकै नाउँको हो भनी तिनीहरूले जानून्‌।” (२ इति. ६:३२, ३३) येशूको समयमा पनि परमेश्वरको उपासना गर्न चाहने गैर-इस्राएलीहरूले उहाँका जनहरूसित मिलेर उपासना गर्न सक्थे।—यूह. १२:२०; प्रेषि. ८:२७.

इस्राएलीहरूले यहोवाको पक्षमा साक्षी दिए

१४-१६. (क) इस्राएलीहरूलाई किन यहोवाको साक्षी भन्न सकिन्थ्यो? (ख) आजका परमेश्वरका सेवकहरूको मनोवृत्ति कस्तो हुनुपर्छ?

१४ इस्राएलीहरूले यहोवाको उपासना गर्थे तर अरू राष्ट्रका मानिसहरूले भने आफ्ना देवताहरूको उपासना गर्थे। त्यो परिस्थितिलाई यहोवाले भविष्यवक्ता यशैयाको समयमा अदालतमा भइरहेको बहससित तुलना गर्नुभयो। अन्य राष्ट्रका देवताहरूले आफू सत्य ठहरिन आफ्नो निम्ति साक्षीहरू ल्याउनुपर्छ भनेर उहाँले बताउनुभयो। उहाँले यसो भन्नुभयो, “जाति-जातिहरू एकैसाथ जम्मा होऊन्‌। तिनीहरूमध्ये [देवताहरूमध्ये] कसले हामीलाई यो कुरा बताउन सक्छ, र पहिलेका कुरा देखाउन सक्छ? तिनीहरू सच्चा ठहरिनलाई आफ्ना-आफ्ना साक्षी ल्याऊन्‌, अथवा तिनीहरूले सुनून्‌ र भनून्‌, ‘यो सत्य हो।’”—यशै. ४३:९.

१५ अरू राष्ट्रका देवताहरूले आफूलाई साँचो साबित गर्न सकेनन्‌। तिनीहरू मूर्ति मात्र हुन्‌। तिनीहरू बोल्न सक्दैनन्‌ र हिंडडुल गर्न पनि  सक्दैनन्‌। (यशै. ४६:५-७) अर्कोतर्फ यहोवाले इस्राएलीहरूलाई यसो भन्नुभयो, “तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ। तिमीहरूले मलाई जान्न र विश्वास गर्न सक, र म उही हुँ भनी बुझ्न सक। मेरो अघि कोही परमेश्वर थिएन, न त मेरो पछि कोही हुनेछ। म, अवश्य मनै परमप्रभु हुँ। मबाहेक अरू कोही उद्धार गर्ने छैन। . . . यसैकारण तिमीहरू मेरा साक्षी हौ। . . . म परमेश्वर हुँ।”—यशै. ४३:१०-१३.

१६ इस्राएलीहरूलाई अदालतमा साक्षी दिने व्यक्तिसित तुलना गर्न सकिन्छ। तिनीहरूले यहोवाको पक्षमा बोल्ने मौका पाएका थिए। तिनीहरूबारे परमेश्वरले यसो भन्नुभयो, “त्यस जातिलाई, जसलाई मैले मेरो प्रशंसा गरून्‌ भनेर मेरो निम्ति उत्पन्न गरें।” (यशै. ४३:२१) तिनीहरू यहोवाको नामद्वारा चिनिएका थिए। यहोवाले नै तिनीहरूलाई मिश्रबाट छुटाउनुभएको थियो। त्यसकारण तिनीहरू आज्ञाकारी भएको र शासन गर्ने उहाँको अधिकारलाई समर्थन गरेको यहोवा चाहनुहुन्थ्यो। तिनीहरूको मनोवृत्ति भविष्यवक्ता मीकाको जस्तै हुनुपर्थ्यो र आजका परमेश्वरका सेवकहरूको मनोवृत्ति पनि त्यस्तै हुनुपर्छ। ती भविष्यवक्ताले यसो भनेका थिए, “सबै जातिका मानिसहरूचाहिं ता आफ्नो-आफ्नो देवताको नाउँमा हिंडछन्‌, तर हामीचाहिं सदासर्वदै परमप्रभु आफ्ना परमेश्वरको नाउँमा हिंड्नेछौं।”—मीका ४:५.

यहोवाका जनहरूले उहाँको विरोध गरे

१७. यहोवाको नजरमा इस्राएलीहरू किन जङ्गली दाखको बोटजस्तै भए?

१७ इस्राएलीहरू यहोवाप्रति वफादार रहिरहन सकेनन्‌। काठ र ढुङ्गाले बनेका देवीदेवतालाई पुज्ने मानिसहरूको प्रभावमा परेर तिनीहरूले झूटो उपासनाको लागि वेदीहरू बनाए। आजभन्दा लगभग २,८०० वर्षअघि भविष्यवक्ता होशेले इस्राएलीहरूलाई राम्रो फल दिन छोडेको दाखको बोटसित तुलना गरे। उनले अझै यसो भने, “तिनीहरूको मन झूटो छ। अब तिनीहरूले आफ्नो अपराधको दण्ड भोग्नैपर्छ।” (होशे १०:१, २) त्यसको लगभग १५० वर्षपछि यर्मियाले पनि यहोवाले आफ्ना अवफादार जनहरूलाई भन्नुभएको यो कुरा लेखे, “मैले ता तँलाई छानेको दाखको बोट, असल बीउ पो रोपेको थिएँ। तँ कसरी पतित भएर जङ्गली दाखको बोट भइस्? तिमीहरूले आफ्ना निम्ति बनाएका देवताहरू कता गए? तिमीहरूका दुःखको समयमा तिनीहरूले तिमीहरूलाई बताउन सक्ने भए तिनीहरू उठून्‌, . . . मेरो प्रजाले त मलाई पहिलेदेखिनै बिर्सिसक्यो।”—यर्मि. २:२१, २८, ३२.

१८, १९. (क) पृथ्वीमा आफ्ना जनहरूको नयाँ समूह खडा गर्नेबारे यहोवाले कस्तो भविष्यवाणी गर्नुभयो? (ख) अर्को लेखमा कुन कुरा छलफल गर्नेछौं?

१८ इस्राएलीहरूले मूर्तिपूजा गर्न थालेकोले असल फल फलाइरहन सकेनन्‌। उनीहरू यहोवाको साक्षी भइरहन सकेनन्‌। त्यसकारण येशूले आफ्नो समयका कपटी धर्मगुरुहरूलाई यसो भन्नुभयो, “परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ, र एउटा यस्तो जातिलाई दिइनेछ, जसले त्यसबाट फल फलाउँछ।” (मत्ती २१:४३) यहोवाले यर्मियामार्फत भविष्यवाणी गर्नुभएझैं “नयाँ करार”-मा बाँधिएकाहरू मात्र नयाँ राष्ट्र अर्थात्‌ आध्यात्मिक इस्राएलको भाग बन्न सक्थे। नयाँ करारमा बाँधिने आध्यात्मिक इस्राएलबारे परमेश्वरले यस्तो भविष्यवाणी गर्नुभएको थियो, “म तिनीहरूका परमेश्वर हुनेछु, तिनीहरू मेरा प्रजा हुनेछन्‌।”—यर्मि. ३१:३१-३३.

१९ इस्राएलीहरू अवफादार भए पछि यहोवाले प्रथम शताब्दीमा आध्यात्मिक इस्राएललाई आफ्नो जन हुन रोज्नुभयो। तर आज परमेश्वरका जनहरू को हुन्‌? असल मन भएकाहरूले परमेश्वरका साँचो उपासकहरूलाई कसरी चिन्न सक्छन्‌? यी प्रश्नहरूबारे अर्को लेखमा छलफल गर्नेछौं।